कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अलमलिएकी इन्द्रमाया

बीपी कोइरालाको क्लासिक हो– तीन घुम्ती । प्रकाशनको ६ दशक बितिसक्दा पनि ‘तीन घुम्ती’ की प्रमुख पात्र ‘इन्द्रमाया’ चर्चित छिन् । विश्लेषक–समालोचकले इन्द्रमायाको व्यक्तित्व खुब केलाए, तर उनी पूरै उजागर भइसकेकी छैनन् । त्यो चरित्र असाध्यै जटिल छ । ‘कोसेली क्लासिक’ मा यस पटक बीपी स्मृति–दिवस (साउन–६) को सन्दर्भमा ‘इन्द्रमाया’ माथिको विमर्श प्रस्तुत छ :
रुचि श्रेष्ठ

आफूले जीवनमा गरेका मात्र तीनवटा निर्णयले नारीत्वको महासागरबाट जीवन संघर्षलाई अलग तुल्याएर ‘अस्तित्वबोध’ गराएको विषय स्वीकार गरे पनि आफ्ना जीवनका अनुभूतिलाई ‘असाधारण’ भन्दिनन् इन्द्रमाया । आफ्नो अस्तित्वबोधले उनलाई कसरी नारीत्वको भूमिकाबाट अलग गरायो ? हो के यो नारीत्व ? के हो अस्तित्व ? गजबको जटिल जीवन छ इन्द्रमायाको ।

अलमलिएकी इन्द्रमाया

पैंतालीस वर्ष पुगेपछि इन्द्रमाया आफ्नो यौवनका भोगाइ र त्यस क्रममा आफूले लिएका निर्णयहरूको औचित्य स्थापित गर्न खोज्छिन् । ती निर्णयले निम्त्याएका संगति–विसंगतिसँगै अस्तित्वबोधको आफ्नो यात्रालाई एकपल्ट फर्केर हेर्छिन् इन्द्रमाया । तीन घुम्ती, उनले जीवनमा लिएका तीन महत्त्वपूर्ण निर्णयको दस्तावेज बनेको छ ।

‘तीन घुम्ती’ बीपी कोइरालाको औपन्यासिक प्रस्तुति हो, जसको मुख्य चरित्र ‘इन्द्रमाया’ नेपाली वाङ्मयमा बहुचर्चित छिन् । प्रकाशनको छ दशक बितिसक्दा पनि साहित्यका विश्लेषक र समालोचकलाई ‘तीन घुम्ती’ की इन्द्रमायाको चरित्रले अत्यधिक आकर्षित गरेको छ । उनीहरूले सुन्तलाको केस्रा छोडाएझैं छोडाएर हेरेका छन् इन्द्रमायाको ब्यक्तित्वलाई । तैपनि, त्यो व्यक्तित्व पूरै उजागर हुन सकेको छैन । ‘केही त अझै बाँकी छ’ – इन्द्रमायाको चरित्र निर्माणमा कसैले पनि पूर्णता भेटेको देखिँदैन । उनको चरित्र जटिल छ । र, यसैमा आकर्षण पनि छ । उनले लिएका साहसिक निर्णय र ती निर्णयले निम्त्याएका परिस्थितिलाई आत्मसात् गरेको पनि वर्षौं बितिसकेको छ । तैपनि यस्तो लाग्छ, इन्द्रमाया अस्तित्वबोधको यात्रामा कतै अलमलिएकी छन् ।

सत्र–अठार वर्षकी इन्द्रमाया जातीय, वर्गीय र राजनीतिक विभेदबाट किञ्चित् विचलित नभई पीताम्बरको प्रेममा मन्त्रमुग्ध हुन्छिन् । आफ्नो परिवार, गाउँ र समाज त्यागेर पीताम्बरलाई पतिका रूपमा अपनाउँछिन् । यो उनको जीवनको पहिलो महत्त्वपूर्ण निर्णय थियो । सत्र–अठारको उमेर जति चञ्चल हुन्छ, उति नै ऊर्जावान हुन्छ, काँचो माटोजस्तै । काँचो माटोले बनाएको आकृति बिग्रिने डर जति हुन्छ, त्यसबाट कलात्मक कृति बनाउन सकिने सम्भावना कैयौं गुना बढी हुन्छ ।

