१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
‘शोले’को ४६ वर्ष 

‘शोले’ र त्यसले सारिदिएको किरा

‘शोले’को ४६ वर्ष 
तीर्थ गुरुङ

काठमाडौँ — आज अगस्ट १५ । १९७५, अगस्ट १५ कै दिन पहिलोपटक ‘शोले’ फिल्म रिलिज भएको थियो । रिलिजपछिका ४६ वर्षमा ‘शोले’माथि अनेक कथा/किस्सा निर्माण भए । पहिलोपटक आफूले हेरेको पहिलो फिल्म ‘शोले’माथि कवि/कथाकार तीर्थ गुरुङसँग पनि केही घटना/केही किस्सा लिपिबद्ध छन् । रिलिजको ४६ वर्षमा ‘शोले’ सम्झना : 

‘शोले’ र त्यसले सारिदिएको किरा

सन् असीको दशकको पुर्वार्धमा लाहुर जाने भनेर एक बालकको रुपमा म भारतको पूर्वोत्तर राज्य नागाल्याण्डको डिमापुरमा बाथेपा र माथेसँग गएको थिएँ । आसाम राइफल्स ट्रेनिङ सेन्टर भित्रको खरलाइनमा माटाले लिपेको भुइँ भएको घरका भित्ताहरू बाँसको चित्राले बनेका थिए र छानाचाहिँ खरको । त्यो टोल परिवार लिएर आएका हवल्दार तहसम्मका लाहुरेहरूको ‘फेमिली लाइन’ थियो । भाषा, खानपिन, थरी थरीका मान्छे मेरा लागि नौला अनुभव थिए । मैले त्यहाँ नै पहिलो पटक कुवा देखेँ र त्यसैको आडमा बाकस जस्तो शौचालय पनि । बोतलमा पानी भरेर मान्छेहरू त्यो होचो शौचालयमा पस्थे । कोही नजिक आए भित्रकाले ढोकारुपी बोराको पर्दा हल्लाउनुपर्थ्यो । कुवाको तलतिर धान खेत थियो र पारीपट्टि चाहिँ बाक्लो झाडीयुक्त जङ्गल । एकदिन आफूभन्दा सानो एकजना केटाले पिट्ला जस्तो गरेपछि डराएर दलदल जस्तो धान खेतमा खुट्टा गाड्दै पारी जङ्गलमा पुगें र माथेले मलाई बोलाएको सुन्दा म निकै पर पुगेको थाहा पाएँ । आएपछि माथेले मलाई गुरुङ भाषामा लोत्रे भन्दै गाली मात्र गर्नु भएन बरु त्यो जङ्गलमा नागाहरू बस्छन् र तिनले केटाकेटीलाई काटेर खाइदिन्छन् भनेर आत्तिँदै सुनाउनुभयो । मलाई लाहुर मन परेन ।

तर, जब स्कुलमा मैले एकजना नागालाई नै सबैका प्रिय लोथा सरको रुपमा पाएँ, म दोधारमा परें । आतोहो सेमा र सामुएल सेमा नामका सहपाठी साथीहरू पनि नागा समूदायकै थिए जो तालिम केन्द्र बाहिरबाट भित्र पढ्न आउँथे । सामुएल सेमा, जो गाउँको मेरो साथी ठकुरी जस्तो थियो, ले त बाहिरको कोप्चे बजारमा आफ्नो आमासित मलाई चिनाएको पनि थियो । जब उनले प्रेमपूर्वक आफ्नो घरमा केही खानाको निम्ति निम्त्याइन्, मलाई आमाको याद आएको थियो । अनि मलाई लाहुर ठीक ठीकै लाग्न थाल्यो ।

तर यी पंक्तिहरू लेख्नको मूल कारण अर्को अचम्मका कुरा हो—पिक्चर । मान्छेहरू पिक्चर हेर्न भनी जान्थे र त्यसका गफ गर्थे जुन म बुझ्दिनथें । कक्षामा साथीहरू पनि मौका पाउनासाथ पिक्चरका गफ गर्थे र मैले त्यतिञ्जेल बुझेअनुसार पिक्चर भनेको कुनै सत्य घटना थियो जहाँ मान्छेहरू नाच्थे, गाउँथे र बढी त लड्थे र मर्थेमार्थे । लड्ने र मर्नेमार्ने भनेपछि डरका कारण मेरो रुचि त्यतापट्टि खासै गइसकेको थिएन ।

