त्यो हिँडाइ, यो साइक्लिङ- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्यो हिँडाइ, यो साइक्लिङ

सहरमा कमजोर र गरिबहरू कसरी बस्छन् वा आइपुग्छन् ? खुट्टाले सडक नाप्ने समयमा म यो प्रश्नका धेरैखाले जवाफ पाउँथें । साइकल हुइँक्याउन थालेका यी अढाई वर्षमा सहरले कहिल्यै नदेख्ने ती मानिसहरूसित फेरि मेरो भेट भएको छैन ।
जीवन क्षत्री

मध्याह्नको समय । पानी नपरेको बर्खाको दिन । पातलो बादल छेडेरै साइकलको सिट तताउने गरी सूर्यको ताप आइरहेकाले उखुम गर्मी थियो । त्यसमाथि पानी बोक्न बिर्सेछु । 

मधेसको मैदान छाडेर महाभारत शृंखला सुरु हुने पहिलो पहाड । मैले तेर्सो सडक छिचोलेर उकालोमा साइकल चलाउन सुरु गरें । पैंचालीस डिग्रीसम्मको उकालोमा साइकलको गति धीमा हुँदै गयो । मिटर ३ किमि प्रतिघण्टामा झर्‍यो । आँखाका परेलाहरूमा ढिक्का जम्मा हुने गरी पसिना आयो । कछुवा गतिमा उकालो लागे पनि थकाइ बढ्दै गयो । एकै छिनमा थकानलाई तिर्खाले उछिन्यो । तर, झन्डै तीन किलोमिटर उकालो नछिचोली पानी पाउन सम्भव थिएन ।

अन्ततः म त्यो बाटो छिचोलेर एउटा खाजा पसलमा पुगें र एक लिटर पानी तन्काएँ । तर, त्यसअगाडि नै शरीरको एउटा अंगले लत्तो छाडेछ । त्यो साँझदेखि मलद्वारमा बेस्सरी पीडा हुन थाल्यो । पर्सीपल्ट सर्जनलाई देखाएँ, पाइल्स रहेछ । त्यसमा पनि जटिलता आइसकेछ । फुलिएका नसामा रगत जमेर बनेको कडा डल्लोले घोचेर मलाई तीव्र पीडा दिएको रहेछ । तुरुन्त त्यसलाई चिरेर निकाल्नुपर्‍यो ।

अपरेसनपछि दुई सातासम्म निवृत्त हुँदा असहनीय पीडा भयो । त्यो पीडाले मलाई आफ्नो जीवनशैली बदल्न बाध्य बनायो । फर्केर हेर्दा दुई किसिमले मैले आफ्नो स्वास्थ्यप्रति निकै खेलबाड गरेछु । एक, पानी कम पिउने । दुई, नहिँड्ने ।

...

कुनै समय म चितवनमा कार्यालयदेखि घरसम्मको झन्डै छ किमि दूरी अक्सर हिँडेर पार गर्थें । फुर्सद भए बिहान पनि हिँडेरै काममा गइदिन्थें । जुत्ता खुब फाट्थे ।

२०६५ देखि पाँच वर्ष खुब मोटरबाइक चलाएँ । तर ०७० सालतिरबाट देब्रे हातको नाडी दुख्न थाल्यो । असहज भएपछि चटक्कै साधनहरू चलाउन छाडिदिएँ, मोटरबाइक बेचिदिएँ । एकाध किमिको दूरी खुट्टाले लम्केरै हिँड्ने थालें । काठमाडौंमा पढाइ सकेर चितवनमा रोजगारी थालेपछिको नयाँ दैनिकीमा एकदेखि तीन घण्टासम्मको हिँडाइ मज्जाले मेल खायो ।

अर्को पाँच वर्षपछि बिहे भयो, बूढीले घरमा पाको स्कुटर भित्र्याइन् । अचानक म पनि आधा स्कुटरको मालिक भएँ । केही साता उनले मलाई पछि राखेर हुइँक्याइन् । स्कुटर हाम्रो गतिवान् रोमान्सको सारथि बन्यो । त्यसै क्रममा मैले एकाधपल्ट डराई–डराई स्कुटर चलाउने प्रयास गरिहेरें । अब नाडी दुखेर अरू काम पनि ठप्प होला भन्ने मेरो डर थियो । तर, परिणाम उल्टो निस्क्यो । चलाउँदा चलाउँदै त हात दुखेन नै, अरू बेला दुख्ने दर पनि घट्दै गयो । त्यसपछि मैले नियमित स्कुटर र मोटरबाइक चलाउन थालें ।

