कोरोनाकाल र हिप्पी-कल्प- कोसेली - कान्तिपुर समाचार
समय-रेखा

कोरोनाकाल र हिप्पी-कल्प

नेपाली कवि र हामीजस्ता युवाहरूले विश्वव्यापी हिप्पी आन्दोलनलाई बुझ्ने अनेकौं तरिका र दृष्टि थिए । आज कोरानाकालमा हिप्पी–कल्पले दिने सन्देश हो– विभेद अन्त्य गर, प्रेम अनि सहयोग गर !
अभि सुवेदी

पूर्णिमाको रात थियो । स्वयम्भू पहाड, वरिपरि, अलिक तलका खुला फाँट र वन स्निग्ध जुनेलीमा खुलेका थिए । त्यो सन् १९६८ को अमुक जाडो जुनेली रात थियो । लाग्थ्यो, पूर्णिमाको जून अलिक तल बिजेश्वरीतिर चिप्लिएर झरिरहेको थियो । हिप्पीहरूको पूर्णिमा महोत्सव चलिरहेको थियो ।

काठमाडौंमा हिप्पीहरू र तिनका जानकारले ल्याएका लाउड स्पिकरहरूबाट सायद पहिलो पटक ती अनौठा गायकहरूका ध्वनि निस्किरहेका थिए । त्यस्समा बब डिलिनको ‘हिलिबिली’ स्वरदेखि जिमी हेन्रिक्स्, कार्लो सान्ताना, जिम मोरिसन, जोन बाएज् र अरूका स्वर उठिरहेका थिए ।

निकै राम्रै संख्यामा हिप्पी नारी र पुरुष अनि हामीजस्ता नेपाली युवाको सहभागिता थियो । अहिले सम्झिँदा बीचबीचमा रविशंकरको सितारको ध्वनि पनि मिसिन्थ्यो । काठमाडौंमा हल्ला थिएन । त्यो हिप्पी महोत्सवको ध्वनि बिजेश्वरीको उतापट्टि र निकै वरपर सुन्न सकिन्थ्यो । पारिपट्टि रक्तकालीमा धर्मरत्न यमीको घरको भुइँ तलामा एक जना संगीतप्रेमी दार्जिलिङतिरका दाइको डेरा थियो । ती गोपाल योञ्जनले चिनेका व्यक्ति भएकाले नेपालमा पहिलो संगीत–नाइट प्रस्तुत गर्ने विचारले उनकै कोठामा गोपालले रिहर्सल गरिरहेका थिए । त्यसमा नारायणगोपाल मुख्य गायक थिए । तिनलाई गोपालले आफूले संगीतबद्ध गरेका गीतहरूको अभ्यास गराइरहेका थिए । म अत्यन्तै उत्तेजित थिएँ । गोपाल र हामी विश्वविद्यालयमा मास्टर्स डिग्रीका विद्यार्थी थियौं । मेरो उत्तेजनाको कारण अर्को पनि थियो । म हिप्पीहरूसँग नजिक भएकाले बिजेश्वरी संगम र गोपालको संगीत साधना गरेको शान्त थलोको बीचमा वारि र पारि कुदिरहन्थें । यो लेख हिप्पीहरूका विषयमा भएकाले यहाँ त्यही रातका केही संस्मरणहरू मात्रै लेखिएका छन् ।

