कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

जुन २६ को सपना 

फर्केर हेर्दा लाग्छ, जीवनमा कुनै एकबेला हामी जतिसुकै अप्ठेरोमा परे पनि अन्ततोगत्वा जीवनले धेरै मौका दिन्छ । जीवन एउटा रूखजस्तै हो । एउटै पात बाँकी नभई झरेको रूखको केही समयपछि पालुवा लागेर हरियाली आउने स्थिति भएझैं निराशा नै निराशा र असफलताले जिजीविषा हराएको जीवनमा पनि धैर्य राखेर कुर्ने हो भने पालुवा चढ्न सक्छ । 
सुशील कोइरालाले भने–  तपाईंले पूर्व चितवन छोडेर पश्चिम चितवनमा घरजम गर्ने निर्णय लिनुअघि पूर्व चितवन राम्ररी बुझ्नुस् । 
विश्व पौडेल

सामान्यतया अगस्ट लागेपछि बर्कलीमा केही हप्ता तातो सुरु हुन्थ्यो । स्थानीयहरू त्यसलाई ‘हिट वेभ’ भन्थे । मेरी घरभेटी बज्यै एक जना वृद्धा थिइन्, जो एक्लै बस्थिन् । क्यालिफोर्निया सुक्खा हुँदै छ भन्ने कतै पढेदेखि नै कोठामा बस्नेहरूले पानी धेरै खर्च नगरून् भन्ने उनको चाहना हुन थालेको थियो ।

जुन २६ को सपना 

तिनी धेरै पढेकी महिला थिइनन् र मलाई थाहा भएसम्म घरभाडा उनको आम्दानीको प्रमुख स्रोत थियो । त्यसो त बर्कलीमा अन्य घरभेटीहरू पनि अप्ठेरा नै भएको खबर मेरा साथीहरू ल्याउँथे । म त्यसैले जसरी पनि मिल्ने कोसिस गर्थें, सकेसम्म हाँस्थें– उनले बुझे पनि नबुझे पनि, महत्त्व दिए पनि नदिए पनि केही मजाकका कुरा, केही नयाँ कुरा सुनाउँथे र समयमै भाडा बुझाउँथे । उनको मप्रतिको बानीवयहोरा सधैं उस्तै थियो– जोकमा पनि सकेसम्म नहाँस्ने, नबुझेझैं गर्ने गर्थिन् । उनी मलाई चिढ्याउन पनि चाहन्नथिन्, नजिक हुन पनि चाहन्नथिन् ।

‘धनी देशका विद्यार्थी त ठीकै छन् । तर, क्यानाडा, जापान, पश्चिम युरोप, पूर्वी एसियाका केही र खाडीका केही देशबाहेक अन्य ठाउँका विद्यार्थीहरू धेरै नजिक हुन दियो भने आफ्नो देशको दुःखको कुरा सुनाएर बेलामा बहाल नतिर्ने दाउ खोज्छन् भन्ने पनि यी घरभेटीमध्ये कतिलाई परेको छ’, एकदिन मेरो थाई साथीले भन्यो । हुन पनी मैले भाडा लिएर बसेको घरमा म बस्ने तलामा पहिल्यै एउटा इरानी केटा बसेको थियो, जो दिनदिनै इरान सरकारलाई गाली गर्थ्यो, आफ्नो परिवारका सदस्यलाई सत्य, न्याय, प्रजातन्त्र र धार्मिक अल्पसंख्यकको पक्षमा लाग्दा कसरी प्रताडित गरिएको छ भन्ने सुनाउँथ्यो र बूढीले पनि उसको दुःखका कथा सुनेर उसलाई पहिल्यै केही मद्दत गरिसकेकी थिइन् । त्यस इरानीबाहेक अर्को एक अमेरिकी, टाम, पनि त्यही तलामा बस्थ्यो ।

मुख्य कुरा उक्त घर मेरा लागि घरजस्तो भइराखेको थिएन । देख्दा हेल्लो भन्थें, घरभेटीलाई, त्यो इरानीलाई र टामलाई, जो थोत्रो सर्ट लगाउँथ्यो । नब्रास्काबाट एक जना समलिंगी मित्रको पछि लागेर क्यालिफोर्नियाको उत्तरी सहरी क्षेत्रमा आएको टाम नजिकैको एउटा डिपार्टमेन्टल स्टोरमा जुत्ता बेच्ने काम गर्थ्यो । एकदिन आफ्नो साथीले छोडेको, नब्रास्कातिर फर्केर जाने वातावरण नभएको जस्ता टामका दुःखका कुरा सुनेपछि मलाई फेरि ऊसँग धेरै कुरा गर्न मन लागेन ।

यसरी घरबाट पन्ध्र हजार किलोमिटर पर पुगेको मलाई त्यहाँ पनि कुनै सन्तुष्टि थिएन । मेरो मनमा चितवन दोहोर्‍याई तेहर्‍याई आउँथ्यो– सहन नसक्ने तातो मौसममा पनि, साथीभाइ नभएको एक्लोपनमा पनि । चितवनको तस्बिर धेरै खालको थियो । कहिले पश्चिमतिर डुब्न लागेको घामलाई सौराहाबाट हेरेको सम्झन्थें, कहिले भर्खर रोपेका धानको हरियो बीच–बीचको धमिलो पानी सम्झन्थें । कहिले निपनीबाट मोहनातिर जाँदै गर्दा पश्चिमतिर हेर्दा देखेको जंगल सम्झन्थें ।

