कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोरोनाकल्प

जिन्दगीका जटिलतामा मान्छे कहिलेकाहीँ जितेर पनि हारेको हुन्छ । र, कहिलेकाहीँ हारेर पनि जितेको ! यो विरोधाभाषी जित र हारको अनुभूति त्यतिबेला हुन्छ, जब प्रतिस्पर्धा आफैंसित हुन्छ वा आफ्नै मान्छेसित हुन्छ । र, त्यतिबेला पनि हुन्छ, जब उही परिस्थितिमा पिल्सिएर आफ्नाहरू हारिरहेका हुन्छन् ।
शिवानीसिंह थारू

कोरोनालाई जितेपछि कस्तो महसुस हुन्छ ? कोरोनालाई ‘जितेपछि’ जिन्दगी बेसार–पानी महसुस हुन्छ । ‘जितेको’ कैयौं दिन भइसक्दा पनि सुक्खा खोकीको लहरे ठाउँठाउँमा विजयी गान सुनिन्छ । कोरोनेसित लडियो भनेर गर्वले फोक्सोभरि सास लिन खोज्यो, आन्द्रा सोहोरिएर आएको एउटा करौंतीदार खोकीले छातीमा प्रहार गर्दै सम्झाइदिँदो रहेछ– मनुख्ये सासचाहिँ छोटो–छोटो नै ल !

कोरोनाकल्प

खराखरी भन्नुपर्दा कोरोनालाई जितेपछि ‘जित्नु’ को अर्थ मैले पुन: परिभाषित गर्नुपरेको छ । ‘जित्नु’ लाई फेरिबाट ‘हार्नु’ सित दाँज्नुपरेको छ, ‘अजेय’ को कसीमा घोट्नुपरेको छ ।

‘जित’ सितको मेरो पहिलो भेट खेलको मैदानमा भएको थियो । बालमन्दिरको शिशुकक्षामा खेल प्रतियोगिता हुँदा म केही खेलहरूमा प्रथम भएकी थिएँ । माइकमा मेरो नाम घोषणा हुँदा दर्शकदीर्घामा पर्रर्र ताली बजेको थियो । त्यतिका धेरै तालीमा मेरा लागि मामाले बजाइरहेको ताली मात्रै कानमा गुन्जिएको थियो । मेरो हातमा परेको प्रमाणपत्र र स्टिलको कचौरामा मलाई उति वास्ता थिएन, जति वास्ता मामाको विजयी हाउभाउको प्राप्तिमा । कोठे लुंगी लगाएका मेरा मामा खुसीले भुइँबाट बुरुक्क उफ्रेका थिए । अनि उत्साहमा मतिर बेस्सरी हात हल्लाएका थिए । मभन्दा बेसी सायद उनी जितेका थिए । ‘जित’ भनेको यस्तै देखिँदो हो । ‘जित्नु’ भनेको मुटुमा यसरी नै लाग्दो हो । वस्तुत: जिन्दगीमा ‘जित्नु’ को अनुभूति ममा यसरी नै दर्ज भएको थियो । आफ्ना प्याराहरूका आँखामा आफ्ना लागि चमक, आफन्तका ताली, साथीभाइको उल्लास !

हैन भने खेल सकिनासाथ कुनै पनि खेलका विजयी खेलाडीलाई सोध्नुस् वा सोध्नुस् भर्खरै ताज पहिरिएकी सुन्दरी प्रतियोगिताकी विजेतालाई, नभए तात्तातो लटरी जितेका भाग्यमानीलाई ‘जित्दा कस्तो लागिरहेछ ?’ प्राय:ले पहिलो लाइन यही भनेको सुनिन्छ, ‘मलाई विश्वास नै लागिरहेको छैन !’

त्यसैले भन्न सकिन्छ ‘जित’ आफैंमा केही पनि होइन । सामूहिक उल्लासको करेन्ट आफूसम्म आइपुगेर छोइँदा मात्र ‘जित्नु’ ले जीवन्तता पाउँछ ।

तर, जिन्दगीका जटिलतामा मान्छे कहिलेकाहीँ जितेर पनि हारेको हुन्छ । र, कहिलेकाहीँ हारेर पनि जितेको । यो विरोधाभाषी जित र हारको अनुभूति त्यतिबेला हुन्छ, जब प्रतिस्पर्धा आफैंसित हुन्छ वा आफ्नै मान्छेसित हुन्छ । र, त्यतिबेला पनि हुन्छ जब उही परिस्थितिमा पिल्सिएर आफ्नाहरू हारिरहेका हुन्छन् । आफू भने बल्लतल्ल उम्केर जितेको भान भइराखेको हुन्छ । यस्तो जिताइ, जसले हरेक क्षण आफ्नाहरू हारेको सम्झनाले चुकचुकाइराख्नुपरोस् ।

