बोर्डर छिर्नुअघि- कोसेली - कान्तिपुर समाचार

बोर्डर छिर्नुअघि

अनमोलमणि

बोर्डर छिर्नुअघि पछारे मलाई भुइँमा
र लगाए हतकडी ।

उनीहरुले सुन्नै चाहेनन् मेरो यात्राको कथा

म कहाँकहाँ काठको ट्रकमा काठजस्तै कोचिएर आएँ

म कहाँकहाँ भेडाको बथानसित भेडाजस्तै हिँडेर आएँ

कुनकुन नाकामा म पुलिसको गोली छल्दै जोगिएँ

कुनकुन जंगलमा म डाँका र तस्करको निसानामा चुको र बाँचेँ

कुनकुन समुद्रमा डुंगाबाट खस्नबाट जोगिएँ

कुन बगरमा ठेस लागेर रगतपच्छे भएँ

कति झरीमा रूझेर झरी बनेँ

कति धूपमा सेकिएर आफैं धूप बनेँ

कहाँकहाँ लुटिएँ

कहाँकहाँ ठगिएँ

कहाँ छोडेँ मेरो पासपोर्ट

जो मेरो पासपोर्ट मात्रै थिएन नागरिक हुनुको परिचय थियो

त्यसपछि कसरी भएँ परिचयविहीन अनागरिक


बताउनुअघि नै मैले कल्पेको भविष्यको चित्र

बोर्डर छिर्नुअघि नै पछारे मलाई भुइँमा

र कविता लेख्ने मेरा खिरिला औँलाहरु दुख्नेगरी

लगाए हतकडी ।


उनीहरुले बुझेनन् मेरो मैलो गालाको कुलेसो हुँदै

विरानो भुइँ भिज्ने गरी खसेको मेरो आँसुको अर्थ

तिनले देखेनन्

आँसुसँगै कसरी झरेको छ आँखाबाट मेरी श्रीमतीको मायालु स्पर्श

कसरी आँखाको नानीमा टक्क अडिएर बसेको छ

झोला बोकेर स्कुल जाँदै गरेको नाबालक छोराको अनुहार

र, भत्किँदै गएको तुलसीको मठजस्तै

उमेरको रङ खुइलिँदै गएका मेरा बूढा बाउआमाको प्रेमपूर्ण सम्झना

आँखाबाट आँसु होइन म बाँच्ने सहारा बगाइरहेथेँ

आँखाबाट आँसु होइन म मुटु बगाइरहेथेँ

तर उनीहरुले केही देखेनन्

बोर्डर छिर्नुअघि नै पछारे मलाई भुइँमा

र लगाए हतकडी ।


झ्यालमा एक्लै छाडिएको छोराको खेलौनाजस्तो

म उभिइरहेँ ठिंग अनकन्टार भूमिमा

मैले भुलेँ कता हो पूर्व ?

मैले बिर्सिएँ कता हो पश्चिम ?

कताबाट उदाइरहेछ यो घाम ?

कता अस्ताइरहेछ यो मधुरो जून ?

किन धमिलोधमिलो भएको छ मैले देखेको नीलो आकाश ?

के मजस्तै पीरमा टिलपिलटिलपिल रोइरहेछन् ताराहरु ?


मैले देखाउन सकिना उनीहरुलाई

क्रान्तिको बारूद र बन्दुकले दरफर्‍याएको मेरो पिठ्युँ

गोलीले छेडेको दाहिने पिँडुलाको खत

(यदि यो खत देखे तिनले ट्याटु ठान्नेछन् पक्का)

कसरी कुदेथेँ म आन्दोलनमा भीडबीच झन्डा बोकेर सबैभन्दा अगाडि मोर्चामा

उत्साहको वायुपंखी घोडा चढेर

तर पत्तै नपाई कुन मोडमा लडो त्यो घोडाबाट र बदलिएँ म आफैं

महिनौंसम्म कसरी हिँडेथेँ म विश्वविद्यालयको प्रमाणपत्र

पाइन्टको पछाडि खल्तीमा बोकेर

समयसँगै पसिनाले लछप्पै भिजेर कसरी च्यातियो मेरो प्रमाणपत्र

कति वर्षसम्म दिएँ मैले लोकसेवाको जाँच ?

