सहरमा जातको त्रास

सोच्थें, सहरमा जात टिक्न सक्दैन किनभने सहर त आधुनिकताको प्रतीक हो, राज्य सशरीर उपस्थित हुन्छ । यो भ्रम रहेछ । जात सहरमा पनि बलियो गरी बस्नसक्ने रहेछ, आफ्नो रूप परिवर्तन गरेरै किन नहोस् ।
अमर विक

पीएचडी अनुसन्धानको क्रममा समय–समयमा पोखरा बसेँ । धेरै दलित महिला र पुरुषसँग जातसम्बन्धी कुराकानी गरेँ, अनुभव सुनेँ । थाहा पाएँ– सहरमा जात अझै बलियोसँग बसेको छ । सहरमा जात डेरामा मात्र होइन, व्यवसाय र जागिरदेखि किरियाघर र घाटसम्म जबर्जस्त छ । एक हिसाबले सहरमा जात झनै क्रूर छ, र यसले दलितलाई अत्यन्तै मनोवैज्ञानिक यातना दिएको छ ।

सहरमा जातको त्रास

जात नलुकाई कुनै पनि दलितले डेरा पाउन कठिन छ । म जहाँ बसेँ, बैना दिनुअघि मैले जात भनेको भए त्यो डेरा पनि मबाट फुत्किने थियो । पीएचडी गर्छु नभनेको भए, बैना लिनुअघि नै मेरो जात सोधिन्थ्यो होला । पोखरामा ज–जसले जात खुलाएर डेरा पाएका छन्, तिनीहरूले प्रायः घरबेटीका मुख्य घरसँग नजोडिएका स–साना टिनका छाप्रा, घरबेटी नबस्ने घर वा भुइँतला पाएका छन् । त्यसरी बस्नेहरूको केही सहमति हुँदोरहेछ घरबेटीसँग– भान्साकोठा, छत, पुजास्थान र पानीको धारा वा ट्यांकीमा नजाने ! घरबेटी खुसी पार्न केही दलित महिला घरवरिपरिको सरसफाइ गर्ने, कपडा धोइदिने र अतिरिक्त श्रम पनि गर्दारहेछन् ।

पोखरामा दलितहरूको मासुपसल, चियापसल र रासन–पसल कति होलान् भनेर बुझ्न खोजें । दलितले चलाएका यस्ता पसल एउटै भेटिएन । जात लुकाएर चलाएका केही पसल हुन सक्लान् । जस्तै, पोखराको चिप्लेढुंगामा चियापसल चलाइरहेकी थिइन् एक दलित महिला । उनको जात पत्ता लागेपछि दुई वर्षअघि घरबेटीले पसल बन्द गराई उनलाई घरबाट निकाले । ती घरबेटीलाई आफ्नो घरमा दलित बसेकामा भन्दा दलितले चियापसल चलाएकामा बढी चिन्ता थियो । आफ्नै घरको सटरबाट एउटा दलितले जात ढाँटेर ‘उच्चजात’ का सयौं मानिसलाई चिया खुवाउँदा उनले आफूले समेत ठूलो ‘पाप’ गरेको ठाने ।

दलितले चलाएका केही रेस्टुरेन्ट भने रहेछन् पोखरामा । तिनका नाम कि जात नचिनाउने शब्द राखेर कि ‘उच्चजातीय’ थर राखेर चलाइएको रहेछ । दलितले चलाएको भन्ने थाहा पाएपछि निरन्तर आइरहने ग्राहकसमेत आउन छाड्ने रहेछन् । जब एक दलितको पसलमा कोही ‘उच्चजात’ को ग्राहक आउँदैन तब बुझ्नुपर्छ– जात कत्ति बलियोसँग बसेको छ ! चिया, खाजा, मासु वा रासन–पसल प्रायः पसलधनीको जात वा थरको नाममा राखिन्छ– पौडेल खाजाघर, अधिकारी किराना पसल ! यस्ता पसलको नाम जात वा थरको नाममा राखिनुले केको संकेत गर्छ ? यसको संकेत हो– म ‘उच्चजात’ वा ‘शुद्ध जात’ हुँ, आउनुहोस्, डराउनु पर्दैन !

