कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

श्वान गान – श्वान पुराण

चौपाया जीवमा सबैभन्दा पहिले रत्तिएर घरेलु पशु बनेको थियो भन्छन्– कुकुरलाई । मानिससितको उसको संगत निरन्तर र चिरकालको छ । अतुलनीय बफादारी, अटल इमान, निसर्त समर्पण र निश्छल प्रेम कुकुरका यस्ता अप्रतिम गुण हुन्, जो मानव–भाषा बोल्न नसक्ने यस जीवबाट मानिसले सिक्न सक्छ । आफ्ना यिनै गुणले मानिसलाई रूवाउने सामर्थ्य पनि राख्छ ऊ, जस्तो यस श्वान–गाथाले बताउँछ ।
कम्पाउन्डभित्रैको एउटा कुनामा अम्बाको रूखमुनि निकीको चिहान बन्यो । जमिनको सतहमा चप्लेटी ढुंगा लगाएर त्यसलाई स–सानो समाधिस्थलको रूप दियौं, जहाँ केही समय रोज मैले एउटा फूल चढाइरहें । चौपायाको कब्रिस्तान नै भने हुन्छ हाम्रो घरको सानो कोठेबारीलाई ।
वसन्त थापा

आज म यो आलेख त्यसरी सुरु गर्दै छु, जसरी विद्वान् लेखक डा. तीर्थबहादुर श्रेष्ठ प्रायः आफ्नो प्रबन्ध रचना सुरु गर्छन् । फरक यत्ति छ, उनी कसैको गीत या कविताको पङ्क्ति सिरानमा उद्धृृत गर्छन्, म भने आफैंले कोरेको गीतको उतार यहाँ गर्दै छु । उर्दू शेर वाचन गर्नुअघि शायरहरू ‘गौर फर्माइए’ भन्ने गर्छन् । म पनि भन्छु ‘गौर फरमाउनुहोला’ :

श्वान गान – श्वान पुराण

हिउँमा झरीमा आँधीमा

आउनेछु म तिम्रो समाधिमा

चढाउन थुँगा सम्झनाको

बिहान दिउँसो गोधूलिमा


अनायास एकदिन अनाहुत आयौ

निस्पन्द जीवनको धड्कन बनेर

मन बाटिकामा बस्ती बसायौ

प्रेमको हरदम गुञ्जन बनेर ।


मायाको यस्तो संसार बनायौ

रम्यौ त्यसैमा अरूलाई रमायौ

सुगन्ध हरदिन यस्तो फैलायौ

उजाड आगनलाई उद्यान बनायौ ।


पर्खन्थ्यौ दिनरात संघार कुरेर

विछोडको पल–पल गन्ती गरेर

खुसीले उत्फुल्ल हुन्थ्यौ कति

खोजेको मुहार सामुन्ने पाएर ।


आउला भनी अब कसले बाटो कुर्ला

घरीघरी स्नेहको पुकार कसले गर्ला

स्वप्न थियो या मायावी माया

यसै बिलायो शून्यमा तिम्रो काया


निर्बन्ध भयौ अब संसारी लोकबाट

मुक्ति पायौ भोक शोक र रोगबाट

दिनु दियौ सक्ने जति सबैलाई

गरेनौ आशा केही पाउने अरूबाट ।

पढ्नेलाई लाग्न सक्छ यो विरह र वियोगको अभिव्यक्ति हो कुनै व्याकुल प्रेमीको । प्रायः गीतको भावभूमि वियोगपूर्ण नै हुने गर्छ । दुःख, विशाद, वेदना, विछोड, उदासी, व्याकुलता कच्चा धाउ हुन् गीत निर्माणका । मैले पनि यस्तै वियोगमा बह पोखाउने क्रममै लेखेको हुँ माथि उल्लिखित गीत, जसलाई म ‘श्वान गान’ भन्न रुचाउँछु, जो मैले मेरो परिवारकै एउटा सदस्यसरहको प्रिय जीवको मृत्युमा आहत भएर लेखेको हुँ, झन्डै पाँच वर्षअघि ।

त्यस प्रिय जीवको नाउँ निकी थियो, जो चौरासी वर्षको लामो आयु बाँचेर आखिर निमोनियाको सिकार बन्यो । निकी असलमा कुकुर थियो, पोथी कुकुर । अरूको नजरमा ऊ सामान्य कुकुर भए पनि परिवारका हामी उसलाई कुकुर भन्दैन थियौं । अरूले त्यसो भनेको पनि मन पराउँदैन थियौं । ‘निकीले खायो ?’, ‘निकी कता गयो ?’, ‘निकी सुत्यो ?’ भन्थ्यौं । निकीको असलियत कसैलाई बताउनै परे हामी बरु ‘हाम्रो डग’ भन्थ्यौं । उसलाई कुकुर भन्नु उसको तौहिन ठान्थ्यौं । त्यसैले त्यस्तो मायालु प्राणीको सम्झनामा लेखिएको यस गीतलाई संस्कृतको सहारा लिएर मैले ‘श्वान गान’ भनेको हुँ ।