सम्झनाहरू निरुद्देश्य आउँछन्, जान्छन् । ती मुस्कान पनि ल्याउँछन्, पीडा पनि दिन्छन् । मलाई धेरैजसोले पीडा दिन्थे । कहिलेकाहीं समयले मात्र सम्झनाहरूको अत्याचारबाट मुक्ति दिलाउँछ । मेरो हकमा सान फ्रान्सिस्कोको चिडियाखानाको एकसिंगे गैंडाले पनी सम्झनाको बोझ हल्का बनाउँथ्यो ।

एक शनिबार म चिडियाखानामा त्यो गैंडा हेर्दै थिएँ ।

गैंडासँगै छेउमै, लगभग मैलेजस्तै उक्त गैंडालाई मायालु भावले हेर्दै गरेकी, चिनेचिनेजस्ती, एक महिला देखिइन् । उनको जीउ ठूलो थियो । उनका दाँतहरू पनि धेरै मिलेका थिएनन् । परम्परागत परिभाषामा उनी सुन्दर थिइनन् । म उनको अझ नजिकै गएर गैंडालाई हेर्दै थिएँ, उनले भनिन्, ‘हाम्रै नेपालको ।’

जम्मा दुई शब्द । मलाई भनेको हो कि गैंडालाई बुझ्न सजिलो भएन । तर, पनि मैले भनें, ‘हाम्रै नेपालको जस्तै ।’

‘नेपाल कहाँबाट तपाईं ?’ मैले नजिकै पुगेर सोधें ।

‘चितवन टाँडीबाट,’ उनले भनिन् । उनको उत्तरले मलाई अप्ठेरो पार्‍यो । म अब उनलाई मतलब नगरीकन हिँड्न सक्ने स्थितिमा पुगिनँ ।

‘म पनि टाँडीकै हुँ,’ मैले भनें । उनी पश्चिमपट्टि सौराहा जाने बाटोतिरकी थिइन् । म पूर्वतिरको ।

मलाई नेपालीभाषीहरू फेला पार्न त्यो बे एरियामा गार्‍हो पनि थिएन । अरू बेला भएको भए उनको खासै धेरै मतलब गर्दैनथे हुँला । तैपनि उनीसँग बोल्न मन लाग्यो ।

‘कति भयो यता आएको ?’ उनले सोधिन् ।

‘यस्तै चार पाँच वर्ष,’ मैले भनें ।

‘चार, पाँच वर्ष पनि कति छिटो जान्छ है ?’ तिनले भनिन् ।

र, यसरी एउटा चिनजानको सुरुआत भयो । हामी बिस्तारै ठूलो ओठ भएको त्यो गैंडालाई छोडेर अर्कोतिर हिँड्न थाल्यौं । एकैछिनपछि उनले उनीसँगै घुम्न आएको एक जना इरिट्रियाली मित्रसँग मलाई चिनजान गराइन् । उसले अलिअली दार्‍ही पालेको थियो, मोटो, कालो रिम भएको चस्मा लगाएको थियो । ऊ मसँग चिनजान गर्दा खासै खुसी थिएन । म पनि ऊसँग चिनजान गर्नुपर्दा त्यस्तो खुसी थिइनँ र मलाई लाग्छ, हामी तीनै जना त्योबेला त्यो स्थिति नआइदिएको भए हुन्थ्यो भन्नेमा थियौं ।हामी सँगसँगै चिडियाखानाबाट बाहिर निस्क्यौं ।

नजिकै प्रशान्त महासागरले एसियाको चीन, सिंगापुरदेखि पानी ल्याएर अमेरिकाको जमिनमा छ्यापिरहेको थियो । नजिकै स्लोअट बुलभार्डको पुरानो पिट्स क्याफेमा पसेर मैले तीतो र तातो अमेरिकानो कफी मगाएँ । उनीहरूले जुस मगाए । उनको इरिट्रियाली मित्र आफ्नो देशबारे बोल्न धेरै रुचाएन । मैले बीचमा एकपटक भनें, देशको खराब खबर सुन्दासुन्दा म त गैंडाजस्तो भैसकेको छु, केहीले पनि नछुने । घरभेटी र अरू छिमेकीको कुरा भने मैले गरिनँ । उनले आफ्नो कुरा खासै गरिनन् । निकैवटा चिसा सन्नाटाबीच त्यो तातो कफी पियाइसकियो । पिइन्जेल हामी तीनै जना मन नभईनभई कुनै सभामा बस्न बाध्य भएका श्रोताजस्ता थियौं ।

फर्केर त्यो दिन राति मैले उनलाई सपनामा देखें । सपनामा उनी र म बजारमा हिँड्दै थियौं । अरू कोही पनि थिएनन् । उनले आफ्नो संघर्षका कथा सुनाइन् । टाँडीको माध्यमिक विद्यालयमा पढ्दाका कुरा सुनाइन्, सकीनसकी संघर्ष गरेर अमेरिका आउने जाँच दिएको कथा सुनाइन्, भिसा पाउने हो कि होइन भनेर राजदूतावासमा कुरेको कुरा सुनाइन् । अमेरिका गएपछि ट्युसन तिर्न गाह्रो भएको कुरा सुनाइन्, साथीभाइ नभएका बेला बल्ल एक जना इरिट्रियाली साथी भेटेको कुरा सुनाइन् । विपनामा जे कुरा उनले भनेकी थिइनन्, त्यो सपनामा आएर सबै स्पष्टीकरण दिइन् । बिहान उठ्दा उनीप्रति मेरो सोचाइ केही राम्रो भयो । त्यसको एक हप्तापछि फेरि बर्कलीमा मेरो क्याम्पसछेउ कफी खान भेट्ने उनको र मेरो कार्यक्रम बन्यो ।

