कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

एक सर्को बास्ना

उनले लगाउने ‘आफ्टर सेभ’ मा कागतीको बास्ना र काँचो सुर्ती मगमगाउँथ्यो । मुख नजिक लैजाँदा उनको सासबाट आउने मेन्थोल चुरोटको हस्कोले आँखा चिम्लेर जीउ छोडिदिउँझैं लाग्थ्यो । भएभरको मायाले उनलाई बाँधेर राखूँजस्तो लाग्थ्यो ।
शिवानीसिंह थारू

प्रस्तावना
प्रेमको आलिंगनमा पहिलोपटक जकडिइँदा के मैले दाँजेकी थिएँ प्रेमीको गर्दनबाट सुवासिएको मांसल बास्ना र बुबाले लगाउने ‘कियो कार्पिन’ केशतेलको सुगन्ध हल्का ? लेखिका आँखा चिम्लेर सम्झिने प्रयास गरिरहेकी थिई । नाकको पोरा फुलाउँदै हरेक सासमा सुवासीय स्मृति खोजिरहेकी थिई ।

एक सर्को बास्ना

अफसोस ! त्यो सुवास आउला–आउलाजस्तो हुन्थ्यो, हराइहाल्थ्यो । लेखिकाको आँखा पट्ट खुल्थ्यो, खुला आँखाले ऊ बास्नाको हरक सम्झिन खोज्थी । तर, सुवासले जगाउने स्मृति आँखाले कहाँ सम्झिन सक्थ्यो ! लेखिका तड्पिन्थी, कपुरझैं आफ्ना सुवासीय स्मृतिहरू हावामा बिलाउँदै गएको देखेर । उदास हुन्थी, कतै यसैग री एक दिन विस्मरणको रोगी होइने त होइन भनेर ।

हो ! उसका सुवासीय स्मृतिहरू हराएका थिए । उसको घ्राणशक्तिले काम गर्न छोडेको थियो । एक खर्बजति गन्ध सुँघ्न सक्ने मान्छेको नाकमा हुने तन्तु रोगाएको थियो, मरेको थियो । कोरोनाको बिरामीले थलिएदेखि लेखिकाको नाकबाट गन्ध गायब थियो । निको भएपछि गन्ध त फर्कियो, तर नाकले ठीकठीक सुँघ्न बिर्सिसकेको रहेछ । किनभने नाकले बास्नाको सिग्नल पूरै गलतगलत टिपिरहेको थियो । हर्रर्र महकिने अत्तरबाट अजिब हस्को आउँथ्यो, सामान्य गन्धहरू केमिकल गनाउँथ्यो, जीउबाट तोरीको तेलको राग आउँथ्यो ।

तीन महिना भइसक्दा पनि बेतालका गन्धहरूले सहीसही सुर समात्न सकिरहेको थिएन । सच्चिने नामोनिसान पनि थिएन । डर अब यो थियो, जिन्दगीभर सुगन्ध नफर्किने हो कि ? यसरी आफूसमेत सारा दुनियाँ गनाउन थालेपछि लेखिकामा नैराश्य बढेको थियो । घ्राणेन्द्रिय अपांगताको भयले तर्साउन थालेको थियो ।

बाल्यावस्थादेखि अधबैंसे उमेरसम्म संगालिन पुगेका खासखास स्मृति जुन बास्नाको अणुमा संरक्षित थिए, ती कहाँ गए ? त्यसलाई एकपल्ट सर्रर्र सुँघ्न नाकको कुन तन्तुको गाँठो फुकिनुपर्ने हो ? बास्नाद्वारा जागृत हुने संवेदनाहरू नै बोध नभएपछि साहित्यलाई कसरी स्पर्श गर्ने ? कथाकारिता कति नीरस हुने होला ? कविता आक्रोशैआक्रोशको एक रसमा लेखिने होलान् । यी सब सम्झीकन लेखिका बिलकुल निरूपाय हुन्थी ।

बरु मान्छेसित आ–आफ्नो गन्धको संग्रहालय भए पनि हुन्थ्यो !

यसो हुन्थ्यो भने मानिसको मानिस्याइँ अझ गाढा हुनेथियो– लेखिका कल्पिन्थी । मान्छेले सिसाको जारमा संग्रह गरेर राख्थे होलान् आफू उम्रेको जराको गन्ध । जारमा धूवाँसरी रङ्मङिन्थ्यो होला आफू हुर्केको हावापानीको महक । एक सर्को वाष्पझैं देखिन्थ्यो होला संसारिक तपकमा पग्लिएर तप्किँदाको हरक ।

यसो हुन्थ्यो भने मान्छेले कहिल्यै बिर्संदैनथ्यो होला, आफू कस्तो माटो मुछिएर बनेको हुँ भनेर । अम्लीय माटो, बलौटे कि दोमाटो ! बिर्से पनि आफूलाई चिन्न जारमा संगृहीत गन्धहरूले उसलाई सम्झाइदिने थिए– भोकको गन्ध, संघर्षको गन्ध, प्रेमको गन्ध !

