'मलाई त्यसले छोएको मन पर्दैन'- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'मलाई त्यसले छोएको मन पर्दैन'

बाल्यकाल सर्वांगीण मानव बन्ने भावनात्मक अनि सामाजिक विकासको बाटो हो, जहाँ मानव मनले केवल भावनाको भाषा मात्रै बुझ्छ । यस्तो कलिलो शिशुवत् स्थितिमा यौन शोषणको सिकार बन्नु भयानक दुर्भाग्यको विषय हो ।
शैलिका छेत्री

ऐलट्रइज्म पीडामा स्त्री
मानव सभ्यतामा पुरुष जातिलाई पौरुष्य सभ्यताको सर्वश्रेष्ठ प्रतिनिधिका रूपमा स्थापित गरिएको छ । स्त्रीमाथि भइआएको उत्पीडनले समाजको रोगी मानसिकतातर्फ संकेत गर्छ । कामसूत्र भन्छ, ‘अभ्यस्त इन्द्रिय सुख, जस्तै कामुक इच्छाले पनि दुःखलाई निम्त्याउँछ ।’ जुन समाजमा जागरुकताको कमी हुन्छ, त्यहीँ नै यौन आनन्दको नाममा लुटिएको हुन्छ मानव अस्मिता । तर, के यौन यति बढी स्पेस पाउने विषय हो र ? बायोलोजिकल दृष्टिले हेर्ने हो भने यौन केवल प्रकृतिमा होमो सेपियन्स अर्थात् हामी मानव जातिको जनसङ्ख्यालाई कायम राख्ने अति साधारण प्रक्रिया मात्रै हो ।

कामदेव सूत्र (४–१) को सूत्र निपातामा बुद्धले संसारमा तीव्र यौन लालसालाई दुःखको मूल बताएका छन् । आदम र इभ पहिले कति निर्दोष थिए ? जुन क्षणदेखि पाप–फलको स्वाद जीवनमा पर्‍यो, त्यसपछि मानव प्रजनन प्रक्रियामा लिप्त बन्दै सम्पूर्ण सभ्यता नै अमरत्वबाट वञ्चित बन्न पुगेथ्यो ।

उपनिषद्ले इन्द्रिय इच्छालाई दमन गर्दै, जीवनको सत्यलाई खोज्ने विषयमा जोड दिन्छ । तर, फेरि फ्रायडको सिद्धान्तले दमित अनि अतृप्त इच्छाहरूले कुण्ठा उब्जाएको विषयबारे बोल्छ । फ्रायडले जीवनमा यौन परितुष्टिलाई प्रमुख चालक शक्ति मानेका थिए । मानव सभ्यताले फ्रायडको सिद्धान्त पछ्यायो । मानव मन सर्वदा व्यभिचारको भावनामा लिप्त हुन्छ त ? त्यसरी त मानव मनमा जीवनलाई गहन गर्ने निष्पक्ष विचार पनि कहिल्यै नउब्जेला । फ्रायडवादले मानवलाई प्रकृतिमा विलासी प्राणी मात्रै करार गरिरहेको हुन्छ ।

मलाई लाग्छ, बुद्धि र तर्कको सीमा इन्फाइनाइट छ । नारीवादी भावना मभित्र पनि पलाउँछ । त्यसैले, भन्छु, ‘स्त्री पौरुष्य तृष्णालाई पूर्ण गर्ने मांसपिण्ड होइन । स्त्री पारिजातले भनेजस्तै समाजका राल्फा योद्धा हो । स्त्री तिलोत्तमा हो ।’ तर, पुरातन मानव सभ्यता होस् वा अहिलेको अत्याधुनिक सभ्यता, स्त्री देहले प्रत्येकपल्ट नै यौन शोषणमा ‘एलट्रइज्म् अर्थात् सेक्रिफाइस्’ भोगिरहेकै छ ।

