जब्बर फ्यानको बखान- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जब्बर फ्यानको बखान

हिन्दी शब्द 'बेबाक’ देव आनन्दको आत्मकथालाई अर्थ्याउन बढी सुहाउँदो विशेषण ठहरिन्छ । उनले शिष्टताको परिधिमा रहेर आफूसित सहकार्य गर्ने अभिनेत्रीहरूसितको रोमान्सबारे खुलस्त लेखेका छन् । 
वसन्त थापा

देव आनन्द हिन्दी फिल्म संसारका यस्ता सितारा थिए, जसको चिर युवाको रोमान्टिक छवि तथा आकर्षक अदाकारीको सम्मोहनबाट दर्शकका तीन–तीन पुस्ता बाँधिएका थिए । फिल्म लेख्नु, बनाउनु, निर्देशन गर्नु र त्यसमा खेल्नु नै यी अविश्रान्त अभिनेताको ध्येय बन्न गएको थियो जीवनको । र, मृत्युपर्यन्त फिल्म बनाइरहे उनले । नेपालमै सुटिङ गरिएका देव आनन्दका फिल्ममध्ये ‘ब्लक बस्टर’ बन्यो ‘जानी मेरा नाम’ । दरबारसँग पनि उनको घनिष्टता थियो । उनी महेन्द्रका विशिष्ट अतिथि बनेर काठमाडौं आएका थिए– युवराज वीरेन्द्रको विवाहमा ।

पूर्वपीठिका

सदावहार अभिनेता देव आनन्दको जन्मदिन २६ सेप्टेम्बर नजिकिँदै गर्दा उनीप्रति शब्द–सुमन अर्पित गर्ने मनसायले धेरै पटक पहिले पल्टाइसकेको उनले अंग्रेजीमा लेखेको आत्मकथा ‘रोमान्सिङ विथ लाइफ’ फेरि एकपल्ट पल्टाउँछु । पुस्तकको पहिलो पानामै रातो मसीमा उनको हस्ताक्षर वा ‘अटोग्राफ’ पाउँछु । त्यसमा तारिख पनि लेखिएको छ : १० मे २००८ ।

त्यस दिन काठमाडौंको भृकुटीमण्डपमा बाह्रौं राष्ट्रिय पुस्तक प्रदर्शनीको उद्घाटन भएको थियो देव आनन्दको हातबाट । उनलाई विशेष अतिथिका रूपमा निम्त्याउने तारतम्य मिलाउन एकता बुक्सका रामचन्द्र तिमोथी र मैले निकै मिहिनेत गरेका थियौं । रामचन्द्रजी त्यसबखत नेपाल राष्ट्रिय पुस्तक प्रकाशक संघका बहालवाला अध्यक्ष थिए भने म त्यस संघको महासचिव । देव आनन्दको आत्मकथाको पुस्तक अघिल्लो वर्षको सेप्टेम्बर महिनामा भारतका तत्कालीन प्रधानमन्त्री डा. मनमोहन सिंहको हातबाट विमोचन गरिएको थियो र उनलाई निम्त्याउने कारण त्यही थियो, एक लेखकका रूपमा । त्यस पुस्तकलाई प्रवर्द्धन गर्ने सिलसिलामा देव आनन्द विभिन्न ठाउँमा गइराखेका थिए । त्यसैले उनलाई काठमाडौं ल्याउन पेङ्गुइन इन्डियाले संयोजकको भूमिका निर्वाह गर्‍यो भने भारतीय दूतावासले काठमाडौंमा आतिथ्यको सारा इन्तजाम गरेर खुबै सघायो ।

त्यत्रा बडा स्टारले हाम्रो निमन्त्रणा स्वीकार गर्लान् के भन्ने लागेको थियो, तर उनको स्वीकृतिपत्र तुरुन्तैजसो आयो र आफैँ पनि तोकिएको दिनमा आफ्ना छोरा सुनील आनन्द र सहयोगीहरूलाई साथ लिएर काठमाडौं आइपुगे । सानै छँदादेखि सिनेमाको पर्दामा देख्दै आएको र मनले खाएको, तर नजिकबाट भने भेट्न नपाएको सिने संसारका सितारालाई त्यस दिन आतिथेयका रूपमा मैले भेट्न पाएको थिएँ । मैले त्यो किताब र उनको अटोग्राफ त्यसै दिन प्राप्त गरेको थिएँ, भृकुटीमण्डपको पुस्तक प्रदर्शनीमा ।

सन् २००८ मा काठमाडौंको पुस्तक प्रदर्शनीका प्रमुख अतिथि विद्वान् मदनमणि दीक्षित र विशेष अतिथि अभिनेता देव आनन्दका साथमा लेखक (बायाँपट्टि) । तस्बिर : मीन बज्राचार्य

पुस्तक प्रदर्शनीको उद्घाटन समारोहमा उनले नेपालप्रतिको आफ्नो प्रेम फेरि एकपटक सार्वजनिक रूपमा जाहेर गरेका थिए । उनको सम्बोधनको पहिलो वाक्य नै यस्तो थियो : ‘आई लभ नेपाल, नेपाल इज इन माई ब्लड !’ त्यस अवसरमा भारतीय राजदूत राकेश सूदले ‘देव साहब तीन पुस्ताका दिलको धड्कन हुन्’ भने अनि थपेका थिए : ‘दिल्लीमा रहनुभएकी मेरी आमा आज यसबखत म देव साहबका साथ छु भन्ने थाहा पाउँदा अति हर्षित हुनुहुनेछ, किनभने मेरी आमा देव साहबको आजन्म फ्यान हुनुहुन्छ ।’

