खानी गाउँको सवाइ कहानी- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खानी गाउँको सवाइ कहानी

खानी बन्द भएसँगै फौजको बन्दुक र साहुको भारी बोक्न लाहुरेको लर्को विदेशतिर लाग्यो, त्यही ताँती कालान्तरमा अरब मोडियो । नेपाललाई आत्मनिर्भर बनाउने खानी किन बन्द भए ? परनिर्भर बनाउने ढोका कसरी खुले ? यो आँखीझ्यालबाट जमानाको नेपाली खानी ‘ट्रयाजेडी’ देखिन्छ ।
नुनदेखि सुनसम्म नेपालमै छ । झन्डै सय वर्षपहिले नेपाल आफ्नै धातुजन्य खानी, नुन र पशुपालनले आत्मनिर्भर थियो । आज ? सबैथोकमा परनिर्भरता बढ्दै छ ।
नवीन विभास

घुरिन्भीरको घोङ्रेरूखमा घाम लागेपछि जैपा गाउन थाल्छ । रोल्पाको सुदूर गाउँ हो जैपा । अनि घोङ्रेरूख त्यहाँको घडी । भीरको टाउकोमा घुङ्रिएको रयाजको त्यो बूढो रूखमा घाम लाग्नु नै दिनको दोपहर हुनु हो ।

जैपाले भाका हाल्नुअघि एक वृद्ध पिठ्युँमा घुम बोक्छन् । कोलो र घाँट लिएर भकारामा पुग्छन् । कोले गाईको गलामा कोलो र घाँरे बाख्राको गलामा घाँट झुन्ड्याउँछन् । गाई/बाख्राका गति–संगीतमा तिनै कोलो र घाँट गीत बन्छन् । बीचबीचमा र्‍याप हानेजसरी गाई र बाख्राले गीतमा गला गाँस्छन् । पिठ्युँमा घुमवाल बूढो पाइलालाई गाई/बाख्राले पछ्याउँछन् भने तिनलाई एउटा फुच्चेले । यसरी प्रत्येक भकाराबाट वस्तुभाउ बाहिरिँदा रोल्पाको बरै, उत्रा, फाँक, ख्यालीजस्ता रैथाने गीत गुन्जन्छ ।

वस्तुभाउ बाठाकोप्चेको पोखरीमा पुग्छन् । पानी पिउँछन् । लगत्तै ओरालिएर खान्ढारा पुग्छन् । चोत्रा, घङ्ङारु, धाइराका पात र कलिला डाँठ खान बाख्राको हानथाप चल्छ । कोरोनाकालीन भौतिक दूरी कायम गरेजसरी उभिएका रयाज, मेल, राँकुलीले चरिरहेका गाई रम्चाउँदै हावा–तालमा पैसरी नाच्छन् ।

एउटा फुच्चे किट (धाउबाट फलाम निकाल्दाखेरिका टुक्रा, जसलाई फलामको गु पनि भन्छन्) खेल्न थाल्छन् भने एक बूढा फलाम निकाल्दाको ‘युवावय’ मा बहकिन । बूढा मानिसको मन घरी उख्लीखानी र ढोड्रेखानीको सुरुङभित्र पस्छ त घरी चुनबाङखोलासँग बग्छ । कहिलेकसो बाघले गाउँका कुकुर र बाख्रा बोकेर तिनै सुरुङभित्र सुलुक्क सुल्किन्छ ।

‘हाम्रा पुर्खा एक घण्टा पैदल दूरीको राङ्कोट गर्खाडेराबाट खानी खन्न आउँथे गरे (रे) । अहिले बस्ती बसेको जैपा गाउँ कुनै बेला घना जंगल थियो गरे । जंगलमा चोइयको झाङ थियो गरे । तिनै चोयाको भाङ बालेर खानीभित्र पस्थे गरे । खानीछेउको जंगललाई जैपा गाउँ बनाएर हाम्रा पुर्खा बसे गरे,’ बयोवृद्ध मनप्रसाद पुन खानीले खनेको जैपाको कहानी हाल्छन् । यसरी बस्ती बसाउने पुर्खाका सन्तान हुन्, ती बूढा मानिस । मनप्रसाद उनै बूढाका कान्छापुत्र । किट खेल्ने फुच्चे म हुँ भने घुमवाल बूढो मेरा बाजी (बाजे) अनि मनप्रसाद मेरो काकु (काका) ।

हो, त्यही खानीबाट बाजी, बाबै (बाबा) हरूले फलाम निकालेका हुन् ।

वारि जैपा गाउँ छ त पारि रपा गाउँ । ती गाउँलाई बीचमा पारी चुनबाङखोला बग्छ । जुन खोला दाङ पुगेर रापती बन्छ । जैपामा भन्दा रपामा धेरै खानी छन् । बर्खेझरीवाल साँझ बाबै ‘साइँली बरै’ गाउँदै खानीकालीन दिनमा फर्कन्थे, ‘सल्यान, रुकुमतिर फलाम किन्नेहरूका लर्को लाग्थ्यो ।’