इतिहास र स्त्री

आधुनिकतामा बढो शक्ति हुन्छ । यसले मानव विकासको मार्गमा आएको काँडादार अवरोधलाई पनि पार गरेको हुन्छ । हामी त्यही अत्याधुनिक युगको प्रतिनिधित्व गर्छौं, जहाँ प्रगतिशील मानव मूल्यलाई स्पेस दिएको हुन्छ । तरै पनि, यस्तो मौलिक युगमा परिवेशको दबाबमुन्तिर अर्थहीन बन्ने गर्छ स्त्रीको स्वतन्त्र हुने रहर । स्त्रीको अस्तित्व जुन संकटको बाटो हिँडिरहेको छ, त्यो अत्यन्त व्यापक अनि भयावह छ । पौराणिक युगमा पनि स्त्री शोषित पात्र नै थिए । जयद्रथ, कीचक, दुशासन अनि दुर्योधनले द्रौपदीको स्त्रीत्वलाई बारम्बार घायल गर्ने प्रयास गरेका हुन् । महाभारत युगमा दरबारको भीडसामु द्रौपदीको इज्जत–हरणको अपमानलाई नारी समाजले भुल्न सक्तैन । पुरातन युग त्यसबेला गौण बनेथ्यो, जतिखेर इन्द्रले ऋषि–पत्नी अहिल्यालाई छलमा यौन–भोग गरेका थिए । रावणद्वारा वेदवतीको इज्जत हननले आफू श्रापित बनेको गवाही दिन्छ । रामायण ग्रन्थ पनि स्त्रीमाथि हुँदै आएको यौन उत्पीडनबारे बोलिरहेको छ । युगले भुल्न सकेको छैन रावणले सीताहरण गरेको घटना ।

हुन सक्छ, समाजले स्त्रीलाई तेस्रो निम्नवर्गीय स्थानमा राखेकै कारण यहाँ कैयौं यौन–संघर्षमय उत्पीडनका विषय बल्झिरहन्छन् । यहाँ निर्भयाभन्दा पनि भयावह कैयौँ बलात्कारको मुद्दा दर्ता भइबस्छन् । जापानकी जुन्को फुरूतालाई यस्तै समाजले लगातार ४४ दिनसम्म भयानक अत्याचार अनि सामूहिक बलात्कारमा होम्न बाध्य पारेकै हो ।

यौन उत्पीडन र अबोध बालिका

नेल्सन मण्डेला भन्छन्, ‘मानव स्वतन्त्रता सम्भव हुँदैन, जबसम्म स्त्रीलाई समस्त सामाजिक उत्पीडनबाट मुक्त गरिँदैन ।’ तर, यहाँ स्त्री उत्पीडनमा कहिले विराम लाग्ने होला ! आत्मसमीक्षाको कमी रहेको जमातले बालिकासमेतलाई यौनआनन्द निमित्त उत्पीडित गरिरहेको क्यान्सरस घाउ, यही समाजको पौरुष्य जमातले घरीघरी बल्झाइरहेको हुन्छ । यसै सन्दर्भमा मलाई ऋतुपर्णा च्याटर्जीको संस्मरण ‘द वाटर फिनिक्स’ को याद आउँछ । संस्मरणमा ऋतुपर्णाले आफू ६ वर्षको अबोध बालिका हुँदा परिवारकै सदस्यबाट यौन शोषण भएको पहिलो घटनादेखि सुरु गरेर बलात्कारीहरूको लामो सूचीको विस्तार दस्तावेज पाठकसमक्ष राख्ने साहस गरेकी छन् । तसलिमा नसरिनको पनि उही कथा छ ।

बाल शोषणका पनि विभिन्न प्रकार छन्—

१. बच्चालाई उपेक्षा

३. शारीरिक शोषण

३. यौन शोषण

४. भावनात्मक शोषण

यीमध्ये यौन शोषण सबैभन्दा डरलाग्दो उत्पीडनको विषय हो । कारण, बाल्यकाल सर्वांगीण मानव बन्ने भावनात्मक अनि सामाजिक विकासको बाटो हो, जहाँ मानव मनले केवल भावनाको भाषा मात्रै बुझ्छ । यस्तो कलिलो शिशुवत् स्थितिमा यौन शोषणको सिकार बन्नु भयंकर दुर्भाग्यको विषय हो ।

यसैले, यहाँ मैले छेउबाटै अनुभूत गरेको संवेदनात्मक बाल यौन उत्पीडनको घटना उल्लेख गरेको छु । यो भोगाइ नियतिको (नाम परिवर्तन) हो । हो नियति, छैटौं कक्षामा पढ्दै गरेकी एक फुच्ची केटीको ।

