२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

शक्ति जीवनदायी : प्रेम प्रकाशवान

शक्ति के हो ? ब्रह्माण्डको ऊर्जालाई शक्ति मानिन्छ । र, प्राणी एवं जगत्मा पाइने शक्तिका अनेक रूप छन् । त्यो शक्तिको पहिचान सहजै सम्भव छैन । शक्ति बोध भने सम्भव छ । बोधको उच्चतम महसुस विन्दुसम्म पुग्ने मार्ग भनेको भक्ति र प्रेम नै हो । 
शैलिका छेत्री

देवी सूक्त परिचय
देवीभक्ति प्रेमबारे मैले बाबा शरद् छेत्रीबाट बुझ्न पाएँ । प्रत्येक शारदीय नवरात्रमा बाबा मालश्री गाउनुहुन्थ्यो । घरको वातावरणमा बाबाको स्वरमा मालश्री गुन्जिँदा लाग्थ्यो– दसैं छेउमै आइसकेको छ । बाबा शक्तिको पुजारी हुनुहुन्थ्यो । हिन्दु दर्शन र धर्मशास्त्रमा शक्तिलाई ईश्वरको सक्रिय आयामका रूपमा बुझिएको छ । ‘शक्ति’ शब्दलाई संस्कृतको ‘शक’, ‘शक्ति’ या ‘उत्पादक क्षमता’ भनेर बुझिन्छ । मौलिक ब्रह्माण्डको ऊर्जा शक्ति हो, जसले सृष्टि र अस्तित्वलाई एउटै रेखामा राखेर हेर्ने गर्छ । बाबाका निम्ति देवी–शक्ति केवल सृजना, तर समस्त परिवर्तनको प्रतिनिधि थियो ।

शक्ति जीवनदायी : प्रेम प्रकाशवान

स्वामी विवेकानन्दले पनि शाक्त अर्थात् देवी ऊर्जालाई सर्वोच्च आदर्श मानेका थिए । विवेकानन्द भन्ने गर्थे, ‘आमा शक्तिको प्रथम अभिव्यक्ति हो अनि आमा पिताभन्दा पनि उच्च छिन् । माताको नामले शक्ति, दिव्य ऊर्जा अनि सर्वशक्तिमान् विचारलाई ल्याउने काम गर्छ । बच्चाले आमालाई सर्वशक्तिमान् ठान्छ । हामीभित्र सुतेर बसेको कुण्डलिनी पनि देवी माता हुन्, उनको विधिवत् पूजा नगरी हामीले स्वयंलाई कहिल्यै चिन्न सक्दैनौं । समस्त दयालु, सर्वशक्तिमान्, सर्वव्यापी– यो देवी माताको गुण हो । देवी ब्रह्माण्डको ऊर्जाको कुल योग हुन् ।’

आधुनिक समाजलाई भक्तिको कुरा व्यर्थ लाग्छ । समाज यान्त्रिक उपलब्धिमा बढी विश्वास गर्छ । यहाँनेर मलाई कृष्णमूर्तिको तथ्य सम्झिन मनपर्छ । उनले साधकलाई विश्वासबारे बुझाउँदै भनेका छन्, ‘के विश्वासबारे जान्नु आवश्यक छ ? विश्वासबारे जान्नु विश्वासको अन्त्य गर्नु हो ।’

बुल्ले शाह भन्छन्, ‘प्रियतमको नाम जप गरेर म स्वयम् प्रिय बनिसकेको छु । ईश्वर दयालु हृदयमा भेटिन्छन्, नकि मन्दिरमा । त्यसैले प्रियतम कसैको हृदय तोड्ने काम नगर, त्यहाँ मेरो ईश्वर छन् ।’

यही ‘विश्वास’ विषयमा बाउल सन्त लालोन शाह फकिर गाउँछन्– ‘मिलन हाबे कतो दिने/आमार मनेर मानुवेरी सने ।’ आखिर, लालोन फकिरको ‘मनेर मानुष’ अर्थात् ‘मनको मानिस’ को थिए होलान् त ?