यस्ता स्मृतियुक्त बास्नाहरू जिन्दगीमा कति बन्दा हुन् ! कति त समयको झोंकाले उडाउँदा हुन् ! कति बाँच्नुको गोलचक्करमा पातलिँदै बिलाएका हुन् ! ती पातलिएका, बिलाएका, बिर्सिएका बास्नाहरू एक–एक संग्रह गर्न पाइदिए ! कम से कम कोभिड–१९ बाट तङ्ग्रेका बिरामी, जो ‘लङ कोभिड’ को रूपमा ‘एनोसमिया’ (गन्ध सुँघ्न नसक्ने) ले पीडित हुन्छन्, तिनीहरूलाई डाक्टरले सुझाएको ‘अरोमाथेरापी’ (सुगन्ध सुँघ्ने अभ्यास) मा काम लाग्थ्यो कि ? के थाहा जिन्दगीसित जोडिएका बास्नाहरू सुँघ्दा नाकभित्रका तन्तु ‘अनलक’ हुन्थे कि ? हराएको गन्ध फर्किन्थ्यो कि ?

तर, अब नाकको गन्ध कहिले फर्किएला भन्दै कुर्ने समय थिएन । गन्ध हराएसँगै उसले त्यस्ता धेरै बास्नाहरू भुल्दै गएकी थिई, जसले उसका खासखास यादहरू ताजा गराउँथे । ती बास्नाहरू हो कि... हो कि... भन्ने आभासमा मात्र बाँकी थिए । बचेखुचेका बास्ना यसरी नै वाष्प भएर विस्मृतिको गर्तमा हराउनुभन्दा अघि ऊ शब्दमा तिनको सुगन्ध कैद गर्न चाहन्थी । अरू केही नभए पनि ऊ कैद गर्न चाहन्थी प्रेमको बास्ना । उसका लागि प्रेमसँगसँगै उनिएर आउँथे मनमुटाव, धोका, उदासी र एक्लोपना । तिनका बास्ना पनि ऊ अक्षरका आकार इकार र उकारमा समेट्न चाहन्थी । आफूलाई केटीबाट स्वास्नीमान्छेमा रूपान्तरित गर्ने ती अनुभूतिका स्मृति ऊ अक्षत राख्न चाहन्थी ।

त्यसैले ऊ लेख्दै थिई ! प्रेमको महक, सम्बन्धका सुवास, प्रेमीका हरक... !

विस्मृत बास्नाका सायामा

एक समय थियो, जब मलाई लाग्थ्यो– मप्रति जो–जो पुरुषहरू आकर्षित हुन्छन्, ती सबै मलाई प्रेम गर्छन् । त्यो प्रेममा म अभिभावकीय मायाको केही हिस्सा खोज्थेँ । पुरुषले देखाउने रक्षक भावमा म बाबुहरूको संरक्षणपन देख्थेँ । त्यसैले बुबाको भाग ती पुरुषहरूमा अलि बढी खोज्थेँ । उन्नाइस बीसकी जो थिएँ !

बिस्तारै बुझ्दै गएँ, कहाँ शारीरिक आकर्षण कहाँ आत्मिक प्रेम !

त्यसैले टोलाएर जब म त्यही समयमा पुगेँ, मनमा मधुरो बास्ना चल्न थाल्यो । मैले आफैंलाई सोधेँ– प्रेमको आलिंगनमा पहिलोपटक जकडिइँदा के मैले दाँजेकी थिएँ प्रेमीको गर्दनबाट सुवासिएको मांसल बास्ना र बुबाले लगाउने ‘कियो कार्पिन’ केशतेलको सुगन्ध हल्का ?

हुन सक्छ । बुबाको आभामण्डलमा जस्तो खाले बास्ना सुँघेर हुर्किइयो मेरा लागि त्यो स्नेह र भरको बास्ना बन्यो । बुबाको स्विटर र मफलरबाट आउने न्यानो–मुलायम... चुरोटचुरोट... कियो कार्पिनीय बास्नाले निश्चिन्तता थपथपाउँथ्यो ।

