बीपीको कलम फेर्दै सम्पादक !- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीपीको कलम फेर्दै सम्पादक !

लेख्ने मान्छे संसारमा नरहिसकेपछि ऊसको कृति छाप्दा ‘कपी एडिटर’ को जरूरत पर्दैन । सम्पादकले के–कतिसम्म गर्न सक्छ भन्ने नै नबुझी मूल ग्रन्थमा चलखेल गर्ने काम उसले गर्नु हुँदैन ।
डा. महेशराज पन्त

बीपी कोइरालाले लेखेर वा बोलेर गएका विषयवस्तु जसरी बजारमा छापिएर आएका छन्, ती ठाउँठाउँमा मूलअनुरुप नभएको र सिद्धान्तअनुसार सम्पादकले सम्पादन नगरेको इतिहासविद् डा. महेशराज पन्तको अनुभव छ । बीपीका बोलाइ र लेखाइको सम्पादन कसरी हुनुपर्छ ? पन्तको विमर्श :

नेपालको राजकाजमा प्रत्यक्ष वा परोक्ष प्रभाव पार्ने मानिसहरूले लेखेर वा बोलेर गएका कुरा उनीहरू दिवंगत भएपछि झण्डै ५० वर्ष यतादेखि छापिँदै आएका छन् । अहिले लेख्न बस्दा अनायास सम्झनामा आएका त्यस्ता कृतिको नामनमेसी यहाँनिर दिई यो लेख उठाउनु प्रासंगिक नै होला ।

श्री ३ चन्द्र (वि.सं. १९२०–१९८६, शासनकाल वि.सं. १९५८–१९८६) का हजुरिया भने पनि हुने, माहिला पण्डित भनी प्रसिद्ध काशीनाथ आचार्य दीक्षित (वि.सं. १९१७–१९९४) को टिपोट ‘भएका कुरा’ (काठमाडौं: नरेन्द्रमणि आचार्य दीक्षित) भन्ने नाउँले उनका कान्छा छोरा नरेन्द्रमणि आचार्य दीक्षित (वि.सं. १९५९–२०४२) द्वारा सम्पादित भई वि.सं. २०३१ मा प्रकाशित भयो । उनै काशीनाथका जेठा छोरा राममणि आचार्य दीक्षित (वि.सं.१९३९–२०२८) को टिपोटको एक खेप वि.सं. २०२९ मा ‘पुराना सम्झना’ (काठमाडौं : शान्तिनिकेतन–पुस्तकालय), अर्को खेप वि.सं. २०४३ मा ‘सम्झनाको बाटोमा’ (काठमाडौं : शान्तिनिकेतन–पुस्तकालय) र झन् अर्को खेप वि.सं. २०७२ मा ‘प्राचीन संस्मरण’ (काठमाडौं: शान्तिनिकेतन–पुस्तकालय) भन्ने नाउँले उनका कान्छा छोरा केशवमणि आचार्य दीक्षित (वि.सं. १९९१ मा जन्म) द्वारा सम्पादित भई छापिएका छन् ।

अझ पछिल्लो कालमा, राजा महेन्द्र (वि.सं. १९७७–२०२८, राज्यकाल वि.सं. २०११–२०२८) ले वि.सं. २०१७ मा विश्वेश्वरप्रसाद कोइराला (वि.सं. १९७१–२०३९) लाई थुन्दा वि.सं. २०२१–२२ तिर उनले जेलमै बसी लेखेको आत्मकथा ‘आफ्नो कथा’ (काठमाडौं : चेतना साहित्य प्रकाशन) वि.संं. २०४० मा प्रकाशित भयो । उनले वि.सं. २०१७ देखि २०२२ सम्म लेखेको डायरी ‘जेल जर्नल’ (ललितपुर : जगदम्बा प्रकाशन) भन्ने नाउँले वि.सं. २०५४ मा र उनको अर्को आत्मकथाचाहिँ गणेशराज शर्मा (वि.सं. १९९३–२०७२) द्वारा संकलित भई ‘आत्मवृत्तान्त’ (ललितपुर: जगदम्बा प्रकाशन) भन्ने नाउँले वि.सं. २०५५ मा छापियो । उनी दोस्रोपटक झ्यालखाना पर्दा वि.सं. २०३३ देखि २०३६ सम्म अङ्ग्रेजीमा उनले लेखेको डायरी सुशील शर्मा (वि.सं. २०१५–२०७७) द्वारा नेपालीमा अनूदित र राजेन्द्र दाहालद्वारा सम्पादित भई ‘फेरि सुन्दरीजल’ (ललितपुर : जगदम्बा प्रकाशन) भन्ने नाउँले वि.सं. २०६३ मा प्रकाशित भयो । मातृकाप्रसाद कोइराला (वि.सं. १९६८–२०५४) को आत्मकथा ‘अ रोल् इन् अ रिभोल्युशन्’ (ललितपुर : जगदम्बा प्रकाशन) भन्ने नाउँले सन् २००८ मा छापियो । हृषीकेश शाह (वि.सं. १९८२–२०५९) को आत्मकथा ‘प्रारब्ध र पुरुषार्थ’ (काठमाडौं : हिमाल किताब) भन्ने नाउँले श्रीभक्त खनालद्वारा संकलित र हरि अधिकारी (वि.सं. २००९ मा जन्म) द्वारा सम्पादित भई सन् २०१४ मा प्रकाशित भयो । बीपीले वि.सं. २००८ देखि २०१३ भित्र अङ्ग्रेजीमा लेखेको डायरी महेश पौडयाल (वि.सं. २०३८ मा जन्म) द्वारा नेपालीमा अनूदित र पदमबहादुर थापाद्वारा सम्पादित भई ‘बीपी कोइरालाको डायरी’ (काठमाडौं : शिखा बुक्स) भन्ने नाउँले वि.सं. २०७६ मा र अङ्ग्रेजीमा लेखिएको मूल डायरीचाहिँ अभि सुवेदी (वि.सं. २००२ मा जन्म) द्वारा सम्पादित भई ‘बी.पी. कोइराला’ज् डायरि : स्टोरि अफ् करेज् यान्ड् फ्रीडम्’ (काठमाडौं : जननायक बी.पी. कोइराला मेमोरियल ट्रष्ट) भन्ने नाउँले सन् २०२० मा छापियो ।

