कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५
बहस

भत्काऊ साहित्यका सीमा 

अग्रजले तोकिदिएको सीमा भन्नुको अर्थ के ? सीमा भत्काउनु के अग्रजको अपमान गर्नु हो ? एप्रोचमा कमजोरी रहे, उठान बिग्रन्छ र सत्यको नजिक निचोडलाई लैजान सकिँदैन । एप्रोच सही भएको कसरी थाहा पाउने ? निःसन्देह त्यो कठिनतम प्रश्न हो । 
कोही अग्रज हुँदैमा, लोकप्रिय हुँदैमा, केही पुस्तक निस्कँदैमा, ऊ सधैं सही हुँदैन । यो विन्दुमा हामीले विश्वास गर्ने समयमा हो, पात्रमा होइन ।
रोशन शेरचन

पृष्ठभूमिको कथा 
यो निबन्ध कसरी लेखियो ? किन लेख्न प्रेरित भएँ ? त्यसपछिल्तिर एउटा कथा छ । तपाईंलाई त्यतातिर लैजान्छु । साउन १६ गते शनिबार, ‘फरकधार’ अनलाइनमा पाका आख्यानकार नयनराज पाण्डेको एउटा अन्तरवार्ता छापिएको थियो । अन्तरवार्ताको शीर्षक थियो, ‘अग्रजलाई सम्मान गर्नुस्, तर तिनले तोकिदिएको सीमा भत्काउनुस् ।’

भत्काऊ साहित्यका सीमा 

त्यस विचारमाथि सामाजिक सञ्जालमा पक्ष–विपक्षमा विभिन्न कोणबाट प्रतिक्रिया आए । अन्तरवार्तामा अधिकांश रुटिन प्रश्न सोधिएका छन् । जस्तो, नयाँ पुस्तालाई तपाईंको केही सल्लाह छ ? भन्ने प्रश्नको जवाफमा पाण्डेको जवाफ छ— सल्लाह अरूको सुने पनि आफ्नै विवेकमा भर पर्नुस् । अग्रजको सम्मान गर्नुहोस्, तर तिनले कोरेका सीमाहरू भत्काउनुस् ।

अन्तरवार्ता र व्यक्त प्रतिक्रिया पढेँ । मनमा लाग्यो, ‘यो विषयमा अलि लामै लेख्नुपर्ला । र, यस विषयमा विविध कोणबाट प्रशस्त तर्क–वितर्क भएको राम्रो । त्यस्ता तर्क–वितर्कले सुल्झेको धारणा बनाउन लेखक, पाठक दुवैलाई सघाउँछ । आफ्ना अनुभव र विचारहरू किन नलेख्ने ?’ यिनै तर्कना यस लेखको रचनागर्भ बन्न पुग्यो ।

एप्रोच

प्रश्नलाई कसरी लिने वा बुझ्ने ? त्यो जहिल्यै निर्णायक महत्त्वको हुन्छ । उदाहरणका रूपमा, यहाँ सीमालाई कसरी बुझ्ने ? अग्रजले तोकिदिएको सीमा भन्नुको अर्थ के ? के अग्रज लेखकले लेख्दा सीमा तोक्छ ? अग्रजको सीमा भत्काउनु भनेको के उसको अपमान गर्नु हो ? एप्रोचमा कमजोरी रहे, उठान बिग्रन्छ र सत्यको नजिक निचोडलाई लैजान सकिँदैन । एप्रोच सही भएको कसरी थाहा पाउने ? निःसन्देह त्यो कठिनतम प्रश्न हो । केही आधारको संपेक्षमा त्यो हेर्न नसकिने होइन । प्रथम, एप्रोच विज्ञानसम्मत् छ/छैन ? यौटा मापन यसलाई बनाउन सकिन्छ । त्यसको अर्थ कार्यकारणलाई आधार बनाउने । दोस्रो, इतिहासमा यी र यस्ता प्रश्नको निरूपण कसरी भएको थियो ? वा निरूपणको प्रयास के कस्ता थालिएका थिए ? यद्यपि इतिहास नियाल्ने क्रममा वस्तुनिष्ठतालाई कायम गर्नुपर्ने ठूलो चुनौती छ ।

