कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अफगानी लेखकहरू सम्झेर

अफगानिस्तानको उदाहरण र अनुभवबाट साहित्य लेख्नेले सिक्ने विषय हो– मुक्तिको चेतनाले ज्यान भरेर लेख ! कवि पार्तो नादेरीको कविताले भन्छ– 'तिम्रा हत्केलाका रेखाहरूमा/उनीहरूले घामको कर्म लेखिदिएका छन्/जाग/उठाऊ हात/यो लामो रात अब अति भो मलाई !'
अभि सुवेदी

अफगानिस्तानको संकटले सवैका मनमा तरङ्ग जन्माएका छन् । उत्तरभन्दा प्रश्न धेरै उठ्ने रहेछन्, यस्तो किसिमको अकस्मात् परिवर्तनमा । मेरो मनमा पनि अनेकौं प्रश्न उठेका छन् । ती राजनैतिकभन्दा साहित्यिक प्रकृतिका छन् । आफूले सम्झिने न अफगानी राजनेता हुन्, न पत्रकार र सरकारी मानिस । ती हुन् साहित्यिकार, जोसँग यस्तै संगमहरूमा भेट गरियो । कविताको गोधूलिमा भावना, पीडा र आह्लाद बुझ्ने प्रयास गरियो । तिनका विषयलाई लिएर अफगानिस्तानको अहिलेको स्थितिमाथि कल्पना गर्ने जमर्को हो यो लेख ।

अफगानी लेखकहरू सम्झेर

काबुलमा तालिबानको विजयपछि हामीले बुझेका र बुझ्नै नपाएका विषयहरू चक्रवातजस्तो उठेका छन् । धेरै छलफल र अध्ययन भएका छन् । अमेरिकी र नेटो शक्तिले २० वर्षदेखि धानेको काबुल सरकार किन त्यसरी मौसम सकिएको फलजस्तो फ्यात्त खस्यो ? मैले भेटेको उत्तर यस्तो छ । अफगानिस्तानमा अमेरिकाले धन खन्याएर शासन व्यवस्था र चुनावमा आधारित सरकार बनायो । मानिसको जीवनमा परिवर्तन आयो । अब स्वतन्त्र भयौं भन्ने विश्वास भयो सबैमा । खास गरी महिलाको अवस्थामा नाटकीय परिवर्तन भयो । मेरो अफगानी लेखक, कलाकार र एकेडेमिकहरूसँग यही अवधिमा चिनजान र सहकर्म भएको हो । उनीहरूमा स्वतन्त्र भएर काम गर्दै छौं भन्ने पूरै विश्वास थियो ।

उनीहरूका कविता र कथामा त्यो विश्वास थियो । तर, यसरी अफगानको सरकार ढल्ने कारण पनि त्यही विश्वासमा लुकेको ग्रीक त्रासदीमा प्रयोग गरिने एउटा ‘ह्यामर्सिया’ वा कर्मदोष थियो, जसको नाम भ्रष्टाचार हो । धन हाम्रो हातमा परेको छ भन्ने विश्वासले शक्तिमा बसेकाहरू अन्धा हुने रहेछन् । अनि त्यसमा शासनको सत्ता पनि हातमा परेपछि त पूरै भ्रममा परेर काम बिगार्ने रहेछन् । अरू देशहरूका पनि उदाहरण छन् ।

यसमाथि केही राम्रा किताबहरू पनि पढिए । तर, मलाई यो संयोगको चर्चा भएपछि लाग्यो— नेपालमा पनि त्यो ह्यामार्सिया बलियो गरी हावी हुँदै गएको छ । शक्तिमा आसीनहरूले राजनैतिक सिध्दान्त र नैतिकताका आवरणले छोपेर भ्रष्टाचार गरिआएका छन् । यो अवस्थामा परिवर्तन हुन्छ भन्ने खासै आधार छैनन् । अहिलेको अवस्थामा नेपाल देशलाई के हुँदै छ भन्ने कुराको संवेदना पनि गुम्दै गएको देखिँदै छ । यसको अर्थ अमुक शक्ति आएर शक्तिको बागडोर बन्दुक देखाएर नलिए पनि नेपाल धन र भ्रष्टाचारको भुँवरीमा निकै फसिसकेको छ । यसबाट निस्किन सकेन भने, अफगानिस्तानको उदाहरण लिएर भन्दा, नेपालमा पनि ‘लो मोराल’ व्याप्त हुँदै छ, जसबाट संकटको स्थिति आउनेे सम्भावना हुन सक्छ ।

