कोसेली

आँसुमा नुन, समुद्रमा नुन

नुनमा कुनै अनौठो पवित्रता हुनैपर्छ, किनभने यो हाम्रो आँसुमा पनि छ र छ समुद्रमा पनि । – खलिल जिब्रान
घनश्याम खड्का

मान्छेको रगत, पसिना, आँसु, मासु, पिसाब र वीर्य इत्यादि सबैमा पाइने एउटै साझा तत्त्व के हो ? यो दोस्रो वाक्य पढिसक्नुअघि नै तपाईंको मनमा उत्तर फिरिसकेको हुनुपर्छ– नुन । हो, नुन नै त्यस्तो पदार्थ हो, जो जिब्रोबाट भित्र पसेपछि मान्छेको सम्पूर्ण शरीरमा फैलिन्छ, आफ्नो स्वादलाई दुरुस्तै राखेर !
अरू स्वाद पेटमा पुगेपछि बिलाउँछन्, नुनचाहिँ जीउभरि नै फैलिएर रजगज गर्छ । अरू प्राणी (मान्छेले पालेको बाहेक) नुन नखाने हुनाले तिनको जीउमा यसको बास हुने कुरै भएन । त्यसैले हुँदो हो, बाघले एक पटक मान्छेको रगत चाखेपछि अरू जनावर सिकार गर्ने रहरै गर्दैन, उसलाई मानिसकै रगत चाहिन्छ, किनभने यो नुनिलो हुनाले उधुमै स्वादिलो छ ।

आँसुमा नुन, समुद्रमा नुन

मान्छेको जिब्रोमा नुनको जादु पहिलो पटक कहिले चल्यो होला ? त्यो कुन भाग्यमानी जिब्रो थियो, जसले करोडौं वर्षदेखि जमेर बसेको खल्लोपनालाई छिचोल्दै सेडियम क्लोराइड (नुनको रासायनिक नाम) लाई पहिलो पटक चाख्ने मौका पायो ? यस सम्बन्धमा ज्यादा तथ्य उजागर गर्ने इतिहास उत्खनन हुनै बाँकी छ । हालसम्म प्राप्त जानकारीले के संकेत गर्छ भने नवपाषाण युगका मानिसले पहिलो पटक नुन खान थालेका थिए । रोमानियाको नुन खानीमा सन् १९८४ देखि २००४ सम्ममा भएको उत्खननले संकेत गरेअनुसार, ८ हजार वर्षअघि मानव जिब्रोले नुनको स्वाद पाएको थियो (वेलर वलिभर, द अर्लियस्ट साल्ट प्रोडक्सन इन द वर्ल्ड, २००५) । त्यसपछि खानपानमा मानौं एक चमत्कार आयो । सहज अनुमान गर्न सकिन्छ, नुनले जीउमा उत्साह ल्यायो होला, पेटमा बढी भोक जगायो होला र व्यञ्जनको प्रकार बढायो होला ।

दुई पृथक् तत्त्व सोडियम र क्लोराइडको सम्मिलन हुँदा जे बन्छ, त्यस यौगिकलाई नुन भनिन्छ । सोडियम एक खनिज हो, जो सामान्यतया नुनबाटै शरीरले लिन्छ । हुन त केही वनस्पति, फलफूल र सागपातमा पनि यो थोरै मात्रामा पाइन्छ । तर, यति मात्रैले शरीरलाई चाहिने जति सोडियम नदिने हुँदा ज्यान दुरुस्त राख्न नुन नखाई सुखै छैन । लाखौं वर्षको उद्विकासको क्रममा मानव शरीर यस्तो विन्दुमा पुगेको छ, जसलाई बाँच्न अब सोडियम नभई हुन्न । त्यसैले नुन नखाएर मान्छे जति पनि बाँच्न सक्ला, तर नुनमा पाइने सोडियम नभई कत्ति पनि बाँच्न सक्दैन (पिएर्रे लास्जलो, साल्टः अ ग्रेन अफ लाइफ, २००२) । नुन नै सोडियमको सहज आपूर्तिकर्ता भएकाले यसको प्रयोग आठ हजार वर्षदेखि सबै देश, काल र संस्कृतिका मानिसले निरन्तर रूपले गर्दै आइरहेका छन् ।

