१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३
कोसेली

काजीदाइले छाडेको दूरबिन 

काजीदाइको जीवनचर्या चराकै संसारमा बित्यो । चरा विषयको ज्ञान–विज्ञानका सागरै थिए– काजीदाइ । चराहरु पछ्याउँदै नेपालका कुनाकन्दराको पैदलयात्रामा महिनौं बिताउँथे, आफ्नै निजी खाना र खानकीको भरमा प्रकृतिको प्रेम–वाणी पछ्याउँदै हिँड्थे र नेपालका चराका विषयमा आधारभूत वैज्ञानिक ज्ञानको संकलन/सञ्चय गर्थे ! 

काजीदाइको उडेर गएको प्राणपखेरु र चरासँग उहाँको आत्मीय सम्बन्ध मेरो मथिंगलमा मडारिरहँदा मेरी १०३ वर्षीया आमाले स्वर्गीय हुनु दुई दिनअघिसम्म पनि हामीलाई सुनाउने श्लोक कानमा गुन्जन थाल्यो-

काजीदाइले छाडेको दूरबिन 

रामजीकी मैना तू रामनाम कहना,

यहाँ नहीं तो वहाँ रहना,

छोटा सा मैना बडा सा पिँजडा

उड गई मैना कुछ, लेना न देना

छातीभित्रको ढुकढुके प्राणलाई आमा रामजी (भगवान्) को मैनाचरी भन्नुहुन्थ्यो । शरीरलाई पिँजडा सम्झनुहुन्थ्यो । प्राणरूपी मैनाचरी उडेर गएपछि लेनादेना केही रहँदैन भन्ने व्याख्या थियो आमाको । काजीदाइको त्यही मैनाचरीलाई चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जलीका शब्दहरू कोर्ने जमर्कोमा छु ।

कोरोना महाव्याधिको दोस्रो छालभित्र लपेटिएर त्रास र सन्त्रासको जीवन बाँचिरहेका हामीलाई घरमा बज्ने टेलिफोनको प्रत्येक घन्टीले पटकेपिच्छे झस्काउँछ । यसैबीच २०७८, जेठ ५ को तापिलो अपराह्नमा भैरव दाइ (भैरव रिसाल) को टेलिफोन आयो । तुरुन्त सोध्नुभयो, ‘काजीदाइ बितेको हो ?’ म अवाक भएँ । भनें, ‘सोधपुछ गर्छु ।’ चरा विशेषज्ञ राजेन्द्र सुवाललाई टेलिफोन लगाएँ । सुन्नुपर्‍यो, ‘आजकै बिहानी सखारीमा आफ्नै घरको ओछ्यानमा काजीदाइ स्वर्गे हुनुभयो ।’ कोभिडको कोपमा धन्य पर्नुभएको रहेनछ । अन्तिम संस्कार सेनाको सलामीमा होइन, परिवारजनको मलामीमा सम्पन्न भएको ज्ञात भयो । त्यही पनि धन्य लाग्ने यो कस्तो बेला आयो ?

काजीदाइको जीवनचर्या चराकै संसारमा बित्यो । चरा विषयको ज्ञान–विज्ञानका सागरै थिए– काजीदाइ । चराहरू पछ्याउँदै नेपालका कुनाकन्दराको पैदलयात्रामा महिनौं बिताउनुहुन्थ्यो, आफ्नै निजी खाना र खानकीको भरमा । न कुनै शैक्षिक प्रमाणपत्रको धोको थियो । न कुनै आर्थिक आयको चाहना । प्रकृतिको प्रेम वाणी पछ्याउँदै हिँड्थे र नेपालका चराहरूका विषयमा आधारभूत वैज्ञानिक ज्ञानको संकलन/सञ्चय गर्थे काजीदाइ ।

जैविक विविधताको नेपाली वैभवमा प्रशस्त नौला, मौलिक ज्ञान–विज्ञानमा काजीदाइको योगदान छ । कुनै पनि स्वदेशी वा विदेशी आयोजनामा वा प्रायोजनमा उहाँका अन्वेषणहरू प्रारम्भ भएका थिएनन् । कतिपय स्वदेशी–विदेशी अन्वेषक–अनुसन्धाता आफ्नो शोधपत्र तथा पुस्तक–पुस्तिका वा प्रतिवेदनहरू तयार गर्न काजीदाइको निजी संग्रहालय अर्थात् शयनकक्षमा घण्टौं बिताउनुहुन्थ्यो । र, उहाँको बुद्धि–विवेकबाट लाभान्वित हुन्थे । काजीदाइको घरको आतिथ्य पनि सामान्य नभई विशेष प्रकारको हुनेगर्थ्यो ।