यसपालि त्यस्तै भयो, कोरोनालाई ‘जित्दा’ । मलाईजस्तै धेरै नेपालीलाई भएको हुनुपर्छ ।

कोरोनाग्रस्त भएर एघारौं दिनमा होलो हुँदा हाम्रा केही आफन्त र साथीभाइ हामीमाझबाट सदाका लागि बिदा भइसकेका थिए । नेपालगन्जमा तीन जना हाम्रा मान्छे अस्पताल लाँदालाँदै बितिसकेका थिए । एक जना भेरी अञ्चल अस्पतालको प्राङ्गण्नमा बेड कुर्दाकुर्दै मरे । काठमाडौंमा एक जना सानीआमालाई टेकु अस्पतालको वार्डबाहिर अक्सिजन दिइराखिएको थियो । यति सब भइसक्दा मिर्गौला डायलसिस गराइराखेका अर्का एक आफन्त जब मरे, हामी मृत्यको खबरले छुन नसक्नेगरी लाटिइसकेका थियौं । हाम्रा संवेदना शून्य भइसकेका थिए ।

त्यसैले कोरोनालाई जितेपछि ‘जित’ को स्वाद जिब्रोमा बेसार–पानीको तीतोपन भएर बसेको छ ।

कोरोनालाई झेलेर पुन: पीसीआर टेस्ट गराउँदा जब रिजल्ट नेगेटिभ आउँछ, त्यतिबेला चाहिँ संसारै जितेझैं लाग्छ । कोभिडको यो दोस्रो लहरमा त झन् कोरोना लाग्नु ठूलो कुरो भएन । हस्पिटल पुर्‍याइएर अक्सिजन लाउन नपर्ने हुँदामै आफूलाई विजयी ठाने भो । अनि जब ज्वरोले छ्यांग होइन्छ, त्यतिबेला पनि लाग्छ अब बाँचियो, अब त आफूलाई कहिले नि कोरोना लाग्दैन । त्यसपछि पछाडि फर्केर हेर्दा जिन्दगीको कालखण्ड दुई भागमा आफ से आफ बाँडिन पुगिन्छ । कोरोना लाग्नुभन्दा अघि र कोरोना लागेपछि ।

उसैपनि आम नेपालीका लागि यो दोस्रो लहरको सुनामीले समयलाई दुई फ्याकमा बाँडिदिएको छ । २०७८ को वैशाख १६ भन्दा अघि र १६ पछि । अक्सिजन, बेड, भेन्टिलेटरको हाहाकार हुनुभन्दा अघि र पछि । हरेक दिन ८ हजार संक्रमित र हरेक १० मिनेटमा एक जनाको मृत्युको त्रासदी सुरु हुनुभन्दा अघि र पछि । कमै मान्छे अछुतो रहे होलान्, जसलाई मृत्युको खबर सुन्न नपरेको होस् । कसैले परिवारका सदस्य गुमाएका छन्, कसैले आफन्त । कसैका साथीभाइ बितेका छन्, कसैका आत्मीय छिमेकी । जो–जो उम्के उनीहरू झन्डैझन्डै सास गएको व्यथाबाट धन्नधन्न बाँचेको कथा भन्न सरभाइभ भए ।

यही नियतिबाट गुज्रिँदा जब मैले कोरोना लागेपछिको समयलाई लाग्नुभन्दा अघिका दिनसँग दाँजे, संसार उही नहुनेगरी फेरिइसकेको थियो । कोरोनाले शिथिल हुनुभन्दा एक महिनाअघि म नेपालगन्जबाट होली मनाएर फर्केको थिएँ । उता होली खेल्ने तरिका पूरा फिल्मी हुँदै आएको छ । नेपालगन्जको पुरानो बजारको हरेक गल्ली र चोकमा जसरी होली खेलिएको थियो, त्यसले आलेख लेख्न उत्प्रेरित गरेको थियो । ओरहान पामुकको ‘इस्तानबुल’ शैलीमा नेपालगन्जलाई एउटा प्रेमपत्र लेख्दै थिए : ‘दास्तान–ए–नेपालगन्ज’ को शीर्षकमा । त्यो पत्ररूपी आलेखमा ती दाइहरू पनि थिए, जो कोरोनाले बितेर गए । तीन हजार शब्दको सीमिततामा सहरप्रतिको अनुराग पूरै समेट्न मुस्किल हुन्छ । तैपनि ती पात्रहरू नसमेटी हुँदैनथ्यो । किनभने मेरा लागि ती मान्छेहरू सहरलाई यादगार बनाउने कडी थिए । जस्तै नेपालगन्जका साँघुरा गल्ली, भत्केका शिवालय, बिर्सिएका एक्कामानहरू थिए ।

