सेम्ला माया- कोसेली - कान्तिपुर समाचार

सेम्ला माया

अमारे खोलामा निकै आँसु–पसिना बगेर गए । आकाशमा कैयौं सपना टाँगिए, च्यातिए । हावा कैयौंचोटि शोकधुन बोकेर कुदे, कैयौंचोटि डम्फुको तालमा नाचे । चराचुरुंगी कैयौंचोटि जन्ती र मलामीका साक्षी भए । भीरपाखामा फुल्ने गुराँसले पीर–व्यथालाई छोपेर सधैं मुस्कुराइरह्यो । बोटबुट्यानहरूले ऋतुसँगै कैयौं काँचुली फेरिरहे । तर, यहाँका मान्छेको जीवन जहाँको त्यहीँ रहिरह्यो ।
राबत

सुकबहादुरको जाँडको डबकामा घाम अस्ताइसकेको थिएन ।

‘यो हिउँदले मो पचात्तार (पचहत्तर) नाङ्यो । नाङरितामा चाइँ तिरात्तार मात्तै छ । साइँदुवाहरूले झेल गर्‍यो नाङरितामा । नत्र सर्खारको भत्ता मोइले उइले खान्थ्यो ।’

बाँसको कुरुसले बुन्दै गरेको स्विटर र सुकबहादुर तामाङको वाक्य एकैचोटि तुरियो । एकफेर खुइय काढ्यो । धूवाँले मैलिएको पावरदार चस्मा फुकालेर डोकोमाथि राख्यो ।

छेउमा बसेर खोक्दै चुरोट तानिरहेकी असलीमायाले सुकबहादुरको दोहोरिइरहने यो वाक्यको कुनै प्रतिक्रिया दिइनन् । सुकबहादुरभन्दा सात वर्षले कान्छी उनलाई भत्ताको मतलब पनि थिएन ।

तैयारी स्विटरलाई सुकबहादुरले हावामा झट्कारेर धूलो झार्‍यो । ओल्टाईपल्टाई भुवा र गुन्द्रीका त्यान्द्राहरू पनि टिप्यो । छ–छ महिना लगाएर बुनेको स्विटर देख्दा, उसले नागरिकतामा घटेको उमेर र गुनासो दुवै बिर्सियो ।

‘ओइ, आइतेको आमा !’ सुखको श्वास निलेर सुकबहादुरले भन्यो, ‘यता आउ त, तिम्रो ढाड नापूँ ।’

आँखा कम देख्ने र कान पनि कम सुन्ने असलीमायाले सुकबहादुरको बोली सुनिनन् । एकोहोरो चुरोट तान्दै उत्तर दिशामा नखुलेको हिमालपट्टि हेरिरहिन् ।

सुकबहादुरले अलि चर्को स्वर गरेपछि बल्ल उनी झस्किइन्, ‘के भन्छा, यो बुडो ? तिम्रै ढाड नाप ना, बुढेसकालमा ।’

‘आच्या, कस्तो लाटी यो !’ असलीमायाको ढाड समाउँदै सुकबहादुरले भन्यो, ‘तिम्रा लागि बुनेको सुइटार यो ।’

असलीमायाले पालैपालो बूढाको मुख र स्विटर हेरिन् । दुइटै उज्यालो देखिन् । बूढालाई स्विटर बुन्न सिकाएको खेर गएन– सोचेर उनको छातीमा तक्माजत्रो गर्व झुन्डियो । चुरोटको धूवाँ दुवैको अनुहारबीचबाट पानको पातजस्तो आकार लिएर हावामा बिलायो ।

असलीमाया अनुहारसहित लजाउन सकिनन् । अनुहारमा तैरिने उनको लाज, चाउरिएर बनेका कुलेसाहरूमा डुब्यो । उनले भुइँ घोचेर चुरोट निभाइन् ।

‘कातरो (कात्रो) सुहाउने ज्यानलाई के–को सुइटार, होइ ?’ कुप्रिएको ढाड थाप्दै असलीमाया बोलिन्, ‘अर्को हिउँद त कट्तैन होला मो ।’

‘त्यसो नभन् ना ।’ स्विटरको कुम लगेर असलीमायाको कुममा टाँस्दै सुकबहादुरले भन्यो, ‘तिमी पैले जान्छ कि, मो जान्छ कल्लाई के था ? उई भगुमानलाई था होला ।’

असलीमाया बोलिनन् । बूढाले बुन्देको स्विटर एकफेर प्रेमले चोलोमाथिबाटै पहिरिन् । लम्बाइ अलि लामो भएछ । सोचिन्– घट्दो जीउ भएकाले होला !

