२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३
किताब वार्ता

‘सतीप्रथाको अवशेष अझै जब्बर बनेर बसिरहेकै छ’

दीपक सापकोटा

नारीलाई जिउँदै चितामा धकेल्ने इतिहासकै एउटा क्रूर संस्कार हो, सतीप्रथा । जन्मँदै पितृसत्ताको जन्जिरले बाँधिएका नारीहरू आफ्नो स्वाभाविक आयु बाँच्नसमेत स्वतन्त्र रहेनन् । महिलाको जीवनलाई पुरुषको नियन्त्रणमा राख्न थालनी गरिएको यो प्रथालाई पछि शासकहरूले सत्ता टिकाउने हतियारसमेत बनाए । राणा प्रधानमन्त्री चन्द्रशमशेरले सय वर्षअघि कानुनी रूपमै बन्देज नलगाएसम्म नेपालमा पनि यो शृंखला लामै चलिरह्यो ।

‘सतीप्रथाको अवशेष अझै जब्बर बनेर बसिरहेकै छ’

समाजशास्त्री सुजित मैनालीको हालै प्रकाशित किताब ‘सती : इतिहास र मीमांसा’ ले सतीप्रथाको इतिहासदेखि महिला हिंसाको वर्तमान स्वरूपसम्मका विभिन्न आयाम केलाएको छ । उनी भन्छन्, ‘सतीप्रथा त हट्यो, तर यसका अवशेष महिला–हिंसाका विभिन्न स्वरूपमा जिउँदै छन् ।’ मैनालीसँग दीपक सापकोटाले गरेको संवाद :

तपाईंको किताबमा समेटिएको जंगबहादुरको समयको ‘एक अंग्रेज अधिकारीले पशुपतिमा देखेको सतीगमनको वर्णन’ पाठकलाई उद्विग्न पार्ने खालको छ । इतिहासले बिर्सिसकेका यस्ता घटना उधिनेर किताब लेख्नुको तपाईंको अभीष्ट के हो ?

सन् १९८७ मा भारतको राजस्थानमा रूप कँवर नामकी युवतीको सतीगमनपछि सतीप्रथा कुनै बेलाको चलन होइन, अहिलेकै समस्या रहेछ भनी थुप्रैले लेखे । सन् १९८७ यता पनि विधवालाई सती पठाइएका एकाध घटना भारतमा रहे । सन् २००८ मा छत्तीसगढमा सतीप्रथाको अभ्यास फेरि गरियो । यो सत्य हो कि नेपालमा सतीप्रथा बाँकी छैन । तर, त्यससँग जोडिएको मनोविज्ञान यहाँ पनि जब्बर छ । महिलाहिंसाको अन्तर्य खोतली त्यसलाई हटाउने कार्यमा थोरै भए पनि टेवा पुर्‍याउनु मेरो अभीष्ट हो । नारी–स्वतन्त्रता र समानता सुनिश्चित गर्ने दिशामा ‘सती’ ले तिलबराबर मात्रै योगदान गर्न सके पनि म आफ्नो प्रयासलाई सार्थक ठान्नेछु भनी किताबमै उल्लेख गरेको छु ।

चाँगुमा मानदेवले लेखाएको स्तम्भलेख सतीप्रथाबारे उल्लिखित संसारकै पुरानो दस्तावेज हो । यस्तो प्रथा नेपालमा चन्द्रशमशेरको पालासम्मै जारी रह्यो । सतीप्रथाबारे बुझ्न कुन कालखण्डको अध्ययन बढी महत्त्वपूर्ण छ ?

सतीप्रथाको उद्भवबारे बताउने सामग्री इतिहासमा उपलब्ध छैनन् । यसका लागि हामीले प्राग्–इतिहासतिर नियाल्नुपर्छ । तपाईंले उल्लेख गर्नुभएको स्तम्भलेखसम्म आइपुग्दा सतीप्रथा नेपालमा संस्थागत भइसकेको देखिन्छ । गयासुद्दिन तुगलकले सिम्रौनगढमा हमला गरेपछि त्यहाँबाट पलायन भएका तिरहुतियाहरू आश्रय लिन भनेर काठमाडौं उपत्यका आए । मल्लराजा र यहाँका भारदारहरूसँग उनीहरूको अन्तरक्रिया सघन बन्दै गयो । त्यतिबेला गंगाको मैदानका विशेषतः राज तथा कुलीन परिवारमा सतीप्रथाको अभ्यास बढी हुन्थ्यो । तिरहुतियाहरूसँगको संगतले मल्लराज्यमा हिन्दु कट्टरता अभिवृद्धि हुँदै जाँदा सतीप्रथाको अभ्यास पनि कठोर हुँदै गयो । सुगौली सन्धिपछि ब्रिटिसहरूसँग नेपाली शासकहरूको संगत बाक्लिन थालेपछि सतीप्रथालाई अंकुश लगाउने क्रमले भारतमा जस्तै नेपालमा पनि प्रश्रय पायो । चन्द्रशमशेरको पालामा आएर उन्मूलन नै भयो । सतीप्रथाका सन्दर्भमा यी सबै कालखण्डको आफ्नै महत्त्व छ । सतीप्रथासँग जोडिएको मनोविज्ञान र अर्थराजनीतिलाई समग्रमा बुझ्न यी सबै कालखण्डको सिंहावलोकन नगरी हुँदैन ।


