नयनतारा कन्फेसन्स- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयनतारा कन्फेसन्स

जब जब अपरिचित नयनतारालाई सम्झन्छु कवि अविनाशकै शब्दमा म भनिबस्छु– हृदयभन्दा ठूलो सत्य मेरा निम्ति अरू केही छैन ।
राजा पुनियानी

कथाकार/कवि अविनाश श्रेष्ठको बहुचर्चित कविता हो– ‘कुन्नि कुन अपरिचित गाउँकी नयनतारा बरूवा ।’ विसं २०३८–४० मा असममा भएको ‘विदेशी बहिष्कार’ आन्दोलनमा धेरै नेपाली लखेटिएका र मारिएका थिए । त्यसै सन्दर्भको हो– २०४० मा लेखिएको यो कविता ।

बर बेया लागिशे नहय

अविनाश श्रेष्ठभन्दा जुनियर हुन् सावित्री शइकिया ! हिस्सी परेकी असमिया कवि ! अविनाश र शइकियाको कवि–भेट भइरहने, असमिया माटोमा राम्रा कविता लेख्ने समकालीन कविहरू हुनुको नातामा !

पहिलोपटक अविनाश श्रेष्ठको कविता असमियामा उल्था गरेर सुनाउँदा शइकिया निकै उदास बनिन् र भनिन्, ‘बर बेया लागिशे नहय अविनाश दा आपुनाक । मइयु आजी अकनमान लज्जित हलों एज ए आसामिज ।’ अर्थात्, तपाईंलाई निकै नरमाइलो लागेको छ होइन अविनाश दा ? म पनि आज थोरै लज्जित अनुभव गरिरहेकी छु आफू असमिया भएकीमा ।

नङ–मासुझैं मिलेर बसेका नेपाली समुदायमाथि असमियाहरूबाट भइरहेको अत्याचारको ग्लानिबोध शइकियाले पोखिछन् । कविताले छोइएपछि एउटा कविको संवेदनशील मानवसम्मत आत्मस्वीकृति थियो यो । कवि अविनाशको मनमा गहिरोसँग कुँदिएर बसेको छ भन्छन् यो प्रतिक्रिया ।

‘रिहा मेखेलामा सजिएकी

कुन्नि कुन गाउँकी नयनतारा बरुवा

सधैं आउँछिन् मेरा सपनामा

र भन्ने गर्छिन्–

आउ न, एउटा नयाँ जिन्दगी उमारौँ

यहाँका खेतहरूमा’

कुन्नि कताबाट कुन्नि कस्तो कालको कविता कुन्नि किन कथ्छन् कविहरू ! कुन्नि कहिलेका कालजयी कथाहरू कथेर कुन्नि कुन कुनाको कविता कहन्छन् ! कुन्नि कस्तो कायामा कुन्नि कहाँको कहानी कुन्नि कति करोड कुरामा कोट्याउँछन् ! ‘कुन्नि कुन अपरिचित गाउँकी नयनतारा बरुवा’ – कवि अविनाश श्रेष्ठको श्रेष्ठ कविता हो, ‘अनुभूति यात्रामा’ संग्रहमा समाहित एक कविता । हाम्रो समयका चहकिला हस्ताक्षर अविनाश मेरा फेबरेट कविमध्ये एक । उनीसँग जोडिएका मेरा थोरै, तर रोचक किस्सा छन् । अब्बल कवि, कथाकार, नाट्यकार, सम्पादक, स्क्रिप्ट राइटर अविनाश केही ट्रेन्डसेटर हुन्, केही ट्रेन्डब्रेकर । कवितामा भन्छन्, ‘मान्छेलाई मनपर्छ मान्छेको आखेट ।’

नयनतारा कोख

भारतको उत्तर पूर्व असम । १८ फरवरी सन् १९८३–मा असममा दन्किन्छ गृहहिंसा । असम आन्दोलन भड्किरहेकै समय भारत सरकार राज्य चुनाव थोपर्छ । प्रधानमन्त्री इन्दिरा गान्धी ४० लाख बंगलादेशीलाई भोट खसाल्ने हक दिन्छिन् । असमका आदिवासीहरू स्वाधिकार हनन भएको विरोधमा उन्मत्त बन्छन् । नील हिंसा नामले कुख्यात ६ घण्टे घटनामा १२ गाउँका २ हजार १ सय ९१ निर्दोष मानिस मारिन्छन् । दोस्रो विश्वयुद्धपछिकै ठूलो मानव हिंसासम्म मानिएको यो घटनामा कुटिएका, बलात्कृत भएका, घर जलाइएका, भगाइएका, हत्या गरिएका कुन्नि कुन कुन अपरिचित गाउँहरूका नयनतारा बरुवाहरूको बीभत्स कोलाज हो यो मार्मिक कविता । अविनाशका मास्टरपिस कविता ‘करोडौं सूर्यहरूको अन्धकार’, ‘गलैंचा बुन्नेहरूको गीत’, ‘हातमा कालोफूल लिएर उभिएकी नायिकालाई’ – कै लहरमा उभिएको कविता यो ।

