जन्मदिन नभएको मान्छे !- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जन्मदिन नभएको मान्छे !

जुन दिन म जन्मिएँ, त्यही दिनदेखि मैले आफ्नो जन्मदिन गुमाएँ । मेरो जन्म मेरै आमाको निजी दुःखसिवाय केही हुन सकेन । देशले मेरो जन्मको कुनै अभिलेख राखेन । म जन्मिँदा घरमा सधैँ बलिरहने अँगेनाबाहेक अर्को कुनै अतिरिक्त बत्ती बलेन । म त्यस्तो देशको नागरिक, जहाँ मेरो जन्मदिन अटाउने कुनै क्यालेन्डर छैन ।
भूपाल राई

बुद्व जन्मिनासाथ सात पाइला हिँडेका थिए रे !

सात पाइला ! ओहो ! जन्म र जन्मदिन प्रकरणको यो कस्तो अद्भुत महाख्यान ! जुन दिन मैले कलिलै उमेरमा कतै यो कथा पढेँ, एकदमै रोमाञ्चित बन्न पुगेको थिएँ । सोच्थेँ, के यस्तो सम्भव छ ? तर, सम्भव र असम्भवको पार्थक्यले मलाई उतिबेला उस्तो फरक पार्दैनथ्यो । किनभने त्यसको सम्भावनाले भन्दा सात पाइलाको रोमाञ्चकताले मलाई आत्ममुग्ध बनाएको थियो । त्यसैले त्यो रोमाञ्चकतासँगसँगै बरु म अर्को कुरा सोच्न पुग्थेँ, त्यत्रो महाख्यानको बीचोबीच मेरो आफ्नै जन्मदिनचाहिँ छैन, किन ?

त्यसो त जन्म र जन्मदिनबारे म सधैं निस्पृह रहने मान्छे । न त्यो दिनको स्मरणले मलाई उस्तो उद्वेलित बनाउँथ्यो, न कुनै उत्सवको अनिवार्यता महसुस गराउँथ्यो । न त्यसको उत्सवमय परम्परामा अभ्यस्त परिवार थियो मेरो । न समाज, न संस्कृति । मात्र भित्र कतै कुनै मिहिन हावाले स्पर्श गरेजस्तो त्यसको सम्मोहनले कहिलेकाहीँ हल्का छुने गर्थ्यो । तर, यो पछिल्लो समय एक्कासि यस्तो भयो मलाई जन्मदिनको उहापोहले नजानिँदो किसिमले बिथोल्न थाल्यो । मैले नचाहँदा–नचाहँदै पनि बूढो गोरुले गह्रुंगो गाडा तानेजस्तै त्यो विषयले बिस्तारै तान्न थाल्यो । यस्तो किन भयो ?

मलाई लाग्छ, यसका दुई कारण छन् ।

...

ती दुई कारणको विषयमा केही भन्नुअघि सर्वप्रथम यहाँ एउटा सन्दर्भ–सूत्र कोट्याउनुपर्ने हुन्छ ।

२०७१ सालको उत्तरार्द्धतिर ‘आगोले जन्मोत्सव मनाउँदैन’ भन्ने मेरो पछिल्लो कवितासंग्रह छापियो । चिन्डो बुक्सद्वारा प्रकाशित त्यो संग्रहका अधिकांश कविता एउटा खास मिसनमा लेखिएका थिए । संग्रहले बोकेको त्यही मिसनयुक्त शीर्षक ‘आगोले जन्मोत्सव मनाउँदैन’ ले नै माथि उल्लिखित कारणको सूत्रधारको काम गरेको थियो । त्यही भएर सर्वप्रथम यहाँ त्यो कवितासंग्र्रहको सन्दर्भ कोट्याउनुपरेको हो । यति भएपछि मलाई लाग्छ, बल्ल ती दुई कारण स्पष्ट हुने छन्, जुन यसप्रकार छन् ।

एक, केही वर्षदेखि नेपाली छापा–बजारमा आत्मकथा लेखनको जबर्जस्त बाढी भित्रिरहेको थियो । के व्यापारी, के कलाकार, के नेता, के भूतपूर्व कर्मचारी, सेना, न्यायाधीश, पत्रकार सबका सब त्यो बाढीमा डुबुल्की मार्न उद्यत थिए । तिनैमध्येको एउटा आत्मकथा थियो– ‘चिना हराएको मान्छे’ । भन्नै पर्दैन पाठकबीच त्यसले अपेक्षाअनुसार नै चर्चा पायो । अचम्म त यो थियो कि ‘चिना हराएको मान्छे’ भन्ने शीर्षकप्रति बजारले अनौठो चासो देखायो । हुन सक्छ, बजारलाई चिना हराएको मान्छेजस्तै त्यस्तै केही विषयको आवश्यकता थियो । बजार सधैँ यस्तै सानातिना घटनाको खोजीमा हुन्छ, जसलाई तयारी माल बनाएर थोकमा बेच्न सकियोस् ।

यो घटनापछि मलाई कताकता लाग्यो, ‘चिना हराउनु’ जस्तो सामान्य घटना त बजारका लागि ‘विशेष’ हुन्छ भने त्यस्तो घटना झन् कति महत्त्वको होला, जसको ‘चिनै छैन’ ! यो कुराले अचानक मलाई ‘क्लिक’ गर्‍यो । किनभने ‘चिना हराउनु’ भन्दा तुलनात्मक रूपमा अलि मसालेदार माल त ‘चिनै नहुनु’ हुन्थ्यो । त्यही दिनदेखि मलाई पनि लागेको हो– मैले पनि आफ्नो कथा नलेख्ने किन ? किनभने ‘चिनै नभएको’ एउटा बिक्रीयोग्य माल त खुद म आफैँ थिएँ । सत्य हो, आजसम्म कुनै चिनै छैन मेरो ।

तर, दुःखको कुरा मैले यस विषयमा कुनै चल्तीको कथा लेख्न सकिनँ । सिर्फ एउटा कविता लेखेँ, जसको शीर्षक थियो, ‘मेरो जन्मको महाख्यान’, जो पछि ‘आगोले जन्मोत्सव मनाउँदैन’ संग्रहमा संगृहीत भएर आयो । र, यो निश्चित थियो कि त्यो कविता कुनै तयारी मालको तुलनामा चर्चित हुनै सक्दैनथ्यो । भयो पनि त्यस्तै । साहित्यिक बजारको लामो यात्रामा त्यो कविताले एक कदम दूरी पनि तय गर्न सकेन । किनभने बजारलाई कविताको कष्टकर यात्रा चाहिएको थिएन । बजारलाई त कथाको रोमाञ्चक स्टन्ट चाहिएको थियो । जे होस्, जन्म र जन्मदिनबारे भने मलाई त्यो चिना प्रकरणले बिथोलेरै छाड्यो । मलाई पनि कताकता लाग्यो, त्यो विषय अवश्य लेख्नलायक विषय हो । जन्मदिनको संकथनले आकर्षित गरेको यो मेरालागि पहिलो घटना थियो ।

दुई, पहिलो संविधानसभा विघटनपछि मुलुकमा जबर्जस्त ढंगले उठिरहेको संघीयता र पहिचानको मुद्दा एकाएक सुस्ताएर गयो । खासमा पहिचानविरोधी शक्तिहरूलाई पहिलो संविधानसभाको समावेशी ढाँचा र संरचना पटक्कै मन परेको थिएन । त्यसैले त्यसको अवसान उनीहरूका लागि अनिवार्य थियो । पहिलो संविधानसभाको विघटन यसरी नियोजित (हत्या) थियो । ठीक यही बेला म फेसबुकको नयाँ जोगी थिएँ । जतिजति नेपाली राजनीतिमा प्रतिगमन–प्रतिक्रान्तिको स्वर सघन हुँदै आउँथ्यो र पहिचानविरोधी हर्कत बढ्दै जान्थ्यो, त्यतित्यति म फेसबुकको भित्तामा प्रतिरोधी कविता टाँस्दै जान्थेँ । पछि ती मेरा फेसबुके कविताहरू ‘आगो’ शीर्षकको सिरिज भएर झ्यांगियो । ती तात्कालिक आन्दोलनका दसी बने ।