एक दिन नेपालका अन्य खानीसँगै मैले किट खेलिरहेको उख्लीखानी पनि बन्द हुुन्छ । रोजीरोटी जोहो गर्ने त्यो खानी बन्द भएपछि बाबै आफ्ना दौंतरीहरूसँग कालापार (भारत) लाग्छन् ।

०००

‘थुनीखोला बाइसै आखर, धोए फलाम,’ सिङारुको यो टुक्काले बाइस भट्टी जलेको भन्छ । ‘थुनीखोला रोल्पाकै सबभन्दा राम्रो र ठूलो खानी मानिन्थ्यो,’ रोल्पा जेलबाङका सुकबहादुर रोकामगर फलामखानीले फुलाएको सिङारु गुनगुनाउँछन् । जैपाको उख्लीखानी, ढोड्रेखानीसहित रपाका डाँराखानी, सेम्डेरेखानी, सेलाखानी, टाक्सेखानी कहलिएका फलामखानी हुन् । खानीवाल त्यस भेग थुनीखोलाको खानी नाउँले परिचित हुन्छ ।

तारेको तारबारमा खानी चल्छ । ‘यति धाउ (कच्चा पदार्थ) पगाल्न यति गोल र यतिसम्म तताउने’ जस्ता कुरा तारेकै तारमा हुन्छ । सबै तारबार गर्ने भएकाले तारे नामक पद दिइएको होला । रपाका सन्तवीर बुढामगर (८०) र गोपीराम घर्तीमगरहरू बलजित भुरामगर, सार्की थापामगर, धनजित भुरामगरजस्ता त्यस भेगमा कहलिएका तारेहरूलाई सम्झँदै भन्छन्, ‘धोनेबेला (धाउबाट फलाम निकाल्दा) तारेलाई एक बुट्का जाँर (जाँड) र भाले हर्जा (कमी) गर्नै हुन्नथो ।’

कहाँ कुन खनिज छ ? कत्तिले ढुंगा ढ्वाङ्ङ हान्दा निक्लने धुन सुनेर खानी पत्ता लगाएका हुन् त कत्तिले माटो सुँघेर †

‘रोल्पा’ मा सुन छ, कान मेरो बुच्चै

पर्वत, बागलुङ, पाल्पा, तनहुँ, रोल्पा, चितवन, सिन्धुपाल्चोक, बैतडी, बझाङ, रामेछाप, जाजरकोट, काठमाडौं (फुल्चोकी) लगायतका जिल्लामा स्थानीय तवरमा फलाम खानी चलेको हो । इतिहास भन्छ– नेपालमा फलाम मात्र होइन, तामा, सुन र रत्न पत्थर सदियौंदेखि उत्खनन र प्रयोगमा ल्याइएको हो । हुएन साङले त नेपालबाट तिब्बतमा फलाम, तामा आदि निर्यात गरिएको उल्लेख गरेका छन् । रामेछाप ठोंसेमा देवशमशेरले १९२१ मा भोटसँगको युद्धका लागि हतियार बनाउन कारखाना खोलेको सन्दर्भ पनि छ ।

खानी तथा भूगर्भ विभागले ‘नवलपरासी धौबाडीमा २० करोड टन, रामेछाप ठोसे र ललितपुर फुल्चोकीमा एकेक करोड टन अनि पर्वतको फलाम खानी गाविसमा २० लाख टनको फलाम सम्भावना’ भन्छ ।

रोल्पामा सुनखानी पनि छ । पूर्वमन्त्री बालाराम घर्तीमगर सम्झन्छन्, ‘अहिले पनि सुन खोज्छन् । सुन चाल्ने त म आफैं पनि हँु । खोला किनारको माटो माटो चाल्दा माटो बग्छ भने सुन रहन्छ । एकै दिन कहिले एक रतिदेखि पाँच मासासम्म भेटेको छु ।’ उनका अनुसार, पाँच रतिको एक मासा हुन्छ । १० मासाको एक तोला । खोज भन्छ– पूर्वी रोल्पाको जेलबाङदेखि गामसम्म ३० किलोमिटर क्षेत्रमा सुन छ । उद्योगमन्त्री हुँदा नेपालमा खनिजबारे खोज गराएको बालाराम स्मरण गर्छन् ।

खानीका मगर

घुमन्ते युगमा कन्दमूल खनेर खाने चलन नै खेतीमा परिणत भएको हो । सिकार गरेर खाने चलन पशुपालनमा । खेती, पशुपालन र सुरक्षाका लागि मानिसले धातुको औजार बनाउन खनिज खोज गरेको हो । कृषि औजार र हतियार बनाउन फलाम, गहना बनाउन सुन अनि भाँडा बनाउन तामा ।

