जास्मिन म्यामको एकहप्ते कार्यकाल - कोसेली - कान्तिपुर समाचार

जास्मिन म्यामको एकहप्ते कार्यकाल 

विनोदविक्रम केसी

इमान बाँकी भएको अन्तिम होमो सेपियन्सका रुपमा
संसारले उहाँलाई 
रत्नपार्कको फुटपाथमा फेला पारेको थियो 

देश–देशावर

बेइमानी र धोकेबाजीका ज्वालामुखीहरू फुटिरहेको समयमा

कुनै विराट संयोग

बिग ब्याङभन्दा पनि विराट संयोगले

उहाँ सिंगो विश्वको प्रधानमन्त्री हुनुभयो

जास्मिन म्याम, अर्थात्

विश्वकै प्रथम ‘वेश्या’ प्रधानमन्त्री

उहाँको कार्यकाल केवल एक हप्ता थियो

त्यो एक हप्ता

मानव सभ्यताको सबैभन्दा सुन्दर कालखण्ड थियो


त्यो एक हप्ता

मान्छेहरू यति इमानदार भएका थिए, कि

प्रेमीहरूले प्रेमिकाहरूसँग

प्रेमिकाहरूले प्रेमीहरूसँग

सच्चा प्रेम गरेका थिए,

बिनाकुनै छलछाम, बिनाकुनै कृत्रिमता


त्यो एक हप्ता

सबैले आफ्नो काम अप्रतिम इमानदारीपूर्वक गरेका थिए

(मजदुर र किसान चकित भएर नियालिरहेका थिए दुनियाँलाई

किनभने, तिनले जुनीभरि आफूबाहेक अरुले

निष्ठापूर्वक काम गरेको देखेकै थिएनन्)


त्यो एक हप्ता

राजनीति फोहोरी विरासतबाट मुक्त भएको थियो

र, यो सबैभन्दा कञ्चन र सफा खेल भएको थियो


त्यो एक हप्ता

मान्छेहरूको खाद्य संस्कृति बदलिएको थियो,

‘फुड चेन’ टुटेको थियो

ठूला मान्छेले साना मान्छे खान छोडेका थिए


कुपोषित केटाकेटीले जीवनमा पहिलो पटक

सपनामा

अन्न, सागपात, फलफूल,

गेडागुडी, माछामासु देखेका थिएनन्

किनभने, विपनामै तीसँग उनीहरूको भेट भएको थियो

त्यो एक हप्ता

अमेरिकाले दीन देशहरूमाथि बम बर्साएन

शान्ति–दलालहरू बेरोजगार भएका थिए, र

दाल–रोटीका लागि नयाँ रोजगारी खोजिरहेका थिए

कलह उस्तादहरू बाँसुरी फुक्न सिकिरहेका थिए

इजरायलले प्यालेस्टाइनी आमाका शोकाकुल कोखहरूसँग

रूँदै/निहुरिँदै माफी मागेको थियो


त्यो एक हप्ता

पैसाले ईश्वरको दर्जा गुमाएको थियो

र, यो पुनः कागजमा सीमित भएको थियो

(अरुको के कुरा,

नास्तिकहरूसमेत यो एउटा ईश्वरको अस्तित्व स्वीकार गर्थे)

र, मान्छेहरूले शताब्दियौंपछि

सम्बन्ध, भावना, गीत, नृत्य, खेल, चरा, कोपिला, पुतलीलाई पनि

ठूला र महान् कुरा ठानेका थिए


जास्मिन म्याम भावनाले चल्नुहुन्थ्यो

उहाँका सारा कदम हृदयबाट सञ्चालित हुन्थे


त्यो एक हप्ता

जंगलहरू फँडानी भएनन्

नदीहरू ढल बोक्न अभिशप्त थिएनन्

ठप्प भएको थियो कार्बन उत्सर्जन

र, यसरी संसार बाँच्नलायक भएको थियो


पृथ्वीको सबैभन्दा पाको जीव—

एक सय उनान्नब्बे वर्षीय जोनाथन कछुवाले

जीवनमा पहिलो पटक

कुनै तानाशाहलाई झेल्नुपरेको थिएन


त्यो एक हप्ता

धर्तीलाई मान्छेहरूप्रति कुनै गुनासो थिएन


जास्मिन म्याम विश्वको कार्यकारी भएको

त्यो एक हप्ता

संसारबाट वेश्यावृत्ति उन्मूलन भएको थियो ।

प्रकाशित : आश्विन २३, २०७८ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्

एउटा निरीह देश

मीनबहादुर विष्ट

होइन, ककसका छौंडा हुन् यी कोही चढेका छन् मेरो घरको छानामा कोही बुइगलमा कोही बैठककोठामा 

कोही बार्दलीमा

कोही करेसामा

भान्सामा, बेडरूममा

बगैंचामा, आँगनमा

ममाथि राज गरेजस्तो

कोही भर्‍याङ उक्लिरहेछन्

कोही भर्‍याङ ओर्लिरहेछन्

होइन, ककसका छौंडा हुन् यी ।

***

होइन, ककसका छौंडा हुन् यी

यी विकासका कुरा गर्छन्

शान्तिका कुरा गर्छन्

अधिकारका कुरा गर्छन्

नागरिकताका कुरा गर्छन्

व्यापारका कुरा गर्छन्

विज्ञान र प्रविधिका कुरा गर्छन्

धर्मका कुरा गर्छन्

समृद्धिका कुरा गर्छन्

शब्दहरूको चटक देखाउँदै

चढिरहेछन् मेरो घरको छानामा

होइन, ककसका छौंडा खेलिरहेछन् मेरो घरको भान्सामा

बेडरूममा

देउता थापेर राखेको पूजाकोठामा

निर्धक्क

मानौं मेरो घर कुनै उपनिवेशजस्तो ।


***

होइन, ककसका छौंडा हुन् यी

जसले मेरो घरमा आगो सल्काएका छन्

जसले मेरो घरलाई घाइते र क्षतविक्षत बनाएका छन्

जगै हल्लिने गरी

जसले मेरो घरलाई कमजोर बनाएका छन्

घरी भुइँ तला त घरी माथिल्लो तल्ला

अपदस्थ गरेर मलाई

ममाथि हुकुम गरिरहेजस्तो

नांगो नाच देखाउँदै

मलाई लज्जित तुल्याएका छन्

होइन, ककसका छौंडा हुन् यी ।


***

होइन, ककसका छौंडा चढिरहेछन् मेरो शिरमाथि

र मेरो शिर निहुरेको छ

होइन, ककसका छौंडा चढिरहेछन् मेरो घरको छानामाथि

र मेरो घरको छाना चुहिएको छ

यो मेरो घर हुन सक्दैन

यो मेरो देश हुन सक्दैन ।

ल ल ल

होइन, कहाँ गए यो घर रूङ्न बसेकाहरू

होइन, कहाँ गए यो देश रूङ्न बसेकाहरू ।

प्रकाशित : आश्विन २३, २०७८ १३:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×