खोजखाज

गुमनाम गुरागाईं

लोकरञ्जन पराजुली

संस्कृत र शास्त्रका ज्ञाता जगन्नाथ गुरागाईं नेपालीमाझ मात्र होइन भारतीय विद्वत् समाजमा पनि प्रख्यात थिए । ‘गुणरत्नमाला’ लगायत विभिन्न पुस्तकका लेखक र भारतबाट निस्कने संस्कृत भाषाको ‘ब्राह्मणमहासम्मेलनम्’ पत्रिकाका सम्पादक रहेका गुरागाईंले बनारसको नेपाली धर्मशाला र छात्रावास स्थापनामा ठूलै भूमिका खेलेका थिए ।

गुमनाम गुरागाईं

यी लब्धप्रतिष्ठ विद्वान्को सो भूमिकालाई उनी संलग्न संस्थाको विसं २००५ मा प्रकाशित कार्य–विवरणले उजिल्याउँछ, सँगै केही प्रश्न पनि उठाउँछ । प्रस्तुत छ, कार्य–विवरणमा प्रकाशित गुरागाईंसम्बन्धी सामग्री र त्यसले सिर्जना गर्ने संशय ।

पुराना साधारण नेपालीजनले जगन्नाथ उपाध्याय गुरागाईंलाई चिन्ने ‘गुणरत्नमाला’ (१९९७) का लेखक भनेर हो । जसरी लेखनाथ पौड्यालका ‘ऋतुविचार’, ‘वुद्धि विनोद’ का पद्य मध्य–नेपालका सामान्य पठितले पनि गुनगुनाउँथे, त्यसरी नै पूर्वी–नेपालका पहाडवासीले जगन्नाथका ‘गुरणरत्नमाला’ का पद्यको सिलोक हाल्थे । तर, जगन्नाथको महिमा ‘गुणरत्नमाला’ को लेखकको रूपमा भन्दा अन्य हिसाबमै बढी छ । उनका ‘नम्र निवेदन’ (१९९६), ‘मन्त्रीको गुणदोष’ (२०२६) जस्ता काव्य पनि आफ्नो समयका चल्तीकै सिर्जना भएको बुझिन्छ ।

ऐतिहासिक महेशराज पन्तको नयाँ किताब ‘नेपाली इतिहासको परिवेश’ मा यी जगन्नाथ गुरागाईंबारे एउटा निबन्धै छ । सनातन हिन्दु धर्मको संरक्षण–संवर्धन (र पुनरुत्थान) अभियानको एउटा मुख्य हिस्सा रहेको संस्कृत भाषाको पत्रिका ‘ब्राह्मणमहासम्मेलनम्’ को एकताका सम्पादकसम्म पनि थिए उनी । भारतीयहरूको दबदबा रहने यस्ता कृत्यहरूमा अशिक्षितहरूको बाहुल्य भएको मुलुक नेपालको एउटा नागरिकले आफ्नै ज्ञान–बर्कतले सो उच्च पदमा पुग्नु ठूलै कुरा हो । ‘प्राचीन परम्पराका दिग्गज भारतीय विद्वान्हरूले चलाइआएको पत्रिकाको सम्पादकमा एक जना नेपाली यसरी आफ्नो विद्याबलद्वारा उभिनुलाई राष्ट्र गौरवको दृष्टिले कम आँक्न सकिँदैन’ भनेर महेशराजले जगन्नाथउपरको आफ्नो निबन्ध टुंग्याएका छन् ।

विसं १९५९ मा ताप्लेजुङको हाङदेवामा जन्मेका जगन्नाथ गुरागाईंबारे अन्यन्य लेखक/अध्येताले पनि विभिन्न ठाउँमा चर्चा गरेका छन् । महेशराज पन्तले मलाई बताएअनुसार, ती सामग्रीमा जगन्नाथको गुणगान नै गरिएको छ । तर, ती सामग्रीमा उनको मृत्यु–वर्ष र स्थानबारे मतैक्य देखिँदैन ।