नेलीमा नवप्रवेशी बंगलादेशी मुसलमानहरूको नरसंहारको अन्तरकथा अर्कै छ । कविताको रचनागर्भ खन्दै भन्छन् अविनाश, ‘त्यसमा मूलधारका असमियाहरूलाई दोष दिन मिल्दैन । यसलाई मैले असमका पहाड–पर्वतहरूतिरका बासिन्दा आदिवासी–जनजातिहरूको प्रतिक्रियामाथिको काउन्टर प्रतिक्रियाको रूपमा बुझेको छु ।’ नेली गुवाहाटीबाट धेरै टाढा छैन । त्यस घटनाको तीन दिनपछि त्यस घटनास्थलमा पुगे कवि अविनाश श्रेष्ठ र ‘हाम्रो ध्वनि’ पत्रिकाका सम्पादक अनुराग प्रधान । तिनताक कोलाज आन्दोलन पनि जारी थियो । त्यसैले नेली घटनाबारे इन्डियन मूलधार पत्रिकाहरूमा आएका अतिरञ्जित रिपोर्टिङभन्दा आधिकारिक जानकारी अविनाश र अनुराग प्रधानलाई भएको थियो । ‘असमिया कवि–लेखक, चित्रकार मित्रहरूले मेरो यस कवितालाई मेरो गहिरो चित्तदुखाइका रूपमा बुझे,’ अविनाश भन्छन् ।

वरिष्ठ असमिया नेपाली लेखक मित्रदेव शर्माले यो कविता पढेर भनेछन्– १९८३–को गहपुर (मेरो गाउँ), जहमारी (मेरो सुसराली गाउँ) र नेलीका मुर्दाभित्रका धेरै नयनतारालाई यो जिउँदो कविताले सम्झायो । बहुचर्चित असमीया कवि अजित गोगोईले अविनाश श्रेष्ठ स्वयंले यो कविता वाचन गरेको सुनेपछि भनेछन्, नयनतारा बरुवा असमेर परिचित छवि । अर्थात्, नयनतारा बरुवा असमको परिचित छवि हो । मानव समाजको विक्षिप्त समयको साक्षी भएर रहनेछ यो कविता ।

तिमीलाई कसरी सम्झाऊँ नयनतारा !

मसित फुर्सद छैन – वसन्तका फूलहरूसित छिल्लिने

वसन्तको बताससँग गफ्फिने

अहिले यहाँ हुरी चल्दै छ – मभित्र/मबाहिर

सल्किरहेछन् सहरहरू,

जलिरहेछन् गाउँहरू

गिद्धहरूले ढाकिएको छ –

हामीमाथिको आकाश, नयनतारा !

लेटरप्रेस कालिगडी

माइला र साइँला– मेरा दुई मामा सिक्किम पसेका । जागिर खान । गर्मीको बिदा सिलगढीमा बिताइनसक्नुहुने । घरी मावली लाटपन्चर चढाइन्थेँ । जहाँ जेठा मामा बोजुबाजेसँग छन् । घरि चढाइन्थेँ सिक्किमका मामाकहाँ ।

एक गर्मी । सन् १९८०– को दशक । मे महिना हुनुपर्छ । म सिक्किम साइँला मामा चर्चिल सुब्बाको डेरामा छु– ‘टिस्टा रंगित’ र ‘आजको सिक्किम’ पत्रिकाका सम्पादक । बुिद्धजीवी आर मोक्तान प्रायः उनको साथ हुन्थे । मामा कार्यालय गएपछि म उनको घरेलु पुस्तकालयमा थरीथरी किताबहरू ओल्टाएर पल्टाएरै दिन कटाउँथे । किताबहरू देख्दा अचम्म लाग्ने । आखिर के छ होला यी चुपचाप किताबभित्र – लाग्ने । कलेक्सनमा भएका किताबहरूमध्ये एउटा किताब ‘ओ जेरुसलेम’ । किताबको कभरैले तान्ने । पक्का पनि ईशु जन्मेको ठाउँ जेरुसलेमले दुःख पाएको हुनुपर्छ भन्ने बोध हुने किताबको नाम देखेरै । मान्छेले भगवान् मानेको ईशुकै माटो किन यसरी दुःखी ? ईश्वर जन्मेको ठाँउमा पनि पीडा छ र ? म सोच्थेँ । दुख मान्थेँ ।