तर, दुईपांग्रे साधनको पूरा आनन्द लिनुअघि एउटा औपचारिकता बाँकी थियो । ०६४ सालमा निकालेको मोटरबाइकको लाइसेन्सको दसवर्षे आयु सकिएको थियो । म अनलाइन फर्म भरेर लाइसेन्स परीक्षा दिन काठमाडौं पुगें । लिखितमा पास भएँ, तर ट्रायलमा फेल । त्यसैको झोंकमा मैले चितवन फर्केपछि सस्तो गियरवाला साइकल किनें । अब म आधा स्कुटर र आधा साइकलको मालिक भएँ ।

त्यो साइकल किनेको पहिलो वर्षमै म साइकलको व्यवसायी र साइक्लिङ अभियन्ता बनें । काठमाडौं जानेबाहेक मेरा सबैजसो यात्राका लागि साइकल काफी हुन थाल्यो । अफिस र घर गर्दा मात्रै मैले नियमित मासिक ४०० किमि हाराहारी साइकल चलाउन थालें । दोस्रो वर्षमा साइकललाई बागलुङका अग्ला पहाडहरूमध्ये एक हाँडीकोटको टुप्पोमा पुर्‍याएँ । त्यहाँबाट फर्कने क्रममा बागलुङ र गुल्मी जिल्ला छिचोलेर कालीगण्डकी कोरिडोर हुँदै पाल्पाको रिडी बजारसम्म साइकल चलाएँ । चितवनको शक्तिखोरदेखि उपर्दाङगढीसम्म उकालो साइकल दौडमा भाग लिएर नौ जनामा सातौं भएँ । एक सपना साइकल र सफा नेपालको अभियानसित मिलेर हाम्रो कम्पनीले १२१ साइकल यात्रीलाई भरतपुरबाट नेपाल–भारत सीमाको चुरे पहाडको चुचुरोमा रहेको सोमेश्वरगढीसम्म पुर्‍याएर फर्कायो ।

यसरी जीवनमा साइक्लिङ अघिअघि लागेपछि पैदल यात्राचाहिँ पछिपछि छुट्दै गएछ । मलद्वारको अपरेशनपछि जब सर्जनले कब्जियत रोक्ने सजिलो उपाय रेसादार खाना र पर्याप्त पानीबाहेक दिनमा केही किलोमिटर नियमित हिँड्नु हो भने, म त झसंग भएँ । साइकल चढ्न थालेपछि दैनिक केही सय मिटर हिँड्न पनि छाडिएछ ।

...

फर्केर हेर्दा लाग्छ, साँझ परेपछि सडकछेउमा लुखुरलुखुर डेढ घण्टासम्म हिँड्नु मेरा लागि मानसिक रूपले समेत निकै लाभदायी बनेको थियो । २०७३ पुस १६ मा ट्वीटर र फेसबुकबाट बाहिरिएपछि मसित फुर्सदै फुर्सद थियो । न दिनमा सयवटा हेडलाइन पढ्नु, न टाइमलाइनमा कुण्ठा पोखेर कमेन्ट कुर्दै बस्नु । त्यसरी निस्केको समयमा मैले मानिस जातिको इतिहास खोतल्ने विचार गरें । युट्युबमा इतिहाससम्बन्धी वृत्तचित्रहरू खोजें र हेर्न प्रयास गरें । तर, त्यसको केही समयअगाडि नै आँखा सुक्खा हुने र स्क्रिन धेरै बेर हेर्न नसक्ने समस्या आइसकेको थियो ।

जहाँ इच्छा त्यहाँ उपाय भनेझैं सडकको हिँडाइ र वृत्तचित्रको सुनाइ एकअर्कासित ठ्याक्कै मिले । अफिसबाट निस्कने बेला मोबाइलमा एकदेखि डेढ घण्टाको वृत्तचित्र डाउनलोड गर्‍यो, खल्तीमा राखेर सुन्दै हिँड्यो । घर पुग्दा एउटा सिंगो युगसित साक्षात्कार भइसक्ने । समय बितेको वा खुट्टा गलेको पनि पत्तै नहुने । वृत्तचित्रको अडियो त्यसरी सुन्ने बानी लागेपछि बिस्तारै त्यसको दृश्य भागको अभावसमेत महसुस हुन छाड्यो ।