स्विटर बुन्देको सट्टामा बूढालाई के भन्नुपर्ने हो, असलीमायाले जानिनन् । चुरोट दिऊँ भने, बूढाले चुरोट छोडिसके । रक्सी दिऊँ भने, रक्सी पनि छोडिसके । बूढाले खाने भनेको जाँड मात्र हो । त्यो पनि भर्खर खाएको रित्तो डबका यहीँ छ । तैपनि अर्को डबका जाँड थपिदिएर असलीमायाले बूढालाई धन्यवाद टक्र्याइन् । बूढाले बुझ्यो क्यारे, फिसिक्क हाँस्यो । हाँस्दा उसको चाउरिएको गालामा बेग्लै खालको बुट्टा बन्यो ।

असलीमायाले अर्को खिल्ली चुरोट सल्काइन् । आफू बसेको चकटी पनि बूढाको नजिक सारिन् ।

बारीको कान्ला–कान्लामा ढकमक्क फुलेको तोरीले हो कि, असलीमायाको मनमा फुलेको तोरीले हो, अमारे गाउँ उज्यालो देखियो । तोरीबारीलाई ऐना बनाएर असलीमायाले एकोहोरो आफ्नो विगतलाई हेरिरहिन् । आँगनको बीचमा ठडिएको दर्ज्यु मन्द गतिमा फर्फराइरह्यो ।

...

तिगाउँकी असलीमाया सत्र वर्ष पुग्दा तीनचोटि पोइल गइसकेकी थिइन् । तलातला भरिएको बैंस र रहरले उनलाई कहिले देउराली, कहिले भन्ज्याङ त कहिले बेंसी पुर्‍यायो । तर, कतै टिकिनन् । उनीसँगै उनको दुःख र रहर पनि उकालीओराली गरिरह्यो ।

तेस्रोचोटि भन्ज्याङको वीरेसँग गएकी थिइन् । वीरेसँग असलीमायाको बाउआमाले रितभाँत छिनाएरै पठाएका थिए । तर, महिना दिनअघि माइत आएकी असलीमाया फर्केर गइनन् । दुईचोटि लिन आएको वीरे खाली हात फर्किनुपर्‍यो ।

‘छोरीमान्छेको छातीमा पिलो आएपछि, एक ठाउँमा टिक्तैना, होइ ।’

असलीमायाका म्हेम्हे (बाजे) ले उनलाई जिस्क्याउँदै भन्ने गर्थे । तर, म्हेम्हेको कुरालाई असलीमाया चिलिमको धूवाँसँगै उडाइदिन्थिन् । जाँडको झोलसँगै पिइदिन्थिन् ।

उल्टै भन्थिन्, ‘त्यो जाबो सिस्नुको झोलसँग ढिँडो खानु किन तेस्कोमा जानुपर्‍यो ? त्यो त ह्यै खा’छु नि !’

दुई दाइकी एक्ली बहिनी असलीमाया जिद्दी स्वभावकी थिइन् । र, खाइलाग्दी पनि । दिनभरि साथीसंगीसँग डोकोनाम्लो बोकेर रनवन चहार्नु उनको रहर र बाध्यता दुइटै थियो । चञ्चल र फरासिली असलीमायालाई देख्ने गाउँका ठिटाहरू जिब्रो पल्टाउँथे । भन्थे, ‘गुमा सप्रेको काँक्राजस्तो छ ।’

एक दिन असलीमायालाई बाउले पर्म तिर्न अमारे गाउँ पठाइदिए । ठ्याक्क पारिपट्टि, दक्षिण दिशा । बीचमा बग्ने अमारेखोला तरेपछि जम्मा आधा घण्टामा पुगिन्थ्यो, अमारे ।

हो, त्यही अमारे गाउँमा जितबहादुर भनेपछि बेग्लै नाम थियो । जाँड खाको बेलामा ‘महिन्द्रा सर्खारसम्म मेरो डोरी गाँस्सेको छ’ भनेर हावामा औंला नचाउँथ्यो, जितबहादुर । जग्गा–जमिन पनि पाँच–सात हल गोरुले नभ्याउने नै थियो ।

उनैको कोदो रोप्न असलीमाया गइन् । थुप्रै तरुनी–तन्नेरीहरूसँग बाह्रमासे भाका हाल्दै कोदो रोपिन् । जाँड खाँदै, चिलिमको धूवाँ उडाउँदै कोदो रोप्दा पश्चिम भन्ज्याङबाट घाम लडेको चालै पाइनन्, असलीमायाले । हतारहतार ओर्लंदै थिइन् । दुई कान्लामुनि पुगेपछि झसंग भइन् । कारण, उनको जीउमा पछ्यौरा थिएन । उनको सातो उड्यो । आजकै लागि भनेर पछ्यौरा मागेर ल्याएकी थिइन्, तिउरीसँग । अब बिनापछ्यौरा तिउरीको अगाडि कुन मुखले जानु ? जुन वेगमा ओर्लंदै थिइन्, त्यही वेगमा माथि उक्लिन् । कोदोबारी चहारिन् तर, पछ्यौरा पाइनन् । जितबहादुरको घर गइन् । त्यहाँ पनि पछ्यौरा पाइनन् । निराश भएर असलीमाया जितबहादुरकै घरमा बास बसिन् । रातैभरि उनलाई पछ्यौराको चिन्ताले छोडेन ।

भोलिपल्ट बिहानै टोलमा हल्ला फैलियो– असलीमायालाई सुकबहादुरले राख्यो ।

सुकबहादुर, उही जितबहादुरको जेठो छोरा थियो । हट्टाकट्टा र दुई–चार अक्षर चिन्न सक्ने । त्यति भएपछि निरक्षर टोलमा उसको रवाफ हुने नै भयो । कोदो रोप्दा सुकबहादुरले असलीमायालाई गीतबाटै जिस्क्याएको पनि थियो– घर ता मेरो न्वाकोडको अमारे, आउँदा–जाँदा माया चाइँ नमारे !