काजीदाइ (हरिशरण नेपाली) सँग भेट्ने अवसर मलाई २०३८ सालको कात्तिकताका मिल्यो । पूर्वी नेपालको वरुण उपत्यकामा एउटा नौलो रूख–भालुको अनुसन्धान गर्ने कार्यक्रम थियो । अमेरिकाको उडल्यान्ड इन्स्टिच्युटबाट राजा वीरेन्द्रकहाँ सीधै दरखास्त परेको रहेछ । त्यसको नेतृत्वमा थिए डा. डानियल टेलरआइड । डानियल राजा वीरेन्द्रका नजिकका मित्रका रूपमा हार्वड विश्वविद्यालयदेखि नै स्थापित थिए । त्यस अन्वेषण टोलीमा वन–वनस्पतिको अध्ययनमा मेरो नाम र पशुपन्छीको अध्ययनमा काजीदाइको नाम सिफारिस भएको रहेछ ।

काजीदाइसँग वरुण उपत्यकामा करिब एक महिना बिताएपछि मेरो मनमा एउटा पछुतोले जन्म लियो– मैले काजीदाइलाई किन यसभन्दा पहिले भेटिनँ ? प्रकृति अध्ययन र अवलोकनको क्षितिजमा वन–वनस्पतिको साथमा पशुपन्छी, कीराफट्यांग्रा, माछा–भ्यागुता वा सर्प र छेपारा अनि गँड्यौला र जुकालगायत सबै प्राणीजगत्लाई भुल्न मिल्दैन भन्ने सन्देश मैले काजीदाइको संगतबाटै पाएँ । चरा–विशेषको कुरा गर्ने हो भने काजीदाइ चराहरूका पहाडै हुनुहुन्थ्यो । कवि रमेश श्रेष्ठको ‘चराहरूको पहाड’ कवितासंग्रहमा भनेझैं आज यादहरू सलबलाउँदो छ-

चराहरू थुप्रै–थुप्रै सपनाहरू देख्छन्...

र, आफूभित्रको आकाश ओढेर

पहाडमुनि निदाइरहन्छन् ।

समयहरू बित्दै जाँदा वर्षहरू पल भएर

सम्झनामा बाँचिरहन्छन्,

कहिलेकाहीँ त सम्झना चुहिएर समयको याद मात्र बाँचिरहन्छ छातीमा,

तिनै यादका अस्पष्ट गुफाबाट...

तिनै चराहरुको यादमा म पनि केही लेखिरहेको हुँ ।

काजीदाइको चरा संकलन विधि–प्रविधि

वरुण उपत्यकामा करिब ४ हप्ता बित्यो । प्रत्येक बिहानी आफ्नो पालबाट बाहिर निस्कँदा काजीदाइ पूरै सजधज भएर निस्कनुहुन्थ्यो । खुट्टामा टल्कने बुट, टाउकोमा घामपानी छेक्ने आर्मी–ह्याट, खल्ती नै खल्तीजडित इस्टकोट, पाइन्टमा पनि ४/५ वटा खल्ती, काँधमा बन्दुक, गलामा दूरबिन (बाइनोकुलर), कम्मरतिर झुन्डिएको पानीको टुम्लेट ! झट्ट हेर्दा आर्मी कम्ब्याट कमान्डोजस्तो लाग्ने काजीदाइ । उहाँसँग हिँड्दा बिरालाले चाल मारेझैं गरी हिँड्नुपर्ने । बोल्न, सुसेल्न र खोक्न पनि नपाइने । सानोभन्दा सानो चरालाई पनि टाढैबाट ठम्याइहाल्नुहुन्थ्यो ।