यो उमेरमा भएको प्रेमको अनुभूतिले व्यक्तिको भविष्यका सम्बन्धहरूमा, प्रेमदृष्टिको निर्माणमा प्रत्यक्ष, अप्रत्यक्ष रूपमा जीवनपर्यन्त गहिरो प्रभाव पारिरहन्छ । त्यही उर्बर उमेरमा स्वीकार गरेको प्रेमिका र पत्नीको भूमिकालाई आदर्श स्वरूप दिन त्यो उमेरले भ्याउनेसम्मको बुद्धि प्रयोग गर्न कुनै कसर बाँकी राख्दिनन् इन्द्रमाया ।

इन्द्रमायाले आत्मसात् गरेको आदर्श प्रेमिकाको छविको प्रेरक स्रोत साथीहरूसँग थिएटरमा हेर्ने गरेका रोमान्टिक सिनेमा हुन्छन् । आदर्श प्रेमिकाका रूपमा अन्तरमनले वरण गरेको पुरुषलाई तनमन सुम्पिएर, बिनाकुनै द्विविधा, एक आदर्श पत्नीको भूमिका उनले पुराण कथाबाट आफूमा उतारेकी थिइनन् । परिवार र आफ्नो समाजले बहिष्कार गरे पनि पीताम्बरको समाजमा इन्द्रमाया र उनको निर्णयको सम्मान थियो । उनले चाहेअनुरूप उनको आदर्श पहिचान बनेको थियो । राजनीतिक कार्यकर्ताका रूपमा स्थापित व्यक्तित्व पीताम्बरको क्रान्तिकारी वृत्तमा उनी पनि एक क्रान्तिकारीकै रूपमा चिनिएकी थिइन् । आफ्नो प्रेम गर्ने स्वतन्त्रता र अधिकारका लागि परिवार र समाजसँग विद्रोह गरेर पीताम्बरसँग समाहित हुन आएकी समर्पित प्रेमिका थिइन् इन्द्रमाया ।

पीताम्बरसँग बिहेपछिको नयाँ परिस्थितिमा उनी आफूलाई सन्तुष्ट, सुरक्षित र सशक्त महसुस गर्न थालेकी थिइन् । आफ्ना बाबुले ‘मेरा लागि इन्द्रमाया मरेतुल्य भई’ भन्दा पनि उनी विचलित भइनन् । उनका साथीहरूका आमा–बाहरूले ‘ऊ बेश्या भई, भेट्न नजानू’ भनेको थाहा पाउँदा पनि उनले रत्तीभर अपमानित महसुस गरिनन् । गजबको ऊर्जा र साहस हुन्छ प्रेमको आवेगमा । प्रेरणा जहाँबाट मिलोस्, प्रेमको भावुक र कामुक स्वभावको प्रभावमा परेको कुनै पनि सामान्य मानिसले जीवनमा असामान्य छलाङ लगाउन सक्छ ।