म नयाँ जोगी फेसबुकको पर्दा जतिजति उघार्थें, त्यतित्यति अनेक मान्छेको जन्मदिनको उत्सव पनि साथसाथै भेट्थेँ । हरेक दिन, अझ हरेक क्षण यस्तो हुन्थ्यो, जब म ‘आगो’ को कुनै सिरिज पोस्ट गर्दै हुन्थेँं, कसै न कसैको जन्मदिनको सूचना आएर पर्दामा ठिंग खस्थ्यो । मलाई किनकिन यस्तो लाग्थ्यो, मेरो कविता आन्दोलनलाई तिनीहरूले गिज्याइरहेछन् । आगो ओकल्नुपर्ने यो अकाल समयमा किन मान्छेहरू जन्मदिनको फुर्सदमा समय बर्बाद गरिरहेछन् ! म वास्तवमा त्यतिखेर फेसबुकका सारा भर्चॅअल मानिसहरू आफैंजस्तो हुनुपर्ने कामनाको भ्रममा बाँच्ने गर्थेँ । म साँच्चिनै भ्रममै थिएँ । नत्र म जुन मिसनमा थिएँ, सबै त्यसैमा लामबद्ध हुनुपर्छ, त्यस्तो बाध्यता सबैमा लागू हुनै सक्दैनथ्यो ।

यस्तैमा एक दिन चिन्डो बुक्सका संस्थापक चित्रकार/कवि स्व. अर्जॅन खालिङले आएर भने– ‘तपाईंको आगो शृङ्खलाको अनुमति हामीलाई दिनुपर्‍यो, हामी छाप्छौं ।’

मैले भनेको थिएँ– ‘फेसबुकको पर्दा झारझुर गरेर जम्मा पार्नोस् र छाप्नोस् ।’

यसरी छपिएको थियो त्यो ‘आगोले जन्मोत्सव मनाउँदैन’ संग्रह, जो सम्पूर्ण प्रतिरोधी सत्ताको एउटा प्रतिनिधि आवाज थियो । त्यो आफैं तात्कालिक आन्दोलनको एक आन्दोलित सदस्य पनि थियो । अझ यसो भनूँ, त्यो सम्पूर्ण भर्चॅअल जन्मदिन र जन्मोत्सवहरूको एकमुष्ट जवाफ पनि थियो ।

जन्मदिनको रोमाञ्चक विषयतिर मलाई डोर्‍याउने यो दोस्रो घटना थियो ।

...

अब फेरि फर्कौं, बुद्वको उही सातपाइले अद्भुत पहेलिकातिर । यद्यपि त्यो ‘रे’ को जवाफ विज्ञानले के दिन्छ, उसैले जानोस् । या उनीहरूले जानुन्, जसको हातबाट त्यो सात पाइलाको कहानी विरचित हुनगयो । थाहा छैन, यस पछाडिको वक्रोक्ति के हुन सक्छ ? किन उनीहरूलाई नवजात बुद्धलाई जन्मिनासाथ त्यसरी हिँडाउनुपरेको थियो ? अनजान छु म ! म त सिर्फ त्यो सात पाइला जो जन्मिनासाथ बद्धुले हिँड्नुपरेको थियो, मात्र त्योबाट अभिभूत छु । र, यस्तो किन छु ? यसको कारण पनि म अन्तिमतिर खुलाउने नै छु ।

त्यसो त जन्मबारे अरू पनि थुप्रै अद्भुत कथा नकथिएका होइनन् । थुप्रै चामत्कारिक अवतारको फेहरिस्त पढ्न पाइन्छ, ठाउँ–ठाउँमा । दुनियाँमा हरेक दिन अनगिन्ती दीप बल्छन्, जन्मदिनको नाममा । असंख्य मैनबत्ती निभ्छन् । अनेक प्रिय वचन र कामनाहरू लेनदेन हुन्छन् । तर, यी थुप्रैथुप्रै फेहरिस्तबीच मेरो आफ्नै जन्मकथाचाहिँ कहाँबाट सुरु हुन्छ होला ? कुन विशेषणले विभूषित गर्न सक्छु म यसलाई ? म आज खास यही विषयमा सोचमग्न छु । आज म एक्कासि यो निर्णयमा पुगेको छु कि ती यावत् उहापोहबीच म पनि आफ्नो जन्मदिनबारे केही भनूँ ।

कहिलेकाहीँ सोच्छु, जन्मको समाजवादी व्याख्या के हुन सक्छ ? परन्तु मलाई थाहा छ, यसको दुई टुक जवाफ कतै पनि उपलब्ध छैन । मात्र जन्मको व्यक्तिगत अनुभूति, जो अक्सर व्यक्तिपरक परिघटनाको रूपमा व्यक्त हुने गर्छ, जताततै त्यही व्याख्या छ्यालब्याल छ । सायद मान्छेको जन्मलाई सम्बोधन गर्नॅपर्दा व्यक्तिपरक व्याख्याकै पल्ला भारी भएर हुन सक्छ, जन्म भनेको धेरै हदसम्म यौनिक या प्रजनन आकस्मिकताको परिणाम हो भन्ने नै सुन्न/पढ्न पाइन्छ ।

व्याख्या जे होस्, तर हरेक मानिसको कथ्यको धागो सुरुमा उसैको जन्मको पिउरीबाट कातिएको भेटिन्छ । हरेकले कुनै न कुनै दिन, कुनै न कुनै रूपमा आफ्नो जन्मदिनको स्मरण गरिरहेका हुन्छन् । अथवा यसो भनूँ, जन्मदिनको नाममा व्यक्तिको एक खास परिघटनालाई सामाजिकीकरण गरिरहेका हुन्छन् । तर, त्यही सामाजिकीकरणकै बीचमा अथवा ती सब हुनुहरूकै बीचमा, मसँग भने केही यस्ता अनुत्तरित प्रश्नहरू छन्–

– किन आजसम्म एउटा पनि मैनबत्ती मेरो नाममा बलेन ?

– किन आजसम्म कुनै पनि मुहूर्तले पुनरावृत्त भएर मलाई स्पर्श गरेन ?

– किन आजसम्म कसैले मेरोलागि कामनाको एक शब्द खर्च गरेन ?

– किन आजसम्म कुनै एउटा पनि दिन त्यस्तो भएन, जसलाई म आफ्नो जन्मदिन भन्न सकूँ ?

यी सबको उत्तर एउटै छ– ‘किनभने मेरो कुनै जन्मदिन छैन ।’

बस्, त्यही ‘छैन’ को जवाफ खोज्न आज म जीवनको यस मोडमा, यत्तिका उमेर पछाडि यसरी अग्रसर भइरहेछु– यो सोचेर कि त्यो नहुनु नै सायद मेरो जन्मको एउटा महाख्यान हो ।

...

‘चिनै नभएको मान्छे’ को रूपमा मलाई लाग्छ, कम्तीमा आफ्नो चिनारी अब मैले यहाँ स्थापित गरिसकेको छु । ‘चिना नहुनु’ जस्तो गरमा–गरम मसला बजारमा बेच्न नसक्नुको दुःख पनि मैले माथि बताइसकेकै छु । तर, मेरो चिना किन बनेन ? मेरो जन्मदिन किन छैन ? यसको उत्तर खोज्नुअघि म पहिले ‘चिना नहुनु’ ले घटाएका एक–दुई घटना यहाँ राख्न चाहन्छु ।

२०३३ सालमा एसएलसी दिनासाथ नागरिकताको प्रमाणपत्र बनाउन बाबाको साथमा भोजपुर सदरमुकाम तर्नॅपर्‍यो । हाम्रो घर सदरमुकामबाट पूर्व लगभग ३/४ घण्टाको दूरीमा अवस्थित थियो । जीवनमै पहिलो टोपीवाला फोटो पनि खिच्ने अवसर मिल्यो । फाँटवालाको अगाडि बाबाले मलाई उभ्याइरहनुभएको थियो । फाँटवाला सोधिरहेको थियो, ‘छोरोको जन्ममिति ?’

बाबाले त्यो मितिमा ठ्याक्क १६ वर्षको हिसाब लगाएर साल बताउनुभो– ‘२०१७ ।’

फाँटवाला– ‘महिना ?’

बाबा एकछिन अकमकिनुभो । र, अड्किँदै एकछिनपछि भन्नुभो– ‘खै, पुसजस्तो लाग्छ ।’

‘गते ?’

बाबा झन् अलमलिनुभो । अहिले सम्झिँदा लाग्छ, गतेको विषयमा उहाँ खास तयारी अवस्थामा हुनुहुन्नथ्यो । एक्कासि त्यस्तो अप्ठ्यारो आइपर्दा उहाँ बिस्तारै फुस्फुसाउनुभो– ‘खै, थाहै भएन त हौ ।’

फाँटवालाले बाबालाई पुलुक्क हेर्‍यो र भन्यो– ‘हैन बाउ भएर नि कस्तो थाहा नपाउनुभाको त !’