आजको कोरोनाकालमा हिप्पीहरूलाई सम्झिँदा केही कालिक र केही कल्पकै छलफल गर्नुपर्ने हुन्छ । नेपाली बृहत् शब्दकोशले ‘कल्प’ को अर्थ दिँदा एउटा परिभाषा हामीलाई दिएको छ । कल्पको अर्थ ‘पूर्ण नभए पनि बराबरी वा तुल्य’ भनेको छ । त्यसमा एउटा उदाहरण ‘ऋषिकल्प’ छ । मलाई लाग्यो, हिप्पीहरूले विश्वभरि नै चलाएको त्यो युग पूर्ण थिएन, तर एउटा गतिशील कल्प थियो । हिप्पीहरूको एउटा युग आयो अनि परिणाम छोडेर गयो । नेपालले त्यो हिप्पी–कल्पको निकै राम्ररी अनुभूति गर्‍यो । आज कोरोनाकालमा आएर हिप्पीहरू सम्झिँदा केही कुरा खुलेका छन् । हिप्पीहरूले यात्रा गरेको भूखण्डमा धेरै बन्धन थिएनन् । त्यसैले मोटर, गाडी र ठूला मोटरसाइकल चढेर उनीहरू काठमाडौं आइपुग्थे । अहिले तिनीहरूले स्वतन्त्र भएर यात्रा गरेका बाटाहरू जलिरहेका छन् । इरानको बाटो भएर आउने सम्भावना सकिएको निकै भयो ।

टर्कीको इस्तानबुल अफगानिस्तान, खासगरी काबुल उनीहरूले यात्रा गर्ने र समय बिताउने अरू ठाउँ थिए । अफगानिस्तान युद्धले जलिरहेको छ । हिप्पीहरूले यात्रा गरेका केही समयपछि त्यो भूखण्डमा विदेशी शक्तिहरू आए । आफ्ना समर्थकलाई साथ दिएर तिनका सरकार बनाए । रुस आयो, हारेर गयो । अमेरिका आयो, उसका सहयोगी नेटो सैनिक आए अनि सबै भर्खरै अकस्मात निस्केर गए । हजारौं नरनारीको ज्यान गयो । त्यो हताहतको क्रम अब झन् बढ्दै छ । हिप्पीहरूले यात्रा गरेको भूमि अहिले दनदन जलिरहेको छ । त्यहाँका मानिसलाई एकअर्काको हत्या गर्ने अनौठो खेलमा होमिदिएर पश्चिमी शक्तिहरू सजिलै भागे । समाचार देखिरहेकै छौं ।

त्यो शीतयुद्धको बेला थियो । हिप्पी युवाहरूले त्यो युद्धले खडा गरेका पर्खाल र शंकाका घेराहरू आफ्नै देह अघि सारेर तोडे । तिनका शक्ति तिनका देह थिए । तिनले लगाएका रंगीन पहिरन थिए । तिनका संगीत थिए, जसले पर्खाल भत्काए । तिनका कविता थिए, जुन अहिले पनि म पढ्छु र भित्रैबाट सिर्जना सामर्थ्यको बोध गर्छु । जुनेलीमा संगीत घोलेर सल्ल बगाउँदै, ठाउँ सर्दै हिप्पी–कल्पले पुँजीवालाका, बुर्जुवा संस्कृति र समयका पर्खाल तोडे । अहिले आएर धेरै बुझेको छु ।

अहिले कोरोनाकालमा हिप्पी–कल्पलाई सम्झिनुको के अर्थ छ ? मैले यो प्रश्न आफैंलाई गरें । अनि केही उत्तरहरू भेटें । कोरोनाकालले मानिस मानिसबीचमा कति विभेद गरिन्छन्, त्यो प्रस्ट पारिदिएको छ । सम्पन्न देशहरू कसरी आफ्नो मात्रै विचार गर्ने रहेछन्, त्यो पनि खुलेको छ । विपन्न देशहरूलाई कसरी भ्रष्ट सरकार र तिनका राजनीतिक शक्तिहरूले थला पार्ने रहेछन्, त्यस्तो बेला पनि कसरी ती केही वर्गले धन कमाउने संयन्त्र बनाउने रहेछन् भन्ने खुलेको छ ।