लगत्तै मैले अडियोबुक्स नामक एपबाट किताबहरू पनि सुन्दै हिँड्न थालें । तीमध्ये हेनरिक इब्सेन र ओस्कार वाइल्डका केही नाटकहरू त मैले दर्जनौंपल्ट दोहोर्‍याएर सुनें । ती नाटकले मलाई सहजै डेढ सय वर्षअगाडिको नर्वेली वा दुई सय वर्षअगाडिको बेलायती समाजमा विचरण गराउँथे । आन्तोन चेखवको ‘द सिगल’ नाटक मैले पहिलोपल्ट त्यसरी नै सुनेको हुँ ।

त्यसपछिका केही वर्ष मेरो पदयात्राले विश्वव्यापी पोडकास्टिङ क्रान्तिलाई अँगाल्यो । आजको साइकल युगमा पनि म पोडकास्ट निकै सुन्छु तर घण्टौंको हिँडाइमा जसरी पोडकास्ट सुन्न सम्भव थियो, त्यो अहिले सम्भव छैन । जस्तो कि, फ्रान्सेली क्रान्तिबारे माइक डंकनको झन्डै ३० घण्टा लामो ५५ पोडकास्टको शृंखला मैले ती दिनमा आद्योपान्त सुनें । अरू क्रान्तिहरू समेत गरेर १५० घण्टा जति डंकनका पोडकास्टहरू मात्रै सुनें । तिनले मलाई क्रान्तिकालीन फ्रान्स र अरू युरोपेली देशहरूको जीवन्त मानसिक यात्रा गराएर मनमा गहिरो छाप छाडे । अहिले पनि घर जाने सडकका केही खण्डहरूमा पुग्दा झलक्क याद आउँछ ः मैले कुनै दिन यहाँनिर हिँड्दै गर्दा फ्रान्सेली क्रान्तिको त्योचाहिँ घटना विशेषका बारेमा सुन्दै थिएँ ।

अहिले पनि साइकल चलाउँदै पोडकास्ट सुन्ने मेरो सोख छ तर साइकलले धेरै छिटो गन्तव्यमा पुर्‍याउने हुँदा दस मिनेटदेखि आधा घण्टासम्मका पोडकास्ट सुन्न मात्रै सहज हुन्छ ।

...

पुसको एउटा छोटो दिनमा म कार्यालयबाट लुखुरलुखुर घर फर्कंदै थिएँ । बाटोमा लठ्ठी टेकेर हिँडिरहेकी बयोवृद्ध महिला भेटिइन् । धनुषाकार शरीर, बन्द भइहाल्लान्झैं लाग्ने परेलाभित्र धमिला भइसकेका आँखा, मुजैमुजा परेको अनुहार अनि गुफाबाट निस्केजस्तो लाग्ने मसिनो बोली !

केही दिनअघि पहाडबाट कुनै आफन्तकोमा झरेकी रहेछिन् । त्यहाँबाट अर्को आफन्तकोमा पुगेर फर्कने क्रममा बाटो हराएर दिनभरि भरतपुरका भित्री सडकहरूमा चक्कर लगाइछन् । आफन्तको घर कुन ठाउँ भनेर सोध्दा भन्न पनि सकिनन् । खाली ‘छेउमा नहर छ’ मात्रै भनिन् । मैले उनलाई घरनजिकैको नहरको डिलतिर लिएर गएँ । तर, एक छिनपछि उनले ठाउँको याद आएझैं गरेर ‘पारसनगर’ भनिन् ।

त्यहाँबाट अरू डेढ घण्टा उनलाई लिएर पैदलै म पारसनगरको दिशातिर गएँ । बाटैमा साँझ पर्‍यो, उनका आँखाले ठ्याम्मै काम गर्न छाडे । चोकबजारनेरको अर्को नहरको किनारै किनार उनलाई पाखुरा समातेर डोर्‍याएँ र सुकुम्बासी बस्तीका मानिसहरूलाई ‘यी आमैलाई चिन्नुहुन्छ ?’ भनेर सोध्दै गएँ । साँझपख काउछो आइलागेझैं मान्छेहरू टक्टकिए । झमक्क अँध्यारो भयो । मलाई घर फर्कन ढिलो, आमैका घुँडा बस्लान्जस्तो भइसक्यो । पुसको जाडोमा पनि मैले चिटचिट पसिना छाडें । आखिर बाटोमा आगो ताप्दै गरेका केही युवतीहरू भेटिए । मेरो बेलिबिस्तार सुनेपछि उनीहरूले आमैको जात सोधे । त्यो दलित बस्ती रहेछ । पहाडबाट झरेर हराएकी दलित महिला देखेपछि उनीहरूको मन पग्ल्यो । उनीहरूले ‘आमा आज यतै बसौं, भोलि हामी पारसनगर पुर्‍याइदिउँला’ भने । म राहतको लामो सास फेर्दै अँध्यारोमा अर्को एक घण्टा लम्केर घर पुगें ।

