चक्रव्यूहबाट फर्किएका शरद छेत्री

भीडले बाबाको किताबमा आगो झोस्यो । आमा रूँदै भीडको पछि कुदिन् । उनलाई लोग्नेको माया सधैं लाग्थ्यो । तर, त्यो दिन लेखक–लोग्नेको असाध्यै माया लाग्यो ! आमा भन्छिन्,‘सोचें– भीडबाट उहाँलाई म चराले अण्डा जोगाएजस्तो जोगाएर ल्याउँछु । र, मैले ल्याएँ पनि ।’
शैलिका छेत्री

सपना र गर्भपतन
जबजब दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन हुन्छ, म बाबालाई सम्झिन्छु । उन्मुक्तिको सपना कसले पो देख्दैन र ? तर, सन् १९८० देखि २०२१ सम्मै त्यो सपना सपना मात्रै बन्यो । मेरो बाबाको पनि एउटा सपना थियो– छुट्टै राज्य भयो भने कम से कम सरकारले मान्यता दिइसकेको नेपाली भाषामा लेखिने साहित्य केन्द्रमा त पुग्थ्यो ।

चक्रव्यूहबाट फर्किएका शरद छेत्री

राजनीतिले देख्ने सपना साहित्यले पनि देख्छ । राजनीतिले देखेको सपना वैध, साहित्यले देखेको सपना अवैध हुन्छ र ? अगमसिंह गिरीहरूले खनेको जातीयताबोधी साहित्य लेखनको घडेरीमा उभिएर नै त राजनीतिले पनि हिँड्ने मेसो पाएको हो ।

पछिल्लो समय छुदेन काविमोको ‘फातसुङ’, लेखनाथ छेत्रीको ‘फुलाङ्गे’ ले ८० को दशकलाई वर्तमानसम्म तानेर राजनीतिको भौंप्वाल देखाउने काम गरेका छन् । प्रश्न उठ्छ, त्यसबेलाका लेखकहरूले नै किन त्यसबेलाको समयलाई लेखेनन् त ? यसको उत्तर खोज्न ८० को दशकमा राजनीतिले उत्पन्न गरेको भयको बाक्लो हुस्सेभित्र छिर्नैपर्छ ।

...

म सानो छँदा बाबाले दोहोर्‍याइरहने कविताका पंक्ति आज पनि मलाई कण्ठस्थ छ :

कुनै समयमा

कुनै देशमा

एउटा राजा थियो

राजा अत्याचारी थियो


देश सानो

तर, सुन्दर थियो

देशमा थियो

मूर्खहरूको मनमानी

राजा पनि थियो मूर्ख र घमण्डी

तसर्थ आफू

नहुनाले अग्लो उँचाइको

देशबाट निकालिदिन्थ्यो

राजाभन्दा सुन्दर भए

देशनिकालाको सट्टा

गुमाउनुपर्थ्यो प्रजाले

आफ्नो प्राण प्यारो...।

भारतले स्वतन्त्रता पाएको कैयौं वर्ष बितेपछि पनि दार्जिलिङको मानचित्रमा विशेष उन्नति देखापरेको छैन । भारतमा गोर्खालाई जुन चिनारीको संकट थियो, त्यो यथावत् छ । बारम्बार सत्ताको प्रपञ्चमा दबिएको छ दार्जिलिङ । दबाइएका छन् दार्जिलिङका प्रत्येक धरोहर । दबिएको छ दार्जिलिङको साहित्य ।

बाबाले कविताबाट हामीलाई त्यही कुरा भनेका होलान् । मलाई लाग्छ, बाबाको कवि मनको आरनमा पिटिएर निस्किएको कविता थियो त्यो । किनभने उनी आन्दोलनले किनारमा ठेलिएका कवि थिए । आन्दोलनले डामेका मानिस थिए । त्यसैले सपनाको गर्भपतनलाई उनले अक्षरमा उनेका थिए ।