बाबा– ‘म घरमा थिइनँ यो जन्मिँदा ।’

बाबा साँच्चि नै घरमा प्रायः रहनुहुन्नथ्यो । उहाँको जल्दोबल्दो उमेर सधैँ घरबाहिर नै बित्यो । उहाँले धेरै वर्षसम्म आफ्नो कर्मक्षेत्र धरानलाई बनाउनुभएको थियो । वर्षमा बडो मुस्किलले एकाध दिनका लागि उहाँ धरानबाट गाउँ निस्कनुहुन्थ्यो । त्यो पनि नियमित हुँदैनथ्यो । त्यसैले आफ्नै छोरा–छोरीहरू जन्मिँदा पनि अक्सर उहाँको उपस्थिति रहँदैनथ्यो । यतिसम्म कि कतिपय सन्तान जन्मिएको खबर उहाँको कानसम्म पुग्नसमेत धेरै महिना लाग्थ्यो । त्यसैले मेरो असली जन्ममिति थाहा नपाउनु बाबाका लागि एकदमै स्वाभाविक थियो ।

फाँटवालाले आश्चर्य मान्दै सोध्यो– ‘यो बाबुको कुनै चिना–टिपोट पनि छैन ?’

‘छैन ।’

बाबाबाट त्यस्तो उत्तर पाएपछि ‘अब के गर्ने’ को भावमा त्यहाँ एकछिन हेराहेर भयो । मानौं गम्भीर सल्लाह भइरहेछ, ती दुईबीच । केही बेरपछि उसले नै एउटा मध्यमार्गी तरकिब सुझाउँदै भन्यो– ‘ल केही छैन । एउटा दिन अनुमान गरेर हालिदिऊँ... ।’

बाबाले पनि ‘ठीक छ’ को मुन्टो हल्लाइदिनुभो । त्यसपछि उसैबाट अन्तिम निर्णय खस्यो– ‘महिनाको ठीक बीचको दिन जुराइदिऊँ...दुवैतिर बराबर भागा लाग्ने दिन ।’

त्यसपछि उसको कलमले गतेको महलमा सरक्क एकजोडा अंक लेख्यो– १५ ।

यसरी मेरो नागरिकता बन्यो । नागरिकतामा एउटा अनजान र अपरिचित मान्छेको अनुमानले मेरो जन्मदिन निर्धारण गर्‍यो । तर, मलाई त्यही दिन लाग्यो, त्यो नेपाली कागजको एउटा चिर्कटोमा जुन मिति लेखिएको छ, त्यो मेरो जन्ममिति होइन । वास्तवमा त्यही दिन स्पष्ट भएको थियो कि मेरो जन्मदिन छैन ।

एउटा अर्को घटना, जुन यसैसँग सम्बद्ध छ, त्यो पनि बताइहालूँ ।

निकै वर्षअघि, झन्डै जोर दशकअगाडिकै कुरा हुनुपर्छ । जतिबेला हाम्रो छोरा रिदुम सानै थियो । डिल्लीबजार चारखालअगाडिको डेरामा बस्थ्यौं । मेरी श्रीमती जसुलाई एक दिन अचानक ज्योतिषिकोमा जाने इच्छा जाग्यो । खै के कारण हो, तिनलाई सबै परिवारको चिना देखाउनु थियो । तिनी आफ्नो र छोराको चिना तयार पारिरहेकी थिइन् । तर, फसाद एउटै थियो कि मेरो चिना थिएन, जो तिनलाई थाहा भएकै कुरा थियो । तिनले झट्ट एउटा उपाय निकालिन् । मेरो चिनाको सट्टा मैले लगाएको लुगै बोकेर तिनी फटाफट लागिन् । सायद तिनलाई ज्योतिषि महोदय चिनाको सट्टा अन्यान्य विकल्पबाट पनि काम चलाउँछन् भनेर कसैले सुझाएको थियो ।

सन्तोषको कुरा, तिनी यस्तो कुरामा मलाई पनि साथै लैजान उस्तो जिद्दी गर्दिनन् । तिनलाई राम्ररी थाहा छ, म हातेरेखा र ज्योतिष विद्याजस्ता विषयमा खास चासो राख्दिनँ । तपाईं आफैँ भन्नोस् न, आधा उमेरभन्दा बढी जो मान्छे आफ्नो जन्मदिनबारे बेखबर बाँचेको छ, उसका लागि ज्योतिषीले खुट्याइदिएको भाग्यफलप्रति कति भरोसा बाँकी रहन्छ ! यत्ति हो, कसैले राखेको चाख र विश्वासप्रति म विरोध जनाउँदिनँ । जस्तो कि जसु भन्छिन्, ‘जान्ने ज्योतिषीले कोरेको जोखानाले तिनको जीवनमा केही न केही अर्थ राख्छ ।’ आखिर तिनी परिन्, चिना भएको मान्छे ।

ज्योतिषीलाई हेराएर फर्केपछि मेरो लुगा फ्यात्त फ्याल्दै तिनी ओछ्यानमा बसिन् । यस्सो हेर्छॅ, तिनी उस्तो खुसी थिइनन् ।

सोधेँ, ‘किन ? के खुट्यायो तिम्रो ज्योतिषीले ?’

निकै बेरपछि मन नलागी–नलागी भनिन्, ‘तपाईं सरकारी जागिर खानुहुन्न अरे !’

‘ठीक हो त । कहाँ खाएको छु त ?’

‘तपाईं जो पायो ऊसँग झुक्न मान्नुहुन्न अरे !’

‘ठीक हो त । कहाँ झुकेको छु त ?’

‘तपाईं नक्कले ! अझै पनि थुप्रै केटीहरूसँग सम्बन्ध छ रे !’

अन्तिम जोखाना सुनिसकेपछि पो थाहा भयो, तिनी किन बेखुस देखिएकी थिइन् ! एक्कासि म यस्तो अप्ठ्यारोमा फसेको थिएँ, अघिसम्म ठीक भनिरहेको मान्छे अब कुन मुखले अन्तिम जोखानालाई बेठीक भनूँ ! तैपनि आफैं बुज्रुक पल्टिएर भनेँ,

‘धत ! तिम्रो ज्योतिषी त्यो जाबो लुगाको भरमा के–के भन्छ के–के !’

तात्तातै खस्यो जवाफ, ‘जाबो लुगाकै भरमा त्यति भन्ने ज्योतिषीले झन् चिनै भेट्टाए के–के भन्थ्यो होला !’

चिनै भेट्टाए ज्योतिषीले अरू के–के भन्थ्यो होला ! या जोखानै बदल्न पनि सक्थ्यो होला ! विचारणीय कुरा थियो । तर, भनिहालेँ, त्यतातिर मेरो खास चासो थिएन । त्यसैले विषयलाई उस्तो तन्काइरहन उचित लागेन । त्यो दिन मैले मौन बसेरै जित्ने प्रयत्न गरेँ । तर, चिनै नहुनुको अवस्थामा फेरि एउटा घटना जुन भएको थियो, त्यो साँच्चि नै अनपेक्षित थियो । त्यो अन्तिम जोखानाले उडाएको शंकाको धूलो मत्थर हुन जसुको लागि निकै समय लाग्यो । अथवा यस्तो पनि भन्न सकिन्छ, त्यसको मसिनो कणको टलक तिनको शंकाको भित्तामा सधैंका लागि टल्किरहने भयो ।

...

अहिलेसम्म चिनाको बजार र बजार मूल्यको कुरा गरियो । त्यसको कर्मकाण्डीय महत्त्व, विश्वासको आयाम सबथोक पर्गेलियो । तर, मैले आज गर्नॅपर्ने र गर्न खोजेको खास कुरा जे हो, त्यो अझ बाँकी छ । त्यो हो, माथि उल्लिखित कविता ‘मेरो जन्मको महाख्यान’ र हुँदै नभएको मेरो ‘जन्मदिन’, जसबारे अब संक्षिप्त चर्चा गरौं ।

चिना र लेख्य परम्पराको हिन्दु शास्त्रार्थले म जन्मेको त्यो आदिम समाजमा कहिलेदेखि प्रवेश पायो ? खगोल विज्ञानलाई भविष्यवाणीको दलदलमा कैद गरेर कहिलेदेखि भाग्यवादको साधन बनाइयो ? मलाई थाहा छैन । तर, मैले जान्दादेखि नै भाग्यवादको त्यो जरा भने जन्मदिनको भाष्यसँग पहिले नै जोडिइसकेको थियो । म त्यसको रहस्यमयी खेलभित्र थाहै नपाई सरिक भइसकेको थिएँ । त्यसैले मेरो जन्म र जन्मदिनको उत्सुकताले जब आफैंभित्र शिर उठाउन थाल्यो, अनिवार्यतः माथिका अनेक प्रश्न उठ्नु पनि स्वाभाविकै थियो । मात्र त्यहाँ एउटै समस्या यो थियो, ती प्रश्नका सटीक जवाफ कसैसँग उपलब्ध थिएन । न समाजसँग, न देश, न राज्यसँग ।

दशकौंअघि भाग्य खुट्याउने त्यो एउटा सानो चिर्कटो नहुनुको असर र दशकौंपछि जन्मदिनको बाजारु हस्तक्षेपले चारैतिरबाट गिजोलिसकेपछि मलाई पनि त्यसको उत्तर खोज्नुपर्ने बाध्यता हुने नै भयो । देश या राज्य अथवा अरू कसैसँग सोध्ने हिम्मत थिएन, त्यसैले जवाफको सहज स्रोत मैले मेरी आमालाई बनाउनुपरेको थियो । मेरी आमा, जो आज यस दुनियाँमा हुनुहुन्न, तर उहाँको सक्रिय उमेरमा मैले अनेकचोटि अनेक प्रश्न सोधेर उहाँलाई दुःखी बनाएको छु । वास्तवमा मेरो जीवनको सर्वांगीण उत्तर केवल मेरै आमासँग मात्र थियो, जसको भरपूर उपयोग मैले उहाँको जीवनकालभरि गरेको छु ।

म सोध्थेँ, ‘आमा ! किन बनेन मेरो चिना ? किन छैन मेरो जन्मदिन ?’