मेरो सपनामा जेसुकै भए पनि कफी–भेटमा उनी कुनै स्पष्टीकरण दिने गरी आएकी थिइनन् । कफी खाँदै गर्दा उनी धेरै बोलिनन् । मेरो जीवन मेरो मर्जी हो भन्ने उनको सोचाइ थियोजस्तो लाग्छ । म बरु अरू बेला धेरै नबोल्ने मान्छे भए पनि त्यतिखेर उनीभन्दा धेरै बोलें । टाँडीको उनको गाउँ मोहनातिरको कुरा धेरै गरें । जबर्जस्ती केही प्रसंग ल्याएर टाँडीको मेरो गाउँ शान्तिचोक र उनको गाउँ मोहनाबीचको सम्बन्ध गाँस्न खोजें ।

‘शान्तिचोकमा सानो छँदा, उखुम गर्मीमा पानी लगाउन जाँदा, हामी बाघचाल खेल्थ्यौं । खेतको बीचमा सानो खरको छानो भएको कुटी बनाएको हुन्थ्यो, चिसो पानीको गाग्रो हुन्थ्यो, त्यही कुटीको शीतलमा बस्दै बाघचाल खेल्थ्यौं । छेउमा सधैं बसेर गफ चुट्ने दुई, तीन जना हुन्थे । एक जना कलकत्ताबाट फर्केका लाहुरे थिए, जो आफ्नो कलकत्ताको रसिक जीवनबारे सुनाउँथे । अर्को एक जना अन्तरिक्षयात्री थिए । उनका अनुसार, चितवनमा मान्छेहरू खासै नहुँदाका बेला, २०१८ साल तिर, एक दिन उनी डुल्दै मोहनातिर गएका थिए । चर्को गर्मीमा थाकेर खेतनजिकै सुस्ताएका मात्र के थिए, केही एलियनहरू आएर उनलाई समातेर मंगल ग्रह लगे । केहीदिन राखे र फर्काइदिए रे ।’

यत्तिको रसिलो अनुभव सुनाएपछि उनले प्रतिक्रिया जनाउने ठाउँ निकै हुन्थे । पहिलो कुरा यो कथा मोहनासँग जोडिएको थियो, अर्को कुरा अन्तरिक्षयात्री चितवनमा त्यसरी फेला पार्नु चानचुने कुरा थिएन ।

‘साँच्चै आस्ट्रोन्याट त के होला त्यो ?’ अपेक्षित रूपमा उनले सोधिन् ।

‘खै ?’ मैले पनि के–के न अनभिज्ञ भएजस्तो गरेर उत्तर दिएँ । तर, यथार्थमा उक्त आस्ट्रोन्याटको यात्रा विवरण सधैं उस्तै हुन्थ्यो । ऊ सुरुमा पाँच तले रकेट चढेर माथि गयो, सुरुमा रकेटको एउटा तला खस्यो, त्यसपछि दोस्रो तला खस्यो, त्यतिन्जेल ऊ वायुमण्डलको माथि पुगिसकेको थियो । त्यसपछि पृथ्वीको दुई चक्कर लगाएर पृथ्वीको अन्तरिक्षबाट बाहिर निस्कने बेला रकेटको अर्को तला खस्यो, त्यसपछिको करोडौं माइल दुईतले यानमा गयो । मंगलग्रह नजिक पुगेपछि ऊ माथिल्लो तलामा गयो । त्यसपछि तल्लो र माथिल्लो तला छुट्टियो ।

माथिल्लो तला मंगलग्रहतिर लाग्यो, तल्लो तलाले मंगलग्रहको वरिपरि फन्को लाइरह्यो । फर्केर पृथ्वी आउने बेला त्यो माथिल्लो तला आएर तल्लो तलासँग जोडियो र ऊ तल्लो तलामा गयो । त्यसपछि माथिल्लो तलालाई उतै मंगलग्रहमा छोडेर तल्लो तला मात्र भएको एकतले रकेटमा चढेर ऊ पृथ्वीमा आइपुग्यो । जतिपटक सोधे पनि रिठ्ठो नबिराई आस्ट्रोन्याट यही कथा भन्थ्यो । साँच्चै भनुम् भने मलाई पछि त उसको कुरामा विश्वास हुनथाल्यो । मैले उनलाई यही कुरा सुनाएँ ।

उनीसँग किन कुरा गरिरहेको थिएँ, किन उनले मेरो कुरामा ध्यान दिऊन् भन्ने चाहन्थें मलाई थाहा थिएन । म आफूलाई उनीभन्दा निकै माथिको व्यक्ति ठान्थें र त्यसको सुनिश्चितताका लागि पनि उनी मेरो प्रशंसा गरून्, मप्रति कौतूहल हुन् भन्ने चाहन्थें । तर, त्यही बेला उनको इरिट्रियाली साथी सम्झन्थें अनि मलाई हामी समुद्रमा फालिएका र बग्दै गर्दा अचानक भेटिएका प्लास्टिकका दुई खाली बोतलजस्तै हौं भन्ने लाग्थ्यो, भेटिएको केही समयपछि छुट्टिनेमा कुनै शंका नभएको ।