लालोन ईश्वर–प्रेममा विरक्तिको मार्गतिर हिँडेका थिए । उनी बाउल ज्ञानको मोती दिने दाता हुन् । बाउल गाउँ–गाउँ घुम्दै, एक रागमा केवल ईश्वर गाउने फकिर हुन् । लालोनले एकतारामा ईश्वरलाई प्रत्येक मानिसको मनमा खोज्दै, समग्र मानव जातिलाई एकतापथ देखाएका थिए । सूफी वा बौद्ध धर्मभन्दा अघि अभ्यास भएको बाउल फकीर परमात्मा प्रेममाथि विश्वास गर्छन् ।

रामकृष्ण परमहंस भन्ने गर्थे, ‘प्रत्येक पुरुष अनि स्त्री पवित्र छन् । मानिसप्रति दयालु बन्नु ईश्वरप्रति दयालु बन्नुसमान हुन्छ कारण ईश्वर प्रत्येक मनुष्यमा निवास गर्छन् ।’ परमहंस देवी कालीका परमभक्त थिए । उनले देवी कालीलाई चञ्चल अनि सौम्य देवीका रूपमा जीवनपर्यन्त पुजेका थिए । परमहंस अन्तर्राष्ट्रिय तीर्थस्थल दक्षिणेश्वर काली मन्दिरका प्रमुख पुजारी थिए । उनले हिन्दु धर्मका विभिन्न पक्षसँगै इसाई अनि अन्य धर्मको पनि ज्ञान प्राप्तिपछि भनेका थिए, ‘धर्म केवल ईश्वर नामलाई प्राप्त गर्ने अनेक मार्ग मात्रै हो ।’ खासमा अध्यात्मले मान्छेलाई ज्ञान र जागरुकता दिन्छ । बुद्धले भनेका छन्, ‘हृदयलाई बन्धनमुक्त गर्ने केवल ईश्वर–प्रेम हो, र त्यहीँ सत्कर्मको बास हुन्छ । ईश्वर–प्रेम प्रकाशवान् छ अनि ज्योति पुञ्जजस्तो तेजमान पनि छ ।’

मान्छेहरू विश्वास गर्छन्– नौ दुर्गादेवीको विधिवत् पूजा–अर्चनाले मान्छेमा प्रत्येक मानवलाई सम्मानित दृष्टिले हेर्ने आयाम बन्छ । परमहंसले ‘समस्त स्त्रीलाई शक्तिको वास्तविक स्वरूप’ मानेका थिए । उनले पत्नी शारदामोनीलाई देवीमाताका रूपमा षोडशी पूजा गरेर स्त्रीलाई मान्यता नदिने त्यसबेलाको समाजमा नूतन क्रान्तिकारी सोचको जन्म दिएका थिए ।

बंगालमा दुर्गादेवीको मूर्ति तयार पार्दा चार प्रकारका चीज महत्त्वपूर्ण मानिन्छन्– गंगाको किनारबाट ल्याइएको माटो, गोमूत्र, गोबर अनि ‘वेश्यालय’ बाट ल्याइएको माटो । बंगालमा वर्षौंदेखि चलिआएको प्रथा हो यो, जहाँ ‘वेश्या’ को आवासबाट प्राप्त माटोबिना देवी मूर्तिलाई अधुरो करार गरिन्छ ।

‘वेश्या’ हरूको जीवन गाली, सामाजिक हेला र बहिष्कारले तिरस्कृत बनेको हुन्छ । बहिष्कृत मानिसलाई महत्त्वपूर्ण चाडमा सम्मिलित गर्नु भनेको उसलाई उसको अधिकारसहित सम्मानित जीवन बाँच्न दिनु हो । बंगालमा बस्ने ठाउँलाई ‘निशिद्धो पल्ली’ भनिन्छ । मान्यता छ, मूर्ति बनाउनु एक महिनाअघि मानिसहरू ‘वेश्या’ को आँगनमा गएर प्रार्थना गर्छन्– अलिकति माटोको दानका निम्ति । त्यहाँको माटोलाई ‘पुष्य माटी’ मानिन्छ । यसप्रकार, मान्छेले मान्यतामा बाँधिएर भए पनि, ‘बहिष्कृत स्त्री’ लाई पनि ‘सम्मान’ गर्न सिकेको उदाहरण हो यो ।