त्यस साँझ प्रकाशक संघको तर्फबाट देव आनन्दको सम्मानमा डिल्लीबजारको भोजनगृह नामक रेस्टुराँमा रात्रिभोजको आयोजना गरिएको थियो । देव आनन्द आउनुभन्दा केहीअघि भत्करु जसरी उनका निजी सचिव र अन्य सहायक टोली त्यहाँ आइपुगे । पहिलो तला चढ्नुपर्ने रेस्टुँराँको सिंढी देखेर ‘देव साहब यहाँ चढ्न सक्नुहुन्न, डिनर अर्को ठाउँमा गर्नुपर्छ’ भन्न थाले उनीहरू । हुन पनि देव आनन्द त्यसबेला ८५ वर्षमा हिँडिराखेका थिए । हामी आतिथेय भइटोपलेकाहरू अक्क न बक्क पर्‍यौं । हामीबीच गलफती चलिरहेकै बेला देव आनन्दलाई लिएर एम्बेसीको कार आइपुग्यो । उनी हिँडेर सिँढीको त्यही फेदमा आइपुगे, जहाँ हामी बिलखबन्द भएर उभिइराखेका थियौं । उनका सहायकहरूले के–के भन्दै थिए त्यो नसुनी उनी सिँढीतिर बढे । त्यही मौकामा म र रामचन्द्रजी भएर उनलाई सहारा दिँदै सिँढी उकाल्यौं । उनी कुनै तकलिफबेगर उक्लिए । उनको टोली हेर्‍याहेर्‍यै भए ।

रेस्टुराँमा भुइँमा बसेर खाने व्यवस्था भएकोमा उनलाई चाहिँ एउटा कुर्सी ल्याएर त्यसमा बसाइयो । उपस्थित सहभागीहरूसित चिनापर्ची गरेपछि भलाकुसारीका बात भए । उनले फेरि नेपाल आउन पाउँदा आफूलाई असाध्यै खुसी लागेको बताए । उनको छेउमा बसेर मैले शिष्टाचारका केही कुरा गरें । धेरै सोच्न सकिनँ र एक किसिमको आम प्रश्न उनलाई सोधें : ‘यस उमेरमा पनि तपाईं यस्तो ऊर्जावान् र फुर्तिलो हुनुहुन्छ त्यसको राज के हो ?’ उनले जवाफमा ‘द कम्पनी अफ यङ पिपल लाइक यु’ भने । सायद यो पनि उनको बनिबनाउ उत्तर थियो । हुन त म त्यति तरुनो थिइनँ, तैपनि म दंग परें । रक्सी, चुरोट खाने बानी नभएका देव आनन्दको आहार पनि निरामिष भएको थाहा पायौं । उनी हातमा एक मुठ्ठी पपकर्न लिएर त्यसलाई चपाउँदै बसे र सायद जुस पिए उनले । किताब पढ्नुको महत्त्व र आफ्नो नेपाल प्रेमबारे केही कुरा गरे अनि आफ्ना टोलीसहित बिदा भए ।

त्यसको तीन वर्षपछि सन् २०११ को डिसेम्बर ३ तारिखका दिन लन्डनमा उनको देहावसान भयो ।

एउटा फ्यानको जन्म

ठूलो पर्दामा मैले हेरेको देव आनन्दको पहिलो फिल्म ‘इन्सानियत’ वा ‘सीआईडी’ दुइटामा एउटा हुनुपर्छ । पहिलो फिल्म धरानको इन्डियन कोलोनीमा मुफ्तमा हेरेको थिएँ र दोस्रोचाहिँ शिव सिनेमाहल खुलेकै साल ।

बम्बईमा रिलिज भएपछि धरानसम्मको यात्रा तय गर्न ती फिल्मलाई चुत्थोमा पनि दुई वर्ष लागेको हुनुपर्छ । त्यसबेलाको चलन नै त्यस्तै थियो । देशदेशावर घुमेर आइपुग्थ्यो फिल्मको प्रिन्ट सानो नगर धरानमा । इन्डियन कोलोनीमा त भारतीय सरकारले प्रचारका लागि सित्तैंमा देखाउँथ्यो सिनेमा । सिनेमाहललाई पनि नयाँ रिलिज भएको फिल्म तात्तातो ल्याएर देखाउनुपर्ने कुनै कारण पनि थिएन । भर्खर–भर्खर सिनेमाहलमा फिल्म हेर्न सिकेका दर्शकका लागि त जे ल्याएर देखाउँदा पनि हुन्थ्यो । हामी स्कुल पढ्ने भुराका त के कुरा ! पर्दामा जे चले पनि रमाइलो लाग्ने । कुन हिरो कुन हिरोइन त्यसको मतलब थिएन, सिनेमा हेर्न पाउनु नै लाख हुन्थ्यो । भोकालाई के साजी के बासी ! खान पाए पुग्थ्यो ।

हामी दुई–चार जना थियौं स्कुलदेखि नै फिल्म हेर्नमा लग्गू । हाम्रो चहेता वा कुनै ‘फेवरेट’ अभिनेता वा अभिनेत्री थिएन, यद्यपि बम्बईको फिल्मी आकाशमा सिताराहरूको पुञ्ज नै थियो । तर, तिनमा अरूभन्दा चम्किला नक्षत्रहरूमा थिए दिलीप कुमार, राज कपूर र देव आनन्द । पात्रको चरित्रभित्र चुर्लुम्म डुबेर अभिनय गर्ने र मधुरो दबेको स्वरमा संवाद बोल्ने दिलीप कुमारलाई हलिउडका मार्लोन ब्रान्डोसित तुलना गरिन्थ्यो । राज कपूरले चार्ली च्याप्लिनको बाटो समाते र उनको अभिनयको आफ्नै खासियत थियो । मुहारमा केही सादृश्य र हावभाउ तथा दैहिक भाषा मिल्दोजुल्दो भएका कारण ग्रेगोरी पेकसित दाँजिने देव आनन्दको छवि एक रोमान्टिक हिरोको थियो ।

