कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

फुस्कीले छाडेको चिसो भात

पेटमा भोक सल्क्यो । तर, चुलोमा आगो सल्केन । घन्टीको आवाज सुनेपछि उदास फुस्की नुन हालेको ओसिएको चिसो भात छाडेर सुँक्क–सुँक्क रुँदै स्कुलतिर लम्किरहेकी थिइन् ।
संगीता उराँव

टिङ–टिङ–टिङ ! घन्टीको आवाज सुनेर लमक–लमक पाइला सार्दै, सुँक्कसुँक्क गर्दै, एक हातले आँसु पुछ्दै, अर्को हातले किताब काखी च्यापेर स्कुलतिर अघि बढिरहेकी बालिकालाई हेरिरहेकी थिइन् झरियो । स्कुल गइरहेकी बालिका थिइन्– झरियोकी कान्छी छोरी फुस्की ! असलमा त्यसदिन झरियो पनि फुस्कीजस्तै उदास थिइन् ।

फुस्कीले छाडेको चिसो भात

गाउँमा एउटा सहकारी थियो । किस्ता तिर्ने दिन कसैको ठूलो आँगनमा किस्ता–बैठक बसिन्थ्यो । ऋण लिएका र किस्ता तिर्न आएका सबैको हातमा नीलो पासबुक हुन्थ्यो । त्यसदिन किस्ता–बैठक हाम्रो आँगनमा राखिएको थियो ।

बैठकमा नीलो रङको पासबुक लिएर उपस्थित थिइन्– झरियो । आँगनमा झरियोजस्ता धेरै महिला थिए । बैठक फरक–फरक समूह भएर बसिरहेको थियो । एक समूहमा पाँच सदस्य । उनीहरूले मुठी बाँधेर कसेका थिए, थोरै पैसा आ–आफ्नो नीलो पासबुकको साथमा ।

वरिपरि लोग्नेहरू र स–साना बच्चाहरू चिर्बिराइरहेका थिए । जब एक पुरुषले सहकारीमा उपस्थित महिलाको हाजिरीका लागि नाम बोलाउँथे, महिलाहरू चुपचाप अघि बढ्थे– किसनीदेवी उराँव, गीतादेवी उराँव, पार्वतीदेवी उराँव, मायादेवी उराँव, कइलीदेवी उराँव, प्रेमवतीदेवी उराँव, राधादेवी उराँव, छेदोदेवी उराँव, पेत्नोदेवी उराँव, फूलवतीदेवी साह, कमलीदेवी ठाकुर, रत्नीदेवी... ! शिरमा घुम्टो ओढेका महिलाहरू आफ्नो नाम सुनेपछि ‘हाजिर’ भनिरहेका हुन्थे । लगत्तै पासबुकमा पैसा देखिने गरी राख्थे र आ–आफ्नो ग्रुपलिडरका हातमा पासबुक जम्मा गरिरहेका हुन्थे । तर, केही पासबुक रित्ता हुन्थे । त्यहाँ पैसाका पत्रहरू सजिएका हुन्थेनन् । केवल रित्ता थिए ती पासबुक । र, त्यो लाममा झरियोको पासबुक पनि झरियोजस्तै निराश र फुङ्ग उडेको थियो ।

...

टिप–टिप–टिप ! कतै थालमा, कतै भाँडामा, कतै बटुकामा झरिरहे परालको छानोलाई जित्दै पानीका थोपा । आफ्नो प्रिय बटुकामा झरीरहेको पानी हेरिरहेकी थिइन् फुस्की । बटुकाको पानी बाहिर फालेर फर्कंदा घरभित्र दर्केको पानीको चोट सहन नसकी भुइँको माटाले ठाउँ छोडिसकेको हुन्थ्यो । किस्ता–बैठक सकेर झरियो भर्खरै घर पसेकी थिइन् ।

पिण्डा (ओसरा) मा राखेको दाउरा निथ्रुक्कै भिजिसकेका थिए । स–सना पानीका छिटाहरू फुस्कीको अनुहारमा पर्थ्यो । बटुकामा खस्नै लागेका पानी जिलेबीझैं गोलो–गोलो गरी तैरिन्थे, केही फोका फुल्दै–फुट्दै, फुल्दै–फुट्दै गर्थे । पानीका फोका हेर्दै फुस्की बेलाबेला आमा झरियोको अनुहार पनि पढ्थिन् । सोचिरहेकी थिइन्– आज पनि घरको धुरीबाट धूवाँ उडेको देख्न पाइँदैन, न त मुखबाट ढकार नै आउनेछ !

फुस्की तीन कक्षा पढ्थिन् । उनीसँग स्कुल ड्रेस थियो एक जोर र घरमा लाउने तीन जोर अरू कपडा (एक जोर त उनैले लगाएकी थिइन्) । उनको प्रिय स्कुल ड्रेस र बाँकी दुई जोर कपडा टङ्ग्ना (लुगा झुन्ड्याउने) मा निथ्रुक्कै भिजेर मौन थिए । पिण्डामा भएको चुल्हा (चुलो) पनि ओसिएर मौन थियो । गोहाली (गोठ) मा थिए– एक बाख्रा, दुई पाठा, एक गाई, एक सुंगुर । गोठका ती प्राणीहरू पनि पानीको चोटले आफ्नै भाषामा रोइरहेका थिए । फुस्की कुद्दै गएर बाख्राका पाठाहरूलाइ काखीमा च्यापेर घरभित्र ल्याइन् ।

...