दुर्गतिनाशिनी दुर्गा

नवरात्रीमा महिषासुर मर्दिनी स्तोत्रको बढी महत्त्व छ । ८१० ईश्वी छेउछाउ ऋषि शंकराचार्यले लेखेको यो विशेष स्तोत्र देवी महात्म्यमा आधारित छ । पौराणिक कथाले यसो भन्छ– रम्भासुरका छोरा थिए–महिषासुर । ती खुबै शक्तिशाली थिए । महिषासुरले सृष्टिकर्ता ब्रह्माको घोर तपस्यापछि स्त्रीबाट मात्रै मृत्यु हुने वरदान पाएका थिए । बर प्राप्तिपछि महिषासुर त्रिलोकाधिपति बनेर चारैतिर आतंक सञ्चार गर्न थाले । समग्र सृष्टि अत्यन्त पीडामा काँप्न थालेपछि, विष्णु अनि समस्त देवतागणले भगवती महाशक्तिको ध्यान र आराधना गर्न थाले । त्यसपश्चात् समस्त देवताको शरीरबाट दिव्य ज्योति प्रवाहित हुन थाल्यो र यसरी परम सुन्दरी देवी त्यहाँ प्रकट भइन् । हिमवानले भगवतीको सवारीका निम्ति देवीलाई सिंह भेट दिए र सबै देवतागणले पनि आ–आफ्ना अमूल्य अस्त्र–शस्त्र महामायाको सेवामा प्रस्तुत गरे ।

त्यसपछि भगवतीले शीघ्र महिषासुर भयबाट समग्र सृष्टिलाई मुक्त गर्ने आश्वासन दिइन् । भगवती दुर्गा हिमालय पुगेर घोर गर्जनासाथ महिषासुरको असुर सेनासित भयंकर युद्ध उद्घोष गरिन् । एक–एक गर्दै महिषासुर सेना ध्वस्त हुँदै गए । र, विवशतामा महिषासुरलाई नै देवीसित युद्ध गर्न कर लाग्यो । महिषासुरले ब्रह्म मायाले प्रकार–प्रकारको रूप धरेर देवीलाई छलले परास्त गर्ने प्रयास गरे । तर, अन्त्यमा देवी महिषमर्दिनीले आफ्नो चक्रले महिषासुरको मस्तक काटिदिइन् ।

महिषासुर–वधको दार्शनिक अर्थबारे बाबा भन्नुहुन्थ्यो, ‘मानिसको इच्छा मृगतृष्णा हो । त्यो कहिल्यै पूर्ण हुँदैन । एकपछि अर्को इच्छाको खोजीमा मान्छेको जीवन जान्छ । युद्धका क्रममा महिषासुरको बदलिँदो रूप मानव इच्छाहरूको प्रतीक हो, जसलाई हृदयको ज्ञान ज्योतिले मात्रै वध गर्न सकिन्छ ।’

ईश्वरीय नम्बर नौ

हिन्दु धर्ममा नौ अंकको छुट्टै विशेषता छ । साईबाबाले महासमाधि लिनुअघि परमभक्त लक्ष्मीबाईलाई पहिले पाँच रुपियाँ र फेरि चार रुपियाँ दान दिएका थिए । साईले दिएको नौ रुपियाँ वास्तवमा नवधा भक्तिको प्रतीक हो ।

