१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

उत्तम साधना... अन्तिम समाधि !

व्यक्तित्वका हिसाबमा उत्तम थोरै मुस्कानभित्र धेरै सन्तुष्टि लुकाएर राख्ने, गम्भीर स्वभावभित्र चकचके बालक हुर्काइबस्ने, स्थिर भावभित्र बादलझैं भावना चङ्गाझैं उडाइरहने, जीवन र जगत्लाई आध्यात्मिक र दार्शनिक दृष्टिले हेर्ने प्रकृतिका मानिस थिए ।
छ दशकभन्दा लामो उनको कला साधना एउटा जीवनका लागि छोटो होइन । तर, यतिका समयमा पनि उनले आफूभित्र बनेका सबै चित्र रित्याउन पाएनन् ।
अमर न्यौपाने

नेपाल भर्खर आधुनिक चित्रकलामा गति लिँदै गर्दा उत्तम नेपालीले कलायात्रा आरम्भ गरेका थिए । त्यतिबेला उनले परम्परालाई नयाँ शैली र रूप दिए । जस्तो कि पौभा शैली र टुँडालका यौनिकतालाई नवीनतम रूपमा अर्धअमूर्त शैली । ती चित्र यथार्थवादी, आध्यात्मिक र अर्धअमूर्त थिए । उनको मान्यता थियो— परम्परा कहिल्यै पुरानो हुँदैन । त्यसको रूप मात्रै बदलिन्छ ।

उत्तम साधना... अन्तिम समाधि !

हो, परम्परा नदीजस्तै हुन्छ, जो उहिल्यैदेखि समाजमा संस्कृति भएर बगिरहेको हुन्छ । तर, नदीमा बगिरहेको पानी जहिले पनि नयाँ हुन्छ । एउटा असल चित्रकारले परम्परालाई नयाँ रूप दिन नदीसँग सिक्छ । हाँगाहाँगामा वर्षैपिच्छे फूल र पात फेरिरहने रूखसँग सिक्छ ।

०००

परम्पराको नयाँपनको बाटो हुँदै उत्तम अर्ध–अमूर्त अनि अमूर्त चित्रकलातिर लागे । युरोपेली विकास यहाँ हिँडेर आउँछ, तर कलाको प्रभाव उडेर । हिँडेर आउने भएकाले होला, त्यहाँको विकास अझै यहाँ आइपुगेको छैन, तर कलाको प्रभाव उत्तम किशोर हुँदै आएको थियो । युवाअवस्थामै उनलाई पश्चिमी कलाको प्रभाव पर्‍यो ।

कलाको आँखामा आधुनिक कलाको विकास युरोपमा भएको होइन, पृथ्वीमा भएको हो । पृथ्वीमा नेपाल छ । त्यसैले कला प्रकाश हो । कला राजनीतिजस्तो सङ्कुचित हुँदैन, प्रकाशजस्तै व्यापक हुन्छ ।

०००

उत्तम प्रयोगवादी चित्रकार पनि हुन् । उनले अनेक प्रयोग गरे । ३०/४० को दशकमा उनीसहित कृष्ण मानन्धर, वत्सगोपाल वैद्य, इन्द्र प्रधानलगायतका कलाकारले कवि भूपि शेरचनका कवितामाथि चित्र बनाएर कविता र चित्रकलाको माध्यम मात्र फरक हो भन्ने सन्देश प्रवाह गरे । त्यस्तै उनीहरूले विशिष्ट कवितामाथि कला कार्यशाला तथा प्रदर्शनीहरू पनि गरे । उनले कवितामाथि मात्र चित्र बनाएनन्, कविहरूलाई पनि चित्रमा बनाए ।


०५२ देखि ०५६ सालसम्म उनले ६६ जना स्थापित साहित्यिक स्रष्टाको कृतित्व र व्यक्तित्वलाई रङ र रेखामा उतारे । त्यो शैलीमा परम्परागत प्रवृत्ति थिएन । त्यहाँ केही मूर्त, केही अमूर्त शैलीको कोलाज थियो । साहित्य र कलालाई जोड्ने यो उनको महत्त्वपूर्ण सृजनाकर्म थियो । स्रष्टालाई मात्र होइन, स्रष्टाका सृष्टि र दृष्टिलाई पनि चित्रमा उतार्ने उनको साधना ऐतिहासिक थियो ।

