एक्लै हिँडे पुष्पलाल- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक्लै हिँडे पुष्पलाल

‘कम्युनिस्ट घोषणापत्र’ को नेपाली अनुवाद गर्ने पहिलो अनुवादक, मार्क्सवादी इतिहासकार पुष्पलाल श्रेष्ठ सारमा नेपाली कम्युनिस्ट आन्दोलनका सिद्धान्तकार हुन् । राजनीतिमा धेरैले उनलाई एक्लो पारे, कहिले आफैं एक्लै रहे । पुष्पलाल स्मृति दिवस (साउन–७) को सन्दर्भमा उनको सम्झना :
शार्दूल भट्टराई

पुष्पलालको व्यक्तित्वबारे प्रकाश पार्दा धेरैले एउटै कुरामा बढी जोड दिएर भन्ने गर्छन्— ‘पुष्पलाल नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता हुन् ।’ निर्विवाद सत्य हो— पुष्पलाल नेकपाका संस्थापक महासचिव हुन्, तर उनी त्यति मात्र होइनन् । उनी गणतन्त्रका पहिलो उद्घोषक पनि हुन् । कम्युनिस्ट घोषणापत्रको नेपाली अनुवाद गर्ने पहिलो अनुवादक पनि हुन् । नेपालमा नयाँ जनवादको नारा दिने पहिलो कम्युनिस्ट पनि उनै हुन् । नेपाली समाजका ऐतिहासिक सर्वेक्षक पुष्पलाल क्रान्तिको दिशानिर्देश गर्ने विचारक पनि हुन् । ऐतिहासिक भौतिकवादी चिन्तक पनि हुन् । मार्क्सवादी इतिहासकार पनि हुन् । सारमा, उनी नेपाली कम्युनिस्ट आन्दोलनका सिद्धान्तकार हुन् ।

यी यावत् व्यक्तित्वसँगै राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातन्त्र सङ्घमा समेत रहेर राणाशाहीविरोधी आन्दोलनमा सक्रिय पुष्पलाल प्रजातन्त्रका लागि संयुक्त जनआन्दोलनका वैचारिक प्रणेता पनि हुन् । यस अर्थमा पुष्पलाल बहुआयामिक व्यक्तित्वप्रबल नेता हुन् । उनी बौद्धिक अध्येता र प्राज्ञिक व्यक्तित्व पनि हुन् । औपचारिक शिक्षा कमै भए पनि ज्ञानका खानीजस्ता लाग्छन् पुष्पलाल । उनका चिन्तनपरक विचारहरू राजनीतिमा मात्र सीमित छैनन्, नेपालको समाज, इतिहास, साहित्य र कला–संस्कृतिका विषयमा समेत फिँजिएका छन् ।

...

२२ अप्रिल १९४९ का दिन नेपाल कम्युनिस्ट पार्टीको जन्म गराउने प्रमुख नेता पुष्पलाल थिए । उनले नेकपाको स्थापना मात्रै गरेर छाडिदिएको भए नेपाली कम्युनिस्ट आन्दोलनले नेपालको राजनीतिक इतिहासमा यति धेरै महत्त्व र शक्ति प्राप्त गर्ने थिएन । पुष्पलालले नेकपालाई सङ्गठनात्मक स्वरूपका साथ अगाडि बढाउने विषयमा पनि सर्वाधिक महत्त्वपूर्ण योगदान गरेका थिए ।

पार्टी स्थापनासँगै क्रान्तिको सिद्धान्तको निरूपण अर्को महत्त्वपूर्ण विषय थियो । पार्टी स्थापना भए पनि पार्टीको कार्यक्रमबारे स्पष्टता थिएन । कार्यक्रमसम्बन्धी अस्पष्टतालाई स्पष्ट गर्ने काम पनि पुष्पलालले नै गरे । उनले नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेकाले नयाँ जनवादी क्रान्ति आवश्यक रहेको विश्लेषण गरे । सोहीअनुसार, नेकपाले सामन्तवाद–साम्राज्यवादविरोधी नेपाली क्रान्तिको दिशालाई अङ्गीकार गर्न पुगेको थियो ।