पत्नीको अवतारमा परिणत हुनासाथ इन्द्रमाया पारम्परिक गृहिणीको भूमिकामा लुटपुटिन पुग्छिन् । घरमा दिनहुँ राजनीतिक बहस र छलफल भइरहँदा, योजना बनिरहँदा इन्द्रमायाको समय पतिको सेवा र पाहुनाको सत्कारमै सीमित हुन्छ । यदाकदा, राजनीतिक बहसहरूमा भाग लिए पनि उनको सहभागिता मनोरञ्जनका कुराकानीसम्म सीमित रहन्छ । उनी आफूलाई एउटा आदर्श पत्नीको भूमिकामा स्थापित गर्न तल्लिन रहन्छिन् । यो आचरणका लागि उनलाई न कसैले आग्रह गरेको हुन्छ, न दबाब नै दिएको हुन्छ । उनका लागि पत्नीधर्म–पतिका हरेक आकांक्षा र आवश्यकता पूरा गर्नु–सर्वोपरि हुन्छ । चाहे त्यो भान्सा कोठामा होस वा शयनकक्षमा । उनका लागि प्रेम, अनुराग, उत्साह, उत्सर्ग सबै विषय पतिसेवाबाट सुरु भएर पतिसेवामै टुंगिन्छ । यति गर्दागर्दै पनि, वैवाहिक जीवनक्रममा इन्द्रमायालाई लाग्न थाल्छ– एउटा पुरुषलाई नारीको भन्दा एउटा नारीलाई पुरुषको खाँचो बढी हुन्छ । उनी कसरी यो निष्कर्षमा पुगिन् ? बुझ्न गाहो छ ।

राजनीतिक आन्दोलनका क्रममा पीताम्बर जेल गएपछि इन्द्रमायाको स्वाभाविक सम्बन्ध पीताम्बरको साथी रमेशसँग हुन्छ । यही क्रममा इन्द्रमायातिर लहसिन्छ रमेश । इन्द्रमायामा पनि रमेशप्रतिको आकर्षण बढ्न थाल्छ । दिनहरू बित्दै जाँदा यो आकर्षण भावनात्मक घनिष्ठता र शारीरिक निकटतामा परिणत हुन्छ । रमेशप्रतिको आकर्षण, आत्मीयता, त्यो सम्बन्धमा इन्द्रमायाले महसुस गरेको अपूर्व आनन्द र कामुकतालाई हेर्दा लाग्छ, हो इन्द्रमायालाई पुरुषको आवश्यकता बढी थियो ।

रमेशसँगको शारीरिक सम्बन्धले इन्द्रमायाको यौन अनुभूतिमा नयाँ आयाम थपिदियो । पीताम्बरसँग विवाहपछि आदर्श पत्नीको भूमिकामा दबेको उनको यौन उत्कण्ठा कामुक प्रेमिकाको रूपमा जुर्मुराउन थाल्यो । रमेशसँगको सहवासमा उनी कर्तव्यपरायण पत्नी नभई कामुक, उन्मत्त र स्वच्छन्द प्रेमिका हुन पुगिन् ।

इन्द्रमाया एकैसाथ रमेशबाट पाएको सुखमा आनन्दित र पीताम्बरको सम्झनामा विचलित हुन थाल्छिन् । एउटा समर्पित पत्नी परपुरुषसँगको सम्बन्धमा विचलित हुनु त्यति अस्वाभाविक होइन । तर, त्यही सम्बन्धबाट पाएको सुख र यौन तृप्तिलाई आफ्नो हक मानेर त्यसलाई आत्मसात् गर्न सक्नु कम साहसिक कुरा थिएन । जीवनका अन्तर्द्वन्द्वलाई आत्मज्ञानले पराजित गर्नुभन्दा कम साहसिक विषय थिएन यो । यो थियो इन्द्रमायाको जीवनको दोस्रो घुम्ती ।

इन्द्रमायाले रमेशको आग्रह स्वीकार गर्नु न स्वतःस्फूर्त कदम थियो, न त्यो फाइदा, बेफाइदाको नापतौल गरेर लिएको दूरदर्शी निर्णय थियो । उनले केवल आफ्नो अन्तर्मनको आवाजमा सत्य खोज्ने कोसिस गरेकी थिइन् । त्यो सत्य न पीताम्बरका लागि थियो, न रमेशका लागि, न समाजकै लागि थियो । उनको त्यो सत्यको खोज आफ्ना लागि थियो । यही नै इन्द्रमायाको सबैभन्दा सशक्त पक्ष हो । यसबेला लाग्छ, इन्द्रमायाको चेतनाले ठूलो फड्को मार्दै छ । लाग्छ, उनका एकालापले मानव प्रकृतिको त्यो सूक्ष्म, संवेदनशील र जटिल पाटोलाई उघार्न गइरहेको छ, जहाँ सबै विचार तर्कशून्य हुनेवाला छ । तर, त्यो तर्कशून्य अवस्थामा पनि उनको अन्तर्मनको द्वन्द्व रोकिँदैन– इच्छा र आदर्शबीचको द्वन्द्व । रमेशप्रति कामुक र पीताम्बरप्रति समर्पणबीचको द्वन्द्व । उनका तर्कले आफ्ना व्यग्र चाहनाको औचित्य खोजिरहन्छन् ।

