विचारको बजारशास्त्र- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विचारको बजारशास्त्र

युनेस्कोका अनुसार, संसारभर वर्षमा २५ लाखभन्दा बढी नयाँ किताब छापिन्छन् । तीमध्ये ६ देखि १० लाख किताब त अमेरिकामा मात्रै प्रकाशित हुन्छन् । हिसाबले विश्वमा दिनमा ७ हजार नयाँ किताब बजारमा आउँछन् । अबको १ दशकभित्र सिर्जनात्मक उद्योगले कृषिलाई समेत उछिन्ने अनुमान गरिएको विश्व परिप्रेक्ष्यमा हाम्रो राजनीतिले भने यसलाई ‘अनुत्पादक क्षेत्र’ घोषित गरेको छ ।
पश्चिमले साहित्यका नामका के उत्पादन गरिरहेको छ ? युरोप र अमेरिकी सिर्जनात्मक शिक्षाले बाटो बिराएको हो ? 
गनेस पौडेल

भन्छन् नि, ‘काम गर, दुनियाँले तिमीलाई के भन्छ वास्ता नगर ।’ हिन्दीको भनाइ झन् स्वादिलो छ— सबसे बडा रोग, क्या कहेंगे लोग ! प्रेरणा र परामर्शको मेन्युमा आइरहने अचार अभिव्यक्ति हो यो । तर, खास कुरा के हो भने दुनियाँले बनाउने तपाईंमाथिको विचार वा राख्ने तपाईंउपरको धारणा निरपेक्ष हुँदैन ।

यसको निर्माण तपाईं आफैंले गर्ने हो । तपाईंमाथिको धारणाको निर्माता तपाईं हो, मान्छेहरू होइनन् । मान्छेहरूले तपाईंलाई त्यही ठान्छन्, जस्तो तपाईंले आफूलाई प्रस्तुत गर्नुहुन्छ वा कतिपय सन्दर्भमा आफूलाई लुकाउन सक्नुहुन्छ ।

बजारशास्त्रले के भन्छ भने आफ्नोको सामानप्रति उपभोक्ताबाट आम विचार कस्तो निकाल्ने भन्ने निर्णय उत्पादक आफैंले गर्ने हो । मान्छेहरू बिनाकारण विचार बनाउँदैनन् । तपाईंको सामान कस्तो छ, त्यो भौतिक पक्ष मात्रै हो । तपाईंको सामान कसरी उत्पादन भएको छ, कसरी प्रस्तुत भएको छ त्यो बल्ल विचार हो । सामानप्रतिको आमविचार त्यसको भौतिकीले होइन, त्यसको प्रस्तुतिले निर्माण गरेको हुन्छ ।

विचार अर्थात् तपाईंको त्यो ‘हुवाइ’ नै संस्कृति हो । त्यसैले सांस्कृतिक बजार भनेको विचार बजार हो । ‘हुवाइ’ बजार हो । सिर्जनात्मक उद्योगले बेलायतको कुल गार्हस्थ्य उत्पादनमा करिब १५ बिलियन डलरको योगदान गर्छ । उता अमेरिकी कला उद्योगले हाराहारी ४.५ प्रतिशत (एक हजार बिलियन डलर) को हिस्सा ओगट्छ । चीन र जापानमा यसको योगदान साढे चार प्रतिशत लगभग छ । युरोप र अमेरिकाको सिर्जनात्मक उद्योगको कमाइको वृद्धि घट्दो दरमा छ भने बाँकी विश्वमा २ प्रतिशतको दरले बढ्दो छ । विश्व अर्थतन्त्रकै हिसाबमा सिर्जनात्मक उद्योगको हिस्सा छ– ३ प्रतिशत बेसी । यो योगदानमा प्रकाशन उद्योगको सबैभन्दा ठूलो हिस्सा ओगट्नेमध्येका शब्दकोश, पाठ्यपुस्तक, खरबपत्रिका र म्यागेजिनको योगदान समावेश छैन ।