आमा भन्नुहुन्थ्यो, ‘तिमेरुको बाउ घरमा कहिल्यै नबस्ने, उडैया अस्तैया । तेरा दिदीहरू सानै । ठूलो दाजु भखर मामाघरको स्कुल जान थालेको, उतै बस्थ्यो । हामी गाउँका आइमाईहरूलाई के थाहा महिना, गते, बार ? के थाहा घडी, पला ? हामी केवल साँझ–बिहान चिन्दथ्यौँ । बिहान काममा हिँड्नुपर्छ भन्ने बुझ्थ्यौं । साँझमा घर फर्किनुपर्छ भन्ने जान्दथ्यौं । यस्तैको कोखमा तँ जन्मिइस् !’

‘कसैले टिपेन त मेरो जन्म टिपोट ?’

‘माथिल्लो घरमा तिमेरुका बाजे थिए । उनैले टिपेका थिए तेरो टिपोट !’

‘अनि के भो त त्यो ?’

‘उनैले दिइपठाएका थिए, विर्ता गाउँको बाहुनलाई त्यो चिर्कटो । त्यही साल बाहुन खस्यो । ऊसँगै गयो तेरो टिपोट ।’

बाहुनको मृत्युसँगै हराएको मेरो जन्मकुण्डलीको कथाले उपायहीन भएर म फेरि सोध्थेँ, ‘अनि मेरो जन्म ?’

आमा फेरि भन्नुहुन्थ्यो, ‘हिउँदको समय थियो । असुवाको जंगलमा दाउरा काट्दैथेँं । पारी ट्याम्केको डाँडामा घामले खुट्टा झारिसकेको थियो । एक्कासि तैंले व्यथा लगाइस् । हतारहतार भारी लगाएर दौडिएँ । बाटैमा थलिन्छु कि भनेर बडो बल गरेर तँलाई रोक्दै हिँडेँ । बडो मुस्किलले, बल्लतल्ल घर पछाडिको आँगनमा पुगेँ । पुग्नासाथ दाउराको भारी घोप्ट्याएँ । भारी घोप्ट्याउनु मात्रै के थियो तँ पनि त्यहीँ जन्मिहालिस् । दाउराको भारी बिसाउनु र गर्भबाट तेरो भारी बिसाउनु एकैचोटि भयो । त्यतिखेर घामले खुट्टा पूरै झारिसकेको थियो । तँ दाउराको भारीसँगै जन्मिइस् ।’

यस्तो थियो मेरो जन्मको वृत्तान्त–कथा, जसबारे आमालाई म अनेकचोटि सोधेर दुःख दिने गर्थें । तर, आमा हरेकचोटि जीवनकै सबभन्दा सुखद घटना मानेर त्यो कथा सुनाउनुहुन्थ्यो । यति भनिसकेपछि आमा साँच्चिनै दुइटै भारी बिसाएझैं हलुङ्गो महसुस गर्नॅहुन्थ्यो । त्यसपछि आमाको कथावाचन अन्त्य हुन्थ्यो ।

आमाको त्यही अन्त्य कथनबाट अब सुरु हुन्छ, माथि वर्णित कविता ‘मेरो जन्मको महाख्यान’, जसले आफ्नो बयानमा हुबहु सापट लिएको छ, आमाकै भाषा र खोज गरेको छ, कहीँ नभएको आफ्नो जन्मदिन । कविताले मैलेजस्तै आमालाई त केही सोधेको छैन । तर, केही अनाधिकार प्रश्न गरेको छ, देशलाई, राज्यलाई र राज्य रक्षित अंगहरूलाई ।

सोच्नोस्, अर्थात् व्याख्या जेसुकै गर्नोस् जन्मको । त्यो तपाईंको कुरा । तर, एउटा नागरिकको हैसियतमा जब कहीँ कसैको जन्म हुन्छ, के त्यसले सर्वदा एउटी आमाको निजी दुःखको विषय मात्र बन्नुपर्छ ? के त्यसका लागि राज्यले अलिकति पनि जिम्मेवारी बोध गर्नॅ पर्दैन ? आधुनिक राज्यको हैसियत भजाएर जब कुनै राज्यले आफूलाई राज्य ठान्छ, के त्यसको लागि एउटा नागरिकको जन्म फगत एउटा अमुक घटना मात्र हो ? के एउटा नागरिक राज्य पाल्ने करको आजन्म दायित्व मात्र हो ? अथवा नागरिकको काम एकतर्फी कर तिरिरहनु मात्र हो ? एउटा देशका लागि जब कुनै नागरिकले ज्यान दिन्छ, के उसलाई देशले केही दिनु पर्दैन ? देश र जनताको सम्बन्ध के सधैं एकतर्फी हुनुपर्छ ? यदि त्यस्तै भइरहन्छ भने एउटा नागरिकले आफ्नो भनिने देशको सम्बन्धबाट च्युत हुने अधिकार राख्छ कि राख्दैन ? त्यो देश कस्तो देश ? जोसँग आफ्नै नागरिकलाई दिने एक दिनको आँकडासम्म छैन !

तर, प्रश्न जति गरे पनि मेरो जन्म मेरै आमाको निजी दुःखसिवाय अरू केही हुन सकेन । मेरो जन्ममा कुनै सरकारी बहीखाता खुलेन । म देशका लागि एउटा निसर्त करप्रदायक जन्मिरहेको थिएँ । तैपनि देशले मेरो जन्मको कुनै अभिलेख राखेन । म जन्मिँदा घरमा सधैं बलिरहने अगेनाबाहेक अर्को कुनै अतिरिक्त बत्ती बलेन । म त्यस्तो देशको नागरिक, जहाँ मेरो जन्मदिन अटाउने कुनै क्यालेन्डर छैन ।

मलाई यतिखेर फेरि त्यही अद्भुत कथा सम्झना भइरहेछ, जुन कथामा वर्णित छ, ‘बुद्ध जन्मिनासाथ सात पाइला हिँडेका थिए रे ।’

तर, मलाई आज पनि साँच्चि नै कुनै चासो छैन त्यो ‘रे’ बारे, विज्ञानले के भन्छ ? अथवा कुन उद्देश्यका लागि त्यो सात पाइलाको महाख्यान रचिएको थियो ? मलाई त जुन दिन पहिलोचोटि आमाले मेरो जन्मकथा सुनाउनुभयो र भन्नुभयो ‘तँ दाउराको भारीसँगै जन्मिइस्’, ठीक त्यही दिनदेखि म बुद्धको सात पाइलादेखि अभिभूत हुन पुगेको हुँ । त्यही दिनदेखि हरदम यस्तो लागिरह्यो– कास ! म किन बुद्धजस्तो हुन सकिनँ ? किन जन्मिँदै सात पाइला हिँड्न सकिनँ ? कम्तीमा हिँड्न सकेको भए सात कदम, मेरी बिरामी आमालाई डोर्‍याउने थिएँ । कम्तीमा केही न केही आमाको दुःख त कम गराउँथेँ ।

अन्तिममा कविताले भन्छ– ‘यत्ति हो, त्यो दिन मेरी आमाको दुइटा भारीमध्ये एउटा भारी हट्नु थियो, हटेँ । मैले जे गर्न सक्थेँ, त्यही गरेँ ।’ तर, त्यो दिन कुन दिन थियो ? न देशलाई थाहा छ । न राज्यलाई । न मेरी दुःखी आमालाई । यसरी जुन दिन म आफू जन्मिएँ, ठीक त्यही दिनदेखि मैले आफ्नो जन्मदिन गुमाएँ ।

बस्, मेरो जन्म र जन्मदिनको महाख्यान अब यहीँ अन्त्य हुन्छ ।

प्रकाशित : आश्विन २३, २०७८ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्

म महान् बन्‍न सक्दिनँ – रूपा !