त्यसबेला नेपाली समाजलाई हेर्ने वैज्ञानिक दृष्टिकोण थिएन । ‘संसार ईश्वरमै अडेको छ’ भन्ने कपोलकल्पित ईश्वरवादी धारणाले समाजलाई गाँजेको थियो । कम्युनिस्ट आन्दोलनको आरम्भसँगै नेपालमा पहिलो पटक समाजलाई हेर्ने ऐतिहासिक भौतिकवादी दृष्टिकोणको आरम्भ भयो । पुष्पलालले नै ऐतिहासिक भौतिकवादी दृष्टिकोणमा समाजको अध्ययन, विश्लेषण र संश्लेषण गर्ने काम गरे । नेपाली समाजको स्वरूपलाई वैज्ञानिक तथ्यका साथ चिनाउने नेता पनि पुष्पलाल नै थिए ।

नेपाली समाजको वर्गविश्लेषण पुष्पलालको अर्को महत्त्वपूर्ण वैचारिक देन हो । वर्गहरूको भूमिका र तिनीहरूबीचका अन्तरविरोधको अध्ययन गर्दै उनले पहिलो पटक नेपाली समाजलाई हेर्ने द्वन्द्ववादी दृष्टिकोणको विकास गरे । उनको त्यही अध्ययनलाई आधार मानेर लामो समयदेखि नेपाली समाजको वर्गीय चरित्रको विश्लेषण गर्ने काम हुँदै आएको छ ।

नेपाली समाजको सामाजिक अन्तरविरोधलाई उजागर गर्ने काम पनि पुष्पलालबाटै भयो । सामन्तवाद, दलाल नोकरशाही पुँजीवाद र साम्राज्यवादसँग जनता र राष्ट्रका आधारभूत अन्तरविरोधहरू रहेका र ती अन्तरविरोधमध्ये आन्तरिक अन्तरविरोध नै प्रधान रहेको निचोड पुष्पलालले निकाले । त्यो अन्तरविरोध राजतन्त्र र जनताका बीचमा रहेको र जनताको आन्दोलनलाई राजतन्त्रका विरुद्ध केन्द्रित गर्नुपर्ने सार उनले प्रस्तुत गरेका थिए । उनले २००५ सालमा ‘कम्युनिस्ट घोषणापत्र’ को नेपालीमा अनुवाद गरे । त्यसको भूमिकामा पुष्पलालले लेखेको ऐतिहासिक लेख नै नेपाली समाजको पहिलो मार्क्सवादी विश्लेषण थियो । त्यस लेखमा पुष्पलालले नेपाली समाज, सामाजिक असमानता, शोषण उत्पीडन, वर्गीय–द्वन्द्व र वर्गीय–मुक्तिका विषयमा समेत विश्लेषण गरेका थिए ।

पुष्पलालले निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध कम्युनिस्ट र काङ्ग्रेस मिलेर संयुक्त जनआन्दोलनमा जानुपर्ने विचार अघि सारे । काङ्ग्रेसप्रतिको कम्युनिस्टहरूको नकारात्मक दृष्टिकोण र कम्युनिस्टप्रतिको काङ्ग्रेसको शत्रुतापूर्ण दृष्टिकोणकै कारण पनि पुष्पलालको विचारले उतिबेला महत्त्व पाउन सकेन । तर, उनको निधनको एक दशकपछि, उनकै अवधारणाअनुसार वाममोर्चा र नेपाली काङ्ग्रेसको संयुक्त नेतृत्वमा जनआन्दोलन सम्पन्न भयो । नेपाली राजनीतिमा संयुक्त जनआन्दोलनसम्बन्धी पुष्पलालको अवधारणा पनि उनको राजनीतिक व्यक्तित्वको एउटा महत्त्वपूर्ण पक्षका रूपमा रहेको छ ।

...

कम्युनिस्ट पार्टीमा सर्वाधिक महत्त्वपूर्ण नेता, जो सिद्धान्त, सङ्गठन र सङ्घर्षमा पनि प्रभावशाली छ, त्यो पार्टीभित्र अल्पमतमा पर्दैन । परिहाले पनि कुनै मुद्दामा अल्पमतमा पर्ला । त्यस्तो अल्पमतमा त बेलाबेलामा लेनिन र माओजस्ता नेता पनि परेका थिए, तर नेपालमा पुष्पलाल त्यसका अपवाद हुन् । उनी सबैभन्दा योग्य, चिन्तनशील र प्रभावशाली नेता भएर पनि अधिकांश समय अल्पमतमा पारिए । कतिपय अवस्थामा एक्लै पनि पारिए ।