वैज्ञानिक महत्त्वको चरा रहेछ भने त्यसको पछिपछि लाग्नुहुन्थ्यो । बन्दुक पड्क्यो भने त्यो चरा उहाँको सिकारमा पर्‍यो भन्ने बुझे हुन्थ्यो । उहाँ अचुक निसानेबाज सिकारी हुनुहुन्थ्यो । उहाँका प्रत्येक सिकारले ज्ञानको नयाँ क्षितिज उजागर गर्न मद्दत पुग्थ्यो । एउटाको ज्यान लिएर हजारौंको ज्यानलाई संरक्षण गर्ने उहाँको सिकारको उद्देश्य हुन्थ्यो ।

चरा संकलन गर्न उहाँसँग अदृश्य कोहरा जाल ‘मिस्ट नेट’ पनि साथमै हुन्थ्यो । नाका छानेर साँझमा जाल थाप्ने काम हुन्थ्यो । बिहान सबेरै जालमा परेका विभिन्न चराको टिपोट लेख्नुहुन्थ्यो । उहाँको संकलनभित्र नपरेका केही चरालाई संकलनमा राखेर अरूलाई पालैपालो छोड्नुहुन्थ्यो ।

उहाँको चरा संकलनमा सहयोग पुर्‍याउँदा एउटा चाँचर चरीले मलाई निकै दुख्नेगरी टोकिदिएको सम्झना हुन्छ । साह्रोसँग टोक्ने चराको कोटीमा चाँचर पर्दोरहेछ । यिनीहरूको बगाल साइबेरियादेखि जाडो छल्न नेपाल आएर वैशाखतिरबाट उतै फर्कंदो रहेछ । विसं २००८/९ सालतिर काठमाडौंको इन्द्रचोकमा चाँचर जिउँदै बेच्ने गरिन्थ्यो । टुकुचा, विष्णुमती, मनोहरातिरबाट जाल थापेर ल्याएको भन्थे मानिसहरू । टाइफाइड ज्वरोबाट तंग्रिन चाँचरको सुरुवा खुवाउनु उत्तम हुन्छ भन्ने वैद्यको सल्लाहअनुसार मलाई पनि चाँचरको सुरुवा खुवाइएको सम्झना वरुणमा चाँचरको टोकाइले ब्युँताइदियो ।

वरुणको त्यस अध्ययन टोलीमा अर्का चरा विशेषज्ञ डा. रोबर्ट फ्लेमिङ (पुत्र) पनि थिए । फ्लेमिङ पिता–पुत्रद्वय तथा लैनसिंह बाङ्देलद्वारा लिखित प्रख्यात पुस्तक ‘वर्डस् अफ नेपाल’ नामक पुस्तक निर्माणमा काजीदाइको योगदान अद्वितीय थियो भन्ने चर्चा हामीमाझ चल्थ्यो । रोबर्टलाई बब् भन्ने चलन थियो । बब् भने बन्दुक बोक्दैनथे । क्यामेरा सुटिङमा माहिर थिए । उनको अध्ययन तरिका बेग्लै थियो ।

उनी जंगलमाझ बसेर लाटोकोसेरोको आवाज सुसेल्थे । आवाज सुनेर थुप्रै चरा चिरबिर चिरबिर गर्दै वरपर बहुरिन आइपुग्थे । काजीदाइ र बब् मिलेर ती चराको अभिलेख राख्ने काम हुन्थ्यो । एक महिनाभित्र मात्रै बीस वर्गकिलोमिटरको क्षेत्रमा ३३१ विभिन्न प्रजातिका चराहरूको अभिलेख राखियो । त्यो भनेको सम्पूर्ण फ्रान्स वा बेलायतको पन्छी–धनभन्दा अधिक हो ।

विचित्र चरा–संसारको रहस्य पहिल्याउन सकियो भने अनेकौं जीवनोपयोगी तथ्य भेटिन्छन् । प्रदूषित वातावरणमा चराहरू बाँच्न सक्दैनन् । चराहरू लोप भएर वसन्त ऋतुले सन्नाटा बेहोर्नुपर्‍यो भने यो संसार कस्तो होला ?

