२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सिन्धुघाटी : ३ हजार वर्ष पुरानो निद्रा

करिब ५ हजार वर्षअघि लगभग सात सय वर्षको वैभव बाँचेर, पछिल्ला सभ्यतालाई आफ्नो विरासतसमेत छाडेर गएको एक सभ्यताले मनमा एउटै प्रश्न जन्माउँछ– मानवसृजित पर्यावरणीय संकटको मुखैमा हाम्रो वर्तमान सभ्यता सिन्धुघाटी जति दीर्घायु छ त ?
विकास बस्नेत

हिन्दु, यहुदी, इसाई मिथकहरूमा पुरानो सभ्यताको अन्त्य र नयाँको आरम्भसँग भिषण बाढी जोडिएको छ । बाइबलको बाढी ईश्वरको प्रत्यक्ष्य हस्तक्षेप हो । मान्छेको अटेरीपनाले आजित ईश्वर आफ्नै प्रिय सृष्टि नष्ट गर्न भीषण बाढी निम्त्याउँछन् । एक मात्रै इमानदार नोहालाई मान्छेको बंश विस्तार गर्न जोगाएर परमेश्वरले सम्पूर्ण मानव सभ्यता बाढीमा डुबाउँछन् । यता सतपथ ब्राह्मणमा उल्लिखित मिथकमा बाढी एउटा नियमित प्राकृतिक प्रकोप हो । यहाँ दयालु मनुलाई माछाले बाढीको पूर्वसंकेत दिएर बचाउँछ । हिन्दु मिथकअनुसार, नयाँ सभ्यताको आरम्भका लागि बाँचेका उनी एक्ला आदिपुरुष हुन् ।

सिन्धुघाटी : ३ हजार वर्ष पुरानो निद्रा

इतिहासको गर्तबाट निस्कने एक बाक्लो धूवाँ हो— मिथक । प्राचीन सहरी सभ्यता सुमेरको शुरुप्पाक नगरलाई इसापूर्व ४ हजार बर्षअघि आएको बाढीले विनाश पारेको प्रमाण पुरातत्त्वविद्हरूले फेला पारेका छन् । सुमेरियन, अक्कड, बेबिलोनियन, यहुदी, इसाईलगायत अन्य संस्कृतिमा प्रचलित सृष्टि–कथामा पुरानो सभ्यतालाई बाढीले डुबाएको मिथक यही जलप्रलयको स्मृति हुन सक्छ (सिटिज, जोन रिडर) । यता हिन्दु मिथकमा मनुलाई जोगाउने माछालाई विष्णुको मत्स्यअवतार मान्छि । मानव जाति जोगाउने सुमेरियन देउतालाई माछाको रूपमा चित्रण गरिएको छ । त्यसैले आदिपुरुष मनु र बाढीको कथाको स्रोतसमेत उही सुमेरियत प्रलय हुन सक्छ (रोमिला थापर, एन्सियन्ट इन्डियन सोसल हिस्ट्री) ।

सारमा नदीले सभ्यता सृजना गर्छ, कतै आफ्नो सृजना आफैँ विनाश पनि गर्छ । यो इतिहास कतै लिखित छ, कतै मिथकमा जीवित छ । यस्तै करिब ४६ सय वर्षअघि हाल पाकिस्तानको सिन्धु नदीले बनाएको बेंसीमा दक्षिण एसियाकै पहिलो सभ्यताको विकास भएको थियो । सिन्धुघाटी वा हडप्पा सभ्यता समेत भनेर चिनिने यो सभ्यता कास्ययुगीन चार सभ्यताहरू— मेसोपोटामिया, मिश्र र चिनियाँमध्ये एक थियो । नदीले सृजेको यो सभ्यता इसापूर्व २ हजार वर्षअघि विस्तारै ओरालो लाग्यो । अन्य थुप्रै सम्भावित कारणमध्ये प्रतिकूल पर्यावरण र त्यसले निम्त्याएको नियमित बाढी नै यस सभ्यताको पनि पतनको कारण थियो । सभ्यताको अन्त्यतिर सिन्धु र यसका सहायक नदीहरूमा आएको बाढीले थुपारेको माटो दस फिट माथिसम्म बढ्यो । नदीले धार बदल्यो । सहरमा पानी पस्यो । बाटोघाटो र घरहरू माटो र बालुवाले पुरियो । बिस्तारै यो सभ्यता स्मृतिबाट हरायो । पुरिएको सहरको जगमा नयाँ सभ्यता आरम्भ भयो । भग्नावशेषमाथि सभ्यता विनाशका नयाँ मिथकहरू बुनिए ।