जागिर–क्षेत्र पनि उस्तै कष्टप्रद छ दलितलाई । अफिसका उच्चस्तरका पदको त कुरै छाडौं, चिया/खाजा बनाउनुपर्ने वा पानी दिनुपर्ने पद, जस्तै ः सेक्युरिटी गार्ड, सरसफाइ वा रिसेप्सनमा समेत दलितले जागिर पाउन अझै कठिन छ । सहकारी, बैंक, विद्यालय, र शैक्षिक कन्सल्ट्यान्सीजस्ता संस्थाले समेत ‘खाजा पनि बनाउनुपर्छ, तपाईंलाई अलि मिल्दैन’ भन्ने सीधा जवाफ दिने रहेछन् जागिरका लागि पुगेका दलितलाई ।

मेरो एक जना दिदीले पोखराको ठूलोमध्येको एउटा हाउजिङ कम्पनीमा दिनगन्तीमा सरसफाइको काम पाउनुभयो, जात ढाँटेर । काम सुरु गरेदेखि उहाँलाई जातकै समस्याले पिरोल्न थाल्यो । ‘सबै मान्छे जतिखेर पनि हाम्रो जातलाई खसालेर मात्रै बोल्छन्, खप्नै गाह्रो भयो,’ एक दिन दिदीले भन्नुभयो । पूरै हाउजिङ रेखेदख गर्ने दिदीको मुख्य हाकिम र अन्य सहकर्मीमा दलितप्रति निकै घृणा रहेछ । एक दिन दिदीको मोबाइलबाट साथीहरूले उहाँको थर पत्ता लगाएछन् र त्यसपछि खिसीटिउरीको वर्षा सुरु भएछ । उनीहरूले भनेछन्, ‘जात ढाँटेर किन ठूलो हुन खोजिस् ? आफ्नो स्थानमा बस् ।’ केही समयपछि दिदीले जागिर छोड्नुभयो ।

उच्चस्तरका पदमा काम गर्ने दलितले समेत भोग्छन् यस्ता विभेद । एक जना साथी पोखराको सरकारी अफिसमा काम गर्छिन्, सुब्बा स्तरको पदमा । त्यो पनि न्याय सेवामा । अफिसमा विवाह, जन्मदिन वा अन्य कुनै भोज खानुपर्ने निम्ता आयो भने उनलाई थाहै नदिई सुटुक्क निस्कन्छन् रे ‘उच्चजातीय’ सहकर्मीहरू । किन छुटाउनुभयो मलाई भनी सोध्दा, ‘हामीलाई त केही फरक पर्ने थिएन, निम्ता गर्नेहरूले नराम्रो मान्न सक्छन्’ भन्ने उत्तर दिने रहेछन् सहकर्मीले । न्यायिक निकायका कर्मचारीले नै यस्तो व्यवहार गर्न सक्छन् भने अरूको के कुरा !

पोखरामा आफ्नै घर हुने केही दलितसँग पनि कुराकानी गरेँ । कुनै पनि ‘उच्चजात’ ले सकेसम्म एक दलितलाई छिमेकीका रूपमा स्विकार्न नसक्ने रहेछन् । दलितले जग्गा किन्न, घर बनाउन खोज्दा उनीहरूले अवरोध गरेका केही घटनासमेत रहेछन् । घरवरिपरिका ‘उच्चजातीय’ छिमेकीको घरमा जाने–आउने पटक्कै नहुने रहेछ । पोखरा छेउछाउको एउटा टोलमा बस्ने एक दलित महिलाको परिवारको नजिक एउटा बाहुनको घरपरिवार छ, भौतिक रूपमा सबैभन्दा निकट । दुवै परिवार त्यहाँ पन्ध्र वर्षभन्दा बढीदेखि बस्दै आएका छन् । तर, आजसम्म न उनी त्यो घरको गेट छिरेकी छन्, न त उनीहरू उनको घर आएका छन् । कतिसम्म भने समान उमेरका उनीहरूका बच्चाहरूसमेत बाहिर सँगै खेलेको उनले देखेकी छैनन् । छिमेकमा विवाह हुन्छ, जन्मदिन मनाइन्छ, पूजाआजा हुन्छ, उनलाई निम्तो हुन्न । ‘नाम मात्रको छिमेकी हुन् । मर्दापर्दा पनि काम नलाग्नेलाई कसरी छिमेकी भन्नु खै,’ उनी प्रश्न गर्छिन् । त्यो परिवारले मात्र होइन, टोलका अन्य घरपरिवारले समेत उनलाई भोजभतेरमा बोलाउन छाडेछन् । टोलको मिश्रित जातको महिला समूहमा थिइन् उनी । तर, चिया–खाजा खाँदा समूहका ‘उच्चजातीय’ सदस्य तर्किने र घृणा गर्ने भएकाले उनी त्यो समूहबाट निस्किइछन् ।