सतीप्रथाको इतिहासले अहिलेको समाज अध्ययनमा कति महत्त्व राख्छ ?

इतिहासको टेको पाएन भने समाज अध्ययन जगबिनाको भवनजस्तो हुन पुग्छ । गडेर हेर्ने हो भने वर्तमानले इतिहासकै फन्को लगाइरहेको हुन्छ । सतीप्रथाकै कुरा गरौं । यो प्रथालाई राम्रोसँग पर्गेल्न सके महिलाले आजसम्म भोग्नुपरेका हिंसाको अन्तर्य बुझ्न हामीलाई सजिलो हुन्छ । आफू जीवित छउन्जेल मात्र होइन, मृत्युपछि पनि पत्नीहरूले परपुरुष भोग्न नपाऊन् भन्ने मनोविज्ञान नै सतीत्व र सतीप्रथाको अवधारणा जन्माउने षड्यन्त्र हो । पत्नीबाट जन्मिएको बच्चा आफ्नै रहेको सुनिश्चित गर्न पत्नीहरूलाई परपुरुषबाट अलग्गै राख्ने उपक्रमको रचना गर्न पुरुषहरूले आवश्यक ठाने । पत्नीको कोखबाट सिर्फ आफ्ना सन्तान जन्मिऊन् र उनीहरूका नाममा आफ्नो सम्पत्ति हस्तान्तरण गर्न सकियोस् भन्ने अभिलाषाबाट त्यो सब काम भयो । सतीप्रथा नारीहन्ता कैंची हो भने वंश र अंशका सवाल त्यसका दुई धार हुन् । महिलाको यौनजीवन नियन्त्रण गर्न प्रत्यक्ष वा संरचनागत हिंसा प्रयोग गर्ने क्रम अझै रोकिएको छैन । नारीद्वेषी पुरुषहरूले ‘आफूले भोग्न नपाएकी स्त्री अरूले पनि भोग्न योग्य नरहून्’ भनेर तेजाब छ्यापिरहेकै छन् । परिवार अथवा समाजसामु हरेक महिना नछुने भएको घोषणा गर्न लगाएर महिलालाई ‘म यो महिना पनि गर्भवती भएकी छैन’ भन्न बाध्य पार्ने काम भइरहेकै छ । महिलालाई घुम्टो वा बुर्काले छोपिन विवश पारेर परपुरुषलाई हेर्नसम्म नदिने क्रम रोकिएको छैन । यस्ता उदाहरण अरू पनि छन् ।

सतीप्रथा व्यापक भएको त्यो कट्टर कालखण्डलाई समाज–चेतनाका हिसाबले (कुनै पात्र वा घटनाविशेषलाई मात्र नहेरी) समग्रमा कसरी मूल्यांकन गर्नुपर्छ ?

सतीप्रथा अथवा यससँग मिल्दोजुल्दो अभ्यास अरू देशमा पनि थियो । महिलाको परपुरुषगमनलाई नियन्त्रण गर्ने आममनोविज्ञान र कानुन संस्थागत गरिसकेपछि पतिको मृत्युपछि पत्नीहरूलाई मार्ने चलन अब आवश्यक छैन भन्ने तात्कालिक पुरुषप्रधान समाजले महसुस गर्‍यो । त्यस्तो प्रथा क्रमशः हराउँदै गयो । ठीक त्यति नै बेला भारतीय उपमहाद्वीपमा बाह्य हमलाको शृंखला सुरु भयो । ग्रीकदेखि मुसलमान र इसाईसम्मले भारतमाथि धावा बोले । यहाँका हिन्दुमाथि शासन गरे । आक्रामकहरूबाट जोखिम महसुस गर्ने समुदायले कथित स्वत्व जोगाउन आफ्नो समुदायका महिलाको यौनजीवन नियन्त्रण गर्ने गर्छ । पुरुषप्रधान समाजले महिलाको मूल्य उनीहरूको योनि र कोखमा मात्रै देख्छ । आफ्नो समुदायका महिलाको कोखबाट आक्रामकहरूले लाभ लिन नपाऊन् भनेर त्यस्तो समाजले पातिव्रत्य धर्मको महिमा गाउँछ । उनीहरूलाई घर वा परिधानभित्रै कैद हुन बाध्य पार्छ । अन्तरजातीय विवाहलाई निरुत्साह गर्छ । वर्ण–व्यवस्थाअन्तर्गत प्रतिलोमसम्बन्धी व्यवस्थादेखि वर्णसंकरहरूप्रतिको वितृष्णासम्मका विषयलाई सतीप्रथाकै आलोकमा हेरियो भने धेरै कुरा प्रस्ट हुन्छ ।

