मकलको आगो र फुलमार चुरोट- कोसेली - कान्तिपुर समाचार

मकलको आगो र फुलमार चुरोट

महाकवि लक्ष्मीप्रसाद देवकोटाकी साहिँली छोरी मीराकी मितिनी थिइन् भुवन ढुंगाना । लेखक ढुंगाना सम्झिन्छिन्, ‘कविकुञ्जमा मकलमा आगो तापेर, दोलाईं ओढेर मीत–बा के–के लेखिरहनुहुन्थ्यो ! सोचिबस्छु, बाल्यकालमा देखेका मेरा साधारण मीत–बा कसरी असाधारण कवि भए !
देवकोटाको सालिकलाई भव्य महलमा स्थापित गरे पनि उनको आत्मा उही कविकुञ्जको सानो काँचो इँटाको घरमा त कतै छुटेन ?
भुवन ढुंगाना

लक्ष्मीप्रसाद देवकोटाको भदौ २९, २०१६ सालमा निधन भएको थियो । म त्यसबखत विरानगरमा कक्षा ८ मा अध्ययनरत थिएँ । त्यसदिन स्कुलमा छुट्टी भएको थियो ।

केही वर्षअघि नौ, दस सालतिरको कुरा हो । हामी केही वर्ष मैतीदेवीमा कविकुञ्जसँगैको घरमा बस्थ्यौं । दाजुहरू (दुण्डिराज, दीर्घराज) ले पछि त्यो घर प्रजापरिषद्का चूडाप्रसादलाई बेच्नुभयो । त्यसबेला घरको छानो झिंगटीको हुने गर्थ्यो, बुइँगलमा भान्छा–कोठा हुन्थ्यो । धेरैजसो घरहरू त्यस्तै किसिमका हुन्थे । देवकोटाकी साहिँली छोरीको नाम मीरा थियो । हामी दुई घरका दुवै साहिँली छोरीहरू भएका हुनाले कसैले हामीलाई मीत लगाउनुपर्छ भन्यो । मीरा र म दुईपैसे ढ्याक साटासाट गरी मितिनी भयौं । देवकोटा मेरो मीत–बा हुनुभयो, आमा मितिनी आमा ।

सम्झना छ, कविकुञ्जमा एउटा लामो कोठा थियो । मीरा र म धेरैजसो ढोकाबाहिर गट्टा खेलेर बसिरहेका हुन्थ्यौं । जाडोयाममा बाहिर घाम लागिसके पनि मीत–बा मकलमा आगो तापेर, दोलाईं ओढेर, के–के लेखिरहनुहुन्थ्यो ! वरिपरि गुजुमुजु डल्लो पारेर फ्याँकिएका कागजहरू हुन्थे । मकलछेउ कलम र सिसाकमल पनि हुन्थ्यो । सिसाकलम ताछ्न अहिलेजस्तो पेन्सिलकटर होइन, एउटा सिंगो ब्लेड पत्ती नै राखिएको हुन्थ्यो । मीत–बा बेलाबेला त्यही पत्तीले सिसाकलम ताछ्नुहुन्थ्यो । कुनै बेला हामीलाई बोलाउँदै भन्नुहुन्थ्यो, ‘ए, नानीहरू हो ! जाओ बाहिर गएर एक बट्टा फुलमार चुरोट किनेर ल्याओ ।’ हामी खुरर दौडेर जान्थ्यौं । घरपछाडि ज्ञानेश्वर जाने मोडमा नाङ्लोमा चुरोट, चक्लेट, नरिवलका टुक्रा, शीतल पिपरमेन्ट राखेर एक महिला बसिरहेकी हुन्थिन् । चुरोट किनेर हामीले फर्काएको पैसा हामीतिर फाल्दै भन्नुहुन्थ्यो, ‘ल जाओ यसको पुष्टकारी किनेर खाओ ।’

हामी कि पुष्टकारी कि शीतल पिपरमेन्ट किनेर खान्थ्यौं, पिपरमेन्ट मुखमा राख्दा भने चारैतिरबाट पानी आएर शीतल हुने, पुष्टकारी जति चपायो उति मीठो लाग्ने । मलाई त्यसबेलादेखि नै पुष्टकारीको लत लागेको थियो, त्यो लत अहिले पनि छ । तर, अहिलेको पुष्टकारीमा त्यो स्वाद भने छैन । मितिनी–आमा कोठामा आएर भित्ताको काँटीमा झुन्ड्याइएको कोट झिक्दै भन्नुहुन्थ्यो, ‘कति घोप्टिएर लेखिरहनुभएको ? एकछिन बाहिर घुमेर आउनुहोस् ।’ तर, मीत–बा टाउको निहुराएर नसुनेझैं गरी लेखिरहनुहुन्थ्यो ।

