कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

जन्मदिन नभएको मान्छे !

जुन दिन म जन्मिएँ, त्यही दिनदेखि मैले आफ्नो जन्मदिन गुमाएँ । मेरो जन्म मेरै आमाको निजी दुःखसिवाय केही हुन सकेन । देशले मेरो जन्मको कुनै अभिलेख राखेन । म जन्मिँदा घरमा सधैँ बलिरहने अँगेनाबाहेक अर्को कुनै अतिरिक्त बत्ती बलेन । म त्यस्तो देशको नागरिक, जहाँ मेरो जन्मदिन अटाउने कुनै क्यालेन्डर छैन ।
भूपाल राई

बुद्व जन्मिनासाथ सात पाइला हिँडेका थिए रे !

जन्मदिन नभएको मान्छे !

सात पाइला ! ओहो ! जन्म र जन्मदिन प्रकरणको यो कस्तो अद्भुत महाख्यान ! जुन दिन मैले कलिलै उमेरमा कतै यो कथा पढेँ, एकदमै रोमाञ्चित बन्न पुगेको थिएँ । सोच्थेँ, के यस्तो सम्भव छ ? तर, सम्भव र असम्भवको पार्थक्यले मलाई उतिबेला उस्तो फरक पार्दैनथ्यो । किनभने त्यसको सम्भावनाले भन्दा सात पाइलाको रोमाञ्चकताले मलाई आत्ममुग्ध बनाएको थियो । त्यसैले त्यो रोमाञ्चकतासँगसँगै बरु म अर्को कुरा सोच्न पुग्थेँ, त्यत्रो महाख्यानको बीचोबीच मेरो आफ्नै जन्मदिनचाहिँ छैन, किन ?

त्यसो त जन्म र जन्मदिनबारे म सधैं निस्पृह रहने मान्छे । न त्यो दिनको स्मरणले मलाई उस्तो उद्वेलित बनाउँथ्यो, न कुनै उत्सवको अनिवार्यता महसुस गराउँथ्यो । न त्यसको उत्सवमय परम्परामा अभ्यस्त परिवार थियो मेरो । न समाज, न संस्कृति । मात्र भित्र कतै कुनै मिहिन हावाले स्पर्श गरेजस्तो त्यसको सम्मोहनले कहिलेकाहीँ हल्का छुने गर्थ्यो । तर, यो पछिल्लो समय एक्कासि यस्तो भयो मलाई जन्मदिनको उहापोहले नजानिँदो किसिमले बिथोल्न थाल्यो । मैले नचाहँदा–नचाहँदै पनि बूढो गोरुले गह्रुंगो गाडा तानेजस्तै त्यो विषयले बिस्तारै तान्न थाल्यो । यस्तो किन भयो ?

मलाई लाग्छ, यसका दुई कारण छन् ।

...

ती दुई कारणको विषयमा केही भन्नुअघि सर्वप्रथम यहाँ एउटा सन्दर्भ–सूत्र कोट्याउनुपर्ने हुन्छ ।

२०७१ सालको उत्तरार्द्धतिर ‘आगोले जन्मोत्सव मनाउँदैन’ भन्ने मेरो पछिल्लो कवितासंग्रह छापियो । चिन्डो बुक्सद्वारा प्रकाशित त्यो संग्रहका अधिकांश कविता एउटा खास मिसनमा लेखिएका थिए । संग्रहले बोकेको त्यही मिसनयुक्त शीर्षक ‘आगोले जन्मोत्सव मनाउँदैन’ ले नै माथि उल्लिखित कारणको सूत्रधारको काम गरेको थियो । त्यही भएर सर्वप्रथम यहाँ त्यो कवितासंग्र्रहको सन्दर्भ कोट्याउनुपरेको हो । यति भएपछि मलाई लाग्छ, बल्ल ती दुई कारण स्पष्ट हुने छन्, जुन यसप्रकार छन् ।

एक, केही वर्षदेखि नेपाली छापा–बजारमा आत्मकथा लेखनको जबर्जस्त बाढी भित्रिरहेको थियो । के व्यापारी, के कलाकार, के नेता, के भूतपूर्व कर्मचारी, सेना, न्यायाधीश, पत्रकार सबका सब त्यो बाढीमा डुबुल्की मार्न उद्यत थिए । तिनैमध्येको एउटा आत्मकथा थियो– ‘चिना हराएको मान्छे’ । भन्नै पर्दैन पाठकबीच त्यसले अपेक्षाअनुसार नै चर्चा पायो । अचम्म त यो थियो कि ‘चिना हराएको मान्छे’ भन्ने शीर्षकप्रति बजारले अनौठो चासो देखायो । हुन सक्छ, बजारलाई चिना हराएको मान्छेजस्तै त्यस्तै केही विषयको आवश्यकता थियो । बजार सधैँ यस्तै सानातिना घटनाको खोजीमा हुन्छ, जसलाई तयारी माल बनाएर थोकमा बेच्न सकियोस् ।

