१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जो पानीमा ‘आगो’ बालेर गए

कवि पूर्ण वैद्य भनिरहन्थे, ‘छन्द, मात्रा, अनुप्रास जम्मै जोडेर जुन शब्दहरुको थुप्रो बन्छ, यदि त्यसमा कविता नै जोड्न बिर्सिएछ भने त्यसलाई कसरी कविता भन्ने ? कवितामा छन्द नभए पनि हुन्छ, मात्रा नभए पनि हुन्छ । तर, कविताचाहिँ हुनुपर्छ ।’
पूर्ण वैद्य अन्तरमुखी थिए, कम बोल्थे । उनी कवितामा कम बोल्थे, बढी बुझाउँथे । सायद कवितामा नबोलेका धेरै कुरा उनको मनमै कतै अड्किएको हुँदो हो ।
सुरेश किरण

कवितामा अरू जम्मै छुटे पनि कविताचाहिँ छुट्नु हुन्न’, कवि पूर्ण वैद्य बरोबर भनिरहन्थे । जतिबेला पूर्ण वैद्यले नेपालभाषामा कविताको गद्यलेखन सुरु गरे त्यतिबेला यो भाषामा भएभरका कविहरूको लेखन पद्यमा हुने गर्थ्यो । छन्द, मात्रा, अनुप्रास, अन्त्यानुप्रास यी सबै जोडजाड पारेपछि मात्रै कविता बन्छ भन्ने कठोर धारणा त्यतिबेला थियो । तर, पूर्ण वैद्य प्रश्न गर्थे, ‘छन्द, मात्रा, अनुप्रास जम्मै जोडेर जुन शब्दहरूको थुप्रो बन्छ, त्यसमा यदि कविता नै जोड्न बिर्सिएछ भने त्यसलाई कविता कसरी भन्ने ?’ उनको भनाइ थियो— कवितामा बरु छन्द नभए पनि केही छैन, मात्रा नभए पनि केही छैन, कविताचाहिँ हुनुपर्छ । कवितामा अरू जम्मै छुटे पनि कविताचाहिँ छुट्नु हुन्न ।

जो पानीमा ‘आगो’ बालेर गए

उतिबेला नेपालभाषामा (र नेपालीमा पनि) लेखिने पद्य कविताहरूमा उनी पद्य मात्रै देख्थे, कविता देख्दैथे । उनी वास्तवमा त्यस्ता कविताको खोजीमा थिए, जसमा केवल कविता मात्रै होस्, कविता सिबाय अरू केही नहोस् ।

यो सम्भवतः विसं २०१६–१७ सालतिरको कुरा हुनुपर्छ । उनी त्रिचन्द्र कलेजा पढ्थे । त्यहाँ उनका कवि मित्रहरू थिए— श्यामसुन्दर सैंजु, रमेश मधु आदि । त्यहीं उनले नेपालभाषामा छन्दविहीन कविताहरू लेख्न थाले । तर, तत्कालीन साहित्य–वृत्तमा उनको कविता स्वीकृत हुन सकेन । कवि मण्डलीमा पनि उनका कविता तिरष्कृत थिए । साथीहरू उनलाई व्यंग्य कस्दै भन्ने गर्थे– जसलाई छन्दको ज्ञान छैन, उसले कसरी कविता लेख्ला र ?

त्यतिबेलाको लोकप्रिय ‘झी’ (हामी) पत्रिकामा कविता पठाउँदा साथीहरूका कविता छापिन्थे, उनको छापिँदैनथ्यो । यसले उनलाई यति अपमानवोध गराउँथ्यो कि उनी झन् अरू गद्य लेख्न कसिन्थे ।

त्रिचन्द्र कलेजमै उनका अर्का साहित्यकार मित्र पनि पढ्ने गर्थे, मोहनहिमांशु थापा । थापा नेपालभाषा पढ्ने मात्र होइन, नेपालभाषामा लेख्ने कवि पनि हुन् । उनले पूर्ण वैद्यको पाण्डुलिपि पढे, जसको शीर्षक थियो– ‘जितः गुलि मछिं थ्व संतप्त फिसलय् दनाः ।’ कविता राम्रो लाग्यो । त्यसपछि थापाले त्यसलाई नेपाली भाषामा उल्था गरे । शीर्षक पनि आफैं हाले, ‘यस संतप्त धरतीमा उभिएर ।’ थापाले त्यो कविता भारतको बनारसबाट प्रकाशित हुने ‘उदय’ पत्रिकामा छपाए । पूर्ण वैद्यको पहिलो प्रकाशित कविता त्यही बन्यो ।

