बाउ बदलिए भने- कोसेली - कान्तिपुर समाचार

बाउ बदलिए भने

बुवाले सधैं भन्नुभयो, 'छोरी दान गर्ने वस्तु होइन । म छोरीहरूको कन्यादान गर्दिनँ । छोरी जन्मेको घर सधैं उसका लागि पनि उत्तिकै हो, जति उनीहरूका दाजुभाइको हो ।’
शान्ता बस्नेत

मसेन्जरको भिडियो–कलमा मैले देखें, बुवालाई आँगनमा सुताइएको थियो । आँखा बन्द थिए । अनुहार ख्याउटे । श्वासप्रश्वासको चाप बढेको थियो । मेरो कान्छो दाइ भूपेन्द्रले ‘यो शान्ताको तर्फबाट’ भनेर बुवाको मुखमा पानी खुवाउँदै गरेको देखेपछि मेरा आँखा एक्कासि धमिला भए । मैले वरिपरि तिरमिर–तिरमिर देखें । हेर्न नसकेर चल्दै गरेको मेसेन्जरको भिडियो बन्द गरें । भक्कानिएर उभिएकै ठाउँमा थ्याच्च बसें । त्यतिबेला मेरो कर्मथलो क्यानडामा झमक्कै साँझ परेको थियो । मलाई लाग्यो, फेब्रुअरी ७ को त्यो साँझ मेरो संसार अँध्यारो बनाउन आएको हो ।

बुबाको अनुहार मेरो आँखाअघि झलझली नाच्न थाल्यो । दुई हप्ताअघि बुवालाई हार्टअट्याक भएको थियो । केही दिनको अस्पताल बसाइपछि सुस्त गतिमा मान्छे चिन्ने र केही शब्द बोल्ने भए पनि स्वास्थ्य सुध्रिएको थिएन । चिकित्सककै सल्लाहअनुसार बुवालाई घर लगिएको थियो । थाहा थियो, अब बुवाको साथ हामीसित धेरै लामो समय रहँदैन । यति जान्दाजान्दै पनि भौतिक रूपमा रहुन्जेल मान्छेले आस मार्दैन । कोभिडको सकसले मैले कर्मथलो छाड्न सकेको थिइनँ । अमेरिका रहेकी दिदीको अवस्था पनि त्यही थियो । हामी दुई दिदीबहिनीले अन्तिम अवस्थामा आफ्नो भौतिक उपस्थिति बुबासामु गराउन सकेनौं । मेरा लागि यो जीवनभर बिझिरहने पीडा भएर रह्यो । यो सम्झेर म झन् भक्कानिएँ र मैले बुवालाई फर्केर हेरें ।

...

सन्तानका लागि आमाबाबु शक्ति र साहसको बिम्ब हो । संस्कार र चेतना सिक्न हरेक आमाबुवा सबैभन्दा ठूलो विश्वविद्यालय हुन् । पाइला पाइलामा आउने समस्यासित जुध्ने कला मलाई सामान्य साक्षर बुवाले सिकाउनुभयो । छोराभन्दा छोरी कुनै हिसाबले कमजोर हुँदैनन र कहिल्यै आफूलाई कमजोर नठान्नु भन्ने पाठ पढाउनुभयो ।

बुवा इन्द्रबहादुर बस्नेतको कम्युनिष्ट विचारप्रति लगाव थियो । ज्ञान, चेतना, संस्कार, सामाजिक मूल्यमान्यताबारेको चिन्तन उहाँको समयभन्दा धेरै प्रगतिशील थियो । आफूले औपचारिक शिक्षा नलिए पनि दुई छोरा र तीन छोरीलाई विभेद नगरी शिक्षाको पहुँचमा मात्रै पुर्‍याउनुभएन आत्मनिर्भर बनाउन हरदम लागिरहनुभयो । छोरीलाई पढाउनुपर्छ, पढ्ने अवसर पाएनन् भने उनीहरू आत्मनिर्भर हुन सक्दैनन् र जीवन कठिन हुन्छ भन्ने बुवाको मान्यता उहाँ बाचुन्जेल अटल थियो ।

छोरीहरू हुर्किंदै गएपछि स्कुलतिरभन्दा बिहे गरेर पठाइदिने संस्कार हुर्काइरहेको समाजमा बुवाको एउटै संकल्प थियो— पहिले पढाइ त्यसपछि बाँकी कुरा । अहिले लाग्छ, बुवाको चेतनास्तर र जागरण नाप्न यति कुरा काफी छ ।