काशीस्थित विद्या–धर्म–प्रचारिणी नेपाली समिति नामक सामाजिक संस्थाले २००५ मा प्रकाशन गरेको कार्य–विवरणले जगन्नाथ प्रशंसा मात्रै गर्नॅपर्ने व्यक्ति थिएनन् भन्ने देखाउँछ । जीवनको उत्तरार्द्धमा उनी गुमनाम हुनुमा सम्भवतः उनको सोही ‘अँध्यारो पक्ष’ पो जिम्मेवार थियो कि भन्ने शंका उब्जन्छ । अन्यथा, उनीजत्तिको व्यक्तित्वको मरण–वर्षै वा स्थानबारे त्यति विघ्न अस्पष्टता नरहनुपर्ने हो ! त्यो पनि विसं २०२० वा २०३० को दशकको मृत्यु—जतिखेर नेपाली मिडिया पनि ‘बलियै’ थियो ।

समितिको कार्य–विवरणअनुसार, ‘नेपाली बन्धुहरूको प्राचीन संस्कृतिमा प्रेम र वेद शास्त्र–प्रतिपादित सनातन धर्ममा निष्ठा नडगोस् भन्ने सदुद्देश्यले प्राचीन संस्कृतिको केन्द्रीभूत काशी–नगरीमा पढ्न आउने नेपाली छात्र र तीर्थयात्रीहरूको कष्ट निवारणका निमित्त’ विसं १९९९ सालमा यो संस्थाको स्थापना भएको थियो । संस्थाको ‘प्रारम्भिक प्रबन्धकारिणी सभा’ पण्डित कुलचन्द्र गौतमको सभापतित्वमा गठित थियो, जसमा जगन्नाथको पनि भूमिका रहेको बुझिन्छ । समितिका सदस्यहरूको २००२ देखि २००५ सम्मको सदस्यता रकम बुझाउनेको सूचीमा एक जना ‘जगन्नाथ गुरागाईं’ को नाउँ छ । यिनले २००२ मा सदस्यता रकम बुझाएको र त्यसपछि नबुझाएको देखिन्छ, तर त्यहाँ यिनको ठेगाना रामपुर, कलैया छ । (समितिको २००५ को साधारण सदस्य सूचीमा लक्ष्मीप्रसाद देवकोटाको नाउँसमेत छ, र उनको ठेगाना दूधविनायक, काशी छ ।)

तात्कालिक समयमा खास गरी भारतमा हिन्दु धर्म सुधारको अभियान (आर्यसमाज इत्यादि) बलियो गरी उठेको थियो, जसको बाछिटा नेपालमा पनि परेको थियो । अनि काशी र अन्य भारतीय सहरमा निर्वासित नेपालीहरूमाझ पनि राणाविरोधी भावना प्रबल र संघटित हुँदै थियो । यी दुवै प्रवृत्तिलाई ठेगान लगाउन र राणा शासन/शासकहरूलाई पैठ दिनका खातिर सनातन धर्मकर्मलाई बढावा दिने निहुँमा यो संस्था स्थापित भएको हो ।

संस्थाले आफ्नो उद्देश्य तात्कालिक शासक जुद्धशमशेरलाई जाहेर गर्दा ‘दयावतार नेपाल–सर्कारबाट बक्सिएको सं. २००१ मार्ग २१ गतेको ‘सनद–खड्गनिशाना’ द्वारा विद्या र सनातनधर्मको प्रचार गरेर नेपाली समाजको उत्कर्ष गर्नाका निमित्त चन्दा उठाउने अधिकार’ समेत प्राप्त गरेको थियो । पछि २००४ फागुनमा जुद्ध काशी पुगेर (जतिखेर उनले राजकाज त्यागिसकेका थिए) संस्था भ्रमण गरेपछि खुसी भएर उनले समितिलाई ५ हजार रुपैयाँ चन्दा दिएका थिए ।