ती तीनै जना एकदम सामान्य मानिस थिए । हुन सक्छ, उनीहरूमध्ये कसैको मृत्यु सरकारी आँकडामा दाखिला नभएको होस् । त्यसै पनि कोभिडले मृत्यु भएकाहरूको संख्या रेकर्डमा देखिएभन्दा बेसी छ अरे ! केही आत्मीय टोलवासीले मात्र थाहा पाउनेगरी ती मरे कि ? वा सरकारी आँकडाको गन्तीमा नछुटाइएर दाखिला भए ? भइहाले पनि कतिऔं मृतकको रूपमा अंकित भए होलान् ? थाहा छैन । यति मलाई थाहा छ, पत्रिकामा वैशाखभरि चार हजारको मृत्यु भनिँदा त्यो ४ हजार वडा क्रूर लागेका थिए । दिनहुँ पत्रिकामा पढिने मृतक संख्याका अंकजस्ता चिसा, स्यानिटाइज गरिएका, प्लास्टिकले बेरिएका शवजस्ता अमानुष लागेका थिए ।

मृत्युको खातमा उनीहरू फगत अंकमा देखिए पनि सम्झिनेहरूले उनीहरूलाई धेरै कोण भएका ज्यामितीय आकार र प्रकारमा सम्झिरहनेछन् । भलै ती सहरका आम मानिस थिए । एक भोट, नागरिकतामा टाँसिने एक श्यामश्वेत अनुहार, भीडमा एक टाउको थिए । चिन्नेहरूका लागि उनीहरू राधेश्याम वैश्य, गुड्डु श्रेष्ठ र अवधमान पति थिए ।

मृत्युको खातमा उनीहरू फगत अंकमा देखिए पनि सम्झिनेहरूले उनीहरूलाई धेरै कोण भएका ज्यामितीय आकार र प्रकारमा सम्झिरहनेछन् । भलै ती सहरका आम मानिस थिए । एक भोट, नागरिकतामा टाँसिने एक श्यामश्वेत अनुहार, भीडमा एक टाउको थिए । चिन्नेहरूका लागि उनीहरू राधेश्याम वैश्य, गुड्डु श्रेष्ठ र अवधमान पति थिए ।

‘दास्तान–ए–नेपालगन्ज’ को संस्मरणमा राधेश्याम दाइलाई ‘झन्कार बिट्स’ वाला भनेर सम्झिँदै थिएँ ।

यदि तपाईं आजभन्दा तीस वर्षअघि नेपालगन्ज जानुभएको भए, पुरानो बजारको मुटुमा रहेको त्रिभुवन चोकको एक फन्को जरुर लगाउनुहुन्थ्यो । त्रिभुवनको सेतो सालिक फर्केको दिशाको ठीक उत्तरतिर लाग्नुभएको भए बीचमा राम–सीताको मन्दिर देख्नुहुन्थ्यो । मन्दिरको वरवर जति आउनुहुन्थ्यो, तपाईंले कि त चुप लाग्नुपथ्र्यो कि त चिच्याईचिच्याई कुरा गर्नुपथ्र्यो । किनभने मन्दिरसित सटेको पसलबाट कानफोडु गीत घन्किरहेको हुन्थ्यो । भजन होइन हिन्दी फिल्मको ढिकचिक ढिकचिक । त्यहाँ राधेश्याम दाइ क्यासेट बेच्नुहुन्थ्यो । घन्किरहेको कुनै पनि गीत स्पष्ट बुझिन्नथ्यो किनभने गीतमा पछिबाट थपिएको ‘झन्कार बिट्स’ ले कान खाइरहेको हुन्थ्यो । यसपालि होलीमा नेपालगन्ज बजारका हरेक गल्लीमा जसरी स्थानीयहरू आठ–दसवटा स्पिकर लगाएर नाचिरहेका थिए, राधेश्याम दाइको ‘झन्कार बिट्स’ को घनक फेरिबाट कानमा गुन्जिएको थियो । र, लेख्न कुतकुत्याएको थियो नेपालगन्जियाहरूले चोक बजारको त्यो भागमा पुगेपछि गर्ने व्यवहार, जुन सम्झिदा नमुस्कुराइरहन सकिन्न । तर, राधेश्याम दाइ जसरी यो दोस्रो लहरमा बितेर गए, लेख्ने चौचौ पनि शिथिल भएर गयो ।

गुड्डु दाइलाई सम्झिँदा ‘एक थिए गुड्डु दाइ’ भनेर लेख्नैपर्ने हुन्थ्यो । किनभने मैले त्यही बेलाको गुड्डु दाईलाई सम्झिरहेको हुन्थें, जतिबेला उनी इन्द्रजाल कमिक्सको ‘चलता फिरता प्रेत’ को खानी थिए । उनको कमिक्स खानीमा लत नलागेको भए सायदै ममा कमिक्सको लेखक र चित्रकार बन्ने हुटहुटी जाग्थ्यो । कमिक्सकारिताचाहिँ सकिएन गर्न । तर, त्यही हुटहुटीले मलाई कथाकारितातिर डोर्‍यायो । घरलाई नै कमिक्सको गोदाम बनाउने उनको लहडलाई आफन्तहरूले ‘एउटै छोरोको सनक’ भनेर कुरा काट्थे । मलाई भने उनी गजबका लाग्थे । किनभने उनी इन्द्रजाल–कमिक्सका ‘चलता फिरता प्रेत’ र राज–कमिक्स सिरिजका रोमान्चकारी पात्रहरूसित दिन बिताउँथे ।