देव आनन्दका सबै फिल्महरू त हेर्न पाइनँ । त्यो सम्भव पनि थिएन उसबेला । तर, स्कुल र कलेज पढ्दाताका जति हेरें तीबाट मैले आफूलाई देव आनन्दका फिल्महरूबाट बढी तानिएको पाउन थालें । उनका फिल्ममा रोनाधोना कम र मारपिट पनि धेरै नहुने । गानाहरू उत्तिकै उम्दा हुने । त्यसो त हिन्दी फिल्मी संगीतको स्वर्ण युग मानिएको त्यस दौरमा एक से एक घागडान संगीतकार थिए । तर, सचिन देव बर्मनको संगीतको कुरा नै अर्को, उनको ‘क्लास’ नै अलग । नवकेतन फिल्मस् सुरु हुँदैदेखि देव आनन्दका हरेक फिल्मलाई दादा बर्मनले आफ्ना बेजोड संगीतले सजाए । ‘गाइड’ फिल्मका अद्वितीय संगीत त्यस कुराको प्रमाण हो । हुन त देव आनन्दले खेलेका अरू प्रोड्युसरहरूको फिल्ममा अन्य संगीतकारहरूले रचेका संगीत पनि कम कर्णप्रिय छैनन् चाहे ती मदनमोहनद्वारा रचित हुन् वा शंकर जयकिशन वा ओ.पी. नय्यर वा सलिल चौधरी वा कल्याणजी आनन्दजीद्वारा ।

देव आनन्दप्रति मेरो आकर्षण बढ्ने अर्को कारणचाहिँ पर्दामा प्रक्षिप्त उनको व्यक्तित्व थियो— तेज, फूर्तिलो, जोशिलो र रोमान्टिक । पहिरनको फेसन पनि उनको अलग्गै । कुनै न कुनै प्रकारको टोपी लगाउनु र गलामा स्कार्फ बाँध्नु उनको ट्रेड मार्क नै बनेको थियो । देव आनन्द जहिले पनि सहरियाको भूमिकामा हुन्थे, कि त टाइसुट लगाएका अथवा फेसनदार परिधानमा चिटिक्क सजिएका । सधैं बन्दगलाको कमिज लगाए, आधा बाहुलाको कमिज वा टिसर्ट लगाएनन्, एक दुई अपवादबाहेक । धोतीकुर्ता उनले कि त ‘इन्सानियत’ फिल्ममा लगाएका थिए कि सायद आफ्नो पहिलो फिल्म ‘हम एक हैं’ मा (जो मैले हेरेको छैन) । उनको निजी स्टाइलको जति अनुकरण त अरू हिरोको सायदै भयो होला । जुरेलीको गुँडजस्तो उनको जुल्फीको नक्कल गर्नलाई मानिसहरू के मात्रै गर्दैन थिए । तेल दलेको बाँसको भाटा आगोमा तताएर त्यसलाई कपालमा डाम्थे । छ क्लासमै छँदा मेरो एक सहपाठी आफ्नो कपालमा त्यस्तै जुरेलीको गुँड बनाउन लागेको थियो । माथ्लो लहरको छेउतिरको छँदाखाँदाको दाँत फुकालेर देव आनन्दजस्तो देखिने कोसिस गर्ने त कति थिए कति !

सन् १९६९ को गर्मीको छुट्टीमा दार्जिलिङ घुम्न जाँदा देख्न पाइएको थियो देव आनन्दका प्रशंसकहरूको अन्धानुकरण । उनको ताजा फिल्म ‘ज्वेल थिफ’ मा उनले लगाएको सेतो–कालो बुट्टाको झन्डै सर्लक होम्सको जस्तो टोपी हरेक बंगाली टुरिस्टको टाउकामा देखिन्थ्यो । दोकानहरू पनि तिनै टोपीहरूले भरिभराउ देखिन्थे मानों दार्जिलिङ आउने हरेक टुरिस्टले त्यो लाउनु अनिवार्य थियो ।

देव आनन्द कलाकारभन्दा बढी सितारा वा स्टार थिए । भूमिका पाकेटमारको होस् या पुलिस इन्स्पेक्टरको, अभियुक्तको होस् या वकिलको, अमिरको होस् या गरिबको, कैदीको होस् या जेलरको, बेरोजगारको होस् या उद्योगपतिको, ड्राइभरको होस् या डिटेक्टिभको, खेलाडीको होस् या कलाकारको त्यसले केही फरक पर्दैन थियो । भिन्नता केवल वेशभूषा र पहिरनमा हुन्थ्यो, बाँकी छिटछिटो बोल्ने लहजा र शैली उही, टाउको ढल्काउने र हात हल्लाउने तरिका उही, हिँडाइ र चालढाल उही— हरेक कुरामा पूरापूर देव आनन्द ।

उनको गम्भीर कलाकारिता र केही फरक ढंगको काम देखिने फिल्म त मलाई लाग्छ एक हातको औंलामा गन्न सकिने मात्रै छन्, ‘बम्बई का बाबु’, ‘हम दोनो’, ‘गाइड’, ‘तेरे मेरे सपने’ । ‘कालापानी’ र ‘शराबी’ लाई पनि कोही कोही त्यस कोटीमा राख्छन् । नत्र उनको सधैं उही छवि पाइन्छ— छैलछबिलाको ।

‘हरे राम हरे कृष्ण’ फिल्मको सुटिङ चलिरहेको बेलातिर सोल्टी होटेलमा आयोजित देव आनन्दको प्रेस भेलामा भाग लिएपछिको आफ्नो अनुभव मदनमणि दीक्षितले आफ्नो साप्ताहिक पत्रिका ‘समीक्षा’ मा लेखेका थिए : ‘देव आनन्दलाई एक्टिङ गर्न नपर्ने रहेछ । उनको वास्तविक रूप नै पर्दामा देखिँदो रहेछ ।’