यस्तैमा एक दिन एउटा ताकमा फेला पर्छ सिक्किमे मुख्यमन्त्री नरबहादुर भण्डारी सम्पादित वान एट साइजको पत्रिका ‘अर्चना’ । पत्रिकाको कलेवर कुनै आर्टिस्टले आँकेको आर्टले सजिएको । टाइपहरू लेट्टरप्रेसमा छापिएका । नेपाल, दार्जिलिङ र सिक्किमका पत्रिका, किताब नदेसर, वाराणसीमा नै त्यतिखेर छापिने । सम्भवतः त्यो पत्रिकाको छपाइ त्यतै भएको लेखिएको हुनुपर्ने । लेटर सेटिङमा छापिएको पत्रिका ।

लेटर सेटिङमा छापिएको किताबको अलग्गै मोह लाग्छ । अचेल लेजर सेटिङ र वेभ प्रिन्टिङ मात्र देखेको पाठक पुस्ताले पुरानो दिनको लेटरप्रेस सेटिङलाई कसरी लिँदा हुन् कुन्नि । मलाई त गज्जब तान्छ त्यो लेट्टर सेटिङले । पंक्ति पंक्तिमा एक एक अक्षरको लेट्टर बार टिपेर मिहिनेतसाथ शब्द र वाक्य गाँस्दै फर्मामा पेजको लाइनका ब्लकहरू बनाउनु महामुस्किल हुने हो । तर, लेटर प्रेसकर्मीहरू मेसिनजस्तै आदी हुने हुन् यो कामको । सयौँ पृष्ठको किताब आज लेजर सेटिङको जमानामा केही घण्टा भरमै सेटिङ हुने हो । उबेला एक–एक अक्षरको फलामे बार टिपेर पेजका लहरहरूको ब्लक कुँद्नु आफैंमा कालिगडी नै हुने हो । हरेक पेज यसरी एउटा आर्ट वर्क । लेटरप्रेस कालिगडी ।

कविता मैले पूरै बुझ्न सकिनँ

मेरा नाट्यगुरु मुक्ति उपाध्यायले हामी नाटकहरूको रिहर्सल गर्दा गर्व गर्दै भन्थे, ‘सुनिस्, अविनाश अहिले नेपालमा छाएका छन् । असम हुँदा हामी सँगै नाटक गर्ने । अब्बल नाट्यकार हुन् । आफैं लेख्छन् । आफैं निर्देशन गर्छन् । आफैं खेल्छन् पनि नाटक । अश्वत्थामा हतोहत उनको खुब चलेको नाटक ।’ यस्ता सशक्त कविले लेखेको त्यो नाटक कस्तो थियो होला– कल्पना मात्र गर्ने । आजसम्म लाग्छ अविनाश दाइले अभिनय गरेकै त्यो नाटक एकपटक हेर्नु पाए त– आहा !

मलाई उबेलाका किताबहरू अझ पनि छुन मन लाग्छ । सुँघ्न मन लाग्छ । पेज पेजमा त्यो अदृश्य, अनाम लेटरप्रेस कालिगडको शरीरको पसिना मगमगाउँछ । त्यस्तै लेटरप्रिन्टमा छापिएको कविता नयनतारा बरुवा ‘अर्चना’ पत्रिकाको बीचबीचतिर देखा पर्छ । मामा थिएनन् । कविता एकपल्ट पढेर बुझिनँ । मामालाई सोधूँ सोधूँ लाग्यो । मामा बेलुकी फर्किएपछि सोध्ने आँट आएन । कविता घरीघरी पढेँ । खासमा मलाई नयनतारा नामले कुन्नि कस्तो जादुई मोह जगायो ।

कवितामा पोतिएको पूर्वोत्तर भारतको गहिरो गाढा घाउको आलो रङको गन्धले डिस्टर्ब गरिरह्यो । अझ गरिरहेको हो । त्यो कविता मैले पूरै बुझ्न सकिनँ । केवल फिल गर्न सकेँ । कविता बुझ्नुअघि फिल गरिने थोक हो लाग्छ । त्यो फिल अझ मेरो मानसमा गहिरो गाडिएको छ । मैले यो कविता कम से कम दर्जन खेप त पढेको छु । मलाई त्यो बेला म क्लास ६–७ मा हुँदा पढ्दै गरेका नेपाली कविताहरूको भीडमा कवि अविनाशको नयनतारा बरुवा छुट्टै नयाँ बान्कीको– नयाँ शैलीको– नयाँ फर्मको– नयाँ स्टाइलको कविता लाग्छ ।