कति वर्ष पढाएँ तलब नदिने निजी स्कुल ?

कति धाएँ म एनजीओको विचार गोष्ठी ?

र कसरी बढ्यो मेरो सोचको गमलामा निराशाको मनिप्लान्ट ?


मैले अर्को सत्य पनि बताउन सकिना उनीहरुलाई

काँडाहरुबीच हिँड्नुपर्छ भन्ने थहा हुँदाहुँदै कसरी राजी भएँ म

यो दुःखद यात्राका लागि

मात्रै मैले भनेँ,

कृपया खोलिदेऊ यो हतकडी

म फर्किन चाहन्छु आफ्नै घर

र एकपल्ट छुन चाहन्छु म जन्मिएको जमिनको माटो

तिनीहरुले केही सुनेनन्

बस् बोर्डर छिर्नुअघि पछारे मलाई भुइँमा

र लगाए हतकडी ।


आखिर के छ त्यस्तो अमेरिकामा

जसका लागि म राजी भएँ

वर्षौंदेखि आमाले जोगाएको थैली दलाललाई बुझाउन

श्रीमतीका गहना धितो राखेर आफन्तसित ऋण लिन

भरखरै फक्रिएको फूलजस्ता झरझराउँदा नानीहरु छाडेर

एउटा बेठेगान र बेटुंगो यात्रा गर्न ?


हतकडीले बाउँडिएका पाखुराका मांसपेशी हल्का हल्लाएर

यतिखेर सोधिरहेछु यो प्रश्न आफैंलाई

कस्टडीमा उभिएर ।

प्रकाशित : कार्तिक ६, २०७८ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्

तोङ्बाको बिर्कोले छोपेको पूर्वको इतिहास

‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ मा संकलित सामग्री पढ्दा थाहा हुन्छ– पूर्वको इतिहास सुब्बाहरुको तोङ्बाको बिर्कोले छोपेको थियो । यो किताब हिजोको गोर्खाली र लिम्बूहरुको साझेदारी शासनको एक दस्तावेज हो । नेपाल बन्न लिम्बूहरुको कति भूमिका थियो ? त्यो जान्न किताब पढ्नुपर्छ । 
अर्जुनबाबु माबुहाङ

लेखक भगिराज इङ्नामको किताब ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह (संवत् १७१९–२०२०)’ ले २०७७ सालको मदन पुरस्कार पाएको छ । इङ्नामले सात वर्षभन्दा बढी समय खर्चिई ऐतिहासिक सामग्री संकलन गरेर ९१६ पृष्ठको यो किताब तयार गरेका हुन् ।

किताबका लागि उनी लिम्बुवानका पुराना बस्तीहरू तमोरखोला, याङवरक, आठराई, पाँचथर, छथर, चौबिस, मिक्लाजुङलगायत डुलेका छन् । अदौमा सुब्बाहरूका डेली, पेटारो, तोङ्बाका ढुङ्ग्रो र घ्याम्पोका कागजात खोतलेका छन् । मौजुदा सरकारी अड्डाका ढड्डा पल्टाएका छन् । राष्ट्रिय अभिलेखालय, त्रिवि पुस्तकालय, केशर पुस्तकालय सबै चहारेका छन् ।

पुस्तकमा एक स्याहामोहर र ७८ वटा सक्कल लालमोहर छन् । सेनकालका स्याहामोहर, शाहकालका लालमोहर र कस्य–पत्र, रुक्का, राणाकालदेखिका इस्तिहार, अर्जी–पत्र संकलन गरी पुस्तकलाई तीन खण्डमा बाँडिएको छ । लेखकले ऐतिहासिक सामग्रीको लिप्यन्तरण, अनुवाद र सरलीकरण पाठकले बुझ्ने गरी गरिदिएका छन्, कागजातको सक्कल–नक्कल दुरुस्त उतारेका छन्, पुस्तकमा संकलित कागजपत्र अध्ययन गर्न सजिलो होस् भनेर शब्दार्थ पनि राखिदिएका छन् ।

