कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७
इतिहास

श्री ३ चन्द्र–पुत्रको रूमानी रहस्य

श्री ३ चन्द्रशमशेरले बिरामी अवस्थाका विष्णुशमशेर र उनकी पत्नीलाई कलकत्ता पठाए । छोरा रंगीन मिजासका भएकाले 'वाइन र ओमेन– दुई थोक बचाए, रुपैयाँ जति खर्च गरे पनि केही नभने’ भनी हिँड्ने वेला चन्द्रशमशेरले निर्देशन दिएका थिए ।
डा. महेशराज पन्त

इतिहासमा खासै चर्चा नगरिएका विष्णुशमशेर र हलिउड अभिनेत्री स्यान्ड्राको रोमान्सदेखि ट्र्याजेडीसम्मको कथा हो यो । श्री ३ चन्द्रशमशेरका छोरा हुन्– विष्णुशमशेर । यहाँ श्री ३ भीमशमशेरले १९८८ जेठ १८ गते फ्रान्सका इतिहासविद् सिल्विं लेविलाई लेखेको चिठी र त्यसमाथि इतिहासविद् महेशराज पन्तको विश्लेषण प्रस्तुत छ । प्यारिसको राष्ट्रिय पुस्तकालयमा सुरक्षित त्यस चिठीमा नेपाल–खाल्डोमा भेटिएका लिच्छविकालका दुई शिलालेखको उतारदेखि विष्णुशमशेर भारत छोडी प्यारिस पुगेसम्मको विवरण छ ।

श्री ३ चन्द्र–पुत्रको रूमानी रहस्य

मुख्य विषय संस्कृत लिई आफ्नो माथिल्लो तहको पढाइ २० वर्षको उमेरमा शुरू गरेका फ्रान्सका सिल्विं लेवि (वि.सं. १९१९–१९९३) को अन्वेषणको विषय नाट्यशास्त्र र एघाह्रौँ शताब्दीका काश्मीरी कवि क्षेमेन्द्रको ‘बृहत्कथामञ्जरी’ हुँदै पछि उनी बौद्ध वाङ्मयतर्फ तानिए । बौद्ध वाङ्मयको अन्वेषणबाटै बौद्ध धर्मको जीवित परम्परा भएको नेपालतर्फ उनको आकर्षण बढ्यो । यसैले पहिलोपटक पूर्वका देश घुम्न आउँदा वि.सं. १९५४ मा उनी नेपाल पनि आए ।

नेपाल आउनुभन्दा तीन वर्षअगाडि नै उनले प्राचीन नेपालको कालनिर्णयसम्बन्धी विशद लेख प्रकाश गरिसकेका थिए । उनको दोस्रो नेपालयात्रा वि.सं. १९७८ मा र तेस्रो किंवा पछिल्लोचाहिँ वि.सं. १९८५ मा भयो । पहिलोपटक उनी नेपाल आउँदा नेपालका हर्ताकर्ता श्री ३ वीर (वि.सं. १९०९–१९५७, शासनकाल वि.सं. १९४२–१९५७) थिए, दोस्रो र तेस्रोचोटि यहाँ आउँदा भने श्री ३ चन्द्र (वि.सं. १९२०–१९८६, शासनकाल वि.सं. १९५८–१९८६)को शासन थियो । ३१ वर्षभित्र ३ पटक गरेको नेपालयात्राबाट नेपालको इतिहास लेख्न पर्याप्त सामग्री जम्मा गरेका लेविले ‘ल नेपाल् : एत्यूद् ईस्तोरिक् दाँ र्‍वायोम् आँदू’ अर्थात् ‘नेपाल– एउटा हिन्दू राज्यको इतिहासको परिशीलन’ भन्ने नामले जम्माजम्मी १०३० पृष्ठको पुस्तक वि.सं. १९६२ मा दुइ खण्ड र वि.सं. १९६५ मा तेस्रो खण्ड गरी तीन खण्डमा प्रकाश गराए । त्यो पुस्तक उनले धीरशमशेर (वि.सं. १८८४–१९४१)का तीन जना छोरा श्री ३ वीर, श्री ३ देव (वि.सं. १९१९–१९७०, शासनकाल वि.सं. १९५७–१९५८) र श्री ३ चन्द्रलाई संस्कृतमा समर्पणवाक्य लेखी चढाएका छन् । लेवि पहिलोपटक नेपाल आउँदा वीरशमशेर श्री ३ भए पनि उनी त्यस बेला काठमाडौँबाहिर भएकाले लेविको स्वागत–सत्कार कम्याण्डर–इन–चीफ देवशमशेरबाट भएको थियो ।

