२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

तपाईं ‘असफल प्रेमी’ की ‘विद्रोही’ ?

तपाईं किन सधैं भनिरहनुहुन्थ्यो– जीवन आखिर एक गोलीको भावी हो ! सायद पल्टने जीवनमा, युद्धका कठिन दिनमा, घाइते साथीहरूलाई घना जंगलमा छाडेर हिँड्नुपरेका भयानक स्मृतिले तपाईंमा बिरक्ती–भाव उत्पन्न गराएको थियो ! किन तपाईं विक्षिप्त हुनुहुन्थ्यो ?
विमला तुम्खेवा

चैत ०५४ बुधबारको साँझ छिमेकीहरू अत्तालिँदै आएर सुनाए– जेठासुब्बा गोसलाइनमा खाल्टोमा लडेर सिकिस्त छन् ।

तपाईं ‘असफल प्रेमी’ की ‘विद्रोही’ ?

भोलिपल्ट भारतको बागडुगरास्थित बीएस अस्पताल पुर्‍याएपछि, पर्सिपल्ट मात्रै आमा र मैले जेठासुब्बा (मेरो बुबा) लाई देख्न पायौँ । नजिक गएर उभियौं । उहाँको आँखामा पहिलोपल्ट अजीबको भाव देखेँ, जसलाई केवल महसुस गर्न सक्छु, तर भन्न सक्दिनँ । आमाले बुबाको अनुहार रुमालले पुछिदिँदै भन्नुभएको त्यो वाक्य अहिले पनि कानमै छ, ‘अझै मलाई तिमीले कत्ति दुःख दिनु छ विमलाको बाउ, ढुंगामा पछारे पनि मर्दौनौं तिमी, पीर नगर !’ बुबा माथितिर एकोहोरो हेरिरहनुभयो तर केही बोल्नुभएन, मैले सुनिरहेँ । सिलिङमा चलेको पङ्खाबाहेक सियो खसे पनि आवाज आउलाझैं चकमन्न छ अस्पताल । बाघजस्तै बुबा हेर्दाहर्दै निरीह हुनुभएको थियो ! उसबेला बुबाको आँखामा देखिएको उदासीनता यहाँ कसरी व्यक्त गरूँ ?

झन्डै सय बिघा एरियामा रहेको यो भारतीय सेनाहरूको ठूलो अस्पतालमध्ये एक हो । साँझको खानाको सूचनाका निम्ति घन्टी बज्यो । घन्टी सुन्दा सानो छँदा स्कुलको टिफिन समयमा दूध–पाउडर थापेर खाएको याद आयो । बुबाले खाना खानुभएन, करैले अलिकता दालको रस पिउनुभयो । मन यसै हतासिएको थियो । पल्लो बेडमा एक अधबैंसे महिला थिइन्– स्टोप पड्केर आन्द्रा बाहिर निस्केकी ! कस्तो बीभत्स दृश्य ! होसमा आएपछि लोग्ने खोजिरहेकी छे, तर लोग्नेको अत्तोपत्तो छैन ।

हप्तादिनपछिको बिहान केही गाँस खाना खाएपछि बुबा बिस्तारै बोल्नुभयो, ‘म मरें भने यतै जलाउनुपर्दैन नेपाल लानू ।’ म बोलिनँ, तर आमा गनगाउन थाल्नुभयो, ‘तिम्रो अघिल्लो जुनीको ऋण तिरिसकेको छैन । कत्तिपल्ट रक्सीलाई खान सकिन्जेल मात्र हो, रक्सीले मान्छेलाई खान थालेपछि गाह्रो हुन्छ भनेँ, तिम्ले मेरो कुरा सुनेनौ । तिमी मर्दैनौ पीर नगर ।’ बुबा केही बोल्नुभएन । आमालाई हेरिरहनुभयो । जसरी आमाको आँखाबाट आँसु झरिरहेको थियो, त्यसरी त धेरैअघि भाइहरू खस्दा मात्रै झरेको देखेको थिएँ । अब त अस्पताल घरजस्तै भइसकेको थियो । तर, बुबा बाँच्नुहोला भन्ने झिनो आशा मात्रै थियो ।

अग्लो कद ! खुन चुहेलाझैं झरझराउँदो अनुहार ! कालो कुर्था, सेतो सुरुवाल ! छालाको जुत्ता ! कालो पावरवाला चस्मा ! र, जता लग्यो त्यतै जाने सिल्की कपाल ! बुबाको अनुहारमा एक किसिमको रवाफ थियो । रक्सी नै खाए पनि शरीरले धानेको थियो । तर, योपटक बुबाको अनुहारबाट आभा हराएको थियो । फुङ्ग रङ उडेको अनुहारको संकेत शुभ थिएन ।

...