अत्यन्तै कठिन स्थितिमा पुष्पलालले नेकपाको स्थापना गरेका थिए, तर पार्टी स्थापना गरेर त्यसलाई साङ्गठनिक र वैचारिक स्पष्टतासहित अगाडि बढाउन नपाउँदै उनीविरुद्ध नियोजित षड्यन्त्र सुरु भयो । पार्टीमा पुष्पलालका नीति–विचारलाई स्वीकार गर्ने, तर उनको नेतृत्वलाई अस्वीकार गर्ने परिस्थितिको निर्माण पुष्पलाललाई एक्ल्याउनकै लागि भएको थियो ।

नेकपाको स्थापना भएको दुई वर्ष पनि नपुग्दै, २००८ सालमा पहिलो सम्मेलनबाटै पुष्पलाललाई महासचिवबाट हटाएर ‘सर्वसम्मति’ को नाममा मनमोहन अधिकारीलाई महासचिव बनाइयो । शैलेन्द्रकुमार उपाध्यायलगायतको स्वार्थमा पुष्पलाललाई पार्टीमा एक्ल्याउने काम त्यहीँबाट सुरु भयो । २०१० सालमा सम्पन्न पहिलो महाधिवेशनबाट विधिवत् रूपमै पुष्पलाललाई पछाडि धकेल्न थालियो ।

२०१३ सालमा चिनियाँ कम्युनिस्ट पार्टीको आठौं राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि नेकपाका ३ जना प्रतिनिधि पठाउन निम्तो आयो । प्रतिनिधि छान्न केन्द्रीय समितिको बैठक बस्यो । महासचिव मनमोहन अधिकारी र शम्भुराम श्रेष्ठ निर्विरोध छानिए । पुष्पलाल र कमर साहबीच विवाद भई मतदान हुँदा एक मत बढी पाएर साहले जिते । पुष्पलाललाई नियोजित रूपमै हराइयो । मनमोहन अधिकारी चीन गएपछि नेकपाको कार्यवाहक महासचिव केशरजङ्ग रायमाझी बने । नेतृत्वको यही परिवर्तन नै नेकपाको विचलन र विखण्डनको जग बन्न पुग्यो । रायमाझी दरबारमुखी रुझानमा सुधारवादी ढङ्गले चल्न थाले । पार्टीभित्रको क्रान्तिकारी धारको नेतृत्व पुष्पलालले गरे । २०१४ सालमा सम्पन्न दोस्रो महाधिवेशनबाट नेतृत्वमा फेरि पनि रायमाझी नै चुनिए । २०१७ साल पुस १ को घटनालाई रायमाझीले ‘स्वागत’ गरे । पुष्पलालले त्यसलाई ‘सैनिक आतङ्क’ बताए । रायमाझीले पुष्पलाललाई ‘उग्रवादी’ भन्दै पार्टीबाटै निष्कासन गर्ने धम्की दिए ।

२०१९ सालमा सम्पन्न तेस्रो महाधिवेशनले तुलसीलाल अमात्यलाई महासचिव चुन्यो । महाधिवेशनमा पुष्पलालले विवाद नगरी एकताबद्ध भएर सङ्घर्षमा जाने प्रस्ताव गरे, तर उनले भनेजस्तो भएन । पुष्पलाल तुलसीलालप्रति असहयोगी बन्न पुगे । तुलसीलालको ‘राष्ट्रिय प्रजातन्त्र’ र पुष्पलालको ‘नौलो जनवादी क्रान्ति’ को लाइनका बीच ‘कुन बाटो ?’ र ‘मूल बाटो’ को ‘विवादरहित विवाद’ मा नफुट्नुपर्ने यी दुई नेता पनि फुटे, अथवा फुटाइए । यो घटना पनि पुष्पलाललाई एक्ल्याउने षड्यन्त्रकै एउटा शृङ्खला थियो ।

२०२५ सालमा भारतको गोरखपुरमा सम्मेलन गरी नेकपाको अर्कै केन्द्रीय कमिटी गठन गरेर पुष्पलाल महासचिव बने । केही समयका लागि उनी सङ्गठनात्मक दृष्टिले शक्तिशाली रहे, तर छोटो समयमै त्यसमा पनि विभाजनहरू भए । २०२९ सालमा उनले चौथो महाधिवेशन त गरे, तर असङ्ख्य नेता, कार्यकर्ता उनको पार्टी परित्याग गरेर अन्यत्र लागिसकेका थिए । यतिसम्म कि उनैले नेकपाका संस्थापक बनाएकाहरूले समेत उनलाई साथ दिएनन् ।