मिथकबाट इतिहासको आलोकमा आउन यो सभ्यताले आफ्नो चिहानमै ३ हजार वर्ष कुर्नुपर्‍यो । ३ हजार वर्षसम्म चिहानमै निदाइरहेको यो सभ्यताको सन् १९२० मा पहिलोपल्ट पहिचान भयो । त्यसपछि एक शताब्दीको निरन्तर खोज र अनुसन्धानले यस सभ्यताका विविध आयाम जोडेर एउटा खेस्रा–चित्र तयार पारेको छ । यो आलेख केही नयाँ तथ्यसहित त्यहि सभ्यताको खेस्रा–चित्र हो ।

सभ्यताको आकार

अन्य प्राचीनझैं सिन्धुघाटी सभ्यता सिन्धु र घग्गर–हाकरा नदी–तटमा जन्मिएको हो । यहाँ सभ्यता भन्नाले अतिरिक्त कृषि उत्पादन/वचत, पेसाको विशिष्टीकरण, सामाजिक स्तरीकरण, लिखित वा अन्य प्रतीकात्मक सञ्चार, मजबुत शासन र भौतिक सुखसयलसहितको नगर जीवन भन्ने बुझौँ ।

सिन्धुघाटी सभ्यता नगरमा स्थित एक कुवा तथा नुहाउने घर

सिन्धुबेंसीमा माथि उल्लिखित विशेषतासहितको सभ्यता आजभन्दा करिब ४६ सय वर्षअघि उचाइमा पुगेका थियो । इसापूर्व ३३ सय देखि १३ सय सम्मको कालखण्ड मानिए पनि इसापूर्व २६ सयदेखि इसापूर्व १९ सय यो सभ्यताको परिपक्व अवधि थियो । करिब १० लाख वर्गकिलोमिटर भू–भाग ओगटेको यस सभ्यताको करिब १ हजारभन्दा ज्यादा बस्तीहरूको भग्नाबशेष पहिचान भइसकेको छ । यस सभ्यताले हालको पाकिस्तानको ठूलो क्षेत्र, उत्तरी अफगानिस्तान र भारतीय उत्तरपूर्वी राज्यहरू पन्जाव, राजस्थान, हरियाणा, उत्तर प्रदेश र गुजरातसमेत समेटेको थियो । बिस्तार फैलावटमा करिब ५० लाख जनसंख्या भएको यो सभ्यता आफ्ना समकक्षी मिश्र तथा मेसोपोटामियाभन्दा दोब्बर ठूलो थियो । यस बृहत् सभ्यताका दुई महत्त्वपूर्ण सहर हडप्पा र मोहनजोदाडोबीचको दूरी नै ६०० किलोमिटर थियो । तर, भौतिक/आध्यात्मिक संस्कृति, लिपि, कलाकौशल र निश्चित शासन प्रणालीले यी सहरलाई बाँधेको थियो (इरफान हबिब, द इन्डस सिभिलाइजेसन) । उत्खनन गरिएको पहिलो सहरको नामको आधारमा कुनै पनि सभ्यताको नामकरण गरिने प्रचलन भएकाले यसलाई आजकाल हडप्पा सभ्यता भनिन्छ ।

को थिए निर्माता ?