दौंतरीहरूले बाबुको वा प्रौढको भूमिका गर्न थाल्दा पनि देव आनन्द भने रोमान्टिक रोल गरिरहेका थिए । उनले सदावहारको विशेषण कमाएको कारण पनि त्यही थियो । उनले आफ्नै छोराको बाहेक अरू कसैको बाबु बनेर फिल्म खेलेनन् न कुनै चरित्रको भूमिका निर्वाह गरे । ‘गाइड’ फिल्ममा बाहेक कुनै फिल्ममा उनी मरेनन् । पछिल्लो समयमा उनका हिटभन्दा फ्लप फिल्म बढ्ता भए । मजस्ता फ्यान पनि थाक्यौं एक समयपछि उनका फिल्महरू हेर्न । तर, उनी कहिल्यै थाकेनन् फिल्म बनाउने कामबाट । एउटा फिल्म बनाइसक्नेबित्तिकै अर्को फिल्म थालिहाल्ने, बक्स अफिसमा के हुन्छ त्यसबाट बेखबर । खासमा मृत्युको समयमा पनि ‘अमन के फरिश्ते’ भन्ने फिल्ममा काम गरिरहेका थिए उनी ।

नेपाल नाता

नेपालमै सुटिङ गरिएको थियो फिल्म विश्लेषकहरूको दृष्टिमा ‘ब्लक बस्टर’ ठहरिएको उनको ‘जानी मेरा नाम’ फिल्म । राजा महेन्द्रका विशिष्ट अतिथि बनेर काठमाडौं आएका थिए देव आनन्द युवराज वीरेन्द्रको विवाहमा ।

नेपालबाहेक अन्य दुई हिमाली अधिराज्य सिक्किम र भुटानका राजघरानासित पनि देव आनन्दले निकट सम्बन्ध गाँसेका थिए । गान्तोकमै सुटिङ गरिएको थियो उनको फिल्म ‘ज्वेल थिफ’ । भुटानमा गएर पनि फिल्म बनाउने देव आनन्दको धोको थियो जुन अधुरो रह्यो । त्यस धोकोलाई उनले एउटा डकुमेन्ट्री बनाएर भए पनि पूरा गरे ।

युवराज वीरेन्द्रको विवाह समारोहमा अतिथि बनेर आउँदा नै कहानी लेखेर गएका देव आनन्द अर्को साल फेरि काठमाडौं फर्किए ‘हरे राम हरे कृष्ण’ फिल्मको सुटिङ गर्न । यतिबेला म पनि काठमाडौं आइसकेको थिएँ स्नातकोत्तर शिक्षा अघि बढाउन भनेर । बस्, अब के चाहियो ! जता जता देव आनन्दको सुटिङ चल्छ भन्ने सुन्यो उतै दौडियो, एउटा मिल्ने साथी छँदै थियो मलाई साथ दिने । फिल्मको प्रत्यक्ष सुटिङ हेर्ने रहर स्वयम्भूमा पहिलो पटक पूरा भयो । उसबेला स्वयम्भू इलाका चारैतिर खुला थियो र त्यसदिन मजस्ता उत्सुक रमितेहरू पाखैभरि छरिएका थिए । तिनलाई सुटिङ स्थलको नजिक आउनबाट रोक्न हम्मे परिरहेको थियो प्रहरीलाई । स्वयम्भू चैत्यमुनिको दक्षिणतिरको किमडोलको डाँडामा भइरहेको थियो सुटिङ । म र मेरो साथी कुनै यत्नले सुटिङ स्थलको निकै नजिक पुग्यौं, जहाँबाट भागिरहेकी जीनत अमानलाई पछ्याउँदै गरेका देव आनन्दलाई पहिलोपटक मैले साक्षात् देख्न पाएँ केही दूरीबाट भए पनि ।

अर्कोपटक भक्तपुरमा सुटिङ हुँदै छ भन्ने खबर मिल्यो साथीहरूबाट । हतारहतार भात टिपेर भक्तपुर हानिएँ एक साथीसित । नभन्दै सुटिङ चलिरहेको थियो न्यातपोल मन्दिरको परिसरमा । त्यहाँ कुनै जात्रामा जस्तै मानिसहरूको ठूलो हुजुम थियो मन्दिरको पटांगिनीमा । अग्ला अग्ला स्ट्यान्डमा जडान गरिएका लाइटिङ उपकरणहरू र सेता ‘रिफ्लेक्टर बोर्डहरू’ त्यहाँ थिए । भीडलाई अलिअलि गरेर छिचोल्दै भित्री घेरामा पुग्दा त्यहाँ हामी देख्छौं देव आनन्द डाइरेक्टरको कुर्सीमा बसिराखेका । छेउको होचो टेबलमा राखिएको गिलासबाट जुसको चुस्की लिइराखेका । भीडको घेराबीच रहेको खुला ठाउँमा मुमताज उभिएर आफ्नो कपाल र पहिरन मिलाउँदै थिइन् । यो विपना हो कि सपना हो भनेर हामी ट्वाल्ल पर्दै पर्दाका सिताराका भौतिक स्वरूपलाई नियाल्दै थियौं । पछिल्तिरबाट भीडलाई चिर्दै कुनै अग्लो मानिस ‘एक सेकेन्ड’, ‘एक सेकेन्ड’ भन्दै हाम्रै छेउबाट अगाडि बढ्यो र घेराको अघिल्तिर गएर उभियो ।