यो घटनापछि मलाई कताकता लाग्यो, ‘चिना हराउनु’ जस्तो सामान्य घटना त बजारका लागि ‘विशेष’ हुन्छ भने त्यस्तो घटना झन् कति महत्त्वको होला, जसको ‘चिनै छैन’ ! यो कुराले अचानक मलाई ‘क्लिक’ गर्‍यो । किनभने ‘चिना हराउनु’ भन्दा तुलनात्मक रूपमा अलि मसालेदार माल त ‘चिनै नहुनु’ हुन्थ्यो । त्यही दिनदेखि मलाई पनि लागेको हो– मैले पनि आफ्नो कथा नलेख्ने किन ? किनभने ‘चिनै नभएको’ एउटा बिक्रीयोग्य माल त खुद म आफैँ थिएँ । सत्य हो, आजसम्म कुनै चिनै छैन मेरो ।

तर, दुःखको कुरा मैले यस विषयमा कुनै चल्तीको कथा लेख्न सकिनँ । सिर्फ एउटा कविता लेखेँ, जसको शीर्षक थियो, ‘मेरो जन्मको महाख्यान’, जो पछि ‘आगोले जन्मोत्सव मनाउँदैन’ संग्रहमा संगृहीत भएर आयो । र, यो निश्चित थियो कि त्यो कविता कुनै तयारी मालको तुलनामा चर्चित हुनै सक्दैनथ्यो । भयो पनि त्यस्तै । साहित्यिक बजारको लामो यात्रामा त्यो कविताले एक कदम दूरी पनि तय गर्न सकेन । किनभने बजारलाई कविताको कष्टकर यात्रा चाहिएको थिएन । बजारलाई त कथाको रोमाञ्चक स्टन्ट चाहिएको थियो । जे होस्, जन्म र जन्मदिनबारे भने मलाई त्यो चिना प्रकरणले बिथोलेरै छाड्यो । मलाई पनि कताकता लाग्यो, त्यो विषय अवश्य लेख्नलायक विषय हो । जन्मदिनको संकथनले आकर्षित गरेको यो मेरालागि पहिलो घटना थियो ।

दुई, पहिलो संविधानसभा विघटनपछि मुलुकमा जबर्जस्त ढंगले उठिरहेको संघीयता र पहिचानको मुद्दा एकाएक सुस्ताएर गयो । खासमा पहिचानविरोधी शक्तिहरूलाई पहिलो संविधानसभाको समावेशी ढाँचा र संरचना पटक्कै मन परेको थिएन । त्यसैले त्यसको अवसान उनीहरूका लागि अनिवार्य थियो । पहिलो संविधानसभाको विघटन यसरी नियोजित (हत्या) थियो । ठीक यही बेला म फेसबुकको नयाँ जोगी थिएँ । जतिजति नेपाली राजनीतिमा प्रतिगमन–प्रतिक्रान्तिको स्वर सघन हुँदै आउँथ्यो र पहिचानविरोधी हर्कत बढ्दै जान्थ्यो, त्यतित्यति म फेसबुकको भित्तामा प्रतिरोधी कविता टाँस्दै जान्थेँ । पछि ती मेरा फेसबुके कविताहरू ‘आगो’ शीर्षकको सिरिज भएर झ्यांगियो । ती तात्कालिक आन्दोलनका दसी बने ।