देवशमशेरलाई भेट्ने दिन तय भएपछि दरबारबाट पठाइएको बग्गीमा चढी उनी त्यहाँ गए । त्यसको तीन हप्ता जतिपछि फेरि देवशमशेरकहाँ लेवि बोलाइए, उनी दरबार पुग्दा यसपालि त सैनिक टुकडीले उनको स्वागत गर्‍यो । देवशमशेरले उनलाई ऐतिहासिक ठाउँमा घुमाउने, उनीकहाँ फलफूल पठाउने, भारतबाट छापिने ‘पायनियर’ अखबार पठाउने इत्यादि काम गरी उनको हेरचाह राम्ररी गरे । श्री ३ वीर काठमाडौँ फर्केपछि उनीसँग भेट गर्न लेविकहाँ घोडा पठाइएको थियो, त्यसैले उनी घोडा चढी दरबार पुगेका थिए । शिलापत्रहरूको छापा लिने र सरकारी पुस्तकखानामा खोजी गर्ने अनुमति मात्र नदिई शिवरात्रिमा बढाइँ हेर्न टुँडिखेलमा आउने निम्ता पनि श्री ३ वीरले लेविलाई दिए । टुँडिखेलमा श्री ३ वीरले श्री ५ पृथ्वीवीरविक्रम (वि.सं. १९३२–१९६८, राज्यकाल वि.सं. १९३८–१९६८)सँग लेविको चिनापर्ची गराए । अनि पश्चिमतर्फका कम्याण्डिङ जर्नेल चन्द्रशमशेरसँगै बसी लेविले बढाइँ हेरे (महेशराज पन्त, ‘नेपाली इतिहासको परिवेश’, काठमाडौःँ मार्टिन चौतारी, २०७७ः ६१–७०) ।

लेवि पहिलोपटक नेपाल आउँदा भीमशमशेर (वि.सं. १९२२–१९८९, शासनकाल वि.सं. १९८६–१९८९) पूर्वतर्फका कम्याण्डिङ जर्नेल पदमा, दोस्रो र तेस्रोंपटक आउँदा भने कम्याण्डर–इन–चीफ थिए । वि.सं. १९८६ मङ्सीर १० गते श्री ३ चन्द्र बितेपछि भीमशमशेर श्री ३ को पदमा उक्लिए ।

आफ्नो नेपालको इतिहास छापिएको जुग बितिसकेपछि पनि लेवि नेपालका प्राचीन शिलापत्रमा रुचि राख्दै थिए । यो कुरा केसरशमशेर (वि.सं. १९४८–२०२१)ले सन् १९२७ अक्टोबर २७ तारीख तदनुसार वि.सं. १९८४ कार्तिक ११ गते र सन् १९२८ अप्रिल २४ तारीख तदनुसार वि.सं. १९८५ वैशाख १२ गते उनलाई लेखेका चिठी, वीरपुस्तकालयका पण्डित सिद्धिहर्ष वज्राचार्य (वि.सं. १९३८–२००९)ले लिच्छविकालका केही शिलालेखको सूची बनाई उनीकहाँ वि.सं. १९८५ को बर्खामा पठाएको र श्री ३ भीमले उनलाई सन् १९३१ मे २५ तदनुसार वि.सं. १९८८ जेठ १८ गते लेखेको चिठीबाट थाहा हुन्छ । केसरशमशेरले लेखेका चिठीको र सिद्धिहर्ष वज्राचार्यले तयार पारेको सूचीको विषयवस्तु पछिको लागि थाँती राखी श्री ३ भीमले लेविलाई लेखेको चिठी मात्र यस लेखमा समेटेको छु ।

नेपालखाल्डोमा नयाँ–नयाँ भेट्टिएका दुइवटा शिलालेखको उतार र लाङटाङको गुम्बाबाट काठमाडौँ ल्याइएका तिब्बती पुस्तकका सूची गाभी श्री ३ भीमले लेविलाई लेखेको चिठी यो हो । यो चिठी प्यारिसको बिब्लिओथेक् नासिओनल् अर्थात् राष्ट्रिय पुस्तकालयमा राखिएको छ । सेतो, धर्को नभएको, मिलमा तयार गरिएको कागतमा टाइप गरिएको यो चिठी अङ्ग्रेजीमा छ । यस कागतको शिरमा एउटा हातमा गदा र अर्को हातमा पहाड बोकेका हनूमान्को रङ्गीन चित्र छापिएको छ । त्यस चित्रको मुनि देवनागरीमा ‘श्रीभीम शम्शेर जङ्ग बाहादुर राणा’ सुनौला मसीले छापिएको छ । यस चिठीमा मूल विषयवस्तु लेखिसकेपछि पोस्ट्स्क्रिप्ट् (पी.एस्.) अर्थात् थप कुराचाहिँ हातले सुन्दर अक्षरमा कालो मसीले मसीनो टाँकामा