यो संस्थाले नेपालीहरूका लागि धर्मशाला, छात्रावास, पाठशाला, पुस्तकालय आदि सञ्चालन गरेको देखिन्छ । त्यसबाहेक, खास गरी राणाशासकहरूको जन्मोत्सव इत्यादिमा संस्थाले जयगानका कार्यक्रम आयोजना गर्थ्यो । उदाहरणका लागि पद्मशमशेर प्रधानमन्त्री हुँदा उनलाई संस्थाले ‘भक्तशिरोमणि’ पदवीे चढाएको थियो भने मोहनशमशेर प्रधानमन्त्री हुँदा उनको जन्मदिनमा विश्वनाथलगायतका मन्दिरमा चिरायुको प्रार्थना गरेको थियो । यसअघि २००२ मा जुद्धको जन्मोत्सवमा समितिले काशीका विभिन्न मठमन्दिरमा पूजा–अर्चना गर्नॅका अतिरिक्त छुट्टै एक समारोहसमेत आयोजना गरेको थियो । त्यस अवसरमा जुद्धको चाकरीगान गर्ने आफ्नो ‘श्रीमहाराज शरणम्’ कविता जगन्नाथ गुरागाईंले पढेका थिए । यी सबबाट यो संस्थाको राणाशासक/शासनप्रतिको झुकाव प्रस्टिन्छ ।

१९९९ सालमा संघटित भएपछि संस्थाले आफ्ना लक्ष्य प्राप्त गर्न चन्दा संकलन गर्ने अभियान चलाएको थियो । यसै क्रममा आसाम–शिलाङका नेपालीहरूसँग चन्दा उठाउन जगन्नाथ अघि सरे । र, ती स्थानमा समितिको नाउँमा चन्दा उठाउने ‘अधिकार–पत्र’ उनले हात पारे । उनले ती क्षेत्रबाट १७ हजारभन्दा बढी कम्पनी रुपैयाँ उठाएर समितिलाई बुझाएका थिए, जुन त्यसबेलाका लागि निकै ठूलो रकम हो । उनी र तात्कालिक सभापतिले उठाएको रकम र काशीवासीले दिएको चन्दासमेत गरी समितिले नेपाली यात्रुहरूका लागि धर्मशाला, छात्रहरूका लागि छात्रावास भवन किनेको र केही रकम बचाएको समेत थियो ।

आसाम–शिलाङका नेपालीबाट समितिलाई चन्दा रकम उठाएर बुझाए पनि जगन्नाथले त्यसको हिसाबकिताब बुझाएनन् । हिसाब फरकफारक गर्न उनलाई समितिले ताकेता गर्‍यो । ताकेतापछि उनले प्रत्युत्तरमा ‘यो कुरा त अत्यावश्यक थियो, तर अघि आसाम शिलाङमा काम गर्दाखेरिका कतिपय साथीहरू मोरङमा हुनुहुन्छ, यस विषयमा उहाँहरूसँग परामर्श गरनू आवश्यक हुनाले पहिले मोरङमा जान्छु र त्यहाँ उठ्न शकेको चन्दा समेत उठाई २ महिनाभित्रमा यहाँ आई केही दिन विश्राम गरेर मात्र आसाम–शिलाङतर्फ गई सब कुरा बुझेर सो धनको बेहोरा लिएर समितिमा उपस्थित हूँला’ भने ।

जगन्नाथ ठहरे संस्कृत र शास्त्रका ज्ञाता । अनि नेपाली समाजमा मात्र होइन भारतीय एकखाले विद्वत् समाजमा पनि थोरबहुत कहलिएका । त्यसमाथि ठूलै चन्दा रकम संकलन गरेर समेत समितिलाई बुझाएका त छँदै थिए, समिति विधिवत् संस्थागत हुनुअघि धर्मशाला र छात्रावाससमेत जगन्नाथको नाउँमा किनिएको थियो । पछि दर्ता भइसकेपछि समितिको नाउँमा उनले सो सम्पत्ति हस्तान्तरण गरिदिएका थिए ।

