मिसरी : कोरोनाकालीन झ्यालबाट हेर्दा

नैतिकता र अनैतिकताभन्दा पर, पाप र धर्मसँग नजोडिएको, ठीक र बेठीकभन्दा टाढा, संस्कृति र विकृतिभन्दा मास्तिर कतै कुनै चारित्रिक क्षेत्रफल छ भने मिसरीको बसोबास त्यहीँ छ ।
दीपक सापकोटा

गोविन्दबहादुर मल्ल ‘गोठाले’ (१९७९ असार २६–२०६७ मंसिर २७) को बहुचर्चित क्लासिक हो– ‘पल्लो घरको झ्याल’ । उक्त किताबको प्रमुख पात्र मिसरीमाथि युगकवि सिद्धिचरण श्रेष्ठले लेखेका छन्, ‘मिसरी एउटा मुखियाकी स्वास्नी, एउटा घरकी छोरी र अर्को घरकी बुहारी मात्र होइन, ऊ युगको एक उपज, लामो इतिहासको एक निचोड पनि हो ।’ ‘कोसेली क्लासिक’ मा यस पटक गोठालेको जन्म–दिवस (असार–२६) को सन्दर्भमा मिसरी–मीमांसा गरिएको छ :

मिसरी : कोरोनाकालीन झ्यालबाट हेर्दा

‘एकै झिम्कामा सपनामा हराएझैं मिसरी घरबाट बाहिर निस्किसकेकी थिई ।’

म गोविन्दबहादुर मल्ल गोठालेको उपन्यास ‘पल्लो घरको झ्याल’ को अन्तिम पृष्ठ. (११०) मा छु – एक साँझ गोल्सनले मिसरीको लुगाको पोका बोकेकी छे । मिसरीले बेहोसीमै जुत्ता लगाएकी छे । गोल्सनले उसको हात समातेर तानेकी छे । मिसरी माइतीको छिँडीमा पुगिसकेकी छे । ‘डराउनुपर्दैन म छु’, गोल्सनले भनेकी छे ।

म बनेपामा छु । असारको रापिलो घाम, कागतीको बोटमाथि टक्क अड्किएको छ । तथापि, त्यसको प्रवाहमान् तेज बाढीसरि, बन्द झ्याल र झ्यालका पर्दा छिचोलेर कोठाभरि छताछुल्ल भएको छ । त्यो प्रकाशको बाढीले मेरो वेचैन मनलाई बिथोलेर अझ उद्वेलित गराएको छ । वेचैन भएर जाने ठाउँ पनि त छैन । बाहिर, निषेधाज्ञा छ । घण्टा–घण्टामा पुलिसको ‘सचेतना’ माइकिङ घामको रापसरि बन्द झ्याल–ढोका छिचोलेर भित्रैसम्म कोकोहोलो मच्चाउँछ । सारा संसारको खुसी र आनन्द कतै सुदूर गगनमा अड्किएको छ ।

म आँखा बन्द गर्छु । मिसरीसँगै ‘गोठाले’ को ‘पल्लो घरको झ्याल’ कल्पनाकाशमा झलमल्ल उदाउँछ । त्यहीँ, चौतारीको विशालकाय पिपलको रूखझैं शीतल सम्झना बनेर गजधम्म बसिरहन्छे– मिसरीनानी । ‘झ्यालबाट’ का सम्पादक ईश्वर बरालका अनुसार, ‘पल्लो घरको झ्याल’ को प्रकाशन मिति २०१६ हो । तर, उपन्यासमा २०१८ लेखिएको छ । किताब छापिएको छ दशकपछि किन रापिलो घाममा तातिएर दिनैभर मिसरीनानीको निजी–जिन्दगीमा प्रवेश गरिरहेको छु म ?

बनेपा पुरानो बजारको नेवा: समाजमा प्रत्येक वर्ष वेल विवाह नगरिएका र रजस्वला नभएका कन्यालाई शुभको प्रतीक मानि पूजा गरिन्छ । जनश्रुति भन्छ– मानव कन्याका भेषमा हुन्छन्– देवकन्या, नागकन्या, गन्धर्वकन्या, किन्नरकन्या इत्यादि ।