हिन्दु समुदायले बाह्य हमला बेहोर्न थालेपछि सतीप्रथा, वर्णव्यवस्था, नछुने बार्ने चलन, घुम्टो प्रथा आदि कट्टर बनेका हुन् । यही कारणले त्यति बेलाका अर्थात् उत्तरवैदिक कालका धर्मशास्त्रहरू महिलाप्रति बढ्तै अनुदार छन् । नारी–अधिकारका पक्षधरहरूले मुसलमान समुदायमा नारीमाथि गरिने हिंसाको विरोध पनि गरिरहेका छन् । मुसलमान समुदायमा नारीको स्थान कसरी ओरालो लाग्यो भनी खोतल्दै गयौं भने हामी यहुदी र इसाई समुदायबाट उनीहरूले महसुस गरेको असुरक्षासम्म पुग्छौं । शत्रुबाट जोखिम महसुस गर्ने समुदायले ‘आफ्ना’ महिलाको योनिमा अझ कसिलो अंकुश लगाइदिएर ‘ढुक्क’ महसुस गर्ने गरेको दृष्टान्त छ ।

सतीप्रथाबारेका अघिल्ला किताबभन्दा यसमा पाठकले के नयाँ खुराक पाउँछन् ?

यो पाठक र समीक्षकहरूले खुट्याउने विषय हो । एउटा कुराचाहिँ भनिहालौं– नेपाली सन्दर्भमा सतीप्रथा अथवा दासप्रथाबारे लेख्ने कसैले पनि मालिक मर्दा सती पठाइएका दासी अथवा कमारीहरूबारे समुचित ध्यान दिएका थिएनन् । किताबमा एउटा अध्याय छुट्याएर मैले जिउँदै पोलिएका कमारीहरूको चीत्कार समेट्ने प्रयास गरेको छु ।

इतिहासका एकाध अभिलेख र किंवदन्तीमा सीमित बनेको एउटा क्रूर प्रथाबारे लेख्न तपाईंले के–केलाई आधार बनाउनुभयो ?

अप्रकाशित–प्रकाशित दुवैखाले सामग्रीलाई आधार बनाएको छु । अन्तर्वार्ता र अवलोकनमार्फत सतीस्थलसँग जोडिएका किंवदन्ती र अनुश्रुति बटुली तिनको उपयोग गरेको छु । कतिपय ऐतिहासिक रुक्का, पत्र, लालमोहर आदि यसअघि प्रकाशमा आए पनि सतीप्रथा अथवा लैंगिक सवालबारे कलम चलाउनेहरूको नजर तिनमा पर्न सकेको थिएन । त्यस्ता सामग्री पनि उपयोग गरेको छु ।

सतीप्रथा भारतीय उपमहाद्वीपमा मात्र सीमित थियो ?

अन्यत्र पनि थियो । प्राचीन समयमा चीन, इजिप्टलगायत ठाउँमा मृतक पतिका नाममा उसका पत्नी, भोगिनी, दासी आदिलाई मारेर सँगै गाड्ने गरिन्थ्यो । सतीप्रथासँग मिल्जोजुल्दो चलन युरोप, ल्याटिन अमेरिका, साइबेरिया र अफ्रिकामा पनि थियो । विवाह, मृत्युसंस्कार, पुनर्जन्मको अवधारणा, ईश्वर र भूतप्रेतप्रतिको विश्वासजस्तै विधवा उन्मूलन–प्रथा पनि स्वतन्त्र रूपले संसारका विभिन्न ठाउँमा छुट्टाछुट्टै उद्भव भएको देखिन्छ ।

नेपालमा सतीप्रथा उन्मूलन गरिँदा राणाहरूको निरंकुश शासन थियो । परम्परावादी र तानाशाही शैलीमा राज्य सञ्चालन गर्ने शासकहरूले त्यति ‘प्रगतिशील’ काम किन गरे होलान् ?