पुस्तकमा विसं १८१४ को कामदत्त सेनको सक्कल स्याहामोहर छापिएको छ । स्याहामोहरमा चौबिस बुढीमोरङका इवा लिम्बूका पूर्खा महश्रावुहाङ रायलगायतका लिम्बूहरूलाई सेन राजाहरूले खान्की/जागिरबापत जमिन दिएका छन् । यो ऐतिहासिक सामग्रीको स्रोतव्यक्तिद्वय साँगुरीगढी बुढीमोरङका केबि इवाहाङ र देव इवाहाङ हुन् । लेखकले भरत तुङघङ (दिवंगत) र राजकुमार दिक्पाललाई स्रोतव्यक्ति राख्दै शाहकालीन १८३९ को कस्य रुक्का छापेका छन् । रुक्कामा छथरका खजुम लिम्बूलाई सेन हिन्दुपतिहरूले नगरा निसान प्रदान गरिएको लेखिएको छ ।

लेखकले पुस्तकमा सेन, शाह र राणाहरूले सुबाङ्गी प्रथा चलाएकाले लिम्बूहरूको जातीय स्वामित्वमा भएको माटो किपट खोसिएको धारणा राखेका छन् । सेनकालमै सुबाङ्गी प्रथा चलेकामा शाहकालमा आएर विसं १८३७ देखि ६० रुपैयाँ साल–बसाल सिर्तो बुझाउने गरी सुबाङ्गी प्रथाले निरन्तरता पायो । विसं १८८४/८५ पछि ३० रुपैयाँ उठ्ती हुने साठी मुरी माटो किपट सरकारमा चढाए सुब्बा, १५ रुपैयाँ उठ्ती हुने तीस मुरी किपट सरकारमा चढाए राई र मझिया पद दिने नियम अख्तियार गरियो । यसरी किपट भूमिलाई खण्डीकरण गरियो । लेखकले विसं १८६७ मा आठराई र छथर थुममा सात जना सुब्बा भएकामा किपट उन्मूलन हुँदासम्म ८०४ जना सुब्बा र राईगिरि (फुटी सुब्बा) भएको बढो रोचक तथ्य राखेका छन् ।

सेनहरूको सम्पर्कमा लिम्बूहरू आएपछि दशलिम्बूले ‘नगरा निसान’ लाई विश्वास र शक्तिको प्रतीक मानेर आफ्नो रैथाने दुबोढुंगोले न्याय दिने परम्परागत प्रथागत कानुनलाई बिर्संदै गएको कागजातले स्पष्ट पार्छ । गोर्खालीहरूले लिम्बूका प्रथागत परम्परामा रोक लगाउँदै आएको विषयलाई लेखकले औंल्याएका छन् । शाहहरूले थुमथुमका लिम्बूलाई गरिदिएको मोहरहरूमा सुब्बालाई विसं १८४३ देखि गौवध गर्न निषेध गरे । विसं १८६६ देखि छोरीको सोत खान, सानीआमा र भाउजू बेहोर्न रोक लगाए । विसं १८९७ को कागजमा स्मृति मान्ने वा हिन्दु धर्म मान्ने लिम्बूहरूलाई चन्द्रायण पर्दा (भूलचुकमा ‘तल्ला जात’ कालाई करणी) हिन्दू पण्डितबाट चोख्याएपछि हुने तर नीतिमा (परम्परागत मुन्धुम मान्ने) लाग्ने लिम्बूहरूले चन्द्रायण परे भने सरकारलाई खेत बुझाउनुपर्ने कानुन बनाउनुले हिन्दु धर्ममा लाग्न लिम्बूहरूलाई हौस्याएको देखिन्छ । विसं १९९० मा ताप्लेजुङमा धान नाचमा रोक लगाएर परम्परागत संस्कृतिमा बन्देज गरिएको थियो ।

लेखकले लिम्बूहरूको पहिचानका हकमा सावा येहाङका सन्तान भनी लिम्बूहरूको सामाजिक/मौखिक इतिहास मुन्धुमलाई आधार मानेका छन् । उनले गोर्खालीहरूले याक्थुङबा लिम्बूहरूलाई ‘तुत्त तुम्याङहाङ याक्थुङहाङ’ भनेको, तर पछिल्लो समयमा हिन्दूहरूले नै ‘किरात’ भनेको स्पष्ट तर्क अगाडि सारेका छन् ।