युनेस्कोका अनुसार, अहिले संसारभर वार्षिक २५ लाखभन्दा बढी नयाँ किताब छापिन्छन्, जसमध्ये ६ देखि १० लाख किताब त अमेरिकामा मात्रै प्रकाशित हुन्छन् । हिसाबले विश्वमा दैनिक ७ हजार नयाँ किताब बजारमा आउँछन् । एक अमेरिकी रिपोर्टअनुसार, सन् २०१८ देखि सुरु भई आउँदो २०२३ सम्मको प्रक्षेपणमा एसिया प्यासेफिक र ल्याटिन अमेरिकी देशको किताब उपभोगको वार्षिक चक्रीय वृद्धिदर क्रमशः १.९ र १.७ प्रतिशत छ, जबकि सोही कुरा उत्तरी अमेरिकामा १.३ प्रतिशतको छ भने युरोप, मध्यपूर्व र अफ्रिकी मुलुकको हिसाबमा ०.३ प्रतिशत मात्रै छ । गत वर्ष ६७५ मिलियन किताब अमेरिकी बजारमा मात्रै बेचिएका थिए, जसमा उत्तिकै बिक्री हुने इबुक र अडियोबुक समावेश नै छैनन् ।

अबको १ दशकभित्र सिर्जनात्मक उद्योगले कृषिलाई समेत उछिन्ने अनुमान गरिएको विश्व परिप्रेक्ष्यमा हाम्रो राजनीतिले भने यसलाई ‘अनुत्पादक क्षेत्र’ घोषित गरेको तपाईंलाई थाहै छ । उसो त अधिकांश सर्जकहरू दलको झन्डा बोक्ने ‘गधा’ र नेताको कलो ढुक्ने ‘द्वारपाले’ भएपछि राजनीतिक आँखाले सर्जकलाई ‘घरपालुवा’ देख्नु स्वाभाविकै हो । सोखिनले कुकुर पालेझैं नेपालमा राजनीतिकर्मीले सर्जक पालेका छन् । सामाजिक सञ्जाल र छापाहरूका कहिले ‘भुक्ने’ र कहिले पुच्छर हल्लाउँदै ‘कुँईकुँई’ गर्ने तीमध्ये केहीको अनुहार यतिखेर तपाईंको आँखामा पक्कै आएको होला ।

सांस्कृतिक उत्पादनको आयात–निर्यात भनेको एक देशले अर्को देशसँग, एक समाजले अर्को समाजसँग गर्ने विचारको आदानप्रदान हो, संवाद हो, अन्तरक्रिया हो । तर, बढ्दो गतिमा रहेको सिर्जनात्मक अर्थतन्त्र गुम्ने डरकै कारण विकसित देशको सिर्जनात्मक अर्थतन्त्रले अविकसित देशको सिर्जनात्मकतासँग अन्तरक्रिया गर्न हिचकिचाउँछ । यो हिचकिचाहटको मूल कारण के हो भने संवादले सम्बन्ध बढाउँछ, सम्बन्धले स्वाद । स्वादले बानी पार्छ, बानी पर्‍यो भने भइरहेको राष्ट्रिय कमाइ गुम्छ ।

सिर्जनात्मक अर्थतन्त्र (साहित्य, कला, सिनेमा आदि) को निर्यातमा जोड दिनकै लागि हरेक समृद्ध राष्ट्रले आफ्ना दूतावासमा सांस्कृतिक सहचरी राख्ने गर्छन्, जसको मुख्य काम भनेको आफ्नो देशको सांस्कृतिक उत्पादनको प्रवर्द्धन गर्नु हुन्छ ।

