कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५
पुस्तक समीक्षा

मधेस मर्म 

कथाकार श्याम साहका पात्रहरु भिन्न स्वभाव र चरित्रका साथै पृथक् पृष्ठभूमिका छन्, जोसँग मौलिक पीडा र आक्रोश छन्
कुमारी लामा

किनारीकृत समुदायका कथा लेख्छन्– श्याम साह । सीमान्तीय आवाजमा उनको कलमले बल प्रदान गर्छ ! उनी धूलोको कथा बटुल्छन्, मधेसको व्यथा उजागर गर्छन् ! दमन र उत्पीडनको कहर उप्काउँछन् । कथासंग्रह ‘अब्बा’ मा साहले ‘लाटीको छोरा’ जस्तो शक्तिशाली कथामार्फत हाम्रो सामाजिक मनोविज्ञानलाई उदाङ्गो पारेका थिए । साहको पछिल्लो कथासंग्रह ‘पथेर’ सिमानाका मानिसको रगत र पसिनाले सिञ्चित फरक सुवास बोकेका कथाहरूको संग्रह हो । 

मधेस मर्म 

‘पथेर’ को (इँटा बनाउने शिल्पी) रगत चुसी ढाडिने शिवनाथहरूका लागि साह पिनासे टाउको दुखाइ हुन सक्छन् । किनकि उनी भित्री गुदी खोतलखातल पारिदिन्छन् शिवनाथ एन्ड कम्पनीको भ्रष्ट मति र कुकृत्यहरूको । निजामको विद्रोह यसै पनि उनीहरूले धान्न सक्ने खाले पक्कै छैन । इँटाभट्टाको चिसो भुइँको बसाइले निमोनिया भई जीवन–मरणको साँधमा पुगेको छोरालाई जसरी पनि दिल्ली पुर्‍याउने ध्याउन्न बोकेका निजाम मालिकले पसिनाको कमाइ नदिँदा कसरी निदाउन सक्छ ? ऊ बरु आफैं महिनौ पसिना बगाई बनाएको इँटालाई माटै पारेर हिँड्छ । निजामको ठाउँबाट योभन्दा ठूलो अर्को प्रतिरोधको कल्पना गर्न सकिन्न । लेखकले उही गाँठी कुरा कथामा लेखेका छन् ।

‘हमर खुन पसिनासे त ई माटी सोना बनल । अभि पैसा मागतानी त ना मिली ?’ (मेरो खुन र पसिना परेपछि यो माटो सुन बन्यो । अहिले त्यसको मूल्य माग्दा नदिने ?) ‘ई माटीका इँटा बनादेम त इँटाको माटी भी बनादेम’ (पथेर १९५) ।

खासमा शोषकहरूको चेत खुलाउने उत्तम उपाय भनेकै निजामले लिएको विद्रोही बाटो हो । श्याम साहका अधिकांश कथामा भुइँमान्छेको जीवन, संघर्ष र केही हदसम्म प्रतिरोधको पुट भेटिन्छ । प्रतिरोध कतिपय कथामा शालीन र शान्तपूर्ण छन् । ‘जायठ’ कथामा भोला महतोको गिरेको पारिवारिक विरासतको साथमा नामेट पारिएको रैथाने संस्कृतिको विषय उप्काइएको छ ।

पोखरीबीच ठड्याइने खाँबो, जायठ एक सांस्कृतिक विम्ब हो । प्रत्येक समुदायको पहिचानसँग जोडिने सांस्कृतिक संस्कारले जीवनमा सरसता भर्छ । भोलाको बाजेले आफ्नो जिम्दारीको समयमा त्यस भव्य पोखरी खनाएका थिए । पूरै एक बिघा जमिनमा पाँच सयभन्दा बढी कामदार लगाएर बनाएको भव्य पोखरी थियो त्यो । जायठ गाड्ने दिन अझ विशेष हुने गर्थ्यो । तर, बाजेको निधनसँगै सबै मासिँदै गयो । अन्ततः नगरपालिकाले पोखरीलाई आफ्नो प्रशासकीय भवन निर्माणका लागि जग्गाको रूपमा छनोट गर्‍यो ।