नेपालको आफ्नै अभिलेखमा नयाँ फिस्टे चराहरू पनि वरुणमा भेटिए । प्रकृति संरक्षणका लागि राष्ट्रिय निकुन्जको स्थापनामा त्यही पन्छी–धनले भरपर्दो टेवा पुर्‍याएको थियो ।

वरुण–अध्ययनका प्राय: प्रत्येक साँझदेखि मध्यरातसम्मै काजीदाइ आफ्ना संकलित चराका नमुना तयार गर्न व्यस्त रहनुहुन्थ्यो । चराको छाला टाँगेर मांसपिण्ड सबै निखारेपछि बोराक्स पाउडरले प्रशोधन गरी शरीरभरि कपास कोचेपछि चरा दुरुस्तै आफ्नै आकृतिमा आउँथ्यो ।

त्यस प्रविधिभित्र हातको सफाइ कति हुनुपर्छ भन्ने अनुमान प्रत्येक नमुनाबाटै प्रस्ट हुन्छ । एक साँझ काजीदाइ आफ्नै कामदेखि दिक्क हुनुभयो । एउटा दुर्लभ फिस्टे चराको चुच्चो नै बुच्चो भएछ । उहाँले हानेको छर्राले त्यस सिमेटर ब्याब्लरको चुच्चो नै उडाइदिएछ । सिमेटरले भारतमा पन्जाबीहरूको विशेष सांस्कृतिक हुरीलाई जनाउँछ । चराको विशेष पहिचानको चुच्चो नै बुच्चो भएपछि काजीदाइ निराश हुनुभयो ।

सहयात्राका रोचक दिन

विसं २०४० मा राष्ट्रिय निकुन्ज विभागका वरिष्ठ संरक्षणकर्मीहरूसँग लाङटाङ राष्ट्रिय निकुन्जतिर लाग्यौं । वार्डेन सेमिनारको प्रसंग थियो । धुन्चे पुग्दा–नपुग्दै काजीदाइले एउटा रूख देखाउनुभयो । रूखभरि ऐंजेरु लागेको थियो । ऐंजेरु एउटा परजीवी बिरुवा हो । यस बिरुवाले अरू बिरुवाको हाँगामा जरा हालेर आफ्नो खाद्य पदार्थ प्राप्त गर्छ । ऐंजेरुमा राम्रा फूल र रसिला गेडाहरू लागेको थियो ।

ती गेडाका गुदी ज्यादै लस्सादार र च्याप्च्यापे हुन्छ । ती गेडा खान पल्कने विशेष चरा हुँदोरहेछ । हामीले केहीबेर त्यस रूखमा चराहरूका चर्तिकला हेर्‍यौं । चराले पाकेका गेडाहरू खाएको त रमाइलो लाग्ने नै भयो, तर केही चराले बिस्टाउने बेलाको दृश्य भने निकै रोमाञ्चक र अनौठो हुँदोरहेछ । रातो रङको त्यस चरालाई बिस्टा झार्न निकै कठिन पर्दोरहेछ । विशेष लस्सादार फल खाएको हुनाले बिस्टा पनि लस्सादार बनेर मलद्वारमै टाँस्सिएर हत्तपत्त नझर्ने रहेछ ।

तसर्थ विभिन्न रूखका हाँगामा चाक रगडेर बिस्टा झार्नुपर्ने त्यस चराको बाध्यता बन्दोरहेछ । त्यो चर्तिकलाले ऐंजेरुको नयाँ बिरुवा नयाँ हाँगामा कसरी मौलाउँछ, भन्ने पुष्टि गरिदियो । ऐंजेरुको जीवनचक्रमा त्यस चराको भूमिका कति महत्त्वपूर्ण हुन्छ त्यहाँ प्रस्ट भयो । ‘फायर ब्रेस्टेड फ्लावर पेकर’ नामक त्यस चरालाई पछि काजीदाइको छेत्रपाटी घरमा नमुनाको रूपमा देख्न पाइयो । धन्य काजीदाइ !

काजीदाइको शयनकक्ष एउटा संग्रहालय थियो । र, उहाँ एउटा संस्था हुनुहुन्थ्यो । सयौं प्रकारका चराका नमुना टिनका ठूला बाकसभित्र बन्द रहन्थ्यो भने केही ठूला काँटका चराहरू बाहिर सजाएर राखिएका हुन्थे । अर्नाको विशाल सिङ, केही हाँसहरू, न्याउरीमुसा, हरिणका सिङहरू कोठाभित्र सजाइएको हुन्थ्यो । चराचुरुंगी एवं पशुपन्छीका थुप्रै आधारभूत पुस्तकले खचिखचाउ थियो उनको शयनकक्ष ।