जर्मन–अमेरिकी समाजशास्त्री आन्द्रे गुन्डर फ्र्याङ्कले व्याख्या गरेको ‘निर्भरता सिद्धान्त’ सिर्जनात्मक बजारमा झन् हुबहु लागू हुन्छ । उनले भनेझैं विचारको केन्द्रीयता र त्यसका उपग्रहहरूको अवस्थितिलाई हेर्न धेरै टाढा जानुपर्दैन । भारतका सबैखाले सिर्जनात्मक उत्पादन जसरी नेपालमा खुरुखुरु भित्रिन्छन् त्यसरी नेपाली उत्पादन त्यहाँ जान ठूलो सकस छ । अपेक्षाकृत ‘ठूलो’ भारतीय बजारले सहजै नेपाली ‘विचार उत्पादन’ लाई भित्रिन कहाँ देओस् ? नेपाली किताबहरू वैधानिक रूपमा भारतीय नेपालीभाषी माझमै पुग्न नसकेको बेलामा यहाँका भाषिक सिर्जना भारतीय भाषामा अनूदित भएर यताकै प्रकाशन र वितरकमार्फत उताको बजारमा पुग्ने विषयको कल्पना गर्नु कम्तीमा अहिलेको लागि असम्भवजस्तै छ ।

उसो त ‘विचार बजार’ का अनेक असर छन् । अर्को अर्थतन्त्र/समाजका सिर्जनात्मक उत्पादन आफ्नो समाजमा छिर्‍यो भने त्यसले धेरैखाले प्रभाव पार्छ । पहिलो आयात गर्नेको पुँजी पलायन हुन्छ । दोस्रो आयात गर्नेको संस्कृतिमा परिवर्तन आउँछ र तेस्रो आयात गर्नेमा सिर्जनात्मक वा सांस्कृतिक लघुताभास विकसित हुँदै जान्छ (लघुताभास भनेकै आयाताभास हो) । नेपाली सर्जकहरूमा देखिने एकखाले लघुताभासको जरो यही हो । किनकि गुन्नर फ्र्याङ्कको मोडलका हामी अन्तिम उपग्रह हौं । हाम्रा कुनै उपग्रह छैनन् । हाम्रो संस्कृति आयातको संस्कृति हो । एक दशक बेसी अन्तर्राष्ट्रिय साहित्यको अध्ययनबाट मैले बुझेको सपाट कुरा के हो भने हाम्रो साहित्य संसारका कुनै पनि समकालीन साहित्यभन्दा कमजोर छैन तथापि हामी ‘म त नेपाली किताबै पढ्दिनँ’ भन्नुमा गर्व गर्छौं, चाहे सर्जक होऊँ या पाठक ! झट्ट हेर्दा यो गर्व गराई महत्ताभासजस्तो लाग्छ, तर यो संकीर्ण लघुताभासबाहेक अर्को केही हुँदै होइन ।

फोर्ब्सले वर्षैपिच्छे निकाल्ने धनाढ्य लेखकको सूचीमा पर्ने प्रायः लेखक पश्चिमी छन् । अमेरिका र युरोपबाहेक अन्त कतैका लेखकले त्यो सूचीमा अट्ने मौका बिरलै पाउँछन् । अचम्मलाग्दो तथ्य के हो भने विगत २ दशकयता सर्वाधिक बिक्रीको सूचीमा परेका यस्ता धनाढ्य लेखकका किताबहरू ‘हार्डकोर लिटरेचर’ (खाँट्टी साहित्य) मै पर्दैनन् । उसोभए पश्चिमले साहित्यको नामका के उत्पादन गरिरहेको छ ? युरोप र अमेरिकी सिर्जनात्मक शिक्षाले के बाटो बिराएको हो त ? साहित्य–कलाको सिर्जनात्मक अध्ययन र अध्यापनमा सम्भवतः सबैभन्दा बेसी लगानी गरेका राष्ट्रको यस्तो हविगत कसरी भयो ?

