इतिहास

विष्णुशमशेरको त्यो मुक्का

जनकराज सापकोटा

कोसेली’ को अघिल्लो अंक (भदौ २६) मा इतिहासकार डा. महेशराज पन्तलिखित ‘श्री ३ चन्द्र–पुत्रको रुमानी रहस्य’ शीर्षक इतिहास–आलेखमा उल्लेख नभएका केही नयाँ तथ्य भेटिएकाले यहाँ समेटिएको छ ।

विष्णुशमशेरको त्यो मुक्का

चन्द्रशमशेरका कान्छी महारानी बालकुमारीकी जेठो छोरा विष्णुशमशेरबारे नेपालका पहिलो गभर्नर र पहिलो अर्थसचिव हिमालयशमशेर राणा पनि धेरथोर जानकार छन् । उनको जानकारीको एउटै तथ्यगत कारण विष्णुशमशेरकी श्रीमती उर्मिला राज्यलक्ष्मी नाताले हिमालयकी सानिमा हुन् । ९४ वर्षे हिमालयका अनुसार, उनकी आमाका तीन दिदीबहिनी थिए, जसमध्ये कान्छीलाई नरशमशेरले बिहे गरेका थिए भने माइलीलाई विष्णुशमशेरले ।

हिमालयका अनुसार, अंग्रेजहरूको जीवनशैलीबाट प्रभावित विष्णुशमशेर कलकत्ता छँदा त्यहाँको प्रसिद्ध रेस्टुरेन्ट फ्रिपोमा हुने डान्स पार्टीमा बारम्बार गइरहन्थे । पहिलो विश्वयुद्धपछि सन् १९१७ मा इटालियन नागरिक एंगेलो फ्रिपोले कलकत्तामा युरोपियन ढाँचाको फ्रिपो रेस्टुरेन्ट खोलेका थिए । सन् १९१७ देखि १९६० को अवधिमा ५ सयभन्दा धेरै कर्मचारीले फ्रिपोमा काम गर्थे । त्यहाँ रातैभरि डान्स पार्टी चलिरहन्थ्यो । विश्वस्तरीय अनेकन मदिरा पाइने यो रेस्टुरेन्ट पश्चिमा, भारतीय नबाब र नेपालबाट भारत जाने अनि उतै बसेर अध्ययन गर्ने राणा शासकका भाइ भारदारको मनोरञ्जनको केन्द्र नै थियो ।

केटाकेटी अंगालो हालेर नाचिने बल–रुम डान्समा पनि विष्णुशमशेरको औधी रुचि थियो । युरोपियन र अमेरिकनको बाक्लो जमघट हुने त्यस रेस्टुरेन्टमा विष्णुशमशेरले गाईको मासु खाएको कुरा चन्द्रशमशेरको कानमा परेपछि बाबु–छोराको सम्बन्ध बिग्रिएको थियो ।

गाईको मासु खाएको विषय काठमाडौं पुग्नु र कट्टर हिन्दु धर्मको नियम पालना गरेर बस्ने रुचि पनि नहुनु नै विष्णुशमशेरले देश छोड्ने कारण भइदियो । विसं २००२ मा बम्बईको सेन्ट जेभियर्स कलेज पढ्न गएका थिए हिमालयशमशेर, उतिबेलै उनले उमेरले आफूभन्दा दुई दशक जेठा सानोबुबा विष्णुशमशेरबारे सुनेका थिए ।

उनले सुनेअनुसार, देश छाडी बेलायत पुगेपछि क्लबमा एक बेलायतीसँग विष्णुशमशेरको झगडा परेको थियो । रिसले चूर भई विष्णुले ती बेलायतीमाथि मुक्का बर्साएका थिए । मुक्का खाने बेलायती उक्त क्षेत्रका प्रतिष्ठित व्यक्ति थिए । उनले उजुरबाजुर गरे ठूलै कानुनी झमेलामा फसिने सम्भावना देखेपछि विष्णुशमशेर त्यहाँबाट बहामाको नसाउ टापुतिर हिँडेका थिए ।

रंगीन मिजासका विष्णुशमशेरमाथि महेशराज पन्तले विस्तृतमा प्रकाश पारे पनि लेखमा उनको शाखा–सन्तानबारे धेरै उल्लेख छैन । विष्णु र उर्मिलाका एक छोरा पीताम्बरको बेलायतमै जन्म भएको थियो । हिमालयका अनुसार, बेलायती विश्वविद्यालय पढेका पीताम्बरका नजिकका साथी थिए– भारतस्थित ख्यातिप्राप्त मोटर उत्पादन कम्पनी मालिकका छोरा । उनलाई कम्पनी मालिकका छोराको नाम त सम्झना छैन, तर हिमालयले भनेको कुरा खोज्दै जाँदा पीताम्बर मोटर उत्पादक कम्पनी महेन्द्र एन्ड महेन्द्र लिमिटेडमा सन् १९९० देखि १९९७ सम्म जनरल म्यानेजर भएर काम गरेको भेटिन्छ ।