उसैले रातभर टोलका केटाहरूलाई बटुलेर हल्ला फैलाएको रहेछ ।

नभन्दै सुकबहादुर एकाबिहानै पछ्यौरासहित असलीमायाको अगाडि हाजिर भयो । साथमा केटाहरूलाई पनि उभ्यायो । र, भन्यो, ‘आब, यो पछ्यौरा पनि मो राख्छ, असलीमायालाई पनि मो राख्छ, परेको बेहोर्न तैयार छु । कसैलाई आपत्ति ?’

देख्नेहरू कोही बोलेनन् । असलीमाया पनि एकोहोरो नङले भुइँ कोतर्दै बसिरहिन् । माइती–मावली र पछिल्लो लोग्ने वीरेले के भन्ला भन्ने कुरा पनि बिर्सिन् । असलीमायाको मौन स्वीकृतिले सुकबहादुर मनमनै गदगद भयो ।

त्यो रात सुकबहादुरले भाले काट्यो ।

एक कान, दुई कान हुँदै कुरा भन्ज्याङको वीरेको कानमा पनि पर्‍यो । डबकाका डबका जाँड खाएर वीरे रिसले रातोपिरो भयो । तर, सुकबहादुरसँग जोरी खोज्न अमारे जान सकेन । दुई–चार केटाहरू बोकेर सीधै तिगाउँ झर्‍यो । साँच्चै असलीमाया माइतमा थिइनँ । कुरा पक्कापक्की सम्झ्यो, वीरेले । रिसले चुर भएर माइतीको हलगोरु फुकायो । असलीमायाका माइतीका कोही बोल्न सकेनन् ।

भन्ज्याङको वीरेले तिगाउँको गोरु फुकाएको खबर अमारेखोलाले छेक्न सकेन ।

‘तिमी नआत्ती, असलीमाया !’ सुकबहादुरले असलीमायाको दाहिने पाखुरा समाउँदै भन्यो, ‘तिम्रो माइतीको हलगोरु काइँ जान्नँ । मो फिर्ता गर्छ । बरु, तिमी त्यो अमारेखोलाको असला माछाजस्तो सुलुत्त चिप्लेर अन्त नजा । मैसँग बस् । सप्पै कुरा मो मिलाउँछ ।’

सुकबहादुर गाउँको गन्यमान्य र ठिटाहरू बोकेर भन्ज्याङ उक्ल्यो । भन्ज्याङको वीरेले सुकबहादुरलाई देख्नेबित्तिकै झम्टिन खोज्दै थियो, तर केटाहरूले छेक्दै भने, ‘बसेर कुरा गर् ना, वीरे ।’

अन्त्यमा दुवै पक्षका मान्छेहरू राखेर सुकबहादुरले जारीस्वरूप रु.८०/– (अक्षररूपी असी रुपैयाँ मात्र) तिर्‍यो । र, हलगोरु फिर्ता गर्‍यो । फिर्ता गरेको हलगोरु लगेर असलीमायाको माइतीगोठमा बाँधिदियो ।

केही दिनपछि कुलकुटुम्बहरू राखेर सुकबहादुरले असलीमायालाई जुनीभरका लागि आफ्नो बनायो ।

समयक्रममा अमारे खोलामा कति आँसु र पसिना बगेर गए । यहाँको आकाशमा कैयौं सपना टाँगिए, च्यातिए । फेरि टाँगिए, फेरि च्यातिए । यहाँका हावाहरू कैयौंचोटि शोकधुन बोकेर कुदे, कैयौंचोटि डम्फुको तालमा नाचे । यहाँका चराचुरुंगीहरू कैयौंचोटि जन्ती र मलामीका साक्षी भए । यहाँका भीरपाखामा फुल्ने गुराँसले पीर–व्यथालाई छोपेर सधैं मुस्कुराइरह्यो । यहाँका बोटबुट्यानहरूले ऋतुसँगै कैयौं काँचुली फेरिरहे ।

तर, यहाँका मान्छेको जीवन भने जहाँको त्यहीँ रहिरह्यो ।

आजभोलि भन्दाभन्दै असलीमायाले नौ सन्तानलाई जन्म दिइन् । तर, दुःख र अभावबीच पाँच सन्तानले मात्रै घरआँगन ढाक्न सके । बचेका तीन भाइ छोरा र दुई बहिनी छोरीलाई हेरेर असलीमाया र सुकबहादुरले मन बुझाए ।