सुटमा ठाँटिएको त्यो मानिस त प्रेम चोपडा पो निस्किए । उनी त्यहाँ गएर उभिनासाथ कुनै गाना घन्कियो र मुमताज नाच्न थालिन् । क्रेनमाथि मुभी क्यामेरा पछिल्तिर बसेका व्यक्तिलाई लक्ष्य गर्दै देव आनन्द ‘फली’ ‘फली’ भन्थे र हातको इसाराले ‘प्यानिङ’ गर्थे । ती क्यामेराम्यान बम्बईका विख्यात फली मिस्त्री रहेछन् । मलाई आश्चर्य लागिरहेको थियो मानिसको त्यत्रो ठूलो भीडलाई यति नजिकबाट सुटिङ हेर्न दिएकामा । पछि हलमा सिनेमा हेर्दा थाहा भयो त्यसको रहस्य । कुनै गाउँले मेलाको दृश्य रहेछ त्यो । मेला भर्न आएकी गाउँकी नवयौवना सुन्दरी मुमताज ‘हो रे घुँघुँरु का बोले’ भन्ने गीतमा नाच्दिरहिछन् र प्रेम चोपडा उभिएर मुमताजलाई लालची आँखाले हेर्दा रहेछन् । मेलाको दृश्य देखाउनुपर्ने भएकाले पो घरका झ्याल, बार्दली, कौसी, मन्दिरका सिँढी र पटांगिनी सबैतिर मानिसलाई त्यसरी झुत्तिन दिइएको रहेछ ।

तेस्रो पटक ‘हरे राम हरे कृष्ण’ को सुटिङ हेर्न भने टाढा जान परेन र दुःख पनि गर्न परेन धेरै । चिकमुगल गल्लीमा डेरा गरी बस्ने हामीले खबर पायौं नजिकैको काष्ठमण्डपमा सुटिङ हुँदै छ भन्ने । डेराबाट निस्केर अट्कोनारायणथानको बाटो सिंहसत्तलनेर पुग्यौं हामी । वसन्तपुर, कुमारी घर, मरुटोल, भीमसेनस्थान र जैसीदेवल सबैतिरका नाका छेकेर काष्ठमण्डप सत्तलमा सुटिङ चलिरहेको थियो । ठूलठूला ‘आर्क लाइट’ हरूले फ्याँकेको उज्यालोमा सत्तलको मचानमा ‘दम मारो दम’ गानाको छायांकन गर्ने काम भइरहेको थियो । हामी जिनत अमान लगायतका तरुनी तन्देरीहरू चिलिम तान्दै झुमेर नाचिरहेका देख्न सक्थ्यौं । अनि सिनमा प्रवेश गर्छन् इफ्तिकार इन्स्पेक्टरको बर्दीमा केही प्रहरी जवान लिएर । उनी हाते छडी घुमाउँदै सबैलाई बाहिर निस्कने आदेश दिन्छन् । तर, निर्देशक देव आनन्द अघि बढेर हाते छडीलाई एकपटक होइन दुईपटक घुमाउन अह्राउँछन् र इफ्तिखार त्यसै गर्छन् ।

राती भए पनि यी सबै गतिविधि हामी प्रस्ट देख्न सक्थ्यौं । तर, रमितेहरूलाई त्यतिले पुगेन, उनीहरू अझ नजिक गएर हेर्न चाहन्थे । भीड र सुरक्षामा खटिएका प्रहरी दस्ताबीच ठेलमठेल बढ्दै गयो । आखिर प्रहरी लठ्ठी चलाउने अवस्थामा पुग्यो । प्रतिकारमा भीडले इँटा र ढुंगा बर्साउन थाल्यो । हामी पनि लखेटाइमा पर्‍यौं । ज्ञानी भएर रमिता हेरिरहेका हामीलाई त्यसो गर्दा रिस उठ्यो । त्यसैले क्रुद्ध भीडको हकमा ढुंगा र इँटाका केही झटारो आक्रामक प्रहरी जत्थातर्फ म र मेरो साथीले पनि हुर्‍यायौं अनि लाग्यौं डेरातर्फ ।

‘इश्क, इश्क, इश्क’ नामको अर्को फिल्म पनि उनले नेपालमै छायांकन गरेर बनाएका थिए । हेलिकोप्टरको मनग्गे उपयोग गरेर पोखरा, नाम्चेबजार, स्याङबोचे आदि ठाउँमा सुटिङ गरिएको त्यो फिल्म अति खर्चिलो थियो । तर, त्यस फिल्मबाट देव आनन्दले न नाम कमाए न दाम । पानीमा ढुंगा डुबेसरी डुब्यो त्यो फिल्म ।

रोमान्सिङ विथ लाइफ

इमानदारीसाथ लेखिएको सत्यनिष्ठ आत्मकथा पढ्नु रमाइलो हुन्छ । त्यसबाट लेख्ने व्यक्तिको भित्री पाटो देख्न पाइन्छ, बाहिर उजागर नभएको । देव आनन्द कलम चलाउन सक्ने थोरै फिल्म अभिनेतामा पर्थे । आफैं लेखे आत्मकथा डेढ वर्ष लगाएर । आखिर अंग्रेजीमा अनर्स गरेका थिए लाहोरको गभर्नमेन्ट कलेजबाट उनले । बोलाइमा झैं उनको लेखाइमा पनि तीव्रता पाइन्छ । इमानदार देखिन्छन् देव आनन्द । किताबबाट थाहा हुन्छ, अविभाजित पन्जाबको गुरुदासपुर जिल्लामा एक सफल वकिलका साहिँलो छोरा उच्च शिक्षाका लागि दाजुझैं बेलायत जान चाहन्छ, तर पिताको घट्दो आयस्ताका कारण जान सक्दैन । बाबुसँग असाध्ये डराउने र आमासँग अत्यन्त नजिक रहेको त्यो छोरो आमाको मृत्युपछि विरक्तिन्छ ।