विसं २०३२ तिर काजीदाइको संकलनबाट लगभग एक हजार चराका नमुनाहरू प्राकृतिक विज्ञान संग्रहालय, स्वयम्भूलाई हस्तान्तरण भएको थियो । तिनताका नेपालभित्र सायद ८५० को हाराहारीमा चरा प्रजातिको संख्या कायम रहेको अवस्थामा काजीदाइले ५०० प्रजातिका १००० थान चरा उपलब्ध गराउनु भनेको एउटा कीर्तिमानी योगदान थियो ।

सहयात्राका कुरा कोट्याउँदा सन् १९९४ को मे महिनामा मनास्लु हिमालतिरको भ्रमण विभिन्न कारणले अविस्मरणीय रह्यो । त्यस वर्ष चराका विभिन्न बोली सुन्ने र तिनलाई पहिचान गर्ने चाहना जागेर आयो । मीठो बोल्ने सयौं चरामध्ये कलचौंडे (कालचौंरे) को बिहानी सुसेली निकै मन पर्न थाल्यो ।

गोर्खाको आरुघाटदेखि नै प्रत्येक बिहानी त्यस चराको बोली सँगसँगै उठ्थ्यौं र दिनभरि बुढीगण्डकीलाई पछ्याउँदा सोही चरा नदीवरपर चारो खोज्न हिँडेको देख्थ्यौं । त्यो देख्दा मनमा आनन्द लाग्थ्यो । तर, मे महिनाको १६ तारिख ल्हो गाउँको प्रांगणमा बिहानी बेग्लै खलबली मच्चियो । मध्यरातदेखि नै काजीदाइ छाती दुखेर छटपटाउन थाल्नुभएको थियो । अँगेना नजिकै पुर्‍याएर डा. कमल बाँस्कोटा, डा. केशवराज राजभण्डारीले जीउ सुम्सुम्याउने र पानी भरेको तातो रबरको तुम्बाले सेक्ने गर्न थाल्नुभयो । त्यहाँ हामीमध्ये कोही पनि चिकित्सक थिएनौं ।

छिटो फर्काउनुबाहेक विकल्प थिएन । काजीदाइ स्वयंले छातीमा केही प्लास्टर टाँस्नुभयो । मुटुसम्बन्धी औषधि रहेछ सो प्लास्टर । डा. राजभण्डारीले काजीदाइलाई साथमा लिएर सकुशल घर फर्काउनुभयो । काठमाडौं फर्केपछिको भेटघाटमा काजीदाइले भन्नुभयो, ‘दुर्गम यात्रामा यस्ता बिरामी परिरहन्छ । औषधि बोक्न बिर्सन हुँदैन ।’ काजीदाइको यात्रा विवरण सुन्दा यस्तो लाग्थ्यो कि ज्यान बाजीमा थापेर चराको पछि लाग्नु नै उहाँको जीवनको खास जोस थियो ।

चरा हेर्नु र तिनलाई चिन्नु मात्रै चरा अवलोकनको हेतु हुँदैन । तिनका बानी व्यवहार र चर्तिकला पनि बुझ्न सक्नु उत्तिकै महत्त्वपूर्ण हुन्छ । तिनका प्रकृतिको रहस्य बुझिनसक्नु र अपरम्पार हुन्छ । हाम्रा दुई हात र दस नङ्ग्राले गर्न नसक्ने काम तोपचराको एउटै चुच्चाले कसरी गर्छ ? तोपचराले कसरी कलात्मक गुँड बनाउँछ ? हामी सोच्न बाध्य हुन्छौं ।

ललितपुरको नागदहमा काजीदाइले अचम्मको दृश्य देखाउनुभयो– एउटा तोपचरा आफ्नो गुँड आफैं भत्काउँदै थियो । लुछाचुँडी गरेर गुँडको निर्माणसामग्री, घाँस–पराल आदि लुछ्दै थियो । गुँड बनाउने काम भाले चराको हुँदोरहेछ । उसले तयार पारेको गुँडमा पोथी बस्न मानेन भने हप्तौंको मिहिनेतले बनाएको गुँड तोपचरा आफैं भत्काउँदो रहेछ । पोथी प्रेमिकाबाट वञ्चित हुन गएको भाले तोपचराको रिस र आवेग हेर्नलायकको थियो । काजीदाइ नभएको भए त्यो दृश्य म बुझ्न सक्दिनथेँ ।