सेन, साह, राणाकालीन कागजातमा ‘दशलिम्बू’ नामक न्यायिक संस्था बारम्बार उल्लेख भएको छ । इतिहासमा ‘दशलिम्बू’ को प्रादुर्भाव कसरी भयो भन्नेमा लेखकले चासो राखेको देखिन्छ । लेखकले ‘दशलिम्बू’ का बारेमा चेम्जोङको मतलाई उद्धृत गर्दै शाहकालीन लिम्बूसरदारहरूलाई ‘दशलिम्बू’ भन्न खोजेको बुझिन्छ । इडेन भान्सिटार्टको पुस्तक ‘नोट्स अन नेपाल’ (सन् १८९६/१९९२ पृष्ठ १३९–४१) अनुसार, तमोरखोलामा सामलुप्ली साम्बाहाङ तमोरखोला यक/गढी, तेह्रथरमा ताप्पेसो पेरुङहाङ थाला यक, आठराईमा थकथकसो आङबोहाङले पोमाजोङ यक, फेदापमा सेनसेनगुम फेदापहाङले पोक्लाबाङ यक, याङवरकमा थिन्दोलुङ खो ? याहाङ हस्तपुर यक, मिवाखोलामा सिसियेन सिरेङ मेरिङदेन यक, पाँचथरमा इङासोपापोहाङ यासोक, फेदेन यक, छथरमा ताक्लुङ खजुमहाङ चाम्लिङ चिम्लिङ यक, चौबिसमा सोइयाक लादोहाङ साँगुरी यक र चारखोलामा इमेहाङ आङदाङ यक बनाएर राज्य गरे । यिनै सरदारहरूलाई भान्सिटार्टले ‘दशलिम्बू’ भने । इतिहासकार इमानसिं चेम्जोङ र भान्सिटार्टको मत मिल्छ । विसं १८८९ देखि टिपोट गरिँदै ल्याइएको अम्लाबुङ पाँचथरका अम्बिकाप्रसाद आङदेम्बेसँग भएको लिम्बू भाषामा लेखिएको कागजमा दशलिम्बूहरूको नाम र यक/थातथलो भान्सिटार्टको टिपोटसँग मिल्छ । हज्सन पाण्डुलिपिमा पनि दशलिम्बूको चर्चा छ । हज्सन पाण्डुलिपिका खण्ड र पत्रैपिच्छे दशलिम्बूका थातथला र थरहरू फरकफरक देखिन्छन् ।

शाहकालीन लिम्बू सरदारहरूलाई नै हिजोका ‘दशलिम्बू’ भनेर ठम्याउन त गाह्रो छ । विसं २०२२ मा प्रकाशित योगी नरहरिनाथको पुस्तक ‘इतिहास प्रकाशमा सन्धिपत्र संग्रह’ को पृष्ठ संख्या ४५७/५८ मा पृथ्वीनारायण शाहकालमा लिम्बू सरदारहरू १२ जना देखिन्छन् । मोरोङ–विजयपुरमा बुद्घिकर्ण राय, चौबिसमा जमुन राय, पाँचथरमा फुङ राय, आठराईमा श्रीजङ राय, फेदापमा आतहाङ राय, याङवरकमा योङया राय, तमरखोलामा सुभवन्त राय, मेवाखोलामा रैनसिङ राय, मैवाखोलामा श्रीदेव राय, छथरमा आसदेव राय, चैनपुरमा हर्षमुखी राय, अरुणमा सुनुहाङ राय थिए । चौबिसका जमुन राय, पाँचथरका फुङ राय, आठराईका श्रीजङ राय, फेदापका आतहाङ राय, तमोरखोलाका सुभवन्त राय, मेवाखोलाका रैनसिङ राय, मैवाखोलाका श्रीदेउ राय गोर्खातिर लागेका थिए । बुद्घिकर्ण रायको हत्या गोर्खालीले गरेका थिए । छथरका आसदेव राय, चैनपुरका हर्षमुखी राय, याङवरकका योङया राय, अरुणका सुनुहाङ राय भागेर सिक्किम पुगे । यसभित्र अरुणका सुनुहाङ भोजपुर हतुवागढीका खम्बू हुन् । त्यस्तै हर्षमुखी वाना, लिङलिङका इयकहाङ थरी याक्खाका पुर्खा हुन् ।