तर काशीनाथ, राममणि, मातृका, विश्वेश्वर र हृषीकेशमध्ये कसैको पनि कृति जस्ताको–तस्तै सारी छपाइएको हो भन्नेमा कुनै ग्यारन्टी छैन । कुनै कुनैमा त सम्पादकको कैंची चलेको छ भन्ने कुरा ‘भूमिका’ बाट स्पष्ट हुन्छ । यसको मतलब, उनीहरू बितिसकेपछि उनीहरूका आफन्त, श्रद्धालु वा वैतनिक सम्पादकले ती कृति जसरी प्रस्तुत गरे, त्यसैलाई अंगीकार गर्नुपर्ने परिस्थिति अहिले छ । दिवंगत ती मानिसहरूका मूल लेख कहाँ कुन अवस्थामा छन् इत्यादिसम्म पनि धेरैजसोमा खुलाइएको छैन ।

माथि नाउँ लिइएका यी ५ जनामध्ये हर दृष्टिले बीपीको व्यक्तित्व उँचो छ भनी भनिरहनु पर्दैन । विक्रमको बीसौं शताब्दी टुंगिन टुंगिन लाग्दादेखि वि.सं. २०३९ मा मृत्यु नहुञ्जेल मात्र होइन, अहिलेसम्म पनि राजकाजको कुरा उठ्नेबित्तिकै चर्चामा आइहाल्ने बीपीलाई कसैले ‘महामानव, जननायक, महानेता’ वा ‘२००७ सालको क्रान्तिका दार्शनिक द्रष्टा’ भनी उचाले पनि कसैले ‘भारतपरस्त नेता’ भनी थचारे पनि ‘प्यारीसँगै जसको लामो रात क्षण झैँ भई बित्छ, त्यसलाई चन्द्रमा शीतल दिन्छन्; विरहीलाई चन्द्रमाले आगोले जस्तै पोल्छन्; हाम्रा प्यारी पनि छैनन्, बिछोड पनि छैन; दुवै कुरा नभएका हाम्रो लेखा त चन्द्रमाको आकार ऐनाको जस्तो छ; यी चन्द्रमाले हामीलाई न त पोल्छन्; न त शीतलै गराउँछन्’ भनी दशौं शताब्दीका संस्कृत कवि राजशेखरले आफ्नो ‘काव्यमीमांसा’ मा लेखे जस्तै, हाम्रो लेखा त बीपी दुर्गृहीत परसंस्कृतिका उपजभन्दा बढी होइनन् । यस्तो भए पनि बीपीको चरित्रले हाम्रो राजकाजमा उहिलेदेखि अहिलेसम्म प्रभाव पार्दै आएकोले उनका कामकार्वाइ, बोलाइ र लेखाइको शास्त्रीय ढंगले परख हुनु जरूरी छ । उनले लेखेर वा बोलेर गएका कुरा जसरी बजारमा आइरहेछन्, तिनबाट शास्त्रीय परख गर्ने काममा ठाउँठाउँमा बाधा परेको मैले अनुभव गरेको छु । यसैले उनका बोलाइ र लेखाइको सम्पादन कसरी हुनुपर्छ भन्ने विषयमा यो लेख कोरिएको छ ।

...