इन्द्रमायामा स्वनिर्णय लिन सक्ने सामर्थ्य छ । आफ्नै विचार र भावनाको खण्डन गर्न सक्ने तार्किक क्षमता छ । आफूले लिएको निर्णयप्रति जवाफ दिने दायित्व वहन गर्न सक्ने साहस पनि छ । तर पनि, कताकता उनको ब्यक्तित्व खुम्चिएको छ । अस्तित्वबोध छायामा परेको छ । अस्तित्वबोधको उनको यात्रा अधुरो लाग्छ । इन्द्रमाया नारीत्वको पूर्णता मातृत्व र पत्नीत्व दुवैको प्राप्तिमा मात्रै देख्छिन् । अस्तित्व खोजको आफ्नो यात्रामा नारीत्वको पूर्णानुभूति गुमाएको महसुस गर्छिन् । उनको बुझाइको नारीत्व पूर्णरूपले पुरुष पात्रमा आश्रित छ । पतिसँगको सम्बन्धबाट बच्चा जन्माउँदा जुन नारी सम्मानित हुन्छिन्, त्यही नारीले मात्रै पुरुषसँगको सम्बन्धबाट बच्चा जन्माउँदा उनको नारीत्व गुम्छ । कस्तो नारीत्वमा अलमलिएकी इन्द्रमाया !

रमेशसँगको अनुरक्ति उनको आत्माको माग थियो । शारीरिक संसर्गभन्दा पहिले नै रमेशलाई उनले आत्मैदेखि चाहेकी, अपनाएकी थिइन् । रमेशको आग्रह स्विकार्नुपूर्व उनको यही तर्क थियो– शरीरले प्रेम नगरे पनि हृदयले स्वीकार गरेको छ ! जब हृदयले स्वीकार गरेको छ भने शरीर टाढा रहनुको अर्थ छैन । त्यही सम्बन्धले उनको प्रेम अनुभूतिलाई पूर्ण र सन्तुष्ट बनायो भने पीताम्बरको आगमन हुनासाथ कसरी उनको मनोदशामा आकस्मिक परिवर्तन आयो ? कसरी उनी उही पहिलेकै समर्पित पत्नीको चोला ओढ्न तयार भइन् ?

सत्यनजिक पुगिसकेपछि तर्कले खण्डन गर्न खोज्नु सत्यदेखि टाढा भाग्न खोज्नु हो । मानौं, उनले चाहेअनुरूप उनी पीताम्बरकी पत्नी भएर बसेकी भए शयनकक्षमा के फेरि उही कर्तव्यपरायण सेविकाको भूमिका अपनाउन सक्थिन् ? अथवा, अब उनमा पीताम्बरप्रतिको भक्ति र प्रेम–अभिव्यक्तिलाई कामुकताले समृद्ध बनाउन सक्ने साहस थियो ? इन्द्रमायाको हकमा त्यो दुवै सम्भव थिएन । उनले भावना र व्यक्तिको देवत्वकरणबीचको फरक ठम्याउन सकिनन् । उनले पतिको देवत्वकरण गरेर आफूलाई पत्नीको रूपमा स्थापित गर्न चाहिन् । छोरी लिएर पीताम्बरसँगको वैवाहिक जीवनलाई निरन्तरता दिन चाहनु ‘नारीत्व’ प्राप्तिको इन्द्रमायाको अभिलाषा हुन सक्छ ।

