आधुनिक बृकासुर

ठाकुर बेलबासे

ठाकुर बेलबासे — पौराणिककालमा जन्मिएको बृकासुर
शक्तिको उन्मादमा आफैं भस्म भएर
देवलोक जोगियो
अझ सुन्दर कुरा त
देवका पनि देव महादेव बाँचे
एउटा सभ्यताका लागि गम्भीर अनिष्ट रोकियो
महादेवको वध भएको भए
सम्झौं त एउटा संस्कृति क्रूरताबाट
शासनको परम्परामा बाँधिन्थ्यो
धन्न धन्न बृकासुरबाट बचे महादेव !

आधुनिक बृकासुर

आज उनै शिवजी

कतै बाढीमा बग्दै छन्

पहिरोमा झर्दै छन्

आगोमा जल्दै छन्

बृकासुरले उनको वध गरेर

पार्वती गर्भाधान भएकी भए

आज संसारमा राक्षसहरुको साम्राज्य हुन्यो होला

आधुनिक बृकासुर

कुनै पौराणिक कथाको पात्र होइन

देवलोकको तिलस्मी पात्र पनि होइन

जो आफैं भस्म भएर

भस्मासुर नामले अपहेलित बनेको होस्

आधुनिक मानवलोकको बृकासुर

धेरै खतरनाक छ

आधुनिक बृकासुर

ऊ कुनै व्यक्तिसँग लड्दै छैन्

सामान्य मान्छेहरु

उसका गणनामा आउँदैनन्

यसकारण ऊ राज्यमा हिनहिनाउँदै छ

उसलाई यो हावा, वातारण, उज्यालो

खपिनसक्नु भएको छ

सूर्यलाई कच्याककुचुक पारेर

आफ्नो शौचालयमा कैद गर्न चाहन्छ

आकाशलाई पट्याएर

बैठककक्षमा कार्पेट ओछ्याउन चाहन्छ

ताराहरुको माला उनेर

आफ्नी प्रियसीलाई खुसी बनाउन चाहन्छ

आधुनिक बृकासुर सामान्य छैन

उसलाई राज्य मन पर्दैन

ऊ आफैं संविधान हो, आफैं कानुन हो

कानुनहरु मान्दैन

देवताहरुको घाँटी रेटेर

धर्मात्मी बनेको

ऊ मन्दिरहरु भत्काउन सक्छ

या मन्दिर बनाउन सक्छ

आफ्नै मूर्ति राख्नका लागि

उसलाई मनिसका जीवनहरु गौण लाग्छन्

र त

बग्दै गरेको नदीको बहावलाई रोक्न चाहन्छ

अँध्यारो चिर्दै गरेको जूनलाई

बाथरूममा झुन्ड्याउन चाहन्छ

आधुनिक बृकासुर

नागरिकका आँखाका नानीहरु फ्राई गरेर

नागरिकको रगतसँग चपाउन हौसिएको छ

ऊ निर्वस्त्र छ

र, सिंगो देशलाई नाङ्गो पार्दै छ

दशकौंदेखि हामी

बृकासुरको शासनबाट शासित छौं

बृकासुरका अवतारहरु झन्झन् खतरनाक बन्दै आएका छन्

आफ्नै शक्तिको दुरूपयोगबाट आफैं भस्म भएको देख्न

अभिशप्त हामी, महादेवजस्तो

भागिरहेका छौं  !

प्रकाशित : श्रावण २, २०७८ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?