थापाले नै उनको अर्को कविता ‘सन्ध्याया ई’ लाई पनि नेपालीमा अनुवाद गरी त्रिचन्द्र कलेजबाटै प्रकाशित हुने ‘ज्योति’ पत्रिकामा छपाए । त्यसपछि मात्रै हो, नेपालभाषाका साहित्यकारमा पूर्ण वैद्य ‘नोटिस’ हुनथालेको । उनका कविताहरू नेपालभाषाका पत्रिकाहरूमा पनि प्रकाशित हुनथाले । यसैक्रममा विसं २०२२ सालमा उनको गद्य कवितासंग्रह ‘सरासु : निष्पट्ट अँध्यारोमा पहिलो किरण)’ को पाण्डुलिपिलाई च्वसापासा नामक संस्थाले प्रतिष्ठित श्रेष्ठ सिरपाः (पुरस्कार) प्रदान गर्‍यो । यो नै नेपालभाषाको पहिलो गद्य कवितासंग्रह थियो । यो संग्रह प्रकाशनपछि पूर्ण वैद्यलाई नेपालभाषामा गद्य कविताका पहिलो सर्जकको सम्मान प्राप्त भयो ।

यसरी पूर्ण वैद्यले नेपालभाषा काव्य इतिहासमा करिब ६०० वर्षअघिदेखि लेखिँदै आएको पद्य विधालाई छिचोलेर पहिलोपटक गद्य कविताको आरम्भ गरे । काव्य क्षेत्रमा ‘सरासु’ एउटा भूकम्पजस्तै प्रकट भयो, जसले ठूलै हलचल मच्चायो र मक्किएका धेरै कुरा भत्कायो । तत्कालीन रोमानीवादका प्रणेता सिद्धिचरण श्रेष्ठले उनको त्यो संग्रह पढेर आफू झस्याङ्ग भएको लेखेका छन् । झस्याङ्ग भएर पनि नलेख्नेहरू अझ धेरै छन् ।

नेपालभाषा काव्यको इतिहासमा ‘सरासु’ एउटा मानक कृति बनिसकेको छ । नेपालभाषा काव्यको इतिहास लेख्दा ‘सरासु’ अघि र ‘सरासु’ पछि भन्ने दुई स्पष्ट कालखण्ड बनाउने गरिन्छ । ‘सरासु’ का कारण उनी आफैं पनि एक मानक कविका रूपमा स्थापित छन् । अहिले नयाँ आउने कविहरूमा जसले अलि गतिलो लेख्छ, समालोचकहरू उसलाई ‘भविष्यको पूर्ण वैद्य’ भनेर जोख्न थालिहाल्छन् । नेपालभाषामा यस्तो प्रेरणाको श्रेय कि दुर्गालाललाई छ, कि पूर्ण वैद्यलाई मात्रै छ ।

नेपालभाषाका अधिकांश साहित्यकार केवल लेखनमा सीमित छैनन् । भाषिक समानताको आन्दोलनमा उनीहरू सडकमा पनि उत्रिरहेका हुन्छन् । जस्तो दुर्गालाल श्रेष्ठ, मल्ल के. सुन्दर, बुद्ध साय्मि, प्रतिसरा साय्मि आदिहरू हरेकजसो आन्दोलनमा कहिले राँको बालिरहेका हुन्छन्, कहिले टायर बालिरहेका हुन्छन् । तर, पूर्ण वैद्य सडकमा आगो बाल्ने त्यस्ता कार्यक्रममा कमै उपस्थित हुन्थे । तथापि यसको अर्थ उनी आगोसँग डराउँछन् भन्ने होइन । उनी पनि आगो बालिरहन्थे, तर पानीमा । पछिल्लो समय उनले लेखेका ‘पानी कविता’ हरू यथार्थमा जम्मै आगो हुन् । उनले लेखेका छन्–

आफैंभित्र आगो नभई

पानी पनि कहाँ पानी भएर बस्न सक्छ र ?

उनले पानीलाई मात्रै विम्ब र प्रतीक बनाएर लेखेका कविताहरूको संग्रह ‘लः लः खः (पानी पानी हो)’ केही वर्षअघि प्रकाशित भयो । पहिलो संग्रह प्रकाशनको करिब ३० वर्षपछि निस्केको यो संग्रहमा जो पूर्ण वैद्य भेटिन्छन्, त्यो ‘सरासु’ वाला पूर्ण वैद्य होइन । उनको दोस्रो संग्रह यसरी निस्कियो, जसमा कृति मात्र होइन कवि नै फरक हुन् कि जस्तो लाग्छ । यो संग्रहले उनको परिचय ‘पानी कवि’ मा रूपान्तरण गरिदियो । आफूभित्रका सम्पूर्ण आक्रोस, प्रेम, घृणा, विद्रोह, असन्तोष, उकुसमुकुसलाई उनले पानी बनाएर पोखेका छन् यो किताबमा । नेपालभाषा मात्र नभई नेपाली साहित्यका लागि समेत यो एउटा नयाँ प्रयोग थियो । यसभित्रका ९० वटा कविता लेख्न उनलाई ४० वर्ष लागेको थियो । यी कविता लेख्न बस्दा कतिपय ठाउँमा उनी पानी भएका छन्, कतिपय ठाउँमा पानी उनी भएको छ । पानीलाई आफू बनाउँदै उनी लेख्छन् :