तसर्थ, जगन्नाथले आफ्नो ‘गल्ती’ सहजै स्विकारेर सो समस्या समाधान गर्छॅ भन्दा समितिले अन्यथा गर्ने, सोच्ने कुरो भएन । यही सदाशयको फाइदा उठाउँदै चन्दा रकमको हिसाब फरकफारक गर्नॅको साटो दुई महिनामा फर्कन्छु भनेर मोरङतर्फ पनि ‘चन्दा उठाउने अधिकार–पत्र लिएर सं. २००३ वैशाख २१ गते’ उनी बनारसबाट हिँडे । साउनमा उनले ‘विराटनगरबाट केही चन्दा उठ्ने भएको छ भन्ने आशयको एक पत्र’ समितिलाई पठाए । पत्रमा उनले केही औषधिहरू पनि मगाएका थिए । समितिकाहरूले उनलाई पत्रको उत्तर र औषधि पठाए, तर त्यसपछि जगन्नाथको कुनै साइँसुइँ सुनिएन ।

यता नेपाली धर्मशालामा आसाम–शिलाङतिरबाट आएका तीर्थयात्रीहरूले जगन्नाथको सोधखोज गर्न थाले । समितिको कार्य–विवरणअनुसार, उनीहरूले सोधे— ‘हाम्रा वस्तिहुँदो गएर छात्रावास धर्मशालाको काममा चन्दा दिने दाताहरूको नाम–ठेगाना छापिनेछ, धेरै–धेरै दिनेको त अझै फोटा, तैलचित्र, शालिकहरू राखिनेछन्’ भनेर जगन्नाथले चन्दा उठाए, तर ‘ख्वै यहाँ के–के भएको छ ? कति कतिका फोटो, तैलचित्रहरू राखिए ? कस कसका नाम ठेगाना पुर्ख्यौलीहरू छापिए ?’

एक त चन्दाको हरहिसाब भएन, अर्कोतर्फ चन्दादाताको सोधीखोजी तारन्तार आयो । त्यसैले समितिले पनि जगन्नाथलाई ताकेता लगायो । तर, ढुंगो बोल्ला, जगन्नाथ बोलेनन् ! उनले कुनै जवाफी पत्र फर्काएनन् ।

जगन्नाथ मोरङतर्फ गएको एक वर्षभन्दा बढी पछि, २००४ असोजमा, समितिका उपसभापति गंगाधर शास्त्री पराजुलीले उनलाई धरानमा भेटे । गंगााधरले सबै समस्याको बेलिविस्तार लगाएर रकम फरकफारक गर्न पुनः आग्रह गरेपछि उनले ‘हुन्छ त म १२।१५ दिनमा काशी आइपुग्नेछु’ भने । तर, जगन्नाथ न काशी फर्के, न हिसाबै बुझाए ।

त्यसपछि प्रबन्धक समितिका अर्का सदस्य देवीप्रसादलाई ‘निज जगन्नाथलाई बनारस लिएरै आउन’ भनेर समितिले खटायो । तर, जगन्नाथले टेरेनन् । उनीसँग भएका चन्दा रकम उठाउने खाली रसिद, अर्का व्यक्ति (गोविन्द बरुवाल) सँग रहेको रसिदबुक र चन्दाको हिसाबकिताब लिएर देवीप्रसाद बनारस फर्किए । आजित भएर समितिले त्यसपछि जगन्नाथलाई चन्दा उठाउन दिएको अधिकारै खारेज गर्‍यो ।