हाम्रो पर्खाल जोडिएको घरकी बातुनी स्वभावकी छिमेकी गृहिणी मेरी पत्नीलाई जहिले पनि ‘ए निकीको मम्मी’ भनेर बोलाउने गर्थिन् । तिनले त्यो साइनो लगाएको अस्वाभाविक लाग्दैन थियो हामीलाई । निकी थिई ज्ञानी स्वभावकी — कुनै उपद्रो नगर्ने, भनेको खुरुक्क मान्ने, भागेर बाहिर कहिल्यै नजाने, घरमा आएका पाहुनालाई नपिरोल्ने । हामी कतै बाहिर गए घरको फाटकमा बसेर हामीलाई कुरिरहने । ऊ कुनै उच्च ‘पेडिग्रीवाल’ कुलीन उत्पत्तिको जीव नभई नेपालमा बहुधा पाइने मिश्रित नस्लकै उपज थिई । रङ उसको गोल्डेन रिट्रिभरको जस्तो सुनौलो थियो । ‘बर्ड अफ प्याराडइज’ जस्तो देखिने उसको पुच्छरले उसको चालमा राजसीपन थपेको थियो ।

निकी कसरी हाम्रो घरमा दाखिल भई र परिवारको हिस्सा बनी त्यस प्रसंगसित एउटा सानो कथा जोडिएको छ । मैले मेरो गीतमा उसलाई अनाहुत आयौ भनेर त्यसै लेखेको होइन । किनभने उसलाई हामीले नचाही ननिम्त्याई कसैले हाम्रो घरमा भित्र्याइदिएको थियो । कुरा सन् २००४ जुलाई महिनाको हो । हामी दुवै जोईपोइ बैंकक र सिंगापुर घुम्न गएका थियौं । बाह्र–चौध दिनपछि हामी घर फर्कंदा छोरी खुसी त थिई, तर केही बिराम गरेजसरी उसको मुहारमा संकोचको भाव पनि थियो । उसले ‘हजुरहरू नरिसाउनुहोला, यी यो मैले गिफ्टमा पाएकी छु’ भनेर भित्र कोठाबाट सानो खैरो रङको एउटा शिशु–श्वान बोकेर हाम्रो सामुन्ने ल्याई । त्यो पोथी छाउरी थिई ।

हाम्रो पहिलो प्रतिक्रिया चरम दिक्दारीको थियो । किन ल्याएको भनेर झर्कियौं पनि । त्यसरी दिक्दारी मान्ने र झर्कने मनासिब कारण थियो हाम्रो । हामीले त्यस्तो चौपाया पालेर, हुर्काएर अनि गुमाएर प्रशस्त दुःख पाइसकेका थियौं । त्यसैले हामीले अबउप्रान्त कुनै छाउरा–छाउरी नपाल्ने भनेर एक किसिमले दृढ निश्चय गरेका थियौं । त्यो कुरा बुझेकी छोरीले डर मानीमानी छाउरीलाई देखाउने कारण त्यही थियो । तर, भएछ के भने हाम्रो अनुपस्थितिमा छोरीको जन्मदिन साथीहरूले घरैमा पार्टी गरेर मनाएछन् । छोरीको श्वान–प्रेम बुझेका कान्तिपुर एफएममा उसका सहकर्मी साथीहरूले पैसा खर्चेर त्यो छाउरी उपहारमा ल्याइदिएका रहेछन् ।

केहीबेरमै मेरी पत्नीको दिल पग्लिहाल्यो भुक्लुक्क, निर्दोष र मायालु अनुहारकी एक महिना पनि नपुगेकी छाउरी देखेर । मेरो बेखुसीको आवरण पनि धेरै बेर टिक्न सकेन । नाउँ जुराउने प्रस्ताव गरी छोरीले । मेरी पत्नीले तत्काल भनिन्– ‘निकी’ । निकी हामीलाई बैंकक र पटाया घुमाउने टुर गाइडको नाउँ थियो । अंग्रेजी राम्रो बोल्ने चिनियाँ मूलकी टाठी–बाठी, हँसिली, मिजासिली र हेर्नमा पनि राम्री निकीको व्यवहारबाट हामी दुवै निकै प्रभावित भएका थियौं । तिनकै स्मृतिलाई जीवन्त राख्ने मनसायले मेरी पत्नीले यो नाउँ प्रस्तावित गरेकी थिइन्, जसप्रति मैले पूर्ण सहमति जनाएँ ।