कोपिला मनको – कलिलो दर्पण

प्रकृतिमा निषेचित बीज अनि मानव शिशुवत् स्टेट ठ्याक्कै मिल्ने गर्छ । एडोस्पर्म अर्थात् निषेचित बीजले उर्वरक पदार्थ भेट्नसाथ एडोस्पर्मले गतिमान विकासको क्रिया पक्रिन्छ । बीजको बाक्लो परतलाई पनि फुटाउँदै त्यहाँबाट नयाँ पालुवा निस्केको हुन्छ । मलिलो माटोको स्पर्शमा त्यो पालुवा कालान्तरतिर फलदायी वनस्पतिमा परिणत भएको हुन्छ । तर, अभाग्यवश कहीँ बीजले भेट्ने जमिन नै उजाड बन्जर भए सम्भवतः त्यो त्यहीँ कुहिएर मर्छ । प्रकृतिमा चलिरहने प्रक्रियालाई बुझिलिँदा बालकको सर्वांगीण विकास पनि बालक हुर्किने परिवेश वरिपरि निर्भर भएको हुँदो हो । कमजोर झुसुल्कीरामा आकर्षक पुतली बन्ने विशेषता पहिलेबाटै हुन्छ र ? त्यो त भविष्यको ग्राफिक डिजाइनले तय गर्छ ।

बालकलाई पनि भविष्यको क्रिएटिभ व्यक्ति बन्न अनुकूल परिवेश अनि पोजिटिभ प्यारेन्टिङको खाँचो पर्छ ।

तर, यस्तो पोजिटिभ हुर्किन पाउने स्पेस सबैको किस्मतमा हुँदैन । नियति पनि यस्तै किस्मतले सहयोग नगरेको जमातमा पर्ने एक ‘अभागी’ बालिका नै थिई । नियतिको बाध्यता टक्सिक रिलेसनसिपमा हुर्किनु थियो । त्यसैले दिनदिनै चाइल्ड डिप्रेसनको पीडामुन्तिर गुम्सिएको देखिन्थ्यो, नियतिको चाइल्डिस चाहना । बेफिक्रीले उछलकुद गर्ने नियतिको पनि उमेर थियो, तर सोचाइको नकारात्मक व्यूहमाझ अल्झिएर बाँच्नुको सट्टा केवल बाँचिरहेको थियो उसको निर्दोष बालक काया ।

नियतिको नियति

त्यो २०१८ को साल हुनुपर्छ । मैले स्थानीय मिसनरी स्कुलमा गणित टिचरको नियुक्ति पाएकी थिएँ । गणित आफैँमा सुन्दरता अनुभूत गराउने विषय हो । तर, यसको सुन्दरतासित अनभिज्ञ देखिन्थ्यो नियतिको बालक मन । गणितका प्रब्लमहरू तार्किक विचारको कविताझैं हुन्छ, जसले बालकको सोचाइलाई काफी हदसम्म परिपक्वता दिन्छ । तर, नियतिलाई हुनुपर्छ परिपक्वतासित नफरत थियो, उसले गणितका प्रब्लमहरूसित अल्झिरहनुको सट्टा नकारात्मक सोचिरहने ब्ल्याक–आउट व्यवहार स्विकारेकी थिई । त्यसैले नियति चाइल्ड डिप्रेसनको सिकार बन्दै गएकी थिई ।

अपरिपक्व मानव जमातका ती कलिला कोपिलालाई गणित सिकाउँदा मलाई रोबर्ट फ्रस्टको विचारको सम्झना हुन्थ्यो, ‘म शिक्षक होइन, प्रोत्साहन दिने जागरुक व्यक्ति मात्रै हुँ ।’ त्यसबेला, म पनि त्यस्तै जागरुक समाजको प्रतिनिधित्व गरिरहेकी थिएँ । त्यसैले गणितसित नफरत गर्ने नियतिलाई पनि गणितको बेसिक्ससित परिचित गराउनु मेरा निमित्त चुनौतिको विषय बन्यो । हप्काएर हुन्छ वा प्रेमले, जसरी पनि गणित र नियतिको बन्धुत्व कायम राख्नु थियो । हो, त्यही कारण थियो, त्यस दिन मैले नियतिलाई कतिपय गणितका सजिला प्रब्लमहरू होमवर्कका निम्ति दिएकी थिएँ । भनेकी थिएँ, ‘होमवर्क नगरी क्लास आयौ भने तिमीलाई म प्रिन्सिपलकहाँ लान्छु ।’