भूपाल राई

रूपा सुनारले खेपेको जातीय विभेदको घटना प्रकाशमा आएपछि कवि भूपाल राईलाई बोध भयो– उनीभित्र पनि एउटा दमित घाउ कतै दुखिरहेको रै’छ । करिब ४५ वर्षअघि राईले भोगेको विभेद र त्यस विभेदको ‘ऐया’ माथिको एक टिप्पणी :

रूपा अर्थात् रूपा सुनार !

यो समयको एउटा प्रतिवादी नाम, जसले खेपेको जातीय विभेदको घटनाले यतिबेला काठमाडौं खाल्डो तरंगित छ । काठमाडांैजस्तो महानगरी जहाँ भित्रभित्रै नजाने कति विभेदजन्य घटना हुने गथ्र्यो, तर दृश्यमा अक्सर देखिँदैनथ्यो । यस पटक यही महानगरीमा यो घटना यस्तरी देखिने गरी आयो, जसले पुष्टि गर्‍यो कि दूरदराजको कुनै साँघुरो समाजभन्दा काठमाडांै कम घातक छैन । महानगरीको नाममा यसले पालिरहेको आडम्बर यस पटक सडकमा पोखिएको पानीझैं छताछुल्ल हुन पुग्यो ।

तर, पानी काठमाडौंको सडकमा मात्रै पोखिएन, मौजुदा समयमा स्थायी/अस्थायी बसोबास गर्ने यसभित्रका प्रत्येक मान्छेको सोचमा समेत छताछुल्ल हुन पुग्यो । प्रत्येक मानिस, जो कथित वर्ण सोपानको तल्लो तहमा छन्, उनीहरू यतिखेर जीवनमा आफूले भोग्नुपरेका विभेदका अनेक घटना सम्झिरहेछन् । विभेदग्रस्त मानिसका अनेक अतीतकथाहरू धमाधम दृश्यमा आउन थालेका छन् । अतीतको विस्मृत घाउ कोट्याउने यो क्रममा यतिखेर म आफैं पनि लामबद्ध छु । यो घटनाले मलाई पनि आफ्नै सुदूरअतीतको एक विभेदजन्य क्षण एकाएक सम्झाइदिएको छ । झट्ट सुन्दा सामान्य लाग्छ रूपाको यो कोठा प्रकरण– काठमाडौंका प्रधान थरको कुनै एक घरमा रूपाले डेरा माग्नु । घरबेटी सरस्वती प्रधानले पहिले सहज रूपमा डेरा दिनु । तर, रूपाले आफू कामी (दलित) की छोरी भएको तथ्य नढाँटेपछि दिइसकेको कोठा फेरि जातकै आधारमा नदिनु । एकदम सामान्य । त्यस्तो सामान्य, जो सदासर्वदा भइरहेको छ हाम्रो समाजमा, हाम्रै वरिपरि । अभ्यस्त भइसकेका छौं हामी यस्ता सामाजिक प्रकरणहरूबाट । तर, सुन्दा सामान्यजस्तो लाग्ने यो घटना जब रूपासँगै पुग्यो प्रहरी प्रशासनमा तब एक्कासि यो सोचेजस्तो सामान्य छैन भन्ने बोध हुन गयो । यस्तो घटना जसले मान्छेको आत्मस्वाभिमानमाथि ठेस पुर्‍याउँछ वा मानवीय न्यायकै धज्जी उडाउँछ, त्यसलाई सामान्य मान्नु साँच्चै गल्ती हुन जान्छ । जातीय भेदभावको हतियारले मान्छेमान्छेबीचमा कहिल्यै नमेटिने विभेदको रेखा कोर्ने मानवताविरोधी कर्मलाई सधैं भइरहने घटना मानेर साधारणीकृत गर्नु अपराधपूर्ण हुन जान्छ ।

घटनाले केही यस्ता भावोद्वेग र उद्वेलनपूर्ण विचारहरू सतहमा ल्याइदियो जुन यसभन्दा अगाडि विरलै भएको थियो । पहिलो त यसले माथि भनेजस्तै विभेदमा परेका प्रत्येक व्यक्तिलाई आफ्नो दमित पहिचानप्रति सम्मानभाव प्रदान गर्‍यो । प्रत्येकलाई आफू कहाँ, कसरी, कस्तो विभेदबाट गुज्रिनुपरेको थियो, त्यसको पुनरवलोकन गर्ने ठाउँ दियो । दोस्रो, सधैं भइरहने घटना जो यसभन्दा अगाडि सामान्य लाग्थ्यो, त्यो सधैं सामान्य भइरहँदैन भन्ने पुष्टि भयो, जसलाई व्यक्त गर्न एक न एक दिन कुनै न कुनै रूपा सुनारले जन्मिनै पथ्र्यो । र, तेस्रो, विभेदपूर्ण समाजमा विभेदलाई नै लिएर समाज विभाजित अवस्थामा हुन्छ । त्यहाँ एउटा यस्तो वाचाल पक्ष पनि हुन्छ, जसको सजातीय सत्ता विभेदकै जगमा टिकेको हुन्छ र ऊ हमेसा त्यसैको रक्षार्थ उभिन्छ । यसकारण कि उसलाई लाग्छ, उत्पीडनको लगाम उसको हातबाट छुट्यो भने जन्मिँदै प्राप्त विशेषाधिकारको घोडाबाट उसले अवश्य झर्नुपर्छ ।

माथि नै संकेत गरिसकियो । फेरि पनि दोहोर्‍याऊँ । कहिलेकाहीँ सामान्यजस्तो लाग्ने मनोवैज्ञानिक घटना पनि यति चोटिलो हुँदो रैछ, त्यसले सुदूरअतीतको विस्मृत घाउलाई एकाएक ब्युँझाइदिँदो रैछ । मलाई पनि ठीक त्यस्तै भयो । यसले मलाई एक्कासि मेरो बालापनमा लगेर पछारिदियो, जतिखेर म एक सुदूर गाउँको एक हाइस्कुलको विद्यार्थी थिएँ । ठीक त्यही बेला ममाथि पनि त्यस्तो अकल्पनीय घटना भएको थियो, जसलाई अहिलेको भाषामा जातीय विभेद भनिन्छ । ‘भनिन्छ’ – किनभने उतिबेला प्रतिकारमा उत्रिने विषय त परै जाओस्, मलाई यो पनि थाहा थिएन कि त्यहाँ के भइरहेको थियो ? यसरी थाहै नपाई हाम्रो समाजले हामीलाई दण्डित गरिरहेको हुँदोरैछ । यद्यपि नेपाली समाजमा जात व्यवस्थाअनुसार हुने विभेदको तह उस्तै छैन, तथापि त्यसले दिने मनोवैज्ञानिक चोट कसैको पनि सानो हुँदैन । आजभन्दा लगभग ४५/४६ वर्षअगाडिको त्यो अवोध बालवयको घटनालाई व्यक्त गर्ने यतिखेर मसँग ठीकठीक शब्द छैन । एक दुस्वप्नजस्तै मैले लगभग त्यसलाई बिर्सिसकेको थिएँ । एक्कासि रूपा सुनारको घटना सतहमा आएपछि मात्रै मलाई बोध भयो, अझै पनि मभित्र त्यो दमित घाउ कतै दुखिरहेको रैछ । त्यही दुखाइ आज अरू सबै दु:खहरूसँग साझेदारी गर्न म यहाँ फेरि बाँड्न गइरहेछु ।

०००

आफ्नो कथा भन्नुअघि रूपा सुनारसँगै जोडिएको एउटा सानो घटना राखिहालूँ । घटनाले निकै ठूलो तरंग ल्याएपछि मैले आफ्नो फेसबुकमा एउटा संक्षिप्त धारणा सम्प्रेषण गरेको थिएँ । त्यो जुन २३ तारिखको बेलुकीपख थियो, जसको मजबुन जम्माजम्मी यस्तो थियो, ‘समयको हजार दलदल टेकेर उभिएको रूपा सुनार साहसको एउटा खुट्टा हो । एउटा आन्दोलन हो । ऊ यतिखेर जातीय विभेदको फोहोरी दलदलसँग लडिरहेछ । उसलाई समयको बयलगाडे पहियाँको जिम्मा लगाएर एक्लो नछाडौं । समयलाई क्रमभंग गर्ने अरू हजार खुट्टाको आड दिऊँ ।’ अनेक सहभाव र सह–अनुभूतिजन्य कमेन्टहरूको साथमा केही मिस्रित टिप्पणीहरू पनि आउने क्रम जारी थियो । यही क्रममा भित्तामुनि अनायास एउटा कमेन्ट खस्यो, ‘तपाईंजस्तो महान् मान्छेले यस्तो जातीय कुरा गर्न सुहाउँछ र... ?’