कोठामा ठूलो हार्मोनियम राखिएको हुन्थ्यो । कहिलेकाहीं मीत–बाले ठूलो स्वरमा हार्मोनियम बजाएर गीत गाएको सुनिन्थ्यो । देवकोटाकी माहिली छोरी अम्बिका दिदीलाई पनि संगीतमा रुचि थियो । पछि ‘त्यो हार्मोनियम मैले नै राखेँ’ भन्नुहुन्थ्यो ।

त्यसबखत मैतीदेवीको त्यो ठाउँ धान रोपाइँ गर्ने खेतजस्तै थियो । हाम्रो घरसम्म पुग्न दुईतिर पर्खाल लगाइएको बाटो थियो । पर्खालमा लामालामा, काला, चिल्ला सर्पहरू सलल ओहोरदोहोर गरिरहन्थे । मानिसहरू ‘ती नाग हुन्, पूजा गर्नुपर्छ’ भन्थे । कोहीकोही फूल–अक्षता छर्किन्थे । हामी भने डराएर पानीजस्तो सलल बगिरहेका नाग हेरिरहन्थ्यौं । अहिले पदम (देवकोटाका छोरा) ले घर बनाएको ठाउँसँगै नागस्थान भनिएको एउटा ढिस्को थियो । हामी त्यो ढिस्को घुमेर मैतीदेवी मन्दिरतिर जान्थ्यौं । मीरा र म मैतीदेवी दर्शन गरेर फर्किंदा बाटोमा पर्खाल नलगाएको खाल्डोजस्तो ठाउँ थियो । त्यहाँ गुलाबी रङका ससाना गुलाबहरू लहराबीच झप्प फुलिरहेका हुन्थे । काँडाले घोचे पनि हामीलाई ती फूलहरू टिपेर घर लैजान रमाइलो लाग्थ्यो । अर्को रमाइलो, त्यो फूलको लहरालाई हरियो त्यान्द्रोले बेरेको हुन्थ्यो, त्यो त्यान्द्रोबाट आँखामा लगाउन मिल्ने नक्कली चस्मा बनाउन मिल्थ्यो । चस्माको डाँठजस्तै त्यसलाई बेरेर आँखामा लगाउँदा चस्माजस्तै देखिन्थ्यो । त्यो बनाएको चस्मा लगाएर घर फर्किंदा बाटोमा मानिसहरू हामीलाई हेरेर मुसुमुसु हाँसिरहन्थे । अहिले पनि त्यो बाटो आउजाउ गर्दा म ती दिनहरू सम्झिन्छु । अहिले दुवैतिर कंक्रिटका घरहरू ठडिएका छन् । मेरो स्मृतिमा रहेका ती स–साना गुलाबी गुलाबका झ्याङहरू, चस्मा बनाएर लगाउने गरेको त्यो हरियो घाँसको लहरा किंवदन्ती मात्रै हुन गयो एक समयको ।

मैतीदेवीबाट ज्ञानेश्वर हुँदै गौशाला निस्कने बाटो प्रायः सुनसानै हुन्थ्यो । बाटोका दुईतिर राता–पहेंला काइँयो फूलहरू (बटल ब्रस फ्लावर) हाँगाबाट लत्रिएर झुप्प फुलिरहेका हुन्थे । तर, ती पनि मैले देखिनँ । देउतालाई वर्जित हुने फूल पनि कस्तो फूल ! मलाई अचम्म लाग्थ्यो ।

समय अन्तरालमा मेरो विवाह भयो, छोराछोरी पनि भए । तर, मेरी बालसखा, मेरी मितिनी मीरा अविवाहितै रही । कविकुञ्जको घरजग्गा उसकै नाममा थियो रे । उसलाई डाक्टर हुने खुब रहर थियो । तर, त्यो सम्भव नभएपछि उसले अम्बिका दिदीसँगै भारतको बडौदा गएर सितारमा डिस्टिङ्सनसहित डिप्लोमा गरेकी थिई । एक भेटमा, अम्बिका दिदीको घरमा मीराले भनेकी थिई, ‘तिमी शान्ति निकेतनबाट नृत्य सिकेर आयौ, म बडौदाबाट सितार । म सितार बजाउँछु, तिमी नृत्य गर है ।’