किरियाघर, समाजघर, र घाटमा समेत दलितलाई अझै विभेद गरिन्छ । पोखराका मोहन सुनारको परिवारलाई क्षत्री समाजले सरकारी सहयोगमा समेत बनाइएको किरियाघर दलित भएकैले प्रयोग गर्नबाट वञ्चित गर्‍यो । एउटा मुख्य राजनीतिक पार्टीको जिल्लास्तरको एक नेताले समेत आफ्नै टोलको किरियाघर प्रयोग गर्न पाएनन् । मेरा एक जना मित्र छन् शिक्षक । उनले तीन वर्षअघि चितवनदेखि पोखरासम्मका समाजघर चहार्दा पनि किरियाका लागि प्रयोग गर्न पाएनन्, जातकै कारण । गत वर्ष उनका बुबा बित्दा पोखराको गाईघाटमा लास जलाउने घाटको चाबी नपाएर टन्टलापुर घाममा जलाइयो । उक्त घाटको चाबीको जिम्मा लिएका व्यक्ति बाहिर गएका छन् भन्ने खबर आयो । हामीमध्ये केहीले जसै चाबी माग्नुपर्छ भन्यौं, केहीले भने, ‘बाहुन–क्षत्रीहरूले दिन्नन्, दुःख नगरौं ।’

यी उदाहरणले सहरमा जात अझै पनि बलियो गरी बसेको देखाउँछन् । साँच्चै भन्नुपर्दा जातले गाउँभन्दा सहरमा बढी सताएको बताए धेरै दलितले । विभिन्न कारणले यस्तो अनुभव गरेका हुन सक्छन् उनीहरूले । मुख्यतः जात लुकाउनुपर्दा एउटा दलितले ठूलो मनोवैज्ञानिक यातना र त्रास भोग्नुपर्छ । कुन दिन जात खुल्ला भन्ने त्रासमा हरदम बाँच्नुपर्छ । जात लुकाइराख्न निकै मिहिनत गर्नुपर्छ र अनेक रणनीति चाहिन्छ । गाउँमा त एउटा दलितले कम से कम आफ्नो घरभित्र ढुक्कले बस्न पाउँछ, तर सहरमा ? आफू बस्ने डेराभित्रै अथवा व्यक्तिगत परिधिभित्रै पलपलमा उसले जातको मनोवैज्ञानिक र भौतिक त्रासमा बाँच्नुपर्छ । गाउँमा घरबाहिर निस्कनेबित्तिकै जातको त्रास हुन्छ भने, सहरमा डेराभित्र छिर्नेबित्तिकै ।

हामीलाई लाग्थ्यो, सहरमा जात टिक्न सक्दैन किनभने सहर त आधुनिकताको प्रतीक हो, राज्य सशरीर उपस्थित हुन्छ । यो भ्रम रहेछ । जात सहरमा पनि बलियो गरी बस्न सक्ने रहेछ, आफ्नो रूप परिवर्तन गरेरै किन नहोस् । जात र आधुनिकता पनि सँगसँगै हिँड्न सक्ने रहेछन् !

(लेखक अमेरिकास्थित पिट्सवर्ग विश्वविद्यालयका पीएचडी शोधार्थी हुन्)

प्रकाशित : श्रावण ९, २०७८ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?