मलाई थाहा भएसम्म, बीपी आफैंले लेखेको वा बोलेको उनको चरित अर्थात् आजभोलिको भाषामा जीवनी र डायरी गरी ६ वटा किताब उनको देहान्तपछि छापिएका छन् । छपाइको कालक्रमअनुसार भन्ने हो भने, तिनमध्ये पहिलो ‘आफ्नो कथा’ (२०४०), दोस्रो ‘जेल जर्नल’ (२०५४), तेस्रो ‘आत्मवृत्तान्त’

(२०५५), चौथो ‘फेरि सुन्दरीजल’ (२०६३), पाँचौँ ‘बीपी कोइरालाको डायरी’ (२०७३) र सबभन्दा पछिल्लो ‘बी.पी. कोइराला’ज् डायरि : स्टोरि अफ् करेज् यान्ड् फ्रीडम्’ (सन् २०२०) हुन् । पुस्तकका माथि दिइएका शीर्षकबाटै थाहा हुन्छ, सबभन्दा पछिल्लो छोडेर सबै पुस्तक नेपाली भाषाका हुन् । नेपाली भाषामा छापिए पनि अघिल्ला ३ पुस्तक मात्र नेपालीका हुन्, चौथो र पाँचौंचाहिँ अङ्ग्रेजीबाट उल्था गरिएका हुन् ।

‘जेल जर्नल’ वि.सं. २०१७ फागुन ४ गतेदेखि २०२२ असार २९ गतेसम्मको डायरी हो । ‘२०३८ साल मङ्सीर १६ गतेदेखि २०३९ जेठ ८ गते सम्मको अवधिमा पटक–पटक गरी’ गणेशराज शर्माले बीपीसँग लिएको टेप–वार्तालाई उनले नै लिपिबद्ध गरी तयार पारिएको कृति नै ‘बीपीको आत्मवृत्तान्त’ हो

(आत्मवृत्तान्त, दोस्रो संस्करणको पुनर्मुद्रण, गणेशराज शर्माको भूमिका, जगदम्बा प्रकाशन, २०५५, च पृ.) । ‘फेरि सुन्दरीजल’ चाहिँ दोस्रोपटक वि.सं. २०३३ पुस १६ गतेदेखि २०३६ वैशाख १४ गतेसम्म जेल पर्दा बीपीले लेखेको डायरी हो । ‘बी.पी. कोइराला’ज् डायरि : स्टोरि अफ् करेज् यान्ड् फ्रीडम्’ भनेको, वि.सं. २००८ वैशाख २५ गतेदेखि २०१३ मङ्सीर २७ गतेसम्मको उनको डायरी हो त ‘बीपी कोइरालाको डायरी’ चाहिँ त्यही डायरीको कमोबेश नेपाली उल्था हो ।

अरूले लेखी छोडेर गएका कृतिको सम्पादन गर्दा लेखकले जसरी आफ्नो कृति छोडेको थियो, त्यसलाई नखलबल्याई जस्ताको–तस्तै प्रस्तुत गर्ने, मूल लेखमा नचली त्यसका गुणदोषको विषयमा आफ्नो तर्फबाट भन्नुपर्ने जति कुरा सम्पादकले भिन्नै लेख्ने परिपाटी पन्ध्रौं शताब्दीमा यूरोपमा भएको विद्यासम्बन्धी पुनर्जागरणपछि बिस्तारै बस्दै गयो । यस्तो पद्धतिलाई अङ्ग्रेजीमा ‘टेक्स्टयुअल क्रिटिसिज्म’ भन्ने चलन छ, त्यसलाई हाम्रो भाषामा ‘मूलपाठको परीक्षा’ भन्न सकिन्छ । यस पद्धतिको कत्ति पनि प्रयोग नगरी बीपीको मरणपछि उनका कृति छापिँदा ठाउँठाउँमा परीक्षकलाई चित्त नबुझ्ने अवस्थाको सिर्जना मात्र नभई बीपीको लेखाइको पनि मरण हुने सम्भावना बढेको छ ।

