म हुँ यो धरतीको आदिमानव
नसिकाऊ मलाई सभ्यताको पहेंलो पाठ
मैले रोपेको हुँ
सृष्टिको पहिलो फूल
मैले खनेको हुँ मानिस हिँड्ने
पहिलो गोहो
मैले चिनेको हुँ
अनाजको पहिलो दाना
मैले चाखेको हुँ विष र अमृत
मैले ठोसेको हुँ पहिलोपल्ट दल्छिन ढुंगा
र, निस्केको हो– आगो
म हुँ यो धरतीको आदिमानव
नसिकाऊ मलाई सभ्यताको पहेंलो पाठ
तिमी बेच्न चाहन्छौ ब्रान्डिङ गरेर–
पवित्र पन्छी ओरूबुरूको पंख खसेको
यो भूमि, आदिम गन्धयुक्त मेरो नाङ्गो शरीर
एक आदिम अनुहार
एउटा आदिम धुन
टेकेपछि तिमीले हाम्रो भूमि
रिसाए भूमिदेव
यो जंगलजस्तै शान्त हामी
एकाएक बन्यौं लडाकु
ओ अमेजन !
ओ ब्राजिलियन भूमि !
ओ एयासी ताल !
ओ जुरूवा नदी !
ओ एन्भिरा !
हामी तिम्रो काखमा छौं
तिमी देऊ हामीलाई तिम्रा जराहरु
आउने अनेक जुग
तिम्रै हावामा बाँच्न चाहन्छौं
म जान्दिनँ अल्जेब्राका सूत्रहरु
बुझ्दिनँ आइन्स्टाइनको विज्ञान
तिम्रो भाषा, राजनीति
मेरो के कुरा,
तिम्रो सभ्यतामा टिक्न
ताता भट्टीहरूमा करङ पोलिरहेको मजदुरलाई सोध !
ऊ साँच्चै बाँचिरहेको छ ?
कि बाँच्नका लागि मरिरहेको ?
भर्खरै किताब खोसिएको अफगान नानीलाई सोध
ऊ साँच्चै हाँसिरहेको छ ?
कि तिम्रो बन्दुकसँग काँपिरहेको ?
कहिल्यै खेलौना नदेखेका
मेरा मोये, इयो, यायाहरु
बाघका डमरूसँग खेल्छन्
यसरी जोगाउँदै आयौं अनन्तकालदेखि
यो अनादि जंगल र सिमसारलाई,
यो बजारलाई मेरै रगतको रङ चिनाउने
तिमी को हौ ?
सुन,
मैले कहिल्यै तिम्रो तरबार ताकिनँ
देख्दै नदेखेको दरबार ताकिनँ
किन पठाउँछौ तिमी मेरो जंगलतिर
मेसिनगन बोकेका मान्छेहरु ?
म आदिमानव !
बुझ्छु यही जंगलको भाषा
हुँ त एक अचूक निसानाबाज
तिम्रो बुर्ज खलिफाको टुप्पो ताकेर
तिम्रो ह्वाइट हाउस वा
अमेजोनाको व्यस्त सुपरमार्केटतिर
छुट्यो भने मेरो निसाना
के छेक्न सक्छौ कार्बनडाइअक्साइडको ताकतदार हतियारले ?
म हुँ यो पृथ्वीको आदि र अन्त्य
मैले श्वास फेर्छु र यो जंगलमा बतास चल्छ
सिंगो अमेजनले सास फेर्छ
र, तिम्रो राज्यको फोक्सो चल्छ
अझ भनौं,
व्यापार गर्छौ अक्सिजनको
उद्योग चलाउँछौ पानीको
यही जंगलमा डोजर हानेर
खोतल्छौ पृथ्वीको गर्भ
निकाल्छौ कोहीनूर, कोइला
डुबुल्की मार्छौ यसरी कि
एक्लै रित्याएर धर्तीको तेल कुवा
बन्न चाहन्छौ साम्राज्य नायक
ए सभ्य दुनियाँ !
के यो सृष्टि तिम्रो पुस्ताकै लागि मात्रै हो ?
के यो पृथ्वी तिम्रै भोगविलासका लागि मात्रै हो ?
कि छन् भोलि आउने कोही तिम्रो दलानमा पनि ?
हामी जंगलवासी
कसैसँग गुनासो थिएन
प्रश्न थिएन
एकाएक बिथोलेपछि जंगलको शान्ति
खलबलियो हाम्रो आदिम सभ्यता
रिसायो हाम्रो प्रकृति
हामी नांगै जन्मिएका
काँडाहरूसँग नाङ्गै जिस्किँदै हुर्किएका
हाम्रो यौनांग प्रकृति हो, हाम्रा लागि
आदिशक्ति हो सृष्टिको
तिमीजस्तो छोप्न सिकाएर
खुलेआम नङ्ग्याउँदैनौं हामी छोरीहरुलाई
हामी सँगै बगाउँछौं पसिना, सँगै गर्छौं भोजन
तिमी हजार व्यञ्जनको भोग लगाउँछौ
तिम्रै राज्यमा भोको पेटमा नाम्लो बाँधी
मर्नेहरु मरिरहेछन्
ओहो ! कुन मुखले सिकाउाछौ मलाई
‘कम से कम लंगौटी लगाऊ
हाम्रो मानव सभ्यताको लाज राख !’
म हुँ तिम्रो अस्तित्वको जरा
मसँग छ त यो ब्रह्माण्डको सिंगो शक्ति
मैले चाहे पल्टाइदिन सक्छु पृथ्वीलाई उल्टो
बगाइदिन सक्छु यी नदीहरुलाई उल्टो
उखेलिदिन सक्छु तिम्रो दरबारका जराहरु
जो मेरै छातीमा उभिएका छन्
ओ आधुनिक मान्छे !
तिमीभन्दा कति–कति सभ्य छु म
म जे छु देखिएको छु
मेरो नांगोपन मेरो आदिम सभ्यता हो
भो मलाई नपढाऊ !
म हुँ यो धरतीको आदिमानव
नसिकाऊ मलाई सभ्यताको पहेंलो पाठ ।
प्रकाशित : भाद्र १२, २०७८ १३:२४