हुमानसिं भुजेलको भैंसी–प्रेम
घटना २०७८ असार–१ गतेको हो
मेलम्चीको बाढीले हेलम्बूको गोर्नागेसँगै
हुमानसिं भुजेलको भैंसी बगायो ।
बाइस किलोमिटर तल
देवदूतजस्तो कुनै युवाले
भैंसीको उद्धार गर्यो ।
संसारै लगेको बाढीले लगेको भैंसी
अचानक भेटियो भन्ने थाहा पाउनासाथ
हुमानसिं हामफाल्दै भैंसी भेट्न पुगे ।
हुमानसिंलाई देख्नासाथ भैंसी बर्बरी रोयो
आफ्नो प्राणप्यारी भैंसीको यस्तो हाल देखेर
हुमानसिंको कण्ठ अवरूद्ध भयो ।
मृत्युको मुखबाट भैंसी थुतेर ल्याउने त्यो देवदूतलाई
हुमानसिंले करूणामयी धन्यवाद दिए
त्यो देवदूतजस्तो युवाले सूर्यजस्तो उज्यालो मुस्कान फर्कायो ।
तब हुमानसिंलाई पछ्याउँदै भैंसी हेलम्बू फर्कियो
हुमानसिं र भैंसी
बाढीले बगाउन बाँकी आफ्ना साविक थातथलोमा बस्न थाले ।
माथि उल्लिखित घटना
कथा भइनसक्दै
गाउँमा एक दिन
हुमानसिं र भैंसीबीच यस्तो संवाद भएको खबर फैलियो :
हुमानसिंले दिएको मकैको खोले चाटचुट पारेर उग्राउँदै
भैंसीले भनी रे–
हुमानसिं !
यहाँ बाढी आउनु अघिल्लै दिन
माथि हिमालबाट हुर्रिंदै एउटा काग
ऊ त्यो चिलाउनेको रुखमा बिसाएको थियो
अत्तालिँदै
उतिबेलै त्यो कागले भनेको थियो–
बाढी आउँदै छ, भाग् भैंसी भाग् !
त्यही साँझ
ऊ त्यो उन्यु, सालिम्मो र वनमारा हल्लाउँदै गएको सर्पले
भनेको थियो– बाढी आउँदै छ, भाग् भैंसी भाग् !
त्यसपछि,
भ्यागुता, छेपारो, किथ्रा, जुरेली, ढुकुर, फिस्टा
सबै–सबैले नारा लाएका थिए– बाढी आउँदै छ ! बाढी आउँदै छ !!
तब मैले
आकाशमा मडारिइरहेको बादललाई सोधेको थिएँ–
के साँच्चै बाढी आउँदै छ... ?
उसले निस्फिक्री भनेको थियो–
हो, पृथ्वीमा मनपरि गर्नेहरुविरूद्ध हामी एकजुट हुँदै छौं
बाढी अवश्य आउनेछ !
हुमानसिं ! त्यसपछि मैले तिमीलाई रातरातभर कत्ति पुकारेँ हुँला ?
के तिमी,
मृत्युबोधअघिको अन्तिम अनुनयको कल्पना गर्न सक्छौ... ?
जब बिहान घाँस दिन आयौ
मैले दाम्ला चुडाउँलाझैं गरी बेलिविस्तार लाएँ
तर, तिमीले मेरो पशु–बाक्के बुझेनौ
बार्दलीबाट आँगनको मगन्तेलाई भिख फ्याँकेझैं
पराल फ्याँकेर गइहाल्यौ ।
त्यही बेला मलाई महसुस भयो–
कि, हामी दुईको प्रेमबीच खास दूरी छ
हो, पशु र मानिसको प्रेमबीच दूरी छ ।
म तिम्रो भाषा बुझ्छु
र त युगौंदेखि,
म तिमीसित छु
तिमी मेरो भाषा बुझ्दैनौ
त्यसैले त तिमी मलाई यसरी अछुतसरह
गोठ, खेत, बारी, बगरमा छाड्छौ ।
जब मलाई त्यो दिन बाढीले बगायो
हजार मृत्युसित जुध्दै, तर म बाँचें
किनभने मेरो पेटमा बच्चा थियो ।
अफसोस !
मैले तिमीलाई
तिम्रो हातमा मेरो जीवित बच्चा थमाउन सकिनँ ।
तर हुमानसिं ! म भैंसी हुँ, मलाई विश्वास गर !
तिम्रो दुःखमोचनका लागि म तिमीलाई
मेरा सारा सन्तानहरुको बलिदान दिन तयार छु ।
किनभने–
म तिमीलाई
पशु–प्रेम गर्छु ।
म मानिसलाई प्रेम गर्ने पशु हुँ
त्यसैले म तिमीसमक्ष
आफैंलाई भोग दिन तयार छु ।
...अहो !
एउटा विस्मयकारी मौनतापछि
चिच्याए हुमानसिं भुजेल–
ए मेरी काली भैंसी... !
म तेरो जीवनभित्र आफ्नो जीवन घिसार्दै
यहाँसम्म आइपुगेको बूढो हुमाने हुँ !
तँ मेरी प्रिया होस्, तर आमा समानकी
यो जुनीमा अब मलाई
तेरो प्रेमसिबाय अरु केही स्वीकार्य छैन ।
अब म मेरो जीवनलाई महायात्रा बनाउन चाहन्छु
तँ त बगिस् मात्रै बाइस किलोमिटर
म अनन्त बग्न चाहन्छु तेरो प्रेमको बाढीमा
त्यसैले त–
जीवनभर सोहोर्न तयार भएको छु तेरो गोबर
सुँघ्दै गन्ध प्रेमले यी औंलाहरुमा ।
प्रकाशित : श्रावण १६, २०७८ ०९:०९