मगर मूलथलो पश्चिम पहाडमा खानी छ भने खानी खन्ने मगर पेसा । पुष्पा पुनले पर्वत, म्याग्दी, बागलुङमा २२ र गुल्मीमा ४४ खानी रहेको उल्लेख गरेकी छन् । आरएन पाण्डेका अनुसार, त अठारौं सदीतिर भारतको कलकत्तासम्म राम्रो भाउमा नेपाली धातु बिक्री गरेको पनि उल्लेख छ । नीलमकुमार शर्मालाई उद्धृत गर्दै दिलप्रसाद मगर लेख्छन्– पश्चिम पहाडको एक महत्त्वपूर्ण आर्थिक स्रोतका रूपमा रहेको खानीसम्बन्धी विशेष सीप भएको जाति मगरले प्राचीनकालदेखि नै खानीको काम गर्दै आएको देखिन्छ (मगर जाति, २४२) । १९ औं सदीमा नेपाली अर्थतन्त्रको मुख्य राजस्व–स्रोत कृषि र वाणिज्यपछि खानी हो । बेनी, बागलुङ, पाल्पाको तामा सिक्का छाप्न प्रयोग गरिने र ती सिक्का नेपालबाहेक उत्तर भारतसम्म प्रयोग भएको महेशचन्द्र रेग्मीले उल्लेख गरेका छन् । मानवशास्त्री डोरबहादुर विष्टका अनुसार, ‘ठाउँठाउँमा भएका तामाखानीमा काम गर्न त्यसबेला मगर लगिएको थियो ।’ दिलप्रसाद मीन श्रीसमगरलाई हवाला दिन्छन्, ‘गण्डकी र रापती क्षेत्रमा फलाम र तामाखानी धेरै भएको र खानी उत्खनन् र प्रशोधनलाई त्यस क्षेत्रका मगरले मध्यकालदेखि राणाकालसम्म मुख्य पेसाको रूपमा अपनाएको देखिन्छ ।’ गण्डकी, रापती, भेरीतिर तामा र फलाम खानी तथा डोल्पातिर भने नुनखानीमा उनीहरूले काम गरेको देखिन्छ । दिलप्रसाद थप्छन्, ‘खनिज धातुको माग घरेलु प्रयोगका औजारदेखि हातहतियार बनाउन र मुद्रा छाप्न सरकारलाई समेत यसको आवश्यकता दिनप्रतिदिन बढेको र अन्य वैकल्पिक पेसा सीमित भएका कारण मगरले यो पेसा थालेको देखिन्छ (मगर जाति, २४४) ।’ खानीको प्रशोधित धातुबाट मगरले बनाएका विभिन्न बाजा फलामको झ्याली, पैजन, भाँडाकँुडा, घरेलु हातहतियार, औजार, तामाको पैसा, रुना मल्लकालदेखि नै प्रशस्त चलनचल्तीमा आएको पाइन्छ । मगरको मूलक्षेत्र मानिने गण्डकी, रापती खानी क्षेत्रका मगरको मुख्य पेसा खानी उत्खनन मध्यकालदेखि राणाकालसम्म हुन्छ ।

‘ओदान, कोदालोजस्ता कृषि औजार बेच्न बाबै डोल्पासम्म पुग्थे गरे । बाबैले फलानो ठाउँको फलानोसँग यति उधारो छ, उठाउनु भनेका थिए,’ सुक सम्झन्छन्, ‘घरबुना बेच्न अन्य ठाउँका मगर हाम्रोतिर आउँथे ।’

अठार मगरातका मगर खानी र बाह्र मगरातका मगर कपास खेतीबाट घरबुना लुगा बुन्न माहिर मानिन्छन् । बाह्र मगरातका मगरले घरबुना र अठार मगरातका मगरले फलाम व्यापार गर्छन् ।

डा. प्रेम शर्माका अनुसार, खानीको कारण मगर, कामी, छन्त्याल र थकाली समुदाय एकअर्काबीच घनिष्ठ र अन्तरनिर्भर भेटिन्छन् ।

फलामखानीमा माओवादी

रोल्पामा खानी र मगरका कारण माओवादी मौलाउँछ ।

दुई–चार थान भरुवा बन्दुक, जारे कुकुर (भोटे कुकुर) सँग सिंगो गाउँ सिकार खेल्न निक्लने चलन हो, जसलाई ‘एरा खेल्ने’ भन्छन् । यसरी गरिएको सिकार सिंगो गाउँले नै ‘दामासाही’ शैलीमा बाँडेर खाने चलन हो ।

सुरक्षा र सिकार खेल्दा चाहिने बन्दुक रोल्पाली गाउँमै बन्छ । किट गोलीको रूपमा प्रयोग हुन्छ भने बारुदको रूपमा गन्दक । फलामखानी भएकाले होला, रोल्पामा भरुवा बन्दुक प्रशस्त हुन्छ । पूर्वमन्त्री बालारामका अनुसार, प्यूठान गौंडामा दर्ता भएका मात्रै रोल्पाका चार हजार बन्दुक हुन् (बन्दुकको नालमा प्यूठान गौंडा र नम्बर लेखिएको छ) । माओवादीले तिनै बन्दुक जम्मा गरी ‘जनयुद्ध’ थालेको हो । युद्ध थाल्दा माओवादीसँग ‘होलटाइमर’ नामक एउटा राइफल र अर्को बिग्रेको गरी दुई थान राइफल हुन्छ ।