आरम्भमा यसलाई मेसोपोटामियामा विकसित सभ्यताको सुदूरपूर्वी बाछिटा मानियो । तर, पछिल्लो प्राचीन डीएनए विश्लेषण, पुरातात्त्विक प्रमाण र प्रागऐतिहासिक बसाइसराइको नयाँ अध्ययनले यस विषयमा प्रकाश पारेको छ । यस सभ्यता दुई पृथक् समूहका मानिसको अन्तरघुलनको नतिजा थियो । अफ्रिकाबाट ७० हजार वर्षपहिले बाहिर निस्केको आधुनिक मानव ६५ हजार वर्षपहिले भारतीय उपमहाद्वीपमा पुगिसकेको थियो । पहिलो समूहमा फिरन्ते जीवन बिताइरहेकाहरू तिनैका रैथाने सन्तान थिए । यो समूहसँग दक्षिणी जाग्रोस पहाडका इरानी पशुपालकहरूको अन्तरघुलन करिब ७ हजार वर्षअगाडि भएको आनुवंशिक अध्ययनले देखाएको छ (अर्ली इन्डियन्स, टोनी जोसेफ) । यो मिश्रित समूहले हालको बोलन पास (बलुचिस्तान) को मेहरगढमा कृषि क्रान्ति आरम्भ गर्‍यो । कृषि क्रान्ति सभ्यता विकासको पूर्वसर्त हो । हडप्पा सभ्यताको बीउ यही थियो । यहि नै दक्षिण एसियाको कृषि क्रान्तिको पहिलो केन्द्रसमेत थियो ।

काल्पनिक चित्रमा सिन्धुघाटी सभ्यताको एक सहर

इसापूर्व ७ हजारदेखि इसापूर्व २६ सयसम्म ओगटिएको यो सानो बस्तीले पूर्ण विकसित हुँदा फैलिएर २ सय हेक्टर भू–भाग ढाकेको थियो । अनुसन्धानमा आरम्भका केही कालयताका काँचो इँटाले बनेका घर र तिनका कोठाहरू, अन्न भण्डार, काठको बिँडमा जोडिएको ढुंगाको हँसिया, जौ र गहुँका अवशेष भेटिएका छन् । इसापूर्व ६ हजार वर्षअघि भारतीय उपमहाद्वीपमै पहिलोपटक सुतीको प्रयोगको प्रमाण पनि यहीँ फेला परेको छ । माटो लिपिएको कच्ची घरमा टाउको लुकाएर खेतीपातीको आरम्भ गरेका मेहरगढवासीलाई आफ्नो यही कर्मले एक विशाल सभ्यताको जग हाल्दै छ भन्ने झिनो अनुमान पनि थिएन होला । मेहरगढको खेतिपातीले फसल दिन थाल्यो । अन्नपात उत्पादन पर्याप्त भयो । बचत अन्नपातले अन्य पेसाको विशिष्टीकरण गर्‍यो । नगर र नगर सुविधाको निर्माण गर्ने जनशक्ति जन्मायो । नगर सञ्चालन र नियमन गर्ने संयन्त्र जन्मायो । अर्थात् शासक जन्मायो । अन्नको पहिलो बीउ रोपेको करिब ४५ सय वर्ष र १५० पुस्तापछि मेहरगढका ग्रामीण झुप्राहरू हडप्पा नगर सभ्यताका रूपमा कायाकल्प भए ।

सभ्यताको विशिष्टता

समकालीन सभ्यताहरूमा सहर–निर्माण कौशल यस सभ्यताको अद्भुत विशिष्टता हो । सामान्यतया सहरलाई माथिल्लो र तल्लो गरी दुई भागमा बाँडिएको थियो । दुर्ग/गढीजस्तो केही उठेको/उठाइएको भू–भागमा समाजका माथिल्लो/शासकवर्ग बस्थे । यसलाई चाक्लो पर्खालले चारैतिर घेरिएको हुन्थ्यो । नगर छिर्नका लागि प्रवेशद्वार थियो । तल्लो भाग आम जनताका लागि थियो । सहर निर्माण चेकरबोर्ड वा ग्रिड भनिने ढाँचामा बाँडिएको थियो, जहाँ हरेक चौबाटामा सडकहरूले एकआपसलाई समकोण बनाएर काट्थे । यसरी सहर स–साना वर्गाकार हिस्सामा बाँडिएको थियो । धोलाभिरा, हडप्पा, मोहनजोदाडो, राखिगढी र गनवेरीवाला यस सभ्यताका पाँच ठूला सहर हुन् ।