अङ्ग्रेजीमा लेखिएको छ । श्री ३ भीमको सही भने नीलो–कालो अर्थात् ब्लू–ब्ल्याक मसीमा मोटो टाँकामा छ । सबभन्दा पहिले, यस चिठीको पूरा उल्था तल दिइहाल्छु–

टङ्गालदरबार,

नेपाल

१९३१ मे २५ (वि.सं. १९८८ जेठ १८ गते)

मेरा प्रिय प्रोफेसर लेवि,

यस खाल्डोमा पाइएका दुइवटा नयाँ शिलालेखका उतार तथा तिब्बती लेखोट र छापा पुस्तकको सूची यससँगै तपाईँकहाँ पठाउन पाउँदा मलाई धेरै खुशी लागेको छ । यिनको विषयमा लेखिएका टिप्पणीले यिनबारे बताउने नै छन् ।

एउटा शिलालेखको ठीक पाठको लागि ढुङ्गाको साँढे उठाउनुपर्‍यो । त्यहाँ लेखिएको दान (जग्गाजमीन)को कुरा बिर्सियोस् भन्ने इच्छा गरी कुनै मानिसले पछि यो राखेको हुनुपर्छ ।

गुणाढ्यको चर्चा आएकोले मलाई खास खुशी लागेको छ, त्यो तपाईँ शिलालेखको छापामा देख्नुहुन्छ । यस कुराको निर्णायक रूपले पुष्टि हुन्छ । कथासरित्सागर (बाइसौँ तरङ्ग, पेन्जरको ओसन् अफ् स्टोरिमा योगगुलिका)मा नेपाली शहर शिवपुरको चर्चा आएको कुरा तपाईँले सम्झनुभएको होला । बृहत्कथा फेला पर्ने मेरो आशा दोबर भएको छ । यो व्यर्थै नजाला ।

लेखोट र छापा पुस्तकहरू हाम्रो उत्तरी सिमानाको लाङटाङ गुम्बाबाट ल्याइएका हुन् ।

यसले तपाईँलाई राम्रो स्वास्थ्यमा पाउला र तपाईँलाई केही खुशी लाग्ला भन्ने विश्वास गरी म चूप लाग्छु ।

तपाईंको आप्त

भीम शम शेर

थप कुरा

भारतबाट अचानक बेपत्ता भएपछि जर्नेल विष्णु प्यारिसमा आइपुगेको छ । उसले तपाईँलाई भेट्यो होला भन्ने मलाई लाग्छ र आफूलाई परिरहेको दुःखबाट जोगिन उसले तपाईँबाट राम्रो सल्लाह र निर्देशन पायो होला भन्ने उत्कट आशा मैले राखेको छु । ऊ त्यहाँ एकलै छ, ऊसँग उसकी दुलही र एउटी सुसारे मात्र छन् । उनीहरूको रेखदेख वा हेरविचार गर्न कोही छैन । नयाँ ठाउँमा र नयाँ आवहवामा घरबाट त्यति धेरै टाढा आइपर्न सक्ने हानिनोक्सानीबाट आफूलाई जोगाउन सक्छु कि सक्दिनँ भन्ने ज्यादै शङ्का त्यो बिचरो केटोलाई लागेको हुन सक्छ ।

(पछाडिपट्टि)

प्रो. सिल्विं लेविलाई

प्यारिस

...