मानव शरीर स–साना कोषहरूको बृहद् पुञ्ज हो । कोषहरू जीवन्त भएनन् र ती एउटै संगीतपूर्ण लयमा चलेनन् भने शरीर गल्छ । सोडियमको मूल काममध्ये एउटा हो– यी कोषलाई जीवन्त राख्नु । विज्ञानको नियम नै हो, कुनै पनि काम हुनका लागि शक्ति चाहिन्छ । विज्ञानको भाषामा ‘काम’ भन्नाले अर्थशास्त्रको जस्तो आम्दानी हुने क्रिया होइन, बरु वस्तुमा हुने चाल हो । निर्जीवमा गति ल्याउन कुनै बाह्य तत्त्वको शक्ति आवश्यक हुन्छ । यही शक्ति नै ऊर्जा हो । सजीव आफैं चाल अवस्थामा आउँछ, तर यसका लागि पनि चाहिने ऊर्जा नै हो, जो खानेकुराहरूबाट उपलब्ध हुन्छ ।

मानव शरीरले भोजनबाट निकालेको ऊर्जा शरीरका हरेक कोषसम्म पुर्‍याउने काम गर्छ रगतले । प्रकृतिले जीउभरि जालोसरि विच्छ्याएको नसामार्फत रगत कुदिरहेको हुन्छ । यसलाई एक रफ्तारमा कुदाइराख्न एउटा निश्चित चाप शरीरमा उत्पादन भइरहनुपर्छ । यस्तो चाप पैदा गर्ने काम पनि नुनले नै गर्छ ।

विश्व स्वास्थ्य संगठनले दिनमा बढीमा ५ ग्राम नुन शरीरका लागि आवश्यक भनेर मात्रा तोकिदिएको छ । किनभने, नुन साह्रै कम भयो भने रगतमा कम चाप हुन्छ, जसलाई हामी अल्प रक्तचाप भनेर बुझ्छौं । बढी हुन गयो भने जीउ फेरि उच्च रक्तचापको सिकार हुन पुग्छ । यसको मात्रा ठिक्क मिलाएर खानुमा नै स्वास्थ्य सन्तुलनको कुञ्जी छ ।

नुनको अर्को महत्त्वपूर्ण काम हो– मांसपेशीलाई खुम्चिने र तन्किने प्रक्रियामा सघाउनु । लामो समय अलिनो खाँदा जीउ ओइलाएजस्तो अनुभव गर्नुभएकै होला ।

स्नायु ग्रन्थिमा सञ्चार ल्याउनु नुनको अर्को मुख्य काम हो । त्यसैले, नुनको मात्रा कम भएका बेला जीउ मात्रै गल्दैन, मस्तिष्क नै लाटो भएजस्तो हुन्छ । यसले स्वादसँग मात्रै नभएर नुनको सम्बन्ध मानिसको स्वास्थ्यमै भएको देखाउँछ । कतिसम्म भने शरीरमा अत्यावश्यक सोडियमको सबभन्दा भरपर्दो स्रोत नुन खानुअघि र खाएपछिको मानिसको यौन चर्या, सन्तानोत्पादन र आयुमा ठूलो अन्तर आएको अनुसन्धानहरूले देखाएका छन् । नुनको प्रयोग नगर्ने फिरन्ते युगका मानिसको जनसंख्या, सन्तानोत्पादनको दर आजको जस्तो सघन र तिनको आयु आजको जस्तो लामो थिएन । यो नहुनुमा तिनको शरीरमा पर्याप्त मात्रामा सोडियम नहुनु नै हो । किनभने सोडियमको मात्रा कम भएका मानिसमा यौनेच्छा कम हुन्छ, बाँझोपन बढ्छ र बालबालिकाको स्वस्थ विकासमा बाधा पर्छ (बर्नार्ड एम मोइनर र टिलमन बी ड्रुक, अफ्रोडाइटी, सेक्स एन्ड साल्ट–फ्रम बटरफ्लाई टु म्यान, २००८) ।

युनानी सभ्यतामा प्रेम र सौन्दर्यकी देवी हुन्– अफ्रेडाइटी, जसको जन्म नुनसँग जोडिन आइपुग्छ । होमरको समकालीन युनानी कवि हेसियडको कविताअनुसार, आकाशको देवता युरानस एक पटक रात परेपछि पृथ्वीकी देवी गैयासँग रतिराग गर्न थाल्यो । त्यसैबेला उनीहरूको छोरा क्रोनसले पिताको लिंग काटेर समुद्रमा फालिदियो । समुद्रको सेतो फिँजमा युरानसको काटिएको लिंगबाट एक परम सुन्दरीको जन्म भयो । तिनै सुन्दरी देवीको नाम हो– अफ्रेडाइटी, जसको सौन्दर्य र मादकताको स्थान युनानका कुनै पनि देवीले लिन सकेका छैनन् ।