टिप्पणीले मलाई अचानक एकछिन घोत्लिन बाध्य बनायो । यद्यपि त्यसले मलाई ‘महान्’ करार गरेको थियो, तर त्योभन्दा बढी यसले मलाई सोचनीय बनायो कि टिप्पणीकारको नामसँग कथित उच्च जातीय ‘अधिकारी’ थर जोडिएको थियो र झट्ट हेर्दा ऊ पढालेखाझैं लाग्ने एक युवक थियो । एउटा उच्च जातधारी नाम, त्यो पनि शिक्षित युवक ! मलाई यसले अनेक प्रश्नबीच खडा गरिदियो । किन एक युवकलाई नेपाली समाजमा व्याप्त जात व्यवस्थाको विकारले छोइरहेको छैन ? किन ऊ विभेदको यत्रो ज्युँदो तथ्यमाथि निस्पृह छ ? किन ऊ समानताको न्यायपूर्ण आवाजमा जातीय द्वन्द्व भड्किने खतरा देख्छ ? त्यस्तो कुन कारखाना छ, जहाँबाट दिनानुदिन यस्ता विचारहरूको उत्पादन भैरहेछ ? मलाई यी प्रश्नले केही तथ्यको उद्घाटन गर्न उद्यत गरायो ।

अनौठो यो छ कि दसवर्षे माओवादी जनयुद्धको दौरान मत्थर हुन गएको जातीय विभेदको विषयले गणतन्त्रकालमा फेरि एकाएक शिर उठाउन पुग्यो । यो पछिल्लो तीन साढे तीन वर्षको दम्र्यानमा त झन् यस्तो भयो कि दलितद्वेषी केही अकल्पनीय घटनाले इतिहासका सारा विद्वेष र विभेदको रेकर्ड तोड्यो । तथ्य र तथ्यांकले के भन्छ थाहा छैन, तर सामाजिक सञ्जालहरूमा छेँडिएको जातीय युद्व देख्दा यस्तो लाग्छ, साराका सारा उच्च जातीय भनिने असहिष्णु युवा जत्थाहरूको उत्पादन यही समयमा हुन गएको छ । आखिर यस्तो किन भैरहेछ ? मलाई लाग्छ, यसका दुई तीनवटा कारण छन् ।

पहिलो हो, राजनीतिक आन्दोलनको कर्मकाण्डीय चरित्र । २००७ सालदेखि यताका जुनसुकै राजनीतिक आन्दोलनलाई हेरौं, ती सबैले अंशअंशमा मात्रै आफ्ना मुद्दा पूरा गरेका छन् । प्रत्येकले थोरै लिएर धेरै छाडेका छन् । हरेकले सामाजिक न्याय र सांस्कृतिक रूपान्तरणको मुख्य मुद्दालाई नजरअन्दाज गरेका छन् । एक किसिमले प्रत्येकले आफ्नो समयको कर्मकाण्ड मात्र पूरा गरेका छन् । अरू त अरू २०५२ को माओवादी ‘जनयुद्ध’ मा समेत यो कमजोरी दोहोरिएको देखियो । यद्यपि यो नै त्यस्तो युगीन राजनीतिक परिघटना थियो, देशकै इतिहासमा यस्तो परिघटना न कहिल्यै घटित भएको थियो न कहिल्यै फेरि हुनेछ । यो कालभरि जातीय भेदभावका घटनाहरू धेरै मत्थर भएको पनि हो । किनभने सारा उत्पीडित दमित तह र तप्कालाई गुमेको उनीहरूको स्वत्व र मूल्यको अवोध यही राजनीतिक परिघटनाले प्रदान गरेको थियो । तर, यसमा पनि एउटा ठूलो अपुग या अपूर्णता रहन गयो । राजनीति भनेको आर्थिक आधार र सांस्कृतिक धुरीहरूको गठजोड हो भन्ने यसले पनि बिस्र्यो । त्यसैले यसले पनि आफूसँगसँगै वा आफ्नो समानान्तर सांस्कृतिक अभियानको आयामलाई छुटाउन पुग्यो । त्यही सांस्कृतिक आयामको अपूर्णताले मानिसहरूभित्र जड भएर बसेका पुराना मूल्य र जर्जर मान्यतालाई यसले चिर्न सकेन । केहीकेही राजनीतिक कित्ताका उपरिसंरचनाहरू बदलिए पनि मानिसभित्रको जडता र अन्तरसोचलाई यसले बदल्न सकेन । फलत: जब माओवादी जनयुद्ध सेलाउन पुग्यो, त्यतिन्जेलसम्म क्षणिक दबाबका कारण ढुंगाको कापमुनि लुकेर बसेको झ्याउझैं उच्चजातीय अहंकारले एकाएक टाउको उठाइहाल्यो । रुकुम चौरजहारीको नरसंहार यसैको परिणाम थियो । अजित मिझारलगायतका अनेक दलित सफाया र बलात्कार काण्डहरू यसैका द्योतक हुन् ।

दोस्रो हो, राज्यसत्तामा वर्ण उत्थानको अभ्यास । तथ्यांकले बताउँछ, पञ्चायती व्यवस्थाको अवसानपछि जातीय भेदभाव घट्दै जानुपर्ने र जातीय समावेशिताको क्षत्रफल खुकुलो हुँदै जानुपर्नेमा त्यो झन् कसिलो हुँदै गयो । पृथ्वीनारायण शाहको पालादेखि पञ्चायतकालसम्म राज्यसत्ताको अविच्छिन्न दोहन वर्णव्यवस्थाको दोस्रो धुरीले गथ्र्याे भने त्यसपपछि (प्रजातन्त्रको पुनर्बहालीपछि) त्यो सुअवसर एक्कासि उपल्लो वर्णको हातमा सर्‍यो । अर्थात् त्योभन्दा अगाडि राज्यसत्ताको हालीमुहाली वर्णको हिसाबले क्षत्रीहरूले गर्थे भने त्यसपछाडि ब्राह्मणहरूले गर्न थाले । भर्खरैको कुरा गरौं– पछिल्लो कालमा तत्कालीन प्रधानमन्त्री केपी ओलीको हातमा राज्यसत्ताको लगाम पुगेपछि पनि यो समस्याले निरन्तरता पाइरह्यो । जस्तो : उनले कोभिडको महामारीमा जीवन र मृत्युसँग जनता लडिरहेका बेला ठोरीमा अयोध्याको उत्खनन गरे । माडीमा राम मन्दिरको कालिगडी गरे । पशुपतिमा ३० करोडको जलहरी फहराए । जातीय विभेद अन्त्य गर्नुपर्नेमा प्रधानमन्त्री ओलीका क्याबिनेट मन्त्री आफैंले जातीय विभेदको आरोपमा थुनामा परी मुक्त भएकी महिलालाई झन्डावाल गाडीमा घरसम्म पुर्‍याए । यो एक अस्वाभाविक घटना थियो ।

तेस्रो हो, ‘स्वामी’ वा ‘स्वामित्व’ भावको अपरिवर्तनीय मोह । वर्ण व्यवस्थाको कथित सर्वोच्च तहको वर्णले बाँकीलाई अधीनस्थ राखिराख्नका लागि ‘स्वामी’ वा ‘स्वामित्व’ भावको सिद्धान्त स्थापित गरेको छ । आफूलाई स्वामीको वर्चस्वशाली आसनमा विराजमान गराएर र अरूबाट सबैथोक खोसेर उनले आफ्नो अकण्टक स्वर्ग बचाइराखे । यो भनेको आफू मालिक र अरू सब सेवक हुनु हो, जो सर्वदा अपरिवर्तनीय छ । मालिकत्व या बञ्चनाको यो सिद्धान्त उनले तहअनुसार व्यवस्था गरेका छन्, जसको सबभन्दा ठूलो मारमा दलितहरू परेका छन् ।

मानिसको व्यक्तिगत स्वतन्त्रता र अधिकारजन्य विषय प्रकृति र प्राकृतिक स्रोतसँग जोडिएको हुनाले उनले सबभन्दा पहिले प्रकृतिको साझा अवधारणामाथि प्रहार गरेको छ । उनले प्रकृतिलाई अनधिकार रूपले आफ्नो स्वामित्वमा पारेका छन् । उनले सबैभन्दा पहिले दलितहरूको हातबाट पानी खोसेका छन् । त्यसपछि माटो (जमिन) खोसेका छन् । वनजंगल, चउर, सार्वजनिक स्थल सबैबाट वञ्चित गरेका छन् । भारतमा धेरै पछिसम्म त्यहाँका अछुत हरिजनहरूलाई बेलुकी पाँच बजेतिर बाहिर निस्कन निषेध गरिएको थियो । किनभने पाँच बजेको तेर्सो घाममा मान्छेको छाया लामो हुन्थ्यो । कदाचित हरिजनहरू बाहिर निस्किए उनीहरूको छायाले मालिकहरूलाई छुन सक्थ्यो । त्यसले मालिकहरूलाई अपवित्र बनाउन सक्थ्यो । यसरी दलितहरू घामबाट पनि वञ्चित थिए । किनभने घाम पनि मालिकहरूको आफ्नो थियो । अर्थात् सारा प्रकृति मालिकहरूको एकल स्वामित्वमा थियो । यसरी सम्पूर्ण प्रकृति र प्राकृतिक स्रोतबाटै वञ्चित भएपछि दलितहरू जातभात, चुल्हाचौका, मठमन्दिर आदिबाट वञ्चित रहनु स्वाभाविक थियो ।