मोहनजोदाडो

ठूला–साना सबैमा सहरी पूर्वाधारहरूको विकास भएको थियो । प्रत्येक घरमा स्नानागर, इनार, ढल निकासलगायतका सुबिस्ता थियो । हरेक घरमा शौचालयको व्यवस्था थियो । केही घरमा शौचालयको कमोड र छेउमा लोटाको अवशेष अझै छ । पर्सियाको खाडी क्षेत्रमा जलमार्गबाट व्यापार हुने भएकाले लोथलको तटमा पानीजहाज अड्याउने ‘डकयार्ड’ को निर्माण भएको थियो । बाढीबाट जोगिन सहरको मूलभागको जग काँचो इँटाले उठाइएको थियो । मोहनजोदाडो सहरको जग निर्माणमा मात्रै कम्तीमा १० हजार मजदुरलाई एक वर्षभन्दा ज्यादा समय लागको हुनुपर्छ । तर, त्यहाँ ठूला मठ–मन्दिर, शासक/प्रशासक बस्ने दरबार र महल नहुनु रोचक पाटो हो । त्यति मात्रै होइन, इजिप्ट वा मेसोपोटामियामाझैं चिहानको भव्य स्मारक, साथमा पुरिने धनदौलतसमेत देखिन्न (द इन्डस सिभिलाइजेसन, एल पोसेल) ।

पानी र यससँग सम्बन्धित संरचना निर्माणमा यस सभ्यताको चासो र खुबी देखिन्छ । संभवत समग्र सहरी क्षेत्रमा उच्च प्रबिधिको ढल प्रणालीको बृहत् प्रयोग गर्ने यो नै पहिलो सभ्यता थियो । पक्की इँटाबाट निर्माण गरिएका ढलको कुलो निजी घरका बाथरुम तथा शौचालयबाट जोडिएर सडक किनारमा बनाइएका ठूलो ढलमा पुग्थे । मूल ढललाई माथिबाट ढुंगाले छोपिएको हुन्थ्यो । आवश्यक परेका बेला सरसफाइ गर्न सकियोस् भनेर ढलको ठाउँठाउँमा मंगल पनि बनाइएका हुन्थे ।

कृषि तथा पशुपालन

अहिले सिन्धु सभ्यताले ढाकेको वर्तमान भू–भाग तुलनात्मक रूपमा सुक्खा छ । तर, पहिले यो भू–भागमा पर्याप्त वर्षा हुन्थ्यो र खेतीपातीका लागि यहाँको जमिन मलिलो थियो । गह्,ुँ जौ र दलहन यहाँका मुख्य बाली थियो । धान र कोदो यस सभ्यताको अन्तिम कालखण्डतिर देखियो । धानचाहिँ गुजरात क्षेत्रमा निकै अघिदेखि खेती भएको हुन सक्छ । तर, अफ्रिकी रैथाने कोदोचाहिँ ६ हजार बर्षअघि नै अरबमा भित्रिसकेको थियो । सिन्धु सहरहरूको वर्तमान ओमनसँग प्रत्यक्ष्य व्यापार थियो । कोदो यही माध्यमबाट भित्रिएको हो । नदी र वर्षाको पानीलाई बाँध बाँधेर कुलोमार्फत खेतसम्म लगेर सिँचाइ गरिन्थ्यो । धोलाभिरामा ३१ वटा खुट्किला भएको ५ मिटर गहिरो बाँधको अवशेष अझै छ । काठको हलो तान्न गोरु वा कतै ऊँटको समेत प्रयोग गरिन्थ्यो । टेराकोटाबाट बनेको हलोको प्रतिमाले यसैलाई संकेत गर्छ ।