लोग्ने हरिभक्तलाई छोडेर इन्द्रचोकबाट हीरामानसँग हिँडेकी मिसरी मेरो कल्पना–लोकमा बनेपा आइपुगेकी हुन्थी । कालो भुइँमा रातो किनारा भएको परम्परागत हाकुपतासीमा सजिएकी, सिउँदोमा लामो धर्को सिन्दूर हालेकी, पातला ओठमा गाढा रातो लाली पोतेकी, कपालको गुजुल्टोमा सुन्तला र सेतो रङको ६ पाते गुनकेशरी सिउरिएकी, गुनकेशरी फूलझैं मुस्कुराइरहेकी एक २० वर्षे शान्त, प्रदीप्त नेवा: युवती मिसरी पूजा–पंक्तिमा बसिरहेका हजारौं चम्किला कन्याका कपालमा तेलदानीबाट काँचो तेल खन्याइरहेकी हुन्थी । फूल–पाती–अक्षताले कन्याहरूको पूजा गरिरहेकी हुन्थी मिसरी । सायद पूजा–लाइनमा बसिरहेका सम्पूर्ण कन्याहरू आफूजस्तै ‘विद्रोही’ बनून् भन्ने चाहन्थी मिसरी ।

मैले मस्तिष्कमा मिसरी बोकेर हिँडेपछि बनेपादेखि इन्द्रचोकसम्म उसका अनेक आकृति ब्युँझिरहेका थिए । साँझको इन्द्रचोकमा घर छोड्नेबेला उसले लगाएकै जुत्ता पड्काउँदै हिँडेको मिसरीको झल्को आउन थालेको थियो । एकसुरमा हिडिँरहेका तरुनीहरू देख्दा लाग्थ्यो, कुनै बेला मिसरी यसरी नै इन्द्रचोक छेउछाउका गल्लिमा हिँडिरहेकी हुन्थी होला ।

मेरी कल्पनाकी मिसरी जहाँबाट उपन्यास सकियो, त्यही दृश्यबाट ठम्ठम् हिँड्न थाल्थी । मेरो कल्पनामा, प्रेमिसँग जाऊँ कि नजाऊँ भन्ने चरम द्वन्द्वमा बाँचिरहेकी, इन्द्रचोककी सरल नेवार युवती मिसरीका गाला लाजले हो वा भयले राता हुन्थे । साँझको सडकमा मानिसहरूको चहलपहल बिस्तारै घट्दै गएको हुन्थ्यो । पर्तिरबाट सडकमा गुडिरहेका साइकलले फ्याँकेको उज्यालो मिसरीको अनुहारमै परेको हुन्थ्यो । एक्कैछिनमा आइपुग्ने घरछेउकै मोड पनि उसलाई लामो र भयप्रद लागेको हुनुपर्छ । जीवनमा अनगन्ती पटक त्यस बाटो निस्फिक्री हिँडेकी ऊ मेरो कल्पनामा डराएकी देखिन्थी ।

हीरामानसँग पहिलोपटक बोल्दा के भनेर सम्बोधन गर्ली मिसरी ? एक्कासिजस्तो झमक्कै परेको रातमा लाजले दोब्रिएकी मिसरी एक शब्द पनि नबोली बाटोको मोडमा कुरिरहेको हीरामानको मोटरसाइकलमा चढ्थी र अलप हुन्थी । मेरो कल्पनाकाशमा तैरिरहेको मिसरीको मायावीजस्तो लाग्ने अनुहार त्यसपछि दृश्यबाटै हराउँथ्यो ।

०००

‘एक किसिमले यो किताब मिसरीको केही दिनको डायरी हो,’ युगकवि सिद्धिचरण श्रेष्ठले ‘पल्लो घरको झ्याल’ को भूमिकामा लेखेका छन्, ‘गोठाले फूललाई बाटोको शाखामा गम्केको रङले भरिएको फूलमात्र देख्दैनन्– माटो र पानीको संघर्ष, घाम र हावाले यसको कणकणमा मुसारेको कुरा आदिलाई पनि उनी बिर्सन्नन् । त्यसैले मिसरी एउटा मुखियाकी स्वास्नी, एउटा घरकी छोरी र अर्को घरकी बुहारी मात्र होइन, मिसरी युगको एक उपज, लामो इतिहासको एक निचोड पनि हो भन्ने उनी देख्छन् ।’

कोर काठमाडौंको सामाजिक मनोविज्ञान बुझाउने किताबको प्रकाशनले ६२ वर्ष प्रवेश गर्नु एउटा उत्सव हो । यो उत्सवमा गोठालेले लेखेको इन्द्रचोकवरिपरिका अन्य चोक–गल्लीतिर घुमिहिँड्नु थप रोमाञ्चक र अर्थपूर्ण हुन्छ । यसले मिसरीसँगै एक गुण्डाको दैनिकी पनि विस्तारमा बताउँछ ।

०००

पल्लो घरको झ्यालमा टुपुल्किने ‘गुण्डो’ भनिएको हीरामानसँग भागेकी छे मिसरी । खासमा मिसरीको भगाइ कुनै क्रान्तिकारीले गर्ने जेलब्रेकको कथाजस्तै साहसिक र रोमाञ्चक लाग्छ ।