दुई भाइ छोरा र दुई बहिनी छोरीको दुःखमसुखम बिहेबारी पनि गरिदिए । बिहे गरेपछि जेठो छोरो आइते छुट्टिएर बस्यो । र, पछि माइलो छोरो धनजिते पनि छुट्टियो । कान्छो छोरो मनजिते मात्रै उनीहरूसँग रह्यो ।

‘सन्तानहरूले पखेटा पलाएपछि गुँड छोट्तो रैछा होइ, आइतेको बा’, एकदिन असलीमायाले पश्चिमतिर डुब्दै गरेको घाम हेर्दै सुकबहादुरलाई भनिन् ।

‘यो ता सांसारको निइम हो, आइतेको आमा । ऊ... त्यो बारको रूखलाई हेर् त, तिमी ।’ सुकबहादुरले मुनि चौताराको वरको रूखलाई चोर औंला तर्स्याएर भन्यो, ‘त्याँ कत्ति चाराचुरुंगीले गुँड लाउँछा । अनि फिरी छोडेर जान्छा । हो... त्यै रूखजस्तो हो, हामी । तिमी पीर नगर् । हाम्ले पनि बाउआमा छोडेको हो । होइना भने भन् ।’

छोराहरू छुट्टिएर बसेकोमा असलीमाया चिन्तित थिइन् । काखभरिको नातानातिनी खेलाउने रहर पुगेको थिएन । बच्चाबच्चीको रुवाइ र हाँसोले घरको कोठाचोटा गुन्जिएको सुन्न चाहन्थिन् । यसैमा गुनासो थियो, असलीमायाको । मीठोमसिनो पाक्दा पहिले नातानातिनीलाई पुर्‍याउँथिन् । अनि मात्रै आफू खान्थिन् । नातानातिनीहरू पनि म्हेम्हे–माम भनेपछि हुरुक्कै हुन्थे ।

अन्ठाउन्न सालतिरको कुरा हो । एक दिन अचानक जेठो छोरो आइते गाउँबाट हरायो । ३५ वर्षको हुँदो हो, आइते । टाउकोमा रातो फेटा बाँधेर हिँड्यो रे ! हिँड्ने बेला श्रीमती फूलमायालाई भन्यो रे, ‘हेर्, बुडी ! हामी सँत्तै गरिब भाको कुरा मैले था पायो । यो एकाल राज्य बेबस्ताले गर्दा हाम्रो जिबान जाँको त्याइँ भाको हो । आब, मेरो चिन्ता नगर । म यो सप्पै बेबस्ता फेरेर मात्तै आउँछु ।’

आइते माओवादीमा लागेको खबरले असलीमायाको मुटुमा जोरढ्यांग्रो बज्यो । दिनदिनै मान्छे मरेको सुन्नुपर्दा असलीमायाको भोकनिद्रा हराउन थाल्यो । आज आउला, छैन । भोलि आउला, छैन । पाँच वर्ष बित्यो । आइतेको कुनै खबर आएन । नयाँ व्यवस्था ल्याउँछु भनेर हिँडेको आइतेलाई पुरानै व्यवस्थाले निल्यो क्यारे ! असलीमायाले लगभग जेठो छोरो आइतेको माया मारिन् ।

आइतेकी श्रीमती फूलमायाले रोएरै पाँच वर्ष काटिन् । बूढो छैन भनम् भने, लास देखेको छैन । छ भनम् भने, साथमा छैन । न घेवा

(काजकिरिया) गर्नु, न जिउँदो छ भनेर चित्त बुझाउनु । हुर्किरहेका छोराछोरी हेरेर फूलमायाले घर कुरिरहिन् ।

छोराछोरीको गर्जो टार्न फूलमायाले अँधियामा एउटा माउ बाख्रा र एउटा बोको पालेकी थिइन् । पुसको ठिहिर्‍यउँदो एकदिन, आठ महिनाको बीउको बोको र्‍यालसिंगान भएर लड्यो । फूलमायाले हत्तपत्त ससुरा सुकबहादुरलाई डाकिन् । सुकबहादुरले अक्षतापाती गर्दागर्दै बोकाले जिब्रो टोक्यो । एक्ली माउबाख्रा रातभरि कराई ।

बिहान सबेरै उठेर फूलमायाले बाख्रालाई धेरैबेर मुसारी । ताजा घाँस काटेर ल्याई । घाँस दिँदै भनी, ‘आब धेरै नकरा, राँडी ।’ फूलमायाले मनको कुरा बाख्रासँग साटी, ‘तेरो नि बुडा छैन, मेरो नि बुडा छैन । चित्ता बुझाएर बस् ।’

आइते बेखबर भएपछि असलीमायाको परिवार रङ उडेको तस्बिरजस्तो भयो– फुङ्ङ । तर, समयसँग सम्झौता गर्नुको विकल्प थिएन । अमारे खोलामा पानी उसैगरी बगिरह्यो । फूलहरू उसैगरी फुलिरहे, झरिरहे । आकाशमा काला–सेता बादलहरू खेली नै रहे । चराहरूको चिर्बिर र रूखहरूको सुसाइ चली नै रह्यो । केवल असलीमायाको मनमा कुनै हलचल आएन । सधैं एकनास । घाम सुस्केरा लिएर उदाउँथ्यो । र, सुस्केरा नै छोडेर अस्ताउँथ्यो ।