सन् २०१८ मा छापिएको बीबीसीको एक रिपोर्टअनुसार, प्रा. म्याथ्यु जोकरले हजारौं (?) उपन्यासको अध्ययनबाट एउटा निष्कर्ष के निकालेका थिए भने संसारका सबै कथा मात्र ६ प्रकारले भनिएका छन् । पात्र उत्थान र पतनको क्रम, दर र शृंखलालाई आधार मानेर उनले ‘पत्ता’ लगाएको भनेको ६ तरिकालाई उल्ट्याएर हेर्ने हो भने ‘कथा’ माथिको हाम्रो आम बुझाइ थाहा हुन्छ । अर्थात् यो थाहा हुन्छ कि हामीलाई ६ बाहेकका अन्य तरिकाबाट कथा बुन्नै आउँदैन ।

उसो त हाम्रै सरुभक्तले भनिसकेका हुन् कि साहित्य लेखनका विद्यमान विधि र अभिव्यञ्जनालाई मात्रै आधार मान्ने हो भने साहित्यले आफ्नो सिर्जनात्मक पराकाष्टा भेट्टाइसकेको छ । ‘शून्यवादी अहम्वाद’ को घोषणापत्रमा सरुभक्त भन्छन्, ‘प्रेम, घृणा, भोक र यौन मानवसभ्यता विकासमा प्रमुख अभिव्यञ्जनाहरू रहिआएका छन् । यिनमा परिवर्तन नआएसम्म कुनै पनि साहित्यकार सृजनशीलताको पराकाष्टामा पुगेर होमर, ब्यास, सेक्सपियर, तोल्सतय हुन सक्छ, तर तीभन्दा ‘महान्’ हुन सक्दैन ।’ (सरुभक्तको यो भनाइले समग्र विश्वसाहित्यकै कुरा गर्न खोजेको भए पनि उनको विवेचनात्मक आधार अनि ‘घोषणपत्र’ मा उल्लेख गरिएका सर्जकका नाम तथा त्यहाँ प्रस्तुत गरिएका तथ्य र तर्क हेर्दा उनको अन्तरचेतनाको कथ्य पश्चिमी साहित्यकै अध्ययनबाट प्रेरित छ भन्न सकिन्छ ।)

हतारोमा इन्टरनेट चहार्दा स्रोत भेटिनँ, तर १० वर्ष अघिजतिको (सायद) ‘गार्जियन’ को एउटा साहित्य रिपोर्ट अहिले सम्झिन्छु । सिर्जनात्मक लेखनको अध्यापन र अभ्यासमा पश्चिमा शिक्षालयहरू असफल हुँदै गएका छन् भन्ने तर्क उक्त आलेखको चुरो थियो । सिर्जनात्मक अभ्यासको उस्तैखाले अध्यापन, तालिम, ‘क्याम्प’ र छात्रवृत्तिले पश्चिमा साहित्य उद्योग बिस्कुट उद्योगजस्तो भएको छ, जसले एकातिरबाट गहुँ–चिनी हालेर उताबाट उस्तै स्वाद र बान्की भएका बिस्कुटका चक्की खसाल्नुबाहेक अर्को केही नयाँ निकाल्न सकिरहेको छैन ।

सिर्जनात्मक लेखनका नाममा हुने औपचारिक अध्यापन, तालिम, गोष्ठी, छात्रवृत्ति आदिले के खासमा पश्चिमलाई अझ बढी सिर्जनात्मक बनाउन सकेको छ त ? बनाएको छ भने यस्तो प्रपञ्च र प्रबन्धमा नपरेका गैरपश्चिमी (एसियाली, ल्याटिन अमेरिकी वा अफ्रिकी) लेखकहरू दिनानुदिन प्रख्यात किन भइरहेका छन् ? किन सिर्जनात्मक उद्योगको क्षेत्रमा नामै पनि राम्ररी नचिनिएका यस्ता फिस्टे देशका लेखकका किताबहरू एकपछि अर्को गर्दै प्रख्यात भइरहेका छन् ? किन अंग्रेजी वा कुनै युरोपेली ‘फ्यान्सी’ भाषामा लेखिएका भन्दा अन्य गैरपश्चिमी भाषाका किताबहरू बढी नवीन( लागेका छन् ? सिर्जनात्मक देखिएका छन् ? के यो पश्चिमी, विशेषगरी अमेरिकी र बेलायती, विचार बजारमा ‘बेयरिस ट्रेन्ड’ आइसकेको संकेत होइन ?