सन् १९०८ मा सिक्किमका महाराजा थुतोव नामग्याल र माहारानी येशे डोल्माले बाइन्डिङमा ल्याएको ‘हिस्ट्री अफ सिक्किम’ पुस्तकको पृष्ठ ५१ मा गोर्खा–लिम्बुवान–सिक्किम युद्घमा जसमुखा, योङयाहाङ, आशदेउ, सुनुहाङ चोङ/लिम्बूरूले सिक्किमलाई साथ दिएको देखिन्छ । वास्तवमा इतिहासको कुन कालखण्डलाई ‘दशलिम्बू’ ठम्याउनुपर्ने हो खोजको विषय बनेको छ ।

लेखकले औंल्याउन खोजेको जयकर्ण र जसमुखी एउटै पात्र होइनन् । जयकर्ण मैवाखोला थुमका वर्तमान फागोवनेमका पुर्खा हुन् । विसं १८४१ को कागजमा रणबहादुर शाहलाई गजदल रायका बारेमा पत्र पठाउने लिम्बू सुब्बाहरूमा देव राय, सुनगोन्धा राय, सैनन्द राय र जयकर्ण रायको नाम पनि परेको छ । लेखककै दस्तावेजभित्र विसं १८४३ को कागजमा जसमुषां/जसमुखीको नाम परेको छ । जसमुखी संखुवासभा वाना, लिङलिङका इयकहाङ याक्खाका पुर्खा हुनुपर्छ । हज्सन पाण्डुलिपिको खण्ड ८५ को पृष्ठ १३०/३१ मा अरुणपारका वलिङहाङ उलिङहाङहाङलगायतका खम्बूहरूले गोर्खालीसँग लड्न अरुणवारिका पुत्लुङहाङ देवानका पुर्खा पुत्लुङहाङ, इयकहाङ याक्खाका पुर्खा इयकहाङ र फागोवनेम लिम्बूका पुर्खा जयकर्ण र चतुरभद्रलगायतका लिम्बूहरूलाई सहयोग मागेको देखिन्छ ।

लेखकले योगी नरहरिनाथको ‘इतिहास प्रकाशमा सन्धिपत्र संग्रह’ पुस्तकमा छापिएको संवत् १८१४ को स्याहामोहरलाई उद्धृत गर्दै लिम्बूहरूलाई सेनकालमा नै ‘दशलिम्बू’ भनिएको तथ्य प्रस्तुत गरेका छन् । यो स्याहामोहरको सक्कल छायाप्रति डिजिटल लिंकहरूमा भेटिएकाले मोहरमा प्रयोग गरिएको छाप भने सेनहरूको होइन । योगी नरहरिनाथको संकलनमा परेका गोर्खा भोट–चीनको सन्धि विग्रहिक पत्रसँग उक्त मोहर रुजु गर्ने हो भने मोहरमा परेका छाप, अक्षर/सही, भोट–तिब्बतीहरूको जस्तो देखिन्छ । मोहरका अक्षरहरू देवनागरीमा छन् । शब्दहरू भने फारसी छन् । लवज मैथिलमा छ । उक्त स्याहामोहरमा विजयपुरका लागि भोट–तिब्बत र सिक्किमका प्रतिनिधिहरूको दस्तखत हुन सक्छ ।

क्लेमेन्ट्स रोर्बट मारखामले सन् १८७६ मा ब्रिटिसहरूको तिब्बतसँगको मिसनलाई लिएर ‘न्यारेटिभ्स अफ द मिसन अफ जर्ज बोग्ले टु टिबेट एन्ड अफ द जर्नी अफ थोमस म्यानिङ टु ल्हासा’ नामक पुस्तक प्रकाशनमा ल्याए । उक्त पुस्तकको पृष्ठ १५७ मा ब्रिटिसकालीन बेंगलका गभर्नर वारेन हेस्टिङले आफ्ना दूत बनाएर जर्ज बोग्लेलाई तिब्बत पठाएको र बोग्लेले तिब्बतमा लामाहरूलाई भेट्ने क्रममा गोर्खाली राजाले आफूले धपाएका विजयपुरका किरात राजा डेमोजोङ (सिक्किम) हुँदै पुर्निया पुगेको आफ्ना वकिलहरूमार्फत तिब्बतका लामाहरूलाई जानकारी गराएको लेखेका छन् । त्यस्तै ‘हिस्ट्री अफ सिक्किम’ पुस्तकको पृष्ठ ४२ मा सिक्किमका राजालाई भेट्न भोतिकर्ण (बुद्घिकर्ण) र तिब्बतका प्रतिनिधि नालुङदिङ खर्बा सिक्किम पुगेको चर्चा छ । विजयपुरका सेन राजाका दिवान, चौताराहरूको सिक्किम र तिब्बतसँग सुमधुर सम्बन्ध थियो । अरुणवारिका लिम्बुवान क्षेत्रका लिम्बूहरूमाथि सेनहरूको भन्दा सिक्किमका भोटियाहरूको पक्कड थियो । लिम्बू दिवान/चौतारियाहरू सिक्किमबाट परिचालित हुन्थे ।