तर, त्यो दिन कहिल्यै आएन ।

सानोमा फरासिली, उज्याली, गफ गरिरहने मीरा पछिका दिनहरूमा प्रत्येक भेटमा निराश र उदासीन भएको पाउँथेँ । हिमाल अस्पतालमा उसलाई भेटेर आएको दिन बाटोभरि उसले मलाई चिनेर फ्यास्स हाँसेको सम्झिरहेँ । अब मीरा यस लोकमा छैन, अहिले म छु र मसँग छन् बाल्यकालमा ऊसँग बिताएका सम्झना ।

जीवनको उत्तरार्द्धमा मलाई छक्क लाग्छ— मैले बाल्यकालमा देखेका साधारण मीत–बा अहिले कसरी असाधारण कवि भए ? काठमाडौं मैतीदेवीको एक कुनामा रहेको काँचो इँटाको घरका स–साना झ्यालहरूबाट उनले कसरी विश्वदर्शन गरे ? प्रकृतिको सौन्दर्य–चेत उनमा कसरी व्याप्त भयो ? ‘के नेपाल सानो छ’ शीर्षक निबन्धमा उनको अन्तर्दृष्टिले सम्पूर्ण नेपाललाई कसरी परिभाषित गर्‍यो ? ‘मुनामदन’ मा निहित जीवनदर्शन आम नेपालीको रोजाइ र भोगाइ कसरी हुन पुग्यो ? रवीन्द्रनाथ ठाकुरको नोबेल पुरस्कारप्राप्त ‘गीताञ्जली’ को ‘धुली मन्दिर’ कविता पढेपछि मलाई देवकोटाको ‘यात्री’ कविताको स्मरण भयो । यो कस्तो सामञ्जस्य हो ? भौगोलिक दूरी भए पनि के कवि–लेखकको सोच उस्तै हुन्छ ?

गत महिना छापाहरूमा श्रमिकहरूले धूलो उडाउँदै कविकुञ्ज भत्काइरहेको दृश्य देखियो । कत्ति प्रतिक्रिया आए ! सरुभक्तले त प्रधानमन्त्रीलाई सम्बोधन गरेर कान्तिपुर ‘कोसेली’ मा लामै पत्र लेखे । पोखराको अर्चलेमा कवि शिरोमणि लेखनाथ पौड्यालको पुरानो घर जोगाएर सँगै अर्को घरमा संग्रहालय बनाएका रहेछन् । म, सरुभक्त र कवि तीर्थ श्रेष्ठ पनि सँगै गएका थियौं । लेखनाथ आफ्नो जन्मथलो अर्चलेमा धेरै नबसे पनि पोखरावासीले उनको साहित्यिक व्यक्तित्व सम्झिएर, सम्मान दिएर उनको जन्मथलोको संरक्षण गरेका छन् ।

पुरानो खरको छानाको घर चिटिक्क पारेर सिँगारिएको छ, यद्यपि घर कमजोर अवस्थामा रहेकाले त्यहाँभित्र पसेर हेर्न भने निषेध छ । घरसँगै रहेको संग्रहालयमा उनीसँग सम्बन्धित फोटोहरू, परिवारजनको फोटो, त्यसबखत उनले सुत्न प्रयोग गरेको खाट, अरू काठ र माटाका सामान प्रदर्शनार्थ राखिएका छन् । संग्रहालयवरिपरि बाटोमा क्रमशः कविका छन्दोबद्ध कविताका पंक्ति शिलालेखमा कुँदिएका छन्, उभिएर पढिरहूँजस्तो । हाल नगरपालिका नै उनको नाममा राखिएको छ— लेखनाथ नगरपालिका । के मैले आफ्नो जीवनकालमै महाकवि देवकोटाको भत्काइएको कविकुञ्जको ठाउँमा उनको संग्रहालय हेर्न पाउँला ? आशा गरूँ ! सरकारको काम नरहे बाँस न बजे बाँसुरीजस्तो नहोस् ।

