क्रान्ति
बटुल्दै आँखाबाट खसेका सपना
म फेरि तिमी छेउ आइपुगेको छु ।
भेट यो
नहुन पनि सक्थ्यो
थाकेका हुन सक्थे चराहरु
मौन रहन पनि सक्थ्यो–
पातहरुको संगीत
रातमा रुपान्तर भएको हुन सक्थ्यो
यो गोधूलि
बिर्सेर हाँस्न फूलहरू
शोकगीत गुन्गुनाइरहेका हुन सक्थे ।
र, यस्तै यावत् सम्भावनाहरुबीच
म तिमीछेउ आइपुगेको छु ।
किन भावहीन छ्यौ तिमी ?
कसरी रात खस्यो अनुहारमा ?
कहाँ गए मुस्कानभित्र हाँस्ने ताराहरु ?
जिज्ञासाहरु तँछाडमछाड गरिरहेछन् मभित्र
खोइ त्यो कान्ति मुहारमा ?
खोइ त्यो क्रान्ति मुठ्ठीहरुमा ?
खोइ त्यो आगो आँखाहरुमा ?
खोइ त्यो लक्ष्य पाइतालाहरुमा ?
प्रश्नैप्रश्नले घेरिएको छु म ।
मात्र केही सपना लुटिएका हुन्
आँखाहरु अझै जीवित छन्
मात्र केही विश्वासहरुमा पहिरो गएको हो
अझै बाँकी छ हरियालीको आशा
थकाइ आफैं थाक्नेछ एक दिन
विश्वास गर
मैलो पहिरनमा
एक हूल सुकिला आँखाहरु
अपलक नियाल्दै छन् तिमीलाई
तिनका पुरातन आाखाका मसिना सपनाहरु हेर
बाटोभरि झरेका सपनाहरु
बटुलेर ल्याइदिएको छु
हिमाली शुभ्रताले पखाल यिनलाई
बिहानी किरणका लालिमाले पोत यिनलाई
बम र बन्दुकसित खेल्नु होइन क्रान्ति
समय कुसमय
जिन्दावाद / मुर्दावाद गाउनु पनि होइन क्रान्ति
आँसुको गहिराइबाट हाँसो निकाल्नु
र सजाउनु उदास अनुहारहरुमा
योभन्दा ठूलो क्रान्ति
केही छैन संसारमा !
बटुल्दै आँखाबाट खसेका सपना
म फेरि तिमीछेउ आइपुगेको छु ।
प्रकाशित : आश्विन ९, २०७८ १०:४७