आउँदो साल नेपालगन्ज जाँदा डीएसपी रोडमा भएको उनको घरतिर सधैंझैं घाँटी तन्काई तन्काई कसरी हेरुँला ! रूखैरूखले छेलिएको उनको घर र झ्याम्मिएका रूखहरूको बीचबीचबाट देखिने जालीझ्याल देख्दा कतै झ्यालपछाडि गुड्डु दाइ त उभिएका छैनन् भन्ने ख्याल कसरी मेटाउँला । अलविदा गुड्डु दाइ !

नेपालगन्जमाथि संस्मरण लेख्नु र गगनगन्ज टोल छुटाउनु, हुनै सक्दैनथ्यो । गगनगन्जको बारेमा लेख्नु र अवध दाइको प्रसङ्ग छुटाउनु, त्यो पनि हुन सक्दैनथ्यो । किनभने गगनगन्जका किस्साकहानीहरूमा उनको पनि एउटा च्याप्टर छ जादुई यथार्थका कथा जस्तै कथ्न मिल्ने । उनको ‘बिनाका स्माइल’ र सेतो गन्जी † काठको लाम्चो बरान्डामा उभिरहनु र माथिबाटै आउने–जानेसित हालखबर सोध्नु अनि मलाई देख्नेबित्तिकै भन्नु, ‘अरे कब आयौ ?’ उनलाई सम्भिँmदा आउने झझल्काहरू हुन् । म उनको साइकल र अँधेरी बगियाको प्रसङ्ग लेख्न आतुर थिएँ । तर, जसै आमाको मोबाइलको घन्टी बज्यो, उताबाट कसैले खबर दियो, ‘अवध भी गुजर गवा !’ मेरो कलम पनि चिसियो ।

अब नेपालगन्ज जाँदा मेरा आँखा पक्कै त्यो काठको बरन्डामा पुग्नेछन् । खालिखालि त्यो बरान्डामा मैले सुन्नेछु उही आवाज, ‘अरे कब आयौ ?’

गएको चैतमा कसलाई थाहा थियो, सयौं नेपालगन्जियाहरूको त्यो अन्तिम होली हुँदै थियो । पूर्वयोजना बिनै म होलीमा नेपालगन्ज पुगेको थिएँ । रमाइलो संयोग जुरेको हुनाले म फेरि आफ्नो बाल्यकालतिर फर्किएको थिएँ । अहिले सोच्दा लाग्छ, सायद सहरले मलाई तानेको थियो बिदाइको अन्तिम रङ लगाउन । किनभने मैले दिदी र दाइ भन्दै हुर्किएको अघिल्ला पुस्ताका धेरैले दोस्रो लहरमा ज्यान गुमाउन पुगे ।

नेपालगन्जमा होली यस्तो पर्व हो, जहाँ मान्छेहरू आफ्ना आफन्त र छिमेकीसित मात्र होली खेल्दैनन् । चिन्ने–नचिन्ने सबै एकसाथ एकअर्कासित चाड मनाउँछन् । हिन्दु समुदाय चोकमा जम्मा भएर सामूहिक रूपमा नाच्छन्, गाउँछन् र सद्भाव साटासाट गर्छन् । मुस्लिम समुदायकाहरू रमाइलो मान्दै आ–आफ्नो छतबाट हेर्छन् । कसलाई थाहा थियो, सामूहिक रूपमा मनाइएको होलीको एक महिनापछि नेपालगन्ज फेरि सामूहिक रूपमै शोकमा डुब्नेछ ।

दोस्रो लहरमा धेरैलाई मृत्युले छक्याएर लगेको छ । कोभिड लाग्दा पहिले त यसले रुघाखोकीसित मिल्दोजुल्दो लक्षण देखाएर झुक्यायो । बिरामी पहिल्यै सतर्क हुन पाएन । अघिअघिजस्तो त हो नि भन्ने भ्रममा ऊ भित्रभित्र सहँदै बस्यो । बिस्तारै जब भाइरसले च्याप्दै ल्यायो बल्ल ऊ सतर्क भयो । त्यसपछि डराईडराई पीसीआर टेस्ट गरायो । र, नहोस् नहोस् भन्दाभन्दै रिजल्ट ‘पोजिटिभ’ आयो । अनि सुरु भयो कालसित एक्लै लड्नुपर्ने महाकाल – ‘होम आइसोलेसन’ । डाक्टरहरूको प्रत्यक्ष सम्पर्कमा रहने सुविधाबिना ऊ होम आइसोलसनमा गाह्रो हुँदा पनि भरेभोलि ठीक भइहाल्ला नि भन्दै थेग्न खोज्यो । त्यही आसमा उसको अक्सिजन लेभल झर्दै गयो । स्थिति जटिल भएपछि एम्बुलेन्स, अस्पताल, बेड र अक्सिजन खोज्दाखोज्दै ऊ अन्तिमावस्थामा पुग्यो ।