उनको इरिट्रियाली साथीसँग उनलाई भेटेपछिको एकदिन स्याटक अभेन्युको कर्नरमा भेटें । उसको एउटा सानो ग्रोसरी स्टोर थियो । मलाई देखेपछि ‘हे म्यान’ भनेर बोलायो । हामी दुवै जनालाई एक अर्काप्रति कुनै उत्सुकता नभएको कुरा हामी दुवैलाई थाहा थियो । उसको बाउसको बालाई पहिलोपटक त्यहीं भेटें । ती इरिट्रियाको इथियोपियासँगको स्वतन्त्रता क्रान्तिका बेलाका वामपन्थी विद्रोहीतर्फका एक महत्त्वपूर्ण नेता थिए । उनी इरिट्रियाका स्वास्थ्यमन्त्री पनि भएका थिए तर पछि राष्ट्रपतिसँग उनको कुरा नमिलेपछि उनी भागेर बर्कली आएर बसेका थिए । तर, उनको बर्कली बसाइ त्यति सुखद भने थिएन । मैले भेट्नु केही दिनअघि उनी रेल स्टेसनमा रेल कुर्दै थिए । उनले इरिट्रियामा छँदा मारेका कुनै व्यक्तिको परिवारको सदस्यले उनलाई चिनेछन् र धन्न रेलको लिकमा खसाएर फ्याँकिदिएनछन् ।

‘ढिलो–चाँडो त्यो बूढोलाई कसै न कसैले मार्छ । आफू मन्त्री हुँदा त्यसले भुइँ न भाँडामा भएर कतिलाई मारेको थियो,’ एकदिन बर्कलीमा पढ्ने एक इरिट्रियालीले मलाई भनेको थियो ।

‘तिनीहरूको परिवारलाई कुनै पनि इरिट्रियनले मन पराउँदैन, यहाँ तिनीहरूको कोही साथी पनि छैनन्,’ अर्को एक इरिट्रियनले मलाई त्यसपछिको एक दिन भन्यो ।संयोगवश ती इरिट्रियाली बूढालाई नेपालको सशस्त्र संघर्षबारे धेरै नै विस्तृत थाहा थियो । नेपालका विद्रोही नेताहरूको नाम पनि कनीकुथी भन्न सक्थे । मलाई लाग्यो, अन्तरकुन्तरमा उनी अझै विद्रोही थिए । ती कतै कोही विद्रोही भएर लडेको थाहा पाए भने कुरा बुझ्नतिर नलागी उनीहरूको पक्षमा नै बोल्ने खालका व्यक्ति थिए ।

***

सेप्टेम्बरको पहिलो हप्ता नै अपेक्षित रूपमा ‘हिटवेभ’ सुरु भयो । मेरो बस्ने कोठामा एयर कन्डिसनर थिएन । दिउसो कफी खाने बानी पनि केही समयलाई छुट्यो । पुस्तकालयको चिसो हुने भागमा बसेर पत्रिका पढ्दै समय कटाउन लागें ।

‘सेप्टेम्बरतिर मेरो ध्यान सधैं यहाँको नयाँ पारागुयान विद्यार्थी आए भन्नेमा हुन्छ । सधैं मेरो आशा राम्री, कुरो मिल्ने, तिक्ष्ण कोही आफ्नो छरछिमेकतिरबाटै आइदिओस्, मसँग ग्रोसरी गर्न अथवा अन्य केही काम गर्न सहयोगका लागि याचना गरोस्, उसका स्वर सुनिराखूँजस्तो मीठो होस् र मेरो सम्बन्ध बिस्तारै बढोस् भन्ने हुन्छ । तर, आजसम्म कहिल्यै त्यस्ता कोही आएनन, बरु यो दाह्री पाल्ने झुसिलो, गनाउने टिसर्ट लगाउने केटो अघिल्लो वर्ष आयो,’ मसँगै पढ्ने पारागुएको एक विद्यार्थीले अर्को पारागुएली केटालाई देखाउँदै पुस्तकालय बाहिर उच्छवास छोड्दै भन्यो ।

अरूले आफ्नो मनको कुरा भन्दा पनि कृतघ्नतापूर्वक मनमा त्यस्तो नभएको भन्ने देखाउने मेरो वानी अझै गइसकेको थिएन । ‘तिम्रो देश सानो भएकाले हो त्यस्तो भएको,’ मैले भनें ।

हिटवेभले सुत्न नदिएको त्यो बेला नै मैले एक सपना देखें । एक महिला विश्वविद्यालयको साथर गेटबाट सकीनसकी नीलो सुटकेसको झोला बोकेर विश्वविद्यालयतिर आउँदै थिइन् । म पुस्तकालयबाट निस्कँदै थिएँ । तिनले मेरो नजिक आएर भनिन्, ‘तपाईं नेपाली हैन ?’

म झस्कें । उनी मिलानका फेसन सोहरूमा क्याटवाक गर्ने मोडलहरूजस्तै वित्पात राम्री थिइन् । ‘कसरी चिन्नुभयो ?’ मैले सोधें ।

‘म बर्कली आउने भएपछि तपाईंको बारेमा सुनेको थिएँ । मेरा केही नातेदार पूर्व चितवनमा पनि छन् । तिनले पनि तपाईंलाई चिनेका रहेछन् । मेरो मावली बा चिन्नुहुन्छ होला । मंगलग्रहमा गएर फर्केका अस्ट्रोन्याट ।’

‘किन नचिन्ने ?’ मैले भनें ।

उनले मेरो आँखामा हेरेर भनिन्, ‘हेर्नुस् न, न छात्रावास देखेको छु, न जुस, फलफूल, मुस्ली कता गएर किन्ने भन्ने नै थाहा छ । के गर्ने होला ?’