प्रतिक्रिया हेर्दा एक कोणका लेखकले साहित्यलाई भौतिक पूर्वाधार जसरी बुझेको देखिन्छ । साहित्यको एउटा स्थिर र स्थूल संरचना हुन्छ, त्यसको सीमा घरको बान्नो जसरी प्रस्ट देखिन्छ । र, बारीको डिल वा त्यो बान्नो जसरी नै सीमा भत्काउने हो भनेर बुझेको देखिन्छ । सीमा भत्काएपछि, अग्रजलाई सम्मान गरेको कहाँ ठहरिन्छ ? कसैले कडा प्रतिक्रिया पनि लेखेका छन् ।

प्रस्तावना

साहित्य मानसिक निर्मिती (मेन्टल कन्स्ट्रक्ट) हो, भौतिक संरचना होइन भनेर स्विकार्दा बहसलाई तर्कसंगत हिसाबले अघि बढाउन मद्दत पुग्छ । नत्र बहस वादविवादमा फेरिन बेर लाग्दैन । यद्यपि पाठमा निहित विचारको भौतिक अस्तित्व (आयामेली वस्तुता भन्थे) नहुने होइन, तर ती पनि समयक्रममा बदलिरहन्छन् । तैपनि, पहिलो तहको (फस्ट अर्डर) वर्गीकरणमा, साहित्य मानसिक निर्मित हो ।

दोस्रो, साहित्य विचार र कलाको योग हो । संयुक्ति हो । कुन प्राथमिक, कुन परिधिको ? कुन परिवर्तनशील, कुन अपरिवर्तनीय ? कुन र कस्तो अनुपात र प्रवृत्तिमा विचार र कलाको संयुक्ति ? सौन्दर्यशास्त्रले निरूपण गर्ने विषय हो ? त्यो पर्गेल्ने हैसियत मेरो छैन । तर, यहाँ भन्न खोजेको साहित्य विचार र कलाको संयुक्ति हो भन्ने अवधारणालाई स्विकार्ने हो भने त्यसको अर्थ हुन्छ— साहित्यमा यी दुई पक्ष सर्वाधिक महत्त्वको हुन्छ । कुन विषयवस्तु, सन्दर्भ र सोच छनोट गर्ने ? विचारको पक्ष । कस्तो शैली, वाक्यसंरचना र शिल्पी बुनेर विचार अभिव्यक्त गर्ने ? कलाको पक्ष ।

पारिवारिक पृष्ठभूमि, स्कुल, स्कुलिङ, जीवन भोगाइ र अनुभवबाट प्राप्त सिकाइको आधारमा लेखकको विचार बन्दै जान्छ । लामो समय लिँदै विचार निर्माण हुने शृंखला निरन्तर चलिरहन्छ । त्यसैले लेखकका विचार र सोचहरू असमान हुनु स्वाभाविक हो । विपरीत हुनु पनि । साहित्यको एउटा अयवय विचार हो भनेर स्विकार्दा विचारको सीमा हुन्छ भन्ने पनि सँगै स्विकारिन्छ । ‘विचारको सीमा हुन्छ’, यो धारणा होइन, तथ्य (फ्याक्ट) हो । हामीलाई हेक्का होस्, नहोस्, त्यो बेग्लै पक्ष ।

विस्तार

के लेखकले सीमा तोक्दै लेख्छ ? लेखकले सीमा तोक्छु भनेर लेख्दैन । लेखकलाई मन वा मस्तिष्क उद्वेलित गर्ने विषयवस्तु वा विम्ब प्रस्फुटित भएपछि लेख्छ । सीमा तोक्छु भनेर नलेख्दा पनि उसले लेखसँगै लेखका सबलता, दुर्बलता, सामर्थ्य र सीमा पनि सँगै लेखिरहेको हुन्छ । लेखकको क्षमताको दायरा हुने, तर लेखनको दायरा नहुने, त्यस्तो सम्भव छैन । समर्थ समालोचकले पाठको सीमा देख्छ, इतिहासको सापेक्षमा । विज्ञानसम्मत छ छैन ? त्यसको सापेक्षमा !