यसप्रकार नचाहँदा नचाहँदै हाम्रो परिवारको हिस्सा बनेर आफ्नो मायामा लुटुपुटु पार्दै अपेक्षाकृत लामै आयु बिताएर हामीलाई रुवाउँदै गई निकी । कुकुरको एक वर्ष मानव जीवनको सात वर्ष बराबर हुन्छ भन्छन् । त्यस अर्थमा ऊ चौरासी वर्षकी भएकी थिई । घर कम्पान्डभित्रैको एउटा कुनामा अम्बाको रूखमुनि उसको चिहान बन्यो । जमिनको सतहमा चप्लेटी ढुंगा लगाएर त्यसलाई स–सानो समाधिस्थलको रूप दियौं, जहाँ केही समय रोज मैले एउटा फूल चढाइरहें र त्यही बन्यो तिहारमा फूल चढाउने ठाउँ पनि ।

तर, हाम्रो कम्पाउन्डको जमिनमा त्यसप्रकार दफन गरिने निकी पहिलो पाल्तु चौपाया थिएन । एक प्रकारले चौपायाको कब्रिस्तान नै भने हुन्छ हाम्रो घरको सानो कोठेबारीलाई । त्यहाँ सुरुमा दफन गरिनेमा थियो टोबी । ऊ हाम्रो पारिवारिक जिन्दगीमा प्रवेश गर्ने पहिलो चौपाया थियो ।

टोबीको प्रवेश हुनुअघि कुकुर राख्ने शोख ममा कहिल्यै पलाएन । अर्काको घरमा डेरा गरी बस्ने मानिसका लागि त्यो लङ्गडा सोख ठहरिन्थ्यो । त्यसमाथि मैले एकचोटि मात्र होइन, दुई–दुईचोटि सास्ती पाएको छु कुकुरले गर्दा, पहिलोचोटि धरानमा र दोस्रो पटक काठमाडौंमा । धरानमा बहुला मानिएको कुकुरले मेरो कुहिनामा ङ्याक्क पारेर गएको थियो र काठमाडौंको बागबजारमा एक रात एउटा भुस्याहाले त्यसरी नै पिंडौलामा । दुवै पटक चौधचौधवटा सुई घोपिमाग्नुपरेको थियो पेटमा नाइटोवरिपरि । त्यसको दुखाइ कुन हदको हुन्छ, त्यो भुक्तभोगीलाई मात्रै थाहा हुन्छ ।

यसैकारणले पनि हुन सक्छ, कुकुर पालौं भन्ने चाहना ममा नजागेको । तर, चार वर्षको छोरो र ऊभन्दा तीन वर्ष जेठी छोरी भने कुकुर पालौं भनेर उल्कैसित जिद्दी गर्न थाले । म कुनै तरहले पन्छाउने गर्थें उनीहरूको जिरहलाई ।

यस्तै बेलातिर सामाखुसी गोंगबुमा धानखेतको फाँटमाझ एउटा स–सानो ओत बनाउन लागेको थिएँ कुनै यत्नले । राजीव गान्धीको सौजन्यले लागेको नाकाबन्दी र पहिलो जनआन्दोलनको सल्किँदै गरेको झिल्कोका बाबजुद इँट र कंक्रिटको त्यस कंकालले घरको स्वरूप ग्रहण गर्दै गएको थियो । अनि जति सक्यो चाँडो आफ्नो घरमा सर्नुपर्छ भन्ने भावनाले परिवारमा जोड पकड्दै गयो । त्यस्तो एकान्तमा जानु छ, घरको रखवारी गर्ने एउटा कुकुर हुनु अनिवार्य छ भन्ने कुरा आयो । हुन्छ भन्नुबाहेक त्यस प्रस्तावलाई टार्ने अर्को उपाय मसित बाँकी रहेन । संयोगात्, धेरै खोजिरहन परेन । मैले उसबखत एउटा पार्टनरसित मिलेर चलाएको रेस्टुराँको खरिदफरोख्तका कारण पुरानो भन्सारको एउटी तरकारी पसल्नीसित मेरी पत्नीको हिमचिम भएको थियो र त्यही हिमचिमले गर्दा तत्कालैजसो एउटा भाले छाउरो हामीलाई प्राप्त भयो । यस्तै जात र ‘ब्रिड’ को हुनुपर्छ भन्ने हाम्रो आग्रह थिएन । हामीलाई घरमा पाल्न लायक एउटा कुकुर भए पुग्थ्यो, जो बिनापैसा सित्तैंमा मिलेको थियो । हो, पोथी पाल्नुको आफ्नै झन्झट हुने हुनाले भाले नै होस् भन्नेचाहिँ चाहेका थियौं । खैरो रङको त्यो छाउरो भुक्लुक्क थियो, जस्तो सानोमा प्रायः सबै कुकुरका छाउरा–छाउरी हुने गर्छन् ।