रमेशसँग प्रेम र यौनसम्बन्ध नहुँदो हो त सायद इन्द्रमायाले पीताम्बरबाट कहिल्यै गर्भधारण गर्न सक्दिनथिन् । रमेशको वैवाहिक सम्बन्धमा धेरै सन्तान जन्मिए भने इन्द्रमायाले छाडेर गएपछि पीताम्बरले दोस्रो बिहे गरेको निकै वर्ष बितिसक्दा पनि कुनै सन्तान भएनन् । पीताम्बरकी पतिव्रता भएर निःसन्तान रहेकी भए के इन्द्रमायाले आफू निःसन्तान हुनुको कारकतत्त्व पीताम्बर हुनुपर्छ भनेर सोच्न सक्थिन् ?

अस्तित्वबोधमा विमुक्ति हुन्छ, आत्मसम्मान हुन्छ । आफूले भोगेका, जानेका विचार, अनुभवसँगको सम्बन्ध, आफूभित्रको सत्यको खोजमा हुन्छ अस्तित्व । यसले व्यक्तिको परिचय टुक्राटुक्रामा होइन, सम्पूर्णतामा दिन्छ । जब इन्द्रमायाको प्रेम र अस्तित्वलाई रमेश र पीताम्बर दुवैले पूर्ण बनाएका थिए भने किन उनले मात्र एकलाई रोज्नुपर्ने ?

यसपछि सुरु हुन्छ, इन्द्रमायाको जीवनको तेस्रो घुम्ती– मातृधर्म र पत्नीधर्ममध्ये कुनै एक धर्म रोज्नुपर्ने अवस्था । चौबीस, पच्चीस वर्षको उमेरमा छोरीका लागि पति र प्रेमी दुवैलाई त्याग्छिन् । छोरी र एउटा सानो पोको बोकेर पीताम्बरलाई छाडेर जीवनसंघर्षको बाटोमा निस्कन्छिन् इन्द्रमाया । न उनी माइतीघर जान्छिन्, न रमेशसँग कुनै किसिमको सहयोग लिनै तयार हुन्छिन् । समर्पित प्रेमबाटै अभिप्रेरित निर्णय थियो उनको– मातृ समर्पण । समर्पणमा असीम शक्ति हुन्छ ।

यसबेला लाग्छ, इन्द्रमाया साँच्चै आडम्बरी आदर्शको जन्जिर तोडेर आधुनिक समयको सशक्त नारीको परिचय स्थापित गर्ने यात्रामा छिन् । लाग्छ, अबका उनका अनुभवले भिन्नै जीवनदृष्टि निर्माण गर्ला ! तर, त्यस्तो केही हुँदैन । प्रारम्भिक जीवनमा असामान्य अनुभवबाट गुज्रिए पनि उनको पछिल्लो जीवन अति सामान्य हुनु असामान्य लाग्छ ।

छोरीको भरणपोषण उनको धर्म थियो । छोरी उनको बाँच्ने, अघि बढ्ने प्रेरणा थिइन् । तर, प्रेमको आवेग, उद्वेगसँगै आएका बिषम परिस्थितिमा पनि सधैं प्रेमकै पक्षमा निर्णय लिएकी इन्द्रमायालाई के पछिल्ला वर्षमा प्रेमको, आत्मीयताको, यौन कामनाको इच्छा भएन ?