वा समालोचनाका विधिपद्धतिको सापेक्षमा । लेखक स्वयम्ले आफ्नो सीमा नदेख्नु स्वाभाविक हो । उसले गर्ने सृजनात्मक लेखन (क्रियटिभ राइटिड) हो । वस्तुनिष्ठ समीक्षा चेतना नहुँदा सीमा देखिँदैन । लेखकको हकमा त्यो सुविधा छ । तर, समालोचकको हकमा उसले गर्ने समीक्षात्मक लेखन (क्रिटिकल राइटिङ) हो । त्यसले सीमा देख्छ, देख्नुपर्छ । सीमा मात्र किन, त्यसको शक्ति र सामर्थ्य पनि सँगै देख्नुपर्छ । क्रिटिकल राइटिङ त्यसैले दुष्कर कर्म हो । सीमा जुन रूपमा छ, त्यही रूपमा (एज इट इज्) देख्न सक्नु कठिनतम कार्य हो ।

नेपाली साहित्यले वस्तुनिष्ठ समालोचकको बलियो टेवा पाउन सकेन । समालोचनाको आधारभूत सिद्धान्त छ : गुण र दोषको आधारमा कृतिको निरूपण गर्ने । हाम्रामा उल्टो भयो । कोही समालोचक गुण मात्र देख्ने । मानौं समालोचना भनेको माया जताउने क्षेत्र हो । कोही दोषैदोष देख्ने । यस्तो एकांगी पद्धति साहित्यमा संस्थागत भएपछि साहित्य कसरी बलियो हुन्छ ? समीक्षकको यस्तो मन्द विष पिएर हुर्केपछि, लेखकको यात्रा पनि धेरै अगाडि बढ्दैन ।

अन्तरवार्तामा लेखक पाण्डेलाई सोधिएको छ, कस्तो देख्नुहुन्छ, अहिलेको नेपाली आख्यान ? उहाँको जवाफ छ— मैले आफ्नो ठाउँमा उभिएर हेर्दा स्थिति राम्रो देख्छु । तर, कुरा मेरो हेराइको हैन । हामीले लेखिरहेको साहित्यको समुचित समालोचना खासै भइरहेजस्तो लाग्दैन । जिम्मेवार समालोचनाले मात्रै हाम्रो लेखनको हैसियत बताउन सक्छ ।

उक्त जवाफमा म पूर्ण सहमत छु । लेखकलाई आफ्ना सृजना वा जनराको स्थिति राम्रो र सन्तोषजनक नै लाग्छ । तर, गम्भीर समालोचकहरू के भन्छन् ? त्यो पो महत्त्वको हो । नयनराज पाण्डेजस्ता पाका लेखकलाई समुचित समालोचनामा खट्किएको कुराले धेर थोक संकेत गर्छ ।

आफ्नै उदाहरण

विगतमा केही विचारहरूलाई निकै अन्धानुकरण गरिएछ । ठूलो विचारभन्दा पनि एउटा सन्दर्भको उदाहरण । २०४५–४७ सालतिर म आयामेली आन्दोलनका एक प्रवर्तक कवि ईश्वरवल्लभ दाइकहाँ पुगिरहन्थें । भेटमा धेरै प्रश्न सोध्थें । त्यसताका कम्प्युटर उदाउँदो मेसिन थियो । त्यसको प्रयोग आम भइसकेको थिएन । नाम मात्र सुनेको, तर प्रयोग गर्न नपाएकाले मभित्र त्यस मेसिनको एउटा कस्तो–कस्तो कल्पना मात्रै थियो । एक भेटमा दाइसँग मेसिन र मान्छेबीचको सम्बन्धबारे कुराकानी हुँदा दाइले चिन्ता प्रकट गर्नुभयो, ‘कम्प्युटरले कविता लेख्न थाल्यो भने कविको अवस्था कस्तो होला ?’ ‘कम्प्युटरले कविता लेख्ला, तर त्यसले मान्छेले जस्तो कविता लेख्न सक्दैन’, उहाँले थप्नुभयो । मान्छेको अस्मितामै ठूलै जोखिम आउने त्रासले म पनि दाइसँगै चिन्तित बनेँ । त्यही विषयमा ‘मस्तिष्कहरूको मृत्युमा’ निबन्ध पनि लेखेँ— कम्प्युटरले कविता लेखेको भन्दा कविले कम्प्युटरमा कविता लेखेको कति युगसुहाउँदो छ । कविहरूले मै हुँ राष्ट्रियता र संस्कृतिको जगेर्ना गर्ने भन्दै कागजमै कविता मात्र लेख्न थाले भने कुनै दिन प्रतिस्पर्धावश कम्प्युटर आफैंले लेख्छ अनि कविता पहिलो पटक प्रविधिसँग पराजित हुनेछ र त्यसको भागीदार कविहरू हुनेछन् । (पृष्ठ ३०, मस्तिष्कहरूको मृत्यु) ।