मानिसको मूल्य कसरी मर्करीको पारो झरेजस्तो गरेर झर्दो रहेछ, त्यो देखाएको छ । हिप्पी–कल्पले सिकाएको मूल मन्त्र थियो— विभेद नगर । मानिस सबै एक नभएसम्म, मानिसको बीचमा असमानतालाई नैतिक चरित्र मान्ने पुँजीपति विश्वको प्रभुत्व रहेसम्म, मानिसको स्वतन्त्रता र अधिकारलाई जसरी भए पनि हनन गरेर आफ्नो हैकम चलाउनुपर्छ भन्ने विषयको अन्त्य नभएसम्म मानिसको साझा मुक्ति सम्भव छैन । कोरोनाकालले हिप्पीहरूको त्यो मानवमुखी सन्देशलाई झन् टड्कारो पारेको छ । हिप्पी–कल्पको अर्को सन्देश हो— मानिस चल्न सकेन भने मानिसलाई मानिसले अवरोध गरिरह्यो भने अकल्पनीय अप्ठ्यारो अवस्था सिर्जना भइबस्छ ।

बिजेश्वरीको त्यो घरमा निकै तला थिए, सबै हिप्पीहरूले लिएका थिए । बाहिर आँगन र भित्र सबैतिर युवा युवतीहरू बन्धन तोडेर निस्केका मानिसजस्तै जुनेलीमा मस्त थिए । म रक्तकालीको रिहर्सल सकेर साथीहरू िंहँडेपछि फेरि बिजेश्वरी फर्कें । हाम्रो एउटा सानो समूहको जिम्मा थियो— हिप्पीहरूले चलाएको एउटा ‘फ्लो’ नामक पत्रिकाको साहित्यिक खण्डमा लेखहरू जम्मा गर्ने र मिलाउने । ग्लिङ्का उर्फ क्रिस्टोफ त्यसमा मुख्य संलग्न व्यक्ति थिए । तिनको र मेरो उमेर उस्तै थियो । तिनकी एउटी मित्राणी थिइन्, नाम फियोना थियो । ग्लिङ्काको खबर लिएर ती मलाई बोलाउन आउँथिन् । कुनै फोन थिएन, त्यो बेला । म गएर ग्लिङ्कासँग काम गर्थें । भर्खरै ‘फार आउट’ (२०१७) भन्ने एउटा अत्यन्तै महत्त्वपूर्ण किताबका लेखक मार्क लिट्टेले फियोनाको ठेगाना भेटेर मलाई पाठाइदिएका छन् । चिठी लेख्नु छ ।

मार्कले त्यो किताबमा हिप्पीहरूबारे अध्याय लेखेका छन् । केही नेपाली आधुनिक कविताका अंग्रेजी अनुवाद गराउने जिम्मा मेरो थियो । स्व. चैतन्य उपाध्यायलाई सम्पर्क गरेको थिएँ, क्रिस्टोफसँग भेटाइदिएँ । चैतन्यले निकैवटा कविता अनुवाद गरिदिएका छन् ‘फलो’ का निम्ति । मैलेचाहिं एउटा सानो गद्य लेख लेखेको छु, नेपाली साहित्यबारे ।

त्यो जुनेली उत्सवमा मजस्ता नेपाली युवक पनि निकै थिए । त्यस्ता पूर्णिमा उत्सवमा धेरै पश्चिमी युवायुवती देखिन्थे । मैले अहिले पनि त्यत्रो संख्यामा ती अरूले हिप्पी भन्ने गरेका युवाहरू कसरी नेपाल आइपुगेका थिए भन्ने प्रश्नको उत्तर भेटेको छैन । ती हिप्पीहरू भ्रमणशील थिए । अहिले हिंसाक्रान्त त्यसबेलाको शान्त बाटो भएर आउँदा एसिया हेर्ने तिनको दृष्टि बनेको थियो । त्यो चर्को संगीत र कविताको जुनेली रातमा एक–दुई जना नाम चलेका आधुनिक नेपाली कवि पनि आएका थिए । राति ढिलो भइसकेको थियो । एक जना कवि दाइसँग बिदा लिएर म आफ्नो डेरातिर फर्कें । त्यो सम्झनामा आइबस्ने चिसो र शुभ्र जुनेली रात थियो । भोलिपल्ट बिहानै फर्केर त्यहाँ गएँ । रातिको जुनेली युद्धका कुँडाकर्कट सबैतिर असरल्ल छरिएका थिए । कवि दाइ बसेकै ठाउँमा उनले भर्खरै लगाउन सुरु गरेको नयाँ सुट उनकै जीउबाट त्यो जाडो रातमा चोरिएछ ।

नेपाली कवि र हामीजस्ता युवाहरूले विश्वव्यापी हिप्पी आन्दोलनलाई बुझ्ने अनेकौं तरिका र दृष्टि थिए । आज कोरानाकालमा हिप्पी–कल्पले दिने सन्देश हो— विभेद अन्त्य गर, प्रेम अनि सहयोग गर !