साँच्चै बुबा ! त्यो रात तपाईं किन त्यसरी हिँड्नुभएको थियो ? गर्मीको मौसम ! करिब दस बजे तपाईं घरबाट निस्कनुभयो । म तपाईंको पछिपछि लागेँ । आफन्तका सम्झनामा बनाइएका ती फलैँचाहरू अनि कुर्पुस्थान राति साँच्चिकै सिनेमामा देखाइने भूतका दृश्यजस्ता लाग्थे । तर, दिउसो ती फलैँचा उत्तरपट्टिको जंगलमा दाउरा–घाँस जाने–आउनेका निम्ति बिसौनी हो । त्यो रात तपाईं घण्टौंसम्म जून हेरेर चुपचाप टोलाइरहनुभयो, त्यही फलैंचामा बसेर ।

के थियो तपाईंको हृदयमा त्यस्तो विघ्न दुख्ने कथा ? आज पनि बाटो हिँड्दै गर्दा वा साथीहरूमाझ रहँदा अथवा निद्राबाट व्युझिँदा म त्यो दृश्य सम्झन्छु । साँच्चै किन मलाई ती यादहरूको याद आउँछ ? बाँचिरहनुभएको भए तपाईलाई गर्ने हजार प्रश्नमध्ये एक यो पनि हुनेथियो– किन तपाईं त्यसरी घण्टौंसम्म जुन हेरेर फलैंचामा बसिरहनुहुन्थ्यो बुबा ? किन जीवन आखिर एक गोलीको भावी हो भन्नुहुन्थ्यो ? सायद पल्टने जीवनमा, युद्धका कठिन दिनमा, आफ्नै घाइते साथीहरूलाई घना जंगलमा छाडेर हिँड्नुपरेको भयानक स्मृतिले तपाईंमा विरक्तिको भाव उत्पन्न गराएको थियो कि ? किन तपाईं विक्षिप्त हुनुहुन्थ्यो ? किन तपाईं जीवनप्रति बेपर्वाह हुनुहुन्थ्यो ? किन सम्झिरहनुहुन्थ्यो– मलेसिया र ब्रोनियोको युद्धका स्मृतिलाई ? जुनेली रातमा पथरी खोला किनारमा रक्सीसँगै घण्टौंसम्म किन मौन बस्नुहुन्थ्यो ? के तपाईं एक असफल प्रेमी हुनुहुन्थ्यो ? कि समाजदेखि विमुख एक विद्रोही ?

कि हुनुहुन्थ्यो परास्त मानिस ? ऊफ् ! असलमा के हुनुहुन्थ्यो मेरा बुबा ?

...

अस्ति भर्खरै त हो, म पथरी पुगेर आएको । बजारबीचको पीपलको रूख पनि मरेछ । खोला पनि सुकेछ, तर मैले तपाईंलाई सम्झिरहें बुबा ! तपाईंलाई त्यही खोलाकिनारमा मस्त निदाइरहेको देखेँ । त्यसबेला उत्तरपट्टि जंगलबाट बगेर आएको पानीको बेग निकै तेज हुन्थ्यो । र, हिउँदका समयमा खोलामा बगेको पानी यति सफा हुन्थ्यो कि म पानीभित्र डुबुल्की खेल्दा आँखा खुल्लै राखेर हेर्थें र घामको किरण पानीभित्र परेपछि मेरा आँखाहरूले हीराजस्तै थुप्रै स–साना डल्ला ढिक्काहरू देख्थे !

यो खोलाले कत्ति मान्छे बगाएर लग्यो, भनीसाध्ये छैन । बजारभरि हल्ला थियो– १२ बजे खोलाछेउ जानुहुन्न, सोगाले ठहरै मार्छ ! त्यसैले हामी केटाकेटी भरसक खोलानजिक जाँदैनथ्यौं । केटाकेटीलाई लाग्थ्यो– सोघाले भित्रभित्रै तान्छ र मरेपछि मात्रै बाहिर लान्छ ! साथीहरू बीच म गफ दिन्थें, ‘मेरो बुबा त दिनको बाह्र बजे पनि पथरी खोलामा जान सक्नुहुन्छ बुझिस् !’ हुन पनि सँगै पौडी खेलेका साथीहरू थाहै नपाई मरेर खोलाकिनारमा तैरिरहेको देखेपछि मुटु बाहिर निस्केलाझैं डर लाग्थ्यो । तर, मेरो बुबा त्यही खोलामा मध्यदिनमा होस् कि जुनेली रात– आधा शरीर डुबाएर घण्टौंसम्म निदाइरहनुहुन्थ्यो !

...

स्मृतिमा र्फकिएर कहाँ कहाँ बिथोलिएछु ! बीएस अस्पतालकै कुरा गर्छु । करिब दुई महिनापछि (०५५, जेठ) राति आईसीयूमै बुबाको मृत्यु भयो । र, मेरो अगाडि बुबाको पार्थिव शरीर मात्रै थियो ।

यसपल्ट पथरी पुग्दा तपाईंको पार्थिव शरीर गाडिएको राजमार्ग उत्तरपट्टिको त्यो स्थान गाडीबाटै हेरेँ । त्यहाँ ठूलो सखुवाको रूख उभिएको देखे । मलाई थाहा छ– यत्तिका वर्ष बितिसक्दा तपाईं माटो भइसक्नुभएको छ । तर, त्यो जुनेली रात, पथरी खोलाको सङ्लो पानी र तपाईंको बिन्दास जीवनशैली सधैँ सम्झिरहनेछु ! आध्यात्मिकहरूले भनेझैं अर्को जुनीमा हामी बाउ–छोरीको भेट भएछ भने म सोध्नेछु– बुबा ! तपार्इं एक असफल प्रेमी कि एक विद्रोही नागरिक ?

प्रकाशित : आश्विन २३, २०७८ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?