फ्रान्सिस बुकानन् हामिल्टनले सन् (१८१९/१९८६) मा प्रकाशनमा ल्याएको ‘एन अकाउन्ट अफ किङडम अफ नेपाल’ पुस्तकको पृष्ठ १४० मा विजयपुरका दिवान बुद्घिकर्णले सिक्किमका भोटियाहरू ल्याएर आफ्ना राजा कामदत्त सेनको हत्या गरेको लेखिएको छ । सिक्किमको शासनको सबै बागडोर तिब्बतका लामाहरूले लिएको देखिन्छ । इतिहासकार इमानसिं चेम्जोङको संकलनमा सन् १९४८ मा प्रकाशित पुस्तक ‘किरात इतिहास’ को पृष्ठ ५२–५३ मा दलाई लामाले हाल तेह्रथुम फेदापका लिम्बूहरूलाई दिएको स्याहामोहर नै छापेका छन् । विसं २०६६ मा पाँचथर अम्लाबुङका अम्बिकाप्रसाद आङदेम्बेको संकलनमा प्रकाशन गरिएको ‘लिम्बूको संक्षिप्त इतिहास तथा आङदेम्बे वंशावली’ पुस्तकको पृष्ठ १७५ मा पनि तिब्बती स्याहामोहर छापिएको छ । मोहरमा के लेखिएको छ, अध्ययन हुन बाँकी छ ।

पुस्तकलाई किपट व्यवस्थामा मात्र सीमित गर्नु हुन्न । पुस्तकमा गोर्खा–लिम्बुवान–सिक्किम र भोट युद्घसम्बन्धी थुप्रै कागजात परेका छन् । इतिहास प्रधान त्रैमासिक पत्रिका ‘पूर्णिमा’ पूर्णांक ५८ मा छापिएका रणबहादुर शाहकालीन लालमोहरहरूमा पूर्वको इतिहासबारे चर्चा छ । रणबहादुर शाहले पूर्वको लडाइँमा खटिएका जोगनारायण मल्लसँग आदान–प्रदान भएको पत्रमा ‘उप्रान्त सुषिमको अघिको पुरानु काजि र नया काजिको लडाई भइरहेछ नया काजिको छोरो १ लडाइमा पर्‍यो पुराना काजिले धर्माकन कमायको रहेछ र धर्माको फौज उठाई सुषिमाथि चढाई राखेछ तस्तो देषता भोट्याले लिम्बूकन बहुतै दुष दिन लागेछ र तमोरवार गोर्षाको सेमाना गर्छु भोट्या हान्छु काज परिआया गुहार पनि दिया भनि लिम्बुहरू भन्न आया’, ‘लिम्बू श्रृग्याहरू मिल्न आउंछन’, ‘सांभा सिरिंले फेदाववाट पनि गुहार मागि पठायो’, ‘चौदण्डी चयेनपुर पुग्या हुन सुब्बाहरूका सम्मतले ज्या परि आउला सो काज गर’ जस्ता वाक्य परेका छन् । पत्रमा लेखिएका व्यहोराहरूमा सिक्किमको दरबारमा काजीहरूबीच झगडा भएको उल्लेख गरिएको छ ।