म नयाँ जोगी फेसबुकको पर्दा जतिजति उघार्थें, त्यतित्यति अनेक मान्छेको जन्मदिनको उत्सव पनि साथसाथै भेट्थेँ । हरेक दिन, अझ हरेक क्षण यस्तो हुन्थ्यो, जब म ‘आगो’ को कुनै सिरिज पोस्ट गर्दै हुन्थेँं, कसै न कसैको जन्मदिनको सूचना आएर पर्दामा ठिंग खस्थ्यो । मलाई किनकिन यस्तो लाग्थ्यो, मेरो कविता आन्दोलनलाई तिनीहरूले गिज्याइरहेछन् । आगो ओकल्नुपर्ने यो अकाल समयमा किन मान्छेहरू जन्मदिनको फुर्सदमा समय बर्बाद गरिरहेछन् ! म वास्तवमा त्यतिखेर फेसबुकका सारा भर्चॅअल मानिसहरू आफैंजस्तो हुनुपर्ने कामनाको भ्रममा बाँच्ने गर्थेँ । म साँच्चिनै भ्रममै थिएँ । नत्र म जुन मिसनमा थिएँ, सबै त्यसैमा लामबद्ध हुनुपर्छ, त्यस्तो बाध्यता सबैमा लागू हुनै सक्दैनथ्यो ।

यस्तैमा एक दिन चिन्डो बुक्सका संस्थापक चित्रकार/कवि स्व. अर्जॅन खालिङले आएर भने– ‘तपाईंको आगो शृङ्खलाको अनुमति हामीलाई दिनुपर्‍यो, हामी छाप्छौं ।’

मैले भनेको थिएँ– ‘फेसबुकको पर्दा झारझुर गरेर जम्मा पार्नोस् र छाप्नोस् ।’

यसरी छपिएको थियो त्यो ‘आगोले जन्मोत्सव मनाउँदैन’ संग्रह, जो सम्पूर्ण प्रतिरोधी सत्ताको एउटा प्रतिनिधि आवाज थियो । त्यो आफैं तात्कालिक आन्दोलनको एक आन्दोलित सदस्य पनि थियो । अझ यसो भनूँ, त्यो सम्पूर्ण भर्चॅअल जन्मदिन र जन्मोत्सवहरूको एकमुष्ट जवाफ पनि थियो ।

जन्मदिनको रोमाञ्चक विषयतिर मलाई डोर्‍याउने यो दोस्रो घटना थियो ।

...

अब फेरि फर्कौं, बुद्वको उही सातपाइले अद्भुत पहेलिकातिर । यद्यपि त्यो ‘रे’ को जवाफ विज्ञानले के दिन्छ, उसैले जानोस् । या उनीहरूले जानुन्, जसको हातबाट त्यो सात पाइलाको कहानी विरचित हुनगयो । थाहा छैन, यस पछाडिको वक्रोक्ति के हुन सक्छ ? किन उनीहरूलाई नवजात बुद्धलाई जन्मिनासाथ त्यसरी हिँडाउनुपरेको थियो ? अनजान छु म ! म त सिर्फ त्यो सात पाइला जो जन्मिनासाथ बद्धुले हिँड्नुपरेको थियो, मात्र त्योबाट अभिभूत छु । र, यस्तो किन छु ? यसको कारण पनि म अन्तिमतिर खुलाउने नै छु ।

त्यसो त जन्मबारे अरू पनि थुप्रै अद्भुत कथा नकथिएका होइनन् । थुप्रै चामत्कारिक अवतारको फेहरिस्त पढ्न पाइन्छ, ठाउँ–ठाउँमा । दुनियाँमा हरेक दिन अनगिन्ती दीप बल्छन्, जन्मदिनको नाममा । असंख्य मैनबत्ती निभ्छन् । अनेक प्रिय वचन र कामनाहरू लेनदेन हुन्छन् । तर, यी थुप्रैथुप्रै फेहरिस्तबीच मेरो आफ्नै जन्मकथाचाहिँ कहाँबाट सुरु हुन्छ होला ? कुन विशेषणले विभूषित गर्न सक्छु म यसलाई ? म आज खास यही विषयमा सोचमग्न छु । आज म एक्कासि यो निर्णयमा पुगेको छु कि ती यावत् उहापोहबीच म पनि आफ्नो जन्मदिनबारे केही भनूँ ।

कहिलेकाहीँ सोच्छु, जन्मको समाजवादी व्याख्या के हुन सक्छ ? परन्तु मलाई थाहा छ, यसको दुई टुक जवाफ कतै पनि उपलब्ध छैन । मात्र जन्मको व्यक्तिगत अनुभूति, जो अक्सर व्यक्तिपरक परिघटनाको रूपमा व्यक्त हुने गर्छ, जताततै त्यही व्याख्या छ्यालब्याल छ । सायद मान्छेको जन्मलाई सम्बोधन गर्नॅपर्दा व्यक्तिपरक व्याख्याकै पल्ला भारी भएर हुन सक्छ, जन्म भनेको धेरै हदसम्म यौनिक या प्रजनन आकस्मिकताको परिणाम हो भन्ने नै सुन्न/पढ्न पाइन्छ ।

