१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

जम्काभेट शवहरूसँग

म घटनास्थलमै उपस्थित भएर केही बीभत्स लासको मुचुल्का गर्न बाध्य भएँ । ती भयावह घटनाले मलाई एक कठोर नारीमा रूपान्तरण गरिदियो ।
सत्यभामा माथेमा

काठमाडौँ — यहाँ लेखिएका यी कथा मनगढन्ते होइनन्, बेहोरेकै व्यथा हुन् । न्यायाधीश पदबाट सरकारी अधिवक्तामा सरुवा हुँदा भएका लासहरूसँगका जम्काभेटको नालीबेली हो यो । म कानुनमा हदै अडिग भइदिँदा सर्वोच्च अदालतका प्रधानन्यायाधीशसमेत चिढिए । सजायस्वरूप म जिल्ला न्यायाधीशको पदबाट अञ्चल सरकारी अधिवक्तामा सरुवा गरिएँ । २०३०–३२ सालतिर अपराध भएका घटनास्थलमा प्रहरीसँगै सरकारी अधिवक्ता पनि जानु अनिवार्य थियो । त्यसै क्रममा आत्महत्या वा हत्याको स्थलगत लास मुचुल्का गर्दा धेरै लाससँग साक्षात्कार गरेकी छु ।

जम्काभेट शवहरूसँग

म सरकारी वकिल कार्यालय, वाग्मती अञ्चलमा सरुवा भएँ । वाग्मती पुलमुनि फालिएको नवजात शिशुको लास हेर्न प्रहरीसँगै गएँ । पुलमाथि मानिसको भीड थियो । प्रहरीसँगै लास हेर्न पुलमुनि जाँदै गर्दा सुनेँ, ‘कस्ती अपराधी आइमाई रहिछ ! बच्चा मारेर फाल्न कसरी सकेकी होली ?’

गालीगलौज त मैमाथि पो बर्सिएको रहेछ । केही बोलिनँ । लासको मुचुल्कापछि फर्कें । गाडीभित्र पसेपछि प्रहरी इन्स्पेक्टरले हाँस्दै भने, ‘सर, तपाईंलाई पो दोषी ठहर्‍यायो ।’

‘ठीकै छ, उनीहरूलाई के थाहा ! आखिर बच्चा जन्माउने त महिला नै हुन् । समाजले सधैं महिलालाई नै त दोषी देख्छ नि ! यो कुनै अस्वाभाविक आरोप होइन ।’

...

टुकुचा खोलाको बगरमा बोराभित्र ५ वर्षको बालकको लास फालिएको रहेछ । बालकको गर्धनपछाडिपट्टिको हाड भाँचिएको थियो । तथ्य खोतल्दै जाँदा नयाँ–सडकका एक साहुकहाँ काम गर्ने २७–२८ वर्षको जवान अभियुक्त प्रमाणित भयो । साहुसँग २–४ लाख असुल्न बालकको अपहरण गरिएको रहेछ । अभियुक्तले बयान दियो, ‘हत्या गर्ने मेरो उद्देश्य थिएन, घर जान बालकले हठ गर्‍यो । मुख बन्द गर्दा खाटको छेउमा टाउको बज्रिन गएर मृत्यु भयो ।’

बालककी आमाले अभियुक्तसँग भेट्न चाहिन् । त्यही मनसाय बुझेर कार्यालयमै भेटको प्रबन्ध मिलाइयो । भेटमा आमाको मार्मिक क्रन्दनले हरेकको आँखा रसायो । अपहरण अपहरणै थियो, अपहरणकारीले बालकलाई मार्न नै नखोजेको, दुर्भाग्यवश अप्रत्याशित घटना भएकोमा पश्चात्ताप गर्‍यो । अभियुक्तले पनि आँसु बगाउँदै हात जोडेर माफी माग्यो ।

...