मेरो निधारमा चिटचिट पसिना आयो, तैपनि मैले भनें, ‘किन पीर गरेको ? म छु नि !’ मैले उनलाई सहयोग गरें, छात्रावास पुर्‍याइदिएँ, किनमेल गराइदिएँ । अन्त्यमा उनले मलाई धन्यवाद भनिन् । मैले उनको मुख हेरिरहें । उनको सुन्दर आँखा, नाक, मुख, ओठ, शरीर सबै फेरिँदै गयो । तिनी मैले चिडियाखानामा भेटेको महिला बनिन् । म हिटवेभको प्रभावले त्यसपछि फेरि उठें ।

त्यसको केही दिनपछि तिनलाई फेरि भेटें । तिनी बिस्तारै राम्री लाग्दै गइन् । उनको स्वर पनि मीठो लाग्न थाल्यो । उनी कुनै नजिकैको नेपाली दोकानमा काम गर्थिन् र बर्कलीको बिचको मेट्रोस्टेसनबाट डेरामा घर फर्किन उनलाई पायक पर्थ्यो ।

उनलाई मैले सेप्टेम्बरको तेस्रो साताको एकदिन टेलिग्राफ अभेन्युमा रहेको बर्मेली खाना खाने रेस्टुराँमा लन्च गरौं भनेर प्रस्ताव राखेको थिएँ । तर, मैले उनलाई सीधै प्रस्ताव नराखेर घुमाएर राखेको थिएँ ।

‘तिमीलाई भोक लागेको जस्तो देखिन्छ । लन्च आवर पनि भयो । मैले त खासमा भर्खर टन्न पेट भर्ने गरी स्यान्डविच र कफी माथि पिएको थिएँ । तर, तिमीलाई भोक लागेको छ भने ऊ त्यहाँको बर्मेली खाना मलाई मन पर्छ, तिमीलाई म खुवाउँला । तिमीलाई साथ दिन म पनि केही खाउँला, ’ मैले उनलाई भनेको थिएँ । उनी उनका नमिलेका दाँत देखाउँदै उपहासको हाँसो हाँसेकी थिइन् । ‘भैगो पछि कुनै बेला तिमीलाई भोक लागेका बेला, खाउँला,’ उनले भनिन् ।

अक्टोबरको सुरुतिर हिटवेभ सकिन थाल्यो । उनको उपेक्षाले मलाई भित्रभित्र अप्ठेरो र उकुसमुकुस बनाउन थालेको थियो । माथि नै उल्लेख गरेजस्तै मैले आफूलाई जहाँ राखेर हेर्थें, त्यसको तुलनामा उनलाई निकै तल राख्थें र मसँग हिँड्नु, खाना खानु, कफी खानुले उनको सामाजिक प्रतिष्ठा बढाउँछ भन्ने उनले ठान्नुपर्ने हो भन्ने म सोच्थें । यसैले पनि उनको सरल, शिष्ट उपेक्षाले मेरो आत्मविश्वास दिनदिनै क्षय गरेको थियो । मलाई दुई दिन, तीन दिनको फरकमा एकपटक उनी भेट्थिन् र हामी बजारको बीचमा बसेर टाँडीको, चितवनको कुरा गर्थ्यौं । त्यसपछि उनी आफ्नो बाटो लाग्थिन्, म आफ्नो बाटो । केही दिनपछि भने म उनलाई भेट्दा अप्रत्यक्ष रूपमा कसरी अरू इरिट्रियालीहरू उनको साथीको परिवारलाई निन्दा गर्छन् भन्ने कुरा गर्न थालें ।

‘तिमी उसको डाहा गर्छौ,’ उनले उत्तरमा भनिन् ।

एकदिन साँझपख मैले उनलाई भियतनामी खाना खान साटक अवेन्युको ओरिएन्टल रेस्टुराँमा जाऊँ भनें । अक्टोबरको अन्त्यतिर भएकाले सडकमा ओक, कपूर तथा पिट्स्पोरम फूलका बुटामा बत्ती नै बत्ती बाल्न सुरु गरिएको थियो । त्यो वर्ष माथि बर्कली गार्डेनमा आठ दस वर्षमा एकपटक फुल्ने मालाडोरा भन्ने फूल फूलेको थियो । मालाडोरा आठ वर्षपछि जम्मा एक–दुई दिनका लागि फुल्थ्यो, तर फुल्दा गनाएको सिनोजस्तो दुर्गन्ध आउने गरी फुल्थ्यो । ‘कुन हो नेताले भनेको थियो, राजनीतिमा बीस वर्षसम्म केही हुँदैन, तर त्यसपछि यस्तो बीस घण्टा अपर्झट आउँछ कि त्यो बीस घण्टामा बीस वर्षमा हुनुपर्ने राजनीतिक घटना एकैचोटि हुन्छन् । यो फूल त्यस्तै छ । वर्षौं फुल्दैन, एक दिन फुल्दाचाहिँ संसारै आतंकित गराउँछ,’ भियतनामी रेस्टुराँतिर जाँदै गर्दा त्यो फूलको वर्णन गर्दै मैले उनलाई भनें ।