मैले अफगानी लेखकहरूलाई सार्क लेखक सम्मेलनहरू अनि त्यसपछिका सम्पर्क, विचार र लेखनका आदान–प्रदानबाट चिनेर आएको छु । सन् २००७ मा दिल्लीमा सार्क लेखक सम्मेलन भइरहेको थियो । उता विज्ञान भवनमा सार्क राष्ट्रहरूको सम्मेलन पनि चलिरहेको थियो, जहाँ नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला अक्सिजन बोकेर भाग लिइरहेका थिए । ‘अब अफगानिस्तान पनि सार्कको सदस्य भयो, बधाई छ’ भन्न एकजना लेखक सम्मेलनमा आइपुगेका थिए ।

अर्को वर्षदेखि आफगानिस्तानबाट धेरै लेखक आउन थाले । तिनमा महिला कविको सहभागिता अत्यन्त महत्त्वपूर्ण थियो । ती राम्रा कविता लेख्थे । तिनका कवितामा मुक्ति सबभन्दा बलियो विम्ब थियो र छ । तिनले कविता सुनाउने सेसन जीवन्त हुन्थे । तिनका कविताको सामर्थ्य प्रस्ट देखिन्थ्यो । तिनीहरू हरेक वर्ष खुल्दै गए । साधारणतया उनीहरू कविता लेख्नु अनि भन्नुलाई नै घटनाजस्तो मानेर प्रस्तुत हुन्थे । मैले अनेकौं देशमा लेखक सम्मेलनमा जाँदा देखें— एकथरी लेखकहरूका कवितामा बन्धनबाट मुक्त भएको चेतनाका उद्घोष हुन्थे । जानेर होस् वा भित्रैबाट स्वतःस्फूर्त आएर होस्, त्यो चेतना नै उनीहरूको कविता हुन्थ्यो । अथवा भनौं, हुनेरहेछ ।

मझौलो उमेरका पार्तो नादेरी भन्ने कविसँग मेरो नजिकको सम्बन्ध भयो । तिनले मलाई प्रिन्ट गरेका कविताहरू दिए अनि प्रतिक्रिया दिनू भने । आफूले कविगोष्ठी सञ्चानल गरेको कार्यक्रममा उनका कवितावारे बोलें । अफगानी महिला कविहरूका कवितामा अर्को किसिमको सामर्थ्य थियो । सोमइया रामिस र जोरा जाहिर नामका दुईवटी युवा पुस्ताका कविहरूको प्रयोगवादी चाहना थियो । उनीहरू त्यसलाई उत्तरआधुनिक भन्न रुचाउँथे । यो विषयमा मेरो उनीहरूसँग छलफल हुन्थ्यो । थाहा पाएँ, आफू एक शिक्षकजस्तो बोल्दै जाँदो रहेँछु ।

वास्तवमा उत्तरआधुनिक भन्ने उनीहरूको रूपक रहेछ, एक स्वतन्त्र र अराजक भएर लेख्ने र वोल्ने चाहना रहेछ, जसमा अफगानी समाज र खास गरी नारीको उन्मुक्तिको भावना रहेछ । अरू दुईवटी नारी कविहरू निलुफर निक्सियर र खालेदा फ्रोआघका कवितामा सोमैया र जोराको जस्तो उत्ताल काल्पनिकी थिएन तर, मुक्ति चेतनाको वाचाल प्रयोग थियो । सोमइया रामिश र जोरा जाहिर कवितालाई स्वतन्त्र किसिमले लेख्नुलाई एउटा आवश्यकता ठान्थे । अहिले झन् त्यो विश्वासले लेख्छन् होला । कफीमा छलफल भइरहेका बेला त्यहीं सहभागी नेपाली कवि शारदा शर्माको मैले अंग्रेजीमा अनुवाद गरेको कविता उनीहरूले चाहेकाले दिएँ । उनीहरूले शारदाको त्यो कविता अफगानी वा फार्सीमा अनुवाद गरे कि गरेनन् मलाई थाहा भएन ।