६ दशकअघि बीपीले चित्रण गरेको इन्द्रमायाको समयको नेपाली समाज आधुनिकताको प्रारम्भिक चरणमा थियो । उतिबेला आधुनिकता परिकल्पनामै सीमित थियो । आधुनिकताको एउटा आधारभूत चरित्र हो– यसले हाम्रासामु अनेकौं सम्भावना छरिदिन्छ । र, तिनै सम्भावना पछ्याउँदै खुसीको विकल्प खोज्न हामीलाई प्रेरित गर्छ ।

आधुनिक सभ्यताले स्त्री–पुरुषको सम्बन्धमा अभूतपूर्व आयाम थपिदिएको छ । यसले यौन स्वतन्त्रता र नारी विमुक्तिको हकमा लैगिंक समानताको वकालत गर्छ । त्यहीअनुरूप स्त्री वा पुरुषले एक समयमा एकभन्दा बढी स्त्री वा पुरुषसँग राखेको सम्बन्धलाई असामाजिक, अनैतिक र गैरकानुनी ठहर्‍याउँछ । सामाजिक संरचनालाई व्यवस्थित बनाउने र नारी–पुरुषबीच, घरपरिवार र समाजमा शक्तिको सन्तुलन बनाउने उद्देश्यले आएको नीति हुनुपर्छ यो । तर, अर्कोतिर यही आधुनिक सभ्यताको यौन मनोविज्ञान, जसले मानवीय यौनप्रकृतिको सूक्ष्म अध्ययन गर्छ, ले यो मान्यताको प्रतिकार गर्छ । यौन मनोविज्ञानले भन्छ, एक स्त्रीगमन वा एक पुरुषगमन हुन चाहनु मानवीय प्रकृति होइन, प्रवृत्ति हो ।

यौन आकर्षण एक प्राकृतिक–शारीरिक प्रक्रिया हो । तर, मान्छे कल्पनाशील प्राणी हो । कल्पनाशीलताकै कारण मान्छे यौनलाई प्रेमको भाषामा अनुभूत गर्छ अनि आफ्ना तमाम कौतूहल–कामनालाई प्रेमकै भाषामा अभिव्यक्त गर्छ । र, सम्बन्धलाई विभिन्न आयाममा परिभाषित गर्छ । यिनै आयामका आधारमा ऊ आफ्नो प्रवृत्ति केलाउँछ, फैलाउँछ, बङ्ग्याउँछ र परिवर्तन गरिरहन्छ । त्यसैले उसका लागि यौन केवल शारीरिक प्रक्रियामा सीमित रहन सक्दैन । मात्र शारीरिक आवश्यकता पूर्तिले मानव जीवनलाई सार्थक र अर्थपूर्ण बनाउन सक्दैन ।

प्रवृत्ति अवश्य पनि काल, परिस्थितिबाट प्रभावित हुन्छ । यो मूल्य, मान्यता, न्याय, नैतिकताबाट निर्देशित हुन्छ । प्रकृति र प्रवृत्तिबीचको द्वन्द्व एउटा त्यस्तो यथार्थ हो, जुन यथार्थलाई समाजले सधैं छायामा राख्न खोज्छ, र यथार्थको त्यही विन्दुमा गएर यौन र प्रेमसँगका सबै सम्बन्ध गुजुल्टिन पुग्छन् ।

प्रकृति, प्रवृत्ति, न्याय र नैतिकताबीचको यस्तै घर्षणले एकातिर समाज र सम्बन्धलाई गतिशील बनाउँछ भने अर्कोतिर यस्ता परिस्थितिमा विसंगति र कुण्ठा पनि मौलाइरहेको हुन्छ । यसको निकास दिन आधुनिक ज्ञानले दिएका विकल्प पर्याप्त छैनन् भन्ने इन्द्रमायाको समयले भोग्न भ्याएको थिएन ।

उतिबेला आधुनिकताको संघारमा रहेको पारम्परिक नेपाली समाजमा इन्द्रमायाको चिन्तन, विचार, साहस र निर्णय यस्तै घर्षण–द्वन्द्वका प्रतिक्रिया हुन् । ती प्रतिक्रियाले व्यक्तिमा, समाजमा तरंग र उथलपुथल मात्र होइन, युगान्तकारी परिवर्तन ल्याउने सम्भावना बोकेको थियो, जुन सम्भावना अहिले पनि यथावत् छ ।

प्रकाशित : श्रावण २, २०७८ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?