त्यो दिन पनि सधैंजस्तो साधारण थियो । तर, नियतिको निम्ति गाह्रो दिन । कारण उसले मलाई हिजो क्लासमा दिइएको हिसाबको समाधान देखाउनुपर्ने थियो । त्यसैले क्लासको सुरुमै मैले नियतिको हिसाब कापी चेक गर्न उसलाई बोलाएँ ।

तर, ऊ त लाजले टमाटरजस्तो रातो बनी । नियतिले हिसाबकापी मेरो टेबलमाथि राखिदिई । कापी पल्टाएर हेरेँ, उसले पहिलो दुईवटा हिसाबका प्रब्लमलाई सुन्दर ढंगमा समाधान गरिछ । तर, कापीको पछिल्लो पातामा त्यो के ? त्यहाँ नियतिले जथाभावी कस्तो आकृति कोरेको ?

उसले पन्नामा पुरुष लिंग बनाएकी थिई, जसलाई धारिलो हतियारको प्रहारले छिनाइएको थियो । त्यो चित्र देखेर मेरो टाउको चर्कियो । मनमा अनेकौं तर्कना आए । मैले छिटोछिटो उसका खाताका पन्नाहरू पल्टाएँ । एउटा पन्नामा रातो रङले (सम्भवतः त्यो खुनले) लेखिएको थियो, ‘मलाई त्यसले छोएको मन पर्दैन ।’ अहो ! त्यो कस्तो निराश्रित क्षण । कुरूप अनुभवमा बामे सर्दै हुर्किरहेको बालापन । आत्तिएर मैले नियतिको कमेज सारेर हेरेँ, त्यहाँ ताजा काटिएका चोटहरू रहेछन् । त्यो देखेर मेरो मन अकस्मात् निमोठेझैं असहनीय तौरमा दुख्यो, राँकिएर नियतिलाई सोधेँ, ‘यो के हो ? के तिमीलाई कसैले नराम्रो व्यवहार गर्छ ?’

त्यसपछि उसले जुन घटना बर्णन गरी, त्यो मुटु कँपाउने थियो । मैले कापी उसको क्लास चिटर (छैटौं क्लास) भावनालाई देखाएँ । म जसरी काँपेकी थिएँ, उनी पनि त्यसरी नै काँपिन् ।

त्यसबेला हामी दुवैले नियतिको अत्यन्तै दुःखदायी क्षणलाई बाँच्ने प्रयास गरिरहेका थियौँ । त्यति सानी फुच्ची, जसमा ‘बौद्धिकता’ पलाएको थिएन, उसले त्यस्तो जटिल चित्रको अभिव्यक्ति कसरी पो गर्न सकेकी होला ?

मैले सुनेको थिएँ, नाबालिग अनि आर्थिक रूपबाट वञ्चित बालिकालाई स्पा, डान्स बारमा अवैध यौन गतिविधिका निम्ति फोर्स गरिन्छ । नियतिलाई उद्धार गरिएन भने ब्वाँसाहरूले उसको के हालत गर्लान् ?

भावना अनि मेरो अन्तस्करण घृणाले काँप्यो । त्यस क्षण भावनाले भनेकी थिइन्, ‘शैली, के पुरुष जाति एक क्षणको सन्तुष्टिका निम्ति यस्तो स्वार्थी बन्छ ? मैले चिनेको पुरुष जमात त जागरुक छ !’

भावनाको कुरामा मेरो पनि सहमति त थियो, तर नियतिको नियतिले अर्कै बयान गरिरहेको थियो । केही हप्ताअघि मात्रै यही स्कुलमा चौथो श्रेणी पढ्ने एक बालिकाको योनि घाउले भरिएको पाइएको थियो । घाउको पीडाले ऊ बस्नसमेत सकिरहेकी थिइन । उसको क्लास टिचरले फकाईफुस्लाई सोधेपछि जुन उत्तर आयो, त्यसे सारा स्कुल मात्र होइन, दार्जिलिङ हल्लिएको थियो ।

ऊ आफ्नै काकाबाट दैनिक रूपले शोषणमा परेकी थिई । यौन पिपासु काकालाई पक्राउ गरियो । त्यसपछि हामीले गुड–टच र ब्याड–टच अभियान चलाएका थियौं ।

त्यसपछि फेरि नियतिको पीडा ! उफ !