विदेशमा त्यस्ता साहित्यकार वा ठूला नेताको निधनपछि तत्काल त्यो निधि, त्यो घर सरकारको संरक्षणमा हुन्छ । जस्तो भारतमा गान्धी, नेहरू, इन्दिरा गान्धी र कविगुरु रवीन्द्रनाथका घरहरू देखेँ । लन्डन भ्रमणमा जोन किट्स र चार्ल्स डिकेन्सका घरहरू देखेँ । तिनै पुराना घरलाई संग्रहालयमा परिणत गरिएका छन् । किट्सको घरमा उनले लेखेका हस्तलिखित कविता र चिठीपत्र ऐनाका दराजभित्र बन्द गरिएका छन् । उनले भान्साघरमा प्रयोग गर्ने गरेको पुरानो शैलीको दुईमुखे चुल्हो, बसेर पढ्ने टेबल–कुर्सी सबै यथास्थानमा राखिएका छन् । त्यही घरको एउटा कोठामा किट्सबारे अध्ययन, अनुसन्धान गर्नेहरूका लागि, नयाँ पुस्ताका लागि कम्प्युटर, फोटोकपी मेसिन उपलब्ध छन् ।

हाम्रो मानसिक दरिद्रता र अर्थाभावका कारण हामीमा संग्रहालयको सोच अझै विकसित भएको छैन । परिवारका ठूला मानिस जीवित रहँदा हामी उनीहरूको महत्ता बुझ्दैनौं । घरकी मुर्गी साग बराबर भनेजस्तै हो । देवकोटाका सम्बन्धमा पनि त्यस्तै भयो । उनले लेखेका, प्रयोग गरेका चीजबीजको उचित संरक्षण भएन । अब संग्रहालयमा के राख्ने ? उदाहरणका लागि बीपी, गणेशमान आठ वर्ष बसेको सुन्दरीजलको संग्रहालयकै कुरा गरौं । स्थानीयहरूको पहलमा संग्रहालय त छ, तर त्यहाँ नेताहरूले प्रयोग गरेका वा उनीहरूका निजी सामान जति हुनुपर्ने हो, छैन ।

मेरी आमा भन्नुहुन्थ्यो, ‘अकबरी सुनलाई कसी लाउनु पर्दैन ।’ देवकोटा अकबरी सुन थिए, उनको सालिकलाई भव्य महलमा स्थापित गरे पनि उनको आत्मा उही कविकुञ्जको सानो काँचो इँटाको घरमा त कतै छुटेन ? यो अकल्पनीय सोचाइ ममा कसरी आयो ? कविकुञ्जको खाली जग्गा देखेपछि हठात् विस्मित र आश्चर्यचकित भएर ठिंग उभिइरहेँ । त्यो साँघुरो सडकमा एकातिर गिट्टीको थुप्रो थियो, अर्कातिर कविकुञ्ज भत्काइएको खाली जग्गा । दाहिनेतिर पदमको घर बगैंचामा गुलाबी रङका गुलाबका फूलहरू ढकमक्क फुलिरहेका थिए । मीत–बाको कविताको दुई पंक्ति गुन्गुनाउन मन लाग्यो—

फुल्दो गुलाबबीच ज्ञान अनेक फुल्छन्

उद्यानमा बस गई सब तत्त्व खुल्छन् ।

त्यो दिन देवकोटाको स्मृति दिवस अर्थात् भदौ २९ गते, २०७८ रहेछ ।

प्रकाशित : आश्विन २, २०७८ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्

हिमाली दुःख आख्यानमा

मणि लोहनी

साहित्यको समालोचक/समीक्षक होइन म । कथा, कविता लेख्न रहर गर्ने र मिलेसम्म राम्रा किताब पढ्न खोज्ने एक सामान्य पाठक हुँ । म यहाँ नीलम कार्की निहारिकाको नयाँ उपन्यास ‘द्रौपदी अवशेष’ माथि समालोचकीय सिद्धान्तभन्दा पर रहेर सिलसिला नमिलाई एक सामान्य पाठकीय अनुभूति राख्न चाहन्छु । उपन्यासका दुई फरक संवादले निकै प्रभावित बनाउँछ ।

पहिलो संवाद लेखक नीलमले आफ्नो भनाइमा लेखेकी छन्, ‘म आएकी हुँ, कर्णालीबाट द्रौपदी अवशेष लिएर ।’ लेखकको यो उद्घोष उपन्यासका प्रत्येक पानामा पटक–पटक महसुस गर्न सकिन्छ । र, अर्को संवाद छ, आरम्भमा पेमाले भनेको, ‘मलाई पनि साथै लैजा है ।’ साथमाथिको भरोसाबाट सुरु भएको यो उपन्यास पढुन्जेल रित्तोपनको आभास भइरहन्छ ।