जुन कालखण्डमा यो उपन्यास लेखिएको थियो, समाज अनेकौं निषेधको लहराले जेलिएको थियो । अहिले पनि समाजले खटन गरेको स्वतन्त्रताको झुलमा आफ्ना इच्छाहरू मारेर बस्नुपर्ने विरक्तलाग्दो सामाजिक अवस्था छ भने त्यतिखेरको मध्यमवर्गीय काठमाडौंली परिवारमा एउटी विवाहित बालाको अवस्था कस्तो थियो होला ? ‘हो, आफूले भोगिरहेको जीवनबाट निर्देशित भएर आफ्नो जीवन यसरी बाँच्छु भन्ने निर्णय दृढ ढंगले लिन मिसरीले सकिनन् । सायद, त्यतिखेरको सामाजिक परिवेशका कारण लेखकले पनि आफूले तयार पारेको पात्रलाई त्यस्तो अह्राउन सकेनन् होला’, कवि/आख्यानकार विप्लव प्रतीक भन्छन्, ‘तर, एक व्यक्तिका रूपमा उपन्यासकी मिसरीको मनोदशा, अवस्था र उनले भोग्नुपरेको परिवेश चित्रण वास्तवमा क्रान्तिकारी छ । नारी जहाँ गएपनि कसैको अनुकम्पामा बाँच्नुपर्ने अमानवीय पक्षबारे पुस्तक मौन छ । तर, यसबारे पुस्तक मुखरित भएको भए कथा मिश्रित हुने थियो । सायद त्यसैले लेखकले त्यस पक्षलाई पुस्तकमा प्रवेश दिएका छैनन् ।’

लेखक, सम्पादक भूषिता वशिष्ठ भने मिसरीको भगाइलाई क्रान्तिकारी मान्दिनन् । भन्छिन्, ‘सतही रूपमा मिसरीको प्रतिनायक हीरामानसँगको इंगित मिलन क्षणिक समयका निम्ति क्रान्तिकारी होला, तर मिसरी अन्ततोगत्वा अनुगामिनी नै रहेकी छ । के स्वतन्त्रताको कामना गर्ने नायिकाका निम्ति त्यही अन्तिम सोपान हो ? प्रश्न आज झनै ज्वलन्त बनेको छ ।’

आख्यानकार, चिन्तक इन्द्रबहादुर राई ‘नेपाली उपन्यासका आधारहरू’ (२०३१) किताबमा ‘पल्लो घरको झ्याल’ की मिसरीमाथि लेख्छन्, ‘फ्रायडवादले बताउँछ स्वप्नमा व्यक्तिको इच्छाको छद्मपूर्ति पाइन्छ । मिसरीको मुखमा हाँसो दिने त्यो सपना उसको माइतीबासको बिपनाहरूबाटै, विशेष अघिल्ला चौबीस घण्टाबाट बनेको स्वाप्निक तुष्टि थियो ।’

भाषा, चोखा विम्ब र साहसिक विषयवस्तुका कारण आख्यानकार नयनराज पाण्डेको स्मृतिमा यस उपन्यास सम्मानसाथ बसेको छ । ‘उपन्यासका केही दृश्य आजपर्यन्त मनबाट हट्न सकेको छैन– बिरालाले परेवा खेलाईखेलाई मारेको दृश्य र त्यसलाई हेरेर आनन्द मानिरहेकी मिसिरी’, पाण्डे भन्छन्, ‘स्याडिस्ट मिसिरीको मनोविज्ञानलाई यति बलियो विम्बमार्फत देखाउन सक्नु उपन्यासकारको सफलता हो । उपन्यास पढेको केही पछि मात्र मैले फ्रायडियन कोणबाट यो दृश्यलाई बुझेको थिएँ ।’

आख्यानकार गनेस पौडेलको बुझाइमा मिसरीको भगाइ ‘एन्टीहिरोप्रतिको यौनाकर्षण’ हो । ‘जब कुनै असन्तुष्ट व्यक्ति वा कुनै उत्पीडित व्यक्ति सामाजले कोरेको परिधिबाट निस्किन खोज्छ, उसलाई समाजले भन्ने गरेको खराब चरित्र अर्थात् गुण्डा बरु खास हिरो लाग्छ । एन्टीहिरोप्रतिको यौनाकर्षण मिसरीको यौन–मुक्तिको अवचेतन सर्त हो ।’