त्यसको केही महिनामा भरतपुरमै लमजुङ जाने बाटो सोध्दै हिँडेका अर्का वृद्ध भेटिए । तिनलाई हिँडाउँदै नारायणीमा पुर्‍याएँ । त्यहाँ नुहाउन र लुगा फेर्न लगाएर तिनलाई बेंसीसहरको गाडी चढाएर पठाइदिएँ ।

अलि मिहिनेत परेकाले यी प्रसंग मलाई याद छन् । तर, केही दिनको अन्तरमा सडकमा कोही न कोही त्यस्तो मानिस भेटिन्थ्यो, जसलाई बाटो बताइदिँदा मात्रै पनि धेरै सहयोग पुग्थ्यो । मैले आफ्नो मोबाइलबाट गरिदिएको एक कलले नै जसको ठूलो संकट दूर हुन्थ्यो ।

सहरमा कमजोर र गरिबहरू कसरी बस्छन् वा आइपुग्छन् ? उनीहरूलाई कस्ता विपत्ति आइलाग्छन् ? ती विपत्ति झेल्न उनीहरूलाई कति मुस्किल पर्छ ? खुट्टाले सडक नाप्ने समयमा म यी प्रश्नका धेरैखाले जवाफ पाउँथें । साइकल हुइँक्याउन थालेका यी अढाइ वर्षमा सहरले कहिल्यै नदेख्ने ती मानिसहरूसित फेरि मेरो भेट भएको छैन ।

...

कहिलेकाहीँ सोच्छु, मेरो नाडीमा हठात् सुरु भएको रहस्यमय दुखाइका कारण पाँच वर्षमा मैले धेरै कुरा गुमाएँ । तर, के मेरो हात नदुखेर निरन्तर साधन चलाएको भए मैले यतिका अनुभव बटुल्थें ? के सयौं घण्टासम्म वृत्तचित्र र पोडकास्टहरू सुन्थें ? के दिनभर खानु न पिउनु सडकमा चक्कर लगाएकी बूढीआमैलाई बाटैमा घुक्रुक्क लड्नुअगाडि उद्धार गर्न सक्थें ? के बसवालाले ढोकाबाट छिर्न नदिने हुलिया भएका लमजुङे बालाई मैले झैं अरू कसैले नारायणीमा पुर्‍याएर नुहाइधुवाइ गराएर बस चढाइदिन्थ्यो ?

फर्केर हेर्दा लाग्छ, बाध्यताजन्य भए पनि पैदलयात्राले विशेषज्ञ चिकित्सक भइसकेको मलाई पहाडबाट झरेका विपन्न र दलित वृद्धवृद्धाहरूकै धरातलमा उभ्याइदिएको थियो । उनीहरूको र मेरो हिँडाइको गति उस्तै थियो, संसारलाई हेर्ने कोण एउटै थियो ।

अब साइकल चलाउन थालेपछि मेरो गति बढेको छ । मिटर भन्छ, मेरो औसत गति १२.६ किमि प्रतिघण्टा छ । सडकमा हिँड्नेहरू ३–६ किमिभन्दा बढी हिँड्न सक्दैनन् । त्यसैले उनीहरूको संसार अब मभन्दा निकै पछि छुटिसकेको छ । अब मलाई कसैले पारसनगर वा लमजुङ जाने बाटो सोध्दैनन् । म गन्तव्यमा पहिलेको आधाभन्दा पनि कम समयमा पुग्छु, तर पनि मलाई आफूभित्रको मानवताको एउटा हिस्सा तिनै ढिलो हिँड्ने मानिसहरूसितै छुटेको र आफू अधुरो, अपुरो भएको महसुस हुन्छ ।