अहिले यी पंक्ति पढ्दा हाँसो उठ्छ । कस्तो अन्योलग्रस्त बनेछु । कम्प्युटरले आफ्नै बलमा कविता लेख्छ भनेर मैले कसरी सोचें ? वा कम्प्युटरजस्तो प्राविधिक विषयमा आधारभूत जानकारी नभएको मैले वल्लभ दाइको (प्राविधिक विषयमा उहाँको पनि आधारभूत ज्ञान थिएन) कुरालाई किन पत्याएछु ? उहाँका लेखबाट प्रभावित भएकाले जुनसुकै क्षेत्रमा उहाँका विचारलाई आँखै चिम्लेर पत्याएछु । र, पत्याएछु मात्र होइन, निबन्धकै रूप दिएछु । त्यस विचारको भत्किएको सीमाको साक्षी म स्वयम् हुँ । भत्कँदाका ध्वनिहरू भने यी पंक्तिसम्मै आइपुगेको छ । पक्कै त्यही कारण ईश्वरवल्लभ दाइप्रति मेरो आदरभावमा कमी आएको छैन । जीवनको एउटा मोडमा उहाँबाट प्राप्त स्नेह मेरो स्मृतिमा सदैव भेट्छु । तर, सिकाइ के भन्दा– कोही अग्रज हुँदैमा, लोकप्रिय हुँदैमा, केही पुस्तक उसका निस्कँदैमा, ऊ सधैं सही हुँदैन । अहिलेको विन्दुमा मलाई लागेको, हामीले विश्वास गर्ने समयमा हो । पात्रमा होइन ।

विचारहरू परिवर्तन भइराख्छन्, त्यसैले विचार सापेक्षिक हुन्छ भनिएको हो । अन्य कारण होइन । परिवर्तन नहुँदा विचारको मृत्यु हुन्छ । कारण त्यसले समसामयिकता गुमाउँछ । विचारले स्वयम्लाई पुनर्जन्म दिने नै परिष्कारबाट हो । जसरी नबग्दा खोला मृत बन्छ । त्यसकै समानान्तरमा विचार पनि गतिशील भएर मात्रै बाँच्छ । गतिशीलता त्यसको रोकिए कसैगरी त्यसलाई बचाउन सकिन्न । त्यसैले विज्ञानसम्मत चेतना अनिवार्य छ । कार्यकारण सम्बन्ध त्यसैले साहित्यको संकथनमा अन्तरनिहित हुनुपर्छ ।

अन्य अनुकरणीय अभ्यास

साहित्य, कला, संगीत, सिनेमा समीपवर्ती विधा हुन् । एउटा विधाले अर्कोबाट सिकेर आफ्नो विधालाई समृद्ध बनाउन सक्छ । यसै सन्दर्भमा सिनेमा क्षेत्रमा प्रचलनमा रहेको क्रिटिक च्वाइस अवार्डबाट साहित्यले केही सिक्न सक्छ । बढीभन्दा बढी दर्शकले हेरेको खण्डमा मात्रै त्यो सिनेमा राम्रो मान्ने प्रचलनलाई क्रिटिक च्वाइस अवार्डले चुनौती दिन्छ । बक्स अफिसको नापोले भन्दा फरक मापनले हेर्नुपर्ने यसका पक्षधरको आग्रह छ । हाम्रोमा साहित्य, तर यस्ता पद्धतिप्रति सधैं उदासीन रह्यो । पचासौं साहित्यिक संस्था छन् । तिनले दर्जनौं सम्मान–पुरस्कार बर्सेनि वितरण गर्दै आएका छन्, तर कस्तो मूल्यांकन पद्धति प्रयोग गर्छन् ? रहस्यमयी छ । साहित्यले क्रिटिक च्वाइस अवार्डजस्तो मूल्याङ्कन पद्धतिको सिको गरेको भए साहित्यमा व्याप्त एकरसता विगतमै भत्किने थियो । उही बासी अनुहारको साम्राज्य अघि नै विस्थापित भइसक्थ्यो । कतिपय पुस्तकहरू छापाका हेडलाइनबाट ओर्लिसकेका हुन्थे ।