हाम्रो मित्रतामा पनि केही हप्तासम्मको शान्त स्थिरतापछि त्यो स्तब्ध पार्ने छोटो समय आउने बेला भएको थियो ।

उनले ओरिएन्टलमा पिरो फो खान सुरु गरेपछि मलाई भनिन्, ‘म तीन महिनाको गर्भवती रहेछु ।’

मलाई खाएको फो खाऊँ कि ओकलूँजस्तो भयो । ‘के गर्छ्यौ ?’ मैले यत्ति सोधें ।

‘राख्छु,’ उनका अनुसार, त्यो इरिट्रियाली केटा खबर सुनेपछि निकै खुसी थियो ।

कम्तीमा मेरा लागि उनको र मेरो अध्याय ठीक त्यहीँ अन्त्य भयो । उनको हकमा त्यो सम्भवतः कहिल्यै सुरु भएको थिएन ।

छ महिनापछि उनले बच्चा जन्माउँदा म उनलाई भेट्न टेलिग्राफ अभेन्युको एक फेमिली म्याटर्निटी सेन्टरमा गएको थिएँ ।

‘तिमीले यहाँ जरा गाड्यौ, मेरो फर्कने बेला भयो,’ मैले भनें । इरिट्रियाली केटाको बा पनि भेट्न आएका थिए । मैले जिस्क्याउँदै भने, ‘अब तिम्रो नातिले मेरो छोरा नातिलाई परबाट बम खसाल्ने होला ।’ उनको क्रान्तिकारिता पौडँदै–डुब्दै गरेको भकुन्डोजस्तो थियो ! अमेरिकाले दीनदुःखीलाई दिएको सहयोगको तारिफ गर्थे, तर मौका पाउँदा विश्वभरिका अमेरिका विरोधीहरूप्रति आसक्ति पनि देखाउँथे ।

‘तिमी पनि टाँडी नै त जाने हैन होला । मान्छेहरू आईए, बीए पास गर्नेबित्तिकै टाँडीका लागि ठूला हुन्छन् । त्यहाँ के छ र ? जागिर छैन । ती त्यहाँ अटाउँदैनन्,’ तिनले भनिन् । मैले आफू टाँडी नभई नजिकैको रामपुर क्याम्पसमा पढाउन जान लागेको भनेपछि उनले भनिन, ‘आकाशबाट झर्‍यौ, खजुरमा अड्कियौ ।’

आज फर्केर हेर्दा के लाग्छ भने जीवनमा कुनै एकबेला हामी जतिसुकै अप्ठेरोमा परे पनि अन्ततोगत्वा जीवनले धेरै मौका दिन्छ । जीवन एउटा रूखजस्तै हो । एउटा मात्रै पात बाँकी नभएर झरेको रूखको पनि केही समयपछि पालुवा लागेर हरियाली आउने स्थिति भएझैं निराशा नै निराशा र असफलता नै असफलताले जिजीविषा हराएको जीवनमा पनि धैर्य राखेर कुर्ने हो भने पालुवा चढ्न सक्छ ।

***

मेरो पढाइ सकिएर देश फर्कने बेला भयो ।

फर्कनु केही दिनअघि जीउ दुख्ने गरी यो किताब नेपाल लाने, यो छोड्ने भनेर निर्णय गर्दै, सामान सुटकेसमा राख्दै, आफूलाई मन परेका कपडा र जुत्तासमेत छोड्दै सकेसम्म सानो लगेज बनाउन कोसिस गर्दै थिएँ ।

यस्तै पुराना नेपाली गीतहरू इन्टरनेटमा सुन्दै सकेसम्म नेपालको म सानो छँदाको वातावरण बनाउँदै घरको सम्झना नजिक नजिक ल्याउन खोज्दै थिएँ । पुराना गीत–संगीतले गर्दा एकैछिनका लागि मेरो त्यो डेरामा म सानो छँदाको पूर्वी चितवन आयो र गयो ।

मेरी घरभेटी आमैले माया गर्दै तेरो देश गरिब छ, तेरो जीवनमा अझै धेरै संघर्ष बाँकी छ भनेर मलाई अप्रत्याशित रूपमा अन्तिम महिनाको घरभाडा नलिने घोषणा गरिदिइन् । म फर्केर चितवनको रामपुर क्याम्पसमा पढाउने लगभग टुंगो लागेकाले त्यस्तो कुनै संघर्ष बाँकी छजस्तो लागेको थिएन, तर उनले दिएको घरभाडाको उपहारको उपयोग गर्दै इन्डोनेसियाको बाली घुम्न गएर त्यही बाटो नेपाल फर्कने निर्णय गरें । बालीमा समुद्रको तीरमा पत्थरमा रहेको ताना लट मन्दिरमा एक जना नेपाली भेट भए । सरकारी हाकिम रहेछन्, कुनै अर्थशास्त्रीहरूको कन्फेरेन्समा पुगेका । ‘मेरी भान्जी राम्री छ, चिनाइदिन्छु,’ उनले छुट्टिने बेला, मेरो खर्चमा कफी र केक खाएपछि, भने । यसरी मेरो जीवनको डोरी बाँधियो ।