चढ्नलाई साधन नहुनेहरू मेरो साइकलभन्दा त त्यति पछि छुटे भने ५० किमिको गतिमा हुइँकिने नीति निर्माताहरूसित उनीहरूको दूरी कति होला ? सर्वहाराका लागि स्वर्ग बनाउँछौं भनेर राजनीति गर्नेहरू समेत सडकको धूवाँ, धूलो छिचोलेर साधन र घर नहुनेहरूसित ताल मिलाएर हिँडेको कहिल्यै देख्नुभएको छ ? कोभिडको लकडाउनमा हिँडेरै सयौं किमि छिचोल्नेहरू त्यसै राज्यको नजरबाट लुकेका होइनन् । अनि दसौं किमि छिचोलेर मनकारीहरूबाट निःशुल्क तातो भात खान आएकाहरूका पेटमा जनप्रतिनिधिहरूले यसै निषेधाज्ञा जारी गरेका होइनन् । मलाई लाग्छ, रगत जमेको पाइल्सले मलाई महिना दिनसम्म दिएको पीडा म स्वार्थी हुँदै गएकोमा मैले पाएको दण्ड थियो । तर, निहित स्वार्थका सबै किल्लाहरू पार गरिसकेका यो देशका राजनीतिज्ञहरू कहिले दण्डित हुने हुन्, थाहा छैन ।

प्रकाशित : भाद्र २६, २०७८ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्

विचारशून्य राजनीतिको जोखिम

विचारबिनाको अँध्यारोमा तरबार चलाएर नेपालको गरिबी र कुशासन हटाउँछौं भन्ने तिलस्मीहरूलाई हामीले भन्नु जरुरी छ— विकास चाहिएको त हो तर त्यो समता, न्याय र स्वतन्त्रताको धरातलमा खडा हुनुपर्छ ।
जीवन क्षत्री

न हामी राजतन्त्रवादी, न हामी गणतन्त्रवादी; हामी त विकास, सुशासन र समृद्धिवादी । हामीजस्ता सक्षम र इमानदार मानिसहरूले बनेको दलको सत्तारोहण भयो भने विकास र समृद्धि आइहाल्छ, त्यसैले व्यर्थै विचार वा मूल्य–मान्यताको गलफत्तीमा किन पर्ने ? अनि परस्पर विरोधी भए पनि मौसमअनुसारका नारा र एजेन्डाहरू उरालेर लोकप्रियता किन हासिल नगर्ने ?

केही दिनदेखि ‘वैकल्पिक’ राजनीतिको यो सूत्र नेपालमा चर्चामा छ । नाम वा बदनामी जेका लागि भए पनि चर्चामा आउन ‘स्टन्ट’ हरू गरेर इतिहास नै बदलेको आत्मरतिमा रमाउनेहरूको यहाँ नाम लिएर तिनलाई पुरस्कृत गर्नु जरुरी छैन । तर तिनले आम मानसमा छरिरहेको भ्रम चिर्न भने जरुरी छ ।

नेपालमा वैकल्पिक राजनीति गर्ने भनेर पार्टीहरू बन्ने बेला भारतको आम आदमी पार्टी (एएपी) को खुब चर्चा हुन्थ्यो । अहिले पनि आम आदमी पार्टीको नाम लिनासाथ हामी धेरैको दिमागमा दिल्लीमा शिक्षा र स्वास्थ्य क्षेत्रमा आएका व्यापक सुधारहरू आउँछन्, निःशुल्क बिजुली आउँछ । त्यसैले नेपालमा पनि वैकल्पिक राजनीति सफल भयो भने धेरथोर भए पनि सुशासनमा बढोत्तरी आउला भन्ने धेरैको अपेक्षा हुने गर्छ । तर अरविन्द केजरीवालको एएपी दिल्लीमा कसरी सरकारमा पुग्यो र त्यहाँ पुगेपछि के गर्‍यो अनि उसको वैचारिकी कसरी विकास भयो भन्ने विषयमा नेपालमा पर्याप्त बहस वा मन्थन भएको छैन । त्यसैले एएपीका झट्ट हेर्दा नदेखिने पाटाहरूबारे पनि हामी जानकार हुनु आवश्यक छ ताकि भारतीय मतदाताले गरेको गल्ती दोहोर्‍याउनबाट हामी बच्न सकौं ।

भारतीय कांग्रेसका डा. मनमोहन सिंहको कार्यकालको अन्ततिर भारतमा अन्ना हजारेको नेतृत्वमा भ्रष्टाचारविरोधी आन्दोलन चर्क्यो । त्यही आन्दोलनका बलमा केजरीवालले भ्रष्टाचारविरुद्धको ‘क्रुसेडर’ को छवि बनाए । लगत्तै उनी एएपी बनाएर चुनावी राजनीतिमा छिरे । दिल्ली राज्यको राजनीतिमा सन् २०१३ को चुनावमा एएपी भाजपापछिको ठूलो दल बनेर उदायो र कांग्रेससित मिलेर गठबन्धन सरकार बनायो । केजरीवालको पहिलो सरकार ४९ दिनमै ढले पनि ७० सिटको दिल्ली संसद्‌मा उनको पार्टीले २०१५ को चुनावमा ६७ सिट जित्यो । २०१९ को आम निर्वाचनमा दिल्लीका सबै क्षेत्रमा हारे पनि २०२० को राज्य निर्वाचनमा फेरि ६२ सिटसहित भारी बहुमत ल्यायो ।