प्रकाशित : भाद्र १२, २०७८ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्

नगरकोटीको गन्तव्य

कल्प–ग्रन्थमा कोलाहल छ । तर, गन्तव्यमा शान्ति छ, बुद्धले देखेको मध्यमार्गी शान्ति !
अभि सुवेदी

एउटा अत्यन्त वाचाल घटनाको सम्झना हुन्छ । सन्दर्भअनुसार, म त्यो भनिबस्छु । सन् १९९६ को मार्च महिनाको अमुक दिन इटालीको विशाल कोमो तलाउ यताको पहाडी खण्डमा पन्ध्रौं शताब्दीको एउटा दरबार छ । त्यहाँ रकफेलर फाउन्डेसनको बेलाजियो अध्ययन केन्द्र छ । त्यो दुईमहिने कार्यक्रममा म गएको थिएँ । वर्षैभरि धेरैतिरबाट मजस्तै गएका मानिसहरू त्यहाँ आफ्ना काम गर्छन्– किताब लेख्छन्, संगीत गर्छन्, चित्र बनाउँछन् अनि संवाद र छलफल गर्छन् । अनि आफूले गरेका कामको तिनीहरूले सबैसामु प्रस्तुति गर्नुपर्छ ।

एक दिन एउटा नबिर्सिने प्रस्तुति थियो, एक कलाकारको । तिनको नाम गुनार कल्देवी थियो । पछि ती मेरा मित्र भएपछि तिनका कामबारे थाहा पाएँ । तिनको प्रस्तुतिको विषय थियो, किताब बनाउने । अनि तिनलाई कलाकार भनेर चिनाइएको थियो । किताब बनाउने साधारण कुरा हो, यी कसरी कलाकार हुन्छन् ? मैले सोचें । गुनार अमुक किताबलाई त्यसको विषय र त्यसको कलाअनुसार आकार दिँदा रहेछन् । आयरल्याण्डका नोबेल पुरस्कार विजेता कवि सिमस हिनीको कवितासंग्रहको किताबमाथि तिनको कलाको प्रस्तुति थियो । किताबको कथा, त्यसको काव्यिक विषय अनि त्यसको पाठकसँगको सम्बन्धका अनेकौं विषय किताब–कलामा खुल्ने रहेछन् । गुनारले किताबको आदिम स्पन्दन, त्यसको केही कुराले पनि ध्वस्त गर्न नसक्ने शाश्वत कथा, त्यसमा पाठकका मन र दृष्टिलाई आफ्नो किताब–कलामा राख्न खोजेको कुरा बुझाए । सीमित कपी मात्रै बनेको त्यस्तो किताब बिक्री पनि हुनेरहेछ, कलाजस्तै ।