ती तीनै जना दाइहरू यही अवस्थाबाट गुज्रिएका हुन् । अहिले आएर वस्तुस्थितिलाई डाक्टरले झैं केलाउँदा सबैले टिप्पणी गर्छन्, ‘यसो गरेको भए हुन्थ्यो, उसो गरेको भए हुन्थ्यो’ । तर, जब आफूलाई पर्छ, मान्छे हतासिएर तर्कशून्य हुन्छ । किनभने यो अवस्थामा टिप्पणी गर्नेले दुइटा कुरा भुलिराखेका छन् । यसपालि अस्पतालको बिजोग देखेर तर्सिएका बिरामी र परिवारजनलाई सकेसम्म अस्पताल जानु नपरोस् भन्ने थियो । अर्को, पीसीआर टेस्ट गराइहाल्नुपर्ने संक्रमितहरू ढिला गरी स्वाब दिन पुगेका थिए । आफै गएर सुटुक्क टेस्ट गर्नुपर्ने सामाजिक वातावरण भएपछि नच्यापुन्जेल बिरामीहरू सकेसम्म भित्रभित्रै ठीक हुन खोजे । प्राइभेटलाई बढी पैसा दिए घरमै स्वाब लिन नआउने होइन । तर, आर्थिक अवस्था कमजोर हुने र डेरामा बस्नेलाई कसरी सम्भव हुनु ! जो दिन सक्छन् तिनीमध्ये पनि धेरैले आँट गर्न सकेनन् । किनभने पीपीईधारीहरू टोलछिमेकमा स्वाब लिन आएको देख्दा भोलिपल्टदेखि सामाजिक बहिष्करणमा परेझैं ‘साइलेन्ट ट्रिटमेन्ट’ दिन थाल्ने हुन् । छिमेकीहरू बोल्नुपर्ला भनेर आँखा जुधाउन पनि पन्छिने हुन् । परैबाट ‘छिटो निको हुनुहोला’ भनेर ढाडस दिनु त टाढाकै कुरा ।

वैशाखको अन्तिमतिर जब दिनमा ढाई सयको मृत्यु भइराखेको थियो, पत्रिकाको हेडलाइनमा पढिन्थ्यो, ‘बेलैमा उपचार नपाउँदा बढी मृत्यु ।’ यो खबरले सूचित हुँदाहुँदै पनि आखिर म नि त्यही मनोदशामा पुगेँ, जसको सिकार अरूहरू भइसकेका थिए । मेरो अक्सिजन लेभल ९२–९४ भए पनि मसँगै संक्रमित भएकी ६९ वर्षीया आमाको ९२ भन्दा तल थियो । र, क्रमश: घट्दै गइराखेको थियो । म भने अहिले बढ्ला र भरे बढ्लाको पर्खाइमा अक्सिमिटरले जाँचेको जाँचे भएकी थिएँ । जबकि डाक्टरहरू भनिराखेका थिए ९२ भन्दा तल झर्‍यो कि अस्पताल ल्याउनु । ल्याउनु त ल्याउनु, बिनाबेड र अक्सिजन सिलिन्डरको कुन अस्पताल धाउनु ?

तै आमाको छाती खासै दुखिराखेको थिएन । अर्को भरथेग के थियो भने उनले कोभिसिल्डको पहिलो डोज लगाएकी थिइन् । भए पनि त्यो अधकल्चे एक डोजको दायरा कति हो धान्ने ? यति र उति प्रतिशत भने पनि आत्तिएको बेला त्यसको अधकल्चोपनमा मान्छे बढी सशंकित हुन्छ । बिरामी फ्याट्टै मर्‍यो भने त विज्ञानले भन्ला, ‘यो रेयर केस हो ।’ जसरी ‘मिराकल केस’ को सफलतमा भन्ने गर्छ । गुमाउनेलाई त्यो ‘रेयर केस’ को विज्ञानले सान्तवना दिँदैन । आफ्नालाई बचाउन नसकेको थकथक जिन्दगीभरि रहिरहन्छ । त्यसैले जुन दिन अक्सिजन लेभल झ्याप्पै ८० मा झर्‍यो, मलाई डरडर लाग्न थाल्यो । कतै भित्रभित्रै ‘साइलेन्ट हाइपोक्सिया’ (अक्सिजन लेभल शरीरमा घट्दै जानु तर, बिरामीमा त्यसको लक्षण नदेखिनु) त भइराखेको छैन ? मलाई केही सुझेन । म एम्बुलेन्स बोलाउने तरखरमा लागेँ ।