‘हिस्ट्री अफ सिक्किम’ को पृष्ठ ३९ अनुसार सिक्किमका चौथा माहाराजा गुर्मेद नामग्याल सन् १७३३ निसन्तान भइ मरे । उनको गर्भ साँगा छोलिङ गुम्बाका भिक्षुणी नेर गादेनको पेटमा थियो । नमग्याल फुन्छोको जन्म भयो । राजाको मृत्यु भएपछि भोटे काजी टाम्डिङ ग्याल्पो र उनका भाइहरू शक्तिमा आए । उनले भिक्षुणीको सन्तानलाई राजकुमारका रूपमा अस्वीकार गरे । अर्का लाप्चा काजीले भने जसका पेटमा भए पनि राजाको गर्भ नामग्याल फुन्छो नै हुन यिनलाई नै राजा बनाउनुपर्छ भनेर नाबालक राजालाई लिएर उनी दार्जिलिङ नजिक सिन्चेल पुगे । पछि उनलाई करवाङका छोरा युग नाम्चाका साथ भुटान पनि लगियो । यही विषयमा सिक्किममा काजीहरूबीच दशकौंसम्म झगडा भइरह्यो । लालमोहरअनुसार, उतिबेला लिम्बूहरू भने लाप्चा काजीका पक्षमा उभिए । लिम्बूमाथि ज्यादती गरियो र यसकारण तमोरखोलावारिका वर्तमान ताप्लेजुङ साँबा, सिरेङ, तेह्रथुम फेदापका लिम्बूहरू भोटेहरूसँग चिढिन थालेको देखिन्छ । जब गोर्खालीले अरुण तरे अनि तमोरवारिका लिम्बूहरू गोर्खालीसँग मिल्न आए ।

गोर्खालीहरूले पनि पूर्व खटिएका आफ्ना सरदारहरूलाई सुब्बाहरूले जे भन्छन् उही गर्नू भनेर पत्रमा लेखिएकाले पूर्वको गोर्खा–लिम्बुवान–सिक्किमको लडाइँमा लिम्बूहरूको मुख्य भूमिका रहेको देखिन्छ । लडाइँको सुरुआतमा भोटे र लिम्बूहरू एक भएर लडे । पछि

गोर्खाली र लिम्बू मिलेर सिक्किम–भोटविरुद्घ लडे । लिम्बू सुब्बाका तागतले गोर्खालीहरूले टिस्टामा खुँडा पखालेका थिए । गोर्खा सिक्किमका लडाइँमा लिम्बूहरू तिउरे बेघा, बलगाङ सेलिङलगायत थुप्रै लिम्बूहरूले शहादत प्राप्त गरेका थिए । यसमा खोज–अनुसन्धान आवश्यक छ । सिक्किमलाई अंग्रेजले सहयोग गरेपछि नेपालको सिमाना मेची खोलासम्म आएर साँगुरियो । भोट, मधेस युद्घमा लिम्बू र याक्खा जातिको पराक्रम देखेर खुसी भएका जंगबहादुर राणाले लिम्बू र याक्खा जातिलाई नमासिने मतवाली जाति कायम गर्दै विसं १९१७ मा लालमोहर जारी गरेका थिए ।

शिरमा ‘लालमोहोर सरकार’, पेटबोलीमा ‘कस्यपत्रम’ लेखेका कागज पनि भेटिएका छन् । मोहरहरू भनेका अधिकारसहितका पत्रहरू नै हुन् । पत्रमा कालो छाप भएका स्याहामोहर र रातो छाप भएको स्याहामोहर नै हुन् । तिब्बती लामा, सेन, गोर्खा, राणाहरूको राजकाज पत्रमार्फत नै हुन्थ्यो । संकलित सामग्री पढ्दा थाहा हुन्छ– पूर्वको इतिहास सुब्बाहरूको तोङ्बाको बिर्कोले छोपेको थियो ।

यो पुस्तक हिजोको गोर्खाली र लिम्बूहरूको साझेदारी शासनको दस्तावेज हो । नेपाल बन्न लिम्बुहरूको कति भूमिका थियो भनेर जान्नका लागि पनि यो पुस्तक अध्ययन गर्नैपर्छ । हालसम्म लेखन–संकलनमा आएका पूर्वका इतिहासका अक्षर/शब्दहरूमा भगिराज इङ्नामले संकलन गरेको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ का सामग्री नघुसाउने/नथप्ने हो भने नेपालको इतिहासै अपुरो हुन्छ ।

(इतिहास अध्येता माबुहाङ लालीगुराँस नगरपालिका तेह्रथुमका मेयर हुन् ।)

प्रकाशित : कार्तिक ६, २०७८ ११:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×