आफूले लेखेको नेपालको इतिहासको तेस्रो खण्डमा लिच्छविकालका, पहिले छापिइसकेका र त्यही खण्डमा पहिलोपल्ट छापिएका गरी जम्मा २१ वटा शिलालेख गाभिएको २३ वर्षपछि श्री ३ भीमले पठाएका दुइवटा शिलालेखलाई २२ र २३ नम्बर दिई यस चिठीको शिरमा लेविले लेखेका छन् । ती दुइ शिलालेखमध्ये एउटामा गुणाढ्यको चर्चा आएको छ भनी श्री ३ भीमले यस चिठीमा लेखे पनि अहिलेसम्म मेरो आँखा परेका लिच्छविकालका कुनै शिलालेखमा त्यस्तो चर्चा आएको मलाई सम्झना छैन । श्री ३ भीमले लेखेको यस्तो कुरा पढ्दा खोपासीको (शक)संवत् ५२० तदनुसार वि.सं. ६५५ को शिलालेखको सम्झना अहिले मलाई भयो । कुरा के भने, त्यस शिलालेखमा दिइएको अंशुवर्माको प्रशस्तिमा ‘स्वगुणमणिमयूखालोकध्वस्ताज्ञानतिमिर’ पनि छ । यसको अर्थ ‘आफ्नो गुणरूपी मणिका किरणको उज्यालोले अज्ञानरूपी अन्धकार हटाएका’ भन्ने हुन्छ । यो कुरा नबुझी त्यस शिलापत्रमा ‘मणि’ शब्द आएको देखेर शिलापत्रको मुनि अवश्यै पनि जुहारात गाडेर राखेको हुनुपर्छ भनी अर्धशिक्षित कुनै पण्डितले श्री ३ चन्द्रकहाँ जाहेरी गरेछन् । त्यत्तिको आधारमा द्रव्यलोलुप श्री ३ चन्द्रले शिलापत्रको मुनि खन्न लाएको, तर केही पनि नभेट्टाएको मैले केटाकेटीमै सुनेको हुँ । खोपासीको शिलालेखमा ‘मणि’ शब्द आएको देखेर त्यसको अपव्याख्या भए जस्तै, लेविकहाँ पठाउन लगाएको शिलालेखमा ‘गुणाढ्य’ शब्द आएको छ भनी श्री ३ भीमलाई कसैले भनेको आधारमा उनले त्यस गुणाढ्य शब्दलाई ‘बृहत्कथा’ लेख्ने गुणाढ्यसँग जोडेको र ‘कथासरित्सागर’को १२ लम्बकको २२ तरङ्गमा नेपालको शहर शिवपुरको चर्चा गरेको चाखलाग्दो छ । संस्कृतभाषाबाट पराङ्मुख हुँदाहुँदै पनि राणाजीहरू संस्कृत ग्रन्थका अङ्ग्रेजी उल्था हेर्ने गर्थे भन्ने कुराको थप दसी सोमदेवको ‘कथासरित्सागर’को चार्ल्स हेन्रि टनि (वि.सं. १८९४–१९७७)ले गरेको उल्था परिष्कार गरी नर्मन पेन्जर (वि.सं. १९४९– २०१७)ले तयार पारेको संस्करणको चर्चा यस चिठीमा आएबाट स्पष्ट हुन्छ ।

प्राकृतभाषाको एउटा भेद पैशाचीमा गुणाढ्यले कथाहरूको ठूलो सँगालो तयार पारेका थिए । प्राकृतमा ‘बड्ढकहा’ भनिने, गुणाढ्यको त्यो कथासंग्रह पछि संस्कृत नाम ‘बृहत्कथा’बाट प्रसिद्ध भयो र ‘बृृहत्कथा’को प्रशंसा सुबन्धु, दण्डी र बाण जस्ता गद्यकाव्यकारले गरेका छन् । संस्कृत जस्तो विद्वद्भाषामा नलेखिएकोले होला, ‘बृहत्कथा’ कालान्तरमा दुर्बोध्य भयो र बुधस्वामी, क्षेमेन्द्र र सोमदेवले आआफ्नो ढङ्गले त्यसलाई संस्कृतमा ढाले । पछि हुँदा हुँदा गुणाढ्यको मूल ‘बृहत्कथा’ नै लुप्त भयो ।

‘नेपालमाहात्म्य’ (२७ अध्याय)मा गुणाढ्यको चर्चा आएकोले होला, यहाँको समशीतोष्ण हावापानीले गर्दा मूल ‘बृहत्कथा’ नेपालमा पाइन्छ कि भन्ने झीनो आशा लेविलाई थियो । त्यस विषयमा भिन्नै लेख लेख्ने मेरो विचार भएकोले अहिले म त्यतातिर लाग्दिनँ ।

...