एसएलसीताका जब जिन्दगीको पहिलो प्रेम प्रस्ताव आयो, ट्युसन, जाँच र स्कुलको ब्ल्याक एन्ड वाइट दुनियाँ एकाएक टेक्निकलरमा रंगियो । टेक्निकलरको रङ कति चहकिलो हुन्छ, त्यो सन् ’६० को दशकको हिन्दी वा हलिउड सिनेमा हेरे पुग्छ । त्यसै गरी मेरो दुनियाँ पनि वास्तविकभन्दा चट्किलो र नाटकीय प्रतीत हुन थाल्यो । र, प्रेमीको ‘आई लभ यु’ लाई फिल्मी अन्दाजमा बुझियो । लाग्यो, यदि कसैले चिठ्ठीमाथि चिठ्ठी पठाएर ‘आई लभ यु’ जाहेर गर्छ भने त्यो मान्छेले पक्का माया गर्छ । पक्कावाला माया गर्ने मान्छेको भरोसा पनि उस्तै गरी लाग्यो । जिन्दगीमा पहिलाचोटि बुबाबाहेकको अरू नै लोग्नेमान्छेमा भर गर्न सकिने निश्चिन्तताले थपथपायो । अबोध मनले यी दुवैको निकट हुँदा लाग्ने निर्धक्कपन उस्तै हो कि जस्तो लाग्यो । त्यसैले पहिलो प्रेमीको अँगालोमा बेरिँदा उसको गर्दननिरको मांसल बास्ना मैले बुबाको स्नेह र भरको बास्नासित दाँजेको हुनुपर्छ । नत्र आजसम्म मलाई त्यो क्षण किन याद भइरहन्छ ?

त्यो क्षण याद भए पनि उसको गर्दनबाट आएको मांसल बास्ना कस्तो थियो, मलाई याद छैन । याद नहुनुको कारण सायद ऊबाट लोग्नेमान्छेको गन्ध नआएकाले हुन सक्छ, जुन स्वाभाविक थियो । किनभने ऊ लोग्नेमान्छेमा पूर्ण भइसकेको थिएन । कक्षा आठमा पढ्ने ठिटो थियो । र, म भने ऊभन्दा सिनियर एसएलसी दिँदै थिएँ । उसलाई चिनिन उसको शरीरबाट आउने बास्ना सम्झनामा नबसे पनि अस्तिसम्म याद गर्न क्याडभरी डेरी मिल्कको खाली खोल सुँघे पुग्थ्यो । वा चेलपार्क मसीले लेखेको अक्षर सुँघे पुग्थ्यो । किनभने उसले सधैं क्याडभरीको डेरी मिल्क पठाइराख्थ्यो । र, फ्लेम पेनको निबले लेखिने च्याप्टो मोटो अक्षरमा प्रेमपत्र लेखिरहन्थ्यो ।

वास्तवमा त्यो प्रेमभन्दा पनि क्षणिक मोह थियो, जसलाई अग्रेंजीमा ‘इन्फ्याचुएसन’ भनिन्छ । र ‘इन्फ्याचुएसन’ को बास्ना मेरो लागि डेरी मिल्कको कफीकफी... दुधिलो... क्यारामलीय बास्ना हुनगयो ।

डेरी मिल्कको चमचमे खोलबाट आउने बास्ना केही क्षणका लागि मात्र हर्रर्र महकिन्छ । खाइसकेर चमचमे फेरि सुँघ्नुस्, बास्ना खासै आएजस्तो लाग्दैन । त्यस्तै क्षणिक हुन गयो, हाम्रो ‘इन्फ्याचुएसन’ पनि । गल्ती सायद हामी दुवैको उमेरजन्य काँचोपनमा थियो ।

तर, कफीको तीतो स्वाद र ठिटौलोपनको बेढंगीपनालाई बिर्साउने गरी त्यो एक दिन आयो, जब जीवनमा ‘लोग्नेमान्छे’ भन्न लायकको मान्छेको प्रवेश भयो । छुट्टीमा म पश्चिम तराईको सहर नभगन्ज गएकी थिएँ । नभगन्जलाई प्रतिनिधिसभाको चुनाव लागेको थियो । बजार क्षेत्रबाट काका उठेका थिए । जोडतोडले चुनाव प्रचार भइरहँदा म पनि रमितामा सामेल थिएँ । मेरो राजनीतिसित केवल घरेलु साइनो थियो, सचेत देशवासीको रूपमा थिएन । काका, दाइ, आफन्त जुनै पार्टीबाट उठे पनि घरका मान्छेहरू स्वतः त्यही पार्टीका खेताला भइहाल्थ्यौं । खैर !