जसरी हावाको लयमा बादलले गति लिन्छ, त्यसरी नै उनी सङ्गीतको लयमा रङ र रेखालाई गति दिन्थे उनी । त्यसैले उनको चित्रमा सङ्गीत हुन्छ । सङ्गीत सुन्दै अगाडि साहित्यिक स्रष्टाहरूलाई राखेर उनीहरूको सृजना र जीवनलाई रङमा घोल्दै चित्रपटमा उतार्नु सानो सृजनाकर्म थिएन । यो कर्मले पुष्टि गर्छ— कलासँग मात्र होइन, साहित्यसँग पनि उनको भावनात्मक धमनी जोडिएको थियो ।

साहित्यको भाषा त सबैले बुझ्दैनन् । बुझाउन अनुवाद गर्नुपर्छ । रङ र रेखाको भाषा त खेलकुदको जस्तै सार्वभौम हुन्छ । जसरी खेलको आनन्द संसारका जुनसुकै भाषीले पनि बुझ्न सक्छन्, त्यसरी नै चित्रको भाषा पनि बुझ्न र महसुस गर्न सक्छन् । रङ र रेखाको भाषा सार्वभौम हुन्छ । यत्ति हो, रङ र रेखाको सामान्य व्याकरण भने जानेको हुनुपर्छ ।

प्रकृतिमा विचित्र चित्रहरू छन् । ती रङ र रेखालाई आकार र रङ दिने कार्य सूर्यको प्रकाशले गर्छ । त्यसरी नै चित्रकला सूर्यको प्रकाशजस्तै हो । सूर्यको प्रकाशको आनन्द, जोसुकैले लिन सक्छन् । अनुवभ गर्न सक्छन् ।

उनी प्रकाश र प्रकृतिका रङलाई बुझ्ने र बुझाउन सक्ने क्षमता भएका चित्रकार हुन् ।

०००

ओशोले ध्यानलाई समाधि मानेजस्तै उनले कला साधनालाई समाधि माने । ध्यान छुट्टै अलग तत्त्व होइन । एउटा सङ्गीतकारका लागि सङ्गीतमा डुब्नु समाधि हो । खेलाडीका लागि खेलमा डुब्नु, कलाकारका लागि अभिनयमा डुब्नु, दार्शनिकका लागि दर्शनमा डुब्नु, वैज्ञानिकका लागि आविष्कारमा डुब्नु, र चित्रकारका लागि रङ र रेखामा डुब्नु नै ध्यान समाधि हो । उनी ध्यान समाधिमा पुगेर चित्र बनाउँथे ।

उनले आफ्ना कलामा दैवी आनन्द र रहस्यको खोज पनि गरे । रङलाई अद्भुत, भयानक र बीभत्स तरिकाले होइन, शान्त र सूक्ष्म तरिकाले खेलाए । सूक्ष्म तत्त्व देखिँदैन, तर त्यसभित्र विशाल संसार हुन्छ । यस हिसाबले भन्ने हो भने प्रकृति + प्रकाश + रहस्य + अध्यात्म = उत्तम चित्रकला । त्यसैले उनी प्रकृति र प्रकाशमा अध्यात्म घोलेर जीवन र जगत्लाई चित्रमा उतार्ने चित्रकार हुन् ।

चित्रकला सुरु गर्दा उनको ओठमाथि भर्खर जुँगारेखी बसेका थिए । चित्रकला सँगसँगै जुँगारेखी पनि हुर्किए, बढे, कैयौं पटक काटिँदै फुले । चित्रमा डुब्दाडुब्दै बिहे भयो, सन्तान भए । झन्डै दुई दशकको जागिरे जीवनदेखि प्राज्ञसम्म भए । जे गर्दा पनि उनीभित्र चित्र बनिरहेको हुन्थ्यो । आफूभित्र बनेको चित्रलाई चित्रपटमा बनाउनु नै उनको समाधि थियो । यस हिसाबले उनी हजारौं पटक कला समाधिमा पुगे र निस्किए । यसरी समाधिमा डुब्नु र उत्रनु कलाकारका लागि घाम उदाउनु र अस्ताउनुजस्तै हो । घाम उदाइरहँदैन र अस्ताइरहँदैन । कला सृजना पनि त्यस्तै हो उनका लागि ।