भेटिए जति उचाइहरू भत्काएर,

भेटिए जति खाडलहरू पुरेर

यो धरतीको विषम धरातल

पानीले मलाई प्रमाणित गर्छ, कि

भनौं, मभित्रकै एउटा आतुर वेग हो

समानताप्रति तीव्र प्रतीक्षाको ।

उनको ‘लः लः खः’ संग्रहले साहित्य मात्र होइन, समग्र भाषाकै स्तरलाई एक तह माथि पुर्‍याइदिएको ठहर गरेका छन् डा. कमलप्रकाश मल्लले । त्यो किताब नेपाली र अंग्रेजी भाषामा समेत अनुवाद भइसकेको छ ।

नेपालभाषाको कवितालाई छन्दबाट बाहिर निकाल्ने श्रेय पाएका पूर्ण वैद्यलाई कत्तिले छन्दविरोधी कवि पनि भन्छन् । किनभने उनको मान्यता थियो— कवितामा पढ्ने भनेको कविता मात्रै हो, छन्द होइन । छन्द त कविताको खोल मात्रै हो । भित्रको वस्तु अब्बल छैन भने खोल राम्रै भएर के अर्थ ?

तर, उनी आफैंचाहिँ छन्दविरोधी भएको स्विकार्दैनथे । ‘म छन्दमा लेख्ने कविहरूको विरोधी होइन, कविता भनेको छन्दमै मात्र लेख्नुपर्छ भन्ने जिरहको मात्रै विरोधी हुँ,’ उनले एउटा अन्तर्वार्तामा भनेका छन् ।

कम शब्द खर्चेर धेरै भन्न सक्नु उनको खुबी हो । त्यसैले तीन लाइनका हाइकु लेख्ने केही नयाँ कविहरूले उनलाई हाइकुतिर पनि कलम चलाउन आग्रह गरेका थिए । जवाफमा उनले भने, ‘ओहो ! मात्र १७ वटा अक्षरमा आफ्ना जम्मै कुरा भन्न सक्ने क्षमता ममा छैन । म त्यो आँट गर्न सक्दिनँ ।’

कविताबाहेक उनी निबन्ध पनि लेख्थे । त्यसो त त्यो पनि भन्नु मात्रै निबन्ध हो, त्यसलाई पंक्ति–पंक्तिमा लेखिएको कविताभन्दा फरक नपर्ला । ‘जि छगू अभिव्यक्ति युगया (म एउटा अभिव्यक्ति युगको)’ नामक उनको निबन्धसंग्रह पनि प्रकाशित छ । त्यो संग्रहले पनि श्रेष्ठ सिरपाः (पुरस्कार) जितेको थियो ।

त्यस्तै उनका साहित्य र काव्यसम्बन्धी अवधारणाको एउटा संग्रह पनि प्रकाशित छ । ‘कविताया लागा (कविताको क्षेत्र)’ शीर्षकको उक्त संग्रहलाई डा. मोहनहिमांशु थापाले ‘पूर्ण वैद्यको पहिचान’ बोक्ने कृति भनेका छन् । त्यस्तै उनले जापानी भाषाका कवि सुन्तारो तानिकावाको एउटा कविता संग्रह पनि नेपालभाषामा अनुवाद गरेका छन् ।

पूर्ण वैद्य अन्तरमुखी थिए, कम बोल्थे । कम पनि कति भने उनी कवितामा पनि कम मात्रै बोल्थे, बढी बुझाउँथे । सायद कवितामा नबोलेका धेरै कुरा उनको मनमै कतै अड्किएको थियो । त्यो निकाल्न उनीसँग भेट्ने मेसो मिलाउँदै थिएँ । गत असारको अन्तिम दिन मात्रै उनले राष्ट्रपति विद्यादेवी भण्डरीका हातबाट नेपाल प्रज्ञा प्रतिष्ठानले प्रदान गरेको नेपाल मातृभाषा प्रज्ञा पुरस्कार ग्रहण गरेका थिए । त्यो उनले पाएको अन्तिम पुरस्कार हो । त्यही सन्दर्भमा उनको लामो अन्तर्वार्ता गर्ने समय मिलाउँदै थिए । अचानक खबर आयो, उनी कब्जियतका कारण अस्पताल भर्ना भएका छन् । भोलिपल्ट अर्को खबर आयो, उनलाई कोभिड पनि भएको छ । तेश्रो दिन अर्को खबर आयो, उनलाई भेन्टिलेटरमा राखिएको छ । छैटौं दिन अन्तिम खबर आयो... उनी रहेनन् !

विसं १९९७ को जनैपूर्णिमाका दिन भक्तपुरमा जन्मेका कवि वैद्य गएको जनै पूर्णिमाका दिन ८१ वर्ष लागथे । जन्मदिनको पाँच रातपछि भदौ १० गतेका दिन उनी बिते । उनका कविता आउनु नेपालभाषा साहित्यका लागि जसरी भूकम्प हुने गर्थ्यो, उनको जानु पनि साहित्यका लागि पहिरो भएको छ । उनी भूकम्प भएर आए, पहिरो भएर गए । सायद पानीजस्तै ।

प्रकाशित : भाद्र १९, २०७८ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?