दुःखमाथि दुःख खप्टिँदा, दुःख पनि साथी बन्दो रहेछ । नानाथरी दुःखहरूलाई असलीमाया गुन्द्रुक केलाएजस्तै केलाउँथिन् । र, आफैंसँग के–के, के–के गुनगुनाउँथिन् ।

यस्तै दुःखहरूमाझ, एक दिन असलीमायाको चाउरिएको गालामा गुराँस फुल्यो । उनको गालामा गुराँस फुल्नुको कारण थियो– कान्छो छोरो मनजितेले दुलही भित्र्याउनु ।

घरमा फेरि भाँडाकुँडा बजेको आवाज आउन थाल्यो । बेलैमा चुलोबाट धूवाँ पुत्पुताउन थाल्यो । गोठबाट वस्तुभाउको ‘स्याँक्स्याँक्–सुक्सुक्’ सुनिन थाल्यो, जसले असलीमायालाई रोमाञ्चित बनाउँथ्यो । जीवनभर यिनैसँग खेलेकी असलीमाया यिनै कुराहरूले घर ज्युँदो राख्छ भन्ने ठान्थिन् ।

छरछिमेकी आएर घरमा जाँडरक्सी खाइदिँदा पनि उनी मक्ख पर्थिन् । उनीहरूसँगै गफिएर चुरोटको धूवाँ उडाउन पाउँदा उनी चिम्सा आँखा ट्याप्पै बुज्जिने गरी हाँस्थिन् । उनको आँखा जति बुज्जिन्थ्यो, उनको संसार त्यति खुल्थ्यो ।

बुहारी भित्रिएको महिना दिनपछि भाँडाको मात्रै होइन, छोरा बुहारीको आवाज पनि ठूलै सुनिन थाल्यो । त्यसलाई पनि असलीमायाले झर्को मानिनन् । घर हो, घरमा मान्छे भएपछि आवाज सानोठूलो भैहाल्छ भन्ने ठान्थिन् । मान्छेको आवाजै नआउने घर त केको घर !

तर, कति चाँडै उनले सोचेको उल्टो भैदियो । बिहेको वर्षदिन पनि नबित्दै कान्छा छोरा–बुहारी पनि गोठको छेउमा टहरो बनाएर छुट्टिए । असलीमायाको गालामा फुलेको गुराँस फेरि ओइलियो ।

त्यस दिनदेखि असलीमायाको गालामा गाढा रङको गुराँस फुलेन ।

...

‘माम (हजुरआमा)’ !

नाति केटो ड्यानिएलले असलीमायालाई झस्काइदियो । असलीमायाले बनाएको तोरीबारीको ऐना झर्‍याम्म फुट्यो । उनले पहेंलपुर तोरीबारी धमिलो देख्न थालिन् । आँगनको बीचमा ठडिएको दर्ज्यु उसैगरी फर्फराइरहेको थियो ।

‘ता पाङ्बा चु, डानिल ? (के भन्छ यो ड्यानिएल ?)’

असलीमायाले स्कुलबाट आएको नातिलाई हलुंगो हातले समाइन् । सुकबहादुर पनि नातिलाई देखेर हाँस्यो ।

‘आज मेरो हेपी बड्डे हो रे, माम ! आमाले भनेको ।’ ड्यानिएलले असलीमायाको नअटाउने काखमा बस्न खोज्दै भन्यो, ‘अर्को हेपी बड्डेमा बाबाले मलाई साइकल ल्याउँछ रे, कतारबाट !’

असलीमायाले नातिको कुराको छेउटुप्पो बुझिनन् । ‘साइकल’ मात्रै बुझिन् । काँको साइकल, केको साइकल, अलमल्ल परिन् । र, एकोहोरो नातिलाई हेरिरहिन् ।

‘माम, तपाईंको पनि हेपी बड्डे हो, आज ?’ असलीमायाले लगाको नयाँ स्विटर खेलाउँदै ड्यानिएलले भन्यो, ‘यो नयाँ लुगा म्हेम्हेले गिप् दिनुभाको हो ? तपाईंको हेपी बड्डेमा ?’

असलीमायाले फेरि केही बुझिनन् । नयाँ लुगा मात्रै बुझिन् । आफूले लगाएको स्विटर हेरिन् । र, भित्र जाँदै गरेको सुकबहादुरलाई हेरिन् ।

सुकबहादुर भित्रबाट केही स्याउका दाना लिएर निस्क्यो । र, भन्यो, ‘ओइ जाँठा, ना स्याउ । हिजु भत्ता थाप्नु जाँदा ल्याको ।’

ड्यानिएल स्याउ पाएर खुसी भयो । स्याउको दाना टोक्दै, कुच्चिएको स्वर निकालेर, दुई कान्लामुनि उसको घरतिर दौडियो, ‘म्हेम्हे... म स्कुलको डेणेस फुकालेर आउँछु है ।’