यसरी पुष्पलाललाई कहिले अरूले एक्लो पारे, कहिले आफैं एक्लै रहे । पार्टीभित्र गलत नेतृत्वको बहुमत रहेपछि उनी एक्लै हिँड्न पनि बाध्य बनेका देखिन्छन् । गलत व्यक्ति र विचारसँग सम्झौता गरेर हिँड्नुभन्दा सही विचारका साथ एक्लै हिँड्नु ठीक भन्ने मान्यता उनमा पाइन्छ ।

...

नेपालको वाम–प्रजातान्त्रिक आन्दोलनमा पुष्पलालको योगदान महत्त्वपूर्ण हुँदाहुँदै पनि उनको व्यक्तित्व हरहिसाबले विवादरहित भने रहेन । पुष्पलालले पञ्चायती व्यवस्थाविरुद्ध कम्युनिस्ट–काङ्ग्रेसको संयुक्त मोर्चाको विषयसँगै जोड गरे, तर वामपन्थी एकताको कुरालाई भने महत्त्व दिएनन् । तत्कालीन अवस्थामा पुष्पलालले आफूलाई कम्युनिस्ट आन्दोलनको केन्द्रीय व्यक्तित्वको रूपमा राख्न सक्नुपर्थ्यो, तर आफैंले स्थापना गरेको पार्टीमा उनी आफैंले पकड कायम गर्न सकेनन् । ठूल्ठूला निर्णयसमेत एक्लै गरेर पार्टीमा लागू गराउने प्रवृत्ति उनमा रह्यो । नेकपाको पहिलो पर्चामै ‘नागरिक अधिकारका लागि लड’ भनेर शङ्खघोष गर्ने पुष्पलाल संविधानसभाका निम्ति लड्दै आएका थिए । पुस १ को घटनापछि भने उनी विघटित संसद्को पुनःस्थापनामा लागे । त्यसपछि उनले संविधानसभाको कुरो कहिल्यै उठाएनन् । पार्टीमा क्रान्तिकारी नेतृत्व स्थापित गर्नका लागि अन्तरपार्टी सङ्घर्ष नै उपयुक्त पद्धति हुन सक्थ्यो, तर पुष्पलाल संशोधनवादी नेतृत्वविरुद्ध अन्तरपार्टी सङ्घर्षर् चलाउनुको सट्टा आफैं पार्टी कङ्ग्रेस बोलाएर पार्टी गठन गर्नतिर लागे । नेकपालाई विभाजित गरेको दोषबाट उनी आफैं पनि मुक्त रहन सकेनन् ।

आफ्नो जीवनकालमा सामान्य कमजोरीमा पनि धेरै निन्दा–अपमान बेहोर्ने नेता हुन्– पुष्पलाल । निन्दा–अपमानबाट उनलाई एक्ल्याउने र आफूलाई शक्तिशाली बनाउने सपना पनि केही कम्युनिस्ट नेताले देखे, तर त्यसरी पुष्पलाललाई एक्लो पार्न खोज्नेहरूको सर्मनाक हार भयो । एक्लै उभिएर पनि पुष्पलालले आफ्नो निन्दा–अपमान गर्नेहरूलाई पराजित गरे ।

पुष्पलाल आफैं अतिवादका विरोधी थिए, तर उनकै नाममा अतिवादी देखिए । पुष्पलाललाई आफ्नो निजी सम्पत्तिजस्तो ठानेर ‘जे हुन् सम्पूर्णमा पुष्पलाल मात्र हुन्’ भन्ने सकारात्मक अतिवाद र ‘पुष्पलाल केही पनि होइनन्’ भन्ने नकारात्मक अतिवादको चिन्तनबाट उनको ऐतिहासिक योगदानलाई महत्त्वहीन बनाउने प्रयत्नहरू पनि भए । तर, पुष्पलालका अगाडि त्यस्ता दुवैखाले अतिवाद पराजित हुन पुगे । पुष्पलाललाई अनेक आरोपमा गाली गर्ने र ‘गद्दार पुष्पलाल’ भनेर पुस्तक नै निकाल्नेहरू यति बेला उनैको प्रशंसा गाउने ठाउँमा आइपुगेका छन् । यही नै पुष्पलालको विजय हो ।