०००

मिसरीको जीवनमा हीरामानको प्रवेशपछि नेपाली समीक्षक/पाठकले उसलाई नैतिकता, अनैतिकता, संस्कृति, विकृति, सही, गलत, पाप, धर्मको तराजुमा लामो समय जोखिरहे । गोठालेले नेपाली साहित्यलाई दिएकी अनौठी नायिका मिसरीसँग मेरो गहिरो मानसिक सम्बन्ध गाँसिएको छ । पहिलो पटक गोठालेले रचेको मिसरीको कथा पढ्दा म केही झस्किएको थिएँ । मिसरीलाई जसरी टोलेगुण्डा हीरामानले बारबार चिठी पठाइरहन्थ्यो, त्यसैगरी म पनि एक समय कसैलाई चिठी पठाइरहन्थें । मिसरीबाट हीरामानको चिठीको कुनै जवाफ नआएझैं मेरा चिठीहरू पनि जवाफबिनै ओइलाउँथे । यसरी हीरामानकी मिसरी नजानिँदो तरिकाले मेरी आत्मीय भएकी थिई । कति जवाफहीन रात मैले मिसरीको कोमलतासँग हार खाएर कटाएको थिएँ । मिसरीसँग प्रेम गर्ने हीरामानबाहेक थुप्रै पाठक होलान्/नहोलान्, तर काठमाडौंको पुरानो घरको झ्यालमा बसिरहने उदास, तर मोहक नेवा: नायिकाको जादू ममा अझै जीवन्त छ ।

कस्ती थिई मिसरी ? नैतिकता र अनैतिकताभन्दा पर, पाप र धर्मसँग नजोडिएको, ठीक र बेठीकभन्दा टाढा, संस्कृति र विकृतिभन्दा मास्तिर कतै कुनै चारित्रिक क्षेत्रफल छ भने मिसरीको बसोबास त्यहीँ छ ।

एक जना दिक्कलाग्दो पारम्परिक जीवनशैली अनि यान्त्रिक रूपले काम गर्ने पुरुषसँग विवाह गरेकी मिसरीको जीवनमा अर्को बलियो, साहसी पुरुषको प्रवेशपछि उसको मस्तिष्कमा आएका तरंगहरूको नालीबेली हो– पल्लो घरको झ्याल । वास्तवमा मिसरीको खोजी के कुराका लागि थियो ? ठ्याक्कै थाहा पाउन वा भन्न सकिँदैन । समीक्षकहरू भन्छन्, ‘यौनिक मुक्ति’ थियो उसको खोज ।

एउटा शान्त, सोझो लोग्ने छोडेर ‘गुण्डा’ सँग जानुलाई मिसरीले मुक्तिको बाटो छनोट गरेको ठान्छन् लेखक अभि सुवेदी । ‘यो कथा बुझ्न केवल यौनिक मनोविज्ञानलाई मात्र हेरेर पुग्दैन । यसमा यौनिक तृष्णा छ, तर त्यो नै यस कथाको जड होइन । कमजोर पतिसँग बस्ने कल्पनाले आत्तिएकी परम्परागत घरकी, तर संवेदनशील नेवारी युवतीले छानेको मुक्तिको बाटोलाई कथाले देखाउँछ । केटो अराजक बानी बेहोराको कदाचित् गुण्डो पनि भन्न सकिने व्यक्ति हो । त्योसँग यौन मात्र होइन, प्रतीकात्मक ढंगले भन्दा उन्मुक्तिको शृंखलाहीन, तर उत्तेजक चारित्रिक पक्ष छ । मिसरीलाई त्यस व्यक्तिको त्यही अरूभन्दा फरकपनाले आकर्षित गरेको हो ।’

गनेस पौडेललाई लाग्छ– यौनिक मुक्ति (सेक्सुअल लिवरेसन) को हिसाबले हेर्ने हो भने मिसरी नेपाली साहित्यको एकमात्र विद्रोही चरित्र हो । ‘तर, त्यसका लागि आमा बन्न नपाएको कुण्ठाको अध्यायलाई बिर्सिदिनुपर्छ । आमा बनेकै भए पनि मिसरीको मुक्तिको तृष्णा फेरिनुहुँदैन । आमा हुने चाहनालाई समातेर गोठालेले उसलाई जुन ‘पोयटिक जस्टिस’ दिने कोसिस गरेका छन्, त्यो खासमा अनावश्यक कोसिस मात्रै देखिन्छ ।’

उपन्यासकार शिवानीसिंह थारू मिसरीलाई खुब सम्झिन्छिन् । भन्छिन्, ‘१९ औं शताब्दीमा गुस्ताभ फ्लाउबेयरले लेखेको फ्रेन्च उपन्यास मदाम बोभारीकी नायिकालाई विश्वको आख्यान साहित्यमा जसरी हेरिन्छ, नेपाली साहित्यका सन्दर्भमा मिसरीलाई त्यसरी नै हेर्न सकिएला ।’