क्रान्ति र अवसाद

क्रान्तिले जीवनलाई विशृंखल अवधितर्फ लैजान्छ । क्रान्तिका आयाम गन्न सकिन्न । यसले दिने पीडा अनि भोगाइचाहिँ व्यक्तिको कल्पनाभन्दा पनि गौण हुन्छ ।

अस्तित्ववादको माध्यमबाट मानवीय स्वतन्त्रतामाथि लगाइएको अंकुशविरुद्ध साहित्य सृजना हुन थाल्यो । त्यतिबेलै सार्त्रले आफ्ना कृतिद्वारा सामाजिक अनि राजनीतिक संगठन या संस्थालाई आत्मबोधको शत्रु करार गरेका थिए ।

सुकरातले समाजलाई विचारभावी चिन्तनधारसित जोड्ने प्रयास गर्दा उनको ज्यान गयो । उनी रुढीग्रस्त राजनीतिको मारमा परे । सुकरातका शिष्य प्लेटोले उनकै विचारलाई आफ्ना रचनाहरूमा बल्झाए । सुकरातको राजनीतिक अवसानपछि प्लेटोले ‘थियोटिस’, ‘गर्गीयस’ अनि ‘कायडो’ जस्ता कृति लेखे ।

सेन्ट पिटर्सवर्गमा छँदा गोर्कीले पूर्णतः मार्क्सवाद स्विकारेका थिए । तर, आपसी मतभेदमा उनको सोसल डेमोक्रेटिक पार्टी विभाजित भयो । गोर्कीले एकातिरबाट लेनिनको सिद्धान्त र अर्कोतिरबाट बोल्सेभिकका विचारलाई भेटे । गोर्कीले लेनिनको तानाशाहीमाथि कविता र निबन्धसमेत लेखे । त्यसको प्रतिक्रियामा गोर्कीले दुःख पनि पाए । यस अर्थमा राजनीतिले साहित्यमा व्यापक उत्खननको क्रिया गर्दै आएको विषयलाई बुझ्न सकिन्छ ।

कार्ल मार्क्सको संसारलाई हेर्ने स्वतन्त्र दृष्टि थियो । मार्क्सले राजनीतिक, आर्थिक र दर्शनको क्षेत्रमा ल्याएको क्रान्तिको प्रभाव नै थियो, जसको फलस्वरूप साहित्यमा बदलाव आएको थियो ।

त्यस्तै, स्वच्छन्दतावादी आन्दोलनहरूले युरोपबाट प्राचीन रुढीवादी अन्धविश्वासलाई हटाए । नयाँ सिद्धान्तमा हुर्किंदै गरेको समाजलाई नौलो साहित्य लेख्न उस्काए ।

सार्त्र भन्छन्, ‘युद्धले विनाश, विनाशले मृत्यु र मृत्युले परिवर्तन ल्याउँछ ।’ तर, मृत्यु जन्मको समान अर्को तथ्य मात्रै हो । मृत्यु कहिले पनि मानव स्वतन्त्रताको माध्यम बन्न सक्तैन ।

स्वतन्त्रता हाम्रो अधिकार हो । तर, मानिसको अस्तित्व बारम्बार किन कैयौं सत्ताधारी चक्रव्यूहमा अल्झेर बाउन्ने बन्न पुग्छ ?

क्रान्ति जड हुन्छ, त्यसले उब्जाएको साहित्य ‘चेतना’ हो । तर, पर–स्वतन्त्रतालाई कहिलेसम्म दबाएर राख्न सकिन्छ ? एक दिन त त्यसले विद्रोहको स्वर लिएर उग्र रूपमा समाजमा झांगिनैपर्छ ।

...