जे–जस्तै भए पनि नियतिलाई बचाउनु थियो । तसर्थ स्कुल छुट्टी हुनेबित्तिकै नियतिलाई लिएर हामी उसको घरतर्फ दौडियौं । मैले जीवनमा गरिबीलाई छेउबाट अनुभूत गरेको थिइनँ । तर, त्यस दिन मैले नियतिको हालतबाट गरिबीलाई देखेकी थिएँ । भत्किएको पुरानो टिनको टुक्रा अनि फाटेको प्लास्टिकले ढाकेर बनाइएको रहेछ नियति बस्ने झोपडी । झोपडीको कुनाकुनामा लछारपछार झम्टिँदै बास गर्थ्यो गरिबी । र, छेउ पलङमा प्रेसरको रोगले कुँजे बनेकी नियतिकी आमा लडिरहेकी थिइन् । गरिबी, कुँजे आमा अनि नियतिको पीडा, हामी अझ आहत बनेकी थियौं ।

हामीले कापी निकालेर आमालाई देखायौं । त्यो देख्नासाथ आमा धुरुधुरु रोइन् । ‘अभागी लाचार म, ढुंगा बनेर नियतिलाई त्यसको बडाबाले जबर्जस्ती गरेको पनि सहिबस्छु,’ आमाले हामीलाई सुनाइन्, ‘म हिँड्न सक्दिन, केही भने मार्न झम्टिन्छ, सहनुबाहेक अर्को केही उपाय छैन मसित ।’ हामी छाँगाबाट खस्यौं । छोरीको पीडाअघि आमाका कैयौं पीडा गौण बन्दारहेछन् । त्यो त यौन नबुझ्ने सानी केटीमाथि हुँदै गरेको उत्पीडनको घटना थियो । आमा जिउँदै त थिइन्, तर लाग्थ्यो मरिसकेकी छन् ।

भावनाले एक एनजीओसित सम्पर्क गरिन् । जुन दिन यौनपिपासु बडाबालाई पक्रियो, त्यो दिन हामीले ठूलो सास त फेर्‍यौं, तर त्यो ढुक्कको सास भने थिएन ।

यो संसारमा अझ कति बालिका होलान्, जसले कापीमा लेखेक होलान्, ‘मलाई त्यसले छोएको मन पर्दैन ।’ तर, ती कापीका अक्षर पढ्ने मानिसचाहिँ होलान् कि नहोलान् ?

प्रकाशित : भाद्र १९, २०७८ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्

धरहरा 

भूपिन

रात स्वयम् छ गहिरो निद्रामानसुतेको तिमी छौ र म छु पुलिस दाइ !म केही छिन आँखाको पिरो मार्न चाहन्छु म केही छिन आँखाको ढक्कन बन्द गर्न चाहन्छु नयाँ बनेको यो धरहरामा आज एकरात बास बस्न चाहन्छु !

अनुरोध त

सिधै प्रधानमन्त्रीसँग गर्न मन थियो

सुनेको छु, परमादेशको स्लिपिङ ट्याबलेट सेवन गरेपछि

अनिद्राले सताइएका उनी गहिरो लम्पसारमा छन्,

हकिन्सले पत्ता लगाउन नसकेको ‘सम्पूर्णताको सिद्धान्त’

आफूसँग भएको दाबी गर्ने

सत्ताका कम्फर्टेबल क्याप्टेनलाई सोध्न मन थियो

सुनेको छु– उनी पद बाँडफाँडको सूत्र थाहा नपाएर आतंकित छन्,

सोध्न मन थियो प्रतिपक्ष दलका नेतालाई

सुनेको छु– उनी यही धरहराको उचाइबाट खसेपछि

घाइते भएको अहम्को बार्दलीमा बसेर

गालीशास्त्रको नयाँ पाना रच्न व्यस्त छन्

एक आफन्त थिए

जो भन्थे, ‘म नेता हुँ नेता’

सुनेको छु,

उनी आफ्नै घर जलाएर निस्केको खरानीको व्यापारबारे सोच्दै छन्

नगरपिताको के कुरा गर्नु ?

पर्खालबाहिर फोहोर थुप्रिएको कुनै होटलभित्र

उनी स्वच्छ काठमाण्डूको गौरवगाथा गाउने हतारमा छन्

छिप्पिइसकेको छ रात

र, यो धरहराछेउमा तपाईं भेटिनुभयो

आज एक रात बास दिनुस् न !