‘यो टेप–वार्ता मैले २०३८ साल मङ्सीर १६ गतेदेखि २०३९ साल जेठ ८ गतेसम्मको अवधिमा पटक–पटक गरी लिएको हुँ’ (‘आत्मवृत्तान्त’, भूमिका च पृ.) । ‘मैले यसलाई बीपीको मृत्युको ६ महीनाभित्रै अर्थात् २०४० सालको पूर्वार्धमा नै लिपिबद्ध गरिसकेको थिएँ । पहिला जस्ताको जस्तै लिपिबद्ध गरें । दोस्रो पटक त्यसलाई प्रकाशनयोग्य पनि पार्न लिपिबद्ध गरें । टेपमा धाराप्रवाह बोल्दा बीपीले अंग्रेजीका प्रशस्त शब्द र वाक्यहरूको प्रयोग गर्नुभएको थियो । तिनलाई यथावत् प्रकाशित गर्न उपयुक्त हुन्नथ्यो । उहाँको आशय र प्रसंग अनुरूपको नेपाली उल्था जे मैले गर्न सक्थें, गरें । बोल्दै जाँदा कतिपय अधूरो र अर्थ नलाग्ने वाक्यांशहरू प्रयोग भएका थिए । त्यसलाई यथावत् राख्नुको कुनै प्रयोजन थिएन । विषय र प्रसंगअनुसार परिच्छेद र प्रकरणहरू पनि मैले नै छुटयाएको छु । ती सामान्य सम्पादकीय कामबाहेक मैले उहाँका कुराहरूलाई यथावत् राखेको छु’ (उही, छ पृ.) भनी गणेशराज शर्माले लेखेकाले भाषा नै भए पनि जस्ताको–तस्तो उतारिएको रहेनछ भन्ने स्पष्ट हुन्छ । मेरो विचारमा, लेख्ने मान्छे यस संसारमा नरहिसकेपछि उसको कृति छाप्दा ‘कपी एडिटर’ को जरूरत पर्दैन, उसले जे छोडेर गएको छ, त्यसैलाई यथावत् प्रकाश गर्नु नै प्रस्तोताको धर्म हो । सम्पादकको कुर्सीमा विराजमान हुने इच्छा प्रस्तोताको छ भने उसले त्यस पुस्तकमा आफूलाई खट्केका कुरा आफ्नो उपोद्धातमा खुलस्त पार्नुपर्छ, सम्पादकले के–कतिसम्म गर्न सक्छ भन्ने नै नबुझी मूल ग्रन्थमा चलखेल गर्ने काम सम्पादकले गर्नु हुँदैन ।

मरेको मान्छेको लाशसँगै उसको चिना जलाउने वा च्यातेर खोलामा बगाउने परम्परा हामीकहाँ भएकोले र सातौं शताब्दीमा उत्तरभारतका सम्राट् हर्षवर्धनका दरबारिया कवि बाणभट्टले आफ्नो ‘हर्षचरित’ मा लेखे जस्तै, मृतकले उपयोग गरेका वस्तुले आँखा पोल्ने हुँदा सम्झना आउने वस्तु जति परिवारले दानको रूपमा पञ्छाउने प्रवृत्ति भएकोले होला, उनले लेखी छोडेर गएका कृति जोगाउन बी.पी.को परिवार नै गम्भीर नभएको (‘जेल जर्नल’, भूमिका ख–छ पृ., ‘आत्मवृत्तान्त’, भूमिका झ–ञ पृ., ‘फेरि सुन्दरीजल’, भूमिका २ पृ.) र ‘बीपीका त्यस्ता अमूल्य सामग्रीहरू व्यवस्थित तवरले हराएका’ (‘फेरि सुन्दरीजल’, भूमिका २ पृ.) भनी लेख्न गणेशराज शर्मा विवश हुनुपर्‍यो ।

...

अब म यही २ वर्षभित्र छापिएको, उनको डायरीतर्फ एकोहोरिन्छु । त्यस डायरीमा प्रजातन्त्र भएको लगत्तैपछिदेखि वि.सं. २०१३ भित्रका घटना समेटिएको छ । बीपीले अङ्ग्रेजीमा लेखेको त्यस डायरीको नेपाली उल्था छापिएको केही महीनापछि मूल अङ्ग्रेजी छापिएको हो । मूलभन्दा अगाडि उल्था छापिएकोले त्यसैबाट कुरा उठाऊँ ।

अङ्ग्रेजीबाट नेपालीमा उल्था गरिएको ‘बीपी कोइरालाको डायरी’ छापिएर आएपछि त्यस पुस्तकको विषयमा एउटा राम्रो टिप्पणी प्रकाशित भयो । ‘बीपीमाथि मनलाग्दी’ शीर्षक भएको त्यो लेख यादव देवकोटाले ‘अन्नपूर्ण पोस्ट्’ (२०७६।६।४।७, च पृ.)मा छपाएका हुन् । बीपीले तात्कालिक भारतीय राजदूत चन्द्रेश्वर प्रसाद नारायण सिंह (वि.सं. १९५८–२०५१) को चर्चा आफ्नो त्यस डायरीमा ठाउँठाउँमा गरेका छन् । त्यसरी चर्चा गर्दा रोमन लिपिमा लेखिएको, चन्द्रेश्वरको नाउँका अघिल्ला तीन शब्दका पहिलो पहिलो अक्षर ‘सीपीएन्’ बीपीले लेखेकोमा त्यो नबुझी उल्थामा ‘सी’ को अर्थ कम्युनिष्ट, ‘पी’ को अर्थ पार्टी र ‘एन्’ को अर्थ नेपाल सम्झी ‘नेपाल कम्युनिष्ट पार्टी’ भनी अर्थ गरेको यादव देवकोटाले त्यस टिप्पणीमा उजागर गरेका छन् । त्यति मात्र होइन, ‘डायरीको अनुवाद पढ्दा अनुवादकमा रहेको वाक्य निर्माणको योग्यतासमेत स्खलित हुने स्तरमा प्रकट हुन्छ’ भनी वाक्यगठनदेखि मिति बिग्रेको र शब्दहरूमा खेलाँची र अशुद्धि गरेको इत्यादिका केही दृष्टान्त पनि त्यहाँ देखाइएको छ ।