सतीप्रथाको अभ्यास नेपालमा बाक्लो थिएन, न त यो बाध्यकारी थियो । महत्त्वपूर्ण मानिएका थुप्रै धर्मशास्त्रमा सतीप्रथाबारे उल्लेखै छैन । तन्त्रविद्याका कतिपय शास्त्रले सतीप्रथालाई सीधै नकारेका छन् । सतीप्रथाले धर्मको बलियो टेको नपाएकाले यसलाई उन्मूलन गर्नु त्यति चुनौतीपूर्ण थिएन । चन्द्रशमशेरको पालामा नेपालमा पश्चिमी प्रभाव अझ सघन भयो । त्यतिबेला पश्चिमी मुलुकतिर समाजसुधारका आवाज उठिरहेका थिए । दासप्रथाको विरोध भइरहेको थियो । त्यसअगावै ब्रिटिस भारतमा सतीप्रथा उन्मूलन भइसकेको थियो । त्यस्तो परिवेशले चन्द्रशमशेरलाई पनि सतीप्रथा उन्मूलन गर्न प्रेरित गर्‍यो । आवश्यक तयारी पूरा गरेर समाज सुधारका काम अत्यन्तै होसियारीपूर्वक गर्ने स्वभावका कारण पनि चन्द्रशमशेरलाई यसमा सफलता मिलेको थियो ।

सतीप्रथाबाट महिलाहरू मात्र पीडित थिए ? उनीहरू खास गरी कुन समुदाय र हैसियतका थिए ?

मालिक मर्दा दासलाई पनि सती पठाइन्थ्यो । नरभूपाल शाहको मृत्यु हुँदा एउटा कमारोलाई जिउँदै पोलिएको थियो । त्यसरी पोलिने व्यक्तिलाई सतु भनिन्थ्यो । सम्पन्न घरानाले बुहारीहरूको यौन स्वतन्त्रतालाई बढी निगरानीमा राख्ने गर्छन् । त्यसैले सतीप्रथा मूलतः राजघरानामा बढी अभ्यास हुन्थ्यो । मल्लकालमा छोराको मृत्यु हुँदा आमालाई पनि सती पठाइएको थियो ।

सतीप्रथाप्रतिको पुरुष मनोविज्ञानचाहिँ कस्तो छ ? यसको उन्मूलनलाई पुरुषहरूले कुन रूपमा लिएका छन् र लिनुपर्छ ?

सतीप्रथा उन्मूलन हुँदै गर्दा केही पुरुष त्यसको विपक्षमा थिए । अहिले पनि कतिपय पुरुष ‘महिलाहरू प्रेमविभोर भएर पतिसँगै जल्ने गर्थे, प्रेमी अथवा पतिको मृत्यु हुँदा अहिले पनि त विष खाएर आत्महत्या गर्नेहरू छन्’ भन्ने तर्क गर्छन् । यस्तो कथनले विधवालाई बाँधेर, ढुंगाले हानेर, अफिम ख्वाएर, लछारपछार गरेर जबरजस्ती चितामा होमिदिने चलनलाई सही ठहर्‍याइरहेको हुन्छ । यस्तो विश्लेषण गर्नेहरूले यस विषयको हेक्का राख्नुपर्छ ।

तपाईं आफ्ना लेख–रचनाहरूमा रामायण–महाभारतजस्ता पौराणिक ग्रन्थलाई पनि प्रमाणका आधार बनाइरहनुहुन्छ । यी ग्रन्थ स्वयंचाहिँ कत्तिको प्रामाणिक हुन् ?

ऋग्वेदको एउटा प्रसंगमा ‘वेश्यासँग पुरुषहरू संयुक्त भएजस्तै मरुद्गण विद्युत्सँग एकाकार हुन्छन्’ भनिएको छ । यस आधारमा त्यतिबेला वेश्यालय अस्तित्वमा थियो भन्न सकिन्छ । मैले रामायण र महाभारतका अमुक घटनालाई नभई त्यहाँ वर्णन गरिएका सामाजिक परिवेशलाई प्रमाण मान्ने गरेको छु । पुष्पक विमानको वर्णनकै आधारमा रामायणकालमा विमान थियो मैले भनेको छैन । गणेशको शरीरमा हात्तीको टाउको जोडिदिने शिवलाई मैले अंग प्रत्यारोपण गर्ने पहिलो शल्यचिकित्सक पनि मानेको छैन ।

प्रकाशित : आश्विन १६, २०७८ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?