हाम्रो परिवारमा दाखिल भएको त्यस नयाँ सदस्यको नाउँ जुराउने कुरा आयो अब । मैले एलेक्स हेली नामका अश्वेत अमेरिकी लेखकको ‘रुट्स’ भन्ने शीर्षकको किताब पढिसिध्याएको धेरै भएको थिएन । लेखकले दुई सय वर्षअघिदेखिको आफ्नो पुर्ख्यौली जरा पहिल्याउँदै लेखेको त्यो उपन्यास सन् १९७० को दशकको मध्यतिर छापिएको थियो र निकै चर्चित बनेको थियो । पश्चिमी अफ्रिकाको ग्याबोनबाट कसरी उनका पुर्खालाई फलामे साङ्लाले बाँधेर गोरा व्यापारीहरूले अमेरिका पुर्‍याएका थिए र पशुसरह कमारोका रूपमा बेचेका थिए, त्यसको मर्मस्पर्शी कथा बुनिएको त्यस पुस्तकको प्रभाव मेरो मनमा अझै ताजा थियो । त्यसैको एउटा पात्रको नाम सम्झेर मैले ‘टोबी’ नाम सुझाएँ, जुन सुझाव सर्वसम्मतिबाट पारित भयो ।

टोबीसहित हामी सामाखुसी बन्दाबन्दैको घरमा सर्‍यौं । त्यसको केही कालपछि पुरानो भन्सारको दाताबाट मेरी पत्नीलाई फेरि अर्को कुकुरको अफर मिल्यो । उनीहरूकहाँ कुकुर धेरै भएकाले एउटा दिने भएका थिए । हामीलाई पनि लाग्यो– ‘एक से भले दो’ र त्यो अफर स्विकार्यौं । त्यो पनि भाले थियो र त्यसलाई हामीले नाम दियौं नोपो । टोबी मझौला कदको आम चौपायाको रूपमा विकसित भयो । ऊ धेरै उपद्रयाहा र चञ्चल थिएन । उस्तरी दुःख नदिने सुधो टाइपको जीव थियो । उता नोपो निस्क्यो एक नम्बरको छुकछुके र उपद्रयाहा । झन्डै बक्सर जातको झल्को दिने नोपोको उचाइ भुइँबाट मुस्किलले दुई बित्ता हुँदो हो, धानखेतमा पसे नदेखिने । हेर्दा लाम्चो र भुइँमै टाँसिएको जस्तो लाग्ने । मौका मिल्यो कि घरबाहिर जाने, जथाभावी दौडने र फर्कन नमान्ने । कौसीको पर्खालमा समेत चढेर उसलाई दौडनुपर्ने । एक पटक ऊ खस्यो कौसीको पर्खालबाट आफ्नै आँखा सामुन्ने । पसाउन लागेको धानको खेतमा ऊ केहीबेर निस्पन्द लोटिरह्यो । लाग्यो, उसको ज्यान गयो । तर, केही निमेषमै उठेर ऊ धानखेतमा दौडियो । त्यो हदको चकचके थियो नोपो ।

त्यस्तैमा एक दिन बिरामी पर्‍यो टोबी र दौडाएर पुर्‍यायौं त्रिपुरेश्वरस्थित भेटेनरी अस्पतालमा । डाक्टरले जाँचपड्तालपछि घुँडामास्तिरको भागमा रौं काटेर उसको नसामा सुई हालिदिए र फेरि आउन भने । गोंगबुको बसपार्क नबनेको बेला । सामाखुसीमा फाट्टफुट्ट मात्र ट्याक्सी पाइने, मध्यदिनमा पनि त्यहाँ ट्याक्सी जान नमान्ने । कोही कुकुर भनेपछि बोक्न नमान्ने । अनेक दुःख गरेर, कहिल्यै भने सकीनसकी काइनेटिक स्कुटरमै बोकेर हामी डाक्टरले भनेजति पटक गइरह्यौं र सुई हालिरह्यौं । तर, टोबीको अवस्था सुध्रनुको साटो झन्झन् बिग्रँदै गयो । ज्वरो बढेको बढ्यै, कचिराले छोप्लाजस्तो आँखामा पानी देखिन थाल्यो । सास फेर्न गाह्रो हुँदै गयो र खाना बिस्तारै खान छाड्यो । बेलाबेला अकस्मात् चिच्याउँथ्यो, सायद पीडा असह्य भएर होला । एकदिन बिहान उठेर हेर्दा टोबीको निष्प्राण शरीर अरट्ठ परेको, जिब्रो मुखमा टोकिएको र मुख–नाकभरि र्‍यालसिंगान लतपत थियो । बरा डिस्टेम्पर नामको घातक रोगको सिकार बनेको थियो । डिस्टेम्पर रोग र त्यसको खोपबारे हामी पूर्णतः अनभिज्ञ थियौं । त्यो रोग लागेपछि कुकुर सितिमिति बाँच्दैन रहेछ । यसप्रकार हाम्रो कोठेबारीमा दफन गरिने टोबी पहिलो पाल्तु कुकुर बन्यो ।