०००

कलाकार उत्तम नेपालीको जीवनले भन्छ— आफूभित्रको इच्छाले कर्म जन्माउँछ ।

उनको पुख्र्यौली पेसा व्यापार थियो । तर, उनी चित्रकार भए । आफ्नै इच्छाको मालिक भए । ८४ वर्ष बाँच्दा साढे छ दशकभन्दा धेरै समय उनले रङ र रेखासँग खेलेरै बिताए ।

उनका बाबु–बाजे लखनउमा व्यापार गर्थे । व्यापार ठूलै थियो— कस्तूरी, केसरलगायत आयुर्वेदिक औषधिहरूको ! नेपाली कोठी भनेपछि लखनउमा धेरैले चिन्थे । थुप्रै कारिन्दा थिए, जसलाई त्यहाँ मुनिमजी भनिन्थ्यो । पसलको नाम थियो– कृष्णप्रसाद तेजबहादुर नेपाली । कृष्णप्रसाद उनको बाजेको नाम ! तेजबहादुर ठूलो बुबाको ।

उनको बाल्यकाल, किशोरकाल र युवावयका तीन वर्षजति लखनउमै बित्यो । तर, उनले पहिलो पटक आँखा खोलेका थिए, काठमाडौंको किलागलमा विसं १९९४ सालमा । पहिलो पटक उनी किलागलमै रोएका थिए र हाँसेका पनि थिए ।

सानो छँदा उनी साह्रै मापाका थिए । चकचक र उट्पट्याङ गरिरहन्थे । आफ्नो जिद्दी पटक्कै छोड्दैनथे । त्यही एकोहोरो र जिद्दी स्वभावले नै बाबुसँगसमेत विद्रोह गरेर उनी चित्रकार बने ।

सानैदेखि उनलाई आफ्ना बाबु–बाजेले गर्दै आएको व्यापारमा रुचि थिएन । तर, उनका बुबाले व्यापार नै गरोस् भन्ने चाहन्थे । किनभने त्यतिखेर चित्रकारीलाई हेय भावले हेरिन्थ्यो । तैपनि उनले बाबुको इच्छालाई अस्वीकार गरे, ‘म तराजु समाउँदिनँ ।’ मनमनै भने– म कुची समाउँछु ।

त्यतिखेर उनले गरेको कुची समाउने निर्णयले नेपाली आधुनिक चित्रकारीलाई नै नयाँ मोड र आयाम थपिदियो ।

०००

उनको परिवारमा चित्रकारी गर्ने उनी पहिलो व्यक्ति थिए । उनका बुबा विष्णुप्रसाद कर्माचार्यको चित्रकलाप्रति सम्मानभाव थिएन– तल्लो वर्गका मानिसहरूले गर्ने कर्म हो भन्ठान्थे ।

स्कुलको पढाइ सकेपछि उनले कलेजमा चित्रकारीको पाँचवर्षे कोर्स पढ्न चाहे । कलेजको आवेदन फारममा अभिभावकको हस्ताक्षर चाहिन्थ्यो । उनका बुबा हस्ताक्षर गर्न तयार थिएनन् । आमा रत्नादेवी भने उनको पक्षमा थिइन्, ‘तिमीलाई जे रुचि छ त्यही गर ।’

आमालाई लेखपढ गर्न आउँथेन । आवेदन फारममा कसरी हस्ताक्षर गर्ने ? एक दिन आमाले नै उपाय सुझाइन्, ‘मुनिमजीहरूलाई सही गराऊ न ।’

मुनिमजीहरू भनेका उनको व्यापारमा काम गर्ने एकाउन्टेन्ट कारिन्दाहरू । उनले आमाले भनेझैं गरे र लखनउको ‘कालीचरण इन्टर कलेज’ मा भर्ना भए । भर्ना भइसकेपछि भने उनका बुबाले रोकतोक गरेनन्, तर तीन–चार वर्षसम्म राम्रोसँग बोलेनन् ।

विसं २०१४ सालमा नेपाल आएर उनका बुबाले उनको नेवारी परम्पराअनुसार मागी विवाह गरिदिए । उनले केटी देखेका थिएनन् ! केटीले पनि उनलाई देखेकी थिइनन् । उनका बुबाले केटी हेरेर भनेछन्, ‘यत्तिको केटी भए मेरा छोरालाई हुन्छ ।’

केटीका बुबाले पनि उनलाई हेरेर भनेछन्, ‘यत्तिको केटो भए मेरी छोरीलाई पाल्छ ।’