फुस्कीको बुबा पाना काठ फ्याक्ट्रीमा काठ चिर्ने काम गर्थे । दैनिक ५० रुपैयाँ कमाउँथे । साताको एक या महिनाको दुई दिन मात्रै घरमा देखापर्थे । काठ–मिलमा काम गरे पनि उनको घरमा काठको एउटै खम्बा या धुरी थिएन ।

वर्षायाम सुरु भयो भने काठको काम बन्द हुन्थ्यो– भदौदेखि असोजसम्मै कामै बन्द !

फ्याक्ट्रीमा काम गरिरहेका बेला एक दिन मेसिनले पानाको बुढीऔंला काट्यो । सामान्य काटेको होइन, बुढीऔंला झन्डै छिनेको ! हातका अरू चार औंलाले काटिएको अर्ध बुढीऔंला कसेर च्यापिरहेका थिए पाना । बिजुवाले भने, ‘जा पछाडि गएर घाउमा पिसाब फेर्, दुखाइ कम हुन्छ !’ पानाले औंलामा पिसाब फेरे, दुखाइ असाध्यै बढ्यो । सहनै सकेनन् र भुइँको दुबो देब्रे हातले उखेलेर घाउमा लगाए । रगत बग्न बन्द भयो । र, गम्छाको एक टुक्रा च्यातेर हातमा बाँधे ।

त्यो महिनाको कमाइले एक बोरा चामल, नुन र तेलको जोहो गर्ने विचार गरिरहेका पानाको जीवनमा एउटा बज्रपात आइपर्‍यो । काठ कारखानाका कर्मचारी लाइनमा उभिएका थिए हप्ता लिन । पाना पनि काटिएको हात लिएर उभिएका थिए । हप्ता दिने उर्बा (मालिक) सबैको नाम बोलाइरहेको थियो । पानाको पनि नाम बोलाइयो । तर, काटेको औंलाबारे मालिकबाट सहानुभूतिका एक शब्द पनि निस्केनन् । पानाको हातमा १४०० सय रुपैयाँ थियो । हातको उपचार ! घरको अन्न ! आत्तिए पाना । किनभने त्यति पैसाले सबै सम्भव थिएन ।

...

झरियोले बुन्दै गरेको पिटरी (गुन्द्री) हेदै थिइन् फुस्की । पाना छेउमै डोरी बाटिहेका थिए, पानी चुहिने ठाउँमा पराल राखेर टाल्न । बाख्राको पाठा काखमा च्यापेर बसेकी थिइन् फुस्की । बिहानै हो समय । तर, घनघोर वर्षाले साँझको झल्को दिन्थ्यो । पेटमा भोक सल्क्यो, तर फेरि पनि चुलामा आगो सल्केन । आज पनि नीलो पासबुक बोकेर सहकारीको किस्ता–बैठकमा पुग्नु छ । ऋण त जसरी पनि तिर्नु छ– चार किस्ता भयो नतिरेको, अब त समूहको सदस्यले घरबाट जे पनि उठाएर लैजान सक्छन् । झरियोले दस हजार रुपैयाँ ऋण उठाएकी थिइन्– घरको छतमा टिन लगाउन, सुँगुर किन्न । तर, पानाको काटिएको औंलाको इलाज र साहुसँग लिएको ऋण तिर्दै सक्कियो पैसा । बचेको पैसाले एउटा सुँगुर किनिन् उनले ।

गएको रात उनीहरूले उसिना चामलको भात भुटेर खाएका थिए । र, अलिकति बटुकामा राखेकी थिइन् फुस्कीले । त्यो सम्झेर जुरुक्क उठेर घरभित्र पसिन् फुस्की । पानीको छिटा परेर भात ओसिइसकेको थियो । भातमा अलिकति नुन हालेर पाठोनजिक आइन् उनी । एक फाँको आफू खाँदै अर्को फाँको पाठोलाई खुवाउँथिन् ।

पानी पर्न थामियो । बाहिरबाट आवाज आयो, ‘झरियो... झरियो... ए झरियो ! आज पनि किस्ता तिर्न आएनौ, किन ? आज त जसरी हुन्छ, किस्ता बुझाउनैपर्छ ।’ बिस्तारै आँगनमा सहकारी समूहका सदस्य जम्मा हुन थाले । एक जना खाता बोकेर आँगनमा ठिङ्ग उभिएका थिए । झरियो आत्तिइन्– कहाँबाट दिने होला ? समूहले बाख्रा र सुँगुर लैजाने निर्णय गरे । झरियो, पाना र फुस्की चुपचाप उभिइरहे । आफूसँगै भात खाइरहेको पाठोलाई मान्छेहरूले तान्न थालेपछि फुस्कीका आँखाबाट बलिन्द्रधारा बग्न थाले । मेरो गाउँमा किस्ताले धेरैका सुँगुर, बाख्राहरू घरघरबाट उठाइरहेको छ । अझै पनि उदास फुस्कीहरू स्कुलको घन्टीको आवाज सुनेपछि नुन हालेको ओसिएको चिसो भात छाडेर सुँक्क–सुँक्क रुँदै स्कुलतिर लम्किरहेका छन् ।

प्रकाशित : श्रावण ३०, २०७८ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?