बीसवर्षे त्यस तन्देरीको सपना पनि छ पृथ्वीराज कपूर, मोतीलाल, अशोककुमारजस्ता सिनेमाको नायक बन्ने । त्यही सपना पछ्याउँदै त्यो तन्देरी लाहोरबाट फ्रन्टियर मेल रेल चढी बम्बई पुग्छ खल्तीमा केवल ३० रुपैयाँ बोकेर ब्रिटिस राजविरुद्ध महात्मा गान्धीको ‘भारत छोडो’ आन्दोलन चर्किरहेको बखत । त्यस बिरानो मायानगरीमा अनेक पापड बेल्छ, थोत्रा कटेरामा बस्छ, चिठी सेन्सर गर्ने सेनाको नोकरी खान्छ, अखबारको विज्ञापन हेरेर फिल्मको नायक बन्न प्रोड्युसरलाई भेट्न जान्छ । उसले त्यो काम पाउँछ बिनाकुनै सिफारिस र भनसुन अनि धर्मदेव पिसोरिमल आनन्दबाट त्यो तन्देरी देव आनन्दमा रूपान्तरित हुन्छ । सुरुका फिल्महरू असफल हुन्छन् ।

अशोक कुमारको सहयोगमा प्राप्त फिल्म ‘जिद्दी’ बाट भने अभिनेताका रूपमा जम्छन् र आफ्नै कम्पनी नवकेतन फिल्म्सद्वारा निर्मित तथा अभिन्न मित्र गुरुदत्तद्वारा निर्देशित फिल्म ‘बाजी’ बाट देव आनन्द सितारामा रूपान्तरित हुन्छन् । त्यसपछि उनी सफलताको उच्च सोपान चढ्दै प्रसिद्धिको शिखरमा पुग्छन् । ‘पुत्र, तिम्रो माथामा त सूर्य चम्किरहेको छ, तिमी एक दिन ठूला मान्छे हुन्छौ’ भनेर अमृतसरको स्वर्ण मन्दिर छेउको एक सर्बतवालाले गरेको भविष्यवाणी सत्य साबित हुन्छ ।

हिन्दीको शब्द ‘बेबाक’ उनको आत्मकथालाई अर्थ्याउन बढी सुहाउँदो विशेषण ठहरिन्छ । उनले शिष्टताको परिधिमा रहेर आफूसित सहकार्य गर्ने अभिनेत्रीहरूसितको रोमान्सबारे खुलस्त लेखेका छन् । गायिका अभिनेत्री सुरैया र उनको प्रेमकहानी त जगजाहेर छ । त्यस कहानीको पोयो पनि उनी नलुकाई खोल्छन् । ती सबै कहानी पढ्दा त्यस किताबको शीर्षक ‘रोमान्सिङ विथ विमेन’ राख्दा पो ठीक हुन्थ्यो कि भन्ने पनि लाग्छ पाठकलाई ।

तर, किताबबाट बुझ्न पाइने अर्को अनदेखा र महत्त्वपूर्ण पक्ष भनेको उनको जीवनदर्शन र जीवन बाँच्ने मन्त्र हो । उनको मान्यता छ सफलता असफलता सबै क्षणिक कुरा हुन् । सफलताले मात्तिनु हुँदैन, असफलताबाट आत्तिनु हुँदैन । दुःख पर्दैमा शोकमग्न भएर बस्न हुँदैन । जिन्दगी अघि बढ्नुपर्छ । आफूमा विश्वास राख्नुपर्छ र सदा आशावादी हुनुपर्छ । मिहिनेत सफलताको पहिलो सर्त हो । मानिसले हरेक पल केही नयाँ कुरा सिकिरहेको हुन्छ । मानिस बूढो हुँदैन, उमेरमा परिपक्व हुन्छ (वन डज नट ग्रो ओल्ड, वन म्याचुअर्स इन एज) । उनी आफूलाई महान् होइन सफल ठान्छन् र भन्छन्, ‘फिल्म बनाउनु मेरो पेसा हो, व्यसन हो, काम हो । मन पराउनु नपराउनु दर्शकको काम हो ।’ आफ्नो जीवनदर्शनलाई एक हरफमा बताउनुपर्दा उनी साहिर लुध्यानवीको प्रख्यात गीतको पंक्ति उद्धृत गर्छन् :

मै जिन्दगी का साथ निभाता चला गया

हर फिक्र को धुयें मे उडाता चला गया ।

((सदाबहार अभिनेताका सदावहार विचार ! उनी बाँचिराखेका भए अहिले ९९ वर्षका हुने थिए र सायद भनिराखेका हुने थिए ‘म उमेरमा परिपक्व हुँदै छु ।’

प्रकाशित : आश्विन ९, २०७८ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्

जम्काभेट शवहरूसँग

म घटनास्थलमै उपस्थित भएर केही बीभत्स लासको मुचुल्का गर्न बाध्य भएँ । ती भयावह घटनाले मलाई एक कठोर नारीमा रूपान्तरण गरिदियो ।
सत्यभामा माथेमा

काठमाडौँ — यहाँ लेखिएका यी कथा मनगढन्ते होइनन्, बेहोरेकै व्यथा हुन् । न्यायाधीश पदबाट सरकारी अधिवक्तामा सरुवा हुँदा भएका लासहरूसँगका जम्काभेटको नालीबेली हो यो । म कानुनमा हदै अडिग भइदिँदा सर्वोच्च अदालतका प्रधानन्यायाधीशसमेत चिढिए । सजायस्वरूप म जिल्ला न्यायाधीशको पदबाट अञ्चल सरकारी अधिवक्तामा सरुवा गरिएँ । २०३०–३२ सालतिर अपराध भएका घटनास्थलमा प्रहरीसँगै सरकारी अधिवक्ता पनि जानु अनिवार्य थियो । त्यसै क्रममा आत्महत्या वा हत्याको स्थलगत लास मुचुल्का गर्दा धेरै लाससँग साक्षात्कार गरेकी छु ।

म सरकारी वकिल कार्यालय, वाग्मती अञ्चलमा सरुवा भएँ । वाग्मती पुलमुनि फालिएको नवजात शिशुको लास हेर्न प्रहरीसँगै गएँ । पुलमाथि मानिसको भीड थियो । प्रहरीसँगै लास हेर्न पुलमुनि जाँदै गर्दा सुनेँ, ‘कस्ती अपराधी आइमाई रहिछ ! बच्चा मारेर फाल्न कसरी सकेकी होली ?’