पुष्पलालको शक्ति भनेको विचार हो । उनी पार्टीका सफल नेताभन्दा पनि विचारमा सफल नेता हुन् । उनको व्यक्तित्वको निर्माण विचारबाटै भएको छ । पुष्पलालसँग जुन विचार थियो, त्यही विचारले उनलाई आजसम्म अपरास्त बनाएको छ । राजनीतिमा एक्लै हिँडेर पनि आफ्ना विरोधी र आलोचक जति सबैलाई पछार्दै विजेता बन्न सक्नु असाधारण कुरा हो ।

सामान्य नेता आन्दोलनबाट जन्मिन्छन् । विशिष्ट नेताले आफैं आन्दोलन जन्माउँछन् । पुष्पलाल आन्दोलन जन्माउने नेता थिए । इतिहासले साबित गरिसकेको छ– नेपाली कम्युनिस्ट आन्दोलनको प्रवर्तनको श्रेय उनमै छ । नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास पुष्पलालको नामबिना लेखिन सक्दैन ।

उनी नेपाली कम्युनिस्ट आन्दोलनका इतिहासपुरुष हुन् ।

प्रकाशित : श्रावण २, २०७८ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्

संगीतस्रष्टाका नालीबेली

आमाले गोपाल योञ्जनलाई संन्यासी बनाउने सपना देखेकी थिइन् । तर, गोपाल रक्सीको नशामा ढल्दै घर आएपछि आमा धुरूधुरू रोइन् । 
आधुनिक नेपाली संगीतमा काठमाडौं र दार्जिलिङ कसरी जोडिन पुग्यो ? किताबमा यसबारे  तथ्यसहित चर्चा छ । 
शार्दूल भट्टराई

झुले अर्ग्यानिक फार्महाउस एन्ड रिसोर्टमा गीत–संगीतबारे अनौपचारिक कुराकानी भइरहेको थियो । त्यसको नेतृत्व गरिरहेका थिए– बुलु मुकारुङले । कुराकानीमा सहभागी थिए– वसन्त थापा, नारायण ढकाल, डम्बर चेम्जोङ, सुरेश ढकाल र देवेन्द्र ढुंगाना ।

म कुराकानीमा सहभागी हुनुभन्दा पनि बढी मात्रामा एउटा श्रोता थिएँ । कुराकानीमा बुलु मुकारुङले केही गायक/संगीतकारका सार्वजनिक जानकारीमा नआएका प्रसंगको खुलासा गर्न थाले । केही चाखलाग्दा घटना सुनिसकेपछि मेरो जिज्ञासा बढ्यो । मैले त्यस्ता घटनाको विश्वसनीयताबारे प्रश्न गरेँ । उत्तरमा बुलुले भने, ‘त्यसका लागि पिटर जे. कार्थकको ‘नेपाली संगीतस्रष्टा’ भन्ने पुस्तक पढ्नोस् ।’

‘सेलेब्रिटी’ का निजी जीवनका सामान्य घटना पनि मानिसका लागि चासो र जिज्ञासाका विषय बन्छन् । त्यस दिन बुलुका कुरा त्यस्तै थिए । उनले मेरो कौतुहलता बढाउने काम गरे । त्यही पुस्तकबारे थप केही सोध्दै थिएँ । मेरो कौतुहलतालाई अझै बढाउने काम वसन्त थापाले गरे । उक्त पुस्तकको अध्ययनप्रति वास्तवमै जागरुक भएँ ।

***

आमाले गोपाल योञ्जनलाई संन्यासी बनाउने सपना देखेकी थिइन् । तर, गोपाल एक दिन रक्सीको नशामा ढल्दै घरमा आएपछि आमा धुरुधुरु रोइन् र आफ्नो सपनालाई त्याग्न पुगिन् । आमाको सपना अधुरो रहे पनि तामाङ बौद्ध परम्परामा हुर्केबढेका गोपाल योञ्जनले आफ्नै शब्द, स्वर र संगीतमा दुईवटा हिन्दु आध्यात्मिक भजन रेकर्ड गरे र जीवनभर कडा शाकाहारी बनेर रहे ।