दुर्भाग्य के भयो भने दार्जिलिङमा भएको सन् १९८६ को आन्दोलन सत्ताका निम्ति जनतालाई आत्मदाह गराउने योजित राजनीति मात्रै बन्यो । तानाशाहीको भग्नावशेषमुन्तिर कैयौं साहित्यिक आवाज त्यसै दबेर हराए । तीमध्ये मेरो बाबाको पनि एक आवाज थियो ।

हरेक आन्दोलनले साहित्यलाई चेतना दिन्छ, तर दार्जिलिङमा त्यही चेतनालाई मारियो । ८० को दशक साहित्यका निम्ति ‘डार्क–एज’ बन्यो । आन्दोलनको अन्तरविरोध, त्यसका असर, उपलब्धि साहित्यमा कहीँ–कतै देखिएनन् । तानाशाहको डरले गुजुल्टियो ८० को दशकको साहित्य ।

बाबाको कालको त्यो छाया मेरो पुस्तासम्मै जिउँदो छ । एमएम कलबुर्गी, नरेन्द्र दाभोलकर, गौरी लंकेश, शिवानी भटनागर, इरफान हुसैन, हेमन्त यादव, शान्तनु भौमिक, नवीन निश्चल, इजरायल मुसा, राकेश सिंह अनि कैयौं ‘चेतना’ लाई मौन गराइएको छ ।

क्रान्ति हाम्रो युगको अनुहार हो । तर, यो अनुहार बिमार छ । यही बिमार अनुहार नै आजको नायक पनि हो । तर, जब सत्ताधारी पुरुषलाई सत्ता गुमाउने डरले सताउँछ, त्यसबेला समाजमा क्रान्तिले आतंकको अनुहार बोक्छ । अनि यसको निरन्तर प्रपञ्चमा घायल बन्न पुग्छन् कैयौं जिन्दगी ।

दार्जिलिङको आन्दोलन पनि यस्तै सत्ताधारी पुरुषको सत्ता पाउने मृगतृष्णा मात्रै थियो । यसमा सामाजिक तत्त्व ओझेल बन्यो । यो क्रान्ति नकारात्मक प्रतिफलको ब्लाकहोल बन्दै प्रत्येक नेपाली मनमा अहिले पनि पिरोलिरहने अतीत बनेको छ ।

पुतली निरन्तर प्रकृतिको रंगीबिरंगी ग्राफिक डिजाइनको प्रदर्शनी गर्दै उड्छ । हात काटिएका बाबालाई बिस्तारै कलम समाउन कर लाग्यो । उनको लेखन्ते कलमले, मृत्युपछि मात्रै विराम पायो ।

आन्दोलन र बाबा

भीडमा आवेग हुन्छ, तर सोच्ने बुद्धिचाहिँ हुँदैन । यस्तै भीडले बारम्बार आरोपहरूको कठघरामा जबरजस्ती बाबालाई उभ्याइदियो । त्यसदिन घरको बरन्डामा एउटा भीड हातमा धारिलो हतियार नचाउँदै आक्रोश प्रदर्शन गरिरहेको थियो । सुनेको थिएँ, क्रोधित भीडलाई कठपुतलीको तारले नियन्त्रित गर्छ । हुन सक्छ, यस्तै तारहरूमा अल्झिएको थियो बाबाको भाग्यरेखा, जो भानु पुरस्कारको गरिमामा जोडसित अन्तरतहलाई नै घचघच्याउने गरी चर्किएको थियो । त्यसदिन बाबाको अस्तित्व भीडको खतरनाक हातमा सीमित बनेको थियो । तत्कालै ढुंगा प्रहार गर्दै भीडले घरको दैलोसमेत भत्कायो अनि घरभित्रै तीव्र तमासामा आतंक मच्चाउन सुरु गर्‍यो ।

आन्दोलन चलिरहेका बेला बंगाल सरकारले भानु पुरस्कार घोषणा गर्‍यो । त्यसपल्ट पुरस्कारका हकदार थिए– शरद छेत्री अर्थात् मेरा बाबा । आन्दोलनको दुश्मन त्यही भानु पुरस्कार बन्यो । हिजोसम्म नेपाली साहित्यलाई उचाइमा पुर्‍याउने शरद छेत्रीलाई रातारात जातिको दुश्मन बनाइयो । मानौं, पुरस्कार थाप्नु महान् कलंक हो ।