एउटा गए पनि अर्को त जिउँदो छ भनेर सन्तोष मान्ने सानो ठाउँ भने थियो । तर, केही समयपछि नोपोलाई पनि त्यही ज्यानमारा रोगले लग्यो, जुन रोगले टोबीलाई लगेको थियो । डाक्टरले त डिस्टेम्परको भाइरस घर–कम्पाउन्डमा रुमल्लिरहन्छ भनेर बताएका थिए । दोस्रो कुकुर बन्यो नोपो कोठेबारीमा दफन गरिने ।

आँखा डुलाउन लाग्यौं, अर्को कुकुरको खोजीमा । सामाखुसीमै चिनजानको महर्जन परिवारमा छाउराहरू रहेको थाहा पाएर उनीहरूकहाँ गई मेरी पत्नीले जिद्दी गरेरै एउटा छाउरो लिएर आइन् । पाँच–छ महिना भइसकेको त्यस छाउरोको नाम खैरे थियो । राम्रो थियो हेर्नमा, तर उसित अप्ठेरो भाषाको थियो । ऊ केवल नेवार भाषा बुझ्थ्यो । ‘यता आइज’ होइन ‘थन वा’ भनेर बोलाउनुपर्थ्यो उसलाई । रहँदाबस्दा हाम्रो पर्वते बोली बुझ्न थाल्यो र बडो स्मार्ट कुकुर निस्क्यो खैरे । जहिले पनि सतर्क, चनाखो । भुक्न र परे टोक्न तत्पर । घरको रखवारीको हाम्रो चाहना उसले पूरा गरिदिएजस्तो भएको थियो हामीलाई । तर, उसले पनि आयु छोटो लिएर आएको रहेछ हामीसित बस्नलाई । उसलाई सम्झने अनेकौं कारण छाडेर ऊ गयो र उसलाई पनि हाम्रो कोठेबारीको एउटा भागमा स्थायी बास दियौं ।

खैरे गएपछि घरमा उत्पन्न हुन गएको रिक्तता भर्नलाई मानौं केही समयको अन्तरालपछि आइपुग्यो कताबाट हो लोबो । मेरी पत्नीको बानी थियो घर छेउछाउ आउने र बाटामा भेटिने कुकुरहरूलाई बिस्कुट, पाउरोटी वा जे खानेकुरा साथमा छ त्यो दिने । उनको पुच्कारबाट तानिएर हुनुपर्छ लोबोले हाम्रो घरमा आश्रय लिन थालेको । लोबो निख्खुर कालो रङको हुर्किसकेको कुकुर थियो, केही अग्लो कदको । तर, हेर्दै ऊ प्रताडित र त्रसित देखिन्थ्यो । सम्भवतः उसले राहत महसुस गर्‍यो होला हाम्रो आश्रयमा । उसलाई केही नाम त दिनैपर्ने थियो र हामीले उसलाई भन्न थाल्यौं लोबो । ऊ छिटै रत्तियो । तर, जीउ जहिले पनि ज्वरो आएको जस्तो तातो रहन्थ्यो र केहीगरी उसको पुच्छरमा हल्का धक्का लागे पनि ऊ कुइँकुइँ गर्थ्यो । सकेसम्म आफ्नो पुच्छरलाई ऊ छुन दिँदैनथियो । डाक्टरले जाँच्दा पत्ता लाग्यो, झ्यापुल्ले रौंबाट छोपिएको उसको पुच्छर छिनाउने गरी कसैले रबरब्यान्ड टनक्क बाँधिदिएको रहेछ । हेर्नोस् मानिसको निर्दयता र निष्ठुरता ! त्यही इन्फेक्सन भएकोले ऊ कराउँदोरहेछ । पुच्छरलाई अपरेसन गरेर काट्नुपर्ने अवस्था थियो । तर, डाक्टरले ‘यसलाई जोगाउने प्रयास गरिहेरौं’ भनेर घाउमा मलमपट्टी लगाइदिए । दुई–चारपटक त्रिपुरेश्वर धाएपछि लोबोको घाउ पुरियो र ऊ पूर्ण स्वस्थ बन्यो । तर, उसको आयु पनि कम रहेछ र ऊ पनि हाम्रो कोठेबारीमा अर्को चिहान थपेर गयो ।