झट्ट हेर्दा देखिइहाल्ने एएपीको राजनीतिक आरोहको यो पाटोपछि अब हेरौं उसको वैचारिकी विकासको पाटो । सन् २०१४ को आम चुनावपछि भारतीय राजनीति धार्मिक पहिचानको वरिपरि रुमल्लिएको छ । व्यक्तिका पेसा, क्षेत्र, जात, भाषा आदि अनेक पहिचान फिका बन्दै गएर धार्मिक पहिचान प्रगाढ बन्दै गएको छ । यसबीच राज्यले निरन्तर रूपमा नागरिकहरूलाई आस्थाकै आधारमा तहीकरण गर्ने प्रयास गरेको छ । सिद्धान्ततः भारत धर्मनिरपेक्ष राज्य भए पनि अहिले त्यहाँको केन्द्र र राज्यका बीजेपी सरकारहरूले आफूले ल्याउन खोजेको ‘हिन्दु राष्ट्र’ को अभ्यास गरिरहेका छन् ।

त्यसको परिणामस्वरूप बहुसंख्यक हिन्दुहरूको आत्मसम्मान बढेको, अभूतपूर्व सशक्तीकरण भएको तथा मुसलमान मुगल सम्राट्हरू र इसाई अंग्रेजहरूले भारतमाथि लादेको ऐतिहासिक अन्यायको क्षतिपूर्ति हुँदै गएको भन्ने भाष्य स्थापित गर्न बीजेपी र उसको मातृ संगठन राष्ट्रिय स्वयंसेवक संघ सफल भएका छन् । त्यसले उनीहरूलाई ठूलो जनमत दिएको छ र तत्कालका लागि देशव्यापी रूपमा बीजेपीलाई टक्कर दिने राजनीतिक शक्ति भारतमा देखिएको छैन ।

यो अवस्थामा बीजेपीलाई चुनौती दिन चाहने राजनीतिक शक्तिहरूसित दुई विकल्प छन् । एक, बहुलवादी र धर्मनिरपेक्ष गणतन्त्रको संवैधानिक परिपाटीको सशक्त पैरवी गरेर बीजेपीको हिन्दुत्ववादी वैचारिकीलाई ठाडो चुनौती दिने । दुई, राष्ट्रिय स्वयंसेवक संघकै हिन्दुत्ववादी धरातलमा उभिएर बीजेपीसित सत्ता र शक्तिका लागि मात्रै प्रतिस्पर्धा गर्ने । बीजेपीका त्यस्ता प्रतिस्पर्धी दलहरूमध्ये दिल्लीकेन्द्रित आम आदमी पार्टी हाम्रा लागि एउटा चाखलाग्दो ‘केस स्टडी’ हुन सक्छ किनकि त्यो पार्टीका केजरीवाललाई गुरु थापेर राजनीति सुरु गरेका केही नेपाली पात्रहरूले हिन्दुवादी राजनीतितिर केजरीवालले भन्दा पनि ठूलो छलाङ लगाएका छन् ।

अघिल्लो वर्ष लक्ष्मीपूजाका दिन केजरीवालले दिल्लीको अक्षरधाम मन्दिरमा भारु ६ करोड खर्चेर लक्ष्मीको पूजा गरे । ९० मिनेटको त्यो पूजामा टेलिभिजन कभरेजसमेत गरेर प्रतिमिनेट २० लाख रुपैयाँ खर्च भएको थियो । त्यसमा मुख्यमन्त्री केजरीवाल र उनका मन्त्रीहरू श्रीमतीहरूसहित उपस्थित थिए ।

२०२० फेब्रुअरी ८ मा भएको राज्य निर्वाचनमा ठूलो जनमतसहित केजरीवालको आम आदमी पार्टी दिल्लीको सरकारमा पुनः निर्वाचित भएको थियो । त्यसभन्दा महिनौं अगाडिदेखि बीजेपीको केन्द्र सरकारले ल्याएको विभेदकारी नागरिकता कानुनविरुद्ध दिल्लीलगायत भारतभर प्रदर्शनहरू चलिरहेका थिए । त्यसमा अल्पसंख्यक समुदायका मात्रै नभई बहुलतामा विश्वास गर्ने सबै समुदायका भारतीय नागरिकहरू सामेल थिए । २०१९ मा दोस्रोपल्ट निर्वाचित भएका मोदीले २०१४ यता खेपेकै सबैभन्दा ठूलो र दिगो विरोध प्रदर्शन थियो त्यो ।