सहस्राब्दीको अन्त्यतिर पश्चिमतिर एउटा प्राज्ञिक बहस चलेको थियो ः या त साहित्य मरिसक्यो र मृत्युशय्यामा छ । साहित्यको गहनता खस्किँदै गएको सन्दर्भमा अमेरिकी समालोचक एल्विन केर्ननले ‘डेथ अब लिटरचेलर’ लेखे । समाजमा खास रूपमा हुँदै नभएका समस्या र मुद्दालाई कृत्रिम खुट्टा लगाइदिएर उकास्ने र अतिवादी अमानवीयतालाई हिरोगिरी गर्ने औपन्यासिक प्रवृत्तिबाट आजित भएर अर्का कला समीक्षक जोन एसिलले ‘लस्ट लिटरेचर : सोसल अजेन्डाज एन्ड द करप्सन अब द ह्युमानिटिज’ लेखे । पश्चिमा साहित्य खासगरी अंग्रेजी भाषाका सिर्जनात्मक विभागहरूले सिर्जनात्मक लेखनको सैद्धान्तिक र व्यावहारिक बाटो कसरी बिराउन थाले भन्ने विषयमा यस्तै मार्काको बहस गरेका छन् रोबर्ट स्कोल्सले आफ्नो किताब ‘द राइज एन्ड फल अफ इङ्लिस’ मा । यस्तै सन् २०१४ मा (हो कि) स्विडिस एकेडेमीमा होरेस इङ्डलले दिएको मन्तव्यले कला र साहित्यका सर्जक, पाठक र समीक्षकमाझ हलचल नै ल्याएको थियो । सिर्जनात्मक लेखनको विषयमा पश्चिमा विश्वविद्यालयहरूले दिने यान्त्रिक अध्यापन विधि, सर्जकको अचाक्ली ‘स्टारडम’ अनि व्यवसायीकरण आदिका कारणले पश्चिमा साहित्य कसरी समाजभन्दा पर पुगिरहेको छ भन्ने प्रश्नमा उनी घोत्लिएका थिए ।

नित्सेले ईश्वर मरेको घोषणा गरेझैं केर्ननले त यतिसम्म भनेका छन् कि जसलाई हामी खाँट्टी साहित्य भनेर चिन्छौं त्यसको अस्तित्व अब विश्वविद्यालयको पाठ्यक्रमभन्दा बाहिर खोज्न मुश्किल भइसकेको छ, अर्थात् सामाजिकस्तरमा समकालीन साहित्य मरिसकेको छ । यसको कारण हो सामाजिक जीवनमा आएको तीव्रत्तर परिवर्तन । भनिन्छ, असली साहित्यिकले समय छोप्छ । तर, आजकाल दुनियाँको कुनै पनि सर्जकले खास वर्तमानलाई छोप्नै नसक्ने गरी समय फेरिन थालेको छ, समाज बदलिन थालेको छ ।

विज्ञान–प्रविधिको छिनछिने विकास, सञ्चारका अपत्यारिला आविष्कार अनि यसबाट जन्मेका अजिबोगरिब ‘वस्तु’ र ‘सेवा’ को उत्पादन ! राम्ररी समीक्षासमेत हुन नपाउँदै अत्यन्त द्रुत गतिमा फेरिरहने वस्तु र सेवाका नयाँ–नयाँ ‘भर्सन’, उत्पादनको बदलिँदो सम्बन्ध अनि बजार व्यवस्थापनमा देखापर्ने नयाँ–नयाँ मोडल । खग्गु मार्क्सवादीलाई समेत रनभुल्ल पार्नेगरी रङ बदल्ने उत्पादनको सम्बन्ध र बजारको नयाँ–नयाँ मोडलको फेलामा संसार यसरी द्रुत गतिमा विगत २ दशकपहिले कहिल्यै परिवर्तन भएको थिएन ।