काठमाडौंको मासंगल्लीमा रहेको नारायण साहुको ठर्रा पसलमा जानेमानेका गायक, संगीतकार र कलाकारको ठूलै जमघट हुन्थ्यो । त्यहाँका नियमित ग्राहकमा नारायणगोपाल, पिटर जे.कार्थक, उत्तम नेपाली, रवि शाह, कोकिल गुरुङ, भीमवरसिंह थापा, यमबहादुर खड्का, श्यामकृष्ण प्रजापति आदि हुन्थे । गृह मन्त्रालयबाट खटिएका कालो टोपी लाउने जासुस र लल्लुपञ्जुहरू पनि त्यहाँ कलाकारसँग घुलमिल हुन आउँथे ।

नारायणगोपाल त्यहाँको कडा नेवारी रक्सी र मसालेदार सितन निकै मनपराउँथे । एक रात ११ बजे नारायणगोपाल र पिटर ठर्रा पसलबाट निस्किए । सेतो मच्छिन्द्रनाथको मन्दिरअगाडि पुगेपछि मन्दिरभित्र रात्रिकालीन भजन चलिरहेको सुनियो । नारायणगोपाल र पिटर त्यहीँ छिरे । त्यहाँ चिलिमका चिलिम गाँजाको धूवाँ पनि उडिरहेको थियो । रक्सीको नशामै चिलिम तान्दै नारायणगोपालले धूवाँको मुस्लो फाले । त्यहाँ उनले ६ वटा भजन गाए । रातभर रमाउनेहरूका लागि अँध्यारो रात पनि जीवन्त बन्न पुग्यो ।

दार्जिलिङको चाादमारी रोडको ठाडो र घुमाउरो नालीमा कहिलेकाहीँ मातेर लडेका दुई जना प्रधानाध्यापक भेटिन्थे । तिनमा एक जना अगमसिंह गिरी र अर्का पिटर जे. कार्थकका बाजे अल्बर्ट कार्थक हुन्थे । अगमसिंह गिरी एक दिन बेलुकी मातेर पिटरको घरको गेट हल्लाउन आइपुगे । उनले भने ‘पिटर भाइ, हामीले यी बिहारी, कैयाँ (मारबाडीलाई हेपेर बोलाउने शब्द) र बंगालीहरूलाई दार्जिलिङबाट खेदाउनुपर्छ । यो भूमि हाम्रो हो । उनीहरू यहाँका होइनन् ।’

नातिकाजी शक्तिसम्पन्न व्यक्तिहरूको दबाबको पालना गर्थे । एकपटक दरबारसँग जोडिएका एक जना राणाले नातिकाजीलाई आफ्नो गीतमा संगीत भर्न दबाब दिए । नातिकाजीले पनि त्यसलाई स्वीकार गरे । उनले त्यसै दिन कार्यालयमा पुग्नासाथ त्यसमा संगीत भरे । त्यही दिन दिउँसो फत्तेमानले त्यो गीत गाए । साँझ त्यो गीत रेडियो नेपालबाट प्रसारण भयो । यस्तै कामका कारण नातिकाजीलाई दरबारको कारिन्दा ठान्नेहरू पनि थिए । उनीहरू नातिकाजीलाई पञ्चायती व्यवस्थाका पिठ्ठु ठान्थे ।

रेडियो नेपालको अवस्था निकै नाजुक थियो । त्यहाँ बाजाहरू नै थिएनन् । एउटा थोत्रे अर्गन, केही भायोलिन, केही मादल, एउटा जलतरंग, एउटा ट्र्यांगल, केही मुरली, केही बाँसुरी, केही तबेला, ढोलक र तानपुरा थिए । एक दिन रेडियो नेपालमा नारायणगोपाल एउटा गीत रिहर्सल गरिरहेका थिए । सँगैको स्टोर कोठामा रञ्जित गजमेरले एउटा डबल बेस फेला पारे र त्यो पिटरलाई दिए । बाजा पुरानो भए पनि राम्रो अवस्थामा थियो । पिटरले अभ्यास गरेर त्यसलाई ‘थर्ड इफेक्ट’ का लागि तयार बनाए । पिटरकै कारण रेडियो नेपालको रेकर्डिङमा पहिलोपटक डबल बेसको आवाज गुन्जियो ।