डफला लोकनर्तकीहरूको

समूह नृत्यबाट मलाई चियाउँछिन्

र, आमन्त्रणका असंख्य कटाक्षहरूले मोहनी लाउँछिन् ।

उनलाई के थाहा

मान्छेलाई मन पर्छ मान्छेको आखेट

मान्छेलाई मन पर्छ मान्छेको मासु ।


बज्दै छन् मादल, बज्दै छन् ढोल

नाच्दै छन् खुट्टा, हाँस्दै छन् आँखा

जलिरहेछन् गाउँ, बजिरहेछन् बुट

कबाज खेल्दै हिँडरिहेछन् सिकारीहरू


नयनतारा बरुवा कविताकै सिको

सिक्किममा नयनतारा बरुवा कविता पढेर सिलगढी फर्केपछि मलाई दुईवटा थोक भयो । एक– मानसिक जगत्मा गाड्ने काव्यिक घाउको निरन्तर दुखाइ फिल भइरहने । अर्को– कविता त यसरी पनि लेखिँदोरहेछ । नाटक, ध्वनि, संगीत, प्रतीकहरूको ताँती लगाएर । कुनै सिनेमा हेरेको, नाटक हेरेको जस्तो प्रभाव निर्माण गर्न सकिने गरी । यस्तो काव्यिक इनलाइटन्मेन्ट पाएको बोध ।

एउटा कन्फेसन । नयनतारा बरुवा कविताकै सिको गरेर उस्तै फर्म्याटमा कविता लेख्न कन्निएँ । केही कविता लेखेँ । छापिनँ । नयनतारा बरुवा कवितामा पेन्टिङजस्तै राता विक्षिप्त रङका स्ट्रोकहरू, आदिवासी ढोल नगराका आदिम ध्वनिहरू, मान्छेले मान्छेलाई गरिरेहका आखेटको बेला निस्केका क्रन्दन र चीत्कारका भयावह आवाजहरू, रक्तिम आकाशमा त्रस्त उडरिहेका दिशाहीन पन्छीहरूका कर्कश दृश्यहरूको कोरियोग्राफी गर्ने कवि अविनाश श्रेष्ठलाई भेटेरै यो कविताबारे सोधूँ लागेको थियो, त्यो क्लास सिक्स–सेभेनको केटौले उमेरमै ।

उमेरले म युवा भएर केहीचोटि दाइसँग भेट भयो काठमान्डुमा । मैले तर कहिल्यै त्यो नयनतारा बरुवा कविताबारे उनलाई सोधिनँ । मलाई भित्री काव्यपाठकले रोक्यो होला । पोएटिक सबकन्सियस माइन्डले । कविको इन्टरप्रिटेसनले यो कविताको तेरो अर्ग्यानिक फिल मर्छ– नसोध् ! भन्यो कि । एक दिन मेसेन्जर कलमा हल्का केही शब्दावलीबारे मात्र सोधेँ । दाइले बुझाउनुभयो कवितामा प्रयुक्त ‘डफला लोकनर्तकी’, ‘रिहा मेखेला’, ‘नामघर’ के हो । ठाउँका नामहरू ।

म किताब चोर भएँ

प्यासनकै लेभलमा आफूलाई मन परेको थोक पाउन मान्छे कहिलेकाहीँ अपराधी पनि भइदिनेरहेछ । म मामासँग अति डराउने । बिदा सकिएर सिक्किमबाट सिलगढी फर्कंदा त्यो नयनतारा बरुवा भएको ‘अर्चना’ पत्रिका लिएर जाने मन थियो । मेरो मुख लागेन मामासँग ।

यसरी यही सिलसिलामा एउटा अर्को कन्फेसन गरिदिऊँ । सिक्किमबाट घर फर्कनुअघि म चोर भएँ । मैले त्यो पत्रिका हत्तपत्त निकालेँ । मामा थिएनन् । नयनतारा बरुवा कविता भएको जति पन्ना मैले डराउँदै च्यातेँ । म घरीघरी दैलोतिर हेरिरहेको थिएँ । मामाको उबेलाकी फिएन्सी– अहिलेकी माइजू– शारदा सुब्बा कुनै पनि बेला आउन सक्ने । छ्यामा मीना सुब्बा त अफिसबाट बेलुकी मात्र फिर्ने ।

ग्यान्टोकको चिसोमा पनि पसिना निस्किरहेको थियो । मेरा हात काँपिरहेका थिए । मैले कच्याककुचुक पारेर नयनतारा बरुवा कविताको च्यातिएका पन्नाहरू आत्तिँदै ब्यागमा हालेँ ।

हन तँ बौलाइस् क्याउ ?