खरलाइन बाट पक्कीलाइन तिर सर्नुभन्दा केही हप्ताअघि बल्ल ‘एकदम राम्रो’ भनेर कहलिएको पिक्चर हेर्न जाने भनेर बाथेपाले माथेलाई भन्नुभयो । मान्छेहरूले त्यो दिन छिट्टै रोटी खाए र टोललाई सुनसान पारेर एकैचोटि लस्कर बनाएर गए (जेसिओ र अफिसरहरूका लागि पहिल्यै प्रदर्शन गरिएको थियो होला जस्तो लाग्छ) । भयमिश्रित उत्सुकता बोकेर म बेलुका उहाँहरूसँग गएँ । एउटा विशाल भवन अगाडि मान्छेको उल्लेखनीय भीड थियो । मान्छेहरू हतार गर्दै ढोकाभित्र छिर्न खोज्दै थिए । हामी पनि बडो कष्टका साथ भित्र छिर्‍यौं । भित्र अँध्यारो र अर्कै किसिमको अप्रिय गन्ध र उष्णता थियो । हामी राम्ररी बस्न नपाउँदै चर्को अवाज आयो र अगाडि नै ठूलो उज्यालो भयो । धुँवा पुत्पुताउँदै एउटा रेल जुन मैले चढिसकेको पनि थिएँ, हामीतिर नै आउँदै थियो । म डरले एकातिर भाग्न थालें । माथेले बोलाए पनि म सिटमा बस्न गइनँ । मान्छेहरू जहाँका तहीँ थिए । त्यो रेल भने भयङ्कर ठूलो हुँदै आयो तर त्यसको टाउको देब्रे कुनामा अदृश्य भइहाल्यो । केही समयपछि घोडामाथि बसेर बडो फूर्तीका साथ मान्छेहरू दौडिरहेका थिए । तिनका विशाल अनुहार देखेर मेरा आँखाहरू विस्फरित भए । अर्को बेला पर्दामा कसैले बन्दुक ताक्दा मैले कान थुन्न पुगें । घोडाबाट मान्छेहरू बलड्याङ्ग खस्थे । खाली घोडाहरू बेतोडले दौडिरहेका थिए । बडेमानका मान्छेहरू गफ गरिरहँदा त्यो हल नै थर्किएको जस्तो हुन्थ्यो । भटभटेमा बसेर गीत गाउँदै गरेको दृश्य, होलि भन्दै नाचिरहेको दृश्य भन्दा मलाई सरदारले बन्दुकको गोली नचलेकोमा अचम्म मानेर खित्का छोड्दै हाँसेको र अन्तमा तीनजनालाई एकैचोटि मारिदिएको दृश्य भयानक थियो । गब्बरले ठाकुरका परिवारलाई मारेको दृश्य, उसले ठाकुरको हात च्वाट्ट काटिदिएको दृश्य सब भयङ्कर थिए । डराउँदै आँखा नचिम्लिकन मैले त्यो पिक्चर हेरें । त्यो ‘मेहबुबा मेहबुबा’ गीत आउने बेला थियो जब मैले पहिलोपटक नाङ्गो पाखुरा र तिघ्राहरू देखाउँदै नाचिरहेको महिलालाई लजाउँदै हेरेको थिएँ, अझ माथेले बाथेपालाई 'के हो लाजै नमानी नाङ्गै नाच्ने?' भन्नुभएको र बाथेपाले पनि थप्नुभएको थियो, 'त्यही त नि, यस्तो खत्तम स्येनिमा पनि राम्रो !' मलाई झन् शरम लागेको थियो ।