प्राज्ञिक क्षेत्रको उदाहरण त अझै र्‍याडिकल छ । फरक क्षेत्रका प्रयोग र प्रचलन छन् । सिक्नलाई जहाँबाट पनि सकिन्छ । राम्रा दर्जाका अन्तर्राष्ट्रिय जर्नलमा अन्वेषण, अनुसन्धानसम्बन्धी लेख पठाएपछि सम्पादकले लेखकको पाण्डुलिपिलाई (म्यानुस्क्रिप्ट) रिभ्युअरकहाँ पठाउँछ । रिभ्युअरलाई लेखकबारे जानकारी दिइँदैन । लेखकलाई त रिभ्युअरबारे थाहा हुने सवालै भएन । दुवै पक्षलाई अनभिज्ञ बनाई गरिने यस समीक्षा पद्धतिलाई डबल ब्लाइन्ड भनिन्छ । मनोगत् मूल्याङ्कनलाई रत्तीभर ठाउँ नदिन यस्तो प्रबन्ध गरिएको हो । हाम्रा पुरस्कार गुठीले निर्णायकमण्डललाई लेखकबारे कुनै जानकारी नदिई पाठ मात्र वा अडियो दिएर मूल्यांकन गराउने हो भने निष्पक्षता आउने थियो । पाठको गुणवत्तामा सम्बन्धको बुई–चढी हट्ने थियो । समीक्षा कृतिगत हुनुपर्छ भनेको यही होइन र ? कहिले हामी यस्तो साहस जुटाउन सकौंला ?

रोडम्याप

समकालीन साहित्यमा कस्तो रोडम्याप आवश्यक हो ? अहिले कुनै रोडम्याप पनि छ वा छैन ? वा कुनै अनौपचारिक किन नहोस्, फ्रेमवर्क वा पद्धतिले काम गरिरहेको छ ? प्रश्न उभिन्छ । यी प्रश्नको जवाफ खोज्नुअगावै हामीले अहिलेसम्म प्रयोग गरेका रोडम्याप, फ्रेमवर्क, प्रवृत्ति वा पद्धति जे भनौं, त्यसले हामीलाई समग्रमा कहाँ पुर्‍यायो ? भन्ने प्रश्न बढी महत्त्वको छ । यसको विवेचना नगरी अगाडिको यात्रा कसरी थाल्ने ? भन्न कठिन छ । केही पक्षमा ध्यान दिँदा, त्यसले साहित्यलाई पक्कै टेवा दिनेछ ।

प्रथम, गुरुकुल स्कुलिङको धङधङी त्याग्ने । कुनै एक व्यक्तिलाई गुरु थापेर, त्यो परम्पराप्रति आज्ञाकारी बन्ने, अन्य ज्ञानपरम्परा (संकायहरू) प्रति अनदेखा गर्ने प्रवृत्तिलाई सच्याउने । नेपाल गज्जबको देश हो । यहाँ हिउँको मात्र होइन, विडम्बनाको पनि सगरमाथा छ । गुरुपूर्णिमामा सामाजिक सञ्जाल गुरुभक्तिले छपक्कै भरिन्छ । गुरुभक्तिमा हाम्रो शिर त्यसैत्यसै निहुरिन्छ । मेरो जीवनमा असलभन्दा खराब गुरु अधिक छन् । पढाउन मन नगर्ने, जवाफ गलत हुँदा झ्यापु लगाइहाल्ने, साहित्य पढेको थाहा पाउँदा विद्यार्थी बिग्रेको मान्ने, क्याम्पसकालमा परियोजनाको पछाडि दगुर्ने र जाँचअघि ह्यान्डआउट दिएर झारा टार्ने अनेकौं गुरु छन् । यस्ता खराब गुरु पनि गुरुपूर्णिमाको लहरमा हाम्रो उदारमनाको फाइदा लिँदै मिस्सिएकै छन् । खराब र असल छुट्याउन सक्नु पो उपलब्धि ! विद्याकी देवी सरस्वतीको भव्य पूजा यहीँ लाग्छ । तर विद्या, विज्ञान र प्रविधिमा हामी नै पछाडि ? केही पक्कै नमिलेको छ । भक्तिभाव र विज्ञान्विपरीत दिशाका यात्री हुन् । जति चाँडो यसमा हामी प्रस्ट हुन सक्यौं, त्यति नयाँ यात्रालाई बल पुग्छ ।