विभेदकारी कानुन र त्यसविरुद्ध देशव्यापी रूपमा भएको प्रदर्शनका कारण मोदी–बीजेपी सरकारको छवि अन्तर्राष्ट्रिय मञ्चमा निरन्तर धमिलिइरहेको थियो । त्यसैले मुस्लिम समुदाय र प्रदर्शनकारीहरूसित मोदी सरकार क्षुब्ध थियो । त्यसमाथि दिल्लीको चुनाव हारेपछि तिलमिलाएको बीजेपीका केही नेताहरूले फेब्रुअरी २३ देखि साम्प्रदायिक दंगाको आगो झोसिदिए । केन्द्रको बीजेपी सरकारमातहत रहने दिल्ली प्रहरी तमासे भएर बसिदिएसँगै त्यो दंगामा कम्तीमा ५३ जना मारिए, २०० जनाभन्दा बढी घाइते भए र धनजनको ठूलो क्षति भयो ।

बीजेपीको साम्प्रदायिक राजनीतिबाट आजित भएका दिल्लीका अल्पसंख्यकहरूले ठूलो संख्यामा आम आदमी पार्टीलाई भोट दिएका थिए । त्यो पार्टीका धेरै सांसद निर्वाचित हुनुमा मुस्लिम समुदायकै मत निर्णायक पनि थियो । तर भर्खर मानिसहरूबाट जनमत लिएका एएपीका सांसदहरूले आफ्ना मतदाताको सुरक्षाका लागि समुदायसम्म जाने, साम्प्रदायिक भावना मत्थर पार्ने, दंगा भड्काइरहेका बीजेपीका नेताहरूलाई चुनौती दिने काम त गरेनन् नै, मिडियासामु प्रस्ट भाषामा दंगा र साम्प्रदायिक राजनीतिको विरोध गर्नसमेत सकेनन् ।

त्यसो गर्दा बहुसंख्यक हिन्दुहरूको जनमत भड्किन्छ र ५ वर्षपछिको चुनावमा बीजेपीका उम्मेदवारले आफूलाई हराउँछन् कि भन्ने उनीहरूको भय प्रस्ट देखियो । अर्थात्, भारतीय लोकतन्त्र र चुनावमा आजका दिनमा धार्मिक आस्था र राजनीति यसरी जोडिएका छन्, वैकल्पिक भनिएको पार्टीका राजनीतिज्ञहरूका लागि समेत मतदाताहरूको बाँच्ने अधिकारको रक्षाभन्दा सम्प्रदायविशेषको जनमत जोगाउनु बढी महत्त्वपूर्ण भएको छ । ती घटनाक्रमपछि धेरैले भारतमा एएपीलाई ‘सफ्ट हिन्दुत्व’ मा विश्वास गर्ने वा बीजेपीको अलिकति पालिस गरिएको संस्करण मान्ने गर्छन् ।

त्यो आरोपको प्रतिकार गर्दै एएपीका नेताहरूले भन्दै आएका छन्— हामी यो वा त्यो कुनै सिद्धान्तवादी नभएर विकासवादी हौं, सुशासन र समृद्धिका लागि काम गर्छौं । त्यस्तो विचार र मूल्यनिरपेक्ष विकासको भाष्य कुन बेला सुशासन र समृद्धिको खोल त्यागेर नग्न साम्प्रदायिक राजनीतिका रूपमा प्रकट हुन्छ भन्ने अर्को उदाहरण हेरौं ।

यही वर्षको फेब्रुअरीमा पार्टीका प्रवक्ता तथा दिल्लीका विधायक राघव चड्ढाले एउटा जन्मदिनको पार्टीमा भएको एक हिन्दु युवकको हत्यालाई साम्प्रदायिक रङ दिए । केन्द्रको भाजपा सरकारमातहत रहने दिल्ली पुलिसले त्यो घटनामा साम्प्रदायिक कोण नभएको भनेर प्रस्ट पारे पनि उनी त्यसो गर्नबाट रोकिएनन् । बीजेपीका नेताहरूभन्दा पनि बढी हिन्दुवादी देखिएर साम्प्रदायिक विद्वेष फैलाउने उनको प्रयासको एएपीका अरू नेताले विरोध गरेनन् ।