यही माहोलमा मेरो तिनै मान्छेसित भेट भयो । काकाले चुनाव जितेपछि विजय र्‍यालीमा उनले मलाई देखेका रहेछन्, अबीरले रंगिएर जिन्दाबादको नारा घन्काउँदै गर्दा । त्यसपछि उनले मसित चिनापर्ची गर्न मेरो नातामा सोल्टिनी पर्नेसित अनुरोध गरेछन् । अहिले आएर सोच्दा लाग्छ, तिनले ठीक पात्रलाई समाएका रहेछन् । किनभने ती सोल्टिनीसित साथीजस्तै मिल्ती भए पनि म उनलाई निकै आदर गर्थें । त्यसैले उनीद्वारा जब त्यो मान्छेको प्रस्ताव मसम्म आइपुग्यो, ती नभगन्जवासीप्रतिको छवि त्यसैत्यसै खास हुन पुग्यो ।

सोल्टिनीको चिनजानका ती मान्छे मभन्दा दुई–तीन वर्षले मात्र ठुला थिए । तर, उनी पाकोझैं व्यवहार गर्थे । यही भएर सोल्टिनीलाई तिनी भलादमी लाग्थे । कतिसम्म भने मेरोसामु गर्नुपर्ने प्रेमको इजहार उनले सोल्टिनी अघि गरेछन् । यसरी गरेछन् मानौं उनी मेरो आफन्तलाई मसित प्रेम गर्ने अनुमति मागिरहेछन् । बस्, यिनै कुराले म पनि ती नभगन्जवासीलाई नभेट्दै उनलाई मन पराउन थालेछु ।

त्यसैले पहिलोचोटि उनलाई भेट्न पुग्दा, हामी दुवै एकअर्काको प्रेममा परिसकेका थियौं । त्यसपछिका हरेक भेटमा हाम्रो शारीरिक दूरी घट्दै जान थाल्यो । अनि एक दिन एकअर्कासित राम्ररी भेट्न नपाउँदै छुट्टिनुपरेको थियो । मन नलाइनलाई छुट्टिँदा उनले आफ्नो रुमाल दिएर पठाएका थिए (प्रेममा दोहोर्‍याउन लायकको ‘क्लिषे’ सायद यही होला) । त त्यस रात उनको रुमाल मैले दाहिने हातको नाडीमा बाँधेर सुतेँ । राति कोल्टो फेर्दावर्दा रुमालको फेर मुखनिर पर्थ्यो । म हातलाई झन् नगिच ल्याउँथे । रुमालबाट उनको पसिनाको गन्ध र बडीस्प्रेको कस्तूरीय बास्ना मिसिएर रमरम मताउने सुवास आउँथ्यो । त्यो लोग्नेमान्छेको मादक गन्ध थियो । र, त्यतिबेला मेरो लागि त्यो प्रेमको महक थियो ।

प्रेमको महकमा लठ्ठिएर एकअर्कामा एकाकार भइ चरम सीमासम्म पुग्नु नै थियो । सो पुगेर हामी सरोबरी भयौं ।

हुन त यही मादक बास्नाले नै उनी सदैव याद हुनुपर्ने हो । तर, जबजब उनी ख्यालमा आउँछन्, मेरो नाकमा मनतातो पेप्सीको हस्को आउँछ । मलाई ठस्स गनाउँछ बन्दा हालेर बनाएको सिन्के चाउमिनको उसिनेको पीठोपीठो गन्ध । किनभने उनले एकबिहानै एउटा बासीजस्तो देखिएको रेस्टुरेन्टमा लगेर यही अर्डर गरेका थिए । र, यही भेटमा सम्बन्ध अन्त्य गर्दै भनेका थिए– ‘खासमा तिमीलाई गर्लफ्रेन्ड बनाउँदा कति एक्साइटिङ होला भनेर मैले प्रपोज गरेको । तिम्रो काकाले जितेको र्‍यालीमा तिमीले मच्चीमच्ची जिन्दावाद गर्दा मलाई रिस उठेको थियो । किनभने चुनावमा तिम्रो काकासित हाम्रा मामा हारेका थिए, जुन तिमीलाई थाहै छ । मलाई भित्रभित्र तिमीदेखि ईर्ष्या पनि लागेको थियो । चुनावको उत्साह त सक्किइहाल्यो । अब हामी पनि धेरै सिरियस हुनु हुँदैन...है ? प्लिज !’

बिहान–बिहानै खाली पेटमा मनतातो पेप्सी घुट्क्याउँदा नाक पोल्नेगरी आउने डकारको हस्को यसपछि मेरो लागि मानसिक औडाहाको गन्ध बन्यो । बासी तेलमा तारेको, बासी बन्दा मिसाएको र त्यो बासीपनलाई लुकाउन चाउमिनमा लतत्त सोया सस हालेको ‘फ्राइड भेजिटेबल चाउमिन’ को ह्वास्स मेरो लागि अवसादको गन्ध बन्यो ।

उनका लागि मसितको सम्बन्ध ‘पावर ट्रिप’ रहेछ । अर्थात् आफ्नो अहंको तुष्टि मेट्न कसैमाथि विजय पाएर शक्तिशाली महसुस गर्नु । त्यतिबेला त्यो केबिन रेस्टुरेन्टको निलो, चिल्लो धब्बाधुब्बी लागेको, मैलो पर्दाले खुसुक्क कानमा सुसाएजस्तो लाग्यो, ‘वास्तविक संसारमा स्वागत छ जुलियट !’

