१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

लिखुरी हावा लिखुरी... !

पदम गौतम

उखुम गर्मीमा उफ्रिँदै खेल्दै छन् नानीहरु
लामो समयदेखि हावा चलेको छैन गाउँमा
घमौरा कन्याउँदै उनीहरु
डाकिरहेछन् हावा–
लिखुरी हावा लिखुरी... !

घरी सिनोको गन्ध आउँछ

घरी सडेगलेका विचारको

घरी कुहिएका विगतको

र, बेलाबेला मरेका सपनाको

यही अस्पटलाग्दो वातावरण चिर्दै नानीहरु

गाउँ नै थर्काउँदै ताजा हावा डाकिरहेछन्

लिखुरी हावा लिखुरी... !

– यो डढेको गन्ध मार्क्सवादको हुनुपर्छ

– यो ढुसीको गन्ध प्रजातान्त्रिक समाजवादको हो

– लासकै गन्धचाहिँ इतिहासको होला

चेतना, विवेक र लक्ष्य पनि यहीबेला गनाउनुपर्ने !

बेलाबेला गफ गर्दै नानीहरु

हावा डाक्न व्यस्त छन्

लिखुरी हावा लिखुरी... !

नयाँ हावा झन् खतरनाक हुन सक्छ

बूढापाका यस्तै भनिरहेछन् अझै

गाउँको मुखिया, हेड सर, वडाध्यक्ष

रेडियो, केबल टीभी र फेसबुक

सबै नयाँ हावाको विरोध गर्छन्

हावा नचलेको थाहै नपाएर

सहरी सुंगुरको स्तुति छापिरहेछन्

मूलधारका मिडियाहरु

हावाका विषयमा सहरमा कुनै हावा नै छैन

महिनौंदेखि गाउँका लागि बेखबर छन्

सरकार, सांसद र विपक्षी दलहरु

तपाईं हाम्रा नानीहरु गाउँमा

निरन्तर गीत गाइरहेछन् नयाँ हावा डाक्दै

लिखुरी हावा लिखुरी... ! लिखुरी हावा लिखुरी... !

के तपाईंलाई पनि उनीहरुसँगै

नयाँ युगको सुन्दर गीत गाउन मन लाग्दैन ?

प्रकाशित : आश्विन ९, २०७८ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?