सत्ताको उमेर
कोभिडसँग युद्धविराम गरेर एक महिनापछि फर्केको छु आफ्नै लयमा ।
जसरी फर्किन्छन् स्वाधीन घरमा
पूर्वको घाम हेर्दै भोकको समाधान गर्न हिँडेका
किसानहरु मजदुरहरु, श्रमिकहरु
पश्चिम यात्रामा हिँडेको घामलाई खर्पन वा डोकोभित्र हाल्दै ।
उः हेर्नुस् त –
पक्षीहरु पनि फर्किरहेछन् गुँडमा ।
दिदीबहिनीहरुले
भर्खर बिसाएका छन् आँगनको डिलमा घाँसको भारी
दाउराको भारी बिसाएर पसिना पुछ्दै
खुइय्य.... निश्वास भरेजस्तै
लामो लामो सास तान्न सक्ने भएको छु म ।
अलपत्र ज्याला मजदुरहरुका फोक्सोले थाहा छैन
कतिन्जेल फेरिरहन सक्लान् लामो–लामो सास !?
धमिराले खाएको रुखजस्तो
कट्कटी दुख्ने शरीर हाइसन्चो भएको छ,
रूघाले बगिरहने नाक
झरीको थामिएपछिको मौसमजस्तै खुलेको छ,
मर्छु कि जस्तो लाग्ने रोगी सोच पछि भेटौंला है भन्दै छुटेको साथीजस्तै हराएको छ ।
कोभिडसँग लडेको एक महिनापछि
खोक्दा खोक्दा अनिदो रात
आमाको काखमा सुतेको बालकजस्तै निदाउँछ ।
महामारीले
धेरैलाई लगेको छ मृत्युको डोली चढाएर
नेलले बाँधेर लानुपर्ने त
भ्रष्टाचार, अनियमितता, माफियातन्त्र
गुन्डागर्दी, बलात्कारी, घूसखोर, हत्यारा
दलाल, गोयबल्स र सामूहिक लुटेरालाई हो !
सीसीएमसीले दिने
सङ्क्रमित र मृत्युको आँकडा सुन्दा दुख्ने मुटु
भूकम्पले थिलथिलो
पहाडी गाउँका बस्ती र सहरमा
नदीलाई जिस्क्याउन हिँडेको
आलिसान सपनाको पुँजीबजारमा
बाढी पसेको दु:खद समाचार कसरी हेर्न सक्नु ?
कोरोनाले जस्तै बाढीले
– सयौं उद्यमीको सपना बगाएको छ
– हजारौं व्यवसायीको लगानी डुबाएको छ
– अनेकौं किसानको खुसी पुरेको छ
– बाली लहलहाउने खेतबारीलाई उजाड मैदान बनाएको छ
यही सङ्क्रमणका बीच
मैलेजस्तै
मेरो देशका मुखले पनि स्वाद गुमाउने हुन् कि !
नाकहरु सुगन्ध गुमाएर शोकमग्न हुने हुन् कि !!
अझै कति धपिने हुन्
रूघाका रोगी र खोकीका बिरामीहरु
ज्वरोले थलिएका र घाँटी दुखेर छटपट
शरीर कट्कटी खाने पीडितहरु
कालोबजारीले
सारा विधिविधानलाई उलङ्घन गरेको छ
मूल्यवृद्धिले
सारा मानवीयतासित नाता तोडेको छ
बैंकले
घाम लागेको बेला दिएको छाता
यो अविरल वर्षामा
फिर्ताका लागि ताकेता र धम्की दिइरहन्छ
प्रिय शासक
रोक राजनीतिक, सरकारी र नीतिगत धुर्त्याइँ
लाज छोप सरकार
र, पढ आफ्नो घोषणापत्र
सुन र हेर आफैंले
भाषण, राष्ट्रको नाममा सम्बोधन र प्रतिबद्धताहरु
बन्द गर आफ्ना काला कर्तुत
र, फेर आफ्नो कालो रगत
कि
पर्ख अर्को बाढीपहिरो !
प्रकाशित : असार १९, २०७८ ११:५३