व्यापार

सिन्धु सभ्यताको व्यापार निकै टाढाटाढा फैलिएको थियो । जल र स्थलमार्ग दुवैमार्फत हडप्पा सभ्यताका सहर र गाउँहरू आन्तरिक ब्यापारिक सञ्जालमा जोडिएका थिए । ठूला भारीहरू गोरुगाडाले तानेर र साना भारीहरू मान्छेले बोकेर मालसामानको ओसारपसार हुन्थ्यो । सिन्धु उपत्यकाको पश्चिम क्षेत्रको माथिल्लो पठारबाट तामा, बहुमूल्य पत्थर, ऊन तथा फलफूल बोकेर गोरु र भेडाको लस्कर आउँथ्यो । आन्तरिक व्यापार सुदूरपश्चिमको बलुचिस्तान र पूर्वमा राजस्थानको आरावाली क्षेत्रसम्म फैलिएको थियो । गुजरातको समुद्रतट, उत्तरी महाराष्ट्रदेखि लाजवर्त (नीलो रङको पत्थर) का लागि प्रख्यात अफगानिस्तानसम्म व्यापारको सञ्जाल फैलिएको थियो । पोते, माला र हारहरूको व्यापार भने तिब्बतसम्मै फैलिएको थियो (साउथ एसिया इन वर्ल्ड हिस्ट्री) ।

पर्सियन गल्फ र मेसोपोटामियालगायत अन्य सभ्यतासँग पनि व्यापारको सघनता थियो । सिन्धु सभ्यताका गरगहना, नापतौलका उपकरण, मोहर तथा अन्य सामग्रीको अवशेष मेसापोटामिया र पर्सियन गल्फमा भेटिएका छन् । करिब ४३ सय वर्षअघिका अक्कड सम्राट् सार्गनले दिलमुन, मगन र मेलुहाबाट आएका मालवाहक जहाज आफ्नो राजधानी अक्कडसम्म आइपुगेको कुरा गौरवसाथ शिलालेखमा कुँदेका छन् । दिलमुन हालको बहराइन, मगन हालको ओमान र मेलुहा तत्कालीन सिन्धु सभ्यता थियो ।

धर्म

यस सभ्यतामा प्रयोग भएको लिपि अझै खुट्याउन सकिएको छैन । त्यसैले यस सभ्यताको धार्मिक आस्था र विश्वास एउटा पहेली हो । केही सांस्कृतिक अवशेषमा कुँदिएका मूर्ति, मोहोरछाप, कलाकृति इत्यादिका आधारमा यहाँका मानिसको धार्मिक र आध्यात्मिक आस्थाबारे अनुमान गरिएको छ । सिलिन्डर आकारमा फेला परेका थुप्रै स्तम्भका अवशेषलाई धेरैले लिंग पूजाको रूपमा वर्णन गरेका छन् । कालिबङ्गा, लोथाल, राखीगढीजस्ता स्थानमा अग्निवेदीहरू भेटिएका छन् । कालिबंगामा भेटिएको अग्निवेदीको अवशेषमा शिवलिंगमा पञ्चामृत चढाइएको झल्को आउँछ । तर, आहुति दिइने वैदिक अग्निवेदीसँग यसको समरुपताको पुष्टि भने भएको छैन ।

लोथाल स्थित प्राचीन नगरमा स्थित एक नाली

मेहरगढमा फेला परेका सेरामिकबाट बनेका ठूलो नितम्ब र बक्षसहितको नग्न महिलाका लघु मूर्तिहरू पश्चिम एसियको झैं मातृदेव (फर्टिलिटी गड्डेस) हुन सक्छ भन्ने अनुमान गरिएको छ । पुरातात्त्विक उत्खननमा प्रोटो शिव वा पशुपतिको नाम दिइएको विख्यात मोहर फेला पारिएको छ । यसमा एउटा पुरुष आकृति प्रस्ट योगासनमा बसेको देखिन्छ । उक्त पुरुषको दाँया, बाँया र सीधै अगाडि हेरिरहेको तीन मुख छन् । टाउकोमा त्रिशूलझैं तीन चुच्चो र दुई थान भैंसीको सिङजडित केश शृंगारको साधन छ । पाखुरामा चुराहरू छन् । लिंग उत्तेजित छ । उसका वरिपरि गैंडा, अर्ना, हात्ती र एक थान बाघ छ । माथिपट्टि सिन्धुलिपिमा केही लेखिएको छ । हडप्पावासीका उनी आराध्यदेव हुन सक्छन् । सिन्धु मोहरहरूमा अधिक कुँदिएको पौराणिक प्राणी ‘युनिकर्न’ पनि कुनै धार्मिक प्रतीक चिह्न हुन सक्छ । सिन्धु सभ्यताका अधिकांश देवी–देवता पीपलको रूखमुनि देखाइएकाले पीपलसमेत उनीहरूका लागि पूज्य थियो (रुट्स अफ हिन्दुइज्म, अस्को पर्पोला) ।