ड्यानिएलको दौडाइले कुखुरा र बाख्राका पाठाहरू पनि तर्सेर लाखापाखा लागे ।

माइलो छोरा धनजितेको कान्छो छोरो हो, ड्यानिएल । भर्खर सात वर्ष पुग्यो । थुप्रै नातिनातिनीहरूमध्ये ड्यानिएलचाहिँ हजुरबा–हजुरआमासँग बढी नै नजिकिन्छ । उसको बाउ कतार छ । त्यै भएर पनि हो कि ! कतारबाट बाउले फोन गर्दा, घरमा भएका कुराहरू पनि हजुअरबा–हजुरआमालाई सुनाउँछ । स्कुलमा गरेका गतिविधिहरू पनि अभिनयसहित भन्छ । खासमा, ड्यानिएल असलीमाया र सुकबहादुरको साथी भएको छ । बुढेसकालको साथी । सानो साथी ।

‘नाम चाइँ निक्काइ आप्ठेरो राख्यो, त्यस्को बाउले । मोइले ता दानबादुर भनेकोथ्यो,’ नातिको नाम भन्न नजान्दा बेलाबेला गुनासो गर्थ्यो, सुकबहादुर ।

जे होस्, सुकबहादुर नातिलाई देख्दा दंग पर्थ्यो । आफू पनि नातिजत्रै भैदिन्थ्यो । भत्ता बुझेको दिन केही न केही ल्याइदिन्थ्यो । असलीमाया र सुकबहादुर नातिसँग खेलिरहँदा, यस्तो लाग्थ्यो– तीन जना केटाकेटी खेलिरहेका छन् ।

...

‘कत्ति काराउँछा, यो खप्पर !’

असलीमायाले झिजो मानेर ‘हुँइइइइँ–हुँइइइइँ’ कराइरहेको डोजर भएतिर धारे हात फालिन् ।

तिगाउँ डाँडाबाट खन्दै ओर्लेको डोजर अमारे खोलाको पूर्वी खोंचसम्म आइपुगेछ । पारि हुँदा त देखिन्थ्यो मात्रै, सुनिन्थेन । अहिले त जत्राको तत्रै देखिने र जत्ति करायो, त्यत्ति सुनिने ठाउँमा आइपुग्यो । कति भने, कान कम सुन्ने असलीमाया पनि चर्कै सुन्थिन् । दिनदिनै कराउने डोजरको आवाजले उनी दिक्क थिइन् । त्यसमाथि पोहोरसाल पल्लो गाउँमा डोजरले खनेको ठाउँबाट झरेको पहिरोले एउटा घर र गोठ नदेखिने गरी लुकाएको थियो । त्यसैले असलीमाया हर्ष कम, धेरै विस्मातमा थिइन् ।

‘नरिसा ना व्यर्थै, तिमी,’ सुकबहादुरले चुरोटको बट्टा दिँदै भन्यो, ‘आब, हाम्रो गाउँमा पनि मोडार आउँछ ।’

‘बिनासित्ती !’ असलीमायाले मुख बिगारिन्, ‘बैंसा–उमेरमा पाको भए पो सुखको पनि मतलाब (मतलब) हुन्थ्यो । आब, मक्किसाकेको यो ज्यानलाई जाँ राखे पनि दुख्छा, होइ ।’

सुकबहादुरले दोहोरो कुरा गरेन । शनिबार भएकाले डोजर हेर्न केटाकेटीदेखि बूढापाकासम्म झुम्मिएका थिए । ड्यानिएल अघि नै पुगिसकेको थियो । सुकबहादुर पनि एक डबका जाँड खाएर उतैतिर लाग्यो ।

एक–डेढ घण्टा खनेपछि डोजर चुप लाग्यो । दुवै कानमा मुन्द्री झुन्ड्याको, थाप्लोको भाग खैरो पारेको, मोटेमोटे ड्राइभर डोजरबाट ओर्लियो । पसिनाले लुछुप्प भिजेको हाफगन्जीमा उसको पुटुस्स उठेको भुँडी दुरुस्त देखियो ।

ड्राइभर अघिअघि र मान्छेको झुन्ड पछिपछि हिँडेर माथ्लो घरमा आएर रोकियो । ड्राइभरलाई खान्की माथ्लो घरमा पाकेको रहेछ । लोकल कुखुराको सिकारसहितको भान्सा गरेर ड्राइभरले फेरि डोजर स्टार्ट गर्‍यो ।

एक हप्ता खनेर, डोजर अमारे खोलावारि आइसकेको थियो । बाटो कताबाट लैजाने भन्ने कुरामा गाउँलेहरूको विवाद पर्‍यो । कसैको गोठ जाने, कसैको घरसमेत बाटोले खाने । र, कसैले आफ्नै आँगनबाट बाटो लैजाने भनेपछि खन्ने काम रोकियो ।

...