त्यसपछि आए पेप्सी, डल्ली अनि डल्लीका दुइटा छाउरा ।

पेप्सी नाउको पोथी कुकुर हाम्रो घरमा कसरी आइपुग्यो अहिले म सम्झन्न । मलाई लाग्छ, त्यसलाई परित्यक्त अवस्थामा फेला पारेर मेरी पत्नीले दयावश लिएर आएकी थिइन् । त्यो पनि लोबोजस्तै हुर्किसकेको र ठ्याक्कै लोबोझैं निख्खर कालो रङको थियो । सानो–सानो साइजको, राम्रै जातको क्रस थियो सायद । उसलाई हामीले नाउँ दियौं पेप्सी । झन्डै पेप्सी आएकै बेलातिर हो डल्लीले पनि हाम्रो घर कम्पाउन्डमा प्रवेश गरेको । वास्तवमा घरछेउ दुई जीउकी उसलाई दयनीय हालतमा देखेर मेरी पत्नीले नै खाना ख्वाउन कम्पाउन्डभित्र हुलेकी थिइन् । अनि बच्चा पाउने बेला भइसकेको उसलाई टहराको खुला भागमा ठाउँ पनि बनाइदिइन् । डल्ली थिई खाँटी भुस्याहा कुकुर, अंग्रेजीमा जसलाई भनिन्छ ‘मोङ्गेल’ । उसको रङजस्तो आम भुस्याहा कुकुरहरूको हुन्छ त्यस्तै थियो— खैरो । साइज भने पहाडको पुँडी सुँगुरको जस्तो होचो र डल्लो । त्यसैले हामीले उसलाई भन्यौं डल्ली ।

डल्लीले बच्चा पाउने बेला कुकुरको बच्चा पाउने सिजन थियो क्यार ! कताकताबाट हो हाम्रै घर अघिल्तिरको चउरमा उनीहरू दयनीय हालतमा टुप्लुकिन्थे । मेरी पत्नी उनीहरूलाई बोलाउँदै टहरामा ठाउँ दिन्थिन् । म ‘हुँदैन यसरी’ भनेर आपत्ति जनाइरहन्थें, त्यो नसुनी उनीहरूलाई ल्याइरहन्थिन् उनी । त्यो टहरा प्रसूतिगृह र रुग्णालयजस्तो बनेको थियो एकताका । पहिले डल्ली सुत्केरी भई अनि त्यसपछि तीनवटा अरू । सुत्केरी माउ, छाउराछाउरी केही आश्रयहीन र घरको पेप्सीसमेत गर्दा एक समय टहरामा २४ वटा कुकुरको बगाल जम्मा भयो । हाम्रो छोरा अझै सम्झन्छ, आफूले औंलाले तोकी तोकी कुकुरका छाउराछाउरीहरू गनेको । के रनाहा लागेको थियो कुन्नि मेरी श्रीमतीजीलाई ! आफू नखाने भए पनि राँगाको मासु ल्याई–ल्याई झोल र सुरुवा बनाएर खान दिन्थिन् कुकुरको त्यस बथानलाई ।

कालान्तरमा ती सबै चारखुट्टे पाहुनाहरू आ–आफ्नो बाटो लागे । डल्लीले भने हाम्रो घरमै बस्न रुचाई । गज्जबकी थिई डल्ली ! हाम्रो सुरक्षामा खुब ध्यान दिने । कोही पराया मानिस कम्पाउन्डमा घुसेमा उसलाई टोक्न पनि बेर नमान्ने ।

पेप्सी अलिक चञ्चल स्वभावकी चनमती थिई । फाटक खुल्नासाथ बाहिर तीर जसरी निस्कने । एक रात मलाई घर फर्कन केही ढिला भएको थियो । फाटक खोल्दा कुन सड्को पेप्सी बाहिर गई मैले पत्तो पाइनँ । निस्पट्ट अँध्यारो, त्यसमाथि कालो पेप्सी । भोलिपल्ट बिहान मात्रै पेप्सी बेपत्ता भएको थाहा भयो । अनेक खोजी गर्‍यौं, पत्ता लागेन । ऊ बेपत्ता हुने कारणी म भएकाले मनको विशादमा अपराधबोध पनि थपिएको थियो मेरो । धेरै महिनापछि छिमेकको टाउन प्लानिङको सडकमा पेप्सी देखिई । घरमा खुसियाली छायो ऊ फेला परेकोमा । तर, यो पेप्सी पहिलेको पेप्सी थिइनँ । उसले आफ्नो नाम भुलिसकेकी थिई । गायब भएको थियो उसको चञ्चलता । ऊ मानो कुनै यातनाको सिकार भएर विस्मृत बनेकी थिई । खानमा पनि कुनै रुचि थिएन उसलाई । उसको यो दुःखद रूपान्तरण वास्तवमा हृदयविदारक थियो । उसलाई आफ्नै हालतमा छाडिदिनु उत्तम लागेर हामीले कम्पाउन्डको फाटक खुला गरिदियौं । ऊ अन्यमनस्क भावले सुस्तसुस्त फाटकबाहिर गई र फेरि हामीले उसलाई देखेनौं ।