अर्को रोमाञ्चक दृश्य लुम्बिनीको एउटा सिमसारमा देखियो । एउटा सानो माटीकोरे चरा टाढाबाट उडेर आयो । कालो जीउको त्यो चरामा सेता बुट्टाहरू थिए । पानीको सतहभन्दा करिब एक मिटर माथि आएर त्यो चरा हेलिकोप्टरझैं हावामा स्थिर बस्यो । पँखेटाहरू चालु थिए । एकै छिनपछि त्यसले वाणको चालमा पानीभित्र डुबुल्की मार्‍यो । चुच्चोमा माछा झुन्ड्याएर बाहिर उडेर गयो । बेपत्तै भयो ।

यस्ता दृश्यहरू हेर्न, देख्न र बुझ्न भने काजीदाइकै जस्तो धैर्य–साधना आवश्यक हुन्छ ।

मकालु–वरुण राष्ट्रिय निकुञ्जको एउटा अर्को संयोग पनि यहाँ उल्लेख गर्न चाहन्छु । करिब ३००० मिटरको उचाइमा पुगेपछि एउटा चराको सुरिलो आवाजले घना जंगलको सन्नाटालाई चिरेर अझ गहिरो बनाइदिन्थ्यो । एकातिरबाट भाले चराको स्वर घन्किन्थ्यो । अर्कातिर पोथीले प्रत्युत्तर घन्काउँथी । त्यो दोहोरी गाउने चरा हेर्न मन लाग्यो । काजीदाइले पनि त्यो चरा देखाउन सक्नुभएन । तर, केही दिनपछि एक साँझ सोही चरा हातमा लिएर सुम्सुम्याउँदै क्याम्प आइपुग्नुभयो । त्यसलाई राम्रोसँग टाक्सोडर्मी गरेर मलाई उपहार दिनुभयो । त्यो कालो–टाउके सिविया चरा विगत ३५ वर्षदेखि मेरो सानेपा घरमा सुरक्षित छ ।

विगत ३/४ वर्षदेखि म पुन: मकालु–वरुण उपत्यकामा जलवायु परिवर्तन विषयलाई लिएर फ्युचर जेनरेसन युनिभर्सिटी अमेरिका र नेपालको राष्ट्रिय निकुन्ज विभागको संयुक्त अनुसन्धानमा संलग्न थिएँ । विभिन्न ठाउँमा आधुनिक उपकरणहरू जडेर चराको आवाज टिप्ने कार्यक्रमअनुरूप पहिलो खेपमै सोही कालो–टाउके सिवियाको बोली टिप्ने काम भयो । त्यो कुरा मैले सहर्ष काजीदाइलाई सुनाएँ । भेटेरै सविस्तार कुरा गर्ने निधो भयो । दुर्भाग्यवश कोभिडको प्रकोपले भेट्ने अवसर मिलेन । उहाँ स्वयं भने हामीलाई छाडेर लामो यात्रामा चलिदिनुभयो । दैवको विडम्बना !

अन्त्यमा

चराहरूको संसार विचित्रको हुन्छ । त्यसभित्रका रहस्य पहिल्याउन सकियो भने अनेकौं जीवनोपयोगी तथ्यहरू हाम्रा हात लाग्छन् । जुन पर्यावरणमा हामी बाँच्छौं, त्यही पर्यावरणमा ती चरा पनि बाँच्ने हुन् । प्रदूषित वातावरणमा चराहरू बाँच्न सक्दैनन् । चराहरू लोप भएर वसन्त ऋतुले सन्नाटा बेहोर्नुपर्‍यो भने हाम्रो संसार कस्तो होला ? यस यथार्थ चित्रण गरेर लेखिएको रासेल कार्सनको ‘सन्नाटा वसन्त’ (स्लाइन्ट स्प्रिङ) नामक पुस्तकले वातावरण संरक्षणको क्षेत्रमा अमेरिकाभरि तहल्का मच्चाइदियो ।

र, वातावरण संरक्षणका निम्ति एउटा छुट्टै संस्था (इन्भायरोमेन्ट प्रोटेक्सन एजेन्सी) खोल्न सरकार बाध्य भयो । कीटनाशक विषादीको प्रयोगमा विश्वभरका देशलाई चनाखो हुन बाध्य बनाइदियो । प्रदूषणको विरोधमा लाग्ने वातावरण अभियन्ताहरू सुश्री कार्सनलाई वातावरण अभियन्ताका माता मान्छन् । र, तिनलाई उक्त चेतना जगाउने काम चराहरूबाट भएको मान्न सकिन्छ ।