सार्वजनिक उपभोगका लागि बनेको त्यस पोखरी अन्त्यमा नगरपालिकाको सम्पत्ति भयो । नगरपालिकाले पोखरी मासेर भवन निर्माणको तयारी गरेको छ । डोजर चलाएको छ । मधेसी समुदायको रैथाने संस्कृति माथिको अतिक्रमणको एक टुक्रा लेखकले उप्काएका छन् यस कथामा । जायठले राज्य र सत्ता कसरी सीमान्तीय जीवन र संस्कृतिमाथि धावा बोलिरहेछ त्यो स्पष्टै भन्छ । सामुदायस्तरमा सबैले उपभोग गरिरहेका पोखरी आदिको जगेर्ना गर्नुसाटो मास्नपट्टि लागेको छ स्थानीय सरकार । भोला निरीह छ । ऊ ठूलो कुरा केही गर्न सक्दैन सिबाय भत्काइएको पोखरीमा जानु, दायाँ ढल्केको जायठ हेरी टोलाउनु । तथापि ऊ फरक प्रकृतिको प्रतिरोधमा सामेल हुन्छ । एक्स्काभेटर पोखरीमा धस्सिएको चाल पाएपछि बिहानै भट्टी पस्छ र लोकल दन्काउँछ । लोकलको रमरममा ऊ च्याँठिन्छ, ‘ले, भेलौ ने आव ? भैरले पोखरी, बनाले बनाले बिल्डिङ । नगरपालिका कि बैन गेलौ तोरा सबके बापके राज चैल एलौ’ (१४) । खासै केही गर्न नसके पनि भोलाले मनभित्रको भँडासको निकास भने गर्छ । आफ्नो हजुरबाले बनाएको त्यस भव्य पोखरीको अन्तिम अवस्थाले ऊ रन्थनिएको छ । श्याम साहका पात्रहरू भिन्न स्वभाव र चरित्रका साथै पृथक् पृष्ठभूमिका छन्, जसका आफ्नै पाराको पीडा र आक्रोश हुन्छन् । पक्का कुरा के भने, उनीहरू भइरहेको बेथितिप्रति कुनै न कुनै प्रकारले असहमति भने जनाउँछन् । मधेसीपनाले भरिएको संग्रह हो– पथेर । कुरा उठ्ला– के हो मधेसीपना ?

अनेक कुरा छन्, जसले मधेसलाई चिनाएको छ । यस संग्रहमा समेटिएको कथाको रैथानेपन, सिरहा, लहान, गोलबजार, असनपुर वरपरको कथा, त्यहाँको जीवन, भाषा, संस्कृति, पीडा र खुसी सबै सबैमा मधेस बसाउँछ । पात्रदेखि ठाउँ या उनीहरूको भोगाइ सबै कुराले मधेसीपनाको वकालत गर्छ । राइसमिल, इँटाभट्टाका मालिक र मजदुरहरूको कथा ज्यादै चोटिलो छ । वर्गसंघर्षको सग्लो पाटो र राजनीतिक दाउपेचको गोलभुमरी उतारिएको कथा ‘नाकाबन्दी’ ले शक्ति संघर्षको फरक पाटो उजागर गर्छ । कुशेजस्ता युवाहरू सिर्फ आन्दोलनमा र राजनीतिक प्रयोजनका लागि गोटीसरह प्रयोग भइरहेका छन्— काम खतम् अनि ज्यान पनि खतम् ! सम्भवतः कुसेजस्तै धेरै नवजवना त्यसैगरी षड्यन्त्रपूर्वक मारिन्छन् ।

सोनेलालजस्ता श्रमीकवर्ग सधैं सुबलालजस्ता शोषकको सिकार भइरहन्छन् र जीवनभर दुःखजिलो गरी जम्मा पारेको रकम उसै ख्वाइपठाउँछन् । पुस्तौंपुस्ताले रगत पसिना बगाउँदा पनि गरिबका लागि एक टुक्रा जमिन जुर्दैन, ओत लाग्ने छानोको जोरजाम हुन्न कतै । सोनेलाल नाइको कति पुस्ता त्यही ठाउँमा सबैको सेवामै बिताइसकेका छन् । यद्यपि एक बित्ता जमिन आफ्नो नाममा कहिल्यै पार्न सक्दैनन् । के यो पृथ्वी धनीले पाएको बकस हो ? अनि गरिबलाई भने श्रम र पसिनाको बद्ला सधैं दमन र दलन मात्रै ? सोनेलालहरूको दिमाग किन नसड्कियोस् यस्तो माहोलमा ? उस्तै परे दारी बनाउने छुराले शोषकको घाँटी सफाचट पार्न केवल एक सनक काफी छ । सुबलालको सेखी झार्न केवल एक वाक्य भए पुग्छ ।