डल्ली हामीसितै बसेकी थिई र दोस्रो बेतमा उसले जन्माएकामा दुईवटा भुकुल्ले छाउरालाई हामीले पाल्ने विचार गर्‍यौं । पहिलेको दुःखद अनुभवले सिकाएको हुनाले सबभन्दा पहिले हामीले उनीहरूलाई आठ हप्ता ननाघ्दै डिस्टेम्परको खोप दिनु थियो । भर्खर–भर्खर केनेल क्लबहरू उम्रिँदै गरेको बेला थियो । घर–घर गई सेवा दने एउटा चिनेकै व्यक्तिले चलाएको केनेल क्लबमार्फत खोप दियौं । तर, त्यसको केही हप्तामै ती दुवै भुकुल्ले छाउरा त्यही डिस्टेम्पर रोगको सिकार भए । हुनसम्मको दुःख र क्षोभ भयो । के खोप र त्यसको मात्रा सही थियो ? आइस बक्समा ल्याएको खोप म्याद गुज्रेको थियो कि ? यस्तो शंका किन पनि लाग्यो भने खोपका बाबजुद छाउरा मरेकोमा सिकायत गर्न मैले गरेको फोन चिनेको भन्ने त्यस मानिसले कहिल्यै उठाएन । शुल्क भने सरकारी अस्पतालमा भन्दा कैयौं गुणा बढी लिन्थे अनि जिम्मेवारी चाहिं नलिने । पछि भेट्दा त्यस मानिसले खोपको कुन्नि कति प्रतिशत असफल हुन्छ भनेर यसै पन्छियो । त्यो सफेद झूट थियो । यो कस्तो व्यावसायिक नैतिकता ? यस चोटबाट रन्थनिएर उसबेला ‘हिमाल खबरपत्रिका’ मा मैले लेख्ने गरेको ‘ऋतुविचार’ नामको आफ्नो स्थायी स्तम्भमा ‘पशु र नरपशु’ भनेर मनको भडास पोखेको थिएँ ।

जे होस्, अब बाँकी थिई डल्ली । उसलाई त हामीले कुनै खोप, कुनै सुई केही दिएका थिएनौं । कुनै औषधि ख्वाएका थिएनौं । ऊ खाँट्टी भुस्याहा थिई, त्यसैप्रकार बाँची र स्वाभाविक मरण मरी । उसका छाउराहरूलाई झैं उसलाई पनि आफ्नै कोठेबारीमा दफन गर्‍यौं ।

हाम्रो परिवारसित जोडिएको टोबीदेखि डल्लीसम्मको यो जीवनकाल लगभग चौध वर्षको थियो । हरेकको मृत्युले गहिरो आघात छाडेर गएको थियो हामीमा । त्यसैले अबउप्रान्त यो जीव नपाल्ने र उनीहरूको मायाको बन्धनमा नबाँधिने निश्चय हामीले गरेका थियौं । त्यसलाई हाम्रो ‘तिसरी कसम’ भने हुन्छ । तर, त्यो कसम लिएको केही समयपछि नै निकी आइपुगेकी थिई छोरीको ‘बर्थ डे गिफ्ट’ बनेर, जसबारे मैले सुरुमै उल्लेख गरिसकेको छु ।

निकी आएको ठीक चार वर्षपछि हाम्री छोरीको बिहे भयो । उसको बिहामा आएको उपहारमा सबैभन्दा अजुबा र महँगो उपहार थियो, तीन हप्ता पनि नपुगेको कुकुरको छाउरो । कामले काठमाडौं बस्दै गरेकी ड्यानियला नामकी चिलीकी साथीको उपहार थियो छोरीलाई त्यो छाउरो, जो थियो पक्का ‘पेडिग्रीवाल’ कुलीन जातको ‘कक्कर स्पानियल’ । लामकाने खसीजस्तो लामा–लामा कान हुने होचो कदको कक्कर स्पानियोल सिकारी कुकुर मानिन्छ र उत्तिकै इन्टेलिजेन्ट पनि । फसाद ! जुन घरमा बिहा गरेर छोरी जान लागेकी थिई, त्यस घरमा अघिबाटै कम्तीमा दसवटा कुकुर थिए भिन्नभिन्न जातका । यो दाइजो लिएर जान नसक्ने भएकाले उसले माइतीमै हामीसित छाडीराखी नासोका रूपमा ।