‘नौलाख तारा उदाए....’ भन्ने गीत सार्वजनिक हुनेबित्तिकै दार्जिलिङमा लोकप्रिय बन्यो । त्यससँगै त्यो ठूलो विवादमा पनि पर्‍यो । त्यसलाई भारतमा दबिएका आप्रवासी समुदायको विरोधी ‘अराष्ट्रिय’ गीतको रूपमा चर्चा गरियो । त्यस गीतका कारण भारतको एकतामै खतरा उत्पन्न हुन पुगेको बताइयो । त्यही गीतका कारण अम्बर गुरुङलाई खेद्ने काम सुरु भयो । डुअर्सको एउटा कन्सर्टमा त ‘खोइ अम्बरे ?’ भन्दै एउटा ग्याङ आक्रमण नै गर्न आइपुगेको थियो । त्यति हुँदा पनि दार्जिलिङमा अम्बर गुरुङको पक्षमा त्यहाँका नेताले केही बोलेनन्, केही गरेनन् ।

बच्चुकैलाश राजपरिवार र तिनका नसनाताका राणा तथा ठकुरीकहाँ गएर गीत गाउँथे । उनलाई बोलाएर गीत गाउन लगाउने कुरामा तँछाडमछाड हुन्थ्यो । हिमालय शाहकी गजबदना पत्नी प्रिन्सेस शाह त बच्चुकैलाशको हितचिन्तनमा ‘सदा व्याकुल’ देखिन्थिन् । यस्ता उच्च वर्गका धेरै महिलाको लाडप्यार उनलाई थियो । ह्यान्डसम बच्चुकैलाश त्यस्ता ‘महिलाका चहेता’ थिए ।

***

सारांशमा माथि उल्लिखित केही प्रसंग हुन् पिटर जे. कार्थकको पुस्तक ‘नेपाली संगीतस्रष्टा’ भित्रका । पुस्तकमा यस्ता अनेकौं प्रसंग छन् । संगीतस्रष्टाहरू प्रेममा परेका, रक्सीले मात्तिएका, अराजक बनेका, महागफाडी भएका, जुवाडे बनेर हिँडेका, गुट बनाएका, चाकडीबाज बनेका, एकले अर्काको ईर्ष्या गरेका, घमण्डी बनेका, अपमान गरेका जस्ता अनेक प्रसंग पुस्तकमा छन् । कतिपय प्रसंग रोचकमात्र छैनन्, घोचक पनि छन् । पुस्तकमा काठमाडौं र दार्जिलिङको संगीत संसारका संगीतस्रष्टालाई समेटिएको छ ।

दार्जिलिङका पिटर जे. कार्थकले १२ वर्षकै उमेरमा आफ्नो सांगीतिक जीवन सुरु गरेका थिए । उनी दार्जिलिङको ‘म्युजिकल ब्यान्ड’ को नेतृत्व गर्न पुगे । दार्जिलिङबाट नेपाल छिरेपछि र काठमाडौंमा रहन थालेपछि उनको जीवनयात्रा अनेकतिर छरिन पुग्यो । उनी क्यासिनोका कुपियर मात्र बनेनन्, स्कुल र कलेजमा अंग्रेजी पढाउने अध्यापक पनि बने । रेडियो नेपालमा पूर्णकालीन गितारवादक बनेका उनी एउटै कृति ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’ बाट उपन्यासकारको चर्चामा पनि रहे । ट्राभल एजेन्सी सञ्चालन र सडक निर्माणसँग सम्बन्धित काममा पनि उनको आबद्धता रह्यो । उनी अंग्रेजी पत्रिकाका स्तम्भकार पनि रहे । उनको सम्पर्क–सम्बन्ध विभिन्न क्षेत्रका मानिससँग भयो । तर, यस पुस्तकमा उनले आफ्नो संगतका संगीत स्रष्टाहरूलाई मात्र समेटेका छन् ।