व्याख्या जे होस्, तर हरेक मानिसको कथ्यको धागो सुरुमा उसैको जन्मको पिउरीबाट कातिएको भेटिन्छ । हरेकले कुनै न कुनै दिन, कुनै न कुनै रूपमा आफ्नो जन्मदिनको स्मरण गरिरहेका हुन्छन् । अथवा यसो भनूँ, जन्मदिनको नाममा व्यक्तिको एक खास परिघटनालाई सामाजिकीकरण गरिरहेका हुन्छन् । तर, त्यही सामाजिकीकरणकै बीचमा अथवा ती सब हुनुहरूकै बीचमा, मसँग भने केही यस्ता अनुत्तरित प्रश्नहरू छन्–

– किन आजसम्म एउटा पनि मैनबत्ती मेरो नाममा बलेन ?

– किन आजसम्म कुनै पनि मुहूर्तले पुनरावृत्त भएर मलाई स्पर्श गरेन ?

– किन आजसम्म कसैले मेरोलागि कामनाको एक शब्द खर्च गरेन ?

– किन आजसम्म कुनै एउटा पनि दिन त्यस्तो भएन, जसलाई म आफ्नो जन्मदिन भन्न सकूँ ?

यी सबको उत्तर एउटै छ– ‘किनभने मेरो कुनै जन्मदिन छैन ।’

बस्, त्यही ‘छैन’ को जवाफ खोज्न आज म जीवनको यस मोडमा, यत्तिका उमेर पछाडि यसरी अग्रसर भइरहेछु– यो सोचेर कि त्यो नहुनु नै सायद मेरो जन्मको एउटा महाख्यान हो ।

...

‘चिनै नभएको मान्छे’ को रूपमा मलाई लाग्छ, कम्तीमा आफ्नो चिनारी अब मैले यहाँ स्थापित गरिसकेको छु । ‘चिना नहुनु’ जस्तो गरमा–गरम मसला बजारमा बेच्न नसक्नुको दुःख पनि मैले माथि बताइसकेकै छु । तर, मेरो चिना किन बनेन ? मेरो जन्मदिन किन छैन ? यसको उत्तर खोज्नुअघि म पहिले ‘चिना नहुनु’ ले घटाएका एक–दुई घटना यहाँ राख्न चाहन्छु ।

२०३३ सालमा एसएलसी दिनासाथ नागरिकताको प्रमाणपत्र बनाउन बाबाको साथमा भोजपुर सदरमुकाम तर्नॅपर्‍यो । हाम्रो घर सदरमुकामबाट पूर्व लगभग ३/४ घण्टाको दूरीमा अवस्थित थियो । जीवनमै पहिलो टोपीवाला फोटो पनि खिच्ने अवसर मिल्यो । फाँटवालाको अगाडि बाबाले मलाई उभ्याइरहनुभएको थियो । फाँटवाला सोधिरहेको थियो, ‘छोरोको जन्ममिति ?’

बाबाले त्यो मितिमा ठ्याक्क १६ वर्षको हिसाब लगाएर साल बताउनुभो– ‘२०१७ ।’

फाँटवाला– ‘महिना ?’

बाबा एकछिन अकमकिनुभो । र, अड्किँदै एकछिनपछि भन्नुभो– ‘खै, पुसजस्तो लाग्छ ।’

‘गते ?’

बाबा झन् अलमलिनुभो । अहिले सम्झिँदा लाग्छ, गतेको विषयमा उहाँ खास तयारी अवस्थामा हुनुहुन्नथ्यो । एक्कासि त्यस्तो अप्ठ्यारो आइपर्दा उहाँ बिस्तारै फुस्फुसाउनुभो– ‘खै, थाहै भएन त हौ ।’

फाँटवालाले बाबालाई पुलुक्क हेर्‍यो र भन्यो– ‘हैन बाउ भएर नि कस्तो थाहा नपाउनुभाको त !’