गालीगलौज त मैमाथि पो बर्सिएको रहेछ । केही बोलिनँ । लासको मुचुल्कापछि फर्कें । गाडीभित्र पसेपछि प्रहरी इन्स्पेक्टरले हाँस्दै भने, ‘सर, तपाईंलाई पो दोषी ठहर्‍यायो ।’

‘ठीकै छ, उनीहरूलाई के थाहा ! आखिर बच्चा जन्माउने त महिला नै हुन् । समाजले सधैं महिलालाई नै त दोषी देख्छ नि ! यो कुनै अस्वाभाविक आरोप होइन ।’

...

टुकुचा खोलाको बगरमा बोराभित्र ५ वर्षको बालकको लास फालिएको रहेछ । बालकको गर्धनपछाडिपट्टिको हाड भाँचिएको थियो । तथ्य खोतल्दै जाँदा नयाँ–सडकका एक साहुकहाँ काम गर्ने २७–२८ वर्षको जवान अभियुक्त प्रमाणित भयो । साहुसँग २–४ लाख असुल्न बालकको अपहरण गरिएको रहेछ । अभियुक्तले बयान दियो, ‘हत्या गर्ने मेरो उद्देश्य थिएन, घर जान बालकले हठ गर्‍यो । मुख बन्द गर्दा खाटको छेउमा टाउको बज्रिन गएर मृत्यु भयो ।’

बालककी आमाले अभियुक्तसँग भेट्न चाहिन् । त्यही मनसाय बुझेर कार्यालयमै भेटको प्रबन्ध मिलाइयो । भेटमा आमाको मार्मिक क्रन्दनले हरेकको आँखा रसायो । अपहरण अपहरणै थियो, अपहरणकारीले बालकलाई मार्न नै नखोजेको, दुर्भाग्यवश अप्रत्याशित घटना भएकोमा पश्चात्ताप गर्‍यो । अभियुक्तले पनि आँसु बगाउँदै हात जोडेर माफी माग्यो ।

...

अर्को एउटा अचम्मको घटना मनमा सम्झनामा छ । त्यौड र कमलाक्षीमा रहेको खड्गीहरूको टोलमा डेरा गरिबसेको २०–२५ वर्षको गाउँले ठिटो आफू बसेको घरभन्दा दुई घर पर बारीमा घोप्टो परेको अवस्थामा मृत भेटियो । घटनास्थलमै उपस्थित भएर लास मुचुल्का गर्दा उसको घाँटीमा साधारण डोरी कसिएको बाहेक अरू घाउचोट भेटिएन ।

तीन तलामाथि ऊ बसेको कोठाको निरीक्षण गरियो, भित्रबाट गजवार लगाएको बन्द कोठाको ढोका फोरेर । भित्र दाखिल हुँदा मदिराको गन्ध आयो । टेबुलमा चारवटा मदिराका खाली ग्लास थिए । साधारण खाटमा ओछ्याइएको खुट्टापट्टिको भागको तन्ना अति अव्यवस्थित थियो । तकियामुनि बडेमानको खुकुरी र तकियामाथिको दलिनमा मृतकको घाँटीमा बाँधिएको सानो डोरी चुँडिएको अवस्थामा थियो । मृतकका किताब जाँच गर्दा नोटबुक भेटियो, जसमा विद्वान्का कोटेसनबाहेक अरू थिएनन् ।

एउटा खापा खुला भएको झ्यालतिर जाँच गर्दा झ्यालको डिलमा पाइलाको अस्पष्ट छाप देखेँ । हत्यारा कोठाको ढोकाबाट शव अन्य व्यक्तिको बारीमा फालेर फर्किएपछि ढोका बन्द गरी झ्यालबाट ओर्ली तल्लो कोठाको झ्याल भएर भागेको हुनुपर्छ भन्ने हाम्रो टोलीले अनुमान गर्‍यो । प्रमाणका निमित्त मदिराको बोतल, ४ वटा खाली ग्लास र नोटबुक लिएर फर्कियौं । दिमाग त्यही हत्याको विषयमा घुमिरह्यो । प्रहरीले मृतकका ३ साथीसँगै घरपतिको पक्की बयान लियो, तर केही खुल्न सकेन । अन्त्यमा सबैलाई अदालतमा पेस गरियो ।

...

त्यसपछि मेरो सरुवा भयो— वाग्मती अञ्चल सरकारी वकिल कार्यालयबाट नारायणी अञ्चल, हेटौंडामा । हेटौंडामा सवारी दुर्घटना हुनु मामुली कुरा थियो । साधारण घटनाको अनुसन्धान जिल्ला सरकारी वकिलबाटै हुन्थ्यो ।

सरुवा भएको ४ महिना मात्रै पुगेको थियो । अदालत जान मुद्दाको फाइल अध्ययन गर्दै थिएँ । प्रहरीसँगै तुरुन्तै दुर्घटनास्थल जानुपर्ने भयो । मूलसडक पहिल्याउँदै निकै पर पुगेपछि अनुहार चिन्न नसकिने, गिदीसमेत छताछुल्ल भएको अवस्थामा एक युवकको मृत शरीर भेटियो । चिया पसल गरिरहेकी प्रत्यक्षदर्शी महिलाको भनाइ थियो— युवक ठीक उनकै पसलअघिल्तिरबाट हिँडिरहेका बेला गाडीले ठक्कर दियो । उठ्ने तर्खर गर्दागर्दै गाडीले ब्याक गरेर युवकलाई किच्यो र लछार्दै परसम्मै पुर्‍यायो । मान्छेहरूले रोक भन्दाभन्दै ड्राइभरले गाडी ब्याक गरेको थियो । मान्छेहरूले समात्न खोज्दाखोज्दै ड्राइभर भाग्न सफल भयो ।