हिउँदको अन्तिम–अन्तिमतिर हो । तोरी राम्ररी फुलिसकेको थिएन । आकाश माथि–माथि एउटा चील फन्को मारिरहेको थियो । हावा, बोटबिरुवाको मुन्टोमात्रै हल्लाउने गरी बहेको थियो ।

बिहानैदेखि पारि तिगाउँ डाँडाबाट मान्छेहरू फाट्टफुट्ट झरेको प्रस्ट देखिन्थ्यो । पश्चिम भन्ज्याङबाट पनि मान्छेहरू झर्दै थिए । बीचबीचमा झुम्म परेको बोटबुट्यानले गर्दा ती मान्छेहरू लुकामारी खेल्दै झरेजस्ता देखिन्थे । अमारेको सीधै माथि ऐंसेलुखर्कबाट पनि मान्छेहरू देखिँदै, छेकिँदै, फेरि देखिँदै थिए ।

बिहान दस बजेको आसपास हुनुपर्छ, सुकबहादुरको घरको आँगन मान्छेले भरिइसकेको थियो । मान्छेको कल्याङमाल्याङबीच बेलाबेला छोरीमान्छेहरू रोएको ‘हुँ–हुँ’ आवाज सुनिन्थ्यो । त्यसबाहेक–

–‘हिजु भर्खर मोसाँङा बोलेको’

–‘हिजु मात्रै डानिलसाँङा हाम्रो घरमा आको’

–‘हिजु बेल्की ता मोलाई जाँड देको’ जस्ता वाक्यहरू पनि भीडबाट कहिले स्पष्ट, कहिले अस्पष्ट सुनिन्थ्यो । जोजो थिए, सबै चलायमान थिए । केही न केही गरिरहेका थिए । त्यत्रो खैलाबैला हुँदा पनि एकदम शान्त थिइन्– असलीमाया ।

बेलुकी राम्रैसँग सुतेकी असलीमाया, राति दुई–चारचोटि खोकेर अचानक सधैंका लागि निदाइन् ।

सुकबहादुर असलीमायाको छेउमा कुत्रुक्क बसेर टोलाइरहेथ्यो । उसको आँखाबाट आँसु पोखिएको थिएन । त्यसैले होला, आँखा झन् गहिरो देखिन्थ्यो ।

‘पापी रैछा, तिमी । एक्लै गयो... । छ–छ मैना लगाएर बुन्देको सुइटार, एउटा हिउँद पनि पूरा लगाएन,’ सुकबहादुर आफैंले मात्र सुन्ने गरी बोल्यो, ‘मेरो मन साँघुरो भयो र, आकाश रोजेको ?’

एक हूल लाठेहरू गएर लामा र लामाका सरसामानहरू ल्याइसकेका थिए ।

पूर्वी वनको माथि थियो, चिहानडाँडा । तर, सुकबहादुरले असलीमायालाई चिहानडाँडामा लैजान मानेन ।

‘मो यस्लाई टाढा लानु दिन्ना,’ सुकबहादुरले भन्यो, ‘मेरै नजिक राख्छु । मेरै जक्का (जग्गा) मा राख्छु ।’

सुकबहादुरको घरभन्दा मुनि, अमारे खोलाभन्दा माथि, बीचमा । आफ्नै बाँझो कान्लामा असलीमाया धूवाँ र खरानी भएर सदाका लागि बिलाइन् । उनको सम्झनामा चिहानको वरिपरिका रूखहरूमा सुकबहादुरले लुङ्दर टाँग्यो । त्यही लुङ्दरमा उनी फर्फराइरहिन् ।

असलीमाया बितेको वर्ष दिन नाघिसक्दा पनि सुकबहादुर उनको चिहानमा दिनको एकचोटि नबिराई जान्थ्यो । यो सब देखिरहेको ड्यानिएल एकदिन म्हेम्हेको पिछा गर्दै गयो ।

सुकबहादुर चिहान वरिपरिको झार गोड्दै थियो । झार गोडेपछि उसले चिहानमाथि केही स्याउका दाना, बिस्कुट र चुरोटको बट्टा राखिदियो । सबै राखिसकेपछि छाता पनि ओढाइदियो । छाता ओढाइदिँदै मनमनै बर्बरायो, ‘तिमी जता डुले पनि, जता भए पनि, यै ठाउँमा आएर बस्नू । मो पनि एक दिन, यै ठाउँमा आउँछु । अनि सँङ्गै बसौंला । जता डुले पनि सँङ्गै डुलौंला । कुरा बुझ्यो, तिम्ले !’

तर, सुकबहादुरको कुरा बुझ्ने असलीमाया थिइनन् ।

‘म्हेम्हे, के गर्नुभको ?’ ड्यानिएलले सोध्यो ।

सुकबहादुर फिसिक्क हाँस्यो । र, भन्यो, ‘तिम्रो मामको अरू को छ र ? मो एउटा त हो । मोइले खानु नदिए कस्ले दिन्छ, यस्लाई ? घामले पोल्छ, पानीले भिजाउँछ, त्यै भएर छाता पनि ओढाको ।’

सुकबहादुरको अनुहार हाँसेको थियो तर, चस्माको कुनाबाट मनतातो पानी चुहिरहेको थियो ।

...