किताबको पाँच हजार वर्षपूर्व मेसोपोटामियादेखिको कथा अत्यन्त सुन्दर छ । किताब पहिला लेखिन्थ्यो, त्यसपछि मुद्रण गरियो । पन्ध्रौं शताब्दीमा गटेनबर्गले प्रेस बनाउनुअघिसम्म लेखिएका किताबहरू नै चल्थे । तर, त्यसपछि लेखिने किताब कला भएर बसे । मुद्रण हाम्रोमा धेरै पछि आएको हो । बंगलादेशका ठूला प्रकाशक र लेखक मित्र मफिदुल हकले ढाकामा मलाई एउटा पुरानो विज्ञापन देखाएका थिए । हातले लेखेका किताब पढ्ने आस्था र झन्डै आध्यात्मिक विश्वास भएका पाठकले छापिएका किताब नपढ्लान् भनेर त्यो विज्ञापन बनाइएको थियो । कतै टिपेको छु, तर सम्झना छ । ‘पवित्र गंगाजलसे धोइ हुइ मेसिन से छपी हुइ किताब’ भनेर विज्ञापन गरिएको छ । यो द्वन्द्वजस्तो पश्चिमी मुलुकमा आस्थाको समस्या थिएन, तर छापिएको किताबले त्यो धेरै कालसम्मको किताबको भयानक प्रभावलाई कम होइन अझ बलियो पार्ने जिम्माचाहिँ थियो ।

मलाई मन पर्ने विषयमा किताबभन्दा ठूलो अरू केही छैन । सन्त अगस्तिनले भने– पाठ दुई किसिमका हुन्छन्, एउटा हुन्छ मनमा देखिने अर्को हुन्छ उच्चारण गरिने । छुने र देख्ने पाठ पनि हुन्छन् । पाठका अनेकौं प्रयोग गरेर बनाएको एउटा ‘कल्प–ग्रन्थ’ शीर्षक किताब मलाई दिन केही दिनपहिले यसका लेखक नेपाली उपन्यासकार, लेखक कुमार नगरकोटी यसका प्रकाशक भूपेन्द्र खड्कासँग आए । कुमारको त्यही कालहीन पहिरन थियो । कालका सीमा तोड्न कुनै कुनै नाटकमा हामी कालो र खुकुलो पहिरनको प्रयोगलाई बुझ्छौं र प्रयोग गर्छौं । यो किताब साधारणतया अहिलेसम्म बजारमा आउने शैलीमा छापिएको पनि रहेनछ । ग्रन्थ बनाउन लेखक–प्रकाशकको निकै ठूलो मिहिनेत लागेको कुरा बुझ्दै जान्छु । नगरकोटी किताब राखेको बक्स खोल्छन् जहाँबाट कालो रङको कडा जिल्द भएको मोटो किताब निस्किन्छ । पृष्ठ ८०० को यो किताब सर्सर्ती लेखिएको उपन्यास वा कथासंग्रह होइन । यसभित्र पाठ मात्रै छैनन् आकार र विम्बहरू, ‘सेमियोटिक्स’ वा लक्षणा पनि छन् । कुमार अपेराको गायकजस्तो गाउथे भने भूपेन्द्र कन्डक्टरजस्तो छेस्का चलाएर यसको कम्पोजिसनको कुन खण्डका बाजा बजाउने भनेर देखाउँथे ।

नगरकोटी प्रायः उनका सबै उपन्यासमा समयसँग खेल्छन् । ती पात्रहरूलाई रचनाभित्र राख्छन्, तर त्यस्तो संरचनामा राख्ने कर्म अकिञ्चन हो भन्ने विश्वासले काम गर्छन् । उपन्यास र जीवनको सधैं द्वन्द्व हुन्छ । विश्वकै लेखकले त्यसको समाधान एउटा रूप–रचना बनाएर गरेका छन्, तोडेका पनि छन् । तोड्नेमा एक जना आयरल्यान्डका उपन्यासकार जेम्स ज्वायस हुन् । भाषासँग त ती यसरी खेल्छन् कि सोध्छौं, त्यसो भए यिनले किन पो लेखेका हुन् । यी कुमार भाइ भाषासँग खेल्छन्, ओल्टाइपल्टाइ गर्छन् । यी प्रयोगवादीहरूजस्तै बाठा छन् । संरचना र भाषाभित्रैबाट आफ्नो काम पनि पट्याउँछन् ।