बुवा सुनाउनुहुन्थ्यो, २०३५ सालमा एसएलसी सकेपछि जेठी दिदीलाई उच्च शिक्षाका लागि काठमाडौं पठाउन खोज्दा आफन्त र छरछिमेकले निको मानेनन् । पढाउन एक्लै काठमन्डु पठाउनुभन्दा बिहे गरिदिन उनीहरूले दिएको सल्लाह बुवाले सुन्नुभएन । बुबाको त्यो निर्णय समाजमा कुरा काट्ने मेलो बन्यो । ठूली दिदीलाई पच्छ्याउँदै माइली दिदी, दुई दाइ र मैले पनि काठमाडौं पढ्न पायौं । हामीले फुक्काफाल काठमाडौंमा पढ्न पायौं । बुबा भन्नुहुन्थ्यो, ‘शिक्षामा गरेको लगानी पीपलबोटको चौतारो बनाएजस्तै हो, जो वर्षौंसम्म सियाँल दिइरहन्छ ।’

हाम्रो समाजका धेरै बुवाहरूलाई अहिले पनि लाग्छ, छोरी कमजोर हुन्छे । मेरा बुवालाई छोरा र छोरी बराबरी भन्ने लाग्थ्यो र त्यहीअनुसारको व्यवहार गर्नुहुन्थ्यो । दाइहरूलाई जस्तै हामीलाई कुनै छेकबार थिएन, संस्कारमा, पढाइमा सहभागितामा । हाम्रो सामाजिक स्वरूप, संस्कार र चिन्तनमा कमै बुवाले छोरीहरूलाई यसरी सघाउँछन् । मलाई लाग्छ, प्रत्येक बाबुहरू विभेदविरुद्ध उभिने हो भने छोराछोरीबीचको भेदभाव हट्न समय लाग्दैन । नेपाली समाजमा पितृसत्ताको अहम्ले त्यो गर्न दिएको छैन ।

बुवा सधैं रुढीवादी विचारका विपक्षमा उभिनुभयो । हामी छोरीहरूले घरमा कहिल्यै महिनावारी बार्नुपरेन । महिनावारी प्राकृतिक नियम हो र यसमा छुत–अछुत केही हुन्न भन्नुहुन्थ्यो बुवा । महिनावारीमा छोइछिटोलाई कुसंस्कार भन्नुहुन्थ्यो, जसले गर्दा हामीले घरमा अछुतको व्यवहार भोग्नुपरेन । बहुविवाह उहाँको नजरमा सधैं अपराध नै रह्यो । विवाहको लामो समयसम्म सन्तान नभएपछि घरमै केटी ल्याएर दोस्रो बिहे गर्न परिवार र छरछिमेकले दिएको दबाबविरुद्ध बुवा खरो उत्रिनुभयो । ‘सन्तान नहुने दोष म मेरी श्रीमतीलाई दिएर अर्को बिहे गर्दिन, सन्तानै भएनछन् भने पनि अर्को बिहे गरेर म उनीमाथि अन्याय गर्दिनँ’ भन्ने बुवाको अडानमा कसैको केही चलेन । बुवा भन्नुहुन्थ्यो, ‘समाज बदल्ने हो भने आफूबाटै सुरु गर्नुपर्छ । आफू नबदलिने तर अरू बदलियोस् भन्ने चाहना राखेर कहिल्यै परिवर्तन हुँदैन ।’ परिवर्तनका लागि रुढीग्रस्त सामाजिक मान्यतालाई कुल्चिन, त्यसविरुद्ध बोल्न र उछिनेर अघि बढ्न बुवाले सधैं प्रेरणा दिइरहनुभयो ।

हामीले पढ्ने विषय, बस्ने ठाउँ, हिँड्ने साथी र गर्ने काममा बुवाले कहिल्यै हस्तक्षेप गर्नुभएन । सधैं भन्नुभयो, ‘तिम्रो जीवन हो, कसरी सहज, सरल र आनन्दको बन्न सक्छ, त्यो हेक्का तिमीले राख्नुपर्छ । कहाँकहाँ ठक्कर लाग्छ भनेर आफैंले ख्याल गर्नुपर्छ । सधैं हात समातेर डोर्‍याउने मान्छे हुँदैनन्, भेटिँदैनन् । त्यसैले आफै दरिलो भएर हिंड्न सक्नुपर्छ ।’

थाहा छैन, हामी बुवाले भनेजस्तो आँटिलो हुन सक्यौं/सकेनौं !