वैदिक संस्कृति ?

भारतीय भूमिमा बैदिक आर्यन रैथाने हुन् र यो सभ्यता तिनैले निर्माण गरेका हुन् भन्ने विचार धार्मिक राष्ट्रवादको उदयसँगै फेरि ब्युँतिएको छ । तर, वैदिक साहित्य, पुरातात्त्विक प्रमाण र आनुवंशिक अध्ययनले यसलाई पुष्टि गर्दैन । योजनाबद्ध निर्माण भएका सहर, कलाकौशल, बन्दव्यापार, पक्कि इँटाबाट निर्मित ठूला संरचना सिन्धु सभ्यताको विशेषता हो, ऋग्वैदिक समाजको होइन । सिन्धु सभ्यताको परिपक्व चरण इसापूर्व २६००–१९०० हो । तर, ऋग्वेदको रचना/संकलनकाल इसापूर्व १५ सयतिर मात्रै हो । ऋग्वेदमा प्रमुख अन्न जौ हो भने सिन्धु सभ्यतामा गहुँ, कोदो, धान, तिल इत्यादि हो । गैंडा, बाघ र मयूरजस्ता पशुपन्छी ऋग्वेदले चिन्दैन । उता ऋग्वेदमा २१५ पटक उल्लेख गरिएको र वैदिक आर्यहरूको मुल जनावर घोडाको अवशेष सिन्धु सभ्यतामा दुर्लभ छ (इन्डियाज एन्सियन्ट पास्ट, आर.एस. शर्मा) । इसापूर्व २१०० पछि मात्रै सिन्धु क्षेत्र र यसको आसपासको जीवाश्मामा पश्चिम एसियाका पशुपालकको आनुवंशिक योगदान देखिएको छ । अध्येताहरू यसलाई वैदिक आर्यहरूको क्रमिक बसाइँसराइका रूपमा व्याख्या गर्छन् ।

अनुष्ठानहरु वा समारोहहरूमा देखिने पात्रर (ईसापूर्व २६०० देखि २४५०)

सभ्यताको पतन

आजभन्दा ४६ सयदेखि ३९ सय वर्षअघिसम्म करिब ७०० वर्ष यो सभ्यता उचाइमा पुग्यो । इसापूर्व १९ सय वर्षयता सिन्धु सहरको व्यापारिक उत्पादन, क्रियाकलाप र जनसंख्या घट्न थाल्यो । त्यसको एक सय वर्ष पछिदेखि त सिन्धु लिपिको प्रयोग नै ठप्प भयो । योसँगै दक्षिण एसियामा यसको विरासत नै अन्त्य भयो । सम्राट् अशोकका शिलालेखहरूमा प्रयोग गरिएका ब्राह्मी लिपिसँगै दक्षिण एसियामा नयाँ लिपि भित्रिन १५ सय वर्ष लाग्यो । यो सभ्यताको हठात अन्त्य सुल्झन नसकेको अर्को रहस्य हो ।