मिसरीको बगावतले क्षणिक त्राण दिए पनि उपन्यासको पटाक्षेपमा त्रासद छ भन्छिन् भूषिता वशिष्ठ । ‘एरिकसनको मनोवैज्ञानिक चक्रको हिसाबले हेर्दा २० वर्षे मिसरी आफ्नो अस्तित्व र पहिचानको खोजीमा छ । हामी अक्सर महिला सशक्तिकरणको कुरा गर्दा संरचनात्मक दोषको कुरा गर्छौं । मिसरीको हकमा हेर्दा, कसरी उसको अस्तित्वको खोजलाई एउटा पुरुषबाट अर्को पुरुषसम्मको छलांगमा सीमित गरिएको छ, यो नै संरचनात्मक दोष हो,’ वशिष्ठ भन्छिन्, ‘अकल्पनीय कामनाका उडान भर्दा पनि, मिसरीका आकांक्षा वल्लो घरको झ्यालबाट, पल्लो घरको झ्यालसम्म मात्र पुग्ने आँट गर्छ । होला, केही क्षणका निम्ति, हीरामानलाई भेट्न जाउन्जेल उसलाई उन्मुक्तिको आभास पनि होला । तर, त्यो उन्मुक्ति आजीवन कारावास सजाय पाएको मान्छेले एउटा कैदखानाबाट अर्को कैदखाना जानुबीचको क्षणिक स्वतन्त्रताभन्दा बढी म देख्दिनँ ।’

०००

कवि माधव घिमिरेको एउटा चर्चित कविताको लाइन छ– ‘ए कहाँबाट हेरौंला संसार संझ्यालै नरहे ।’ वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठले लेखेका छन्, ‘चन्द्रबहादुर जोशीले तयार पारेको काठमाडौं उपत्यकाका कलात्मक झ्यालहरू नामक पुस्तकमा कवि घिमिरे भन्छन्, ‘कुनै व्यक्तिको मनको भाव हेर्ने हो भने उसका आँखा हेरे पुग्छ, कुनै देशका निवासीको मनको भाव हेर्ने हो भने तिनका झ्याल हेरे पुग्छ । झ्याल केवल हावा खाने प्वाल मात्र होइन— यो त विचित्रतापूर्ण विश्वलाई हेर्ने कलाको कल्पना हो ।’ ‘पल्लो घरको झ्याल’ तिर चियाइरहेकी मिसरीको कथामार्फत गोठालेले काठमाडौं उपत्यकाको झ्याल संस्कृतिलाई अजम्बरी बनाइदिएका छन् ।

हुन त झ्याल काठमाडौंको एक विशिष्ट वास्तुसंस्कृति हो । नेपालका गाउँमा घरहरू जोडेर उति बनाइँदैनन्, त्यसैले एउटा घरको झ्यालबाट अर्को घरको झ्यालभित्रको दृश्य हेर्नु त्यति सम्भव हुँदैन । तर, सहरमा, गल्लीहरूमा, चोकहरूमा एक झ्यालबाट अर्को झ्यालभित्र सहजै चियाउन सकिन्छ । त्यसैले उपन्यासको यो शीर्षक ‘पल्लो घरको झ्याल’ ले नै काठमाडौंको गृहवास्तु र त्यसले निर्माण गर्ने संस्कृतिको बयान गर्छ । ‘रित्तो गाउँ’ मा कवि श्यामल लेख्छन्, ‘प्रेम र घृणाको निकटतम अभिव्यक्तिका लागि काठमाडौका अधिकांश घरका झ्यालहरूको तुलना अन्यत्रका घरहरूको झ्यालसँग हुनै सक्तैन । अघिल्लो पुस्ताका दिग्गज कथाशिल्पी गोठाले झ्याल संस्कृतिकै उपज र उन्नायक हुन् ।’

कथा संक्षेप :

‘पल्लो घरको झ्याल’ मा मिसरीको मानसिक ‘कुण्ठा’ र त्यसको पूर्तिको कथा छ । मिसरी तत्कालीन नेवार परिवारकी विवाहित युवती हो । उसको पति हरिभक्त अति सोझो छ । माइतीमा बस्दा पल्लो घरको झ्यालबाट निरन्तर हेरेर हीरामान नामको गुण्डाले मिसरीलाई हैरान पार्छ । व्यवहारमा मिसरी हीरामानबाट मुक्त हुन खोज्छे, तर उसको अचेतन मनले भने उसैलाई पछ्याइरहन्छ । यौनसुखमा चासो नराख्ने पतिबाट विरक्त भएकी हुन सक्ने मिसरीको मन हीरामानको शक्तिशाली पौरुषतिर आकर्षित भइरहन्छ र प्रबल इच्छा नहुँदा नहुँदै पनि ऊ अन्त्यमा गोल्सनको उक्साहटमा हीरामानसित हिँड्छे । यसरी पल्लो घरको झ्यालको विम्बमा देखिने मिसरीको मानसिक दोधार र द्वन्द्वले विचलित मनोदशामै भए पनि एउटा भौतिक निकास पाउँछ ।