आफ्नै हस्ताक्षरमा बीपीले अंग्रेजीमा लेखेको डायरीको मूल पुस्तक र त्यसको टाइप गरिएको प्रति दिल्लीको नेहरू स्मारक संग्रहालयमा पदमबहादुर थापाले देखेपछि मूल पुस्तकबाट होइन कि टाइप गरेको प्रतिको पनि प्रतिलिपिबाट काम चलाइएको देखिन्छ (‘बीपी कोइरालाको डायरी’, दुई शब्द: २–३ पृ.) । त्यही प्रतिबाट नेपाली उल्था उनले तयार गराएको थाहा हुन्छ ।

पदमबहादुर थापाद्वारा सम्पादित ‘बीपी कोइरालाको डायरी’ र अभि सुवेदीद्वारा सम्पादित ‘बी.पी. कोइराला’ज् डायरि : स्टोरि अफ् करेज् यान्ड् फ्रीडम्’ मध्ये अघिल्लो पुस्तक पछिल्लोको उल्था हो भन्ने कुरा माथि लेखिसकेकोबाट स्पष्ट हुन्छ । यसो भए पनि अघिल्लो सन् १९५१ मे ८ तदनुसार वि.सं. २००८ वैशाख २५ गतेदेखि सन् १९५६ नोभेम्बर १२ तदनुसार वि.सं. २०१३ कार्तिक २७ गतेमा टुंगिएको छ त पछिल्लो सन् १९५१ जनवरी १२ तदनुसार वि.सं. २००७ पूस २८ गतेदेखि शुरू भई सन् १९५६ नोभेम्बर १२ मै टुंगिएको छ । यस्तो देख्दा अघिल्ला झण्डै ४ महीनाका टिपोट नेपाली उल्थामा किन टुटाइए भन्ने प्रश्न उठ्छ ।

नेपाली उल्थाको प्रूफहेराइले ठाउँठाउँमा आँखा बिझाउँछ । ‘प्रथमग्रासे मक्षिकापात’: अर्थात् ‘पहिलो गाँसमै माखा पर्‍यो’ भने जस्तै, डायरीको उठानमै ‘सन् १९५१’ हुनुपर्नेमा ‘सन् १८५१’ हुन गएको छ (२९पृ.) । यस्ता गल्ती बग्रेल्ती छन्, ती सबैलाई यहाँ देखाउन स्थानाभावले सम्भव छैन । गोरखापरिषत्का अध्यक्ष ‘रणधीर सुब्बा’लाई ‘बन्धीर’ लेखिएकोले (८७ पृ.) रोमन लिपिको ‘रन्धीर’ मुद्राराक्षसले अन्यथा भएको हुनुपर्छ ।

मिति दिँदा पनि यसै गरी ठाउँठाउँमा बिग्रेको छ । त्यसका केही दृष्टान्त यस्ता छन्— १९५५ जनवरी ५ लाई हाम्रो मितिमा परिवर्तित गर्दा ‘२१ पुष २०१’ लेखिएकोले (११९ पृ.) र ‘२०११’ को ठाउँमा ‘२०१’, १९५५ मार्च १३, मार्च १४ र १७ लाई हाम्रो मितिमा बदल्दा क्रमश: ‘३० फागुन २०१०’, ‘१ चैत्र २०१’ र ‘४ चैत्र २०१०’ (१२७ पृ.) लेखिएकोले हाम्रो मिति १ वर्षअगाडिको हुन गएको छ । ‘१८ मार्च’ हुनुपर्नेमा ‘८ मार्च’ छापिन गएको छ र तदनुसार हाम्रो मिति पनि बिग्रेको छ (१२८ पृ.) ।

‘उनले कलकत्तामा रहेका ठुल्दाजुलाई फोन गर्नुभयो’ (४८ पृ.) जस्ता वाक्य यहाँ लेखिएको देख्दा यो उल्था नेपाली भाषामा अधिकार नभएको गैरनेपालीभाषीले गरेको हो कि भन्ने देखिन गएको छ । ‘हिजो राति’ को ठाउँमा ‘अघिल्लो राति राजा त्रिभुवनको निधन भयो जुरिकमा’ (१२७ पृ.) जस्ता वाक्य लेख्दा नेपाली भाषामा उचित शब्दको छनोटमा अनुवादक अक्षम देखिन्छन् ।

