प्रलयको पदचाप !
तपाईं–हामीले सोचेको भन्दा
अलि फरक शैलीमा आउनेछ प्रलय
चुपचाप–चुपचाप
प्रलयको कतै नसुनिने बहिरो पदचाप !
एक दिन सुन्नुहुनेछ—
समुद्रमा माछा निख्रिएको समाचार
र तपाईं ठान्नुहुनेछ—
सामान्य खबर हो
समुद्रमा माछा जाबो न सकिएका हुन्
अरु सबै त ठीकठाकै छ नि पृथ्वीमा
पृथ्वीमा अझ पनि अक्सिजन सकिएको छैन
पानी सकिएको छैन
अन्न उब्जनी भइरहेकै छ
थोरै संख्यामा भए पनि
हावामा रुखहरुको नृत्य जारी छ
नदीहरुमा पातलिएको छ तर पानी अझै बगेकै छ
मुडुलिएका छन् तर पृथ्वीमा पहाडहरुले पहरा
दिइरहेकै छन्
निकै परपर हुँदै गए पनि
हिमालहरु हाँस्न छाडेका छैनन् अझै
जाबो माछा सकिएर के हुन्छ !
समुद्र त साबिकै छ अहिले पनि
कतै–कतै दह र सिमसारहरुले अझै पनि
आफ्नो पानी–धर्म त्यागेका छैनन्
बादलहरु त उडिरहेकै देखिन्छन् आकाशमा अझै
आकाश त अझ पनि सफा र नीलो छ हामीमाथि
विशाल चँदुवाझैं टाागिएको
कविहरु क्रान्तिका कविता कोरलिरहेकै छन्
कविहरु पर्यावरणका कविता कथिरहेकै छन् अथक
त्यसैले पृथ्वी अझै सुरक्षित छ
तपाईं भन्ठान्नुहुनेछ
...
अनि एक दिन अर्को खबर आउनेछ—
‘अर्काटिक उत्तर गोलार्द्धमा अब
हिउँ बन्न छाडेको छ
दक्षिण अन्टार्कटिका पनि अहिले
हिउँविहीन हुने हिँडाइमा छ सुस्तसुस्त ।’
हामीलाई लाग्नेछ
जाबो कुनै काम नलाग्ने भूभाग हुन् पृथ्वीका
यी उत्तर–दक्षिणका बेकार कुइनेटाहरु
मानवविहीन छन् सुरूदेखि नै ती
हिउँ त्यहाँ जम्न छाड्दैमा दु:खी बनिरहनुको के मतलब ?
पृथ्वीमा नेताहरुका न्याना भाषणहरु चलिरहेकै छन्
चलिरहेकै छन् वैज्ञानिक अनुसन्धानहरु
नयाँ–नयाँ आविष्कारहरु चलिरहेकै छन्
जारी छन् सुदूर अन्तरिक्षका महत्त्वाकांक्षी महँगा अभियानहरु
पृथ्वी पूर्णरुपेण सुरक्षित नै छ
हाम्रो पुस्तामा केही भइहाल्ने होइन
किन चिन्तित हुने हामी व्यर्थैमा
बगिरहेकै छ शीतल फाल्गुनी हावा
वसन्त र शरदले आ–आफ्ना अनुहार
अझै झल्याक्–झुलुक देखाउन छाडेका छैनन्
कथाकारहरु परिकथामाथि ओथारो बसिरहेकै छन्
थामेकै छन् धर्मग्रन्थहरुले झर्को नमानी हाम्रा हात
धमिरा लागेका चिन्तन
अनि लाटो–लठ्ठकै भए पनि
हामीलाई छ समयको शाश्वत् साथ
हामी यति छिट्टै कहाँ मासिन्छौं र !
प्रलय परको कुरो हो, धेरै परको
कथा–कहानी र किंवदन्तीको विषय हो प्रलय
मान्छे रहुन्ज्याल जसरी पनि
रहिरहनुपर्ने नै छ पृथ्वीले
घस्री–घस्री भए पनि मान्छेको सेवा–टहल
गरी नै रहनेछन्— पृथ्वीले... प्रकृतिले...
—भन्ठान्ने गर्छौं हामी
..
अनि यस्तैमा—
एक दिन थालिनेछ पृथ्वीमा
कतै लामा–लामा खडेरीका सुक्खा खित्काहरु !
कतै बेमौसम वर्षातका बहुला बर्बराहटसँगै
बाढी र बर्बादीका हज्जारौं हिक्काहरु !!
हामी निदाइरहेका हुनेछौं चीऽऽसो मोहनिद्रामा
र सुन्न असमर्थ बनिरहनेछौं प्रलयको द्रुतविलम्बित पदचाप ।।
प्रकाशित : श्रावण ९, २०७८ ०८:२२