यो संसारको आबहवामा बँचिरहन अलिकति विष त चाहिने रहेछ । त्यो ‘विष’ कस्तो हो, मान्छे–मान्छेमा भर पर्छ । मैले भने उनको क्रूरताबाट घृणाको एसिड नलिएर ईखको आगो लिएँ । र, यही आगोले यसपछिको सम्बन्धलाई पोल्नेवाला थियो ।

लोग्नेमान्छेको गन्ध कस्तो हुन्छ, थाहा पाएपछि मलाई लाग्यो– म तिनको माटोसित वाकिफ छु । तर, मलाई के थाहा संसारका हरेक मानिसको आफ्नै विशिष्ट गन्ध हुन्छ । ‘फिंगरप्रिन्ट’ भएजस्तै मान्छे–विशेषको ‘केमिकल फिंगरप्रिन्ट’ पनि हुन्छ । पसिनामा हुने विशिष्ट रसायनिक अणु जुन मिलेर शरीरबाट बास्ना आउँछ, त्यसले उसलाई अलग तुल्याउँछ । र, त्यो केटाले भन्दा केटीले बढी सुँघ्न सक्छन् । किनभने केटाभन्दा केटीहरूको घ्राणशक्ति तिखो हुन्छ ।

त्यसैले होला मैले त्यस्तो बास्ना पनि ठम्याएको छु, जुन बास्ना एउटा ठोस गन्ध नभइ बास्नाको आभास मात्र थियो । त्यस्तो बास्ना ‘दाई’ को थियो । मेरो जिन्दगीमा प्रवेश गरेका ती मान्छेलाई म ‘दाई’ भनेर सम्बोधन गर्थें । तिनको अरूबाट टक्कै छुट्टिने खास बास्ना थिएन । तैपनि उनको विशेष गन्धको मेसो मैले पाएकी थिएँ । उनी घरेलु बास्ना आउँथे । जस्तो धोएको लुगा पट्याएर राख्दा बास्ना आउँछ । जस्तो घाममा सुकाइएको रुईको सिरक ओढ्दा बास्ना आउँछ । जस्तो दराजको कुनाकानी बास्ना आउँछ ।

यो उनको वास्तविक बास्ना थियो वा उनले ममा बनाएको छविको बास्ना थियो ? म यसै भन्न सक्दिनँ ।

बडो छोटो समयका लागि उनी मेरो जीवनमा आएका थिए । त्योबेला म विज्ञापन निर्देशक बन्ने भरपूर कोसिसमा लागेको थिएँ । त्यसैले म एउटा प्रोडक्सन गृहको कन्सेप्ट बनाउने प्रोड्युसरको रूपमा कार्यरत थिएँ । सञ्चारमाध्यममा त्यो समयमा पुरुषहरूको दूषित मर्दानागिरीले टिकिनसक्नु थियो । पुरुषकर्मीहरूले काँधमा हात राखिदिने, कम्मर हल्का समाउन खोज्ने, छातीको उभारतिर आँखा नापी–नापी बोल्ने बेला थियो । पातकि ‘हिरो’, कुण्ठित मेकअपम्यान र टेलिफिल्म निर्माताहरू हामीजस्तालाई ‘मैयाँ’ भनेर हेप्थे । जसले इज्जत दिन्थे तिनका लागि हामी ‘बैनी’ बन्न अभिशप्त थियौं ।

यही समयमा ती ‘दाइ’ भेटेको थिएँ । प्रोडक्शन कम्पनीका मालिक भएपनि उनले कहिल्यै मौका छोपेनन् । बरू उल्टै सल्लाह दिन्थे– यो मान्छे राम्रो छ, काम गर्नु ! त्यो बोका छ, होश पुर्‍याउनु ! यस्तो प्रतिकुल वातावरणमा तिनीजस्तो ‘दाई’ भेट्दा म धन्य भएको थिएँ । त्यसैले म तिनीतिर तानिँदै गएँ ।

उनीप्रतिको मेरो इज्जत र मप्रतिको उनको संरक्षकत्व प्रेममा बदलियो । उनीसितको शारीरिक निकटता भनेको हात समाउने र प्रेमपूर्वक अँगालो हाल्ने मात्र थियो । बाँकीको बिहापछि भन्थे । उनको संयम देखेर म नतमस्तक हुन्थेँ । बाबुआमाले मागी बिहा गर्दा यस्तै केटा छान्ने होलाजस्तो लाग्थ्यो ।