युनानीहरू नुनमा यौन र प्रजनन शक्ति दुवै छ भन्ने मान्थे । यसको प्रमाण काटिएको लिंगबाट पनि सेतो फिँज (नुन) समुद्रमा परेपछि परम सुन्दरी अफ्रेडाइटीको उत्पत्ति हुनु नै हो । रमाइलो के भने पछिल्लो वैज्ञानिक खोजले युनानी मान्यतालाई सत्य साबित गरिदिएको छ (बर्नार्ड... अफ्रोडाइटी, सेक्स एन्ड साल्ट...) । यसको सानो प्रयोग तपाईं आफ्नै जीवनमा पनि गर्न सक्नुहुन्छ । केही दिन नुन नखानुस्, तपाईंमा सहवासको इच्छा हुँदैन । इच्छा भइहालेछ भने पनि यौनाङ्गको क्षमतामा उल्लेख्य ह्रास आउँछ । चित्त शुद्ध गर्न (वा काम रागको पकडबाट छुटकारा पाउन) ब्रतका बेला नुन नखाने चलन बसेको कारण सायद यही हो ।

यस्तो प्रभावी भएकाले होला, पृथ्वीभरका मानिसले दिनहुँ खाने सयौं परिकारमा नुन मिलाइएको हुन्छ । अचार, तरकारीमा त यो केही अपवादबाहेक अनिवार्य रूपले हालिन्छ, आलुचिप्सदेखि चाउचाउसम्मका तयारी खाद्य पदार्थमा पनि स्वादका लागि नुनको प्रयोग हुन्छ । अमिलो तितौरामा पनि यो चिनीसँग ढेस्सिएर बस्छ, खुर्सानीले सिलौटामा पाउने प्रत्येक घाउमा यो नुनचुक छर्न हाजिर हुन्छ, दही र भोगटेको सम्मिलनमा पनि यो सुटुक्क बस्न आइपुग्छ । सबै स्वादहरूमा, सबै परिकारहरूमा र सबै मौसममा नुन समान ढंगले प्रयोगमा आउने हुँदा यसलाई बाह्रमासे स्वाद भने पनि हुन्छ ।

नुनिलो, अमिलो, गुलियो, पिरो, टर्रो र तीतो गरी संसारमा ६ स्वाद छन् । हरेक दिन ज्यादा खपत हुने स्वादचाहिँ निसन्देह नुनिलो नै हो । धनी–गरिब, शिक्षित–अशिक्षित सबैले दिनहुँ प्रयोग गर्ने हुनाले नै मानिसमा भएको आयोडिनको कमी पूरा गर्न नुनकै सहरा लिनुपर्‍यो पोषणविदहरूले । सन् ८० को दशकसम्ममा संसारभर दुई अर्ब मानिस आयोडिनको कमीका कारण अनेक शारीरिक कष्टको सिकार भइरहेका थिए । राष्ट्र संघले सन् १९९० मा एउटा घोषणा गर्‍यो, नुनमा आयोडिन मिसाएर मानव जातिलाई आयोडिनको कमीका कारण आइलाग्ने दुःखबाट मुक्त पार्ने । समग्र मानिसलाई आयोडिन खुवाउने यो सबभन्दा सस्तो र सजिलो तरिका थियो । नभन्दै दस वर्षको अन्तरालमा विश्वभर आयोडिनको कमीबाट हुने कष्टकर परिणामहरू हराए (म्याक नेइल, डोनाल्ड जुनिएर, इन राइजिङ द वर्ल्डस सआइक्यु, द सेक्रेट्स इन द साल्ट, २००६०) । नेपालमै पनि पछिल्ला दशकहरूमा गलगाणमुक्त जनसंख्या हुनुमा आयोडिन लिएर आउने यही नुनकै कमाल छ । धेरैको कानमा अचेल पनि साल्ट ट्रेडिङ कर्पोरेसनको आयो नुनको जिंगलमा बज्ने सांगीतिक धुन गुन्जिन पुग्छ विविध सन्दर्भमा ।