सिलगढी फर्किएर नयनतारा बरुवाका पन्नाहरू टेप लगाएर टाँसेर एउटा किताबभित्र सपक्क हुलेँ । त्यसपछि कविताको तिर्खा लाग्दा नयनतारा बरुवा झिक्ने र पढ्ने । कविता पढ्दा मलाई लाग्छ– वाचन गरेरै पढ्नुपर्ने हो । नयनतारा बरुवा मैले कतिचोटि ऐनाअघि वाचन गरेँ गरेँ । आदिवासी ढोल नगराको आवाज कवितामा मेन्सन भएको पोर्सनमा आउँदा म ढोलकै आवाज मुखले निकाल्ने । बहिनीहरू छक्क पर्ने । आमाले कराउने, ‘हन तँ बौलाइस् क्याउ ?’

महान् कवि अगमसिंह गिरीको क्लासिक खण्डकाव्य ‘युद्ध र योद्धा’ डल्लै यसरी नै पाठ गर्ने, चण्डीपाठ गरेझैं । बाटामा हिँड्ने मानिसहरू पुलुकपुलक मेरो कोठातिर हेर्ने । आमा फेरि हपार्थिन्, ‘हन तँ बौलाइस् क्याउ ?’

गुवाहाटीमा अल असम गोर्खा स्टुडेन्ट्स युनियन आग्सुको वार्षिक कन्फरेन्समा कविता भट्याउने निम्तो आयो । सम्पर्क सूत्र थिए— समाजसेवी दाजु कृष्ण भुजेल, नेपाली भाषा, जाति भनेपछि हुरुक्कै । ‘माइलखुट्टी’ भन्ने पत्रिका निकै अंक चलाएका । असमको मालीगाउँ रेल स्टेसनको मैदानमा व्यापक कार्यक्रम । लगभग ३–४ हजार श्रोताअघि कविता सुनाएको अभूतपूर्व अनुभव गुवाहाटीमै बटुलियो । चित्रकार अमीर सुन्दास र एथ्निक फोक गायक देवाशिष मोथे अघिल्लै दिन पुगिसकेका छन् । तीन दिनको प्रोग्राम । दोस्रो दिन मेरो पालो । कार्यक्रम हुँदै गर्दा नै मैले कविता भन्नुपर्ने त्यही स्टेजमा जहाँ राजनैतिक हेभिवेटहरूको जमावडा । पवन चामलिङ, विमल गुरुङहरू पनि त्यहाँ निम्तारु थिएछन् ।

असम पहिलोचोटि पसेको । छुट्टीको समय थोरै भएकाले समय बचाउन जाँदा फ्लाइट गरिदिए दाजुले । असमको आकाशबाट असमको माटोमा झर्दै गर्दा मैले आमाको ‘हन तँ बौलाइस् क्याउ ?’ र कवि अविनाशको नयनतारा बरुवा सम्झिएँ । अविनाश दाइको कालो क्याप लगाइएको अनुहारको गहिरो कवि र परिपक्व मुस्कान सम्झिएँ । नयनतारा बरुवा कविताको मात सम्झिएँ । कविताको कखग सिकाउने मेरो गुरु–कविता – कविता कस्तो हुनुपर्छ भन्दा फ्याट्ट देखाउन सकिने एउटा अब्बल कविता–उदाहरण – जति पल्ट पढ्दा पनि धितै नमर्ने कविता– मास्टर ब्लास्टर कवि अविनाशको मास्टर स्ट्रोक परेको मास्टरपिस कविता– विश्व साहित्यकै एक महाकविता नयनतारा बरुवा–लाई सलाम गरेँ ! सम्झिएँ– मलाई सधैं मीठो हिर्काइरहने पंक्ति, ‘आऊ, एउटा नयाँ जिन्दगी उमारौं यहाँका खेतहरूमा ! नयनतारा ! तिमीलाई कसरी सम्झाऊँ : हृदयभन्दा ठूलो सत्य मेरा निम्ति अरू केही छैन ।’

नयनतारा–प्रेम

एउटा अर्को कन्फेसन पनि गरिहालूँ कि लाग्यो ।

फन्तासीमा प्रेम गरेरै वास्तविक जिन्दगी काटिदिनेहरू पनि हुन्छन् । प्रेम त नपाउनुमै खतरा अर्थपूर्ण हुने अर्थ लगाउनेहरूको ताँती छ । प्रेम प्राप्ति होइन, त्याग हो । विछोड हो, अप्राप्ति हो भन्ने फिलोसोफी छाँट्नेहरूको ठूलै भीड छ । कहिल्यै नदेखिएको, नभेटिएको । सपना र कल्पनामा देखिएको मानिससँग गहिरै प्रेम बस्न सक्छ ।