बिहेपछि एक वर्ष बित्यो, दुई वर्ष बित्यो । पश्चिम चितवन बढ्दै गएको देखेर र रामपुर क्याम्पसमै बसेर लामो समयदेखि पढाइरहेकाले पनि मैले पूर्व चितवन स्थायी रूपमा नै छोडेर पश्चिम चितवनमा घर बनाएर बस्ने लगभग निश्चय गरेको थिएँ । मेरी श्रीमतीको पनि त्यही चाहना थियो । त्यही बेला सुशील कोइराला चितवनबाट चुनाव लड्ने हल्ला धेरै जोडजोडले चल्न थाल्यो ।

त्यसैताका एक दिन सपनामा तिनै सुशील कोइरालालाई देखें । उनी सिलगुडीमा डुल्दै रहेछन् । मेरी श्रीमती र म पनि शैलेश्वेरी मन्दिरमा पूजा गर्न प्रतीक्षारत थियौं । वरिपरि कपललेखी, तिखा, पाँकरी, कलेना, सानागाउँलगायतका गाउँ भएका ठूला डाँडाहरू थिए । उत्तर र पश्चिममा डडेलधुरा, वैतडी र बझाङ चियाएर हेरिरहेका थिए । सुशील कोइरालाले मलाई नजिकै आएर भने– तपाईंजस्तो मान्छे के गर्नुभएको ? जानुस् आफ्नो ठाउँ ।’

‘आफ्नो ठाउँ भन्नाले ?’ मैले सोधें ।

‘पूर्व चितवन । तपाईंले पूर्व चितवन छोडेर पश्चिम चितवनमा घरजम गर्ने निर्णय लिनुअघि पूर्व चितवन राम्ररी बुझ्नुस्,’ कोइरालाले भने । आफू पश्चिम चितवनबाट चुनाव लड्न लागेका सुशील कोइरालाले किन मलाई पूर्व चितवनमा बस्न सल्लाह दिए मैले बुझ्न सकिनँ । राजनीतिज्ञहरू देशभरि घुम्छन्, थातथलो छोड्छन् र पनि मलाई किन त्यसरी थातथलो नछोड्न भनेका होलान् ? त्यसमा उनको फाइदा त केही थिएन ।

सपनाको अर्को भागमा मैले आफू सिलगुडीको एक होटलमा श्रीमतीसँगै बसेर चिया र माडा खाएको देखें । ‘भगवान्को कृपाले देशविदेश धेरै देखियो । अब पूर्व चितवन नै स्थायी रूपमा बसौं कि ?,’ मैले भनें । ‘पूर्व चितवनमा के गरेर बस्ने ? राम्रा कलेज छैनन् । सानो होटल खोल्ने ? कुखुरा पाल्ने ? के गर्ने ? कि फेरि खेतीपाती गर्ने ?,’ मेरी श्रीमतीले सोधिन् ।

‘हेरौं न, के गर्न सकिन्छ त्यहाँ ?,’ मैले भनें ।

मैले देखेको सपना त्यहीँ सकियो । त्यो दिन दिनभरि क्याम्पसमा बस्दा मनचाहिँ पूर्व चितवनतिर गइरह्यो ।

***

सुशील कोइरालासँग डोटीमा भेट भएको सपना देखेको दिन साँझपख म बिस्तारै टिकौलीको जंगल छिचोलेर पूर्वी चितवन गएँ । कल्पनाको तरेलीमा के भ्रम हो, के सत्य हो भन्ने स्पष्ट भएन । जंगलका सालका रूखहरूमुनि मेरो कल्पनामा दुईवटा बाघ देखिए, चारवटा गैंडा देखिए र सयौं हरिण देखिए । मैले सानोदेखि देख्न खोजेका सबै जनावर देखिए । प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सबै व्यक्ति देखिए । मेरा बा, कास्कीको माथिको डाँडामा वर्षौंदेखि दुःखजिलो गरेर बसेका र बितेर गएका मेरा पुर्खाहरू देखिए । यसपालिको मेरो फर्काई विशेष जो थियो ।

म निपनीबाट मोहनातिर गएँ । पश्चिमतिर डुब्न लागेको घाम म सँगसँगै हिँड्दै थियौं । धेरै वर्षपछि देख्दा पनि टिकौलीको जंगलका रूखहरूको उचाइ उस्तै थियो जस्तो मैले क्यालिफोर्निया हुँदा कल्पना गरेको थिएँ । केही खेतहरू फुल्न सुरु गरेका फलफूलका रूख र तरकारीका बुटाले भरिएका थिए । घामको मुनिबाट त्यो उचाइ र ती खेतहरूले मलाई पुरानो यादसँग एकाकार गराए । पुराना कुलाहरू अझै थिए । गोधूलि साँझमा टिकौलीबाट घाँटीमा घण्टा झुन्ड्याउँदै फर्कने गाई तथा भैंसीको झुन्डले मेरो अगाडिबाट बाटो काटे । तिनको खुरले उडाएको माटोको सुगन्ध मेरो नाकबाट शरीरभित्र पस्यो ।

सडकमा सेतो पाइन्ट, सेतै जुत्ता लगाएर जितेन्द्र र मिथुनका जस्ता कपाल बनाएका युवाहरू हिँडिरहेका थिए, पहेंलो सर्ट लगाएर जुही चावलाजस्तो देखिएर महिलाहरू हिँडिरहेका थिए । नीलम र श्रीदेवीजस्ता देखिने युवतीहरू पनि साइकल चढेर हिँडिरहेका थिए । मानौं पूरै जिल्लाको फेसन मैले हाइस्कुल पढेर छोड्दाको जस्तो भएको थियो ।