बौद्ध धर्ममा गौतम बुद्धले पनि नौ गुणबारेमा बताएका छन्– सिद्ध, पूर्ण रूपमा प्रबुद्ध, ज्ञान अनि आचरण या अभ्यासमा सम्पन्न भाव, सुप्रसिद्ध या राम्रो प्रकारमा बोल्ने भाषा, संसारलाई बुझ्ने शक्ति, पुरुषको मार्गदर्शक शक्ति, देवता अनि पुरुष शिक्षकको आत्मज्ञान, प्रबुद्धता र धैर्य । चिनियाँ संस्कृतिमा पनि नौ अंकलाई दीर्घकालीक शुभ अंक मानिएको छ । हिन्दु संस्कार र मान्यतामा अंक नौलाई विशिष्ट ठाउँ दिइएको छ । हुन पनि ब्रह्म नम्बर हो नौ, त्यसैले नौ नम्बरसित यति धेरै मान्यता सम्मिलित छन् ।

देवी पूजाको नवरात्री हिन्दु धर्ममा महत्त्वपूर्ण मानिन्छ । देवीपक्षको नौ दिन व्यक्ति शरीर, मन अनि वचनबाट शुद्ध बनेर स्वतन्त्र रूपमा महाशक्तिको साँचो उपासना गर्न सक्छ । स्वामी विवेकानन्दले पनि यही देवीशक्तिको माहात्म्य बुझेका थिए । विवेकानन्द भन्ने गर्थे, ‘विश्वको एक महान् शक्ति जो छन्, उनी स्त्रीस्वरूपमा छन्, र उनी नै महादेवी महाकाली हुन् । देवीले प्रत्येक मनुष्यको हृदयमा ऊर्जाका रूपमा बास गरेकी छन् । ब्रहमा शक्तिको प्रत्येक प्रकटीकरण देवी नै हुन् ।’

ऐक्यतामा अनेकता

संसार अन्तहीन छ । तर, मानव मनलाई ‘संसार’ विचार, चिन्तन या बुझाइभन्दा पनि सानो भएको भान भइरहन्छ । तसर्थ, मानव–मन मसिना सांसारिक विषयमा अल्झिएर बाँच्छ । असलमा ब्रह्माण्ड बुझ्नु एउटा विशालग्रन्थको एक खण्ड पढेसमान हो । संसार ब्रह्मको एक विशालग्रन्थ हो । यहाँ कैयौं कास्मिक विस्तार अनि संकुचनका घटना भइरहन्छन् । वास्तवमा संसार कसमस ऊर्जा या शक्तिको शृंखलाबाट उत्पत्ति भएको शक्तिमान् अर्थात् शिवतत्व अनि शक्ति अर्थात् प्रकृतिको कास्मिक नृत्यको नाट्यशाला मात्र हो ।

भौतिक विज्ञानले संसारलाई चौथो डाइमेन्सनल दृष्टिले हेर्नेगर्छ, तर, मानवले बुझ्ने डाइमेन्सन तेस्रो डाइमेन्सनसम्म हुन्छ । योगी अनि तपस्वीले ध्यान क्रियाद्वारा चौथो डाइमेन्सनलाई पनि बुझेका हुन्छन् । विज्ञानले संसारलाई परमाणु, न्युटोन, प्रोटोन अनि क्वार्कको सूक्ष्मदर्शी डाइमेन्सनबाट बुझाउने प्रयासमा संसारमा व्याप्त समग्र ऊर्जालाई स्थिर रहेको कुरा गर्छ । यही विषयलाई पूर्वीय पौराणिक मान्यतासित जोडेर हेर्दा संसारमा चलिआएको देवी शक्तिको क्रीडा अनि समग्र ऊर्जा पनि एउटै लाग्छ । यसैले शक्ति महात्म्यमा गरिएको भगवती बन्दना यस्तो छ :

या देवी सर्व–भूतेसु शक्ति रूपेण संस्थिता

नमः तस्यै नमः तस्यै नम तस्यै नमो नमः ।

अर्थात् जो देवी समग्र संसार अनि प्राणीमा शक्ति रूप लिएर बास गर्छिन् उनै देवीलाई नमस्कार, उनलाई नमस्कार, बारम्बार नमस्कार ।