लामो समय चन्दा रकमको हरहिसाब नआएकाले समितिले समयमा लेखापरीक्षण गर्न पाएन । न आफ्नो प्रगति विवरण प्रकाशन गर्न पायो । समय घर्क्यो, तर ‘गुरागाईंसितको जनताको कटुता उत्तरोत्तर नबढोस् यसको झट्टैनै समाधान होओस् भनी प्रयत्न गर्नलागदा वार्षिक अधिवेशन समयमा हुन शकेन ।’ अन्त्यमा कायल भएर जगन्नाथ गुरागाईंका कारण भएको समस्याप्रति क्षमा माग्दै उनले ‘व्यक्तिगत हिसावबाट उठाइएका चन्दाका विवरणको उत्तर–दायित्व नलिई बचेको चलअचल सम्पत्ति मात्र जिम्मा लिएर यस समितिको संघटन भएकाले यसका कार्यकालमा जहां तक हुनशकेको व्यवस्था बाँधी आय–व्ययको विवरण र दाताहरूको नामावली तयार गरी जनता–जनार्दनका समक्ष’ समितिले ल्यायो ।

त्यसपछि सरकारी कार्यालयमा प्रतिवेदन बुझाएर अधिवेशन गरी संस्थाले नयाँ कार्यसमिति गठन गर्‍यो । उक्त संस्थाको २००५ को कार्यसमितिमा कोषराज उपाध्याय अध्यक्ष र गंगाधर पराजुली मन्त्री (सचिव) भएको समितिले प्रकाशन गरेको कार्य–विवरणबाट थाहा लाग्छ ।

यसरी समितिले आफ्नो एक महत्त्वपूर्ण सहयोगी/हस्ती जगन्नाथलाई गुमायो । उनले हिसाब नबुझाएको रकम निकै ठूलो छ । जुन खालको मौनता जगन्नाथले साधेका छन्, त्यसले कतै उनले चन्दाको ठूलै हिस्सा दमपच त पारेका थिएनन् भन्ने शंका उब्जिन्छ । रकम बुझाइसकेपछि सोको हिसाबकिताब बुझाउन कठिन नहुनुपर्ने हो । अथवा रसिद–भर्पाई यताउति परेको वा हराएकै भए पनि सो तथ्य बताएको भए समितिबाट उनी त्याज्य हुने थिएनन् । न उनी बनारसै छाडेर पलायन हुनुपर्ने थियो ।

महेशराज पन्तले मलाई बताएअनुसार, उहाँको संग्रहमा रहेको समितिको २०११–२०१२ सालको रिपोर्टमा जगन्नाथको नाउँ समितिको ‘सम्मानित सदस्य’ मा उल्लेख छ र उनको ठेगानामा ‘काशी’ मात्र लेखिएको छ । यसले उनी पछि फेरि बनारसै पुगेको हुन सक्ने संकेत गर्छ, यद्यपि अन्य सदस्यको जस्तो उनको ठेगानामा टोल इत्यादि उल्लेख छैन ।

सत्यतथ्य जे–जस्तो भए पनि समितिको रिपोर्टले जगन्नाथको इमानदारीमा नै ठूलो प्रश्नचिह्न खडा गरेको छ । र, सोही कारण पनि उनी सार्वजनिक जीवनमा उस्तो सक्रिय नभई गुमनाम बसेका हुन सक्ने देखिएको छ । आउँदा दिनमा कसैले यस विषयमा अनुसन्धान गरे थप विवरण बाहिर आउला । अहिलेलाई भने समितिको प्रतिवेदन र अनुमानमै सन्तुष्ट रहनुको विकल्प रहेन ।

विद्या–धर्म–प्रचारिणी नेपाली–समितिले आफ्नो कार्य–विवरणमा सामेल गरेको ‘वस्तुस्थिति र विवशता’ जस्ताको तस्तै :