भुवनकोष अर्थात् आजभोलिको भाषामा भूगोलको राम्रो ज्ञान नभएकोले वीरगञ्जनजीकैको अलौ मूलमा ‘अलौं’ भएको छ त उल्थामा त्यही ‘अलान’ हुन गएको छ ।

यो उल्था ठाउँठाउँमा मूलअनुसारको छैन भन्ने कुरा ‘आई लेफ्ट् बाइ नाइट् ट्रेन् फर् पट्ना’ को उल्था ‘म रेल चढेर पटनातर्फ लागेँ’ (१४३ पृ.) भनेर र ‘आई एम् अरेन्जिङ् फर् द स्टे अफ् सुशीला यान्ड् माइ सन्स् इन् बनारस्’ भएकोमा ‘म सुशीला र मेरो छोरालाई बनारसमा राख्ने प्रबन्ध मिलाउन खोज्दै थिएँ’ (१४३–१४४ पृ.) गरिएकोले स्पष्ट हुन्छ ।

विश्वेश्वरप्रसाद छोटकरीमा ‘बीपी’ भनी बढी प्रसिद्ध भए जस्तै, उनका दाजु मातृकाप्रसाद त्यसै गरी ‘एम्पी’ भनी प्रसिद्ध भए । तर, भाइले दाइको चर्चा गर्दा उनलाई ‘एम्पी’ लेख्दा लेख्दै ‘पी’ छुटाई यहाँ ‘एम’ मात्र लेखिएकोले (१४३ पृ.) उल्थाले भ्रमको सिर्जना भएको छ ।

...

बीपी कोइराला स्मृति ट्रस्टका अधिकारीहरूले अभि सुवेदीलाई मूल डायरीबाट टाइप गरेको प्रतिको जेरक्स प्रति दिँदा उनबाट तिनीहरूले के अपेक्षा गरेका थिए भने ‘यो डायरी भाषा सम्पादन र विस्तृत परिचयसहित तयार गरिदिनुपर्‍यो’ (अभि सुवेदी, ‘बीपी डायरी लकडाउनमा’, ‘कान्तिपुर’, २०७६।१२।२२।७, ६ पृ.) ।

आफूद्वारा सम्पादित बीपीको डायरी प्रस्तुत गर्नुभन्दा अगाडि यस डायरीको विषयमा अभि सुवेदीले ६० पृष्ठ लामो उपोद्घात लेखेका छन् । त्यसको अन्त्यतिर उनले यस डायरीको सम्पादनको विषयमा पनि केही लेखेका छन् । मूल डायरी कहाँ छ भन्ने कुरासम्म पनि उनको लेखाइबाट खुल्दैन । त्यो त, हामीले माथि लेखे जस्तै, ‘बीपीको डायरी’ भन्ने नाउँले छापिएको, यसको नेपाली उल्थाको विषयमा त्यसका सम्पादकले लेखेकोबाट खुल्छ । अभि सुवेदीले पाएको जेरक्स प्रतिबाट फेरि उनका चेलाहरूले टाइप गरेको प्रतिको आधारमा आफूले यो सम्पादन गरेको हो भन्ने कुरा उनले लेखेकोबाट थाहा हुन्छ (‘बी.पी. कोइराला’ज् डायरि’, ५५ पृ.) । यताबाट के बुझिन्छ भने, नेपाली उल्थाका सम्पादकले कमसेकम मूल डायरीको दर्शनसम्म पाएका थिए, त्यो पनि अभि सुवेदीलाई मयस्सर भएन । मूल डायरीको जेरक्सबाट फेरि टाइप गर्दा मूलको सरोटमा तलमाथि परेन भनी भन्न नसकिने होइन ।

यस डायरीको नेपाली उल्थाको दाँजोमा मूलको सम्पादनमा प्रूफसम्बन्धी गल्ती धेरै नै कम छ भनी यहाँनिर भन्नैपर्छ । तैपनि ‘लेफ्ट्’ हुनुपर्नेमा ‘लेट्’ (७२ पृ.), ‘आउस्ट्’ हुनुपर्नेमा ‘आउट्स्’ (८७ पृ.), ‘डू नट्’ हुनुपर्नेमा ‘डोन् नट्’ भएको (१०४ पृ.) भएको छ । ‘घृणा गरिने’ वा ‘मन नपर्ने’ अर्थमा अङ्ग्रेजीमा चलेको फ्रेन्च शब्द ‘बेत् न्वा’ यहाँ स्पेलिङ बिग्रेर बुझ्न गाह्रो भएको (१०४ पृ.) र ‘गान्धी’को स्पेलिङ एउटै पृष्ठमा फरक फरक तवरले बिग्रिएको (११८ पृ.) यसका थप दृष्टान्त हुन् ।