बाबा– ‘म घरमा थिइनँ यो जन्मिँदा ।’

बाबा साँच्चि नै घरमा प्रायः रहनुहुन्नथ्यो । उहाँको जल्दोबल्दो उमेर सधैँ घरबाहिर नै बित्यो । उहाँले धेरै वर्षसम्म आफ्नो कर्मक्षेत्र धरानलाई बनाउनुभएको थियो । वर्षमा बडो मुस्किलले एकाध दिनका लागि उहाँ धरानबाट गाउँ निस्कनुहुन्थ्यो । त्यो पनि नियमित हुँदैनथ्यो । त्यसैले आफ्नै छोरा–छोरीहरू जन्मिँदा पनि अक्सर उहाँको उपस्थिति रहँदैनथ्यो । यतिसम्म कि कतिपय सन्तान जन्मिएको खबर उहाँको कानसम्म पुग्नसमेत धेरै महिना लाग्थ्यो । त्यसैले मेरो असली जन्ममिति थाहा नपाउनु बाबाका लागि एकदमै स्वाभाविक थियो ।

फाँटवालाले आश्चर्य मान्दै सोध्यो– ‘यो बाबुको कुनै चिना–टिपोट पनि छैन ?’

‘छैन ।’

बाबाबाट त्यस्तो उत्तर पाएपछि ‘अब के गर्ने’ को भावमा त्यहाँ एकछिन हेराहेर भयो । मानौं गम्भीर सल्लाह भइरहेछ, ती दुईबीच । केही बेरपछि उसले नै एउटा मध्यमार्गी तरकिब सुझाउँदै भन्यो– ‘ल केही छैन । एउटा दिन अनुमान गरेर हालिदिऊँ... ।’

बाबाले पनि ‘ठीक छ’ को मुन्टो हल्लाइदिनुभो । त्यसपछि उसैबाट अन्तिम निर्णय खस्यो– ‘महिनाको ठीक बीचको दिन जुराइदिऊँ...दुवैतिर बराबर भागा लाग्ने दिन ।’

त्यसपछि उसको कलमले गतेको महलमा सरक्क एकजोडा अंक लेख्यो– १५ ।

यसरी मेरो नागरिकता बन्यो । नागरिकतामा एउटा अनजान र अपरिचित मान्छेको अनुमानले मेरो जन्मदिन निर्धारण गर्‍यो । तर, मलाई त्यही दिन लाग्यो, त्यो नेपाली कागजको एउटा चिर्कटोमा जुन मिति लेखिएको छ, त्यो मेरो जन्ममिति होइन । वास्तवमा त्यही दिन स्पष्ट भएको थियो कि मेरो जन्मदिन छैन ।

एउटा अर्को घटना, जुन यसैसँग सम्बद्ध छ, त्यो पनि बताइहालूँ ।

निकै वर्षअघि, झन्डै जोर दशकअगाडिकै कुरा हुनुपर्छ । जतिबेला हाम्रो छोरा रिदुम सानै थियो । डिल्लीबजार चारखालअगाडिको डेरामा बस्थ्यौं । मेरी श्रीमती जसुलाई एक दिन अचानक ज्योतिषिकोमा जाने इच्छा जाग्यो । खै के कारण हो, तिनलाई सबै परिवारको चिना देखाउनु थियो । तिनी आफ्नो र छोराको चिना तयार पारिरहेकी थिइन् । तर, फसाद एउटै थियो कि मेरो चिना थिएन, जो तिनलाई थाहा भएकै कुरा थियो । तिनले झट्ट एउटा उपाय निकालिन् । मेरो चिनाको सट्टा मैले लगाएको लुगै बोकेर तिनी फटाफट लागिन् । सायद तिनलाई ज्योतिषि महोदय चिनाको सट्टा अन्यान्य विकल्पबाट पनि काम चलाउँछन् भनेर कसैले सुझाएको थियो ।

सन्तोषको कुरा, तिनी यस्तो कुरामा मलाई पनि साथै लैजान उस्तो जिद्दी गर्दिनन् । तिनलाई राम्ररी थाहा छ, म हातेरेखा र ज्योतिष विद्याजस्ता विषयमा खास चासो राख्दिनँ । तपाईं आफैँ भन्नोस् न, आधा उमेरभन्दा बढी जो मान्छे आफ्नो जन्मदिनबारे बेखबर बाँचेको छ, उसका लागि ज्योतिषीले खुट्याइदिएको भाग्यफलप्रति कति भरोसा बाँकी रहन्छ ! यत्ति हो, कसैले राखेको चाख र विश्वासप्रति म विरोध जनाउँदिनँ । जस्तो कि जसु भन्छिन्, ‘जान्ने ज्योतिषीले कोरेको जोखानाले तिनको जीवनमा केही न केही अर्थ राख्छ ।’ आखिर तिनी परिन्, चिना भएको मान्छे ।

ज्योतिषीलाई हेराएर फर्केपछि मेरो लुगा फ्यात्त फ्याल्दै तिनी ओछ्यानमा बसिन् । यस्सो हेर्छॅ, तिनी उस्तो खुसी थिइनन् ।

सोधेँ, ‘किन ? के खुट्यायो तिम्रो ज्योतिषीले ?’