सं २००२ फा. १७ गतेदेखि नयाँ प्र.का.स.ले कार्यभार ग्रहण गरे पछि पं. जगन्नाथ गुरागाईंजीले आफ्नु दीर्घ अनुभव र कौशलको अनुरुप तत्तत्प्रान्तमा गएर चन्दा–संग्रहको काम गर्ने सदिच्छा प्रकट गर्नुभयो । पण्डितजीले लेखी प्रकाशित गर्नुभएको संक्षिप्त वृत्तान्त अनुसार वहााले नियुक्त गरेका आसाम–शिलाङ्गका खजाञ्चिहरुले यहाँ पठाएको १७०९१।।।–) धनको बेहोरा वहाँ सँग समितिले मागदा यो कुरा त अत्यावश्यक थियो, तर अघि आसाम शिलाङ्गमा काम गर्दाखेरिका कतिपय साथीहरु मोरङ्गमा हुनुहुन्छ, यस विषयमा वहाँहरूसँग परामर्श गरनू आवश्यक हुनाले पहिले मोरङ्गमा जान्छु र त्यहाँ उठन शकेको चन्दा समेत उठाई २ महिनाभित्रमा यहाँ आई केही दिन विश्राम गरेर मात्र आसाम–शिलाङ्गतर्फ गई सब कुरा बुझेर सो धनको बेहोरा लिएर समितिमा उपस्थित हूँला भन्नुभयो र चन्दा उठाउने अधिकार–पत्र लिएर सं. २००३ वैशाख २१ गते यहाँबाट मोरंगतर्फ जान्छु भनी हिँडनुभयो । पछि श्रावणमा विराटनगरबाट केही चन्दा उठनेभएको छ भन्ने आशयको एक पत्र समितिमा पठाउनुभयो, जसमा केही औषधिहरुको आवश्यकता पनि लेखनु भएको थियो । यहाँबाट पत्रको उत्तर र औषधिहरु पठाए पछि धेरै दिनसम्म वहाँले पत्र–व्यवहार गर्नुभएन ।

यता धर्मशालामा आउने आसाम–शिलांगका तीर्थयात्रीहरुले ‘पण्डित जगन्नाथ गुरागाई कहाँ हुनुहुन्छ ? वहाँले हाम्रा वस्तिहुँदो गएर छात्रावास धर्मशालाको काममा चन्दा दिने दाताहरुको नाम–ठेगाना छापिनेछ, धेरै–धेरै दिनेको त अझै फोटा, तैलचित्र, शालिकहरु राखिनेछन् भन्नुहुन्थ्यो, ख्वै यहाँ के के भएको छ ? कति कतिका फोटो, तैलचित्रहरु राखिए ? कस कसका नाम ठेगाना पुर्ख्यौलीहरु छापिए ?’ इत्यादि कुराको जिज्ञासा बराबर गर्न लागे । २ महिनामा आउँला भनी मोरङ्गतर्फ जानुभएको पं. गुरागाईजी यतिका दिनसम्म न आउनुभएकोले र आसाम–शिलाङ्गका जनताहरुलाई पनि समितिको उन्नतिको दृष्टिबाट चाँडै नै सन्तोष–जनक उत्तर दिन आवश्यक भएकोले तुरून्त काशीमै आउनुहोस् भनी पं. गुरागाईजीलाई समितिबाट बराबर पत्र जान थाल्यो । तर वहाँबाट केही जवाफ आएन । सं. २००४ आश्विन महिनामा समितिका उपसभापति पं. गङ्गाधरशास्त्री पराजुलीको धरानमा पं. गुरागाईजीसित भेट हुँदा आसाम–शिलाङ्गका यात्रीको भनाई र अरु सबै कुरा संझाए पछि हुन्छ त म १२।१५ दिनमा काशी आइपुग्नेछु भन्नुभएछ । आखीर आउनुभएन । यताबाट पत्र बराबर पठाइएकै थिए ।