ड्यानियलाले दिएको हुनाले मेरी पत्नीले हत्त न पत्त त्यस छाउरोको न्वारान गरिन् ‘ड्यानी’ नाम दिएर । ड्यानी थियो युरोपेली नस्ल र साहेबी खानदानको । उसको हेरचाह र खानपिन पनि सोही स्तरको हुनु जरुरी थियो । निकीकै पालादेखि हामीले निजी क्लिनिकमा लगेर रेबिज मात्र होइन डिस्टेम्पर, कोरोना, हेपाटाइटिस आदि यावत् खोप नियमित तवरमा दिन थालेका थियौं । ड्यानीको हकमा पनि हामीले त्यही गर्‍यौं । निकी बिना तालिम हुर्केकी थिई, तर ड्यानी तालिमको हकदार थियो । प्रहरीको डग स्क्वाडका एक जना अधिकृत मित्रलाई गुहार्‍यौं र उनले सहृदयतापूर्वक आठ–दस दिन आएर आधारभूत तालिम दिए । त्यसबाट ड्यानीले ‘आउ, जाउ, बस, खाउ’ जस्ता आधारभूत निर्देशन बुझ्न सक्ने भयो । त्यसभन्दा लामो तालिम दिनलाई साथीको समय र हाम्रो हैसियतले भ्याउँदैन थियो । हामीले यतिमै चित्त बुझायौं ।

ड्यानीमा अजस्र ऊर्जा थियो, सिकारी जातको न ठहरियो । बोटबिरुवामा बस्न आउने चरा, परेवा र कागलाई पनि झम्टन जान्थ्यो । छाडा बिरालो त ढिम्किन पाउँदैनथ्यो हाम्रो घर कम्पाउन्डमा । घरभित्र र बारीका मुसा त कति मार्‍यो कति ! ड्यानी र निकीको यस जोडीले मिलेर झन्डै दस वर्ष हाम्रो घरलाई आवाद राखे अनि परिवारलाई आनन्द दिए । निकी त एक हिसाबले लामो आयु बिताएर गई, तर ड्यानीको भने समय अझै बाँकी थियो । ऊ भर्खर एघार वर्षमा हिँड्दै थियो । उसलाई लागेको घातक रोगको कारण हाम्रो अनाडीपन थियो र त्यसभन्दा हृदयविदारक कुरा के थियो भने असह्य सास्तीबाट छुटकारा दिलाउन उसलाई चिरनिद्रामा सुताउने इन्जेक्सन दिनुपरेको थियो । अतिशय मायाले दूध, ल्याक्टोजेन र बिस्कुट बढ्ता दिनाले उसको गिजामा क्यान्सर भयो, जसले गर्दा अनेक उपचारका बाबजुद ऊ बिलकुल खान नसक्ने भयो । उसको सास्ती देख्न नसकेर त्यो कठोर निर्णय लिनुपरेको थियो ।

जतिवटा पाल्यौं ती सबैको मृत्यु हाम्रा लागि अकथनीय दुःखको स्रोत थियो । तैपनि बढी मर्माहत भएका थियौं टोबीको दारुण मृत्युले जो हामीले नयाँ घरमा साक्षात्कार गर्नुपरेको पहिलो मृत्युको घटना थियो । त्यसपछि बज्र चोट दिएको थियो निकी र ड्यानीको मृत्युले, जुन बेलाको अवशाद अहिले पनि ताजै रहेको अनुभूति हुन्छ । यी दुवैको मृत्युले नै मलाई विशादपूर्ण गीतको रचना गर्न विवश तुल्यायो ।

निकी बितेको पुग–नपुग एक वर्षपछि ड्यानी बित्यो जुलाई २०१९ मा र उसलाई निकीको छेउमा दफन गर्‍यौं । उसैको शोकमा लेखेको हुँ तलको गीत । गौर फर्माउनुहोला :


ड्यानीको यादमा


तिमी छौ यहीं यतै

गएका छैनौ कतै


छौ हाम्रो निःश्वासमा

प्रत्येक श्वास प्रश्वासमा

महकिन्छौ बतासमा

फैलिई खुला आकाशमा


चपल क्रीडा देखाउँथ्यौं

लुकीछिपी सताउँथ्यौ

घुर्क्याएर हराउँथ्यौ

आई फेरि हसाउँथ्यौ ।


लाग्छ तिमी सुतिरहेछौ

छिनमै बिउँझनेछौ

उठेर चिरनिद्राबाट

आई काखमा घुस्रनेछौ ।


भनौं उपहार दैवको

या सौगात भाग्यको

मानों थियौ देवदूत

सिर्जियौ संसार प्रेमको ।


दियो तिम्रो यादको

कहिले निभ्ने छैन

नसम्झौं तिमीलाई

त्यस्तो क्षण हुने छैन ।

दुई वर्ष भयो ड्यानी गएको । तर, त्यस धक्काबाट हाम्रो मनमस्तिष्क अझै बौरिएको छैन । फेरि कसैको मायाको जालोमा परौं, त्यो आँट बटुल्न सकेका छैनौं ।

इति श्वान गान एवं श्वान पुराण । यो पुराण सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला ।

प्रकाशित : श्रावण ३०, २०७८ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?