निकै बेरपछि मन नलागी–नलागी भनिन्, ‘तपाईं सरकारी जागिर खानुहुन्न अरे !’

‘ठीक हो त । कहाँ खाएको छु त ?’

‘तपाईं जो पायो ऊसँग झुक्न मान्नुहुन्न अरे !’

‘ठीक हो त । कहाँ झुकेको छु त ?’

‘तपाईं नक्कले ! अझै पनि थुप्रै केटीहरूसँग सम्बन्ध छ रे !’

अन्तिम जोखाना सुनिसकेपछि पो थाहा भयो, तिनी किन बेखुस देखिएकी थिइन् ! एक्कासि म यस्तो अप्ठ्यारोमा फसेको थिएँ, अघिसम्म ठीक भनिरहेको मान्छे अब कुन मुखले अन्तिम जोखानालाई बेठीक भनूँ ! तैपनि आफैं बुज्रुक पल्टिएर भनेँ,

‘धत ! तिम्रो ज्योतिषी त्यो जाबो लुगाको भरमा के–के भन्छ के–के !’

तात्तातै खस्यो जवाफ, ‘जाबो लुगाकै भरमा त्यति भन्ने ज्योतिषीले झन् चिनै भेट्टाए के–के भन्थ्यो होला !’

चिनै भेट्टाए ज्योतिषीले अरू के–के भन्थ्यो होला ! या जोखानै बदल्न पनि सक्थ्यो होला ! विचारणीय कुरा थियो । तर, भनिहालेँ, त्यतातिर मेरो खास चासो थिएन । त्यसैले विषयलाई उस्तो तन्काइरहन उचित लागेन । त्यो दिन मैले मौन बसेरै जित्ने प्रयत्न गरेँ । तर, चिनै नहुनुको अवस्थामा फेरि एउटा घटना जुन भएको थियो, त्यो साँच्चि नै अनपेक्षित थियो । त्यो अन्तिम जोखानाले उडाएको शंकाको धूलो मत्थर हुन जसुको लागि निकै समय लाग्यो । अथवा यस्तो पनि भन्न सकिन्छ, त्यसको मसिनो कणको टलक तिनको शंकाको भित्तामा सधैंका लागि टल्किरहने भयो ।

...

अहिलेसम्म चिनाको बजार र बजार मूल्यको कुरा गरियो । त्यसको कर्मकाण्डीय महत्त्व, विश्वासको आयाम सबथोक पर्गेलियो । तर, मैले आज गर्नॅपर्ने र गर्न खोजेको खास कुरा जे हो, त्यो अझ बाँकी छ । त्यो हो, माथि उल्लिखित कविता ‘मेरो जन्मको महाख्यान’ र हुँदै नभएको मेरो ‘जन्मदिन’, जसबारे अब संक्षिप्त चर्चा गरौं ।

चिना र लेख्य परम्पराको हिन्दु शास्त्रार्थले म जन्मेको त्यो आदिम समाजमा कहिलेदेखि प्रवेश पायो ? खगोल विज्ञानलाई भविष्यवाणीको दलदलमा कैद गरेर कहिलेदेखि भाग्यवादको साधन बनाइयो ? मलाई थाहा छैन । तर, मैले जान्दादेखि नै भाग्यवादको त्यो जरा भने जन्मदिनको भाष्यसँग पहिले नै जोडिइसकेको थियो । म त्यसको रहस्यमयी खेलभित्र थाहै नपाई सरिक भइसकेको थिएँ । त्यसैले मेरो जन्म र जन्मदिनको उत्सुकताले जब आफैंभित्र शिर उठाउन थाल्यो, अनिवार्यतः माथिका अनेक प्रश्न उठ्नु पनि स्वाभाविकै थियो । मात्र त्यहाँ एउटै समस्या यो थियो, ती प्रश्नका सटीक जवाफ कसैसँग उपलब्ध थिएन । न समाजसँग, न देश, न राज्यसँग ।