म सौराहाको केसि’ज रेस्टुराँमा गएर रोकिएँ । मेरा केही पुराना साथीहरू त्यहाँ मलाई कुरिरहेका थिए । मैले भने, ‘कस्तो हेर न, घर देखें, मान्छे देखें, सन्तोकको कुरा सबै कुरा मैले छोड्दाजस्तै छ । केही परिवर्तन भएको छैन ।’ उनीहरू हाँसे । भने, ‘परिवर्तन त तिमीले देखेकै छैनौ । परिवर्तन पनि धेरै भएको छ ।’

त्यसपछि म उनीहरूसँग परिवर्तन हेर्न गएँ । नजिकैको बछ्यौलीका गाउँहरूका फुसका घरहरू राम्रा भइसकेका रहेछन् । पहिले गाईगोठ हुने ठाउँमा निजी गाडी देखिए । होटलमा काम गर्ने विदेशीहरू बाटोमा हिँडिरहेका देखिए, उनीहरूका डेराका लागि बनाइएको राम्रो बस्ती देखियो ।

त्यसपछि म आस्ट्रोन्याटको घर गएँ । टेबलमा मैले ‘कादम्बिनी’ को एउटा विशेषांक भेटें– जहाँ नील आर्मस्ट्रङको चन्द्र–यात्रामाथि लेखिएको लेख थियो । आस्ट्रोन्याट मतिर हेरेर फिस्स हाँस्यो । मैले ‘ए’ भने ।

अन्त्यमा फेरि त्यो इरिट्रियाली मित्र, उसको नेपाली श्रीमती र उनीहरूका बच्चा देखिए । ‘हामी पनि त यहीँ बस्ने भनेर आयौं । अब यही घर किन्ने मन छ ।’ इरिट्रियालीले आफ्नो घुम्रेको कपाल र कालो वर्णको छाला भएको छोराको टाउको मुसार्दै भन्यो, ‘कती सहिष्णु र सम्पन्न ठाउँ !’

‘कस्तो राम्रो,’ मैले भनें ।

‘पचास लाख नेपाली विदेशमा भएकोमा चितवनका नै डेढ लाखभन्दा बढी जति विदेश गएका होलान् । कसले को बिहे गर्छ, कसले कुन देशको बिहे गर्छ । अब यो नेपाली महिलाले इरिट्रियालीसँग बिहे गरेर जन्मेकालाई के जात भन्ने ? यस्ता कति छन्, कति हुनेछन्, केमा विभेद गर्नु ?,’ मेरा साथीहरूले भने ।

‘तिमीहरूले यसरी सोचेको ? म सारा संसार घुम्दा पनि हुर्कंदाको विभेद खल्तीमा बोकेर हिँड्दै थिएँ । तिमीहरू यही बसेर फेरिएछौ,’ मैले उनीहरूलाई भनें, ‘पुराना कुरा पनि देख्छु, नयाँ सोचाइ पनि देख्छु ।’ मिथुनको जस्तो कपाल काटेको र जितेन्द्रको जस्तो सेतो पाइन्ट र सेतो जुत्ता लगाएको मेरो साथीलाई मैले भनें ।

म घर पुगें । बा–आमा घरबाट बाहिर निस्कनुभयो । धेरै बूढो हुनुभएको थिएन । मेरो घरको तल्लो तलामा दुई जना विदेशी र एक जना नेपाली बस्ने रहेछन् । ती पनि आए । एउटा इरानियन, एउटा अमेरिकी थिए । ‘हामी नजिकैको कलेजमा पढ्छौं,’ तिनले भने । ‘तपाईंका बा–आमाले माया गर्नुहुन्छ,’ इरानियनले भन्यो, ‘मेरो देशमा धेरै दुःख छ । मेरो घर इरानको निशापुरमा हो । यसपालि निशापुरमा धेरै बाढी आयो र हाम्रो धानखेत केही राखेन । बा–आमालाई भनेको, मेरो घरभाडा मिनाहा गरिदिनुभयो ।’ ‘थाहा छ, थाहा छ,’ मैले भनें ।

बा–आमासँग खाना खाँदै गर्दा बाले भन्नुभयो, ‘यो इरानीको देशमा धेरै दुःख रहेछ । अब घर जाने बेला पनि भएको छ । तेरी आमाले त्यसको अर्को महिनाको पनि भाडा नलिने कि भन्दै छे । मेरो वैंक खातामा अलिअलि पैसा छ, त्यता इरानतिर एउटा स्कुल भवन बनाउन चन्दा दिऊँ कि जस्तो लागेको छ । यो मान्छे सोझो, मिहिनेती छ, पैसा लगेर आफैं त नखाला है ?’

‘होस गर्नुस् । धेरै विदेशीको भर हुँदैन । यस्तै दुःखका कुरा सुनाउँछन् र हाम्रो पैसा लिएर जान्छन्,’ मैले भनें । ‘यसलाई एकपटकलाई चाहिँ दिनुस्, तर भविष्यमा सकेसम्म यस्ता दुःख देखाउने विदेशीलाई घर भाडामा नराख्नुस् ।’

बाले त्यही चेक झिक्नुभयो र मिति लेख्नुभयो, ‘जुन २६, २०१३ ।’

प्रकाशित : आश्विन २३, २०७८ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?