सबभन्दा अनौठो त यो छ कि स्वामित्वको यो सिद्धान्त बिलकुल अपरिवर्तनीय छ । कहिल्यै तलमाथि नहुने, नबदलिने, जसको जगमा हिन्दु धर्मको सार्वकालिक झन्डा फहराएको छ । र, अर्को अनौठो के छ भने यो नियम लगभग तीन हजार वर्षअगाडिदेखि निरन्तर चलिआइरहेको छ । तब प्रश्न उठ्छ, तीन हजार वर्षभन्दा पुरानो त्यो अपरिवर्तनीय स्वामित्वको मोहलाई त्यति सजिलै कसले त्याग्न सक्छ ? अझ, त्योभन्दा पुरानो छुवाछुतमा आधारित हिन्दु धर्मको जग भत्काउन कसले सक्छ ?

मलाई लाग्छ, माथि वर्णित बाह्मण युवा (टिप्पणीकार) यही हिन्दु उच्चजातीय कारखानाको पछिल्लो उत्पादन हो, जसले मेरो फेसबुक आग्रहलाई जातीय विग्रहको लेपन दिन खोजेको छ । यसैबाट अनुमान गर्न सकिन्छ कि पछिल्लो नेपाली राज्यसत्ताले कस्तो युवा पुस्ताको उत्पादन गरिरहेको रैछ ! या त्यसले कस्तो विचारलाई संरक्षण गरिरहेको रैछ ! र, यस्ता उत्पादनहरूको बीचमा रूपा सुनारले रोप्न खोजेको बीउको जगेर्ना कसरी गर्न सकिन्छ ?

०००

अब जाऊँ आफ्नै कथाको सुदूरअतीततिर । सुदूरतिर जानुअघि थोरै दूरको धागो तान्दै अगाडि बढूँ ।

२०५८ जेठ महिनातिर भोजपुर सदरमुकाममा ‘भोजपुर महोत्सव’ नामक बृहत् कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमले भोजपुरमा जन्मिएर दशकौं नफर्किएका केही पाका व्यक्तित्वलाई आफू जन्मिएको माटो टेक्ने सुअवसर जुराइदिएको थियो । म आफैं पनि झन्डै दशकपछाडि आफ्नो जिल्ला फर्किएको थिएँ । सिरान बजारमा अवस्थित गेस्टहाउसमा जुराइएको थियो मेरो बास । एक बेलुकी सुत्ने बेला मेरो कोठामा आएर एक जना कविले गफैगफमा मलाई भने, ‘तपाईंमा अवश्य कुनै न कुनै इन्फेरियर कम्प्लेक्सिटी छ ।’ त्यसो भन्नुको कारण त उनले खोल्न चाहेनन्, तर मलाई लाग्छ— नयाँ सम्बन्धहरूसँग हत्तपत्त सहज बन्न नसक्ने र अपरिचित माहोलहरूबाट भरसक टाढै रहन चाहने मेरो अलगाव–भाव देखेर उनले त्यसो भनेको हुनुपर्छ ।

मैले जवाफमा भनेँ, ‘अवश्य । मसँग कुनै न कुनै हीनताभाव व्याप्त छ । तर त्यो जात व्यवस्थाले निर्माण गरेको एक खालको हीनताबोध हो । मभित्र कुनै दिन आफैंमाथि हुन गएको जातीय विभेदको चर्को असर छ ।’

मेरो जवाफले कवि छक्क परे । किनभने म थिएँ किराती समुदायको एक सदस्य (किराती जाति हिन्दु वर्ण व्यवस्थाभित्र पर्दैन । तर, योभित्र पनि वर्ण विकारको बाह्य अभ्यास सरिसकेको छ, जुन बहसको छुट्टै विषय हो) । र, उनलाई लाग्यो होला ममाथिको विभेदको कुरा अतिरञ्जित छ । त्यसैले छक्क पर्दै उनले भने, ‘कसरी ?’

त्यो ‘कसरी’ ले खोजेको दुर्दान्त कथा मैले त्यो बेलुका दोस्रोचोटि एक कविलाई सुनाएँ । पहिलोचोटि २०४८ असोज १३ को साप्ताहिक ‘छहरा’ को आफ्नो नियमित स्तम्भमा मैले त्यसबारे लेखिसकेको थिएँ । आज म तेस्रोचोटि खाटा बसिसकेको त्यो कथा फेरि यहाँ कोट्याउन गइरहेछु ।

०००

लगभग चार साढे चार दशकअगाडि, मुस्किलले १२/१३ वर्षको एक अबोध केटो । दुनियाँको उहापोह नदेखेको । उँच–नीच नजानिसकेको । समाजको मानवनिर्मित तह र तहगत व्यवस्थाको जटिलता नबुझेको अबोध बालक । भोजपुर जिल्लाको पूर्वी क्षेत्र, याकु बिर्ता गाउँको विश्वप्रेमी नामको पुरानो हाइस्कुल । ऊ त्यही स्कुलको आटौं कक्षाको विद्यार्थी । आफ्नो समयको एक जेहेनदार विद्यार्थी । सार्वकालिक फस्ट ब्वाई ।

सदरमुकाममा जिल्लाव्यापी अन्तरविद्यालयीय हाजिरीजवाफ प्रतियोगिता चलिरहेको थियो । त्यसका लागि स्कुलका तीन–चार जना अन्य विद्यार्थीसँगै उसको नाम पनि छनोटमा पर्न गयो । ऊ पहिलोचोटि त्यस स्कुलको विद्यार्थीको हैसियतमा सदरमुकाम रमाना भइरहेको थियो । अभिभावकत्वका लागि साथमा खटिएको थियो विद्यालयबाट पत्याइएको एक पाको र अनुभवी शिक्षक– विशद्ध धर्म–कर्ममा आस्था राख्ने दिङ्ला गाउँतिरको एक चोखो ब्राह्मण । सबैले उसलाई गुरु भनेर बोलाउने गर्थे, जसले कक्षामा संस्कृत र नेपाली पढाउँथ्यो । दिङ्ला देशभरिकै पहिलो शैक्षिक संस्था षडानन्द संस्कृत विद्यालय रहेको प्रख्यात गाउँ । सम्भवत: त्यही संस्कृत विद्यालयको एक शैक्षिक र सांस्कृतिक उत्पादन थियो त्यो केटोको गुरु । उर्फ त्यो दिनको अभिभावक ।

स्कूलबाट लगभग ७/८ घण्टाको दूरीमा छ सदरमुकाम । एक दिनमा मज्जाले काट्न सकिने दूरी हो यो । तर त्यो दिन जाँदाजाँदै बाटैमा रात पर्न गयो । त्यसैले सदरमुकामदेखि ठीक पारिपट्टिको मुलाबारी ओरालोको कुनै घरमा बास बस्नुपर्‍यो । घर कसको थियो ? बेलुकी खाना कसरी पाक्यो ? त्यस्तो कुनै सम्झना छैन त्यो अबोध केटोलाई । खाना खाइसकेपछि घरको मझेरीमा सामूहिक ओछ्यान मिल्यो । सबै लहरै सुत्ने भए । एक किसिमले सब ठीकठाक थियो ।

तर जब सबै झकाउन लागेका थिए, थाकेका कलिला विद्यार्थीहरू लगभग निदाइसकेका थिए, एक्कासि त्यहाँ त्यस्तो घटना हुन पुग्यो जुन कसैले कल्पनै गरेका थिएनन् । अचानक उही मान्यवर गुरु जुरुक्क उठेर चिच्याइरहेको थियो, ‘ए केटा हो ! उठ, उठ... !’

जर्‍याकजुरुक उठेर आँखा मिच्दै कसैले सोध्यो, ‘के भयो गुरु ?’

एक छिनपछि टुकी बल्यो । टुकीको दोछायामा छेउमा बसिरहेको त्यही अबोध केटोलाई देखाउँदै गुरुले भन्यो, ‘लौ अधर्म भयो । यो केटो मेरो छेउमा सुतिरहेको रैछ । त्यो पनि दाहिनेपट्टि । मेरो दाहिनेतिर सानो जातले सुत्न मिल्दैन । लौ केटा हो ओछ्यान बदल... !’