उनी २० वर्षका थिए, उनकी दुलही १५ वर्षकी ।

उनको पुख्र्यौली घर किलागलबाट कुपण्डोल जन्ती गए । जन्ती जाँदा उनी बाजागाजासहित कालो कारमा धेरै नै जन्ती लिएर तामधामका साथ गए ।

दुलही मन्दिराका साथीहरूले उनलाई जिस्काउँदै झ्यालबाट हेरेर भने, ‘ऊ तिमीलाई लिन तिम्रो दुलहा आए, कति राम्रो कालो कार चढेर ।’

अर्की साथीले भनिन्, ‘आहा ! कति राम्ररी बाजा । हेर त, कति राम्ररी बजाइरहेछन् ।’

मन्दिराका साथी र आफन्तहरू कसैले दुलहीका लुगा लगाइदिए, कसैले गहना, कसैले सिंगारपटार गरिदिए । किशोरी मन्दिराले त दुलहाको कल्पना गरेकी पनि थिइनन् । उनी त राम्रो लुगा र महँगा गहना लगाउन पाएर कताकता खुसी पो भएकी थिइन् !

त्यही दिनदेखि मन्दिराले उत्तम र उनको घर सम्हाल्न थालिन् ।

एक दिन उत्तमले मन्दिरालाई भने, ‘जस्तो मैले सोचेको थिएँ, त्यस्तै दुलही पाएँ । धेरै नपढे पनि तिमी व्यावहारिक छौ । तिमी देखेर म असाध्यै खुसी छु ।’

मन्दिराले ४ कक्षा मात्र पढेकी थिइन् ! उनी कलामा स्नातक ।

बिहे भएको एक वर्षछि ०१५ सालमा उनले मन्दिरालाई लखनउ लिएर गए । तर, एक वर्षभन्दा बसेनन् । ०१६ सालमा सपरिवार नेपाल फर्के । उनलाई लखनउ बस्नै मन लागेन । आफ्नै देशमा आएर आफ्नो कला देखाउन मन लाग्यो ।

उनी आएपछि केही वर्षमा त उनका बुबाहरू सबै नेपाल आए । उनकै आगमनले सबैलाई तान्यो । अहिले उनको परिवारका कोही सदस्य त्यहाँ छैनन् ।

नेपाल आएर उनी हुलाकमा टिकट डिजाइनरको जागिरे भए । तर, उनलाई नेपाली बोल्न आउँदैनथ्यो । हिन्दी र अङ्ग्रेजी मात्र आउँथ्यो । आफ्नै मातृभाषा नेवारीसमेत आउँथेन ।

बिस्तारै नेपाली भाषा सिक्न थाले । उनले नेपाली बोलेको सुनेर उनका साथीहरू हाँस्थे । साथीहरूले हिन्दी बोलेको सुनेर उनी हाँस्थे ।

तीन–चार वर्षमा त नेपाली र नेवारी दुवै भाषामा पोख्त भए । घरपरिवारमा नेवारीमै बोल्ने र बाहिर नेपालीमा बोल्ने नियमै बनाए ।

०१८ सालमा पहिलो चित्रकला प्रदर्शनी गरे, सरस्वती सदन रानीपोखरीमा । त्यो प्रदर्शनी भव्य भएको थियो । राजा महेन्द्रले उद्घाटन गरेका थिए र उनका तीनवटा पेन्टिङ किनेका थिए ।

घर–व्यवहारको सम्पूर्ण जिम्मेवारी मन्दिराले सम्हालिन् । उनले चित्रकला सम्हाले । सङ्गीतमा डुब्दै चित्रमा पौडन्थे । क्लासिकल गीत बजाउँदै सङ्गीतको तालमा पेन्डिङ बनाउँथे । कहिले त तीन–चार महिनासम्म गुप्तबास बसेर काम गर्थे ।

चिया र चुरोटका लती, चित्र बनाइरहँदा साधनामा बाधा पुग्ला भनेर मन्दिरा उनको समीपमा अलक्क चिया राखिदिन्थिन् । चियाको लती भए पनि चिया बिर्सेर उनी चित्रमा डुबिरहेका हुन्थे । चित्र बनाइसकेपछि चिया देख्थे । चिया चिसिइसकेको हुन्थ्यो । उनी रङमा डुबिरहेको बेला कहिले त चियामा माखा डुबिइरहेको हुन्थ्यो । रङमा डुब्दा उनलाई नयाँ जीवन पाएजस्तो हुन्थ्यो, चियामा डुब्दा माखाले भने जीवन गुमाएको पत्तै हुँदैनथ्यो । यसबाट थाहा हुन्छ— उनमा चियाभन्दा चित्रको नशा कति धेरै रहेछ । यस्तो धेरै पटक भयो ।