कुनै पनि देशको जैविक सम्पदाको वैभवमा त्यहाँका चरा र तिनको संख्याले ठूलो भूमिका खेल्छ । चराहरूको वैभवले त्यस देशको सम्पन्नता र स्वच्छतालाई इंगित गर्छ । विश्व भूतलको मात्र ०.१ प्रतिशत ओगट्ने हाम्रो देशले विश्व वैभवको ९ प्रतिशत पन्छी–धनको अभिलेख कायम गरेको छ । त्यस अर्थमा क्यानडा, संयुक्त राज्य अमेरिका, जापान, फ्रान्स, जर्मनी र संयुक्त अधिराज्यभन्दा पनि हाम्रो देश विशाल साबित हुन्छ ।

विशालताको त्यस अंक र तथ्यांक कायम गर्ने श्रमका अग्रजभागीका रूपमा हरिशरण नेपाली अर्थात् काजीदाइलाई लिन सकिन्छ । उहाँले लगभग १५ प्रजातिका नयाँ चराहरू नेपाली अभिलेखमा थप्नुभएको थियो । त्यसकार्यको निरन्तरता दिन उहाँको सक्रियतामा ‘नेपाल पन्छी संरक्षण संघ’ स्थापना भएको थियो । उक्त संघका सयौं सदस्य पन्छी–धनलाई उजागर गर्ने र तिनको संरक्षण गर्ने कार्यमा सक्रिय छन् । आज नयाँ चराको खोजी, अनुसन्धान र तिनका बासस्थानको संरक्षणमा लाग्नुपरेको अवस्था छ ।

हाम्रो वर्तमान अभिलेखमा ८८६ प्रजातिका चराहरू स्थापित भए पनि ४२ प्रजातिका चरा विश्वभरिमै संकटापन्न अवस्थामा पुगेको विश्लेषण छ । अन्य ३५ प्रजातिका चरा पनि झन्डै त्यही दिशा र दशामा पुगेको विश्व मान्यता छ । नेपाल सरकारले ९ प्रजातिलाई संरक्षित पन्छी घोषणा गरेको छ ।

तिनमा नेपालबाहिर अन्यत्र नपाइने काँडे भ्याकुर, हिमाली क्षेत्रका डाँफे, मुनाल र तराईका खरमयूर, धनेस, सारस उल्लेखनीय छन् । नेपाललगायत दक्षिण एसियाली क्षेत्रबाटै लोप हुने आशंकामा पुगेका ८ वटा चरा प्रजातिमध्ये पूर्वी नेपालमा सन् १८४८ ताका अन्वेषक हुकरले प्रचुर देखेको होइग्रा धनेस हाल नेपालबाट लोप भइसकेको छ । तथापि वैज्ञानिकहरूले नेपालेन्स नाम दिएको त्यो चरा सिक्किम र भुटानमा मौजुद छन् । यस्तै कोटीमा पुगेका अरू चरामध्ये रातोटाउके पानी हाँस, सेतो बकुल्ला तथा वन बट्टाई उल्लेखनीय छन् ।

नेपाली चराको यस संसारमा आज हरिशरण नेपालीको अभाव सबै प्रकृतिप्रेमी र संरक्षणधर्मीका मनमा खड्कँदो छ । र, चराको चिरबिरयुक्त संसार भविष्यका सन्ततिलाई छाडेर जानुपर्छ भन्ने सन्देश छाढी काजीदाइले हामीबाट बिदा लिनुभएको छ ।

काजीदाइको टल्कने बुट, घामपानी छेक्ने आर्मी–ह्याट, खल्ती जडित इस्टकोट, काँधमा बोकिहिँड्ने बन्दुक, गलामा झुन्डिरहने दूरबिन (बाइनोकुलर), कम्मरतिर झुन्डिरहने पानीको टुम्लेट ! आर्मी कम्ब्याट कमान्डोजस्तो लाग्ने काजीदाइको उल्का सम्झना आइरहेको छ । श्रद्धाञ्जली काजीदाइ !

प्रकाशित : भाद्र ५, २०७८ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?