यस चिठीको अर्को विषय विष्णुशमशेर (वि.सं. १९६३–२००२)सँग सम्बद्ध छ । यिनी श्री ३ चन्द्रकी कान्छी महारानी बालकुमारी (वि.सं. १९४५–२००८)तर्फका जेठा छोरा हुन् । विष्णुशमशेरलाई अङ्ग्रेजी पढाउनका लागि उपयुक्त शिक्षक खोजिरहेका श्री ३ चन्द्रले काशीनाथ आचार्य दीक्षित (वि.सं. १९१७–१९९४)का कलकत्तामा पढिरहेका छोराहरूलाई ट्यूशन पढाउने टी.एन. राय भन्ने बङ्गालीलाई काशीनाथमार्फत नेपालमा ल्याई पढाउन लगाएका थिए । टी.एन. रायको अङ्ग्रेजी राम्रो भएकोले राममणि आचार्य दीक्षित (वि.सं. १९३९–२०२८)ले लेखेको नेपालको इतिहासलाई अङ्ग्रेजीमा उल्था गर्ने जिम्मा पनि उनलाई दिइयो, उनले गरेको त्यही उल्था नै परिष्कार गरेर पर्सिभल ल्यान्डन (वि.सं. १९२५–१९८३)ले नेपालको इतिहासको रूपमा छपाए भन्ने राममणिको भनाइ छ (‘नेपाली इतिहासको परिवेश’: ९२–९३ पृ.) ।

विष्णुशमशेरको विषयमा खोजी गरी लेख्ने सन्तोष खडेरीअनुसार, ११ वर्षको उमेरमा ऊर्मिलाराज्यलक्ष्मीदेवीसँग उनको बिहे भएको थियो (‘अभिनेत्री स्यान्ड्रा र हाम्राको त्यो भाइरल रोमान्स’, ‘अन्नपूर्ण पोस्ट्’ २०७७।३।६।७ः ग पृ.) । श्री ३ चन्द्रका दरबारिया भरतमणि आचार्य दीक्षित (वि.सं. १९५०–२०३३)अनुसार विष्णुशमशेरभन्दा उनकी पत्नी ४ वर्षले कान्छी थिइन् (‘कति सम्झूँ कति बिर्सू’, काठमाडौःँ विजयमणि आ.दी., २०७१, ८९ पृ.) । श्री ३ चन्द्रको पालामा बाँधिएको, श्री ३ को पछिल्लो रोलअनुसार विष्णुशमशेरको रोल २० नम्बरमा थियो (पर्सिभल ल्यान्डन, ‘नेपाल्’ १ ठेली, लण्डनः कन्स्टेबल, सन् १९२८ः २४८–२४९ पृ.) ।

बिरामी अवस्थाका विष्णुशमशेर र उनकी पत्नीलाई कलकत्ता पठाएर औषधि गराउँदा र त्यहाँ समुद्रको किनारमा हावापानी फेराउँदा फाइदा होला भन्ने विचारले श्री ३ चन्द्रले भरतमणिलाई साथ लगाई छोराबुहारीलाई कलकत्ता पठाउने भए । छोरा रङ्गीन मिजासको भएकोले ‘वाइन र ओमेन (रक्सी र स्वास्नीमान्छे) दुई थोक बचाए, रुपैयाँ जति खर्च गरे पनि केही नभने’ भनी हिँड्ने वेलामा उनले भरतमणिलाई हिदायत दिएका थिए । ‘सबै कुरा बुबाबाट हुकुम भएकै होला त्यसै गरे । तर सर्प पनि मरोस्, लठ्ठी पनि नभाँचियोस् झै गर्‍यौ भने बेस होला’ भनी श्री ३ चन्द्रका जेठा छोरा मोहनशमशेर (वि.सं. १९४२–२०२३, शासनकाल वि.सं. २००५–२००७)ले भरतमणिलाई भन्नुको अर्थ विष्णुशमशेर छाडा भए होओस्, उसलाई नकस्नू भन्ने आशय सौताने ईर्ष्याबाट उत्पन्न देखिन्छ । ‘मैले मोहनशमशेरकै सल्लाह उत्तम ठानें तर महाराजको आडरलाई उपेक्षा पनि गरिनँ । न जनरलले नै डबल डबल्यू (वाइन र ओमेन) गरेको मलाई थाहा भो’ भनी लेखे पनि