यसरी ‘शोले’ मैले हेरेको पहिलो सिनेमा थियो । मलाई ठ्याक्कै त सम्झना छैन, त्यो सन् १९८३ को कुनै गर्मी महिनाको कति गते हो, तर त्यो सिङ्गो साँझले मेरो जीवनमा, मेरो मनमस्तिष्कमा उथलपुथल ल्याइदिएको थियो । मैले राति सपनामा पनि पिक्चर नै देखेको थिएँ । घोडाहरू दौडिरहेका, गब्बरको डरलाग्दो अनुहार, सेतो साडी लगाइरहने महिलाले लालटिन निभाउँदै गरेकी र उता एकजना चाहिँ माउथ हार्मोनिकाबाट उदास धून निकालिरहेको दृश्य सपनामा पनि फेरि आए । पिक्चरको त्यो अग्लो मान्छेले मलाई मोहनी लगाइदिएको थियो जसको हेराइ, आवाज र एक खालको पीडा बोकिरहेको जस्तो आँखाले मलाई ताने । खुट्टामा शिशा गढेर रगतपच्छे भइ बसन्ती नाचिरहेको बेला विरुलाई उसैले गब्बरसिङबाट बचाएको थियो । त्यसैले ऊ मेरो लागि नायक थियो । पिक्चरमा थुप्रै मान्छेहरू मरे तर बारुदको कालो लत्पतिएको जय जब आफ्नो साथीको काखमा छटपटिँदै मर्‍यो मेरा गला अवरुद्ध भएका थिए ।

पिक्चरमा हुने कुराहरू नक्कली हुन् र जय भन्ने लम्बु मान्छेको खास नाम ‘अमिताबचन’ हो भनेर मैले एकैपटक थाहा पाएँ । र, त्यसपछि त मेरो उर्वर दिमागमा एकैचोटि हिन्दी सिनेमा, हिरो, हिरोइन, गुण्डाहरू, गीत सबैले छिट्टै जरा फैलाइहाले । रमेश सिप्पी जस्ता पर्दापछाडिका नामहरू र तिनका महत्त्व त मैले धेरै पछि क्याम्पस पुग्दा मात्र थाहा पाएको हुँ ।

भारतमा ७० मिमिमा प्रिन्ट भएको पहिलो फिल्म, एकैपटक सयवटा हलमा २५ हप्तासम्म चलेको, मिनेर्भा थिएटरमा लगातार पाँच वर्षभन्दा लामो समय चलेको, ‘मुवी अफ मिलेनियम’ घोषण भएको जस्ता कुराहरू गुगलमा पाइन्छन् । गब्बरको भूमिका सुरुमा डैनीलाई प्रस्ताव गरिएको थियो, त्यो बेला हेमा मालिनीलाई धर्मेन्द्र र सञ्जीव कुमार दुवै प्रेम गर्थे आदि रमाइला कुरा पनि पढ्न पाइन्छन् ।

आधा भित्तासम्म इँटा र त्यसमाथि बाँसको चित्राले बारेको र जस्तापाताको छाना भएको र घरभित्रै सौचालय भएको पक्की लाइनमा सरेपछि बल्ल लाउर पुगेको जस्तो भएको थियो । बाङ्गे, टिङ्कु, ठाकु र एकजना बिहारी केटा मेरा दिउँसोका साथी थिए । गाउँको गुच्चा त्यहाँ मार्बल भएको थियो । दिउँसोको सुत्ने बेलामा अरुका कोठाबाट शोले पिक्चरको डाइलग बढी बजाइन्थ्यो र गीत कम । म त्यो सुन्थें र फिल्मको दृश्यहरू सम्झिरहन्थे । साँच्ची भन्ने हो भने त्यसरी नै हिन्दी सिक्न थालें । स्कुलमा मसँग मिल्ने साथीहरू अगम लिम्बु, पदम थापा र हरिशसँग नेपालीमै कुरा गर्थें । र, गाउँमा मातृभाषा गुरुङ मात्र बोलिरहेको मैले एकैचोटि नेपाली र हिन्दी बोल्न सिकेको थिएँ । पदमले अमिताबचनको शैलीमा कपाल पालेको हुन्थ्यो । उसको देब्रे चोर औंलाको टुप्पामा ठूलै दाग थियो जुन घुमाउने लड्डु बनाउन खोज्दा काटिएको थियो र त्यसले गर्दा अर्को चोर औंला भन्दा केही छोटो देखिन्थ्यो । कक्षामा एकछिन शिक्षक ढिला हुँदा, खाजा र खेलकुदको समयमा हामी फिल्मकै गफ गरिरहन्थ्यौं । पदम त विजय बनेर अमिताबचनकै संवादहरू बोलिरहन्थ्यो । मलाई लाहुर मन पर्न थाल्यो ।