समग्र रूपमा भन्दा, पश्चिमा कला समीक्षकहरूले पश्चिमा साहित्यको युग लगभग समाप्त भइसकेको विचार राख्न थालेको हाराहारी २ दशक भइसकेको छ । यो दुई दशकको विश्व साहित्यलाई ध्यानपूर्वक हेर्ने हो भने उनीहरूको सन्देह फजुल होइन भन्न सकिने आधार धेरै नै छन् ।

यसैले चाहे हाम्रै सरुभक्तले भनून् कि उताका होरेसले, साहित्यको आयु सकियो भनेर गरेको घोषणा भनेको पश्चिमी (विशेषगरी अंग्रेजी) साहित्यमाथिको घोषणा हो । हाम्रो (पूर्वीय) साहित्यको होइन । त्यो किन होइन भने, समाज र साहित्यका मामलामा हाम्रो र पश्चिमीको बुझाइ नै फरक छ ।

आधुनिक विश्व साहित्य पूरापूर पश्चिमी पाराको भइसकेको भए पनि शास्त्रीय साहित्यलाई मिहिन भएर हेर्ने हो भने त्यसको सामाजिक बुझाइ अर्थात् साहित्यिक तारो (ओरियन्टेसन) टट्कारो भएर छुट्टिन्छ । पश्चिमी अभ्यासको कला र साहित्यको मूलधार कहिल्यै पनि सामाजिक संस्थाको परिपूरक भएर बसेन । साहित्य कहिल्यै सामाजिक संस्था बन्न सकेन, जसरी अध्यात्म बस्यो, राजनीति बस्यो, कृषि बस्यो, व्यापार बस्यो, उद्योग बस्यो । र, जसरी अरू धेरै संस्था बसे । सामाजिक मूल्य, मान्यता, विचार, संस्कारको विपरीत कथाको निर्माण गर्नु पश्चिमा साहित्यको अभीष्ट रह्यो । तर, यता पूर्वेली कला–साहित्य सधैं एउटा सामाजिक संस्थाको रूपमा रह्यो । समाज रूपान्तरणको हिसाबले हेर्दा यताको मूलधारको साहित्य सधैं संस्थापन पक्ष भएर बस्यो । त्यो कहिले धर्मको सापेक्ष भएर बस्यो, कहिले सत्ताको, कहिले संस्कारको ।

साहित्य समाजको प्रतिपक्ष हो भन्ने अवधारणा यहाँका सर्जकको चेतनामा तबसम्म पसेन जबसम्म पश्चिमी साहित्यले यहाँको साहित्यलाई आफ्नो ‘स्याटेलाइट’ बनाएन । समाज जस्तो छ त्यसै लेख्नु र त्यसैको निरन्तरताका खातिर संस्थागत भूमिका खेल्नुलाई नै पूर्वेली साहित्यले आफ्नो आदर्श ठान्यो । यसैले यता ‘वधूशिक्षा’ लेखिए, उता लेखिएनन् । यता धर्म र सत्ताको स्तुतिमा, आदर्श प्रेमको बढाइमा महाकाव्यहरू कथिए, उता यसरी कथिएनन् । कुनै पनि योद्धा नियमसंगत नमारिएको ‘महाभारत’ लाई हामीले धर्मयुद्ध भन्यौं । राम र सीताको जस्तो द्वन्द्वात्मक सम्बन्धलाई आदर्श प्रेमको लेपन लगाइदियौं । उता यस्तो संस्थापकीय कारिगरी देखिएन ।