दशकौंअघि भाग्य खुट्याउने त्यो एउटा सानो चिर्कटो नहुनुको असर र दशकौंपछि जन्मदिनको बाजारु हस्तक्षेपले चारैतिरबाट गिजोलिसकेपछि मलाई पनि त्यसको उत्तर खोज्नुपर्ने बाध्यता हुने नै भयो । देश या राज्य अथवा अरू कसैसँग सोध्ने हिम्मत थिएन, त्यसैले जवाफको सहज स्रोत मैले मेरी आमालाई बनाउनुपरेको थियो । मेरी आमा, जो आज यस दुनियाँमा हुनुहुन्न, तर उहाँको सक्रिय उमेरमा मैले अनेकचोटि अनेक प्रश्न सोधेर उहाँलाई दुःखी बनाएको छु । वास्तवमा मेरो जीवनको सर्वांगीण उत्तर केवल मेरै आमासँग मात्र थियो, जसको भरपूर उपयोग मैले उहाँको जीवनकालभरि गरेको छु ।

म सोध्थेँ, ‘आमा ! किन बनेन मेरो चिना ? किन छैन मेरो जन्मदिन ?’

आमा भन्नुहुन्थ्यो, ‘तिमेरुको बाउ घरमा कहिल्यै नबस्ने, उडैया अस्तैया । तेरा दिदीहरू सानै । ठूलो दाजु भखर मामाघरको स्कुल जान थालेको, उतै बस्थ्यो । हामी गाउँका आइमाईहरूलाई के थाहा महिना, गते, बार ? के थाहा घडी, पला ? हामी केवल साँझ–बिहान चिन्दथ्यौँ । बिहान काममा हिँड्नुपर्छ भन्ने बुझ्थ्यौं । साँझमा घर फर्किनुपर्छ भन्ने जान्दथ्यौं । यस्तैको कोखमा तँ जन्मिइस् !’

‘कसैले टिपेन त मेरो जन्म टिपोट ?’

‘माथिल्लो घरमा तिमेरुका बाजे थिए । उनैले टिपेका थिए तेरो टिपोट !’

‘अनि के भो त त्यो ?’

‘उनैले दिइपठाएका थिए, विर्ता गाउँको बाहुनलाई त्यो चिर्कटो । त्यही साल बाहुन खस्यो । ऊसँगै गयो तेरो टिपोट ।’

बाहुनको मृत्युसँगै हराएको मेरो जन्मकुण्डलीको कथाले उपायहीन भएर म फेरि सोध्थेँ, ‘अनि मेरो जन्म ?’

आमा फेरि भन्नुहुन्थ्यो, ‘हिउँदको समय थियो । असुवाको जंगलमा दाउरा काट्दैथेँं । पारी ट्याम्केको डाँडामा घामले खुट्टा झारिसकेको थियो । एक्कासि तैंले व्यथा लगाइस् । हतारहतार भारी लगाएर दौडिएँ । बाटैमा थलिन्छु कि भनेर बडो बल गरेर तँलाई रोक्दै हिँडेँ । बडो मुस्किलले, बल्लतल्ल घर पछाडिको आँगनमा पुगेँ । पुग्नासाथ दाउराको भारी घोप्ट्याएँ । भारी घोप्ट्याउनु मात्रै के थियो तँ पनि त्यहीँ जन्मिहालिस् । दाउराको भारी बिसाउनु र गर्भबाट तेरो भारी बिसाउनु एकैचोटि भयो । त्यतिखेर घामले खुट्टा पूरै झारिसकेको थियो । तँ दाउराको भारीसँगै जन्मिइस् ।’

यस्तो थियो मेरो जन्मको वृत्तान्त–कथा, जसबारे आमालाई म अनेकचोटि सोधेर दुःख दिने गर्थें । तर, आमा हरेकचोटि जीवनकै सबभन्दा सुखद घटना मानेर त्यो कथा सुनाउनुहुन्थ्यो । यति भनिसकेपछि आमा साँच्चिनै दुइटै भारी बिसाएझैं हलुङ्गो महसुस गर्नॅहुन्थ्यो । त्यसपछि आमाको कथावाचन अन्त्य हुन्थ्यो ।

आमाको त्यही अन्त्य कथनबाट अब सुरु हुन्छ, माथि वर्णित कविता ‘मेरो जन्मको महाख्यान’, जसले आफ्नो बयानमा हुबहु सापट लिएको छ, आमाकै भाषा र खोज गरेको छ, कहीँ नभएको आफ्नो जन्मदिन । कविताले मैलेजस्तै आमालाई त केही सोधेको छैन । तर, केही अनाधिकार प्रश्न गरेको छ, देशलाई, राज्यलाई र राज्य रक्षित अंगहरूलाई ।