यसरी आजका दिनमा एएपीसित मानिसहरूको मत लिनका लागि एकातिर शिक्षा, स्वास्थ्य र बिजुलीजस्ता सेवामा गरेको सुधारबाट आउने सर्वमान्य राजनीतिक पुँजी छ भने अर्कातिर अल्पसंख्यकमाथिको अन्यायप्रति आँखा चिम्लेर वा उनीहरूको दानवीकरण गरेर बहुसंख्यकलाई रिझाएको विषाक्त र साम्प्रदायिक राजनीतिक पुँजी पनि छ ।

दिल्लीको दंगामा मारिनेमध्ये दुईतिहाइभन्दा बढी अल्पसंख्यक मुसलमान रहे पनि हिन्दु समुदायका मानिसहरू पनि मारिए अनि आगजनी र तोडफोडबाट दुवै पक्षको धेरै सम्पत्ति नष्ट भयो । मानिस विस्थापित भए, बस्तीहरू उजाडिए । पछि गएर दिल्लीको गृह प्रशासन हेर्ने बीजेपीको केन्द्र सरकारले अल्पसंख्यककै पीडित र अभियन्ताहरूलाई पीडक बनाएर जेलमा सडायो । बहुसंख्यक समुदायमा पर्ने बीजेपीका केही नेताले दंगा भड्काएको भिडियो प्रमाण सर्वत्र फैलिँदा पनि उनीहरू दण्डित हुनुको सट्टा पुरस्कृत भए ।

यो सबले एएपीलाई केही फरक परेन । कारण ? ऊ समृद्धिवादी र विकासवादी थियोÙ लोकतन्त्रवादी, न्यायवादी, मानवतावादी वा संविधानवादी थिएन । मानिसको आत्मसम्मानपूर्वक बाँच्न पाउने अधिकार अनि स्वतन्त्रता र न्यायको अधिकार आफैं कुण्ठित गर्ने उसको नियत वा व्यवहार थिएन । तर ती कुण्ठित भएर आफ्नै मतदाताहरूको क्रूर हत्या भइरहँदा पनि त्यसविरुद्ध ऊ उभिएन किनकि त्यसो गर्दा उसका अरू मतदाता बिच्किन सक्थे र अर्को चुनावमा उसलाई घाटा हुन सक्थ्यो । दिल्लीलाई ‘विकास’ गर्ने उसको महाभियानमा आँच आउन सक्थ्यो ।

नेपालमा आफूलाई त्यसै गरी विचारशून्य विकासवादी भन्ने मौसमी नारावालाहरूसित तपाईं–हामी डराउनुपर्ने कारण पनि त्यही हो । उनीहरूसित न के सही र के गलत भनेर छुट्ट्याउने ‘मोरल कम्पास’ छ, न गलतविरुद्ध अडान लिने नैतिक तागत छ, न कसैमाथि पनि अन्याय हुनु हुँदैन भन्ने वैचारिक अडान छ । न मानिस मानिस बराबर हुन् भनेर युगौंदेखि अरूलाई तल पारेर आफूलाई ठूलो ठान्दै आएकाहरूको चित्त दुखाउने आँट छ ।

उसो त विचार र नैतिक अडान शून्य भए पनि केजरीवालको एएपीले झैं विकास गर्छन् भने आखिर तिनलाई समर्थन गर्दा के बिग्रियो त भनेर सोध्न सकिन्छ । तर विचारशून्य राजनीतिले विकास वा समृद्धिको ग्यारेन्टी गर्दैन । फरक समाजको कुनै पनि अनुभवको भद्दा नक्कल गर्दा उताका खराब कुराहरू मात्रै नक्कल हुने र बिसेक कुराहरू उतै छुट्ने खतरा टड्कारो हुन्छ । अर्कातिर विशुद्ध कुण्ठा र आत्मरतिको जगमा उभिएको राजनीतिले केही पनि हासिल गर्ने सम्भावना झनै न्यून हुन्छ ।

त्यसैले विचारबिनाको अँध्यारोमा तरबार चलाएर नेपालको गरिबी र कुशासन हटाउँछौं भन्ने तिलस्मीहरूलाई हामीले भन्नु जरुरी छ— विकास चाहिएको त हो तर त्यो समता, न्याय र स्वतन्त्रताको धरातलमा खडा हुनुपर्छ, न कि नेपालमा अभ्यासमा आएर असफल भइसकेको दैवी शक्तिमा आधारित विभेदपूर्ण संरचनाको धरातलमा ।

प्रकाशित : श्रावण २२, २०७८ ०७:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×