खानी कर

रोल्पाली जनता पोत तिर्न फलाम र तामा बोकेर अड्डासार गर्दै प्यूठान पुग्छन् । पूर्वमन्त्री बालाराम सम्झन्छन्, ‘लिबाङले खुमेल, खुमेलबाट परपर गर्दै अरेस हुँदै प्यूठान (बाग्दुला) अड्डामा फलाम पोत तिर्न जाने हो । बाग्दुला नै पश्चिम नेपालको म्याग्जिन (बन्दुकको नाल, गोला, ढाल) बनाउने हतियार कारखाना हो ।’ त्यसरी जम्मा भएको फलाम माओवादीले ‘जनयुद्ध’ थाल्दा पनि बाग्दुलामै थुप्रिएको हुन्छ ।

श्री ३ चन्द्रशमशेरले छ प्रतिशतबाट धातु–कर एक्कासि पचास प्रतिशत बढाउँछन् । तिर्न नसक्नेलाई जेल हाल्छन् । खानीमा लागेका मगरले सिरीखुरीसमेत गुमाउँछन् । हुक्किहार भएर बिन्ती बिसाउन नेपाल (काठमाडौं) जान्छन् । इतिहासकार नरु थापा लेख्छन्, ‘खानी खन्दैनौं भनेर छिनो (तागा) र घन थन्क्याइए पनि कर तिर्नैपर्छ भन्ने हुकुम जारी भयो । लप्टन गंगाप्रसाद बुढाथोकी मगरले गुल्मी चहारेका खडकजित रानासमेतको सहयोगमा २२ खानीभित्रको ७४ मौजा खानीवालाको संगठन गरी श्री ३ सरकारमा जाहेर गरे । खानी हुने मौजाका मगरहरूसँग घरधुरीपिच्छे मो.रु. एकको दरले र खानी नहुने मौजामा पचास पैसाको दरले खानी छाडेबापत रकम तिरेर जेलनेलबाट छुटे (किरात मगर इतिहास, ६९) ।’

लप्टन राणा सरकारले खानी जिम्मा लगाएका व्यक्ति हुन् ।

खानी गाउँको सवाइ

सरकारमा बिन्ती बिसाउन जाँदा लागेको रकम गुल्मी भार्सेका साहु बलबहादुर पुनले ऋण दिन्छन्– पहिलो किस्तामा ४०० र दोस्रो किस्तामा ५०५ रुपैयाँ । १९८६ साउनमा लेखिएको दोस्रो किस्ताको तमसुक माहिला बाजेको नासोजसरी नेपाली सेनाका पूर्व अधिकृत एवं लेखक हेमलाल पुनले राखेका छन् । उनका बाजे कप्तान शिवराजको डायरीमा ‘खानीगाउँको सवाइ’ समेत छ–

सुनसुन महाराज म केही भन्छु

खानीगाउँको दु:खको सवाइ कहन्छु ।

भागीकन नेपाल गया, मगरात खानीगाउँ,

तीन रुपैयाँ २९ पैसा नगद तिर्न पाऊँ ।

माटो फाल्दा अक्षरै बोकी

मर्ने जति मरिगया, बँँचेका भया रोगी ।

बलबहादुर पुनको तमसुक

डायरीमा लेखिएका अक्षर भने उनका पिताका हुन् । काव्यात्मक ती सवाइबारे हेमलालको कथन छ, ‘त्यो रचना बाजे वा बाबाको आफ्नै मौलिक रचना हो कि होइन ? म यसै भन्न सक्तिनँ ।’ ५० प्रतिशत कर बढ्दा चालु रहेका २२ खानी हुन्– रुकुमका पदमी र झुम्लाबाङ खानी, म्याग्दीका बरङजा, चिमखानी, टीकाबाङ, रुमखानी, पर्वतको झिङखानी, बागलुङका पाण्डवखानी, ओखले, लाम्मेलखानी, गुल्मीका चाहारेडाँडापारि, धाईथुम, डडल्का, लम्करा, जयाखानी, हरियोखानी, हर्याटा, खङ्कोट, मुरुखानी, धुर्कोटखानी, अर्घाखाँचीका सिन्दुरेखानी र धाराखानी ।

खानी किन बन्द भए ?

सहायक कारण

खानी बन्द हुनुका कारणबारे खानीगाउँमा अनेक किस्सा छन् । एक, बन मासिएर । दुई, देसी फलामले निलेर । तीन, खानीमा धाउ र गाउँमा तारे सकिएर । चार, राजा लागेर ।

‘राजा लागेर खानी बन्द भएको हो’ भन्नेचाहिँ खानी बन्द हुनुको मूल कारण हो । बाँकी ‘सहायक’ हुन् । राजा लागेर खानी बन्द भन्नुको अर्थ ‘सरकारले बन्द गराएको’ भन्ने हो ।

खानीले बन खायो

धाउबाट फलाम वा तामा निकाल्न आगो चाहिन्छ । आगो बाल्न गोल । गोल बनाउन काठ । गोल बनाउँदा वन विनाश ।

रपाका सन्तवीर सम्झन्छन्, ‘वन मात्र मासिएन, हाम्रा कम्द ढिकढाकका पैयसैयका बुटासमेत बाँकी रहेनन् ।’ त्यसबेला गुल्मीतिर चलेको उखान इतिहासकार नरु थापा उल्लेख गर्छन्, ‘मगरलाई बन नदिनू, ठकुरीलाई धन नदिनू, खसलाई मन नदिनू, मतवालीलाई वचन नदिनू, बाहुनलाई पाटो नदिनू र नेवारलाई दोबाटो नदिनू (किरात मगर इतिहास, ६८) ।’