कुरो ०६१ साल कात्तिक महिनाको १४ गते शनिबारको हो । बिहानीपख समालोचक नेत्र एटम एकजना साथीलाई लिएर एउटा पत्रिकाको विशेषांकका लागि गोठालेसँग अन्तर्वार्ता गर्न उनको घर पुगेका थिए– काठमाडौंको गणबहाल, नेपाल आदर्श विद्याश्रमलाई दाहिने पारेर प्लटेमा ‘११६ ख, फतांगनी मार्ग’ लेखी भित्तामा टाँसिएको चारतले घर ।

‘भर्‍याङ चढेर चौथो तलामा पुगेका थियौं र खुल्लै रहेको फ्ल्याटमा हामी पुगेको कोठा उनको भान्सा थियो । गोठालेपत्नी सरस्वती मल्ल कुर्सीमा बसेकी थिइन्, गोठालेचाहिँ भात खाँदै,’ नेत्र एटम सम्झिन्छन् ‘अङ्ग्रेजी एल आकारको त्यस फराकिलो कोठमा पस्नासाथ मैले पल्लो घरको झ्याल कतैबाट देखिन्छ कि भनेर हेर्न प्रयास गरेको थिएँ, तर न्यानो घाम पसिरहेको दक्षिणतिरको झ्यालबाट बाहिर हेर्दा म निराश भएको थिएँ... । मिसरीको अचेतन मनको विशाल संसार खोज्दा–खोज्दा त्यस्तो दृश्य नपाएर खिस्रिक्क परेको म चटाइमा बस्दा–नबस्दै लट्ठीको आवाजसँगै गोठाले कोठामा पसेका थिए । कोठाको भित्तामा गोठालेका पिता सुब्बा ऋद्धिबहादुर मल्लको ठूलो मुहारचित्र टाँगिएको थियो । बाबु–छोराको अनुहार दुरुस्त थियो । पल्लो घरको झ्यालको अनुसन्धान भने त्यो छोटो भेटमा सम्भव भएन ।’

०००

कथाकार, सम्पादक, कवि अविनाश श्रेष्ठको प्रश्नमा भने गोठालेले भेद खोलेका रहेछन्, ‘पोइल जाने संस्कृति तिनताकको माहोलमा सामान्यजस्तै भएकाले त्यो त्यति चर्चा र चासोको कुरा मानिँदैनथ्यो बौद्धिक वृत्तमा । मलाई भने एउटा लोग्नेमान्छेको सग्लो अस्तित्व अगाडि हुँदाहुँदै एउटी स्वास्नीमान्छे कुन मनोविज्ञानले गर्दा परपुरुषतिर लहसिँदै जान्छे भन्ने प्रश्नले पछ्याइरह्यो । त्यसैले कुरा एउटी मिसरीको मात्रै होइन । त्यो मिसरी थुप्रै ऊजस्ता मिसरीहरूको साधारणीकरण हो भनी बुझ्नुभए हुन्छ ।’ (नागरिक, १० पुस ०६७) ।

‘गोठाले’ का कथाको अन्तर्य बुझ्न काठमान्डौको मुटुमा रहेको पाको पोखल्ड्याङ टोललाई बुझ्नुपर्छ । अनि त्यहाँका सडकको वास्तुकलाजन्य परिवेश हेर्नुपर्छ । मिसरी हीरामानसँग हिँड्नुमा परिवारको घरमा भइरहने भीड, श्राद्धको हलचल र असरल्ल सामानहरूले बनाएको भद्रगोलमय पारिवारिक परिवेशको पनि भूमिका छ सायद । ‘यो घर निर्माणको वास्तु रचनाले यस्तो परिवेश नबनाएको भए मिसरीको कथाले कस्तो मोड लिन्थ्यो भन्न सकिँदैन’, अभि सुवेदी भन्छन्, ‘घरहरूको बनावट, एउटा घरबाट देखिने पल्लो घरको हलचल अनि पात्रहरूका गतिविधिले निकै प्रभावित गर्छन् । यो वास्तुकलाजन्य वा आर्किटेक्चरको परिवेशले एउटा नाट्यमञ्चको काम गर्छ । गोविन्द र विजय दाइलाई यही परिवेशमा शान्त, सहज र चिन्तनशील भएका अनेकौ अवस्था र क्षणहरूमा भेटिबसेको मलाई यो कथाको अर्थ जीवन्त, बलियो र प्रतीकात्मक पनि लाग्छ ।’