शोलेले सिनेमाप्रतिको मेरो जिज्ञासा ह्वात्तै बढाइदियो । त्यसयता मैले कैयौं पिक्चर हेरें तर शोलेले जस्तो गहिरो छाप कुनैले छोड्न सकेन । मौका पाइयो भने म अझै शोले हेर्ने गर्छु । त्यसले मलाई स्वाभाविक किसिमले पहिलो चोटिको जस्तो अचम्भित त पार्दैन तर प्रत्येक चोटि म आनन्दित हुन्छु । फिल्ममा नराखे पनि त्यति फरक नपर्ने ‘अँग्रेजोंके जमानेके जेलर’ असरानी, र दाउरा व्यापारी ‘सूरमा भोपाली’ जगदीप हेरेर हाँस्छु । पछि केष्टो मुखर्जीलाई अन्य फिल्महरूमा रक्सी खाएको मात्र देखेपनि उनको छोटो भूमिका रमाइलो लाग्छ । दुइटा मात्र सम्बाद बोल्ने म्याक मोहनलाई धेरै बेर पछि सम्म म साम्भा नै भन्थें । केही समय अघि ‘इमाम साब’ बनेका ए. के. हङ्गल र ‘कालियाँ’ को भूमिकामा अमर बनेका बिजु खोटे बितेको खबर आउँदा पनि म त्यसरी नै दु:खी भएको थिएँ जसरी उहिल्यै सञ्जीव कुमार र अमजद खान परलोक हुँदा भएको थिएँ । अहिले पनि विरु र जय पहिलो पटक आफ्नो अगाडि उभिँदा गब्बरले ठाकुरतिर दिने व्यङ्यात्मक मुस्कानले म कायल हुन्छु । साँच्ची भन्ने हो भने शोलेको आत्मा नै त्यही परपीडक गब्बरसिङ हो जस्तो लाग्छ । जावेद अख्तर साबको सम्बादलाई गब्बर सिङ्ले जसरी बोल्छन् त्यो सधैं जबर्जस्त र आइकनिक लाग्छ । विरुको बिहेको कुरा गर्न बसन्तीकी मौसीकहाँ जय जाँदाको दृश्य पनि त्यतिकै दोहोर्‍याएर हेर्न मन लाग्छ । बसन्ती जस्ती बोलक्कड पात्र मैले अर्को हेर्न पाएको छैन ।

पक्की लाइनमा सरेपछि पिक्चर हल अब स्कुल र घरबिच पर्थ्यो, दिउँसो छुट्टी भएपछि कुन पिक्चरको पोष्टर लागेको छ थाहा पाउन साथीहरूसित हलको बाटो भएर आउने गर्न थाल्यौं । पोष्टर पनि एकपटक हेरेर अघाइन्नथ्यो । कहिलेकाहीँ जुङ्गे आरपीको ड्युटि त्यता पर्‍यो भने फसाद हुन्थ्यो अनि टाप कस्नु पर्थ्यो । बाथेपाको पोशाकमा इस्तिरी लगाउनका लागि धोबीकहाँ लैजान म आवश्यकता भन्दा ज्यादा नै सकृय हुन्थें किनभने कम्पनीसम्म पुग्ने बाटो पनि हलको आडभएर जान्थ्यो । अनि ह्याङ्गरमा बाथेपाको पोशाक बोक्दै हिँडिरहँदा जुङ्गे आरपीले भन्ने भनेको ‘बच्चे, जल्दी चलो’ मात्र हुन्थ्यो । घाँटी तन्काएर पोष्टर हेर्‍यो अनि अमिताबचन देखेपछि बोतल बेचेको पैसाबाट बाराना खर्च गरेर पिक्चर हेर्‍यो । बोतलहरू चाहिँ बाथेपाले बडाखानाबाट ल्याउनु हुन्थ्यो जसको पिँधमा थोरै रम बाँकी हुन्थे । त्यसलार्ई वहाँले अर्को बोतलमा खन्याउनुहुन्थ्यो ताकि रक्सी नखाने उहाँले त्यही भरिएको बोतल पछि छुट्टिमा आउँदा कोसेली स्वरुप लिएर आउन सकियोस् ।