गोर्खा लीगका नेता रणधीर सुब्बा यहाँ ‘रणधीर सिंह’ (७० पृ.) भएकोमा सम्पादकको टिप्पणी आउनुपर्थ्यो । एक ठाउँमा ब्रिटिश दूतावासमा रात्रिभोजमा गएको प्रसंगमा ‘ईभ्निङ् पार्टि याट् द ब्रिटिश् एम्बेसि टु सेलिब्रेट् द क्वीन् एलिजाबेथ्’ (९२ पृ.) पछि यो खण्डवाक्य टुंगिएकोले र रानीको नाउँअगाडि ‘द’ आएकोले नाउँपछाडि केही छुटेको देखिन्छ । मूलमा नै यो छुटेको हो भने सम्पादकको तर्फबाट टिप्पणी आउनु जरूरी थियो । अप्रिल २२ को प्रविष्टिमा पहिलो वाक्यमा ‘सपोर्ट्स्’ हुनुपर्नेमा ‘सपोर्टर्स्’ भएको छ (१४० पृ.) । यो मूलमा नै यस्तो थियो कि प्रूफको गल्ती हो, थाहा भएन ।

मूल डायरीको प्रस्तुतीकरण मूलअनुसारको छैन भन्ने कुरा मानिसहरूका र ठाउँहरूका नाउँ डायरीमा कहीँ पूरै, कहीँ छोटकरीमा लेखिएकोमा यस सम्पादित पुस्तकमा पूरा नाउँ, केहीका जीवनकाल पनि थपिएको छ भनी लेखिएकोले देखिन्छ (उही, ५६ पृ.) । तर, यसरी थप्ने काम कहाँ कहाँ गरियो, त्यो खुलस्त हुनुपथ्र्यो ।

अपूरा वाक्य डायरीमा जसरी छन्, तिनलाई छोइएको छैन भनी उपोद्घातमा लेखिएको छ (५६ पृ.) । त्यस्ता अपूरा वाक्यतर्फ यस सम्पादनले एकनासले औँल्याएको छैन । उदाहरणको लागि, त्यस्तो अवस्थामा कहीँ यस्तो चिह्न ...... मात्र हालिएको छ (८०, ९२, ९६ पृ.) त कहीँ यही चिह्न हाली ‘यस्तै छ’ भनी बुझाउन ‘सिक्’ पनि लेखिएको छ (८६, ९४, १०४, १२० पृ.) । यस्तो चिह्न हाल्दा यतिवटा थोपा हाल्नुपर्ने नियम अन्वेषणपद्धतिमा स्थापित छ, तर यहाँ यस्ता थोपाको संख्या कहीँ बढी, कहीँ कम छ ।

एक ठाउँमा बीपीको लेखाइमा अपोस्ट्रोफी र त्यसपछिको ‘एस्’ अक्षर छुटेको देखाउन ‘सिक्’ लेखिएको छ (८३ पृ.) । भाषाको दृष्टिले हेर्दा बीपीको लेखाइ नमिलेको पक्कै पनि यो एउटा मात्र होइन होला । अन्त कहाँ कहाँ बीपीको भाषा सच्च्याइयो, त्यो खुलाइएको भए यो सम्पादन मूलपाठको परीक्षा गर्नेको लागि उपयोगी हुन्थ्यो ।

अङ्ग्रेजीमा लेखिएको, बीपीको अर्को डायरीको उल्था ‘फेरि सुन्दरीजल’ प्रकाशित गर्दा प्रकाशकको तर्फबाट कमल दीक्षित (वि.सं. १९८६–२०७४) ले लेखेको ‘यसपटक मैले लेख्ने कुरा धेरै छैनन् किनभने, यो डायरी पैलेको जस्तो ‘बीपी’ ले नेपालीमा लेखेको वा बोलेको कृति होइन, अङ्ग्रेजीमा लिपिबद्ध अभिलेख हो । ‘बीपी’ को स्पष्टवादिता, राजनीतिक दूरदर्शिता इत्यादि बारे बोल्ने क्षमता ममा छैन, भाषाका बारेमा बोल्ने यो ठाउँ भएन । किनभने यो प्रकाशन अनूदित सामग्री हो । उहाँको मौलिक अङ्ग्रेजी डायरी पनि प्रकाशित हुँदैछ, जसको सुन्दरताबारे अङ्ग्रेजीविद् कसैले उसै बेला लेख्नेछ’ (प्रकाशकीय १ पृ.) भनी लेखे पनि यस डायरीको सम्पादनमा पनि बीपीको अङ्ग्रेजीको तारीफबाहेक खास अरू केही लेखिएको छैनन् ।

यतिसम्मका कुराबाट दिवंगत मनुष्यका कृतिको सम्पादन गर्न जति सावधान हुनुपथ्र्यो, हाम्रा सम्पादकहरू त्यति सावधान नभएको स्पष्ट हुनुपर्छ । यस लेखले त्यसतर्फ दिङ्निर्देश गर्न सके आगामी प्रकाशन विद्वद्ग्राह्य हुन्थे भन्ने आशा गरी यो लेख यहीँ टुङ्ग्याउँछु ।

प्रकाशित : श्रावण ९, २०७८ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्

प्रलयको पदचाप !