‘पीताम्बर बेलाबखत काठमाडौं पनि आइरहन्थे । अक्सर उनी सोल्टी होटलका मालिक प्रभाकरशमशेर राणाकहाँ बस्थे । गल्फका सोखिन भएकाले उनी गल्फ कोर्सतिर पनि धाउँथे’, हिमालय भन्छन् । त्यतिबेलै गल्फका सोखिन हिमालयको पीताम्बरसँग कुराकानी हुनेगर्थ्यो ।

आफ्ना पिताजस्तै पीताम्बरको जीवनकथा पनि अनेकन घुम्तीहरूले भरिएको छ । पीताम्बरको बिहे एक जना चर्चित डाक्टर मुलगाउकरकी छोरी सुनितासँग भएको थियो । पेसाले इन्टेरियर डिजाइनर सुनितासँग बिहेपछि जोडिएको उनको पृष्ठभूमि कुनै कथाजस्तो छ ।

पीताम्बरका दुई जना अति मिल्ने साथी थिए । एक थिइन् सुनिता, अर्का थिए बाजपेयी थरका एक भारतीय कूटनीतिज्ञका छोरा । यी तीनको मिल्ती यस्तो थियो कि मानिसहरू चासो राख्दै कुरा गर्थे— सुनिताले पीताम्बरसँग बिहे गर्लिन् कि बाजपेयीसँग भन्दै !

पीताम्बरको पृष्ठभूमिबारे जानकार, तर नाम उल्लेख गर्न नचाहने उनका एक आफन्तका अनुसार, सुनिताले पीताम्बर नरोजेर वाजपेयीसँग बिहे गरिन् । तर, दुर्भाग्य बिहेको एक वर्षकै आसपास गाडी दुर्घटनामा वाजपेयी प्यारलाइसिस भए । त्यसपछिका दिनमा सुनिता र पीताम्बरले उनको उपचार र स्याहार गरे । तर, केही वर्षपछि नै वाजपेयी बिते । त्यसपछि मुलगाउकरकी छोरीले पीताम्बरसँग दोस्रो बिहे गरिन् । बिहेपछि पीताम्बर एकाधपटक श्रीमती लिएर काठमाडौं पनि आएका थिए । उनीहरूबाट भने कुनै सन्तान भएन । सन् २००५ मा पीताम्बरको निधन भयो ।

समका नाति जीवनशमशेर राणाले एक भेटमा बालकृष्ण समको बैठककक्षमा विष्णुशमशेरबारे ‘धेरथोर कुरा अग्रज पुस्ताबाट सुनेको’ यो पंक्तिकारलाई बताएका थिए । जीवनशमशेर र हिमालयशमशेरले सुनाएका कुराहरूमा धेरै तादात्म्यता देखिन्छ । जस्तो कि विष्णुशमशेरले बेलायत किन छाडे भन्ने विषयमा दुवैको मत मिल्छ । त्यस्तै जीवनशमशेरले पीताम्बरबारे सुनेका र परिचय सार्वजनिक गर्न नचाहने स्रोतबाट प्राप्त विवरण पनि मिल्छन् ।

डा. पन्तलिखित लेखमा एउटा तथ्यलाई सघाउने अर्को पूरक तथ्य पनि भेटिएको छ— फ्रेन्च अन्वेषक सिल्वीं लेवी काठमाडौं आएका बेला श्री ३ वीरशमशेर काठमाडौंबाहिर भएकाले कमान्डर इन चिफ देवशमशेरले लेवीको स्वागत गरेको कुरा पन्तकै आलेखमा उल्लेख छ ।

अनौठो यो छ कि लेवीसँग संवाद गर्न देवशमशेरलाई कुनै तकलिफ भएन । किनकि कलकत्ताको डफ्टन कलेज पढ्दा देवशमशेरले फ्रेन्च भाषा पनि पढेका थिए । त्यतिबेला बम्बई र कलकत्ताका धेरैजसो कलेजमा एउटा भाषा–कक्षा पढ्नैपर्ने नियम थियो । त्यही नियमअनुसार, नेपालबाट पढ्न भारत पुगेका धेरैजसो राणा भाइभारदारले अंग्रेजी अलावा फ्रेन्च, स्पेनिस वा संस्कृत पढेको देखिन्छ । हिमालयले भने, ‘म पनि सेन्ट जेभियर्स कलेजमा बीए अनर्स कोर्समा आर्ट्स पढ्न भर्ना हुँदा ल्याटिन, फ्रेन्च, स्पेनिस र संस्कृतमध्ये एक भाषा छान्न भनिएको थियो । मैले अरू भाषाबारे उति मेसो नपाएकाले संस्कृत रोजेँ ।’

प्रकाशित : आश्विन २, २०७८ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?