छुट्टिने बेला अफिसको कुनाकानी छेल पारेर अँगालो हाल्दा उनको गर्दननिर आँखा चिम्लेर म लामो सास लिन्थे । त्यही लामो सासको सर्कोमा उनी मलाई घरेलुपन बसाउँथे । र, म उनको अर्धांगिनी बनेको कल्पना गर्थें ।

सम्बन्ध प्रेमको लयमा बढिरहेको थियो । गडबडी त्यो दिन आयो, जब उनले मलाई अप्रत्याशित एउटा प्रश्न सोधे । पुरुष सत्ताको चार किल्लामा महिलालाई केरिने तल्लो तहको प्रश्न थियो । र, उनले यस्तो सन्दर्भमा सोधे, जसले उनको पुरातन ढर्रा सामुन्ने आयो ।

‘तिमी भर्जिन हो कि हैन ?,’ उनले यो प्रश्न सोध्दा म अवाक भएकी थिएँ । किनभने उनले यो प्रश्न बिहे गर्ने सुरसार गर्दा गरेका थिए । ‘यो कुरा जरुरी छ र ?’ भनेर मैले हलुकाले लिँदा उनी गम्भीर भएका थिए । र, ‘एकदम’ मा जोर दिँदै ‘छ’ भनेका थिए ।

‘म भर्जिन हुँ,’ भनेर मैले जिब्रो किटिक्क टोकेँ ।

उनले गमक्क पर्दै, ‘गुड !’ भने ।

बस् यसपछि मलाई के भयो, भयो । मभित्र कुनै कुरा एकाएक ‘स्वीच अफ’ भएजस्तो ! लोलाइरहेको प्रेमिल तन्द्रा एक्कासि भंग भयो । अनि अर्को दिन फोन गरेर भनेँ, ‘म पढ्न दिल्लीको मिरान्डा हाउस जाने भएँ तीन वर्षको लागि ।’

यसपछि मैले फर्केर हेरिनँ । स्पष्टीकरण पनि दिइनँ । त्यो प्रश्नले जसरी प्रेमको शुद्धता जाँच्न योनिको झिल्लीलाई कसी बनाउन खोजेको थियो, तिनीप्रतिको भ्रम च्यातिएको थियो । त्यो प्रश्नले जसरी प्रेमिकाको अस्तित्वलाई योनिको घेरामा खुम्च्याएको थियो, मनबाट प्रेम स्खलित भएको थियो । सत्ते ! उनको त्यो ‘गुड’ साह्रै दिगमिग लाग्ने थियो ।

उनलाई बिर्सिदिँदा मनले एकपटक पनि ऐया मानेन । तर, सायद मस्तिष्कले बिर्सिन सकेन । त्यसैले होला उनीबाट महकिने घरेलु बास्ना स्मृतिले आफ्नो गर्तमा पट्याएर राखेको छ । र, सोच्दै नसोचेको बेला झस्काएर जान्छ । त्यो बास्ना रेशमी धागोजस्तो यति मिहिन छ, सुँघ्दासुँघ्दै बिलाउँछ । र, आफूपछाडि एक आभास मात्र छोडेर जान्छ ।

मलाई लाग्छ, मेरो नाकमा बास्ना पहिलाजस्तो नफर्किने हो भने, सबैभन्दा पहिले यही बास्ना विस्मृत हुनेछ । त्यस्तो नहोस् ! म मेरो छायासहित सिंगो रहन चाहन्छु ।

तर, एउटा बास्ना छ, जो सायद नाकमा बास्ना नफर्किए पनि ममा रुमल्लिरहनेछ । हात काटिएको मान्छेलाई कहिलेकाहीँ डुँडिएको हत्केला चिलाएजस्तो । यसको हरकले मलाई बिर्सन दिनेछैन त्यो मान्छेलाई, जससित मेरो गहिरो प्रीति बसेको थियो । जसबाट पिपरमिन्टीय... मेन्थल चुरोट... ताजा ‘आफ्टर सेभ’ रङ्मङिएर आउँथ्यो । तर, अहिले त्यो मेन्थलीय शीतलु बास्नाले मुटु ठिहिर्‍याएर जान्छ ।

‘मिस्टर मेन्थल’ थिए प्रतिभाशाली वृत्तचित्रकार । एउटा तालिममा उनको र मेरो टिम बनेको थियो । म विषयको अनुसन्धान गरेर वृत्तचित्रको अवधारणा बनाउँथे । उनी स्क्रिप्ट लेखेर निर्माण गर्थे । कहिले भुटानी शरणार्थीमाथि, कहिले गारमेन्ट उद्योगमाथि, कहिले नेपाली मखमली जुत्तामाथि वृत्तचित्र बनाउँदा बनाउँदै हामी कतिखेर ‘टिम–मेट’ बाट प्रेमीप्रेमिका हुन पुग्यौं, आफैंलाई छाम्दा मात्र थाहा पायौं ।