तर, आमालाई के भएको ! उनी त ‘अस्पताल जान्न मरे यहीँ मर्छु’ पो भन्न थालिन् । त्यसपछि जतिखेर पनि ‘मलाई केही भएको छैन’ भन्न थालिन् । मलाई लाचार भएपछि लाग्ने रिस लाग्न थाल्यो । केही भए पनि अस्पताल लैजाला भन्ने डरले यिनले त यही रट लगाएर बसेकी छन् । मैले सोचिसकेको थिएँ । अब सोधेर होइन, एम्बुलेन्समा जबरजस्ती राखेर लैजान्छु ।

सात दिनपछि एकएक खुड्किलो गर्दै अक्सिजन लेभल ८७ मा आइपुग्यो । ‘मलाई केही भएको छैन’ को रटनाले आमालाई बल दियो कि वा घर तलमाथि हिँडडुल गर्न दिएर हो, थाहा छैन । थाहा नभए पनि यति त थाहा थियो ८७ पनि पर्याप्त थिएन । तर, बिस्तारै बढ्ला भन्ने आसले मलाई थामिरह्यो ।

हामी रातमा बढी तर्सिन्थ्यौं । अक्सिजन लेभल बिहान अलि बढ्थ्यो, सुत्नेबेला फेरि घटिहाल्थ्यो । आधारातमा अक्सिजनको आवश्यक्ता पर्‍यो भने, कहाँ खोज्ने अक्सिजन ? कसले मिलाइदेला यो हाहाकारमा ? मन तुलबुलाउँथ्यो । लामोलामो सास फेरेर प्राणवायु तान्न खोज्यो खोकीको सिवाय केही हात लाग्दैनथ्यो । लाग्थ्यो, हाम्रो भागको अक्सिजन द्रव्यपिचाशहरूले तानेर सिलिन्डरमा भर्दै गोदाममा लुकाइरहेका छन् । बाँकी बचेको अक्सिजन राज्यका शक्तिशालीहरू हामीबाट तनतनी तानेर सास फेरिरहेका छन् । त्यसमाथि यसपालि अक्सिजन सिलिन्डर पैसाले होइन, समयको सेकेन्ड, मिनेट र घण्टा बन्धकी राखेर किन्नुपर्ने भइदियो, जुन राज्यको बुताले मात्र गर्न सक्थ्यो, त्यो पनि समयमै जोहो गरेको भए । तर, राज्य चलाउने सरकार हामीले भोट दिएर पठाएको ‘नेता’ ले होइन, गत पुस ५ देखि ‘सरदार’ हरूले चलाइरहेका छन् । हामीमाथि झेल त्यसरी भइदियो ।

यी सबले आत्तिएर राति म छतमा उक्लिन्थें । आँखाअगाडि सन्नाटा फैलिएको हुन्थ्यो । सहरतिर बलेका बत्तीमा चमक हुँदैनथ्यो । सायद सहरको बत्तीमा चहक भर्ने काम सहरका ध्वनिले गर्दा हुन् । सहर त लकडाउनको सुनसानमा थियो, उदास थियो, शोकमा थियो । धमिलो–न्यास्रो प्रकाशमा देखिएका हरेक घर ‘होम आइसोलन’ झैं प्रतीत हुन्थे । थानकोटबाट उपत्यका छिर्ने हाइवेमा एम्बुलेन्स कुदेका कुदै सुनिन्थे । साइरनको वाइँवाइँ पास हुन्जेल एम्बुलेन्सभित्र निश्चेत लडेका बिरामी र सँगै बसेको उसको मान्छे, आँखाअघि सर्रर्र आउँथे । त्यो कोलाहलपछिको डरलाग्दो शून्यमा मनमा एउटा बिरामी प्रश्न उब्जिन्थ्यो । आजको रात कति जनाको अन्तिम रात होला...? उत्तरमा छेउछाउका डाँडामा बत्ती अहिले निभ्ला कि भरे निभ्ला जस्तोगरी टिमटिमाइरहेका हुन्थे ।

त्यसपछि तल आयो, सुत्ने प्रयास गर्‍यो । तर, उत्तानो सुत्दा एक मिनेट सास फेरेबापत दुई मिनेट खोकेर निस्सासिनुपथ्र्यो । कोल्टो सुत्दा नाक डम्म भएर सास लिन गाह्रो हुन्थ्यो । सिँक्क गरेर नाक खुलाउन खोज्यो, सामान्य रुघाखोकीमा नाक खुलेजस्तो हुँदैनथ्यो । त्यतिबेला लाग्थ्यो, सुत्दासुत्दै सास रोकिन्छ कि क्या हो ! निद्रामै सास चुँडियो भने ? आँखा त्यसैत्यसै जागा भएर आउँथे ।