व्याख्याको एउटा चरणसम्म पश्चिमी साहित्यको सामाजिक तारो (सोसल ओरियन्टेसन) प्रगतिशील भयो । सामाजिक न्याय र स्वतन्त्रता स्थापनाको एक मुद्दासम्म पश्चिमा साहित्यले लिएको प्रतिपक्षी धार अवश्य अद्भुत थियो, कतिपय सन्दर्भमा अझै छ । तर, सधैं समाजविरोधी रहिरहने वा रहनैपर्ने बाध्यात्मक परिबन्दका कारणले साहित्यलाई कालान्तरमा समाजदेखि टाढा लग्दै गयो । एउटा लेखकले आफू बाँचेको समाज बुझ्नै नपर्ने वा नबुझे पनि हुने वातावरण बन्दै गयो । के साहित्य सधैं संस्थापनविरोधी हुन जरुरी हुन्छ ?

पूर्वीय बुझाइमा भाषिक योग्यताका पाँच खुड्का हुन्छन् । भाषाको पहिलो काम सञ्चार अर्थात् संवाद गर्नु हो । जब भाषाको गुणस्तर संवादको चरणभन्दा माथि पुग्छ त्यो लेखोट साहित्य बन्न पुग्छ । जब साहित्यभन्दा माथि उक्लिन्छ, त्यसमा कला प्रादुर्भाव हुन्छ । कलाभन्दा पनि उपल्लो स्थिति हुन्छ सौन्दर्यको । अनि सौन्दर्यको सिरानमा हुन्छ सत्य । पूर्वेली अवधारणामा भाषाका सेवकहरूको अन्तिम गन्तव्य भनेको सार्वभौम सत्यको नजिक पुग्नु हो । त्यसलाई व्यक्त गर्नु वा गर्न सक्नु हो ।

साहित्यको यो ‘सोसल ओरियन्टेसन’ हेर्दा पश्चिमाहरू प्रगतिशील र पूर्वेलीहरू यथास्थितिवादी देखिए पनि साहित्यकै भविष्यको हिसाबले हेर्दा, केर्ननको बुझाइमा, किनकि अहिलेको साहित्यलाई समाजले सधैं आफूविरुद्धको भाष्यको रूपमा बुझ्ने गरेको छ, यसले साहित्यलाई समाजदेखि झन्–झन् टाढा–टाढा लग्दै गएको छ । कालान्तरमा समाजदेखि टाढा पुग्ने साहित्यलाई कसरी प्रगतिशील भन्न सकिन्छ ?

हिजो समालोचना वा समीक्षा साहित्यको सेवक हुनेगर्थ्यो, अचेल त्यो साहित्यको मालिक भएको छ । यसको अधीनमा अहिले साहित्यको बजार चल्ने गर्छ । त्यो समीक्षा वा समालोचना कतै प्रज्ञिक सन्धान भएर आउँछ कतै छापाका समीक्षा । तर, अझ बलशाली रूपमा त्यो पुरस्कारको स्वरूपमा आउँछ । पुस्तक प्रकाशनपूर्वको प्रकाशकीय छनोट आफैंमा अर्को बल्छे–समीक्षा हो, जसको ध्यान बजार सिवाय अन्त कतै हुँदैन । यस्ता सन्धान, समीक्षा वा पुरस्कारले साहित्यको उत्थानका लागि होइन, त्यसलाई होच्याउनमा वा त्यसलाई आफू अधीनस्त राख्न ज्यादा बल लगाउने गरेका छन् । उसो त समालोचना आफैंले आफैंलाई अलग साहित्यक विधा भएको घोषणा त्यसै गरेको पक्कै होइन । दर्जनौं उपन्यास लेखेको एउटा लेखकले भन्दा बढी प्रामाणिक (अथेन्टिक) भएर एउटै कथा नकोरेको एउटा समालोचकले ‘उपन्यास यस्तो हुनुपर्छ, यसरी लेखिनुपर्छ’ भनेर व्याख्या गरेकै छन् ।