न उनी ‘दाइ’ जस्ता पुरातन विचारधाराका थिए, न नभगन्जवासीजस्ता द्वेषले भरिएका । उनी उदारखाले मान्छे थिए । आफ्नो सम्भावनालाई चिनेर त्यसको प्वाँख हाली आकाशमा उड्नुपर्छ भन्ने विचारका । उनैले मलाई लेखनपट्टि प्रेरित गरेका थिए । उनलाई थाहा थियो म बोलेर भन्दा डायरीमा लेखेर पोखिन्छु । उनले एक दिन मेरो डायरी चोरेर पढे । यसकै कारणले हाम्रो घमासान झगडा पनि भयो । तर, त्यसपछि उनले मलाई लेखनतिर लाग्न सुझाए ।

म एकैपटक तीनवटा डायरी लेख्थें । प्रायःजसो आफ्नै एक्लोपनामा धुम्मिरहने भएकोले म आफैंसित कुरा गर्न एकपछि अर्को डायरी भरिरहन्थेँ । एउटा डायरीमा म राति देखेका सपनाहरू मात्र लेख्थेँ । अर्को डायरीमा म ‘कन्फेसन’ हरू लेख्थेँ । अर्कोमा मान्छेहरूका आवरण, प्रकृति र मसित भएका घटनाहरू लेख्थेँ ।

लेख्दा मेरा सृजनात्मक ऊर्जा कहाँकहाँबाट उर्लेर आउँथ्यो, म पुलकित हुन्थेँ । लेख्दा आनन्द आउनु भनेको सायद यसैलाई भनिन्छ । तर, मैले लेखेका कुरा अरूलाई पढ्नयोग्य छन् कि छैनन्, त्यतातिर सोचेको थिइनँ । जब उनले मेरो लेखाइमा सम्भावना देखे, म तत्पर भइहालेँ । मानौं म पर्खिरहेको थिएँ, कसैले ‘लेख्’ भनेर घच्घच्याओस् र म लेख्न थालिहालूँ । हुन पनि यसपछि नै म साहित्य पठन र लेखनमा डुब्न थालेँ । मेरो चाहनालाई साधनामा बदलिन उनको घच्घच्याइप्रति म कृतज्ञ भएको थिएँ ।

मेरो मनलाई लाग्दै गयो– यही हो त्यो मान्छे, जो मेरो लागि बनेको छ । यही हो त्यो मान्छे, जसले मलाई बुझ्नेछ । म बस् उनलाई यो संसारको एक मात्र मान्छेझैं गरी माया गर्न थालेँ । म यति मग्न भएँ, उनको प्रेममा जोगी हुँदै गएँ । किनभने मैले मेरा साथीहरूका साथ पनि छोड्दै गएँ ।

एक किसिमको सम्मोहन थियो उनको बास्नामा । उनले लगाउने ‘आफ्टर सेभ’ मा कागतीको बास्ना र काँचो सुर्ती मगमगाउँथ्यो । त्यो ‘आफ्टर सेभ’ उनको शरीरको बास्नासँग मिसिँदा उनलाई सुँघिरहूँजस्तो लाग्थ्यो । मुखनजिक लैजाँदा उनको सासबाट आउने मेन्थोल चुरोटको हस्कोले आँखा चिम्लेर जीउ छोडिदिऊँझैं लाग्थ्यो । भएभरको मायाले उनलाई बाँधेर राखूँजस्तो लाग्थ्यो ।

बाँधेर राख्न त बिहे गर्नुपर्छ । त्यही बिहा ‘एक दिन’ गर्ने भन्दाभन्दै चार वर्ष बित्यो । जसै चार वर्ष बित्यो, पहिल्यै छनक पाउनुपर्ने कुराको भेद खुल्यो । मेरो टाउको तातो र खुट्टा चिसो एकैपटक भयो । उनी त मबाहेक अरूसँग पनि सम्बन्ध राख्दै आएका रहेछन् ।

‘ममा के कमी थियो’ भन्ने हीनताबोधले पिल्सिएर म उनकी दुइटी प्रेमिकालाई भेट्न पुगेँ । उनीहरूले आफ्ना इतिवृत्त सबै भने । बल्ल झल्याँस्स भयो । काठमान्डुबाहिर वृत्तचित्र बनाउँदै छु भनेर व्यस्त भएको मान्छे त यतातिर पो भ्याउने रहेछ । मलाई आफैंदेखि थुक्क लाग्यो । म अब मौकाको ताकमा थिएँ । जब मैले पत्ता लगाएँ उनले फेरि अर्की प्रेमिका बनाएको । म उनको फ्ल्याटमा झ्वास्स पुगेँ । उनी प्रेमिकासित थिए । म सरासर गएर प्रेमिकाकै अघि उनलाई थप्पड लगाइदिएँ । अतिरेकमा पुगेर गरिएको प्रेमको अन्त्य थप्पडमा हुनु थियो ! थप्पडले रन्केको हातले म बाटोभरि आफ्नो आँसु पुछिरहेँ ।