बाथेपाले रक्सी नखाने भएर मैले बोतलहरू बेच्न पाएँ र नयाँ रिलिज भएको फिल्म नलाग्ने त्यो हलमा पचहत्तर पैसा तिरेर मैले झिरझिर आउने फिल्महरू हेरें । प्रोजेक्टर भएको ढोका अगाडि रिलका टुक्राहरू भेटिन्थे जसलाई टर्च लाइट बालेर घरको भित्तामा हेर्दा रमाइलो हुन्थ्यो । त्यतिबेला फिल्मको कथा भएको कमिक्स पनि पाइन्थे, कलाकारहरूको तस्बिर दुरुस्त बनाएको पाएर पनि आश्चर्यचकित भइन्थ्यो । पोष्ट कार्ड पनि जम्मा गर्न थालिसकेको थिएँ ।

नयाँ फिल्म हेर्न चाहिँ चित्र दाइसित टाउन (डिमापुर शहर) जानु पर्थ्यो जहाँ दाइको हात समातेन भने हराइने डर थियो । दाइले देखाएका फिल्महरूमध्ये धर्मेन्द्र मिथुन अभिनित ‘बाजी’, बहुल कलाकार वाला ‘राज तिलक’, नयाँ हिरोको ‘हिरो’ आदिको सम्झना हुन्छ । तालिम केन्द्र भित्रको हलमाथि चाहिँ बाहिर एउटा माइक लगाइएको हुन्थ्यो र त्यतिबेला त्यसबाट नुरी, आप तो ऐसा ना थे (हामी नाथे भन्थ्यौं), प्रेमरोगका गीतहरू बजिरहन्थे । र ती गीतहरू मलाई गाउँको सम्झना दिलाउने गरेर उदास लाग्थे ।

छ र सात कक्षा नगन्य मात्रमा फिल्म हेरी बिताएँ । सिक्लेसको माघे सङ्क्रान्तिजस्ता मेलामा पोखराबाट मान्छेहरू भिडिओ र डेक अनि क्यासेटहरू बोक्दै फिल्म देखाउन आउँथे । त्यतिबेला केही हिन्दी फिल्मका अतिरिक्त पहिलो पटक ‘टर्मिनेटर’, ‘र्‍याम्बो’ जस्ता अँग्रेजी फिल्महरू हेर्ने अवसर जुरेको थियो । ती दुई वर्ष धीत मर्ने गरी फिल्म हेर्न नपाए पनि मोती सोल्टी (ऊ पनि भारतबाट आएर मेरो समपाठी हुन आएको थियो) सित हिन्दी फिल्मी गीतमा नाच्न थालें । नौ र दशमा त मोती सोल्टी मेरो रुम पार्टनरमात्र हैन, फिल्म हेर्न जाने दोस्त पनि थियो । ‘कयामत से कयामत तक’ मैले दीपज्योती हलमा तीनपटक हेरें, मोती सोल्टीले शायद कम्तीमा पाँचपटक । कक्षाका केटीहरूले उसलाई आमिर खानजस्तो भनेपछि सोल्टीलाई के चाहियो !

गाउँबाट डेढ दुई घण्टाको ओरालोमा पर्ने सोंधामा हाइस्कुल भए पनि जेहन्दार विद्यार्थी भएकोले पोखरामा पढायो भने राम्रो हुन्छ भन्ने मेरा तत्कालीन नेपाली गुरु, अहिलेका डा. रामचन्द्र पोखरेलले बालाई सल्लाह दिनुभएपछि मैले सहरमा आएर पढ्ने अवसर पाएको थिएँ । शोलेले दिमागमा भरिदिएको किरा पोखरा झरेपछि सल्बलाउन थालिहाल्यो र हप्तैपिच्छे हल धाउन लागें । कहिले त दिनकै दुइटा हेरिन्थ्यो । स्कुलको आडमा भएको भिडिओ पसलमा रातिराति फिल्म हेर्ने पाएपछि अरु के चाहियो र ! जब एसएलसी परीक्षा चल्दै थियो, भोलि शिक्षा विषयको परीक्षा भएको त्यो ‘राम्रो विद्यार्थी’ आज एकलै कल्पना हलमा ‘देशप्रेमी’ हेर्न गएको थियो । ब्रेकमा जब बाहिर आफ्नो विषय शिक्षक बद्री बिनोद प्रतीक सरसित उसको जम्काभेट भयो ऊ लाज र डरले पानीपानी हुन नपाउँदै शिक्षकले भनेका थिए, 'ठीकै छ तिमीले पढे पनि नपढेपनि ल्याउने त्यही पचपन्न छपन्न हो ।' नभन्दै उसले त्यस्तै अंक प्राप्त गरेको थियो ।