सोच्नोस्, अर्थात् व्याख्या जेसुकै गर्नोस् जन्मको । त्यो तपाईंको कुरा । तर, एउटा नागरिकको हैसियतमा जब कहीँ कसैको जन्म हुन्छ, के त्यसले सर्वदा एउटी आमाको निजी दुःखको विषय मात्र बन्नुपर्छ ? के त्यसका लागि राज्यले अलिकति पनि जिम्मेवारी बोध गर्नॅ पर्दैन ? आधुनिक राज्यको हैसियत भजाएर जब कुनै राज्यले आफूलाई राज्य ठान्छ, के त्यसको लागि एउटा नागरिकको जन्म फगत एउटा अमुक घटना मात्र हो ? के एउटा नागरिक राज्य पाल्ने करको आजन्म दायित्व मात्र हो ? अथवा नागरिकको काम एकतर्फी कर तिरिरहनु मात्र हो ? एउटा देशका लागि जब कुनै नागरिकले ज्यान दिन्छ, के उसलाई देशले केही दिनु पर्दैन ? देश र जनताको सम्बन्ध के सधैं एकतर्फी हुनुपर्छ ? यदि त्यस्तै भइरहन्छ भने एउटा नागरिकले आफ्नो भनिने देशको सम्बन्धबाट च्युत हुने अधिकार राख्छ कि राख्दैन ? त्यो देश कस्तो देश ? जोसँग आफ्नै नागरिकलाई दिने एक दिनको आँकडासम्म छैन !

तर, प्रश्न जति गरे पनि मेरो जन्म मेरै आमाको निजी दुःखसिवाय अरू केही हुन सकेन । मेरो जन्ममा कुनै सरकारी बहीखाता खुलेन । म देशका लागि एउटा निसर्त करप्रदायक जन्मिरहेको थिएँ । तैपनि देशले मेरो जन्मको कुनै अभिलेख राखेन । म जन्मिँदा घरमा सधैं बलिरहने अगेनाबाहेक अर्को कुनै अतिरिक्त बत्ती बलेन । म त्यस्तो देशको नागरिक, जहाँ मेरो जन्मदिन अटाउने कुनै क्यालेन्डर छैन ।

मलाई यतिखेर फेरि त्यही अद्भुत कथा सम्झना भइरहेछ, जुन कथामा वर्णित छ, ‘बुद्ध जन्मिनासाथ सात पाइला हिँडेका थिए रे ।’

तर, मलाई आज पनि साँच्चि नै कुनै चासो छैन त्यो ‘रे’ बारे, विज्ञानले के भन्छ ? अथवा कुन उद्देश्यका लागि त्यो सात पाइलाको महाख्यान रचिएको थियो ? मलाई त जुन दिन पहिलोचोटि आमाले मेरो जन्मकथा सुनाउनुभयो र भन्नुभयो ‘तँ दाउराको भारीसँगै जन्मिइस्’, ठीक त्यही दिनदेखि म बुद्धको सात पाइलादेखि अभिभूत हुन पुगेको हुँ । त्यही दिनदेखि हरदम यस्तो लागिरह्यो– कास ! म किन बुद्धजस्तो हुन सकिनँ ? किन जन्मिँदै सात पाइला हिँड्न सकिनँ ? कम्तीमा हिँड्न सकेको भए सात कदम, मेरी बिरामी आमालाई डोर्‍याउने थिएँ । कम्तीमा केही न केही आमाको दुःख त कम गराउँथेँ ।

अन्तिममा कविताले भन्छ– ‘यत्ति हो, त्यो दिन मेरी आमाको दुइटा भारीमध्ये एउटा भारी हट्नु थियो, हटेँ । मैले जे गर्न सक्थेँ, त्यही गरेँ ।’ तर, त्यो दिन कुन दिन थियो ? न देशलाई थाहा छ । न राज्यलाई । न मेरी दुःखी आमालाई । यसरी जुन दिन म आफू जन्मिएँ, ठीक त्यही दिनदेखि मैले आफ्नो जन्मदिन गुमाएँ ।

बस्, मेरो जन्म र जन्मदिनको महाख्यान अब यहीँ अन्त्य हुन्छ ।

प्रकाशित : आश्विन २३, २०७८ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?