मलाई कवि अविनाशको कुन्नि कुन अपरिचित गाउँकी नयनतारा बरुवासँग उस्तै विछट्टै प्रेम छ । म नयनतारालाई कहिल्यै भेट्न सक्दिनँ– थाहा छ । तर, लाग्छ– कुन्नि कुन अपरिचित गाउँकी नयनतारा बरुवा–सँग मेरो त्यो केटौले उमेरमै कुन्नि कस्तो पाराले कुन्नि कस्तो प्रेममा कुन्नि कस्तो एउटा जिन्दगी बिताइदिइसकेको छु ।

जब जब अपरिचित नयनतारालाई सम्झन्छु कवि अविनाशकै शब्दमा म भनिबस्छु– हृदयभन्दा ठूलो सत्य मेरा निम्ति अरू केही छैन ।

प्रकाशित : आश्विन ९, २०७८ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्

जम्काभेट शवहरूसँग

म घटनास्थलमै उपस्थित भएर केही बीभत्स लासको मुचुल्का गर्न बाध्य भएँ । ती भयावह घटनाले मलाई एक कठोर नारीमा रूपान्तरण गरिदियो ।
सत्यभामा माथेमा

काठमाडौँ — यहाँ लेखिएका यी कथा मनगढन्ते होइनन्, बेहोरेकै व्यथा हुन् । न्यायाधीश पदबाट सरकारी अधिवक्तामा सरुवा हुँदा भएका लासहरूसँगका जम्काभेटको नालीबेली हो यो । म कानुनमा हदै अडिग भइदिँदा सर्वोच्च अदालतका प्रधानन्यायाधीशसमेत चिढिए । सजायस्वरूप म जिल्ला न्यायाधीशको पदबाट अञ्चल सरकारी अधिवक्तामा सरुवा गरिएँ । २०३०–३२ सालतिर अपराध भएका घटनास्थलमा प्रहरीसँगै सरकारी अधिवक्ता पनि जानु अनिवार्य थियो । त्यसै क्रममा आत्महत्या वा हत्याको स्थलगत लास मुचुल्का गर्दा धेरै लाससँग साक्षात्कार गरेकी छु ।

म सरकारी वकिल कार्यालय, वाग्मती अञ्चलमा सरुवा भएँ । वाग्मती पुलमुनि फालिएको नवजात शिशुको लास हेर्न प्रहरीसँगै गएँ । पुलमाथि मानिसको भीड थियो । प्रहरीसँगै लास हेर्न पुलमुनि जाँदै गर्दा सुनेँ, ‘कस्ती अपराधी आइमाई रहिछ ! बच्चा मारेर फाल्न कसरी सकेकी होली ?’

गालीगलौज त मैमाथि पो बर्सिएको रहेछ । केही बोलिनँ । लासको मुचुल्कापछि फर्कें । गाडीभित्र पसेपछि प्रहरी इन्स्पेक्टरले हाँस्दै भने, ‘सर, तपाईंलाई पो दोषी ठहर्‍यायो ।’

‘ठीकै छ, उनीहरूलाई के थाहा ! आखिर बच्चा जन्माउने त महिला नै हुन् । समाजले सधैं महिलालाई नै त दोषी देख्छ नि ! यो कुनै अस्वाभाविक आरोप होइन ।’

...

टुकुचा खोलाको बगरमा बोराभित्र ५ वर्षको बालकको लास फालिएको रहेछ । बालकको गर्धनपछाडिपट्टिको हाड भाँचिएको थियो । तथ्य खोतल्दै जाँदा नयाँ–सडकका एक साहुकहाँ काम गर्ने २७–२८ वर्षको जवान अभियुक्त प्रमाणित भयो । साहुसँग २–४ लाख असुल्न बालकको अपहरण गरिएको रहेछ । अभियुक्तले बयान दियो, ‘हत्या गर्ने मेरो उद्देश्य थिएन, घर जान बालकले हठ गर्‍यो । मुख बन्द गर्दा खाटको छेउमा टाउको बज्रिन गएर मृत्यु भयो ।’

बालककी आमाले अभियुक्तसँग भेट्न चाहिन् । त्यही मनसाय बुझेर कार्यालयमै भेटको प्रबन्ध मिलाइयो । भेटमा आमाको मार्मिक क्रन्दनले हरेकको आँखा रसायो । अपहरण अपहरणै थियो, अपहरणकारीले बालकलाई मार्न नै नखोजेको, दुर्भाग्यवश अप्रत्याशित घटना भएकोमा पश्चात्ताप गर्‍यो । अभियुक्तले पनि आँसु बगाउँदै हात जोडेर माफी माग्यो ।

...