माथिका दुवै संवादमा उपन्यासको भिन्न स्वभावको अनुमान र परिकल्पना गर्न सकिन्छ । अझ हुम्लाका जनप्रतिनिधि छक्कबहादुर लामाले लेखेका छन्, ‘संसारबाट विलुप्त, दुर्लभ र प्राचीन महाभारतकालीन द्रौपदी (बहुपति) वैवाहिक प्रथा उत्तर हुम्लाजस्तो अति दुर्गम हिमाली क्षेत्रमा पाइनुले अन्यथा अर्थ राख्दैन ।’

छक्कबहादुरको यो उद्घोषले थप रोमाञ्चित बनाउँछ । सजिला र छोटा वाक्यहरूमा लेखकले हिमाली–कथा लेखेकी छन् । र, बहुपति प्रथालाई खुलस्त पारेकी छन् । नेपाल हिमाली मुलुकका रूपमा विश्वमानचित्रमा परिचित छ । तर, हाम्रोमा हिमाली भेग र परिवेश समेटिएका साहित्य कम छन् । मैले पढेका थोरै हिमाली साहित्यमा अति उम्दा लागेको दौलतविक्रम विष्टको ‘हिमाल र मान्छे’ हो । त्यसपछि नीलमको ‘द्रौपदी अवशेष’ ले मलाई रन्थन्याएको छ ।

‘चपाइएका अनुहार’, ‘ज्योति ज्योति महाज्योति’ जस्ता अब्बल उपन्यासका सर्जक दौलतविक्रम विष्टको ०४५ सालमा एकेडेमीबाट प्रकाशित ‘हिमाल र मान्छे’ को उति चर्चा भएन । त्यो चालीसको दशकको हिमाली परिवेशमाथि लेखिएको प्रेम–कहानी हो । किताबमा हिमाली भेग र त्यहाँको जनजीवन समेटिएको छ । हिउँजस्तै चिसा मानिसका कथा र उनीहरूको जीवन पढ्न सकिन्छ, ‘हिमाल र मान्छे’ मा ।

नीलमको ‘द्रौपदी अवशेष’ हिमाली भेग, हिमालको जीवन र सांस्कृतिक यथार्थको आख्यान हो । यसमा हिमाली भेगमा विद्यमान बहुपतिप्रथा र त्यसले स्वास्नीमानिसका मनमा उब्जाएको रित्तोपना लेखिएको छ— त्यो पनि पुरुष मनोविज्ञानको आँखाबाट । पुरुष हेराइमा महिला–मनको खालीपनालाई नीलमले आख्यानमा उतारेकी छन् ।

सजिलो भाषामा लेखकले एक नारी–मनको रित्तोपनालाई विभिन्न सन्दर्भ र प्रसंगबाट व्यक्त गरेकी छन् । मनैमनले भरिभराउ छिन्झैं लाग्ने पेमा, संसार बुझेझैं लाग्ने दिग्विजय र आफैंभित्र कतै हराइरहेको ग्याल्जेनका माध्यमबाट नीलमले सुन्दर भावनात्मक कथा बुनेकी छन् !

उपन्यास पढ्दा नियात्रा पढिरहेझैँ पनि लाग्छ । यात्रा उपन्यासै भने पनि फरक नपर्लाजस्तो ! कर्णालीको हुम्ली सभ्यता, संस्कृतिको जानकारी लिन चाहनेका लागि किताब उपयोगी छ । आफ्नै देशको ओझेलमा परेका संस्कृतिको पहिचान, ऐतिहासिक जानकारी, भौगोलिकता, परम्परा, धार्मिक एवं पारिवारिक जानकारी छ उपन्यासमा । गज्जब त के भने हिमाली भेगको दैनिकी, मृत्यु–संस्कार, अभाव र दरिद्रताको स्केच उपन्यासमा छ । लाग्छ, शब्दहरूले तयार पारेको एक सजीव चित्र हो उपन्यास । बहुपति र बहुपत्नीबारे पक्ष–विपक्षमा हुने तर्क–वितर्कले उपन्यासकारको कुशलता प्रस्टिन्छ । माया–प्रेमका सन्दर्भमा नीलमले आफूलाई निकै सम्हालेर प्रस्तुत गरेकी छन् । प्रेमको संवेगमा उनले आफ्ना पात्रलाई हतारिन दिएकी छैनन् । सबैभित्र छ चाहना, तर सभ्यताले छोपिएका या छोप्न बाध्य पारिएका मान्छे छन् ।