‘कि केलही तु ? देखाइ नै दै छेलौ ? सुबलालले घाँटी छाम्यो ।’

‘मन त तोहर पुरे गला काटके रह । ई त शुकर मनाब कि हमर दिमाग फिर गेल (सोनेलालको सैलुन, ९९) ।’

सुबलालको होस कता पुग्यो होला, कल्पना गरौं । पक्का ऊ एक निमेषमै हाम फाल्यो । पीडित सोनेलालको मनोविज्ञानलाई मिहिन ढंगमा खिपेका छन् लेखकले । मधेसका दुःखदर्द, रैथाने संस्कृति र समाज मात्र नभई समाजमा व्याप्त कुरीतिप्रति पनि लेखकको तिखो नजर परेको छ । दाइजोको पीडाले आक्रान्त समाजको एक फलक उतारेका छन् कथा ‘टु ट्वेन्टी’ मा भने ‘छठ’ कथामा छठको धार्मिक सांस्कृतिक पक्षको उजागरसँगै व्रत बसेको लोग्नेले व्रतभरिको सकसलाई श्रीमतीको व्रतको समयसँग तुलना गरी आफ्ना कमीकमजोरीको मूल्याङ्कन गर्ने मौका पाएका छन् । लोग्नेका स्वीकारोक्तिहरू आफैंमा विद्यमान कट्टर सांकृतिको विनिर्मित पाटो हो । बनिबनाउ र मानिआएको मान्यता र संस्कृतिको फरक विश्लेषण पनि हो ।

श्याम साह प्रस्तुतिमा रिस्क लिन नचाहने लेखक हुन् । शैली र प्रस्तुतिको नवीनतम प्रयोग उनले पिउने खाले चिया होइन भन्ने प्रस्ट हुन्छ । पुरानै शैलीको कथावाचन, हदैसम्मको चिरिच्याट्टै मिलेको कथा, अझ भनौं न कथामा यस्तो मोड आउला भनी लगभग आकलन गर्न सकिने अवस्था आदिले चाहिँ पाठकको दिक्दारी बढाउन सक्छ । एकाध कथा फिल्मी शैलीका पनि छन् । पढ्दा ठीकै लागे पनि सुनिआएको कथाकुथुङ्रीकै स्वादका छन् ।

‘जायठ’ कथामा पोखरीमा स्काभेटर भासिएको प्रसंगमा खोजिएको निदान र गरिएको विश्लेषण साथै ‘टु ट्वेन्टी’ कथाको अन्त्यमा दुलाहाको बाइक दुर्घटनाको प्रसंगलाई मनन गर्दा यसले लेखको वैचारिक दोधारेपनतिर संकेत गर्छ । त्यस बावजुद कुनै चटकबिनै पात्रको भोगाइ र व्यथाका कथाकै बलमा पाठकलाई तानिरहन सक्नु लेखकको असली खासियत हो, त्यसमा उनी अब्बल ठहरिएका छन् । शाहको समाज चिन्तन, वर्गीय चेत, समय चेतना, मधेसी रैथानेपनको प्रस्तुति आदि गजब छन् । दोहोरिएको ठाउँ, पात्र, क्लबको नाम आदिले कथामा रोचकताका साथै स्थानीय स्वादलाई तिख्खर पार्ने काम गरेको छ । बारबार आइरहने केही नितान्त स्थानीय स्वादमा पर्छन् : धमिनी क्लब, धमिनी नाच कम्पनी, गोलबजारको राइसमिल, गोलबजारको इँटाभट्टा, असनपुर, विसनाथ, रुदल, जितन, राजमार्ग आदि आदि ।

मधेसभित्रको समाजिक विविधता, वैचारिक उल्झन, फस्टाउँदो भ्रष्टाचार र बेथिति, वर्गसंघर्ष, सीमान्तीय समुदाय–क्षेत्रमाथिको सूक्ष्म विश्लेषण भएको ‘पथेर’ धेरै हदसम्म मधेसको मर्म पस्कन सफल छ ।

प्रकाशित : भाद्र २६, २०७८ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?