(‘कति सम्झूँ कति बिर्सू’, ८०–८१ पृ.) विष्णुशमशेरकी ‘गर्लफ्रेन्ड’लगायतलाई उनकी धर्मपत्नीकै अगाडि चियाचमेना गराउन ‘मैले होटेल बन्दोबस्त गरी मिलाएँ’ (उही, ८३–८४ पृ.) भनी भरतमणिले लेखेका छन् । प्रेमिकाहरूले पठाएका चिठी काठमाडौँमा आफ्नी आमाबाट हुने खानतलाशीमा फेला नपरून् भन्ने मनसायले कलकत्ताबाट नेपाल फर्कँदै गर्दा भीमफेदीको सिमलटार बङ्गलामा वास बस्दा उनले पत्नीसँग मिलेर ती चिठी आतसखानमा झोसेको कुरा लेख्न पनि भरतमणि नचुकेकाले (उही, ८९ पृ.) विष्णुशमशेरले प्रवासमा निकै ऐयाशी गरेको देखिन्छ ।

श्री ३ चन्द्र बितेलगत्तै श्री ३ भीमले बाँधेको रोलमा पनि विष्णुशमशेरको रोल कायम थियो (चित्तरञ्जन नेपाली, ‘राणाशासनको रोल व्यवस्था र धर्मपत्रहरू’, ‘नेपाली’, त्रैमासिक १५५ पूर्णाङ्क, २०५५ः ७३–७४ पृ.) । आफूलाई रोलबाट हटाई पाऊँ भनी विष्णुशमशेरले दिएको राजीनामा श्री ३ भीमले पछि मात्र स्वीकृत गरे (यज्ञनाथ आचार्य, ‘प्राइमिनिस्टर भीमशमशेर र तत्कालीन नेपाल’, काठमाडौँ, समुन्द्र मन विद्या प्रतिष्ठान, २०६५ः ८७ पृ.) ।

यहाँको कट्टर रहनसहन र जातिव्यवस्था बेहोर्न नसकी विष्णुशमशेर सन् १९३१ अप्रिलमा नेपालबाट भागेर गए, गुप्ती तवरले पैसा ओसारी यिनले छलकपटद्वारा राहदानी बनाए, अनि बम्बईबाट पानीजहाज चढेर यिनी यूरोपतिर लागे, त्यसपछि, रोलबाट आफूले दिएको राजीनामा उनले हुलाकबाट यहाँ पठाए भनी एड्रियन सेभर (वि.सं. २००० मा जन्म)ले लेखेका छन् (‘नेपाल् अन्डर् द राणाज्’, नयाँ दिल्लीः अक्स्फोर्ड यान्ड आइबीएच पब्लिशिङ कम्पनी, सन् १९९३ः २९३ पृ.) । ‘महाराज चन्द्रको बरखी सकेपछि महारानी बालकुमारीदेवी आफूलाई बनाइदिएको पुलचोकस्थित श्रीदरबारमा साइत देखाई, सिंहदरबारबाट सरिबक्सियो । आफ्नू जेठो छोरो बाबाहजूर (जनरल विष्णुशमशेर) लाई बेलाइत गएकोमा पतिया नदिएको हुनाले उहाँको महाराज भीमसँग राम्रो सम्बन्ध थिएन’ भनी केदारमणि आचार्य दीक्षित (वि.सं. १९६१–२०४९)ले लेखेका छन् (‘आफ्नै कुरा’, ललितपुरः केदारमणि आचार्य दीक्षित २०३४ः ३२ पृ.) ।

सन् १९३१ मै विष्णुशमशेरका छोरा पीताम्बरशमशेरको जन्म लण्डनमा भयो भन्ने भनाइ सन्तोष खडेरीको छ । लेविलाई श्री ३ भीमले सन् १९३१ मे २५ मा लेखेको चिठीबाट त्यस वेला सपत्नीक विष्णुशमशेर एक जना सुसारेसहित प्यारिसमा बसिरहेको र त्यस चिठीमा यिनका छोराको चर्चा नआएकोले त्यस बेलासम्म यिनलाई पुत्रलाभ नभइसकेको देखिन्छ । नेपाल छोडी पत्नीसहित भारततिर लागेका विष्णुशमशेर पछि भारत पनि छोडी बेपत्ता जस्तै भएका थिए, अनि यिनी अचानक प्यारिसमा देखिएको कुरा श्री ३ भीमको चिठीमा परेको छ । श्री ३ भीमले लेविलाई यो चिठी लेख्दा श्री ३ चन्द्र बितेको डेढ वर्ष भइसकेको थियो, विष्णुशमशेर पनि २५ वर्षका लक्का जवान भइसकेका थिए । नेपालको इतिहास र पुराविद्याको खोजी गर्न पटक पटक यहाँ आएका विश्वविख्यात प्रोफेसर लेविलाई भेट्न विष्णुशमशेर गए होलान् भन्ने सम्झी श्री ३ भीमले यस चिठीमा यिनको चर्चा गरेको देखिन्छ ।