आधा जीउ पीरले, आधा जीउ उमेरले खाएको सुकबहादुर दिनदिनै कमजोर हुँदै जान थाल्यो । बिहान–बेलुकीको खाना माइलो छोरो धनजितेकोमा खाए पनि सुत्नचाहिँ आफ्नै मूलघरमा जान्थ्यो, जहाँ असलीमायाको याद सधैं ताजा भएर आउँथ्यो । आफू नखाए पनि एकबट्टा चुरोट सिरानीमै राख्थ्यो । कतै असलीमाया चुरोट माग्न आइहाल्छिन् कि, भन्ने झल्को लाग्दो हो !

असलीमाया बितेको डेढ वर्षपछि सुकबहादुरले पनि संसार छोड्यो । एउटा प्रीति धूवाँ बनेर उड्यो । खरानी बनेर बिलायो । हावा बनेर बह्यो । अब एउटा प्रीतिको धुन चार भन्ज्याङमा ठोक्किएर फिर्ता आउने छैन ।

सुकबहादुरको इच्छाअनुसार उसलाई पनि असलीमायाको चिहानमै जलाइयो ।

...

डोजरले खन्ने काम फेरि सुरु गरिसकेको थियो । गाउँको मुनिबाट बाटो लैजाने तय भएछ ! बाटोको नापनक्सा गर्दा, असलीमाया र सुकबहादुरको चिहान बाटोले खाने भयो । यसमा कसैको विमति देखिएन ।

असलीमाया र सुकबहादुर बितेपछि ड्यानिएल एक्लोजस्तो भएको थियो । भत्ता बुझेको दिन अब उसलाई खानेकुरा ल्याइदिने मान्छे थिएन । खस्रो तर हलुंगो हातले उसको गाला कसले चिमोट्नु !

ड्यानिएलले एक दिन म्हेम्हे–मामको चिहानलाई निकैबेर हेरिरह्यो । गएर वरिपरिको झार उखेलिदियो । चुँडिएर भुइँमा लत्रिएको लुङ्दर फेरि टाँगिदियो । चिहानमाथि बिस्कुट, चुरोट र जाँड राखिदियो । र, अन्तिममा छाता ओढाइदियो ।

परबाट आएको डोजरको आवाज, डाँडाहरूमा ठोक्किएर झन्झन् चर्को सुनिँदै थियो ।

(सेम्ला माया – मनको माया)

प्रकाशित : आश्विन २३, २०७८ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्

आमा

राबत

झरीको एक बिहानआकाश नै धर्तीमा झरिरहेको बेलातिमी भने आकाशतिरै गयौआमा, तिमी आकाश भयौ !अब कसरी छुनु मैले आकाशलाई ?

आकाशमा छन् जूनतारा

अब तिम्रो सहारा

आकाशमै डुल्छ घाम

म एक्लो पो कता जाम्

न छ मसँग, तिम्रो कान्छीऔंला

न छ मसँग, तिम्रो मुटुको दरी

न छ मसँग, मैले ऐना हेर्ने तिम्रो आँखा

म त केवल

तिम्रो सम्झनालाई अघि लगाएर

पछिपछि कुदिरहेछु– यो संघर्ष–लोकमा

आमा, के आकाशबाट म देखिन्छु ?


कहिलेकाहीँ लाग्छ–

उधारो रासनपानीका निम्ति

किरानापसलेसँग याचना पो गर्दै छौ कि !

कहिलेकाहीँ लाग्छ–

बाउको कुटाइले मामाघरतिर पो भाग्यौ कि !

कहिलेकाहीँ लाग्छ–

मेरो पढाइको ऋण तिर्न

ढुङ्ग्री फुकालेर साहुको ढोकामा पो पुग्यौ कि !

र, कहिलेकाहीँ लाग्छ–

यो लठ्ठु छोरोलाई हल गाँसिदिन

कुटुम्बहरुको दैलो पो चहार्दै छौ कि !

तर अहँ,

कहीँकतै देख्तिनँ तिमीलाई

कहीँकतै भेट्दिनँ तिमीलाई ।


भदौको एक बिहान

जगत्ले नै आकार लिइरहेको बेला

तिमी भने अन्धकारमा विलीन भयौ

आमा, तिमी निराकार भयौ !

अब कसरी देख्नु मैले निराकारलाई !


अझै पनि

भीरपाखाहरुमा सुनिने दुःखको स्वर

तिम्रैजस्तो लाग्छ !


अभावको साँझमा

भन्ज्याङबाट भारी बोकेर झर्ने मधुरो छाया

तिमीसँग दुरूस्तै मिल्छ !


काखमा नानी च्यापेर

खोला किनारमा गिट्टी कुटिरहेका

ती आमाका अनुहारहरु

ठ्याक्कै तिम्रैजस्ता लाग्छन् !

आमा, के तिमी अझै यतैकतै छौ र ?


जीवनका हरेक बिसाउनीहरुमा

मलाई हाँस्न मात्र सिकाएर

किन रून सिकाएनौ ?

त्यसैले

तिमीबिनाको यो एकान्तमा पनि

म रून जानिरहेको छैन ।

प्रकाशित : वैशाख २५, २०७८ १०:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×