गुरुको त्यस्तो गुरुत्ववाणी सुनेर सबैले तँछाडमछाड गर्दै आ–आफ्नो ओछ्यान बदले । बदलिएको ओछ्यानबाट एकाएक त्यो केटाको ओछ्यान हरायो । जाडोको महिना । कुनै परित्यक्त अपराधीझैं बाहिर सिकुवामा एक्लै पल्टिन ऊ बाध्य भयो ।

त्यसपछि ऊ रातभरि निदाउन सकेन । जात व्यवस्थाको सानोभन्दा सानो संकेतसम्म थाहा नपाएको उसको कलिलो दिमागमा पहिलोचोटि जातीय विभेदको बीउ रोपिएको थियो । उसले के गल्ती गरेको थियो ? बिलकुल अनजान थियो ऊ । मात्र कुनै अदृश्य गल्ती गरेबापत दण्डितजस्तै, कुनै गहिरो अपराधबोधले ऊ रातभरि छटपटाइरह्यो ।

के कसैले अनुमान गर्न सक्छ ? त्यो कलिलो केटोको निरपराध दिमागले त्यो एक्लो रातभरि अरू के के सोच्यो होला ? या त्यो एक रातको आकस्मिक घटनाले उसको सुदूरभविष्यमाथि कस्तो असर छाड्यो होला ? अथवा त्यो एउटा वज्रपात, जुन एउटा बाल मनोविज्ञानमाथि अकस्मात खसेको थियो, त्यसको क्षतिपूर्ति दिने बहादुर को होला ?

यी जटिल प्रश्नको उत्तर त्यो परित्यक्त केटाले आजसम्म पाएको छैन । त्यो अबोध र अनजान बालक, जो आज आफ्नो जीवनको प्रौढावस्थामा छ, त्यो केटो अरू कोही थिएन, म थिएँ ।

०००

आफ्नो निधारमा ‘इन्फेरियरिटी’ को छप्पा लागेको यत्तिका वर्षपछि आज म सोचिरहेछु, वास्तवमा त्यो कवि शतप्रतिशत सही थियो । किनभने मुलाबारीको त्यो एक रातले दिएको प्रथम उपहार मैले धेरै दशकसम्म बोकेर हिँड्नुपरेको थियो । धेरै पछिसम्म मलाई यस्तो लाग्थ्यो, हरेक मोडमा भेटिएका सजातीय अनुहारहरू त्यही गुरुका अवतार हुन् । लाग्थ्यो, म उनीहरूभन्दा जन्मजात कमजोर छु । उनीहरूभन्दा म हरतरहले नजान्नेछु, अबुझ छु । यस हीनभावनाले मलाई पछिसम्मै क्षुब्ध बनाइरह्यो । वितृष्णा पैदा गराइरह्यो । मलाई ‘गुरु’ भन्ने शब्दबाटै मोहभंग भएको थियो । भित्रभित्रै म तर्सिन्थेँ र उनीहरूबाट टाढा भाग्न खोज्थेँ । अब सोचौँ, मुस्किलले चार या पाँच सय वर्षअघिको सेनकालदेखि अथवा खासगरी पृथ्वीनारायण शाहको अतिक्रमणपछि भेदभावको अभ्यासमा पर्न थालेको मेरो जातिलाई एउटा सानो विभेदको घटनाले त्यत्रो मानसिक यन्त्रणा दिन्छ भने तीन हजार वर्षदेखि अविच्छिन्न विभेद खेपिरहेका रूपा सुनारहरू कसरी बाँचिरहेका होलान् ? अथवा हजारौं वर्षदेखिको वञ्चिती र मानसिक यन्त्रणाको बावजुद पनि एउटा समुदाय बाँचिरहेछ– के यो सानो परिघटना हो ? किन हामीलाई एउटा सिंगो मानव समुदायमाथिको अमानवीयताले छुँदैन ? किन हामी रूपा सुनारको त्यो सानो प्रतिरोधलाई तीन हजार वर्षको दलदलबाट उठेको पीडाको आवाज ठान्दैनौँ ?

जातवादी समाजको गजुरतल्ले संरचना यस्तो एउटा नियोजित संरचना हो, जसले समाजलाई त तह तहमा विभाजित गरेकै छ, त्यसले तहअनुसारको पीडालाई पनि विभाजित गरेर राखेको छ । हामी आफूमाथि पर्न गएको विभेदबाट क्षुब्ध त हुन्छौं, तर आफैंले गरेको विभेदबाट गर्व पनि गर्छौं । उपल्लो स्थानमा विराजमान कथित एउटा तहबाहेक तलका तीनै तहले एक अर्काको उत्पीडनलाई चिन्दैनन् । आफ्नो ठान्दैनन् । यो नियोजित र विभाजित संरचनाको खाकाले कसैलाई एक हुन दिएको छैन । कसैले कसैको उत्पीडनलाई साझा मान्दैन । त्यसैले हामी सोच्छौं, सम्पूर्ण विभेदविरुद्ध जुध्ने एकल जिम्मेवारी केवल रूपा सुनारको हो । र, साथसाथै यो पनि सोच्छौं कि ऊसँग जोडिएको कोठा प्रकरण खासमा घरधनीको नितान्त निजी मामला हो । तर, हामीले बुझ्नुपर्छ, विभेद जुन जातको आधारमा गरिन्छ, त्यो व्यक्तिले गरे पनि हजारौं वर्षदेखिको शृंखलामा भइरहेको छ । तीन हजार वर्षअघिदेखि संस्थागत रूपले चलिरहेको जातीय विभेद त्यो चाहे जसले गरोस् निजी हुँदैन संस्थागत हुन्छ, साझा हुन्छ । र, साझा मुद्दामा लड्नका लागि साझा जिम्मेवारी हुन जान्छ । त्यसैले रूपा सुनारको प्रतिरोध अरू कुनै समुदायको विरुद्धमा हो भन्नु गल्ती हुन जान्छ ।

अब म यहाँ ‘महानता’ को त्यो भाष्य र त्यसको भाष्यकारलाई पुन: एकचोटि सम्झिन चाहन्छु, जसले फेसबुकमा मलाई महान् करार गरेको छ । तर, म बुझ्छु उठिरहेको मुद्दालाई विषयान्तर गर्ने यो एउटा गज्जबको तरिका हो । जात व्यवस्थाको गजुरमा बसेका उनीहरू चाहन्छन् यस्ता मुद्दाहरू भरसक उठ्दै नउठून् । उठिहालेछन् भने पनि जातीय द्वन्द्वको त्रास फैलाएर तिनलाई निस्तेज पार्न सकियोस् । यदि यी दुवै तरकिव काम लागेनन् भने मजस्ता चिन्तित चित्तहरूलाई महानताको ट्याग भिराएर चुप लगाउन सकियोस् । चुप लगाएर मुद्दाहरूको ‘टोन डाउन’ गर्न सकियोस् । तर, भाष्यकारलाई थाहा हुनुपर्छ, चुप लागेर महान् भइँदैन । आफैंमाथिको अत्याचार सहँदै, मौनता साँधेर अरू थप अत्याचार हेरिरहनु महान् हुने मार्ग होइन । महान् हुनका लागि त समयको हजार दलदल टेकेर उठ्ने साहस गर्नैपर्छ, जुन दिशातर्फ यतिखेर रूपा सुनारको कदम अग्रसर छ ।

अन्त्यमा, यो मेरो अहोभाग्य हो, मैले आफ्नो दमित कथा यसरी फेरि सुनाउने अवसर पाएँ । यद्यपि रूपाको ताजा घटना र मेरो विस्मृत घटनाबीच समय र सन्दर्भ भिन्न होला । तर, म जान्दछु विभेदको ‘ऐया’ समान छ । र, म यो पनि जान्दछु कि यो अवसर त्यत्तिकै जुरेको छैन । यसका लागि रूपा सुनारको ठूलो योगदान छ । त्यसो त रूपाको कदम अब त्यो महानताको मोडतिर मोडिइसकेको छ । तर, म त्यो टिप्पणीकारले सोचेजस्तो महान् छु कि छैन ? मलाई थाहा छैन । मात्र यति थाहा छ– उसले चाहेजस्तो भइदिएर, हमेसा चुप लागिदिएर, कुनै उपबुज्रुक बन्ने सर्तमा म महान् बन्न सक्दिनँ । हो, म त्यस्तो महान् बन्न कदापि सक्दिनँ ।

(शनिबार प्रकाशन हुने कान्तिपुरको प्रिन्ट संस्करण ‘शनिबार विशेष’बाट ।)

प्रकाशित : श्रावण १, २०७८ २०:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×