यसरी उनी एकातिर कलाको संसारमा उड्दै थिए र अर्कोतिर मन्दिराको संसारमा हिँड्दै थिए । चित्र बनाउँदा–बनाउँदै कहिलकाहीँ मन्दिरालाई भन्थे, ‘नजिकै बस न ।’

मन्दिरा नजिकै बस्थिन् । उनी भन्थे, ‘हेर, म कसरी चित्र बनाउँछु !’

मन्दिरा प्रेमपूर्वक हेर्थिन् । मूर्त कला भए कतै कपाल मिलेन, कतै आँखा मिलेन भनेर सुझाव पनि दिन्थिन् । तर, अर्ध–अमूर्त र अमूर्त चित्रकला भए चुपचाप हेरिरहन्थिन्, तर बुझ्थिनन् । नबुझे पनि राम्रो लाग्थ्यो ।

०००

उनको जीवनको अर्को आयाम हो, अभिनय । उनी सूचना विभागमा जागिरे हुँदा सरकारको तर्फबाट विभागले ‘आमा’ फिल्म बनाउने भयो । उनले खलनायकको भूमिकामा खेले र नेपाली फिल्मको पहिलो खलनायक बने । विभागले नै बनाएको अर्को फिल्म ‘हिजो आज र भोलि’ मा भने सानो भूमिका मात्रै गरे । त्यसपछि अभिनय गरेनन् ।

उनको जीवनको अर्को आयाम हो– कविता, गीत र भजन । जसरी उनको चित्रमा लत थियो, त्यसरी नै लेखनमा पनि । कागज देख्यो कि लेखिहाल्ने उनको बानी थियो । चुरोट खाएर त्यसको खोलमा समेत उनले खुब लेखे । पहिले–पहिले फुलमार चुरोटको खोलमा लखे । यतिसम्म कि ट्वाइलेट जाँदा पनि कागज लिएर जान्थे र लेख्दै बस्थे । कवितासङ्ग्रहका अतिरिक्त उनले थुप्रै गीत र भजन लेखेका छन्, जुन रेकर्ड पनि भएका छन् । २०६१ सालमा ‘उत्तम नेपालीका कविताहरू’ नामक कवितासङ्ग्रह प्रकाशित भएको थियो, जहाँ उनका बिना शीर्षकका कविताहरू छन् ।

०००

कलाकार मात्र होइन, साहित्यकार र गायक–गायिकासँग पनि उनको गहिरो मित्रता थियो । कतिपयसँग पारिवारिक सम्बन्ध नै थियो । सँगै खाने, पिउने, घुम्ने र सुखदु:ख साट्ने साथीहरू ! भूपी शेरचन, भीमदर्शन रोका, नारायणगोपाल, शंकर लामिछाने, धु्रवचन्द गौतम, तुलसी दिवस आदिसँग उनको गहिरो सम्बन्ध थियो ।

नारायणगोपालसँग त उनको तँ–तँ र म–मको मित्रता थियो । किलागलमा रहँदा साँझ परेपछि सँगै पिउने साथी । आफू गीत र कविता पनि लेख्ने हुँदा कुरैकुरामा उनले नारायणगोपाललाई भनेछन्, ‘ओइ नारान, मेरो गीत पनि गा न ।’

नारायणगोपाल पनि एक नम्बरको हठी मान्छे । प्याच्च भनेछन्, ‘म तेरो गीत ज्यान गए गाउन्नँ ! कहिल्यै गाउन्नँ ।’

सुरुमा त उनलाई साथीले यसै भनेको जस्तो लागेछ । तर, नारायणगोपालले त साँच्चै भनेका रहेछन् । कहिल्यै उनको गीत गाएनन् ।

०००

पुख्र्यौली थलो छोडेर पछि उनी महाराजगन्ज सल्लाघारीमा बसाइँ सरे । त्यहाँ उनले झन्डै दुई रोपनी जमिनको माझमा आफैंले डिजाइन गरेर घर बनाए । परिवारमा प्रेम र हार्दिकता भरिएको थियो ।