मन पर्छ मलाई कुमारको प्रयोग गर्ने क्षमता । पहिलो खण्डको शीर्षक कविताजस्तो छ, ‘अलजाइमर्सग्रस्त एक अधबैंसे जगेडा आर्टिस्टको सृजनशील दिमाग अर्थात् मायावी भँवरजाल, कुहिरोको ल्यान्डस्केप र अन्सेन्सर्ड विचारहरूको आकाशगङ्गा ।’ यसरी लेखिएको पाठलाई अनेकौं पाठकले सुधारेका छन् । सबै हातले लेखेका छन् ती । कथानक हो जीवनको जुन बग्छ वा बग्दैन, तर छ । कुरा अप्ठ्यारो पनि छ । त्यो यथार्थ हो फिक्सनको, जीवनको । अहिलेको काललाई जोड्न खोज्दा मिल्छ पनि मिल्दैन पनि । यो किताब मलाई ‘कालो पोथी’ र अरू फिल्मका निर्माता मीन भामले किनेर पठाएका रहेछन् । मीन पनि कथा भएका छन् एउटा छुट्टै कार्डमा । तिनका काफ्काको कथाजस्ता ‘मेटामोर्फोसिस्’ हरू भएका छन् ।

कथाहरू एउटा लामो प्रयोगशील दृष्टिगोचर रचना भएका छन् ‘कल्प–ग्रन्थ’ मा । साहित्यमा शब्द र पाठका आकारहरूका प्रयोग गर्नेहरूको कथा पश्चिमी साहित्यबाट बढी आएको देखेका छौं हामी अध्येताले । सन् साठी र सत्तरीका सुरुका वर्षमा अंग्रेजीमा ‘कङ्क्रिट पोइट्री’ नामले पाठमा अक्षरका आयोजनाका चित्ररूप राखेर प्रयोग गरिए । राजनीतिको धेरै चिन्ता र प्रयोग मात्र भइरहेको बेला यी नगरकोटी वामपन्थी, क्रान्तिकारी र भिन्न विचार राख्ने राजनेताहरूकोमा यो किताब लिएर सरासर कसरी गए, छक्कै लाग्या छ । तर, यी एक सृजनशील लेखक र उपन्यासकार भएर गए किनभने तिनीहरू पनि उनका पात्र भएका छन् । समय उपन्यास भएको छ जीवनको, जीवन अनेकौं रूपमा छरिएको छ । कुमारको ‘कल्प–ग्रन्थ’ मा कोलाहल छ, तर गन्तव्यमा शान्ति छ, बुद्धले देखेको मध्यमार्गी शान्ति ! यस पोकाबाट ‘खर्बुजा’ अलग कथा र मीन भामका कथा–कार्ड निस्किन्छन् बाहिर । हुलाक जीवन्त हुन्छ । नेपालका साहित्य र अरू क्षेत्रका नाम चलेका निकै जना नारीहरूका नाममा पोस्टकार्ड पृष्ठ भएर बसेका छन् । विम्बहरू र अकारहरू, कालो भूमिमा सेता अक्षर, जुरक्क उठ्छन् ।

यो रचना स्वस्थानी व्रतकथाजस्तो गरी बनिएको छ एक अर्थमा । अमुक अगस्त्यमुनिलाई तहाँउप्रान्त भनेर कथा सुनाउने यी कुमार नगरकोटीको यो उनको ‘स्व’ वा आफ्नै ‘स्थानी’ वा ठाउँको वैश्विक चेतना हो । सूत्रधार पनि राखेका छन् कुमारले । पुछारमा आउँछ जो, कथा भन्छ र भन्दैन । अक्षर र किताबको मञ्चमा अभिनय गर्छ । ‘अगस्त्यमुनि’ हरूलाई अर्को सूत्रधारले पठाएका किताब दिने क्रममा कुमारजी कफी हाउसमा आउँछन् । तिनको ‘कल्प–ग्रन्थ’ एउटा कालिक प्रयोग हो । कुमारजीको आज्ञाअनुसार, किताब यसरी बनाउने प्रकाशक दुवै उत्कर्षका भारी उचालेर छुटे । मैले पाउने शब्दसंख्या पुग्यो । भेटौंला ।

प्रकाशित : श्रावण १६, २०७८ ०९:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×