यी अफगानी महिला कविहरूलाई नेपालका सहभागी नेपाली महिला कविहरूका कविता मन पर्थे । नेपाली महिलाहरूका कविता शान्त, कलात्मक र गम्भीर छन् भन्ने उनीहरूको बुझाइ थियो । तर, लाग्थ्यो— यी अफगानी महिलाहरूको निम्ति कवितामा त्यस्तो आनन्द र ध्यानजनिन सौन्दर्य उपासना गर्ने समय थिएन । उनीहरूको समयको मूल स्पन्दन हतार थियो । आज बुझ्दै छु, तिनीहरूको त्यो चेतनाको अर्थ । ती महिला कवि यो भर्खरको परिवर्तनपछि कहाँ छन्, के अवस्थामा छन् जान्ने कुनै आधार रहेनन् । पार्तो नादेरी पनि कहाँ छन्, त्यो पनि भन्न सकिएन । ठेगाना नभएकाले थाहा पाउने आधार पनि रहेन ।

मैले पार्तो नादेरी र सोमैया रामिशका एक एकवटा कविता नेपालीमा अनुवाद गरें अनि नेपालको साहित्यिक पत्रिका ‘मधुपर्क’ (मंसिर २०७१) मा प्रकाशित गरें । यहाँ ती कविता राख्न चाहन्छु । पहिलो कविता रामिशको छ । यसको शीर्षक छैन : ‘पिँजडामा थुनिएको चरा/घरभित्र झुन्डिएको पिँजडा/सडकछेउमा घर/घर यो विश्व जगत्मा/अहो, कत्रो ठूलो जेलखानमा/म सास फेरिरहेकी छु !’

अर्को कविता पार्तो नादेरीको छ । शीर्षक छ– हिंसाले रञ्जित चिहानको आलेख : ‘यो ताडको रूखमा बसन्त आउने कुनै आशा छैन/यो ताडको रूख/सय चोटहरूमा फुल्छ—/हजार त्रासदीका दैनिक चोटहरू/हजार विपत्तिका रात्रिचोटहरू/यो ताडको रूख/शताब्दीको दोबाटोमा उभिएको/एउटा रक्तरञ्जित चिहानको आलेख !’

अहिले पढ्दा उनीहरूका कवितामा व्यक्त पिँजडा र बन्दी जीवन अनि सय चोटहरूमा फुल्ने फूलका झन धेरै अर्थ खुल्दै जान्छन् । ‘कविताले केही गर्दैन, यो आफ्नै भनाइको उपत्यकामा बस्छ’ भनेर अंग्रेजी कवि डब्लूएच अडेनले आइरिस कवि डब्लूबी यिट्सको मृत्युमा लेखेको कविता यहाँ सम्झिन्छु र अलिक फरक धारणा राख्छु । अफगानी कविहरूले कवितालाई अभिव्यक्ति र परिवर्तनको आधार मानेको कुरा कविताले केही गर्छ भन्ने विश्वासबाटै जन्मेको छ । जलाल मुहमद रुमीको भूमिमा अर्को स्पन्दन भएका कविताको परम्परा छैन भन्न सकिँदैन । तर, कवितालाई सोझै जीवनका निम्ति प्रयोग गर्ने यी कविहरू अहिले कहाँ र कुन अवस्थामा छन् भन्न नसके पनि ती अविजेय छन् र कविता लेखिरहेका छन् भन्ने मेरो विश्वास छ । अफगानिस्तानको उदाहरण र अनुभववाट साहित्य लेख्नेले सिक्ने कुरा हो— निरन्तर लेख, मुक्तिको चेतनाले ज्यान भरेर लेख ! पार्तो नादेरीको यो ‘उजाड’ शीर्षकको कविता बोल्छ, ‘तिम्रा हत्केलाका रेखाहरूमा/उनीहरूले घामको कर्म लेखिदिएका छन्/जाग/उठाऊ हात/यो लामो रात अब अति भो मलाई !’

प्रकाशित : आश्विन ९, २०७८ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?