अन्त्यमा केही नलागी गत आश्विन महिनामा वहाँलाई लिनै भनी समितिले प्र.का.स.का सदस्य पं. देवीप्रसादलाई खटाई पठायो । तर, वहाँले आउने कृपा गर्नुभएन । समितिकातर्फबाट गुरागाईंजीलाई दिएको चन्दा उठाउने अधिकार–पत्र मागदा अइले मसंग छैन अर्को साथिकहाँ छ भन्नुभएछ र वहाँसँग रहेका २ कापी साबुत (चन्दा न उठेका) रसीदबुक र वहाँद्वारा मु. गोविन्द बहादुर बरुवाल क्षत्री महोदयले लिई २१६३) चन्दा उठाइएको एक कापी रसीदबुक लिएर पं. देवीप्रसादजी फर्केर आउनुभयो ।

पं. गुरागाईजी आउनुहोला र वहाँद्वारा पुरानु धनको बेहोरा लिएर उसको समेत समावेश गरी सबैको चित्त बुझने किसिमले यस संस्थाको कार्यावली जनता समक्षमा प्रकाशित गरौंला भन्दा–भन्दैमा धेरै समय बीत्यो । पं. गुरागाई सितको जनताको कटुता उत्तरोत्तर न बढोस् यसको झट्टैनै समाधान होओस् भनी प्रयत्न गर्न लागदा वार्षिक अधिवेशन समयमा हुन शकेन ।

यतिसम्म भएको काम अव्यवस्था–ग्रस्त भएर विलीन हुन दिन अनुचित संझी अबदेखि पूर्ण व्यवस्था बाँधी यहीँबाट नै काम शुरू गरौं भन्ने विचारले पण्डित जगन्नाथ गुरागाईद्वारा व्यक्तिगत हिसावबाट उठाइएका चन्दाका विवरणको उत्तर–दायित्व न लिई बचेको चल अचल सम्पत्ति मात्र जिम्मा लिएर यस समितिको सङ्गटन भएकाले यसका कार्यकालमा जहाँ तक हुनशकेको व्यवस्था बाँधी आय–व्ययको विवरण र दाताहरुको नामावली तयार गरी जनता–जनार्दनका समक्षमा उपस्थित गराइएको छ । पछि पनि व्यवस्थित रुपले नै गराइने छ । यो बाहेक यस बारेमा समितिसँग अरू केही साधन नभएकोले हार्दिक सहानुभूतिका साथ यही यथार्थ निवेदन गरेर आसाम–शिलाङ्गका दाताहरूका सौजन्यता–पूर्ण उदारताको निमित्त समिति कृतज्ञता प्रकट गर्छ ।

२ महिनामा आउँछु भनी जानुभएको पं. गुरागाईजीले आज सम्म न आई बीचैबाट समितिलाई अनुचित बोझा बोकाउने चेष्टा गर्नुभएकोले अव्यवस्थाको शङ्ढा भई समितिले अबदेखि पण्डित जगन्नाथ उपाध्याय गुरागाईलाई चन्दा उठाउने अधिकारबाट वञ्चित गरेको छ । यस बीचमा जो सज्जनले वहाँलाई चन्दा दिनुभएको होला उसको सप्रमाण सूचना समितिलाई दिनु भएमा वेश हुनेछ । आरम्भदेखिनै पवित्र उद्देश्य राखी आसाम–शिलाङ्गका पहाड जङ्गलमा नाना प्रकारका कष्ट झेली अनुकरणीय आदर्श उपस्थित गर्ने व्यक्तिका बारेमा यति लामो वक्तव्य निकाली जनताका समक्षमा राखन बाध्य हुनु पर्दा समितिलाई ठूलो खेद छ ।

अझै पण्डित जगन्नाथ गुरागाईजीले समुचित कारण दर्शाई काशीमा आएर जनताको चित्त बुझने गरी सब व्यवहार मिलाई देखाउने कृपा गर्न सक्नुभएमा हामी सबैलाई अपार हर्ष प्राप्त हुने छ ।

(विद्या–धर्म–प्रचारिणी नेपाली–समिति, काशीको कार्य–विवरण, २००५ बाट)

प्रकाशित : कार्तिक ६, २०७८ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?