राजा महेन्द्रले अम्बर गुरुङलाई नेपाल राजनकीय प्रज्ञा–प्रतिष्ठानका लागि ‘आयात’ गरेपछि दार्जिलिङका संगीत स्रष्टाहरूको काठमाडौं बसाइँसराइ बढेको विचार राख्ने पिटरले अम्बर गुरुङलाई नेपाली आधुनिक संगीतमा सबैभन्दा ठूलो स्रष्टा ठानेका छन् । उनले अम्बरलाई आधुनिक नेपाली संगीतका ‘अल्फा’ र ‘ओमेगा’ भनेका छन् । आफूहरूका लागि अम्बर गुरुङ उस्ताद, नाइके, पथप्रदर्शक, दार्शनिक, एकभन्दा बढी अवतारका गुरु र इटालीका प्रख्यात अर्केस्ट्रा कन्डक्टर आर्तुरो तोस्कानिनीको साक्षात अवतार भएको मानेका छन् । सँगसँगै रेडियो नेपालमा अम्बर गुरुङ, गोपाल योञ्जन, नारायणगोपाल, नातिकाजी र शिवशंकरका सामान्य सहयोगी बन्नकै लागि आफ्ना सारा सिर्जनशील इच्छाहरू दबाएर बस्नुपरेको गुनासो पनि पिटरको छ ।

पुस्तकमा पिटरले विभिन्न गायक/संगीतकारहरूका स्वभावबारेसमेत तिखो टिप्पणी गरेका छन् । उनका अनुसार, बेसुरा गाए पनि गायिका कहलिएकी र ‘सेक्स बम’ मानिएकी दिलमाया खाती दम्भी र अहंकारी थिइन् । पिटर योगेश वैद्यलाई एकलकाँटे, अभिमानी र साम्प्रदायिक ठान्छन् ।

नामचाहिँ पुण्यात्माजस्तो भए पनि भक्तराज आचार्यलाई उनी दम्भी, अहंकारी, व्यर्थको फुलेल गायक मान्छन् । उनी शान्ति ठटाललाई एकलकाँटे, अरूसँग नमिल्ने, हेपाहा, रूखो र छुच्ची ठान्छन् । उनी अम्बर–शान्तिको प्रेमजालको कुरा पनि गर्छन् । उनको टिप्पणी छ– ‘शान्तिजस्तो एकल महिलाका लागि यसो हुनु स्वाभाविक थियो होला तर अम्बर गुरुङ त चार जना छोराछोरीसमेत भएका विवाहित पुरुष थिए । प्रेम र संगीतमा सम्भवतः जे पनि क्षम्य छ ।’ पिटरले रेडियो नेपालमा वाद्यवादक भएर दस वर्ष काम गर्दा अरू सबैसँग आफ्नो राम्रो सम्बन्ध भए पनि तारादेवीसँग भने बोलचालसमेत नभएको बताएका छन् ।

संगीतसँगै पिटर राजनीतिको कुरा पनि गर्छन् । उनले नेहरूको ‘समाजवादी भारत’ लाई बन्द मुलुक बताएका छन् भने बंगाली मार्क्सवादीहरू आधुनिक संगीत र संगीतकारप्रति असहिष्णु भएको उल्लेख गरेका छन् । डुअर्समा कन्सर्ट बिथोलेर अम्बर गुरुङ र उनको टोलीलाई लखेट्ने ‘राजनीतिक गुन्डाहरू पछि नक्सलाइटका नामले चिनिएको’ दाबी पिटरको छ । गोर्खाल्यान्ड आन्दोलनका प्रमुख सुभास घिसिङले छेडेको अभियानलाई उनले बौद्धिकताविरोधी अभियान मानेका छन् । नेपालका राजा महेन्द्रप्रति भने उनको सद्भाव देखिन्छ ।

वसन्त थापाको सम्पादन, संयोजनमा हिमाल किताबबाट प्रकाशित यो पुस्तक पढ्नुअघि यसबारेका चर्चामात्र सुनेको अवस्थामा लागेको थियो– पुस्तक केही संगीतस्रष्टाको निजी जीवनसँग मात्र सम्बद्ध छ । तर, किताब पढ्दै जाँदा लाग्यो– पुस्तकले आधुनिक नेपाली संगीतको आरम्भ, विकास र यसमा संलग्न स्रष्टा बारेसमेत रोचक पारामा तथ्यगत जानकारी दिने काम गरेको छ । आधुनिक नेपाली संगीतमा नेपालको काठमाडौं र भारतको दार्जिलिङ कसरी जोडिन पुग्यो भन्ने विषयमा पनि पुस्तकमा उल्लेखित सन्दर्भहरूले तथ्यसहित उजागर गरेका छन् ।

प्रकाशित : चैत्र २१, २०७७ १२:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×