सृष्टिमा शक्ति अथवा ऊर्जाको व्यापक भूमिका छ । यही ऊर्जाले पृथ्वीमा जीवनलाई सही ढंगमा चलाउँछ । व्यक्तिले ऊर्जालाई नांगो आँखाले देख्न सक्दैन । त्यो केवल बोध मात्र हुन्छ । यसैले जान्नेहरू भन्छन्– व्यक्तिले ईश्वरका स्वरूपलाई पनि देखेको हुँदैन, तसर्थ ईश्वरको सर्वस्वतालाई बोध मात्र गर्न सक्छ । वेदमा सूर्यलाई ऊर्जाका आदिदेवताका रूपमा स्थापित गरिएको छ । र, ईश्वर–तत्त्वलाई ऊर्जा भनेर बुझ्दा सूर्यबाट प्राप्त हुने स्थिर ऊर्जालाई बुझ्नुपर्छ । कारण सूर्यका लगातार कैयौं प्रोटोन ऊर्जाको बिस्फोट भइरहन्छ । त्यहाँबाट बिस्तारित भइरहेको ऊर्जा पृथ्वीमा पर्दा व्यक्तिले त्यसलाई नदेखे पनि बोध गरिरहेको हुन्छ ।

जब सूर्यको ज्योति अस्त हुन्छ, त्यसक्षण मान्छेले कुन शक्तिको प्रकाशमा मार्ग देख्छ ? उत्तर हुन्छ– चन्द्रमाको शीतल शक्ति प्रकाश । तर, अमावश्याको अन्धकारमा सूर्य, चन्द्रमा, तारा अनि नक्षत्रको ज्योति हुँदैन, त्यतिखेर मान्छेलाई जीवनको उतार–चढावमा पनि सामान्य रहने शक्ति–ज्ञान कसले दिएको हुन्छ ? उत्तर हुन्छ— गुरुको मार्गदर्शन शक्ति । तर, गुरुको मार्गदर्शन पनि मान्छेले नपाए ऊ कसरी जीवनमा तत्परतासित अघि बढ्दै गएको हुन्छ ? उत्तर हुन्छ— उसको आत्मा–शक्ति । त्यही आत्माको ज्योतिले समग्र शरीरको कार्य पूर्ण भइरहेको हुन्छ ।

यिन’ –याङ’ को सन्तुलन र प्रकृति

चिनियाँ ब्रह्माण्ड विज्ञानले पुरुष–तत्त्व अनि स्त्री–तत्त्वको सामञ्जस्यलाई समर्थन गरेको छ । ‘यिन’ ले स्त्रीत्व, अन्धकार, निष्क्रियता अनि चन्द्र–तत्त्वलाई बुझाउँछ । ‘याङ’ ले पुरुष, उज्यालो, सक्रियता, स्वर्ग अनि सूर्य–तत्त्वलाई बुझाइरहेको हुन्छ । प्रकृतिमा ‘यिन’ र ‘याङ’ को सन्तुलन कायम छ र नै जीवन चलिरहेको छ । त्यसैले होला ऋग्वेदमा इन्द्र, वरुण, यम, सूर्य, विष्णु, अग्नि र रूद्र आदि देवता सम्बन्ध सूक्तको साथमा इन्द्राणी, वरुणानी, यामी, उषस्, रीः अनि रूद्राणीको समान रूपमा उपासना गरिएको छ ।