देसी फलामले रैथाने फलाम ख्वाप्प

औजार बनाउने बेला रैथाने फलाम, तामाभन्दा देसी (अंग्रेज अर्थात् कम्पनी सरकारको) फलाम पगाल्न सजिलो हुन्छ । देसी फलाम र तामा सस्तो पनि । वनसाङ्लाले घरसाङ्ला खाएजसरी रैथाने फलाम र तामालाई देसी फलाम र तामाले ख्वाप्प खान्छ ।

सरकारको ज्यादतीले गाउँमा तारे बन्न नयाँ पुस्तामा अरुचि बढ्छ । कतिपय खानीमा धाउ पनि सकिन्छ ।

मूल कारण

नेपालका खानी बन्द हुनुको मूल कारण भने भारतमा राजरत अंग्रेजको इस्ट इन्डिया कम्पनी सरकार हो । राणा सरकार जनमैत्री नभई राणा राज्य अंग्रेजमैत्री भएकाले खानी बन्द भएको हो । हिन्दु जात व्यवस्थामा उभिएको नेपालको राज्यसत्ता जनमुखी नभई सत्तामुखी हुँदा खानी बन्द हुन्छन् ।

यति भन्न अंग्रेजको ‘बजार विस्तार र कब्जा’ को कुरा कोट्याउनुपर्ने हुन्छ ।

अंग्रेजले भारतका विभिन्न सहरमा उद्योगधन्दा पनि खोल्छ । बेच्ने बजार त चाहिन्छ नै । नेपालमा आँखा लाउँछ । चुरोट, ‘रेडिमेड’ कपडा, फलाम, तामा बजार खोज्छ । रैथाने फलाम, तामा, घरबुना लुगा ‘म्यानुयल’ उत्पादनले अंग्रेजको ‘मास’ उत्पादनलाई कसरी जित्नु ? उसैमाथि बजार कब्जा गर्न सस्तो पनि हुन्छ, हेर्दा चमकधमक पनि । प्रतिस्पर्धा गर्न नसकी घिटीघिटी भएको रैथाने खानीमा सरकारले पचास प्रतिशत कर बढाउँछ । ज्ञाइन्द्रबहादुर श्रेष्ठका अनुसार, यसअघि नै अठार मगरातका मगर खानीमा र बाह्र मगरातका मगर कपास खेती गरी घरबुना लुगामा निर्भर हुन्छन् ।

समाजशास्त्री डोरबहादुर विष्ट भन्छन्, ‘ब्रिटिस भारतीय सेना भर्ना हुने क्रम बढेको र राणा शासकले पनि खानी बन्द गराई गाउँगाउँबाट उर्दी लगाई (विश्वयुद्धताका) सेनामा पठाएपछि मगरको खानी खन्ने पेसा लोप हुँदै गएको हो भन्ने प्रसंगबाट सुगौली सन्धिपछि क्रमश: यो पेसा अपनाउने मगर संख्या घट्दै राणाकालको अन्ततिर पूर्ण रूपमा लोप भएको देखिन्छ ।’

५० प्रतिशत कर बढेपछि रैथाने खानी स्वत: बन्द हुन्छ । फलाम, तामा र घरबुना लुगा बन्द भएपछि देसी मालले एकलौटी कब्जा जमाउँछ । कब्जा जमाएपछि अंग्रेज खुस हुन्छ । अंग्रेज खुसी भएपछि राणासत्ता सकुशल । राणासत्ता कम्पनी सरकारको गुलामी गोडाले त उभिएको हो । राणा सरकारले गुलामी गर्न तराईका जंगलमा अंग्रेज राजकुमारसम्मलाई सिकार खेलाउँछ । वन्यजन्तु उपहार दिन्छ । जंगबहादुर राणाले लखनउ विद्रोह दबाउन सेनासमेत पठाउँछन् ।

खानी बन्द भएपछि के भयो ? खानी बन्द भएपछि नेपालको आर्थिक, सामाजिक जीवनमा बदलाव आउँछ ।

लाहुरे संख्या बढ्छ

मेरो बाजी बेलायती लाहुरे हुन् । विश्वयुद्धताका जबर्जस्त लाहुरिएका । बाजी भन्थे, ‘ओडारमा लुकेको पनि छोपेर लग्यो, दशैंको खसी/बोकालाई जसरी । तन्नेरी देखे च्याप्प समाएर लग्थ्यो ।’ सरकारी आँखामा मगर युवा पर्छन् । राणाले गाउँगाउँमा गल्ला पठाउँछ, जो माओवादी ‘जनयुद्ध’ चर्कनुअघिसम्म जारी रहन्छ । गल्लाले फकाउँदै प्रतिकिशोर ‘एक रुपैयाँ बैना मार्छ ।’ मासु–भात खुवाउँदै गोरखपुर लान्छ । ‘२०३६ मा भार्सेबाट २२ जना भर्ती भए । जो त्यो गाउँको युवामा ९९ प्रतिशत हो । मुक्खेली धान्ने मुक्खेको छोराबाहेक गाउँमा बँचेका त शारीरिक रूपले अशक्त मात्रै थिए,’ हेमलाल भन्छन् ।