आरम्भमा वैदिक पुरातत्त्वविद् मोर्टिमर ह्वीलरलगायत समूहको विश्लेषण थियो— उत्तरपश्चिमबाट छिरेका बैदिक आर्यहरूले यो सभ्यता तहसनहस पारेको हुन सक्छ । सन् १९७० को दशकदेखि यो विश्लेषणको वस्तुगत अध्ययन हुन थाल्यो । ऋग्वेदको सन्दर्भ र पुरातात्त्विक प्रमाणहरूले यसको पुष्टि गरेन । अहिले कुनै पनि गम्भीर अध्येता वैदिक आर्यहरूको भीषण आक्रमणको परिकल्पनालाई स्विकार्दैनन् । सभ्यताको अन्त्यतरि कुनै ठूलो बाह्य आक्रमण, युद्ध वा महामारीको प्रमाण अहिलेसम्म भेटिएको छैन । सहरी जनसंख्याको ह्रास, घट्दो उत्पादन तथा व्यापार र सहरहरूको क्रमिक परित्यागका पुरातात्त्विक प्रमाण भएकाले यो सभ्यता निरन्तर ओरालो लाग्दै इसापूर्व १३०० वरपर पुग्दा मुख्य सहरहरू पूर्ण रूपमा भग्नावशेष बनेको देखिन्छ ।

हडप्पा पतनको सम्भावित कारण पर्यावरणलाई ठानिएको छ । हिमालय पर्वतको नियमित टेक्टोनिक गतिविधिले सिन्धु र यसका सहायक नदीहरूको धार परिवर्तन हुनु, घग्गर–हाकरा नदी विलय हुनु, मनसुन गतिबिधि बिस्तारै कम हुनु, नियमित बाढीले माटो अम्लीय हुनु, अत्यधिक दोहन भएकाले ऊर्जाको मुख्य स्रोत जंगल विनाश हुनुजस्ता अन्तरसम्बन्धित घटनाले निम्त्याएको खाद्य संकट यो सभ्यता विनाशको महत्त्वपूर्ण कारण हुन सक्छ भन्नेमा धेरै अध्येता सहमत छन् (अ हिस्ट्री अफ इन्डिया, कुल्के एन्ड रुदरमन्ड) ।

कहाँ गए हडप्पावासी ?

सहर ध्वस्त भयो । घरहरू निर्जन भए । घरको इनार लेउ र झ्याउले पुरिए । सार्वजनिक स्नानागर र बाँधहरू सुके । खेतहलिहान बाँझै रहे । सभ्यताको अन्त्यतिर मान्छेहरूको मृत शरीर बाटोमा यसै छाडिए । लिपि कसैले पढ्नै नसक्नेगरी बिर्सियो । एउटा सभ्यता धूलिसात् भयो । विस्मृतिको गर्तमा यो सभ्यता यसरी पुरियो कि अर्को हजार वर्षपछि सिन्धुबेंसीभन्दा धेरै पर सुदूरपूर्वको गंगा यमुना दोआबमा विकसित वैदिक सभ्यताले आफ्नोपूर्वज सभ्यताको सोझो स्मृतिसमेत गर्न नसक्ने भयो ।

हडप्पावासी भने बिस्तारै पूर्वतिर गंगा यमुना मैदान र कोही दक्षिण भारततर्फ सर्दै गए । यस भेगतिर पहिल्यैदेखि चलिरहेको छिटफुट बसाइसराइ सिन्धु सभ्यताको ह्राससँगै तीव्र भयो । सन् २०१८ मा हडप्पा सभ्यताको सिमानामा फेला परेको जीवाश्माको प्राचीन डीएनएले हडप्पावासीको जैबिक विरासतबारे केही प्रकाश पारेको छ । उक्त प्राचीन डीएनएको आनुवंशिक विश्लेषणअनुसार, आधुनिक द्रविड समूहमा हडप्पा पुर्ख्यौर्लीको आनुवंशिक योगदान अरू समूहभन्दा बढी देखिएको छ (हु वी आर एन्ड हाउ वी गट हियर, डेभिड रेख) ।