पत्नी मन्दिरासँग उनको कहिलेकाहीँ ठाकठुक पथ्र्यो । घर–व्यवहारमा उनको यतिसम्म बेवास्ता थियो कि मन्दिराले एउटा खसी नै कसैलाई दिए पनि उनलाई थाहा हुन्थेन । उनी आफ्नै धुनमा हुन्थे । मन्दिरालाई भने कहिलेकाहीँ घरव्यवहारमा पनि चासो राखिदिए हुन्थ्यो भन्ने लाग्थ्यो । पछिपछि त स्वभाव नै यस्तै हो भनेर चित्त बुझाउँथिन् ।

छोराछोरीहरू उनीसँग जुनसुकै विषयमा पनि छलफल र बहस गर्थे । रमाइलो र हँसिमजाक गर्थे । विशेषगरी छोरीहरू ममता र प्रकृति खुब खुल्थे र खेल्थे ।

सानो छँदा दुवै छोरी बिहान ब्युँझनेबित्तिकै एकछिन बुबासँग सुत्न जान्थे । बुबासँग एकछिन टाँसिएर सुतेपछि मात्र छोरीहरूको निद्रा पुग्थ्यो ।

कान्छी छोरी प्रकृतिले त मुड भन्ने कुरा नै बुबाबाट सिकिन् । केटाकेटी हुँदा पनि बुबा चित्र बनाउने मुडमा डुबिरहेका बेला बाधा पुग्ला कि भनेर नजिकसमेत जान्थिनन् ।

दुई छोरा– उद्यम र सुद्यम । दुई छोरी– ममता र प्रकृति । उद्यम र प्रकृति नेपालमै छन् भने सुद्यम र ममता अमेरिकामा । जेठी छोरी ममता कवि पनि हुन् । उनको कविताका पुस्तकहरू प्रकाशित छन् । उत्तम बेलाबेला छोराछोरीकोमा बस्न अमेरिका गइरहन्थे ।

आजसम्म उनका २५ वटा एकल चित्रकला प्रदर्शनी भइसकेका छन् भने नेपालको प्रतिनिधित्व गरेर विभिन्न देशमा उनको चित्रकला प्रदर्शनी भएको छ । २०३१ सालमा उनले राष्ट्रिय कला–प्रदर्शनीमा प्रथम पुरस्कार पाएका थिए भने २०५५ सालमा राष्ट्रिय पृथ्वी पुरस्कार पाएका थिए । उनी विसं २०५२ बाट ०५६ सम्म तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भए ।

०००

उमेर, अनुभव, अध्ययन र समयअनुसार उनको शैली बिस्तारै परिवर्तन हुँदै गएको देखिन्छ । उनी स्थिर भावका व्यक्ति भएकाले परिवर्तनको गति तीव्र भने थिएन ।

व्यक्तित्वका हिसाबमा उनी थोरै मुस्कानभित्र धेरै सन्तुष्टि लुकाएर राख्ने, गम्भीर स्वभावभित्र चकचके बालक हुर्काइबस्ने, स्थिर भावभित्र बादलझैं भावना चङ्गाझैं उडाइरहने, जीवन र जगत्लाई आध्यात्मिक र दार्शनिक दृष्टिले हेर्ने प्रकृतिका मानिस हुन् ।

छ दशकभन्दा लामो उनको कला साधना एउटा जीवनका लागि छोटो होइन । तर, यतिका समयमा पनि उनले आफूभित्र बनेका सबै चित्र रित्याउन पाएनन् । सायद कसैले पनि पाउँदैनन् । त्यसैले यो चोलाबाट बिदा लिँदा मानिसले धेरै कुरा दिएर मात्र होइन, लिएर पनि जान्छ । पुनर्जन्मका बारेमा म केही जान्दिनँ र हुन्छ कि हुँदैन त्यो पनि जान्दिनँ, तर यदि पुनर्जन्म हुन्छ भने फेरि उनी चित्रकार नै भएर जन्मिनेछन् । किनभने यो जुनीमा रित्याउन नसकेको आफूभित्रका चित्रहरूलाई उनले अर्को जुनीमा रित्याउनेछन् ।

(शनिबार प्रकाशन हुने कान्तिपुरको प्रिन्ट संस्करण ‘कोसेली’बाट ।)

प्रकाशित : श्रावण ८, २०७८ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?