भ्रमको बास्ना कस्तो हुन्छ भनेर मलाई सोध्नुस् । म भन्नेछु, कमनीय सम्मोहक सुवासजस्तो हुन्छ ।

यसपछि म फेरि उस्तै भइनँ । जुन मिश्रणले बनेको थिएँ, त्यो घोलमा अम्लीयपन ज्यादा हुन गयो । त्यसैले म फेरि प्रेममा पर्नै सकिनँ । मैले चाहेर पनि हुन सकेन । कसैसित प्रेमिल रूपमा नजिकिनेबित्तिकै मलाई डर लाग्थ्यो । लाग्थ्यो, फेरि केही गडबडी भइहाल्ने हो कि ! विश्वास गर्नासाथ फाइदा उठाइहाल्ने हो कि ! अनि म बिस्तारै तिनीहरूबाट टाढा हुन्थेँ । कसैप्रति आकर्षित भइहाल्यो भने निस्सारपनले छोप्थ्यो । यसपछि के त ? प्रेम ? अनि प्रेमको चरममा पुगेपछि स्खलन ? बरु म आफ्नो एक्लोपनमै ठीक छु । मेरो उदासीले राहत पाउँथ्यो उर्दूको नज्म र दिवानमा । प्रेमीलाई प्रेम गर्नुभन्दा म प्रेमलाई नै प्रेम किन नगरूँ !

यतिका वर्षपछि मैले मेरा प्रेम सम्बन्धलाई सुवासको सर्कोहरूमा यसरी सम्झिन्छु होला भनेर सोचेकै थिइनँ । मेरो नाकको बास्ना नगुमेको भए मलाई ती सुवासीय स्मृतिहरूको माया लाग्ने थिएन होला । कसैलाई सम्झिनु नै परेको भए स्पर्शहरूमा सम्झिन्थेँ होला । जसरी प्रेमीलाई सम्झिइने गरिन्छ ।

मानिलिऊँ मेरो नाकमा बास्ना पहिलाजस्तो फर्किएन रे, उसोभए के मेरो लागि प्रेमको महक यत्ति नै हुने हुन् ? प्रेमको विश्वासमा जोडिएका सम्बन्धका सुवास यत्तिले परिभाषित हुने हुन् ? यसको जवाफ मलाई जिन्दगीले दियो ।

१५ वर्ष भइसकेको थियो, थप्पडले अन्त्य भएको त्यो सम्बन्धलाई । पन्ध्र वर्षमा जिन्दगीले कति घुम्ती घुम्यो, कति कुइनेटा काट्यो, तर मनले कोल्टो फेर्न मानेन । कोभिडको दोस्रो लहरमा जब चारैतिर मृत्यु मडारिरहेको थियो, मलाई पनि कालले सट्ट छोएर गयो । रगतमा घट्दै गएको अक्सिजनले जिन्दगी फुत्किन फुत्किन आँटेको थियो । एक सरो प्राणवायुमा झुन्डिएर मैले जिन्दगीलाई बेस्सरी च्यापेँ । बाँच्ने लालसाको तातोले ढुकढुकीको लबढब लबढबलाई बचाइराखेँ । सायद यही बेला मेरो मनले कोल्टो फेर्‍यो । वा त्यतिबेला फेर्‍यो, जब पाँचौं दिन निस्लोट ज्वरोबाट आँखा खुल्यो । आँखा खुल्दा लाग्यो, एकपटक मलाई फेरि मौका दिइएको छ । लाग्यो, अब बाँकीको जिन्दगी फेरिदेखि जिउने ! यो ‘फेरिदेखि’ ले भित्रैबाट तरंगित बनायो । लाग्यो, संसारमा थप रङ चढ्यो । र, मलाई फेरिदेखि प्रेममा पर्न मन लाग्यो ।

मलाई त्यस्तो प्रेमको सुवास सुँघ्न मन लाग्यो, जसका प्रेमिल यादहरू पारिजात फूलको बास्नाजस्तो मधुरो महझैं होओस् । जसको नजिक जाँदा न्यानो... मसालेदार... नरमिलोपनको बास्ना एकैसाथ आओस् । त्यो बास्ना... लोबान... लेमनग्रास... देवदारे काठ... जाइफल–जावित्री... सुन्तलाको फूल... अत्तर गुलाब... जस्तो होस् ।

एउटा गहिरो सासमा मलाई सुँघ्नु छ बस्... एक सर्को बास्ना ।

प्रकाशित : आश्विन २३, २०७८ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?