लेखक जगदीश घिमिरे आफ्नो किताब ‘स्थान, काल, पात्र’को ‘उपन्यास र युगबोध’ शिर्षक लेखमा नायिका मिसरीलाई परपीडक (सेडिस्ट) देख्छन् र स्वपीडक (मासोकिस्ट) पनि मान्छन् । उक्त लेखमा घिमिरेले यस किताबबारे लेखेका छन्, ‘मनोविश्लेषण सम्बन्धी केही थोत्रा र खण्डित मान्यताहरू केही विवादास्पद, अझै टुंगो लागि नसकेका र कहिल्यै टुंगो नलाग्ने वाक्छलहरू ।’

‘मिसरीको मनोदशालाई एकतर्फी अध्ययनबाट राम्रोसँग बुझ्न सम्भव छैन । यौन र पीडाको समिश्रणबाट बनेको उसको मनोविज्ञानको गहिरो अध्ययन र विश्लेषणबाट मात्रै मिसरीको जटिल चरित्र बुझ्न सकिन्छ । निराशा, अन्धकार, हिंसा, पीडा, चोट, आदि संवेगका साथै मिसरीको अवचेतन मनमा आत्मबर्बादीप्रतिको आकर्षण एकातिर छ भने आफ्नो सोझो लोग्नेप्रतिको दयाभाव पनि उसको चेतनमनमा भरपूर छ’, गनेस पौडेल भन्छन्, ‘उसको अवचेतन सेडोमासोकिज्म घरीघरी चेतनमै सल्बलाएर आउँछ । चारा चर्दै गरेको परेवालाई बिरालाले झम्टेको जस्तो हिंसाचारको दृश्य उसलाई घत पर्छ । लोग्नेबाट कुटिएकी सेतीसँग पनि उसलाई ईष्र्या लाग्छ । ‘कति मजा हुन्छ’ उसको थेगोजस्तै छ । कसैको निराशामा, पीडामा, दु:खमा उसलाई सुख ईष्र्या दुबै एकैसाथ लाग्छ । ऊ न पुरापुर सेडिस्ट (परपिडक) हो, न मासोकिस्ट (आत्मपीडक) । ऊ त एकसाथ दुवै हो ।’

०००

गोठाले त्यस्ता यशस्वी लेखकमध्ये हुन्, जसले साहित्यको सीमा मात्रै बढाउँदैनन्, साहित्यको नयाँ फ्रेम बनाउँछन् । आजको दिनमा इतिहासको यो मोडमा उभिएर गोठालेलाई पढ्नु आकर्षण होइन, अनिवार्यता लाग्छ । सहरी समाज हेर्ने उनको प्रक्रिया महत्त्वको छ । नाममा त उनको गोठाले छ । तर, भित्री काठमाडौंमा जन्मेका उनको लेखनमा गाउँले ‘गोठाले’ पना आयो त ? ‘झ्यालबाट’ मा ईश्वर बराल लेख्छन्, ‘गोठाले फूलनाउँअनुसार तिनका कथा अथवा एकांकी नाटकमा ग्राम्यजीवन तथा समाजको परिवेश हुनुपर्ने हो, तर तिनमा त्यही चाहिँ पाइन्न । तिनका कृति काठमाडौंली सहरी समाजका प्रत्यक्ष अभिज्ञताजात प्रतिविम्बन हुन् ।’

गोठालेका उपन्यास होस् वा कथा, अथवा नाटकमा नेवार समाजका मध्यम तथा निम्न वर्गका मान्छे, पुराना समयका राणाबाबुसाहेबहरू र इतिहासका चरित्रहरू पात्रका रूपमा आउँछन् । उनको लेखनका मुख्य विषय नै प्रकृति र समाज–व्यवस्थाबीचको लडाइँ हो ।