राणा सरकारले गाउँगाउँबाट उर्दी लगाएर विश्वयुद्धमा पठाउँछ । समाजशास्त्री विष्टका अनुसार, खानीमा काम गर्ने रोजगारी खोसिएपछि विदेशी तथा नेपाली सेनामा मगरको भर्ती हुने संख्या बढेको देखिन्छ ।

पृथ्वीनारायण शाहको गोर्खा विस्तारमा बगेको ‘मगर रगत’ २००७ को कांग्रेस क्रान्ति, २०५२ को माओवादी ‘जनयुद्ध’ सम्म पनि रोकिन्न, जो रगत शासक खलकलाई नै सत्ता दिलाउन सीमित छ । स्मरणीय यो छ कि, खानी बन्द गराएर युवाहरूलाई विदेशी सेनामा बेच्ने चलन आज पनि जारी छ ।

बिदेसिने लर्को

खानी बन्द भएलगत्तै बाबै (बा) खयर काट्न जान्छन् । त्यसपछि भावर (बाबियो) र बेत काट्न । अन्तमा कालापार । लाहुर लान ‘गल्ला’ गाउँगाउँ पुगेजसरी कालापार लान ‘मेट’

(ठेकेदारले मजदुर बटुल्न गाउँ खटाएका मानिस) पुग्छन् ।

रपाका उनै सन्तवीर कोइलाबासबाट जरुवा हुँदै रेल चढेर कालापार पुगेको सम्झन्छन्, ‘जरुवामा रेल चढेँ । देहरादुन पुग्न १८ रुपैयाँ लाग्यो । देहरादुन हुँदै चोरपुर (विकासनगर) भएर सिमला गएँ । त्यसबेला धेरी दिनको एक रुप्पे थियो ।’

०००

खानी बन्द भएपछि नेपालको तेस्रो ठूलो जनसंख्या र आदिवासी जनजातिमध्ये सबभन्दा ठूलो जनसंख्यावाल मगर मुलुकबाट बाहिरिन्छ । मगरका दरसन्तान भर्ती र बाहिरिने क्रम जारी छ । जुन लर्को तन्केर अहिले अरब पुगेको छ । खानी बन्दसँगै बाहिरिएको मगर त ‘राज्यको मूलधार’ बाहिरै छ ।

बलि चढाउन मगर नै रोज्नुको कारण खोज्न नेपाली समाज संरचना, पृथ्वीनारायण शाहको गोर्खा विस्तारमा मगर, जंगबहादुर राणाविरुद्ध लखन थापामगरको विद्रोहजस्ता सन्दर्भ केलाउनुपर्छ ।

खानी, घरबुना लुगा र लडाइँमा पारंगत मगरमा राजनीतिक चेत पलाए त इतिहासको साँवा–ब्याज खोज्छन् । आफ्नो ‘स्पेस’ दाबी गर्छन् (जुन डर आजको शासक खलकमा पनि विद्यमान छ) । शासकमा यो डरले घर गरेको छ । त्यसैले खानी र घरबुना बन्द गराई विदेशमा गुलाम बनाउन धपाउँदा शासकलाई फाइदैफाइदा हुन्छ ।

एक, अंग्रेज गुलामी निरन्तर अघि बढ्छ । दुई, इतिहासमा गरेको लगानीको साँवा–ब्याज खोज्लान् कि भन्ने डर घट्छ । राजनीतिक चेत जागे न आफ्नो स्पेस खोज्ने हो † इतिहासमा गरेको लगानी खोज्ने हो † अंग्रेज चाकडीस्वरूप मगरलाई भर्तीमा जबर्जस्त पठाएपछि अंग्रेजको धातु र लुगाको बजार पनि ‘सुनिश्चित’ हुन्छ ।

०००

सारमा, खानी बन्द भएपछि मुलुक परनिर्भर हुन्छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत कृष्ण बजगाईंका अनुसार, नेपालले आर्थिक वर्ष २०७७/७८ मा तामा र फलाम मात्र क्रमश: सात अर्ब ६४ करोड र फलाम १७५ अर्ब ३४ करोड आयात गरेको छ ।

अंग्रेज हस्तक्षेपले नेपालको अर्थतन्त्रको मेरुदण्ड भाँचिन्छ ।

०००

नुनदेखि सुनसम्म नेपालमै छ । डा. प्रेम शर्माका अनुसार, झन्डै सय वर्षपहिले नेपाल आफ्नै धातुजन्य खानी, नुन र पशुपालनले आत्मनिर्भर हुन्छ ।

आज ? सबैथोकमा परनिर्भरता बढ्दै छ ।

कालापार (अहिले अरब र मलेसिया पनि) र लाहुरिने क्रम जारी छ । यति विरोधाभास कि, राज्यले खेदेका उनै नागरिकका पसिना, सपना, रहर र रगतको ‘रेमिट्यान्स’ ले नै आज नेपालले सास फेर्छ ।

नेपाली समाजको यही विभेदयुक्त स्वरूप फेर्न कांग्रेस र माओवादीले हतियार उठाएका हुन् । दुवै क्रान्तिका सुप्रिमोद्वय बीपी कोइराला र पुष्पकमल दाहाल देशको ‘कार्यकारी प्रमुख’ हुँदासमेत ती खेदिएका/बेचिएका जन फर्कने साइत जुरेन भने अर्को ‘साइत’ कहिले जुर्ला ? अझै कति उथलपुथल कुर्नुपर्ला ?