ठक्कर दिइएको स्थानबाट मृतकलाई घिसार्दै लगेको डोब देखियो । मृतकको उमेर ठम्याउन गाह्रो थियो । मृतक पालुङवासी भएको बुझियो । लास मुचुल्कापछि म क्वार्टर आएँ ।

प्रहरीले दुर्घटनाको फाइल मेरो टेबुलमा पेस गर्‍यो । मैले ज्यान मुद्दा भनी फरक राय पेस गरें । पछि थाहा भयो, अदालतले प्रहरी र मेरो राय अध्ययन गरी ज्यान मुद्दा ठहर गरेछ । पछि मैले पेस गरेको राय सदर गरी मुद्दा दर्ता गरी ड्राइभरलाई थुनामा राखी मुद्दा चलाइयो ।

बीभत्स हत्याकाण्ड

कोटेश्वरबाट विमानस्थल जाने बाटोमा पर्ने दुईतले घरमा हामी पुग्यौं । मौसम राम्रो नभएकाले दिउसै अँध्यारो थियो । माथिल्लो तल्लामा थियो— साधारण खाट र सानो झ्याल । झ्यालको खापा खुलेको थियो । छानबिन गर्दा नोटबुक र रु. २०० भेटियो । र, नेपाल बैंकको बचत खातामा रु. २ लाख अघिल्लो दिन मात्रै जम्मा गरिएको रसिद पनि भेटियो । हत्यासम्बन्धी अरू कुनै प्रमाण फेला परेन । तल ओर्लंदा टर्चलाइटको उज्यालोमा भर्‍याङमुनि बाख्रा बाँधेकै छेउमा गर्धन काटिएको लास देखियो । सम्भवतः माथिबाट भागेर ओर्लंदै गर्दा मारिएको हुनसक्छ ।

छिँडीका कुनाकाप्चा चहार्दा मैलो–झुत्रो सिरकले मुख छोपिएको अर्को लास देखियो । खोलेर हेर्दा करिब ८ वर्ष जतिको बालिकाको घाँटीमा खुकुरीको प्रहारले भित्ता रंगिएको र बालिकाको दायाँ हातको तीनवटा औंला पनि भित्तामा टाँसिएको पाइयो । जताततै रगतको खोलो बगेर जमेको देखियो । खानतलासीपश्चात् बाहिर आउँदा आँगनको डिलमा अधबैंसे महिलाको रगतमा मुछिएको अर्को लास भेटियो । उनको शरीरमा ६०/७० पटक जति खुकुरी प्रहार भएको बुझियो । बिचरी गुहार माग्न बाहिर आएकी हुँदी हुन् । कति हृदयविदारक !

मानवतालाई नै लज्जित पार्ने हत्याकाण्डको मनसाय बुझ्न सकिएन । खोतल्दै जाँदा पनि रिसइबीको कुनै प्रमाण पुष्टि भएन । कोटेश्वर सडक निर्माण हुँदा सरकारबाट जग्गा अधिग्रहणबापत मृतकले मुआब्जा रकम पाएको बुझियो । सोही रकम लुट्न आएकाहरूबाट अन्दाजी ७० वर्षका वृद्घको सिंगो परिवारकै हत्या भएको देखियो । उज्यालो हुन लागेपछि भागेका हत्याराहरूको हातमा रकम परेन ।

अपराधी पत्ता लगाउन भरमग्दुर कोसिस गरियो । अन्त्यमा एक १२ वर्षीय बालक भेटियो । बालक ज्यादै त्रसित थियो । सोधपुछको दौरान तिनै बालकबाट तथ्य उजागर भयो । अपराधी लुकेर बसेको स्थानसमेत जानकारीमा आयो । बालकलाई कुनै नोक्सानी नहोस् भनी पुलिसको संरक्षणमा राखियो । केरकारपश्चात् अपराधीहरूले प्रयोग गरेको रगत मुछिएको खुकुरी पनि खोलाछेउमा माटोमुनि गाडिएको अवस्थामा बरामद भयो । तीन जना अभियुक्तलाई ज्यान मुद्दाको अभियोगमा अदालतसमक्ष मुद्दा दायर गरियो ।

म न्याय क्षेत्रमा पसेका एकाध महिलामध्ये एक, त्यसमा पनि नेवार समुदायको । मलाई अदालतभित्र पनि न्यायिक लडाइँ लड्न सजिलो भएन । अनेक अन्याय भोग्नुपर्ने अवस्था थियो । तत्कालीन प्रधानन्यायाधीश रत्नबहादुर विष्टले अरूको भनाइमा लागेर मलाई अनाहकमा सजाय दिए । त्यही सजायस्वरूप महान्यायाधिवक्ताको अञ्चल सरकारी वकिल कार्यालयमा सरुवा हुँदा अनेक लाससँग साक्षात्कार गरेँ ।

प्रहरीसँगसँगै घटनास्थलमा उपस्थित भई बीभत्स लासहरूको मुचुल्का गर्न बाध्य भएँ । त्यस्ता भयावह घटनामा उपस्थित हुँदा मेरो सरल स्वभावले काँचुली फेर्न थाल्यो अनि म कठोर र सख्त नारीमा रूपान्तरित हुन थालें । आजभोलि मलाई न कसैले दिएको सजायमा दुःखको आभास हुन्छ, न त सुखकै अनुभूति ।

(माथेमा नेपालको पहिलो महिला न्यायाधीश हुन्)

प्रकाशित : आश्विन ९, २०७८ १२:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×