अर्को एउटा अचम्मको घटना मनमा सम्झनामा छ । त्यौड र कमलाक्षीमा रहेको खड्गीहरूको टोलमा डेरा गरिबसेको २०–२५ वर्षको गाउँले ठिटो आफू बसेको घरभन्दा दुई घर पर बारीमा घोप्टो परेको अवस्थामा मृत भेटियो । घटनास्थलमै उपस्थित भएर लास मुचुल्का गर्दा उसको घाँटीमा साधारण डोरी कसिएको बाहेक अरू घाउचोट भेटिएन ।

तीन तलामाथि ऊ बसेको कोठाको निरीक्षण गरियो, भित्रबाट गजवार लगाएको बन्द कोठाको ढोका फोरेर । भित्र दाखिल हुँदा मदिराको गन्ध आयो । टेबुलमा चारवटा मदिराका खाली ग्लास थिए । साधारण खाटमा ओछ्याइएको खुट्टापट्टिको भागको तन्ना अति अव्यवस्थित थियो । तकियामुनि बडेमानको खुकुरी र तकियामाथिको दलिनमा मृतकको घाँटीमा बाँधिएको सानो डोरी चुँडिएको अवस्थामा थियो । मृतकका किताब जाँच गर्दा नोटबुक भेटियो, जसमा विद्वान्का कोटेसनबाहेक अरू थिएनन् ।

एउटा खापा खुला भएको झ्यालतिर जाँच गर्दा झ्यालको डिलमा पाइलाको अस्पष्ट छाप देखेँ । हत्यारा कोठाको ढोकाबाट शव अन्य व्यक्तिको बारीमा फालेर फर्किएपछि ढोका बन्द गरी झ्यालबाट ओर्ली तल्लो कोठाको झ्याल भएर भागेको हुनुपर्छ भन्ने हाम्रो टोलीले अनुमान गर्‍यो । प्रमाणका निमित्त मदिराको बोतल, ४ वटा खाली ग्लास र नोटबुक लिएर फर्कियौं । दिमाग त्यही हत्याको विषयमा घुमिरह्यो । प्रहरीले मृतकका ३ साथीसँगै घरपतिको पक्की बयान लियो, तर केही खुल्न सकेन । अन्त्यमा सबैलाई अदालतमा पेस गरियो ।

...

त्यसपछि मेरो सरुवा भयो— वाग्मती अञ्चल सरकारी वकिल कार्यालयबाट नारायणी अञ्चल, हेटौंडामा । हेटौंडामा सवारी दुर्घटना हुनु मामुली कुरा थियो । साधारण घटनाको अनुसन्धान जिल्ला सरकारी वकिलबाटै हुन्थ्यो ।

सरुवा भएको ४ महिना मात्रै पुगेको थियो । अदालत जान मुद्दाको फाइल अध्ययन गर्दै थिएँ । प्रहरीसँगै तुरुन्तै दुर्घटनास्थल जानुपर्ने भयो । मूलसडक पहिल्याउँदै निकै पर पुगेपछि अनुहार चिन्न नसकिने, गिदीसमेत छताछुल्ल भएको अवस्थामा एक युवकको मृत शरीर भेटियो । चिया पसल गरिरहेकी प्रत्यक्षदर्शी महिलाको भनाइ थियो— युवक ठीक उनकै पसलअघिल्तिरबाट हिँडिरहेका बेला गाडीले ठक्कर दियो । उठ्ने तर्खर गर्दागर्दै गाडीले ब्याक गरेर युवकलाई किच्यो र लछार्दै परसम्मै पुर्‍यायो । मान्छेहरूले रोक भन्दाभन्दै ड्राइभरले गाडी ब्याक गरेको थियो । मान्छेहरूले समात्न खोज्दाखोज्दै ड्राइभर भाग्न सफल भयो ।

ठक्कर दिइएको स्थानबाट मृतकलाई घिसार्दै लगेको डोब देखियो । मृतकको उमेर ठम्याउन गाह्रो थियो । मृतक पालुङवासी भएको बुझियो । लास मुचुल्कापछि म क्वार्टर आएँ ।

प्रहरीले दुर्घटनाको फाइल मेरो टेबुलमा पेस गर्‍यो । मैले ज्यान मुद्दा भनी फरक राय पेस गरें । पछि थाहा भयो, अदालतले प्रहरी र मेरो राय अध्ययन गरी ज्यान मुद्दा ठहर गरेछ । पछि मैले पेस गरेको राय सदर गरी मुद्दा दर्ता गरी ड्राइभरलाई थुनामा राखी मुद्दा चलाइयो ।