सन्तोष खडेरीको माथि चर्चा गरिएको लेखबाट हलिवुडकी अभिनेत्री भनूँ कि नर्तकी भनूँ स्यान्ड्रासँग सन् १९३२ को प्रारम्भतिर प्यारिसमा विष्णुशमशेरको चिनजान भयो, पछि लण्डनमा उनीहरूको बाक्लो भेट हुन थाल्यो र उनीहरू नजीकिँदै जाँदा प्रेमी–प्रेमिकाको रूपमा यूरोपका पत्रपत्रिकामा दुइ वर्षसम्म चर्चित मात्र नभई उनीहरूबीच बिहे पनि भइसकेको झूटो खबर छापियो । अनि स्यान्ड्राका बाबुआमाले बिहे गराउन निकै जोड लगाए पनि विष्णुशमशेरले स्यान्ड्रालाई पत्नीको रूपमा सकारेनन् । आफ्नी विवाहित पत्नी र काखे छोरालाई लण्डनमै छोडी प्यारिसमा स्यान्ड्रासँग बसिरहेका उनले सन् १९३४ मार्च १३ तदनुसार वि.सं. १९९० चैत २ गते त्यहाँ पत्रकार सम्मेलन गरी स्यान्ड्रासँग आफ्नो बिहे भएको कुराको खण्डन मात्रै नगरी उनीसँग पछि पनि बिहे नगर्ने कुरा खुलाएर आफ्नो परिवारसँग बस्न छिट्टै लण्डन जाने जानकारी पनि दिए ।

यूरोपबाट विष्णुशमशेर कहिले भारत फर्के भन्ने थाहा नभए पनि वि.सं. १९९५ माघमा मदनमणि दीक्षित (वि.सं. १९७९–२०७६)को बनारसमा बिहे हुँदा बेहुलाले लेखेअनुसार ‘जन्तीमा प्रमुख व्यक्ति चन्द्रशमशेरका छैटौं छोरा विष्णुशमशेर ज.ब.रा र तिनले ३ महिनानिम्ति १ लाख रुपियाँ दिएर ठेक्कामा राखेकी भित्रिनी फ्रान्सेली युवती थिइन् ।’ जन्तीमा गानाबजानाको पनि प्रबन्ध थियो । श्री ३ चन्द्रको पालामा नेपाल आई तबला बजाएका कण्टे महाराजले त्यस महफिलमा तबला बजाएको सुन्दै विष्णुशमशेरले तिनलाई चार सय भा.रु. बकस दिए । ‘त्यस बेला भारतमा सुनको मूल्य एक तोलाको १८ रुपियाँ भारु मात्र पर्ने गर्दथ्यो ।’ विष्णुशमशेरकी फ्रेन्च भित्रिनीले बिहेको विधिविधान हेर्ने इच्छा गर्दा चतुर्वेदाध्यायी पुरोहित श्रीरङ्ग भट्टराईले ‘गोमांस खानेहरूका सामु वैदिक मन्त्र उच्चारण गरेर विवाह गराउन मिल्दैन’ भन्ने अडान लिए । यसले गर्दा बाजे शिरोमणि (वि.सं. १८८१ –१९५८)को पालादेखि राणाजीको ताबेदारी गर्दै आई त्यसकै बदौलत धनीमानी भएका, दुलहाका बाबु लक्ष्मणमणि आचार्य दीक्षित (वि.सं. १९५४–२०२५)लाई अप्ठेरो पर्‍यो । अनि वैदिक मन्त्रको उच्चारण नगरी संस्कृतमा मात्र वाक्यको उच्चारण गर्ने गरी जजमान र पुरोहितमा सुलह हुँदा सिन्दूरदानसम्मको रीति हेरी विष्णुशमशेर र उनकी भित्रिनी फर्के, त्यसपछि मात्र श्रीरङ्ग भट्टराईले वैदिक मन्त्रको उच्चारण गरेर जम्मै विधि दोहर्‍याए, यस बिहेको ३ दिनपछि आफ्नी भित्रिनीलाई लिएर लण्डन फर्कन विष्णुशमशेर बम्बईतिर हिँडे भनी मदनमणिले लेखेका छन्