दुई खण्डको उपन्यासमा नीलमले दुर्गम जिल्ला हुम्लाको पनि अति दुर्गम उत्तरी भेगको ग्रामीण परिवेशमा रहेको चलन लेखेकी छन् । समाजशास्त्रीय शैलीमा उनले त्यहाँको बहुपति प्रथा केलाएकी छन् । अमेरिका बसेर नेपालको हिमाली भेगको चलन हुबहु उतार्नु पक्कै चानचुने कुरा होइन । किताब हिमाली भेगको दुःखको कथा हो । पवित्र प्रेमको कथा हो । बहुपति प्रथाविरुद्धको कथा हो । ग्रामीण भेगको सुन्दर वर्णन र सामाजिक विविधताको राम्रो अध्ययन किताबमा छ । लेखकले उपन्यासमा बहुपति प्रथाको कुरीतिमाथि बोलेकी छन्, तर लेखक हाबी भएको आभास कतै हुँदैन । आफूले नबुझेको संस्कृति र प्रचलनलाई ठाडै इन्कार गरिएको छैन, बरु जे हो त्यो देखाएर ‘यो नै गलत रहेछ’ भन्ने बुझाउन लेखक तम्तयार छन् ।

बहुपति प्रथामाथि केन्द्रित उपन्यासले इतिहास र वर्तमानको पुल बनेर एउटा कथा भनेको छ । कथामा द्रौपदीको जस्तै बहुपति विवाह संस्कार मूल विषय छ । यस विवाह प्रथा हाम्रो देशमा पनि विद्यमान छ, लोपोन्मुख छ । भारतका हिमाचल प्रदेशलगायत केही स्थानमा बहुपति प्रथा छ भन्ने अध्ययनले देखाएका छन् । त्यस्तै तिब्बत र भुटानमा पनि छ । श्रीलंकामा पनि थियो भन्ने अध्ययनले देखाएको छ । दक्षिण अफ्रिकाका केही स्थानमा अहिले पनि बहुपति विवाह गर्ने चलन देखिन्छ ।

नीलमले केवल मनोविनोद्का लागि कल्पनाको जलप लगाएर लेखेको उडन्ते उपन्यास होइन यो, वास्तविकता उजागर गर्न भरमग्दुर प्रयास गरेर लेखिएको यथार्थ र जीवन्त दस्तावेज हो । यहाँ उनले मनका भाव कुशलतापूर्वक लेखेकी छन् ।

मुख्य पात्र दिग्विजय, ग्याल्जेन र पेमा– तीनै जनाको चरित्र चित्रण गज्जब छ । पूरै उपन्यास पेमाकै वरिपरि घुमिरहेको छ । एउटा अचम्मको पात्र छ— जसलाई सबैले प्रेम गर्छन्, उसको पीडामा सबै दुःखी हुन्छन् । बेलाबेला लाग्छ, स्वयं दिग्विजय पेमालाई प्रेम गर्छ । उपन्यास पढिरहँदा नपत्याउँदो किसिमले म आफैँ पेमालाई प्रेम गर्न पुग्छु । र, मलाई विश्वास छ— मझैं धेरै पाठकले पेमालाई प्रेम गर्नेछन् ।

एक ठाउँमा दिग्विजय भन्छन्, ‘पेमाको नकोरेको कपाल, नधोएको अनुहार पनि कति स्निग्ध ! कृत्रिमता थिएन त्यहाँ । थियो— सुन्दरता, निश्छलता अनि कोमलता ।’

तीन पात्रमार्फत हिमाली भेग र हुम्ली जीवन किताबमा लेखिएको छ । संस्कृतिको आडमा एउटी महिला एकभन्दा बढी पुरुषको ‘श्रीमती’ बनेर बस्नु कति पीडादायी होला ? दिग्विजयबाहेक अन्य पात्रले बोलेको भाषाको आञ्चलिक सौन्दर्यले प्रारम्भदेखि नै पाठकलाई प्रभावित पार्छ ।

किताबको विषय र प्रचलनमाथि प्रश्न उठाउन सकिँदैन । हरेक सन्दर्भ स्वीकार्य छन् । बरु प्रमुख पात्र पेमालाई नै नीलमले धेरै जिम्मेवारी दिएकी हुन् कि भन्ने लाग्छ बेलाबेला । छपाइमा केही शब्द गल्ती भएका छन् । सामाजिक अभियन्ता, राजनीतिकर्मी, योजनाविद्ले यो किताब पढ्नुपर्छ भन्ने मेरो ठम्याइ छ ।

प्रकाशित : आश्विन २, २०७८ १०:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×