बीभत्स हत्याकाण्ड

कोटेश्वरबाट विमानस्थल जाने बाटोमा पर्ने दुईतले घरमा हामी पुग्यौं । मौसम राम्रो नभएकाले दिउसै अँध्यारो थियो । माथिल्लो तल्लामा थियो— साधारण खाट र सानो झ्याल । झ्यालको खापा खुलेको थियो । छानबिन गर्दा नोटबुक र रु. २०० भेटियो । र, नेपाल बैंकको बचत खातामा रु. २ लाख अघिल्लो दिन मात्रै जम्मा गरिएको रसिद पनि भेटियो । हत्यासम्बन्धी अरू कुनै प्रमाण फेला परेन । तल ओर्लंदा टर्चलाइटको उज्यालोमा भर्‍याङमुनि बाख्रा बाँधेकै छेउमा गर्धन काटिएको लास देखियो । सम्भवतः माथिबाट भागेर ओर्लंदै गर्दा मारिएको हुनसक्छ ।

छिँडीका कुनाकाप्चा चहार्दा मैलो–झुत्रो सिरकले मुख छोपिएको अर्को लास देखियो । खोलेर हेर्दा करिब ८ वर्ष जतिको बालिकाको घाँटीमा खुकुरीको प्रहारले भित्ता रंगिएको र बालिकाको दायाँ हातको तीनवटा औंला पनि भित्तामा टाँसिएको पाइयो । जताततै रगतको खोलो बगेर जमेको देखियो । खानतलासीपश्चात् बाहिर आउँदा आँगनको डिलमा अधबैंसे महिलाको रगतमा मुछिएको अर्को लास भेटियो । उनको शरीरमा ६०/७० पटक जति खुकुरी प्रहार भएको बुझियो । बिचरी गुहार माग्न बाहिर आएकी हुँदी हुन् । कति हृदयविदारक !

मानवतालाई नै लज्जित पार्ने हत्याकाण्डको मनसाय बुझ्न सकिएन । खोतल्दै जाँदा पनि रिसइबीको कुनै प्रमाण पुष्टि भएन । कोटेश्वर सडक निर्माण हुँदा सरकारबाट जग्गा अधिग्रहणबापत मृतकले मुआब्जा रकम पाएको बुझियो । सोही रकम लुट्न आएकाहरूबाट अन्दाजी ७० वर्षका वृद्घको सिंगो परिवारकै हत्या भएको देखियो । उज्यालो हुन लागेपछि भागेका हत्याराहरूको हातमा रकम परेन ।

अपराधी पत्ता लगाउन भरमग्दुर कोसिस गरियो । अन्त्यमा एक १२ वर्षीय बालक भेटियो । बालक ज्यादै त्रसित थियो । सोधपुछको दौरान तिनै बालकबाट तथ्य उजागर भयो । अपराधी लुकेर बसेको स्थानसमेत जानकारीमा आयो । बालकलाई कुनै नोक्सानी नहोस् भनी पुलिसको संरक्षणमा राखियो । केरकारपश्चात् अपराधीहरूले प्रयोग गरेको रगत मुछिएको खुकुरी पनि खोलाछेउमा माटोमुनि गाडिएको अवस्थामा बरामद भयो । तीन जना अभियुक्तलाई ज्यान मुद्दाको अभियोगमा अदालतसमक्ष मुद्दा दायर गरियो ।

म न्याय क्षेत्रमा पसेका एकाध महिलामध्ये एक, त्यसमा पनि नेवार समुदायको । मलाई अदालतभित्र पनि न्यायिक लडाइँ लड्न सजिलो भएन । अनेक अन्याय भोग्नुपर्ने अवस्था थियो । तत्कालीन प्रधानन्यायाधीश रत्नबहादुर विष्टले अरूको भनाइमा लागेर मलाई अनाहकमा सजाय दिए । त्यही सजायस्वरूप महान्यायाधिवक्ताको अञ्चल सरकारी वकिल कार्यालयमा सरुवा हुँदा अनेक लाससँग साक्षात्कार गरेँ ।

प्रहरीसँगसँगै घटनास्थलमा उपस्थित भई बीभत्स लासहरूको मुचुल्का गर्न बाध्य भएँ । त्यस्ता भयावह घटनामा उपस्थित हुँदा मेरो सरल स्वभावले काँचुली फेर्न थाल्यो अनि म कठोर र सख्त नारीमा रूपान्तरित हुन थालें । आजभोलि मलाई न कसैले दिएको सजायमा दुःखको आभास हुन्छ, न त सुखकै अनुभूति ।

(माथेमा नेपालको पहिलो महिला न्यायाधीश हुन्)

प्रकाशित : आश्विन ९, २०७८ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?