(शनिबार प्रकाशन हुने कान्तिपुरको प्रिन्ट संस्करण ‘कोसेली’बाट ।)

प्रकाशित : श्रावण १५, २०७८ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्

श्यामसुन्दरका उदास आँखा

मुना चौधरी

अधबैंसे, सिकुटे, ख्याउटे, गाला भित्र धसिएको, कालो वर्णको ! कलेजी रङको कुर्ता र हरियो बुट्टेदार लुङ्गी । एक हातले मोबाइल समातेर कुरा गरिरहेको, अर्को हातले बसको रड समातिरहेको । काखीमा आएको पसिनाले उसको कुर्ता भिजेको थियो । ऊ अर्थात श्यामसुन्दर ।

ढोकाअगाडि दायाँतिरको १ र २ नम्बर सिटछेउको भुँइमा एक जना स्वास्नीमान्छे थपक्क बसेकी थिई । सारी लगाएकी उसको सिउँदोमा लामो पहेंलो सिन्दुर थियो । टाउको छोप्ने गरी ओढ्ने ओढेकी थिई । निधारमा भिक्स दलिरहेकी थिई ।

...

०६५ को दसैं । गाडी पाउनै सकस, पाइहाले सिट पाउनै सकस । साँझ अफिस बिदा हुनासाथ सुन्धारा र कोटेश्वरका टिकट काउन्टर पुग्थें, तर टिकट नपाएर फिर्थें । फूलपातीको दिन, दिउँसो ३ बजे । डेराबाट निस्किएकी थिएँ तर टिकट थिएन । बस पाए घर जान्छु, नपाए डेरै फर्किन्छु सोचेर कोटेश्वर चोक पुगेकी थिएँ ।

साँझ ६ बजिसकेको थियो । बस बिसौनीमा उभिइरहेकी थिएँ । धरान जाने बस अचानक रोकियो । रोकिएको बसको झ्यालबाट आवाज आयो, ‘बैनी कुन बस हो ?’ झ्यालमा हेरें, गाउँका दाजु–भाउजू रहेछन् । हातले इसारा गर्दै भनें, ‘मेरो बस छैन । टिकट पाइनँ ।’ इसारापछि दाइ बसबाट ओर्लेर मेरो नजिक आए । दाइले भन्नुभयो, ‘मेरो सिटमा बसेर हिँड । म उभिएर जान्छु ।’

‘हजुरलाई गाह्रो हुन्छ, म जान्नँ । बाटो लामो छ । आज नपाए भोलि पाउला नि !’

‘अहिले टिकट पाउन समस्या छ । यसैमा हिँड ।’

झ्यालमा हेरें, भाउजू पनि ‘जाऔं’ को इसारा गरिरहहेकी थिइन्, बस चढें । दाइले कन्डक्टरसँग मुढामा बसेर जाने टिकट लिनुभयो । दाइकी ७ वर्षकी छोरी पनि थिई । दाइको सिटमा बस्दै भदैनीलाई काखमा लिएँ । करिब एक घण्टापछि बस खचाखच भरियो । सिटको दुवै बुइँगलबीच राखिएका चारओटा मुढामा दाइसँगै तीन जना मान्छे थिए । कोटेश्वरबाट कलंकी पुग्दा झनै मान्छे थपिए । मेरो सिटछेउ उभिएको मान्छे फोनमा कुरा गरिरहेको थियो, ‘हम श्यामसुन्दर बोलै छि । हम जहानके साथ घर चल आबै छि ।’ उसको छेउमा रहेको बच्चा भीडभाडको अत्यासले रोइरहेको थियो ।

...

निधारमा भिक्स दलिरहेकी श्रीमतीको अगाडि फोनमा कुरा गर्दै श्यामसुन्दरले बच्चालाई बोक्यो । कन्डक्टर भाडा उठाउँदै आयो । मुढामा बसेकालाई पाँच सय र उभिएकालाई चार सय माग्दै थियो । श्यामसुन्दरले आठ सय दिँदै भुइँमा बसेकी स्वास्नीमान्छेलाई देखाउँदै भन्यो, ‘उसको र मेरो दुई जनाको ।’

ऊ ८ सय तिरेर २० रुपैयाँ फिर्ता माग्दै बोलिरहेथ्यो, ‘हमनी के तरकारी बेच्छ हजुर । बीस रुपैयाँ दिनुस् फिर्ता । छोराको रास्ता खर्च आउँछ ।’

कन्डक्टरले जवाफ दियो, ‘ओ भैया, रेट त्यति नै हो । फिर्ता आउँदैन ।’ उसले विनम्र स्वरमा भन्यो, ‘२० रुपैयाँ फिर्ता दिनुस् न हजुर ।’ कन्डक्टर झोकिँदै बोल्यो, ‘एकपटकमा कुरा बुझ्दैनस् ?’