मान्छेलाई मृत्युबोध हुँदा ऊ जिन्दगीको सुरुसुरुका कुराहरू बढी सम्झिने रहेछ । अन्त्यको आभासले आफू सुरु भएको जरा खोज्ने हो कि ? सायद त्यसैले मार्खेजले ‘हन्ड्रेड इयर्स अफ सलिट्युड’ उपन्यासको पहिलो लाइन यसरी सुरु गरेका होलान्, ‘धेरै वर्षपछि जब कर्नल अरिलियानो बुएन्डिया गोली दागेर मार्ने मृत्यु–दलको अघि उभ्याइनेछन्, मृत्यु पर्खंदै उनले सम्झिनेछन्, अतीतको त्यो एक मध्याह्न जब उनको बाबुले उनलाई पहिलो पटक बरफ पत्ता लगाउन लगेका थिए ।’ अहिले सोच्दा लाग्छ, मार्खेजले कति सत्य नजिक पुगी कस्तो संवेदनात्मक सच्चाइ (इमोसनल टु्रथ) लेखेका रहेछन् ।

म पनि त्यतिबेला ७० को दशकको हिन्दी गीतहरू सुनिरहेको हुन्थे । गीतका बोल, स्वरलहरी र सांगीतिक मिठासले भन्दा पनि अर्कै कारणले । म तिनै गीत सुन्थें, जुन स्यानोमा हजुरआमासित खटियामा सडक किनारको आँगनमा सुत्दा सुन्न पुग्थेँ । नेपालगन्जको गर्मीमा कुनै सोखिन धर्के जाँघिया लगाएर, ट्रान्जिस्टर बोकी दस–एघार बजे पान खान निस्किएको हुन्थ्यो । ऊ हिँड्दै जाँदा गीत पनि टाढिँदै जान्थ्यो । टाढिँदै गएको ट्रान्जिस्टरबाट सुनिएको लता मङ्गेश्कर र मोहम्मद रफी झन् रुमानी लाग्थे । त्यो ध्वनिले मलाई मेरो बेफ्रिकी आफन्ती संसारमा पुर्‍याउँथ्यो । सुस्तरी आँखा लोलाउन थाल्थ्यो । ‘भोलि’ भए पनि नभए पनि त्यसले ‘आज’ मलाई खुसी दिएर जान्थ्यो ।

आत्मबलको कवचले आफूलाई बलियो बनाउँदा–बनाउँदै पनि कसरी–कसरी ‘मृत्यु’ सुटुक्क हाम्रो अवचेतनमा आइबसेको थियो । गफगाफ, हाँसोठट्टा र मौनतामा मिसिएर ‘मृत्यु’ हाम्रा कुराकानीमा सामान्य हुँदै गयो । घरमा भएका के कोभिड–पोजिटिभ के नेगेटिभ, सबै उही मनोदशामा बाँचेका थिए । दुई–तीन दिन बिराएर कसै न कसैको मृत्युको खबर सुन्नुपथ्र्यो । नेपालगन्जबाट फोन आउँदा त झन् आमा सुरुमै सोध्नुहुन्थ्यो, ‘आज कोही मरेछ ?’ ती दिनबाट आजसम्म आमाका प्राय: कुराहरू ‘म मरेपछि...’ को लाइनबाट सुरु हुन्छ । म मरेपछि मेरो लास नजले मट्टीतेलले नजलाउनू, म मरेपछि मैले साँचेका सामान हेरेर नहाँस्नू (त्यसमा हाम्रो कक्षा एकदेखिका रिपोर्ट कार्डहरू छन्), म मरेपछि कान्छी छोरी एक्लै हुने भइ... ! मानौं उनी मृत्युको तयारी गर्दै छिन् ।

उनको साथसाथ म नि भावुक भएको थिएँ । म पनि त्यही वाक्यांश आफूमा आरोपित गर्दै सोच्न थालेकी थिएँ । पछि त हुँदाहुँदा मलगायत १९ वर्षे बहिनी ‘म मरेपछि...’ जोडेर हावाहावा कुरा गर्न थाल्यौं । म मरेपछि भेजिटेरियन भूत बन्नेछु ! ननभेज भूतले जे पनि खाने होलान्, भेज भूतले मान्छेका अग्र्यानिक सात्तो मात्र खाने होलान् ।