अतिले खती गर्छ भन्छन् । नुनका सन्दर्भमा पनि यो लागू हुन्छ । यति धेरै गुणकारी हुँदाहुँदै पनि ज्यादा प्रयोगका कारण शरीरमा चाहिनेभन्दा बढ्ता सोडियम थुप्रिन पुग्दा करोडौं मानिसमा उच्च रक्तचाप, मुटुको रोग र पत्थरीको समस्या देखिन पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार, बर्सेनि २५ लाख मानिसले बढ्ता नुन खानाले हुन गएको रक्तचाप र मुटुको रोगका कारण जीवन गुमाइरहेका छन् । अर्बौं रुपैयाँ उच्च रक्तचाप तथा मुटुको उपचारमा खर्च भइरहेको छ । नुनको मात्रा घटाउन सके धेरैको ज्यान र अथाह अर्थ जोगिन सक्ने भएकाले सन् २०२५ सम्म प्रतिव्यक्ति नुनको खपत ३० प्रतिशतले घटाउन सन् २०११ मै राष्ट्र संघका सदस्य राष्ट्रहरूले साझा प्रतिबद्धता पनि गरेका थिए । विश्व स्वास्थ्य संगठनले प्रत्येक वर्षजस्तो नुन कम खाने सुझाव दिन अनेक योजना विश्वभर चलाउँदै आएको छ । तर पनि, मानव जिब्रोले नुनको स्वाद घटाउन मानिरहेको छैन । टाढा किन जानु, नेपालकै उदाहरण हेरौं न । गत वर्ष देशी–विदेशी ७ चिकित्सक तथा स्वास्थ्य क्षेत्रका अनुसन्धाताले तयार पारेको एक खोजमूलक लेख युरोपको प्रसिद्ध जर्नल ‘रिसर्चगेट’ ले प्रकाशित गर्‍यो, जसमा नेपालीहरूले दैनिक कति नुन खान्छन् भन्नेबारे रमाइलो विवरण छ ।

‘हामी नेपाली नुन धेर खाँदो रहेछौं’ जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनका लेखक/अनुसन्धातामध्येका एक डा. भगवान कोइराला भन्छन्, ‘यसले स्वतः थाहा लाग्छ, नुन धेरै खानेहरू उच्च रक्तचाप र मुटु रोगको सिकार छन् ।’

अध्ययनले नेपालीहरू औसतमा विश्व स्वास्थ्य संगठनले तोकेको मात्राभन्दा दोब्बर नुन दिनमै खाने गर्छन् भन्ने देखाएको छ ।

स्वास्थ्यमा मात्रै नभएर नुनको प्रभाव मानव समाज, इतिहास र सभ्यतामै निकै चर्को गरी पर्न गएको छ । नुनकै कारण युरोपमा ठूलठूला युद्ध भएको, रोमन साम्राज्यले कैंयौं देश कब्जा गर्न पुगेको र अमेरिकी स्वतन्त्रताको संग्राम लडिएका प्रमाण इतिहासमा सुरक्षित छन् ।

स्वाद र स्वास्थ्यमा यस्तो चर्को असर पार्ने नुनसँग मान्छेको हजारौं वर्षको सम्बन्ध छ । मानव जीवन र यसका सभ्यतासँग नुन कतिसम्म जोडिएको छ भने यो नहुँदा इतिहासका ठूला घटनाक्रम आधी–अधुरै रहन पुग्छन् ।

अचेल मासु फ्रिजमा हालेर धेरै दिनसम्म राख्न सकिन्छ । फ्रिज नभएका दिनहरूमा मानिसहरू नुनको सहाराले मासुलाई लामो समयसम्म राख्ने गर्थे । नुनमा पाइने क्लोराइडले कुनै पनि पदार्थमा भएको पानी सुकाउने गर्छ । माछा वा मासुको डल्लोलाई नुनै नुनले छोप्दा मासुमा भएको पानी नुनले खाइदिन्छ । त्यसपछि मासु तुरुन्त सुक्न पुग्छ । सुकेको मासु नसड्ने हुँदा यसको आयु स्वतः बढ्ने नै भयो । यसरी सभ्यताको सुरुआततिर मानिसलाई खानेकुरा जोगाएर राख्न सघाउने एउटै पदार्थ थियो नुन, जसले हाम्रा पुर्खालाई भोकमरीबाट जोगाउन मद्दत पुर्‍यायो । दुई हजार वर्षअगाडि माछालाई नसडाईकन राख्न नुनको प्रयोग हुन थालेको देखिन्छ ।

पाँच सय वर्षअघिदेखि चिनियाँहरूले नुन हालेर ढुस्याएको भटमासको लेदो बनाउन नुनको सहारा लिए, जसका कारण यो निकै लामो समयसम्म खान सकिने गरी सुरक्षित रहन गयो । अचेल सोया सस भनेर विश्वभर फड्कारिने जिब्रोहरूमा पाँच सय वर्षदेखि चिनियाँले मिसाउन सुरु गरेको त्यही नुनिलो स्वाद छ ।