हडप्पा सभ्यताको भाषा पनि प्रोटो द्रविड हो भन्ने कोणबाट आएका अध्ययनलाई यस तर्कले थप बलियो बनाएको छ । प्राचीन इरानको इलामाइट भाषा (हाल लोप भएको तर लिपि खुट्याइएको) सँग द्रविड भाषाको समानता देखिन्छ । यो समानताको कारण हडप्पावासी र प्रोटो इल्माइटभाषीबीच रहेको लामो व्यापारिक अन्य सांस्कतिक सम्बन्ध हो । प्राचीन हडप्पा क्षेत्रको सानो ‘पकेट एरिया’ बलुचिस्तानमा द्रविड भाषा परिवारको ब्राहुई भाषा अझै प्रचलनमा छ । हाल ३ लाख प्रयोगकर्ता रहेको यो भाषा बोल्ने द्रविड पुर्खाहरूले हडप्पा सभ्यता ओरालो लाग्दासमेत दक्षिण भारततर्फ बसाइसराइ नगरेको हुन सक्छ ।

सिन्धु सभ्यताको विरासत

इसापूर्व १९०० मा हडप्पा सभ्यता पतानोन्मुख भयो । तर, यसले दक्षिण एसियाको भाषा, धर्म, संस्कृति र सांस्कृतिक आस्थाहरूमा यसको विरासत छोडेर गयो । हिन्दु धर्म र संस्कृतिमा सिन्धु सभ्यताको विरासतलाई अस्को पर्पोलालगायत केही अध्येताले निकै गहिरो विश्लेषण गरका छन् । खासगरी गुजरात क्षेत्रमा प्रचलित गोही पूजा, प्रत्येक गाउँको संरक्षकका रूपमा मातृृदेवीको आराधना, मातृदेवीको पतिलाई साँढे वा भैंसीको प्रतीकको रूपमा मान्यता र रूख पूजालाई उनले ‘ग्रामीण हिन्दु धर्म’ को रूपमा सिन्धु सभ्यतासँग यसको जरो जोडेका छन् । वैदिक हिन्दु धर्मको शास्त्रीय हिन्दु धर्मसम्मको उद्विकासमा सिन्धु सभ्यताको देन पर्याप्त छ ।

त्यसबाहेक प्रस्ट देखिएका अन्य सांस्कृतिक विरासत पनि छन् । वरिपरि आँगन राखेर घर निर्माणको शैली यहीँको हो । हिन्दु महिलाले सिउँदो काढेर विवाहको प्रतीकको रूपमा लगाउने सिन्दूरको प्रचलन, चुरा, पोतेको शृंगारिक प्रयोग, केस विन्यास, काँसको ऐनाको प्रयोगलगायत दक्षिण एसियाका धेरै जाति–समूहको परिधान र गरगहनामा समेत सिन्धु शैलीको निरन्तरता देखिन्छ । हिन्दु धर्ममा लिंग पूजाको प्रबेश, स्वस्तिक चिह्नको प्रयोग, पूजा–आजामा प्रयोग हुने पञ्चामृत चढाउने पूजा सामग्री, पीपलको पूजा निश्चित रूपमै सिन्धु सभ्यताको देन हो । बलयगाडा र शौचालयमा लोटाको प्रयोग, मट्कादेखि पासा खेल पनि हडप्पा विरासत नै हो (पर्पोला, उही) ।

करिब पाँच हजार वर्षअघि युरेसिया, उत्तरी अफ्रिका र चीनका प्रमुख नदीतटमा पहिलोपटक ठूला सभ्यताहरू फस्टाउन आरम्भ भए । मेसोपोटामिया र सुमेरले पहिलोपटक लिखित इतिहासको आरम्भ गर्‍यो । मिश्रले जटिल धार्मिक र सामाजिक संरचनाको विकास गर्‍यो । चिनियाँ सभ्यताले प्रविधिमा फड्को मार्‍यो । सिन्धुबेंसीमा फैलिएको यो सभ्यताले दक्षिण एसियालाई धार्मिक, सांस्कृतिक र सामाजिक विरासत दिएर गयो । कृषि क्रान्तिपछि मान्छेको यो अर्को अकल्पनीय छलाङ थियो ।

प्रकाशित : आश्विन १६, २०७८ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?