कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रश्नयुद्ध

रेशम विरही

अनेक प्रश्नहरु छन्
मानिससँग
युगौंदेखि जमठ भएर बसेका
आदिम प्रश्न

प्रश्नयुद्ध

जीवनका रिपुहरुसँग

युद्धरत प्रश्न

ओठ ओठमा झुन्डिएका

हिजोका निरुपाय सवाल

आज तिखोसँग उभिएका छन्

मानिस अप्रश्नेय भयो भने

कुँजो र जोखिमपूर्ण हविगतमा पर्छ

जीवनको लय


पुरातन प्रश्नहरुको अगाडि

थुपारिएको छ

एक डंगुर फोहोर जवाफको रास

गर्भैदेखि लिएर आएको

जाली लिखतनामाका बकवास

अथवा ‘उसजुनीको फल’

करार गरिएको

भ्रामक गरूड पुराण


तिमीसँग पुरातन फतुरको

जाली तमसुक होला

हामीसँग जीवनको मानक गुरूत्व छ

अनि म एकात्मा/अनेकात्मा

मसँग सिंगो संसार छ

मेरा प्रश्नमा सामेल मोर्चाहरुमा

ऐक्यबद्धताका हजारौं लस्करहरु छन्

तिम्रा प्रश्नहरु स्वयम्‌मा

विघटित समयका धूर्त मनोसंवाद हुन

मेरा प्रश्नहरुको सम्पूर्ण हिस्सामा

समस्त सृजनाको घर्षण

र तिम्रो खुनी वाचाल तर्कहरुको

प्रतिरोधका पंक्तिबद्ध लामहरु छन्


तिम्रो प्रश्नमा कुँदिएका

तिलस्मी अक्षरहरुका लागि

जोखिमपूर्ण छन्

मेरा प्रश्नहरुको यक्षस्तम्भ

मेरो विचारको आविस्कारसँगै

मसँग ज्वलन्त प्रश्नहरु खडा छन्

र तिमीले बन्द गरेको हरेकद्वारमा

जीवनका अर्थपूर्ण आक्रोशको पंक्ति छ

र सत्ता विघटनको संकटमा

जलिरहेछन् तिम्रा वाचिक घोषणाहरु


मेरा प्रश्नहरुको समूल सौन्दर्यमा

जगत्‌को सत्य मुस्कान छ

तिम्रा प्रश्नहरुको धूर्त तर्कशास्त्रमा

फरेवको पुलिन्दा मक्किएको छ

कदापि मेल खाँदैन

मेरो भाष्यको दस्तावेज


अनेक प्रश्नहरु छन्

मानिसहरुका बीचमा युद्धरत

युगौंदेखि जमठ भएर बसेको

आदिम प्रश्न !!

आदिम उत्तर !!

प्रकाशित : आश्विन २३, २०७८ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?