कन्डक्टरको रिसले उसको अनुहार उदास भयो । ऊ केही बोलेन । उसको अनुहार रातो, नीलो भयो ।

भाउजूले उसलाई सोधिन्, ‘तिम्रो जहानलाई सन्चो छैन ?’ ‘कल रातदेखि ज्वरो लागेर तबियत खराब छ हजुर । दबाई खाइरहेछ ।’

‘ज्वरो आएको मान्छेलाई लिएर किन घर हिँडेको ? सन्चो भएपछि जाँदा हुन्थ्यो नि ।’

‘चाड परवमा घरमा बाआमाले आस लगाएको हुन्छ हजुर ।’ बिरामी मान्छेका लागि आफ्नो सिट छाड्न कोही तयार थिएनन् । झन्डै १४ घण्टाको बाटो जो थियो । थानकोटको घुम्तीमा थियौं ।

बसको बत्ती निभाइएको थियो । भाउजू बान्ता गर्न थालिन् । भाउजूबाहेक गाडीमा बसेका अरू छ–सात जना पनि वाकवाक गरिरहेका थिए । कन्डक्टर प्लास्टिकको झोला दिइरहेको थियो । वान्ताको नुनिलो, अमिलो, नमीठो गन्ध बसभरि फैलिरहेको थियो । वान्ता नगर्ने मान्छे पनि वान्ता गर्न थालेका थिए । भाउजू शिथिल भइसकेकी थिइन् । आँखा बन्द गरिरहेकी थिइन् ।

यत्तिकैमा म निदाएछु । गाडी रोकिँदा आँखा खुल्यो । मुग्लिन पुगिसकेका थियौं । खाना खुवाउन रोकिएको थियो गाडी । सबै ओर्ले । शौचालय गएर हातमुख धोएर खाना खान बसे । श्यामसुन्दर भने होटेलअघि भुइँमा बदामको खोस्टा छोडाउँदै छोरोलाई खुवाउँदै थियो । आफू पनि खाइरहेको थियो । उसको बिरामी जहानले केही खाएको देखिनँ ।बसमा छिरेपछि एउटा स्याउ झोलाबाट झिकेर उसको छोरोलाई दिएँ । छोरो आमाछेउ बसेर स्याउ खान थाल्यो । आमा ओढ्नासँग बसको भित्तामा अडेसिएर सुतिरहेकी थिई ।

२ बजे राति, हेटौंडा । उपद्रो गर्मी । सबैले ज्याकेट, स्वेटर धमाधम फुकाले । बस रोकिँदा पसिना ह्वास्सै गनाउँथ्यो । सबैले धमाधम झ्याल खोले ।

नारायणगढमा एक नम्बर सिटको यात्रु ओर्लियो । खाली सिट देखेर श्यामसुन्दर कन्डक्टरतिर हेर्दै भन्यो, ‘यी खाली सिटमा मेरो जहानलाई बस्न दिनुस् न हजुर ।’

‘त्यहाँ अर्को यात्रु आउँदै छ । जहाँको पैसा तिरेको छस् त्यहाँ बस् ।’ उसको अनुहार फेरि उदास भयो । आफ्नो जहानतिर हेर्‍यो । घोसेमुन्टो लाएर सुतिरहेकी थिई । ऊ घरिघरि पछाडि फर्केर बसको सिटहरूमा आँखा डुलाउँथ्यो । नारायणगढमा एउटी स्वास्नीमान्छे चढी । खाली सिटमा बसी । मोटी थिई । लिपिस्टिक र शृंगार गरेकी थिई । कन्डक्टरले नसुनिदिएपछि श्यामसुन्दरले त्यो स्वास्नीमान्छेलाई भन्यो, ‘साउनी, मेरो जहान बेराम छ । उसलाई सिटमा बस्न दिनुस् न ।’

स्वास्नीमान्छे रिसाउँदै बोली, ‘मैले पैसा तिरेको छु सिटको । कत्ति बाठो मधिसे मोरो ।’

श्यामसुन्दरको आँखा फेरि पनि उदास भए ।

म फेरि निदाएछु । आँखा खुल्दा बिहानको ७ः३० बजेको थियो । ढल्केवर पुगिसकेका थियौं । उभिएका मान्छे पूरै गलेका देखिन्थे । एक घण्टापछि हाम्रो गाउँ भोटियाटोल चोकमा बस रोकियो, ओर्लियौं ।

श्यामसुन्दर राजविराज जाने मान्छे । धरान जाने बस राजविराज जाँदैन । रुपनी चोकमा ओर्लेर राजविराज जाने बस चढ्नुपर्छ । त्यहाँबाट आधा घण्टामा राजविराज पुग्छ । उसले रुपनी चोकबाट बस पायो कि पाएन ? बस पायो भने सिट पायो कि पाएन ? उसको स्वास्नीलाई सन्चो भयो कि भएन ? भीडभाड गाडी चढ्दा यही दृश्य सम्झिन्छु, निरीह र मधेसी देखेर मान्छेहरू अझैसम्म श्यामसुन्दरलाई हेपिरहेकै छन् ?

प्रकाशित : श्रावण ९, २०७८ १०:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×