अर्को एउटा अचम्मको घटना मनमा सम्झनामा छ । त्यौड र कमलाक्षीमा रहेको खड्गीहरूको टोलमा डेरा गरिबसेको २०–२५ वर्षको गाउँले ठिटो आफू बसेको घरभन्दा दुई घर पर बारीमा घोप्टो परेको अवस्थामा मृत भेटियो । घटनास्थलमै उपस्थित भएर लास मुचुल्का गर्दा उसको घाँटीमा साधारण डोरी कसिएको बाहेक अरू घाउचोट भेटिएन ।

तीन तलामाथि ऊ बसेको कोठाको निरीक्षण गरियो, भित्रबाट गजवार लगाएको बन्द कोठाको ढोका फोरेर । भित्र दाखिल हुँदा मदिराको गन्ध आयो । टेबुलमा चारवटा मदिराका खाली ग्लास थिए । साधारण खाटमा ओछ्याइएको खुट्टापट्टिको भागको तन्ना अति अव्यवस्थित थियो । तकियामुनि बडेमानको खुकुरी र तकियामाथिको दलिनमा मृतकको घाँटीमा बाँधिएको सानो डोरी चुँडिएको अवस्थामा थियो । मृतकका किताब जाँच गर्दा नोटबुक भेटियो, जसमा विद्वान्का कोटेसनबाहेक अरू थिएनन् ।

एउटा खापा खुला भएको झ्यालतिर जाँच गर्दा झ्यालको डिलमा पाइलाको अस्पष्ट छाप देखेँ । हत्यारा कोठाको ढोकाबाट शव अन्य व्यक्तिको बारीमा फालेर फर्किएपछि ढोका बन्द गरी झ्यालबाट ओर्ली तल्लो कोठाको झ्याल भएर भागेको हुनुपर्छ भन्ने हाम्रो टोलीले अनुमान गर्‍यो । प्रमाणका निमित्त मदिराको बोतल, ४ वटा खाली ग्लास र नोटबुक लिएर फर्कियौं । दिमाग त्यही हत्याको विषयमा घुमिरह्यो । प्रहरीले मृतकका ३ साथीसँगै घरपतिको पक्की बयान लियो, तर केही खुल्न सकेन । अन्त्यमा सबैलाई अदालतमा पेस गरियो ।

...

त्यसपछि मेरो सरुवा भयो— वाग्मती अञ्चल सरकारी वकिल कार्यालयबाट नारायणी अञ्चल, हेटौंडामा । हेटौंडामा सवारी दुर्घटना हुनु मामुली कुरा थियो । साधारण घटनाको अनुसन्धान जिल्ला सरकारी वकिलबाटै हुन्थ्यो ।

सरुवा भएको ४ महिना मात्रै पुगेको थियो । अदालत जान मुद्दाको फाइल अध्ययन गर्दै थिएँ । प्रहरीसँगै तुरुन्तै दुर्घटनास्थल जानुपर्ने भयो । मूलसडक पहिल्याउँदै निकै पर पुगेपछि अनुहार चिन्न नसकिने, गिदीसमेत छताछुल्ल भएको अवस्थामा एक युवकको मृत शरीर भेटियो । चिया पसल गरिरहेकी प्रत्यक्षदर्शी महिलाको भनाइ थियो— युवक ठीक उनकै पसलअघिल्तिरबाट हिँडिरहेका बेला गाडीले ठक्कर दियो । उठ्ने तर्खर गर्दागर्दै गाडीले ब्याक गरेर युवकलाई किच्यो र लछार्दै परसम्मै पुर्‍यायो । मान्छेहरूले रोक भन्दाभन्दै ड्राइभरले गाडी ब्याक गरेको थियो । मान्छेहरूले समात्न खोज्दाखोज्दै ड्राइभर भाग्न सफल भयो ।

ठक्कर दिइएको स्थानबाट मृतकलाई घिसार्दै लगेको डोब देखियो । मृतकको उमेर ठम्याउन गाह्रो थियो । मृतक पालुङवासी भएको बुझियो । लास मुचुल्कापछि म क्वार्टर आएँ ।

प्रहरीले दुर्घटनाको फाइल मेरो टेबुलमा पेस गर्‍यो । मैले ज्यान मुद्दा भनी फरक राय पेस गरें । पछि थाहा भयो, अदालतले प्रहरी र मेरो राय अध्ययन गरी ज्यान मुद्दा ठहर गरेछ । पछि मैले पेस गरेको राय सदर गरी मुद्दा दर्ता गरी ड्राइभरलाई थुनामा राखी मुद्दा चलाइयो ।