दोस्रो, स्वतन्त्र चिन्तनलाई सर्वोपरि मान्ने । भीडको सुरक्षा दीर्घकालीन हुँदैन भनेर बुझ्न अबेर नगर्ने । अप्रिय लागे पनि सत्य हो— बहस, परिमार्जन र उन्नत विचारको सोपान चढेर नै विचारको परिष्कार सम्भव हुन्छ । इतिहासको नजिर त्यस्तै छ । विज्ञानप्रविधिमा जस्तै सृजना क्षेत्रमा (सृजनामा झन् बढी कारण, यहाँ सृजनशीलता र नवीनताको अधिक अपेक्षा गरिन्छ) सृजनात्मक ध्वंसको (क्रियटिभ डिस्ट्रक्सन) नियम लागू हुन्छ । विचार र शैलीको नवीन गोरेटो जसले कोर्न सक्यो, हिँड्न सक्यो वा अग्रजको बाटोको सीमामा नबाँधिएर त्यसलाई फराकिलो बनाउन सक्यो, ट्रेन्ड उसैले बनाउने हो । प्रयोगधर्मिताको स्वीकार्यताले नै परम्परा बन्ने हो । तर, सफलताको जोखिम पनि छ । सफल भएपछि, लेखक उही विषयवस्तु वा शैलीलाई दोहोर्‍याउन खोज्छ । कन्फर्ट जोनबाट ऊ निस्कन सक्दैन वा चाहँदैन । कतिपय नाम चलेका लेखकमा पुनरावृत्तिदोष देख्न धामा गर्नु पर्दैन ।

स्वाभाविक मान्नुपर्छ, सचेत लेखकहरू आफ्नै सीमा र पूर्ववर्त्ती लेखकहरूले निर्माण गरेका सीमा नाघ्न चाहन्छन् । फरक पहिचानको खोजीमा लाग्छन् । अग्रजबाट धेरै प्रभावित नभई पृथक् बाटाको यात्री हुन चाहन्छन् । नवीन बाटो खन्न दुष्कर छ । कष्टसाध्य छ । तर, दुष्कर भएकैले सीमा भत्काउनु राम्रो होइन भन्ने निष्कर्ष सही ठहरिँदैन । हामीले अग्रज लेखकको घरको पर्खालमा घन बजार्ने भनेर कहाँ बुझेका छौं र ? बरु स्कुलमा कालोपाटीमा कोरिएको धर्कालाई नमेटीकन सानो कसरी बनाउने भन्ने प्रश्नमा छेवैमा त्यसभन्दा लामो धर्का कोर्ने अर्थमा सीमा भत्काउने संकथनलाई बुझौं ।

नयन दाइ ! अग्रजले कोरेको सीमा भत्काउनुस् भन्ने तपाईंको सुझावप्रति मेरो सहमति छ । आफ्ना सीमाहरू अनुज लेखकले सृजनात्मक ढंगले भत्काउँदा हर्षित बन्ने लेखकहरू नै वास्तवमा सम्मानका हकदार छन् । अघि जन्मेकैले, पुरस्कार पाएकैले, पुस्तक प्रकाशन गरेकैले र पाठ्यक्रममा रचना समाविष्ट भएकैले लेखकले सम्मान पाउनुपर्छ भन्नुको के अर्थ छ ? सम्मान् त आर्जन गर्ने कुरा हो । सम्मान कसैको अधिकार होइन । अपमान पो गर्नु भएन । म झन् एक कदम अघि गएर सोच्छु— कसैलाई म सम्मान गर्दिनँ, निरपेक्ष बस्छु भन्न पनि मिल्छ । त्यसले व्यक्तिको खराबपनबारे केही बताउँदैन । कसैलाई मन पराउने/नपराउने सन्दर्भमा, आफ्नो निर्णयलाई थाती राख्न मान्छे उत्तिकै स्वतन्त्र छ ।

प्रकाशित : भाद्र १२, २०७८ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?