बोर्डर छिर्नुअघि
बोर्डर छिर्नुअघि पछारे मलाई भुइँमा
र लगाए हतकडी ।
उनीहरुले सुन्नै चाहेनन् मेरो यात्राको कथा
म कहाँकहाँ काठको ट्रकमा काठजस्तै कोचिएर आएँ
म कहाँकहाँ भेडाको बथानसित भेडाजस्तै हिँडेर आएँ
कुनकुन नाकामा म पुलिसको गोली छल्दै जोगिएँ
कुनकुन जंगलमा म डाँका र तस्करको निसानामा चुको र बाँचेँ
कुनकुन समुद्रमा डुंगाबाट खस्नबाट जोगिएँ
कुन बगरमा ठेस लागेर रगतपच्छे भएँ
कति झरीमा रूझेर झरी बनेँ
कति धूपमा सेकिएर आफैं धूप बनेँ
कहाँकहाँ लुटिएँ
कहाँकहाँ ठगिएँ
कहाँ छोडेँ मेरो पासपोर्ट
जो मेरो पासपोर्ट मात्रै थिएन नागरिक हुनुको परिचय थियो
त्यसपछि कसरी भएँ परिचयविहीन अनागरिक
बताउनुअघि नै मैले कल्पेको भविष्यको चित्र
बोर्डर छिर्नुअघि नै पछारे मलाई भुइँमा
र कविता लेख्ने मेरा खिरिला औँलाहरु दुख्नेगरी
लगाए हतकडी ।
उनीहरुले बुझेनन् मेरो मैलो गालाको कुलेसो हुँदै
विरानो भुइँ भिज्ने गरी खसेको मेरो आँसुको अर्थ
तिनले देखेनन्
आँसुसँगै कसरी झरेको छ आँखाबाट मेरी श्रीमतीको मायालु स्पर्श
कसरी आँखाको नानीमा टक्क अडिएर बसेको छ
झोला बोकेर स्कुल जाँदै गरेको नाबालक छोराको अनुहार
र, भत्किँदै गएको तुलसीको मठजस्तै
उमेरको रङ खुइलिँदै गएका मेरा बूढा बाउआमाको प्रेमपूर्ण सम्झना
आँखाबाट आँसु होइन म बाँच्ने सहारा बगाइरहेथेँ
आँखाबाट आँसु होइन म मुटु बगाइरहेथेँ
तर उनीहरुले केही देखेनन्
बोर्डर छिर्नुअघि नै पछारे मलाई भुइँमा
र लगाए हतकडी ।
झ्यालमा एक्लै छाडिएको छोराको खेलौनाजस्तो
म उभिइरहेँ ठिंग अनकन्टार भूमिमा
मैले भुलेँ कता हो पूर्व ?
मैले बिर्सिएँ कता हो पश्चिम ?
कताबाट उदाइरहेछ यो घाम ?
कता अस्ताइरहेछ यो मधुरो जून ?
किन धमिलोधमिलो भएको छ मैले देखेको नीलो आकाश ?
के मजस्तै पीरमा टिलपिलटिलपिल रोइरहेछन् ताराहरु ?
मैले देखाउन सकिना उनीहरुलाई
क्रान्तिको बारूद र बन्दुकले दरफर्याएको मेरो पिठ्युँ
गोलीले छेडेको दाहिने पिँडुलाको खत
(यदि यो खत देखे तिनले ट्याटु ठान्नेछन् पक्का)
कसरी कुदेथेँ म आन्दोलनमा भीडबीच झन्डा बोकेर सबैभन्दा अगाडि मोर्चामा
उत्साहको वायुपंखी घोडा चढेर
तर पत्तै नपाई कुन मोडमा लडो त्यो घोडाबाट र बदलिएँ म आफैं
महिनौंसम्म कसरी हिँडेथेँ म विश्वविद्यालयको प्रमाणपत्र
पाइन्टको पछाडि खल्तीमा बोकेर
समयसँगै पसिनाले लछप्पै भिजेर कसरी च्यातियो मेरो प्रमाणपत्र
कति वर्षसम्म दिएँ मैले लोकसेवाको जाँच ?
कति वर्ष पढाएँ तलब नदिने निजी स्कुल ?
कति धाएँ म एनजीओको विचार गोष्ठी ?
र कसरी बढ्यो मेरो सोचको गमलामा निराशाको मनिप्लान्ट ?
मैले अर्को सत्य पनि बताउन सकिना उनीहरुलाई
काँडाहरुबीच हिँड्नुपर्छ भन्ने थहा हुँदाहुँदै कसरी राजी भएँ म
यो दुःखद यात्राका लागि
मात्रै मैले भनेँ,
कृपया खोलिदेऊ यो हतकडी
म फर्किन चाहन्छु आफ्नै घर
र एकपल्ट छुन चाहन्छु म जन्मिएको जमिनको माटो
तिनीहरुले केही सुनेनन्
बस् बोर्डर छिर्नुअघि पछारे मलाई भुइँमा
र लगाए हतकडी ।
आखिर के छ त्यस्तो अमेरिकामा
जसका लागि म राजी भएँ
वर्षौंदेखि आमाले जोगाएको थैली दलाललाई बुझाउन
श्रीमतीका गहना धितो राखेर आफन्तसित ऋण लिन
भरखरै फक्रिएको फूलजस्ता झरझराउँदा नानीहरु छाडेर
एउटा बेठेगान र बेटुंगो यात्रा गर्न ?
हतकडीले बाउँडिएका पाखुराका मांसपेशी हल्का हल्लाएर
यतिखेर सोधिरहेछु यो प्रश्न आफैंलाई
कस्टडीमा उभिएर ।
प्रकाशित : कार्तिक ६, २०७८ १०:४२