होचो जिन्दगी बाँच्दा बाँच्दा दिक्क लागिसक्यो

कहिलेकाहीँ त हामीलाई पनि

उचाइमा बसेर बादल उडेको हेर्न मन लाग्छ

साँघुरो जिन्दगी बाँच्दा बाँच्दा वाक्क लागिसक्यो

कहिलेकाहीँ त हामीलाई पनि

टाकुरामा बसेर फराकिलो धरती हेर्न मन लाग्छ ।


पुलिस दाइ

सहरमा डेरा किन नखोजेको भन्नुहोला

खोजेको छु

दिनभरि घरका गेटहरु ढक्ढकाएर खोजेको छु,

बिजुली घण्टीहरु थिचेर खोजेको छु,

केहीले मेरो जागिर सोधे र डेरा दिन इन्कार गरे

केहीले मेरो पोसाक हेरे र डेरा दिन इन्कार गरे

केहीले मेरो जात सोधे र डेरा दिन इन्कार गरे ।


पुलिस दाइ

‘सत्य सेवा सुरक्षणम्’

यो बेला म केवल खोजिरहेछु सुरक्षा,

जीवन खोज्न गाउँबाट राजधानी छिरेको थिएँ

तर, यो सहरमा जीवनको नटबोल्ट हराएँ,

सुरक्षा हराएँ,

खाडीको भिसा लागेको पासपोर्ट पर्खिंदा पर्खिंदा

अचानक कोभिडबाट खेदिएँ

जब मजदुरी गरेको पैसा ओखतीमा सकियो

डेराबाट खेदिएँ

दिउँसोको पसिना र सााझको झरीले

अहिले चिसोबाट खेदिएको छु ।

म कहाँ जाऊँ पुलिस दाइ ?

यो धरहरामा

आज एक रात बास दिनुस् न !


किन रिसाउनुभएको पुलिस दाइ ?

किन यसरी मलाई घुरेर हेर्नुभएको ?

किन सोध्नुभएको

‘रक्सी पिएर पागलझैं किन बर्बराउँछस् ?’ भनेर ।


हो सायद बर्बराइरहेछु म, बर्बराइरहेछु.

नेताहरु यहाँ

मानिसको रगत पिएर बर्बराउँछन्

म मजदुरी गरेको पैसाले

भ्रमवस केही क्षण दुःख बिर्सन

जाबो सस्तो रक्सी पिएर बर्बराउन पाउँदिन ?


(यसै पनि मानिसको रगत पिउनुभन्दा

रक्सी पिउनु धेरै सुन्दर कुरा हो ।)


बरू सुन्नुस् न

हिजो पशुपतिको चिसो पाटीमा सुत्दा

अचानक प्रकट भएका थिए राजा महिन्द्र मल्ल ।

तपाईंले पनि कतै भेट्नुभयो कि उनलाई ?

उनले सोधेका थिए,

‘किन रोएको यसरी ?’

भक्कानिँदै भनेको थिएँ,

‘महामारीको पीडा त जसोतसो सहो

भोकको पीडा सहन गाह्रो भयो हजुर ।’

त्यसपछि सोधेका थिए उनले,

‘के तिम्रो देशमा अहिले

जनताको घरमा चुलो बलेको हेर्न सकिने

कुनै नौतले दरबार छैन ?

किन भोको छौ तिमी ?

के तिम्रो देशमा अहिले

तिमीले खाएपछि मात्र खाने कुनै अभिभावक छैन ?’


के जवाफ दिऊँ म उनलाई ?

छन त छन् नी आफैंले चुनी पठाएका अभिभावकहरु !

तर, के गर्नु ?

सन्तानलाई भोकै राखेर उनीहरु आफू मात्र खान्छन्

नदी खान्छन्, जंगल खान्छन्

श्रमिकहरुका पसिना र आँसु खान्छन्

गरिबीका हर सूचकहरुमा सबैभन्दा पछि छ देश

यही मुद्दामा उनीहरुले राजनीतिको पसल धान्छन्

म धरहराबाट हेर्न चाहन्छु

अहिले कहाँ छ त्यो नयाा नौतले दरबार

जहााबाट नागरिकका चुलाहरु देखिन्छन्,

म हेर्न चाहन्छु

अहिले कहाँ बस्छन् वर्तमानका महिन्द्र मल्ल ?


पुलिस दाइ

नयाँ बनेको धरहरामा

आज एक रात बास दिनुस् न !

प्रकाशित : भाद्र १९, २०७८ ०९:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×