बीभत्स हत्याकाण्ड

कोटेश्वरबाट विमानस्थल जाने बाटोमा पर्ने दुईतले घरमा हामी पुग्यौं । मौसम राम्रो नभएकाले दिउसै अँध्यारो थियो । माथिल्लो तल्लामा थियो— साधारण खाट र सानो झ्याल । झ्यालको खापा खुलेको थियो । छानबिन गर्दा नोटबुक र रु. २०० भेटियो । र, नेपाल बैंकको बचत खातामा रु. २ लाख अघिल्लो दिन मात्रै जम्मा गरिएको रसिद पनि भेटियो । हत्यासम्बन्धी अरू कुनै प्रमाण फेला परेन । तल ओर्लंदा टर्चलाइटको उज्यालोमा भर्‍याङमुनि बाख्रा बाँधेकै छेउमा गर्धन काटिएको लास देखियो । सम्भवतः माथिबाट भागेर ओर्लंदै गर्दा मारिएको हुनसक्छ ।

छिँडीका कुनाकाप्चा चहार्दा मैलो–झुत्रो सिरकले मुख छोपिएको अर्को लास देखियो । खोलेर हेर्दा करिब ८ वर्ष जतिको बालिकाको घाँटीमा खुकुरीको प्रहारले भित्ता रंगिएको र बालिकाको दायाँ हातको तीनवटा औंला पनि भित्तामा टाँसिएको पाइयो । जताततै रगतको खोलो बगेर जमेको देखियो । खानतलासीपश्चात् बाहिर आउँदा आँगनको डिलमा अधबैंसे महिलाको रगतमा मुछिएको अर्को लास भेटियो । उनको शरीरमा ६०/७० पटक जति खुकुरी प्रहार भएको बुझियो । बिचरी गुहार माग्न बाहिर आएकी हुँदी हुन् । कति हृदयविदारक !

मानवतालाई नै लज्जित पार्ने हत्याकाण्डको मनसाय बुझ्न सकिएन । खोतल्दै जाँदा पनि रिसइबीको कुनै प्रमाण पुष्टि भएन । कोटेश्वर सडक निर्माण हुँदा सरकारबाट जग्गा अधिग्रहणबापत मृतकले मुआब्जा रकम पाएको बुझियो । सोही रकम लुट्न आएकाहरूबाट अन्दाजी ७० वर्षका वृद्घको सिंगो परिवारकै हत्या भएको देखियो । उज्यालो हुन लागेपछि भागेका हत्याराहरूको हातमा रकम परेन ।

अपराधी पत्ता लगाउन भरमग्दुर कोसिस गरियो । अन्त्यमा एक १२ वर्षीय बालक भेटियो । बालक ज्यादै त्रसित थियो । सोधपुछको दौरान तिनै बालकबाट तथ्य उजागर भयो । अपराधी लुकेर बसेको स्थानसमेत जानकारीमा आयो । बालकलाई कुनै नोक्सानी नहोस् भनी पुलिसको संरक्षणमा राखियो । केरकारपश्चात् अपराधीहरूले प्रयोग गरेको रगत मुछिएको खुकुरी पनि खोलाछेउमा माटोमुनि गाडिएको अवस्थामा बरामद भयो । तीन जना अभियुक्तलाई ज्यान मुद्दाको अभियोगमा अदालतसमक्ष मुद्दा दायर गरियो ।

म न्याय क्षेत्रमा पसेका एकाध महिलामध्ये एक, त्यसमा पनि नेवार समुदायको । मलाई अदालतभित्र पनि न्यायिक लडाइँ लड्न सजिलो भएन । अनेक अन्याय भोग्नुपर्ने अवस्था थियो । तत्कालीन प्रधानन्यायाधीश रत्नबहादुर विष्टले अरूको भनाइमा लागेर मलाई अनाहकमा सजाय दिए । त्यही सजायस्वरूप महान्यायाधिवक्ताको अञ्चल सरकारी वकिल कार्यालयमा सरुवा हुँदा अनेक लाससँग साक्षात्कार गरेँ ।

प्रहरीसँगसँगै घटनास्थलमा उपस्थित भई बीभत्स लासहरूको मुचुल्का गर्न बाध्य भएँ । त्यस्ता भयावह घटनामा उपस्थित हुँदा मेरो सरल स्वभावले काँचुली फेर्न थाल्यो अनि म कठोर र सख्त नारीमा रूपान्तरित हुन थालें । आजभोलि मलाई न कसैले दिएको सजायमा दुःखको आभास हुन्छ, न त सुखकै अनुभूति ।

(माथेमा नेपालको पहिलो महिला न्यायाधीश हुन्)

प्रकाशित : आश्विन ९, २०७८ १२:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×