वास्तवमा म अलि ‘लोसे’ भएको हुँदा बर्खाको समय हिँड्न गाह्रो हुन्छ भनेर बा पनि जेठो छोरालाई सोंधामा पढाउन अलि तयार हुनुहुन्थेन । अनि त भद्रकाली स्कुलको हाताभित्र पस्नु अगावै म फिल्म हलमा छिरिसकेको थिएँ र शोलेमा गब्बरले कमिला किचिक्क पारिदिएजस्तो गरी मारेर घोडामाथि राखेर रामगडमा पठाइदिएको कलिलो केटा ‘अहमद’ सचिनको ‘तुलसी’ हेरिरहेको थिएँ । एसएलसीको नतीजा कुरिरहेको बेला रेडियो नेपालको पश्चिमाञ्चल क्षेत्रीय प्रसारणबाट दिल फिल्मको विज्ञापन बज्यो । दिलमा बेचैनी भयो । एक बिहान, रेडियोमा रिजल्ट आएको जस्तो सुनें भन्दै बालाई ढाँटें । बाले अनुमति दिएपछि दगुर्दै सिक्लेसबाट पोखरा झरें, पुर्णिमा हलमा ‘दिल’ हेरें र त्यही दिन गाउँ फर्किएँ । सामान्यत: त्यतिबेला पोखरा सिक्लेसको पदयात्रा सात आठ घण्टा हुन्थ्यो । अझ म जस्तो लोसेको लागि त नौ दश घण्टा नै हुन्थ्यो ।

डिमापुरमा करीब दुई वर्ष बसेर गाउँ फर्किदाँ साथीहरूलाई सुनाउन मसँग पिक्चरको गफ बाहेक केही थिएन । सात कक्षा नपुग्दै ‘सँगै पढ्ने’ नाममा साथीहरूसँग एउटै ठाउँमा सुत्न थालें । किशोरकालीन बदमासीका माझ त्यसरी सुत्दा निदाउनु अघि मलाई कुनै न कुनै पिक्चरको कहानी भन्नु करलागी हुन्थ्यो । मुखबाट डायलग मात्र हैन, म्युजिक पनि निकाल्थें र उनीहरू चुपचाप सुनिरहन्थे । साथीहरू निदाए कि भनेर जब म रोकिन्थें अनि कसै न कसैको आवाज सुनिन्थ्यो, 'भन न यार ।' साथीहरूले कुनै फिल्म नहेरीकन अब अमिताभ बच्चन, धर्मेन्द्र, गब्बर सिङ, सञ्जीव कुमार, मिथुन, डैनी, शत्रुघ्न सिन्हा, जितेन्द्र, कपुरहरू चिनिसकेका जस्ता थिए । उनीहरू पनि हेमा मालिनी, परबीन बबी, रेखा, रिना राय, जिनत अमान, पद्मिनी कोल्हापुरी, पुनम ढिल्लो, टिना मुनिम आदिमा को राम्री भन्न सक्ने भइसकेका थिए । अनि म उता सुनेको गफ पनि दिन्थें: खासमा डैनी नेपाली हो र ब्ल्याक बेल्ट हो, साँच्चिको लड्यो भने उसले मिथुनलाई जित्छ पिक्चरमा गुण्डा भएर रेड बेल्टसँग हारेको गर्नु परेको हो, ज्याकी खासमा दादा हो, शक्ति कपुरले सञ्जय दत्तलाई नाचमा जित्छ तर फिल्म (रकी) मा भिलेन भएर हार्नु परेको हो इत्यादि ।

मैले हेरेका सबै पिक्चरका कहानी साथीहरूलाई सुनाइसकेपछि अब म आफै काल्पनिक कथाहरू बुन्न थालें । मैले दर्जनौं फर्मुला फिल्महरू साथीहरूलाई सुनाउनका लागि त्यतिखेरै मौखिक रुपमा लेखिसकेको थिएँ । यसरी हुँदै नभएको पिक्चरको कथा सुनाउँदा सुनाउँदै थाहै नपाइकन म आख्यानको संसारमा बिचरण पो गरिरहेको रहेछु ।

प्रकाशित : श्रावण ३१, २०७८ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?