मानिसको जिब्रोलाई स्वादको जादु चखाएको सुरुआती शताब्दीहरूमा नुन अहिलेजस्तो सजिलै उपलब्ध थिएन । खपत बढी र आपूर्ति कम हुने भएपछि स्वादले मोहनी लगाएको नुनको ज्यादै ठूलो माग हुनु स्वाभाविक थियो । त्यसैले यो ज्यादै मूल्यवान हुन गयो । युरोपतिर त यसलाई सेतो सुनसम्म पनि भन्ने गरिन्थ्यो । अनुसन्धाताहरूको निचोड के छ भने अचेल तेल खानीको ठूलो मूल्य भएजस्तै तिनताक नुन खानीको महत्त्व थियो । बुल्गेरियामा पर्ने युरोपको सबभन्दा प्राचीन सहर सोल्निस्टामा भएको अर्को उत्खननले यही तथ्य पुष्टि गर्छ । वैज्ञानिकहरूका अनुसार, ७ हजार ५ सय वर्षअघि सोल्निस्टामा नुन उत्पादन कारखाना थियो र त्यस सहरका मानिस बाल्कन क्षेत्रमा नुन बेचेर खुबै समृद्ध बनेका थिए (थोमस एच मौघ, बुल्गेरियन्स फाइन्ड वल्डेस्ट युरोपियन टाउन, अ साल्ट प्रडक्सन सेन्टर, लस एन्जल्स टाइम्स–२०१२) ।

चट्टानबाट कसले, कहिले र कहाँ पहिले नुन निकाल्यो भन्ने तथ्य अझै निर्विवाद रूपले स्थापित हुन सकेको छैन । तर, समुद्रको पानी सुकाएर नुन निकाल्ने काम भने चिनियाँहरूले गरेका थिए भन्ने लिखित इतिहास छ । तीन हजार वर्षअघि समुद्रको पानी माटाको भाँडामा राखेर उमाल्ने काम चिनियाँहरूले गरे । उनीहरू पानी तबसम्म उमाल्थे, जबसम्म त्यो सबै सुकेर भाँडामा नुन मात्रै बाँकी हुँदैनथ्यो । केही वर्षपछि चीनमा फलामे ताप्केमा पानी उमाली सुकाएर नुन बनाउने क्रम सुरु भयो । त्यसको हजार वर्षपछि रोमन साम्राज्यले समुद्रको पानीबाट नुन बनाउने पद्धति युरोपमा लगेको थियो । चीनमा सुरु भएको यही प्रविधि नै आज परिस्कृत रूपमा समुद्रबाट नुन निकाल्न प्रयोग गरिन्छ (मार्क कुर्लान्स्की, साल्ट ः अ वर्ल्ड हिस्ट्री, २००२) ।

संसारका धेरै भागमा एकताका नुनलाई पैसाको रूपमा स्विकारिन्थ्यो र यसैको विनिमियम गरी व्यापार चलेको थियो । इटलीको सलारियामा झैं धेरैतिर नुन मार्गको विकाससमेत भएको थियो चार हजार वर्षअघि ।

खासगरी नुनका दुई मुख्य स्रोत छन्, सोडियम क्लोराइडको चट्टानी खानी र समुद्रको पानी । केही दशकअघिसम्म नेपालमा भोटतिरबाट ल्याइने चट्टानी नुनको प्रयोग ज्यादा थियो । बूढाहरूको स्मृतिमा अहिले पनि यो ढिकेनुन भनेर सम्झनामा थपक्क बसेको छ । अचेल ज्यादातर ढिकेनुन गाउँतिर गाईवस्तुलाई खुवाउन प्रयोग गरिन्छ ।

कुनै समय समुद्र वा सरोवर सुक्यो भने लाखौं वर्षपछि त्यो एक नुनिलो चट्टानका रूपमा देखा पर्न जान्छ । यही चट्टान नै ढिके नुनको स्वरूप हो । ढिकेनुन अक्सर सेतो स्फटिकजस्तो आकारमा पाइन्छ । तर, सोडियम र क्लोराइडको मात्रामा घटबड हुँदा हरियो, नीलो, पहेंलो इत्यादि अनेक रङहरूमा पनि नुन उपलब्ध हुन्छ, जसलाई खानभन्दा बढी सजावटको प्रयोजनमा प्रयोग गरिन्छ ।