अविनाश श्रेष्ठ

तपाईं–हामीले सोचेको भन्दाअलि फरक शैलीमा आउनेछ प्रलयचुपचाप–चुपचापप्रलयको कतै नसुनिने बहिरो पदचाप !

एक दिन सुन्नुहुनेछ—

समुद्रमा माछा निख्रिएको समाचार

र तपाईं ठान्नुहुनेछ—

सामान्य खबर हो

समुद्रमा माछा जाबो न सकिएका हुन्

अरु सबै त ठीकठाकै छ नि पृथ्वीमा


पृथ्वीमा अझ पनि अक्सिजन सकिएको छैन

पानी सकिएको छैन

अन्न उब्जनी भइरहेकै छ

थोरै संख्यामा भए पनि

हावामा रुखहरुको नृत्य जारी छ

नदीहरुमा पातलिएको छ तर पानी अझै बगेकै छ

मुडुलिएका छन् तर पृथ्वीमा पहाडहरुले पहरा

दिइरहेकै छन्

निकै परपर हुँदै गए पनि

हिमालहरु हाँस्न छाडेका छैनन् अझै


जाबो माछा सकिएर के हुन्छ !

समुद्र त साबिकै छ अहिले पनि

कतै–कतै दह र सिमसारहरुले अझै पनि

आफ्नो पानी–धर्म त्यागेका छैनन्

बादलहरु त उडिरहेकै देखिन्छन् आकाशमा अझै

आकाश त अझ पनि सफा र नीलो छ हामीमाथि

विशाल चँदुवाझैं टाागिएको


कविहरु क्रान्तिका कविता कोरलिरहेकै छन्

कविहरु पर्यावरणका कविता कथिरहेकै छन् अथक

त्यसैले पृथ्वी अझै सुरक्षित छ

तपाईं भन्ठान्नुहुनेछ

...

अनि एक दिन अर्को खबर आउनेछ—

‘अर्काटिक उत्तर गोलार्द्धमा अब

हिउँ बन्न छाडेको छ

दक्षिण अन्टार्कटिका पनि अहिले

हिउँविहीन हुने हिँडाइमा छ सुस्तसुस्त ।’


हामीलाई लाग्नेछ

जाबो कुनै काम नलाग्ने भूभाग हुन् पृथ्वीका

यी उत्तर–दक्षिणका बेकार कुइनेटाहरु

मानवविहीन छन् सुरूदेखि नै ती

हिउँ त्यहाँ जम्न छाड्दैमा दु:खी बनिरहनुको के मतलब ?

पृथ्वीमा नेताहरुका न्याना भाषणहरु चलिरहेकै छन्

चलिरहेकै छन् वैज्ञानिक अनुसन्धानहरु

नयाँ–नयाँ आविष्कारहरु चलिरहेकै छन्

जारी छन् सुदूर अन्तरिक्षका महत्त्वाकांक्षी महँगा अभियानहरु

पृथ्वी पूर्णरुपेण सुरक्षित नै छ


हाम्रो पुस्तामा केही भइहाल्ने होइन

किन चिन्तित हुने हामी व्यर्थैमा


बगिरहेकै छ शीतल फाल्गुनी हावा

वसन्त र शरदले आ–आफ्ना अनुहार

अझै झल्याक्–झुलुक देखाउन छाडेका छैनन्

कथाकारहरु परिकथामाथि ओथारो बसिरहेकै छन्

थामेकै छन् धर्मग्रन्थहरुले झर्को नमानी हाम्रा हात

धमिरा लागेका चिन्तन

अनि लाटो–लठ्ठकै भए पनि

हामीलाई छ समयको शाश्वत् साथ

हामी यति छिट्टै कहाँ मासिन्छौं र !


प्रलय परको कुरो हो, धेरै परको

कथा–कहानी र किंवदन्तीको विषय हो प्रलय

मान्छे रहुन्ज्याल जसरी पनि

रहिरहनुपर्ने नै छ पृथ्वीले

घस्री–घस्री भए पनि मान्छेको सेवा–टहल

गरी नै रहनेछन्— पृथ्वीले... प्रकृतिले...

—भन्ठान्ने गर्छौं हामी

..


अनि यस्तैमा—

एक दिन थालिनेछ पृथ्वीमा

कतै लामा–लामा खडेरीका सुक्खा खित्काहरु !

कतै बेमौसम वर्षातका बहुला बर्बराहटसँगै

बाढी र बर्बादीका हज्जारौं हिक्काहरु !!


हामी निदाइरहेका हुनेछौं चीऽऽसो मोहनिद्रामा

र सुन्न असमर्थ बनिरहनेछौं प्रलयको द्रुतविलम्बित पदचाप ।।

प्रकाशित : श्रावण ९, २०७८ ०८:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×