कति हलुका भएको थियो ‘मर्ने’ कुरा । कति सस्ता भएका थिए ‘मृत्यु’ हरू ।

दसौं, एघारौं, बाह्रौं गर्दै जब हामी चौधौं दिनमा आइपुग्यौं, हामीलाई लाग्यो एउटा कालचक्र पार गर्‍यौं । आमाको अक्सिजन लेभल ९२ भन्दा माथि आइपुग्यो, कमजोरी अलिलि घट्यो, स्वाद र बास्ना दुवै फर्कियो । तर, उनमा थकान र निराशा छाएको थियो । खानेबेला सधैं कोरोनाले मृत्यु भएका आफन्त र चिनेजानेकालाई सम्झेर उनी कुरा गर्न थाल्थिन् । आफूभन्दा कम उमेरका मान्छे भटाभट त्यसरी मर्दा पत्याउन गाह्रो पर्दो हो ।

यी सबबाट गुज्रिँदा मलाई भने समयको महत्त्व आत्तुरीसाथ बढेर आयो । लाग्यो, मसँग समय एकदमै कम छ । अझ कति जिन्दगीहरू पढ्नु थियो, छुटेका कथा र चाहेका नाटक लेख्नु थियो, नौलानौला सहरमा पुगेर हराउनु थियो । त्यसैले आफ्नो आयु अमूर्त समयको परिकल्पनामा होइन, कठोर भएर औंलामा गन्न थालेँ ।

त्यसका लागि मलाई फेरि पुरानै लयमा फर्किनु थियो । किनभने कोरोनाबाट मुक्त भए पनि त्यसले एकमदै गलाएर गएको थियो । आफूमा ऊर्जा भर्न पन्ध्रौं दिन जब म योग गर्न थालेँ, आफू बाँचेको अनुभूतिले पुलकित भएर आएँ । टेबलमा थियो खाएर बाँकी रहेको सिटामोलका पत्ती, खोकीको आधा खाली सीसी, मल्टिभिटामिनका चक्की । यत्ति नै खाएर कोरोना जितिएको हो त ? कति सामान्य लाग्यो कोभिड–१९ । लाग्यो, संक्रमणको पहिलो हप्ता पार गरे कालबाट फुत्त उम्किने रहेछ ।

तर, यति ‘फुत्त’ पनि पार गर्न नसकेका राधेश्याम, गुड्डु र अवध दाइहरू मनमा आए । ‘अल्लिकतिले’ ‘अल्लिबेरले’ जस्ता थकथकले मन खल्लो बनायो । आखिर त्यो ‘फुत्त’ के थियो ? अक्सिजन लेभल जाँचिरहनुपर्ने थियो ? सास फेर्न गाह्रो हुनेबित्तिकै अस्पताल लगिहाल्नुपर्ने थियो ? तर, गएर पनि के गर्थे ? अक्सिजन पो कहाँ थियो र ? भाउजूका सानो बुबा भेरी अञ्चल अस्पतालमा बेड र अक्सिजन कुर्दाकुर्दै इमरजेन्सीको करिडरमा बितेका होइनन् ?

त्यसपछि केही पनि सामान्य लागेनन् । योग गर्दागर्दै म रोकिएँ । मनमा विषाद भरिएर आयो । त्यसदिन म खुब रोएँ । किनकिन आँसु नै थामिएनन् ।

उपसंहार

हामी तराईका मान्छे । कम्तीमा पनि दस किसिमका आँपको नाम हामीलाई कण्ठै हुन्छ । दसेरीबाट सुरु भएर चौसा, लंगडा, सफेदा र टप्कासम्म । तर, काठमान्डुका मध्यमवर्गीयहरूको भागमा धेरैजसो मालदा नै परिरहेको हुन्छ । मालदा नै सही ! वैशाख, जेठ, असारसम्म आँप खाँदा घरमा आँपसँगसम्बन्धी उही किस्सा सुन्ने र सुनाउने गरिन्छ । तराईका पाका उमेरका मान्छेहरूले आँप खादा भनेका कुरा मन दिएर सुन्नुस् । उनीहरू एकैपल्ट बाल्यकालमा पुग्छन् । आँपको रङले लोभिएर, बास्नाले जिभ्रो रसाएर, रस चुहाउँदै मुखभरि हाल्दा त्यो स्वादले मान्छेलाई यस्तो ठाउँमा पुर्‍याउँदो हो, जहाँ तमाम तिर्खाहरूको बाबजुद मान्छे तृप्त हुँदो हो ।

हरेक वर्ष हाम्री आमा आँप खाँदा भन्ने गर्छिन्, ‘जो अर्को वर्षसम्म बाँच्छ त्यसले मात्र आँप खान पाउँछ ।’ तर, यस वर्ष आँप खाँदा आमाले त्यसो भनिनन् । खालि यति मात्र सोधिन्, ‘भ्याक्सिनको अर्को डोज कहिले आउँछ ?’

कोरोना भाइरसको तेस्रो लहर आउँदा बाँचिएला/नबाँचिएला । यो वर्षको आँप अन्तिम पनि हुन सक्छ !

प्रकाशित : असार १९, २०७८ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?