‘राज्य सरकारले दिएको पुरस्कार थाप्ने जातिविरोधी हुन्,’ भीडले भन्यो । हिजोसम्म छेउमा रहेका लेखक साथीले पनि त्यही भने । राजनीतिले त भन्यो भन्यो, समाजले पनि त्यही भन्यो । तर, जसले त्यसो भन्यो, उसैले राज्य सरकारसित छुट्टै राज्य गोर्खाल्यान्डको आन्दोलनको मोलतोल गर्‍यो र थाप्यो दार्जिलिङ गोर्खा हिल काउन्सिल । शरद छेत्रीलाई जसले जातिविरोधी भन्यो, उसैले आन्दोलन बेच्यो, जनताको सपना बेच्यो र थाप्यो दार्जिलिङको सत्ता ।

‘राज्य सरकारले दिएको चौकी थाप्ने जातिविरोधी,’ आन्दोलन नाइके सुवास घिसिङलाई यसै भन्नुपर्थ्यो, होइन र ?

त्यतिखेर हाम्रो घरको दैलो फुटाउने भीड मौन थियो । घरका छानामाथि ढुंगामुडा गर्ने भीड मौन थियो । बाबाकै छेउका लेखक साथी मौन थिए । मौन थियो समाज, राजनीति मौन थियो ।

आमा, लेखक लोग्ने र आन्दोलन

आमा भन्नुहुन्छ, ‘जीवनको सबैभन्दा कालो दिन कुनै थियो भने, त्यही दिन थियो ।’ भनिन्छ नि– डरबिना साहस पलाउँदैन । आमालाई यस्तै साहस अचानक आयो रे । ‘सबै बाबातिर झम्टिरहेका थिए, म बीचमा उभिएँ,’ आमा सम्झनुहुन्छ, ‘मैले शरदलाई प्रेम गरेकी थिएँ । मैले भीडबाट एउटै पनि चोट शरदलाई लाग्न दिइनँ ।’

आमालाई लाग्छ, मेरो बाबा इतिहासकै सोझा पात्र हुन् । उनी जुध्न सक्दैनन् । लड्न सक्दैनन् । उनको हतियार जे थियो, साहित्य नै थियो । चारैतिरबाट आक्रोशपूर्ण आवाज थियो– ‘पुरस्कार फर्काइहाल् ! पुरस्कार झट्टै फर्काइहाल् !! फर्काइहाल् !!!’

‘तिम्रो बाबा त्यतिखेर महाभारतका अभागीपात्र कर्णसमान देखिन्थे,’ भन्नुहुन्छ आमा, ‘बाबाको किताब छ नि चक्रव्यूह– हो त्यसमा उनीहरूले आगो झोसे । निमेषभरमै चक्रव्यूह जलेर खरानी बन्यो ।’

बाबाको किताब जल्यो । वरिपरि गालीगलौज उस्तै छ । अचानक भीडले बाबालाई धकेल्दै, तान्दै समाजघरतिर लग्यो । महाभारतका कमजोर पात्र अभिमन्यु चक्रव्यूहको व्यूहरचनामा अलमल्ल परेको स्थिति र बाबाको त्यसबेलाको स्थिति एउटै बन्यो । आमा रुँदैरुँदै भीडको पछिपछि कुदिन् । आमालाई लोग्नेको माया त सधैँ लागिरहन्थ्यो रे, तर त्यो दिन लेखक लोग्नेको असाध्यै माया लाग्यो रे !

‘लाग्यो, म भीडबाट बाबालाई चराले अण्डा जोगाएजस्तो जोगाएर ल्याउँछु,’ भन्नुहुन्छ आमा, ‘अनि मैले ल्याएँ पनि ।’

...