गोविन्दबहादुर मल्ल ‘गोठाले’ । तस्बिर : कुमार आले

कथाकार, कवि अभय श्रेष्ठको बुझाइमा गोठाले फ्रान्सका कथाकार मोपाँसाजस्तै शब्दचित्रले मान्छेको ढोंग र अवचेतनको आन्द्राभुाडी छर्लंग देखाइदिन सक्ने आख्यानकार हुन् । ‘मिसरी, हरिभक्त र हीरामानबीचको त्रिकोणात्मक सम्बन्धमा मिसरी हरेक हिसाबले सुधो र प्रेम सम्बन्धमा निष्क्रिय हरिभक्तलाई छाडेर गुन्डो हीरामानतिर लहसिनुमा यही प्राकृतिक गुणले काम गरेको छ’, श्रेष्ठ भन्छन्, ‘गोठालेका हरेकजसो कृतिमा नेवारी समाजको जिवन्त चित्रण छ । दमित वर्गका पात्रहरू चुपचाप बस्दैनन्, कुनै न कुनै तरिकाले प्रतिवाद गर्छन् ।’

गोठालेले बुनेको महिलाको अन्र्तमनको चित्रणले नायिकालाई पूर्णत: न्याय गर्न सकेको छैन भन्ने लाग्छ भूषितालाई । ‘तुलनात्मक रूपमा हेर्दा केही वर्षको अन्तरालमा प्रकाशित प्रेमा शाहको पँहेलो गुलाफ र पारिजातको मैले नजन्माएको छोरो, दुई उही शैलीका कथामा नायिकाको बहुआयामिक व्यक्तित्वलाई पाठकका हिसाबले म बढि अभिव्यञ्जित र उन्नत पाउँछु ।’

काठमाडौंको नेवारी समाजलाई निकै राम्रोसँग बुझेका र बाँचेका थिए, गोठालेले । त्यसैले उनका कथामा ती समाजबाट उत्पन्न मानिसहरू छन् । समीक्षकहरूले भनेका छन्– गोठाले नेपाली साहित्यमा यौनमनोविश्लेषणात्मक कथा कहानीलाई पहिलोपल्ट उत्कृष्ट सीप र शैलीमा प्रवेश गराउने स्रष्टा बीपी कोइरालाबाट प्रभावित थिए । अविनाशसँगै गोठालेले भनेका रहेछन्, ‘म वीपीका कथाहरूबाट अत्यन्तै प्रभावित रहेँ । वीपीको लेखनको सहजता र मनोवैज्ञानिकताले मलाई सधैंभर आकर्षित गरिरहन्छ ।’

२०४१ देखि गोविन्दबहादुरको सान्निध्यमा रहेका अविनाश श्रेष्ठको बुझाइ छ, ‘काठमाडौंको एउटा कुलीन र सम्पन्न परिवारको व्यक्ति हुनुको दम्भ वा एकजना चर्चित लेखक हुँ भन्ने अहं उहाँमा रत्तिभर थिएन ।’

मिसरीको कथा अत्यन्त महत्त्वपूर्ण छ किनभने यो केवल आख्यान होइन, गोविन्दबहादुरकै अनुसार, यो हाम्रो इतिहास पनि हो । त्यसबेलाका मानिसको मनोविज्ञानको इतिहास । के मनोविज्ञानको पनि इतिहास हुन्छ ? हुन्छ । यो किताब त्यही इतिहास हो ।

०००

गोविन्दबहादुर मल्ल ‘गोठाले’ (जन्म १९७९ असार २६ गते पाको पोखल्ड्याङ र मृत्यु २०६७ मंसिर २७ गते गणबहाल) को लेखनको दुनियाँ काठमाडौंको सहरी जीवन र संस्कृतिमा सीमितजस्तो देखिन्छ, तापनि त्यसले मानव मनोविज्ञानको असीमित परिधिलाई समेटेकाले त्यो सार्वभौम, शाश्वत र सीमातीत पनि छ । गोठालेले रचेका कृतिहरूका प्रमुख पात्रपात्राहरू समाजमा विद्यमान ढोंगविरुद्ध कुनै न कुनै रूपले प्रतिवाद गरिरहेका हुन्छन्, यद्यपि पहिलो दृष्टिमा ती दमित र वाणीहीन जस्ता देखिन्छन् । ‘पल्लो घरको झ्याल’ की मिसरी पनि दुविधा–दुविधामै पति र घरविरुद्ध प्रतिवाद गर्छे । गोठालेले रचेका नेपाली साहित्यकी एउटी अमूल्य पुँजी हो मिसरी । मैले बनेपामा भेटेकी नेवार बालाभन्दा पनि ऊ भिन्न, चञ्चल र नैतिकताको लक्ष्मणरेखाबाट विमुक्त छे । मिसरी– चयनको स्वतन्त्रताका निम्ति एउटा विप्लवी उत्प्रेरणा !

(शनिबार प्रकाशन हुने कान्तिपुरको प्रिन्ट संस्करण ‘शनिबार विशेष’बाट ।)

प्रकाशित : असार २५, २०७८ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?