तर, हामी सबै दिदी–बहिनीले आफ्नो जीवन आफूले भनेजसरी नै रोज्यौं । पढ्यौं, आफ्नो मनखुसी विषय । काम आफ्नै रुचीको गर्‍यौं । छोरीहरूले रुचाएको, छानेको र गरेको निर्णयमा बुवाले न प्रश्न गर्नुभयो न शंका । सधैं भन्नुभयो, ‘मलाई होइन आफूलाई सोध । ठीक गर्दै छु भन्ने लागेको छ भने निर्णय गर । म त्यसमा सधैं खुसी हुनेछु ।’

बुवाले सधैं भन्नुभयो, ‘छोरी दान गर्ने चिज होइन । म छोरीहरूको कन्यादान गर्दिन । उनीहरू जन्मेको घर सधैं उनीहरूका लागि पनि उत्तिकै हो जति उनीहरूका दाजुभाइको हो । छोरीका लागि केटा खोज्ने र कन्यादान गर्ने कुरा हाम्रो प्राथमिकता हुनुहुन्न । हाम्रो काम पढाइदिने र सही बाटो लाग भनिदिने हो । यसले उनीहरूको आत्मबल बढ्नेछ । बिहे उनीहरूको व्यक्तिगत निर्णय हो, जोसित खुसी हुन्छन् त्यहीसित गर्छन् ।’ हामी तीनै जना दिदी–बहिनीले आफ्नो जीवनसाथी आफैं रोज्यौं । बुवाको उपस्थितिमा परम्परागत रूपमै विवाह गर्‍यौं । तर, कन्यादान र गोडा धुने विधि हामीले गरेनौं, जसमा बुवाले सधैं गर्व र खुसी मान्नुभयो ।

बुवाकै प्रेरणाले मैले करिब एक दशक सञ्चार क्षेत्रमा काम गर्दा पनि लैंगिक विभेदबारे आवाज उठाएँ । मेरो आठवर्षे क्यानडा बसाइ, यहाँको पढाइ, काम र क्यानडामा महिलाप्रति गरिने व्यहारको अनुभवले भन्छ, रुढीग्रस्त पितृसत्तात्मक नेपाली समाज छोरीमैत्री बनाउन सबैभन्दा पहिले हरेक बाउहरूको सोच बदलिनु जरुरी छ । बाउहरूले छोरीलाई पनि मान्छे ठानेर व्यवहार नगरुन्जेल छोरीमाथिको हिंसा अन्त्य हुँदैन ।

शिक्षाको महत्त्व बुझेरै होला आफ्नो समुदायमा विद्यालय बनाउन होस् वा छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गर्न, चेपाङ बस्तीमा सघाउन होस् वा टोल सुधारमा चाल्नुपर्ने कदमबारे आफ्ना धारणा राख्न जीवनको उत्तरार्द्धसम्मै पुरानो साइकलमा गाउँ चहारिरहनुभयो— बुवा । उहाँको योगदान चितवनको पार्वतीपुरमा रहनेले पक्कै महसुस गरेका छन् ।

थाहा छ, बुवाको मृत्यु मेरो अंशगत पीडा हो । बुवा हुँदा जीवनको लय, उर्जा र साहस छुट्टै हुनेरहेछ । यतिखेर जीवनको एउटा लय बिथोलिएझैं लागेको छ । विछोड र बिदाइ मन नपराउने बुवा अब कहिल्यै नफर्किने गरी आफैं बिदा भएर जानुभयो भन्ने सत्य स्विकार्न मनले मानिरहेको छैन । कोभिड कहर नहुँदो हो त शायद हजारौं माइल परबाट पनि म अन्तिम अवस्थामा बुवालाई भेट्न पुग्थें, अब जीवनभर त्यो सम्भव रहेन । अब बुवालाई सम्झनु र उहाँले देखाएको परिवर्तनको बाटोलाई आफ्नो ठाउँबाट निरन्तरता दिनुबाहेकको विकल्प हामी सन्तानसित बाँकी छैन ।

प्रकाशित : भाद्र १९, २०७८ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्

मनहरा नदीमा बेपत्ता दुई बालक मृत फेला

अर्जुन शाह

धनगढी — कैलालीको गोदावरी नगरपालिका–१ मा पर्ने मनहरा नदीमा बेपत्ता भएका गोदावरी–१ का १० वर्षीय योगेन्द्र थापा र १४ वर्षीय आयुग थापा मृत फेला परेका छन् । शुक्रबार दिउँसो गेटा मेडिकल नजिकै रहेको मनहरा नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएका थिए ।

नदीमा बेपत्ता भएका दुई बालकको खोजीमा खटिएको नेपाल प्रहरी, सशस्त्र प्रहरी बैजनाथ बाहिनीवाट सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले शुक्रबार राती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतीक विष्टले बताए ।

प्रकाशित : भाद्र १९, २०७८ ०९:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×