नुनको सम्बन्ध शासन र कर्मचारी संयन्त्रसँग पनि उत्तिकै पुरानो छ । रोमन सम्राटले नुन किन्न आफ्ना सिपाहीलाई निश्चित पैसा दिन थाले ज्यालाका रूपमा । ल्याटिनमा ज्यालालाई स्यालरियम भनिन्छ, जो साल्टबाट बनेको हो । अचेल तलबबापत सबैले भन्दै आएको ‘स्यालरी’ यही स्यालरियमबाट बनेको हो । यसको सोझो अर्थ के भने हामीले तलब भनेर बुझ्दै आएको रकमको शीर्षक खासमा नुन हो । घुमन्ते मानवले नुन बोक्नकै लागि ऊँटलाई घरपालुवा बनायो । नुनकै कारण स्पेनविरुद्ध उसका उपनिवेश देशहरू बेल्जियम, लक्जम्बर्ग र नेदरल्यान्डले युद्ध गरे । नुन खानीकै कारण पोल्यान्डले आफ्नो साम्राज्य खडा गर्न सक्यो । नुनको व्यापारिक मार्गकै कारण म्युनिखजस्तो प्रसिद्ध सहरको जन्म भयो । गान्धीले स्वतन्त्रता भारतको संग्राम नुन आन्दोलनबाटै थालेका थिए । (पिएर्रे लास्जलो, साल्ट ः अ ग्रेन अफ लाइफ, २००२) । नेपाली हृदयले गर्दै आएको ‘नुनको सोझो’ ले पनि सायद नुन किन्न पैसा दिने पद्धतिलाई नै संकेत गर्छ । आठ हजार वर्षमा नुन मानिसको रगत, पसिना, आँसु, पिसाब, वीर्य इत्यादि सबैतिर पसेको छ । यसले हाम्रो हृदय जितेको छ । त्यसैले यो धेरै खाँदा हृदयाघात हुने लक्षणहरू देखिन्छ, देखिइरहेको छ ।

खानाबाहेक चिकित्सामा पनि नुनको प्रयोग व्यापक छ । भनिन्छ, जिब्रोमा स्वाद छाड्नु अतिरिक्त १४ हजार काममा नुन संलग्न छ । दाँत दुख्दा मनतातो पानीमा कुल्ला गर्न होस् कि जुकालाई रगत छदाएर मार्न होस्, मानिस नुनकै प्रयोग गर्छन् ।

जसरी संसारका सबै भान्छामा नुन पुगेको छ, त्यसै गरी अभिव्यक्त भएका सबै भाषाहरूमा यसले उखान पनि हालिमागेको छ । झोक्राएको मानिसलाई तुलना गर्नुपर्‍यो भने ‘नुन खाएको कुखुरा’ जस्तो भन्ने चलन सबै नेपाली संस्कृतिमा छ । कुनै कुराको अनुभव नभई त्यसलाई नपत्याउनु भन्नुपर्दा कंगोलीहरू ‘नचाखी नुन नकिन्नु’ भन्छन् । अनावश्यक काम गर्नुको अर्थ छैन भन्नलाई इटालेलीहरू ‘नुन र सल्लाह नमागी नदिनू’ भन्छन् । ‘काँडाको टुप्पामा नुन अड्याउन जति कठिन छ उति नै कठिन छ प्रेममाथि विजय पाउन’ भन्ने अमेरिकी उखानले प्रेमलाई बुझ्ने मनुष्य हृदय दुर्लभ भएको संकेत गर्छ ।

पृथ्वीका अनेक विचारशील मानिसले पनि नुनका सम्बन्धमा घतलाग्दा अभिव्यक्ति दिएका छन् । युनानी दार्शनिक पाइथागोरसले नुनलाई सूर्य र समुद्रको सहोदर सन्तान भनेर अर्थ्याएका छन् । रहस्यदर्शी कवि/लेखक खलिल जिब्रान भन्छन्, ‘नुनमा कुनै अनौठो पवित्रता हुनैपर्छ, किनभने यो हाम्रो आँसुमा पनि छ र छ समुद्रमा पनि ।’ राम्रोसँग नचिनी कसैलाई नपत्याउनू भन्ने उपदेश दिन सिसोरो भन्ने गर्थे, ‘सँगै बसेर धेरै नुन नखाइन्जेल कसैलाई विश्वास नगर्नू ।’

प्रकाशित : श्रावण २३, २०७८ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?