(‘‘जीवन ः महाभियान’’, काठमाडौःँ अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसन, २०६६ः६–८ पृ.) ।

सन् १९४१ को अगस्टमा विष्णुशमशेर लण्डनबाट बहामाको नसाउ टापूमा बसाइँ सरे । यसको झण्डै दुइ वर्षपछि सन् १९४३ को सेप्टेम्बरमा विष्णुशमशेरको जिन्दगीमा एउटा अनहोनी घटना घट्यो । त्यो के हो भने, आफ्ना पति र अरू साथीहरूसँग विष्णुशमशेरको घरमा वास बसेकी एक जना गोरी युवति अचानक बितेकीले उनलाई अड्डा–अदालत धाउनुपर्ने भयो । बहामाप्रवासमा उनको रक्सीको लत झन् झन् बढ्दै जाँदा सन् १९४६ फेब्रुअरी ४ तदनुसार वि.सं. २००२ माघ २२ गते सुतेको सुत्यै ४० वर्षको अल्पायुमा उनको मृत्यु भयो । अनि उनको शव बनारस ल्याई हिन्दू विधिअनुसार उनको काजक्रिया गरियो । यी कुरा सन्तोष खडेरीको माथि चर्चा गरिएको लेखबाट मैले थाहा पाएको हुँ ।

आफ्ना जीवित छोरा शङ्करशमशेर (वि.सं. १९६६–२०३३) र मदनशमशेर (वि.सं. १९७५–२०१०)लाई सम्बोधन गरी लेखेको विल (आफ्नो शेषपछि आफ्नो सम्पत्ति ककसले के कति पाउने भन्ने विषयको लिखत)मा जेठा छोरा विष्णुशमशेरको अपमृत्युबारे ‘छोरोलाई मत्याई बेलाइत् पहुचाई त्यहाबाट पनी जाल् गरी पास्पोट् खोसी बिरानु मुलुक्मा मारीदीये. बलवान् सत्रुको फेला परे’ (कमल दीक्षित, ‘बाजेको बिहे’, ललितपुरः जगदम्बा प्रकाशन, २०६८ः १०९) भनी बालकुमारीले लेखेको कुराको सम्झना यस प्रसङ्गमा हुन्छ ।

बालकुमारीको भनाइसँग केदारमणिको र एड्रियन सेभरको लेखाइ दाँजेर हेर्दा विष्णुशमशेर बाहिरपाटो लाग्नुको मूल कारण राणाहरूको परिवारमा चल्ने दाउपेच नै हो भन्ने देखिन जान्छ । मेरो छोरो आफ्नो बुद्धिले भाँडिएको होइन, उसलाई उचाल्ने अरू नै थिए भन्ने ठम्याइ बालकुमारीको हुँदा हुँदै पनि उनीले कसैको नाउँ किट्ने आँट गरेकी छैनन् । केदारमणि र एड्रियन सेभरअनुसार चाहिँ जातिगत नियमको पालनतर्फ श्री ३ भीमले लिएको नीतिबाट यस्तो हुन गएको हो भन्ने भाव आउँछ । काकाले गर्दा भतिजाले देश छोडेर जानुपर्‍यो भन्ने अपजस झेलिरहेका श्री ३ भीमले लेविलाई लेखेको चिठीमा विष्णुशमशेरको प्रसङ्ग यसैले उठाएको देखिन्छ ।

एड्रियन सेभरको लेखाइअनुसार, विष्णुशमशेरको राहदानी नक्कली भएको र बालकुमारीको भनाइअनुसार, उनको राहदानी खोसिएको देखिन्छ । त्यसमाथि, विष्णुशमशेर आफैँ मरेका होइनन्, ‘बिरानु मुलुक्मा मारीदीये. बलवान् सत्रुको फेला परे.’ भन्ने भनाइ बालकुमारीको छ । थोरै शब्दमा भन्ने हो भने, विष्णुशमशेरको भौँतारिएको जीवन र अल्पमृत्यु २८ वर्ष ५ महीनासम्म नेपालको सर्वेसर्वा भएका श्री ३ का कान्छी रानीतर्फका, पुलपुलिएर हुर्केका, पश्चिमी रहनसहनमा चुर्लुम्म डुबेका जेठा छोराको औद्धत्यबाट बन्धुहरूले फाइदा लिन खोज्दाको परिणाम हो कि जस्तो मलाई लाग्छ ।

प्रकाशित : भाद्र २६, २०७८ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?