स्वाहालाई अग्निकी पत्नीका रूपमा स्वीकार गरिएको पनि छ । त्यसैले, देव होस् या देवी, सबैको स्तुतिमा शक्तिको आराधना यसको मूलाधार–स्वरूप मानिन्छ । कारण शक्ति र शक्तिमान् परस्पर आधारमा सम्बन्धित छन् । शक्ति–तत्त्वले नै समग्र बह्माण्ड सञ्चालन गरेको हुन्छ । मानिस भन्छन्— शक्तिबिना महादेवको महादिव्यता पनि अपूर्ण रहन्छ । त्यसैले शिवको रूप अर्धनारीश्वर छ । अर्थात् मानिसहरूका अनुसार, शिव शक्तियुक्त भएरै सृष्टिको सञ्चालन गरिरहेका छन् । त्रिपुरोपनिषद्मा ‘शिव शक्तियुक्त रहेर जगत्को कर्ता, धर्ता अनि शाश्वत रूपमा व्याप्त रहेको’ लेखिएको छ ।

भक्ति बनाम प्रेम

जे. कृष्णमूर्तिले भक्तिलाई उच्चतम प्रेम भनेका छन् । देवीपुराण महाभागवत पहिलो अध्यायमा भक्तिका दुई भेद बताइएको छ— वैधी र परा । वैधीभक्तिलाई साधनभक्ति अनि पराभक्तिलाई साध्यभक्ति भनिन्छ ।

भगवान्–सेवाबाट प्राप्त हुने भक्तिरस साधकको मृत्युसँगै हराएर जाँदैन । यो भक्तिरस प्रेम रूपमा साधकमै रहिरहन्छ । यस्तो प्रेमलाई भक्तिरसामृत प्रेम भनिन्छ । प्रेम स्वर्गको मार्ग हो । प्रेमबाट सृष्टिको जन्म हुन्छ । प्रेमबाटै सृष्टिको व्यवस्था हुन्छ । र, अन्त्यमा प्रेम सृष्टिमै विलीन हुनेगर्छ । देवी–प्रेममा व्यापक शक्ति हुन्छ । भागवतगीतामा कृष्णले भनेका छन्, ‘थोरै मात्राको भक्तिरसले पनि भक्तको आध्यात्मिक विकास हुन्छ ।’ जीवन छ र नै त हामीले पनि कसैलाई प्रेम गरिरहेका हुन्छौं । प्रेम नगरी सांसारिक प्राणी बस्न सक्दैन । भक्ति पनि प्रेमको एकस्वरूप नै हो । यही प्रेमको भक्तले ईश्वरलाई बुझेको हुन्छ ।

शक्ति उपासना

शक्तिको उपासकलाई ‘शाक्त’ भनिन्छ । शंकराचार्य भन्छन्, ‘उपासना ‘उप’, ‘आस्’ र ‘युच्’ शब्दको अंश हो । यहाँ ‘उप’ उपसर्ग, ‘आस् उपवेशने’ धातु अनि भाव अर्थमा युच् (अन) प्रत्यय हो । उपासनम् अर्थात् उपासना अर्थात् शास्त्राविधिअनुसार, उपास्यदेवप्रति दीर्घकालपर्यन्त चित्रका एकाग्रतालाई उपासना भनिन्छ ।’ अनि उपासनाको शब्दार्थ सेवा, नामजप इत्यादि भनेर पनि बुझिन्छ ।

ईश्वरको विश्वासले मान्छेलाई भीरु, तार्किक या बुद्धिमान् भनेर साबित गर्दैन । ईश्वर त बोध गर्ने शक्तिको प्रतीक मात्र हो । ईश्वरभक्तिले मान्छेलाई राम्रो आचार पालन गर्ने प्रेरणा दिएको हुन्छ । ईश्वरप्रतिको विश्वासले मान्छेलाई जागरुकतासित बाँच्न सिकाइरहेको हुन्छ । भगवत प्रेमले हृदय भिजेको छ भने मनमा भौतिक सुखको आकर्षण–शक्ति अनि आत्मिक सुखको प्रलोभनको कारण उब्जेको होहल्ला हुँदैन । यसरी मानव चेतनामुक्त बन्ने गर्छ । भक्तिको मार्ग अत्यन्तै सजिलो छ । भक्तिको मार्गमा हिँड्नु प्रेमको मार्गमा हिँड्नु बराबर हुन्छ ।

प्रकाशित : आश्विन २३, २०७८ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?