विवेक दाइ ८ वर्षका अबोध बालक थिए । भीडको पछाडि दौडिने अनुमति उनको कलिलो उमेरलाई थिएन । त्यसैले, कुनै हितैषीले दादालाई घरको सुरक्षित कोठामा बन्द गरिदिए । दाइको कलिलो मस्तिष्कले युद्ध, घातप्रतिघात र मृत्युलाई बुझेको थिएन । उनको निम्ति त्यो जीवनको कालो दिन थियो ।

वारेन जेवोन भन्छन्, ‘म त्यसबेला सुतेको हुन्छु, जब म मृत्युको अँगालोमा हुन्छु ।’ थाहा छ, अर्थहीन जीवन जिउनुभन्दा सार्थक मृत्यु राम्रो हो । तर, यहाँ त मृत्युदण्ड करार गर्ने समुदाय नै अर्थहीन बुझिन्थ्यो । मृत्यु भनेको कहिल्यै नफर्किने सत्य हो । सायद दादालाई अहिलेसम्म थाहा लागिसकेको हुनुपर्छ मृत्यु शब्दको अर्थ । ‘कतिखेर हो निकैपछि मानिसहरू गुनगुन गरेको सुनेँ,’ आमाले आँखाको चेपबाट चियाउनुभयो, ‘बाबा जिउँदै हुनुहुन्थ्यो । तर, रगतले लतपत । बाबाको लेख्ने हात नै काटिएको थियो ।’

हत्केलामा जाती नहुने घाउ

बाबाले भानु पुरस्कार फिर्ता दिए । समय कसैनिमित्त रोकिँदैन रहेछ । समयान्तरमा पहाडको आन्दोलन पनि शान्त बन्यो । जीवनले संघर्षको काँचुली फेरेर शान्तिको पखेटामा बल्लतल्ल उड्न सिक्न थाल्यो । १९८६ मा ‘चक्रव्यूह’ ले पनि साहित्य अकादेमी पुरस्कार प्राप्त गर्‍यो । हुन त जीवन ग्राफ–पृष्ठमा अंकित उतारचढावको रेखाजस्तो जटिल कुरो हो । जीवन संघर्ष हो । तर, त्यस संघर्षमा बाबा सम्मिलित साहित्यिक संस्था ‘युगपरिबोध’ ले उनको साथ छोड्यो । कैयौं लेखक मित्रका निम्ति लेखक शरद छेत्रीको उपस्थिति अस्वीकार्य विषय थियो । त्यसैले ‘युगपरिबोध’ बाट राजीनामा दिने लेखकका ताँती दिनदिनै बढ्दै गयो । अन्त्यमा ‘युगपरिबोध’ ले बाबालाई चिठीमार्फत संस्था छोड्न आग्रहसमेत गर्‍यो । यस्तो अवस्थामा लेखकको कलमको मृत्यु हुनु स्वाभाविक थियो । बाबाले पनि साहित्यमा दुई वर्षको बिदा लिए ।

बाबा भन्थे, ‘मेरो हातमा कहिल्यै जाती नहुने चोट लागेको छ ।’ तर, काँचुली फेरेको पुतलीको पखेटालाई, काँचुलीको भग्नावशेषले कहिलेसम्म उड्नबाट वञ्चित राख्न सक्छ ? पुतली निरन्तर प्रकृतिको रंगीबिरंगी ग्राफिक डिजाइनको प्रदर्शनी गर्दै उड्छ नै । बाबालाई पनि कलम समाउन करै लाग्यो । त्यसपछि उनको लेखन्ते कलमले, उनको मृत्युपछि मात्रै विराम पायो । साहित्य र संघर्ष दुई मिल्दो मितेरी मित्रको नाउँ रहेछ । जहाँ संघर्ष छ, त्यहाँ चोट छ, जहाँ चोट छ, त्यसको कुनाकुनाबाट उम्दा साहित्य जन्मेको हुँदोरहेछ ।

लेखक साहित्यकार शरद छेत्रीकी छोरी हुन् ।

प्रकाशित : श्रावण २३, २०७८ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?