साहित्यको आयु सकिनुको मूलकारण भनेको साहित्य यस्तो हुनुपर्छ, उस्तो हुनुहुँदैन भनेर राखिएको आग्रह पनि एक हो । विषय यस्तो छनोट हुनुपर्छ, वाक्यहरू यस्ता हुनुपर्छ, शब्दहरू यसरी अड्कल्नुपर्छ, घटना यसरी जोडिनुपर्छ, कथा यसरी बुन्नुपर्छ... लगायतका घोषित–अघोषित नियमहरूमा बाँधिएकै कारण अहिले जस्तोसुकै घटना र शैलीको कथा आए पनि त्यो नवीन लाग्दैन । एक त साहित्यकारहरू आफैंमा व्यावसायिक लेखकमा परिणत भएका छन्, न तिनमा कुनै गहन अध्ययन छ न छ कुनै सौन्दर्यचेत, न त छ विचार र व्यवहारमा पल्टी मार्न सक्ने प्रचुर कल्पनाशीलता । जुन उपन्यास पढे पनि उस्तै कथा उस्तै बान्की ! जुन कविता पढे पनि उस्तै संवेदना, उही मुद्दा ! जुन निबन्ध पढे पनि उही पट्यारलाग्दो झूटको फेहरिस्त र आत्मप्रशंसा !

प्रकाशित : आश्विन २३, २०७८ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्

दुबोको कथा

रजनी ढकाल

उन्मुक्त छु हरियो हाँसोमा मेरै सामुन्ने छतिम्रो रंगीन आवरणर, बोलिहेछु आफ्नै समयको कथा !

उखेलिँदै गर्दा मेरो बास

बगाएको हो तिम्रो बस्ती

फुस्रिएको संवेदनाको भूगोलबाट

उजाडिएपछि मेरो हरित परिचय

पहिरो झरेको हो तिम्रो समयमा

प्राणसँग टाढिएथे प्राणहरु

कसरी बाँच्थे निष्प्राण कायामा ?

निर्मम समयको मुक दर्शक म

आज वाचाल छु


एकाएक बन्द भएपछि

यो सहरको चलायमान गति

सुनसान भएको हो भौतिकी घार्घार–घुर्घुर

सधैँ व्यस्त रहने तिम्रो समय

टक्क रोकिएपछि कोठाकोठामा

वर्चस्व बदलिएपछि शून्यतामा

सोचमग्न भएकी हुँ


इन्जिनका रापिला धूवाँ र प्रदूषित वायुबाट

मुक्त भएपछि यो परिवेश

खोलिएका हुन् यी मसिना पातका सासनली


कंक्रिट मात्र उम्रेको यो सहरमा

ब्युँझेपछि मेरा बेखबर सपनाहरु

ढिलै भए पनि खुसी छु

तिमीले हात मिलाउन खोज्दा

पहिल्यै बुझ्नुपर्ने समन्यायको पाठ

बल्ल बुझ्न खोज्दै

बोलिरहेछौ मित्रताको भाषा !


उघार्दै फराकिला नयन

चम्किँदै आफ्नै विश्‍वासमा

हेर्न सकेकी हुँ तिम्रो घरको चित्रकारी

रङको गोधूलिबाट चिर्बिराइरहने

हृदयस्पर्शी ध्वनि के तिम्रै आह्वान हो ?


मूर्च्छित विगतमा ठिंगुरिरहेका बेला

जुरुक्क उठेपछि स्नेहको हातसँगै

फालिएको चउरबाट मायाको कौसी चढ्दै

उन्मुक्त उठेको हो तिमीलाई टक्कर दिने

मेरो गगनचुम्बी अस्तित्व

उन्मुक्त छु हरियो हाँसोमा मेरै सामुन्ने छ

तिम्रो रंगीन आवरण

र पर्गेलिरहेछु

समयले बिथोलेको तिम्रो र मेरो कथा !

प्रकाशित : आश्विन १६, २०७८ ११:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×